बढ्दो महङ्गी—एउटा ठूलो समस्या
वास्तविकता स्विकार्नुहोस्
हाम्रो आयस्रोत राम्रै छ भने हामीलाई महङ्गी बढिरहेको कुरा खासै याद नहुन सक्छ। तर महङ्गी ह्वात्तै बढ्दा अनि आयस्रोत जस्ताको त्यस्तै रहँदा भने हामी आत्तिन पुग्छौँ। विशेषगरि परिवारको लालनपालन गर्ने जिम्मेवारी सम्हाल्दै छौँ भने अझ गाह्रो हुन सक्छ।
हामी महङ्गी रोक्न त सक्दैनौँ तर वास्तविकता यही नै हो भनेर स्विकाऱ्यौँ भने हामीलाई त्यसको सामना गर्न अझ सजिलो हुनेछ।
यसो गर्नु किन महत्त्वपूर्ण छ?
वास्तविकता स्विकार्ने व्यक्तिहरूलाई निम्न कुराहरू गर्न सजिलो हुन्छ:
शान्त रहन। हामी शान्त रह्यौँ भने राम्रोसँग सोचविचार गर्न सक्छौँ र सही निर्णयहरू गर्न सक्छौँ।
मूर्ख कदम चाल्नदेखि जोगिन। उदाहरणको लागि, बिल नतिर्नु वा फजुल खर्च गर्नु मूर्खता हो।
पैसाको कारण परिवारबिच हुने झगडादेखि अलग रहन।
महङ्गीले गर्दा हुने समस्याहरूको सामना गर्न। जस्तै, प्राथमिकता तय गर्न र बढ्तै खर्च नगर्न।
तपाईँ के गर्न सक्नुहुन्छ?
छाँटकाँट गर्न इच्छुक हुनुहोस्। आर्थिक मन्दी छाएको बेला सकेसम्म कम खर्चमा गुजारा टार्नु बुद्धिमानी हुन्छ। केही मानिसहरू जीवनमा रमाइलो गर्न आफ्नो क्षमताले दिनेभन्दा बढी खर्च गर्छन्। यसो गर्नु भनेको तीव्र गतिमा बगिरहेको खोलाको विपरीत दिशामा पौडनुजस्तै हो। हामी थाकेर लखतरान हुन्छौँ। तपाईँ पक्कै पनि आफ्नो परिवारको आवश्यकता पूरा गर्न चाहनुहुन्छ। तर यो कुरा नबिर्सनुहोस्: तपाईँको परिवारको लागि अरू कुनै पनि कुराभन्दा तपाईँको माया, चासो र समय महत्त्वपूर्ण छ।
विलासी जीवन बिताउनको लागि आफ्नो क्षमताभन्दा बढी खर्च गर्नु भनेको तीव्र गतिमा बगिरहेको खोलाको विपरीत दिशामा पौडनुजस्तै हो