प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es25 पृ. १७-२६
  • फेब्रुअरी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
  • उपशीर्षकहरू
  • शनिबार, फेब्रुअरी १
  • आइतबार, फेब्रुअरी २
  • सोमबार, फेब्रुअरी ३
  • मङ्‌गलबार, फेब्रुअरी ४
  • बुधबार, फेब्रुअरी ५
  • बिहीबार, फेब्रुअरी ६
  • शुक्रबार, फेब्रुअरी ७
  • शनिबार, फेब्रुअरी ८
  • आइतबार, फेब्रुअरी ९
  • सोमबार, फेब्रुअरी १०
  • मङ्‌गलबार, फेब्रुअरी ११
  • बुधबार, फेब्रुअरी १२
  • बिहीबार, फेब्रुअरी १३
  • शुक्रबार, फेब्रुअरी १४
  • शनिबार, फेब्रुअरी १५
  • आइतबार, फेब्रुअरी १६
  • सोमबार, फेब्रुअरी १७
  • मङ्‌गलबार, फेब्रुअरी १८
  • बुधबार, फेब्रुअरी १९
  • बिहीबार, फेब्रुअरी २०
  • शुक्रबार, फेब्रुअरी २१
  • शनिबार, फेब्रुअरी २२
  • आइतबार, फेब्रुअरी २३
  • सोमबार, फेब्रुअरी २४
  • मङ्‌गलबार, फेब्रुअरी २५
  • बुधबार, फेब्रुअरी २६
  • बिहीबार, फेब्रुअरी २७
  • शुक्रबार, फेब्रुअरी २८
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
es25 पृ. १७-२६

फेब्रुअरी

शनिबार, फेब्रुअरी १

म तिमीहरूको बिन्ती सुन्‍नेछु।​—यर्मि. २९:१२.

एकचोटि राजा हिजकियाह साह्रै बिरामी परेका थिए। तिनले आफूलाई निको पारिदिन यहोवालाई बिन्ती गरे अनि उहाँले तिनलाई निको पारिदिनुभयो। (२ राजा २०:१-६) अर्कोतर्फ, प्रेषित पावलले यहोवालाई तिनको शरीरमा भएको “एउटा छेस्को” हटाइदिन बिन्ती गरेका थिए। तर यहोवाले तिनको छेस्को हटाइदिनुभएन। (२ कोरि. १२:७-९) प्रेषित याकुब र प्रेषित पत्रुसलाई राजा हेरोद मार्न चाहन्थे। याकुबलाई मृत्युदण्ड दिइयो जबकी पत्रुसलाई भने चमत्कारपूर्ण ढङ्‌गमा बचाइयो। (प्रेषि. १२:१-११) हामीलाई यस्तो लाग्न सक्छ: ‘यहोवाले किन पत्रुसलाई चाहिँ बचाउनुभयो तर याकुबलाई भने बचाउनुभएन?’ यसबारे बाइबलमा केही बताइएको छैन। तर हामी यस कुरामा भने ढुक्क हुन सक्छौँ: यहोवा “कहिल्यै अन्याय गर्नुहुन्‍न।” (व्यव. ३२:४) कहिलेकाहीँ यहोवाले हाम्रो प्रार्थनाको जवाफ हामीले आशा गरेको तरिकामा नदिन पनि सक्नुहुन्छ। तर उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ सधैँ मायालु अनि न्यायी तरिकामा दिनुहुन्छ भनेर हामीले बुझेका छौँ। त्यसैले उहाँले हाम्रो प्रार्थनाको जवाफ जस्तोसुकै तरिकामा दिनुभए तापनि हामी कहिल्यै गुनासो गर्दैनौँ।—अय्यु. ३३:१३. w२३.११ पृ. २१ अनु. ६

आइतबार, फेब्रुअरी २

‘माथिबाट आउने बुद्धि पाउने मानिस आज्ञाकारी हुन्छ।’​—याकु. ३:१७.

परमेश्‍वरको प्रेरणा पाएर याकुबले बुद्धिमान्‌ मानिसहरू “आज्ञाकारी” हुन्छन्‌ भने। यसको अर्थ के हो? यहोवाले अख्तियार दिनुभएकाहरूप्रति आज्ञाकारी हुन हामी तयार र इच्छुक हुनुपर्छ। तर त्यसको मतलब तिनीहरूले उहाँका आज्ञाहरू तोड्‌ने दबाब दिँदा पनि हामीले तिनीहरूको कुरा मान्‍नुपर्छ भन्‍ने होइन; हामीले त्यसो गरेको यहोवा पटक्कै चाहनुहुन्‍न। (प्रेषि. ४:१८-२०) हामीलाई मानिसको भन्दा यहोवाको आज्ञा पालन गर्न सजिलो लाग्न सक्छ। किनभने यहोवाले दिनुहुने निर्देशन खोटरहित हुन्छ। (भज. १९:७) तर अख्तियार पाएका मानिसहरू त्रुटिपूर्ण भएकोले सधैँ सही निर्देशन दिन सक्दैनन्‌। तैपनि यहोवाले आमाबुबालाई, सरकारी अख्तियारवालाहरूलाई र एल्डरहरूलाई केही हदसम्म अख्तियार दिनुभएको छ। (हितो. ६:२०; १ थिस्स. ५:१२; १ पत्रु. २:१३, १४) तिनीहरूप्रति आज्ञाकारी हुँदा वास्तवमा हामी यहोवाप्रति आज्ञाकारी भइरहेका हुन्छौँ। w२३.१० पृ. ६ अनु. २-३

सोमबार, फेब्रुअरी ३

यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।​—प्रका. २१:५.

हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका यहोवाको शक्‍तिबारे सोच्नु हो। उहाँसित आफ्ना सबै प्रतिज्ञा पूरा गर्ने शक्‍ति छ। (अय्यु. ४२:२; मर्कु. १०:२७) आखिर उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ! (एफि. ३:२०) उहाँले अब्राहाम र सारालाई तिनीहरूले बुढेसकालमा एउटा छोरा पाउनेछन्‌ भनेर बताउनुभयो। (उत्प. १७:१५-१७) तिनका सन्तानलाई कनान देश दिनेछु भनेर पनि प्रतिज्ञा गर्नुभयो। अब्राहामका सन्तान इस्राएलीहरूले मिश्रमा थुप्रै वर्ष दासको रूपमा बिताए। त्यतिबेला तिनीहरूलाई त्यो प्रतिज्ञा कहिल्यै पूरा हुँदैन जस्तो लागेको हुन सक्छ। तर त्यो पूरा भयो। उहाँले कुमारी मरियमलाई तिनले उहाँकै छोरा जन्माउनेछिन्‌ भनेर बताउनुभयो। यसले यहोवाले अदनको बगैँचामा हजारौँ वर्षअगाडि गर्नुभएको प्रतिज्ञा पूरा गर्ने थियो। (उत्प. ३:१५) यहोवाले गर्नुभएका प्रतिज्ञाहरू र ती कसरी पूरा भए भनेर विचार गर्दा उहाँ कत्ति शक्‍तिशाली हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। यसरी विचार गर्दा नयाँ संसार ल्याउने उहाँको प्रतिज्ञामाथिको हाम्रो विश्‍वास अझ बलियो हुनेछ।—यहो. २३:१४; यसै. ५५:१०, ११. w२३.०४ पृ. २८ अनु. १०-१२

मङ्‌गलबार, फेब्रुअरी ४

हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌; मदतको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌।​—भज. १४३:१.

दाउदले छुटकाराको लागि गरेका प्रार्थनाहरूको जवाफ यहोवाले दिनुभयो। (१ समु. १९:१०, १८-२०; २ समु. ५:१७-२५) हामी पनि यो कुरामा ढुक्क हुन सक्छौँ। (भज. १४५:१८) यहोवाले कहिलेकाहीँ हामीले आशा गरेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्‍न। पावलले परमेश्‍वरलाई आफ्नो “शरीरमा भएको एउटा छेस्को” हटाइदिन प्रार्थना गरेका थिए। पावलले यसबारे तोकेरै तीन चोटि बिन्ती गरेका थिए। के यहोवाले ती प्रार्थनाहरूको जवाफ दिनुभयो? दिनुभयो तर पावलले आशा गरेको तरिकामा त होइन। यहोवाले त्यो समस्या हटाउनुको साटो तिनलाई वफादार भएर उहाँको सेवामा लागिरहन चाहिने शक्‍ति दिनुभयो। (२ कोरि. १२:७-१०) हामीले पनि कहिलेकाहीँ सोचेको भन्दा फरक तरिकामा प्रार्थनाको जवाफ पाएका होऔँला। हामीलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका यहोवालाई थाह छ। भन्‍ने हो भने उहाँ “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ।” (एफि. ३:२०) त्यसैकारण हामीले आसै नगरेको समयमा वा तरिकामा उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। w२३.०५ पृ. ८-९ अनु. ४-६

बुधबार, फेब्रुअरी ५

बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।​—युह. ५:२८, २९.

बेलाबेलामा हामीले फेरि जीवित हुने आशामा मनन गर्नु बेस हो। किन? किनकि हामीलाई कुनै पनि बेला प्राणघातक रोग लाग्न सक्छ वा अकस्मात्‌ हाम्रो प्रियजनको मृत्यु हुन सक्छ। (उप. ९:११; याकु. ४:१३, १४) फेरि जीवित हुने आशाले हामीलाई यस्ता चुनौतीहरूको सामना गर्न मदत गर्छ। (१ थिस्स. ४:१३) हाम्रो स्वर्गमा बस्नुहुने बुबा हामीलाई राम्ररी चिन्‍नुहुन्छ र धेरै माया गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (लुका १२:७) हाम्रो व्यक्‍तित्व र सम्झना पहिलाको जस्तै बनाइदिन यहोवा परमेश्‍वरलाई हामीबारे कत्ति धेरै कुरा थाह हुनुपर्छ होला, सोच्नुहोस्‌ त। उहाँ हामीलाई धेरै माया गर्नुहुन्छ; त्यसैले उहाँले हामीलाई सधैँभरि बाँच्ने आशा दिनुभएको छ। हाम्रो मृत्यु भयो भने पनि उहाँले हामीलाई फेरि जीवित पार्नुहुनेछ! फेरि जीवित हुने प्रतिज्ञामा हामी किन विश्‍वास गर्न सक्छौँ? किनभने प्रतिज्ञा गर्ने व्यक्‍तिसित त्यो पूरा गर्ने इच्छा र शक्‍ति छ भन्‍ने कुरामा विश्‍वस्त छौँ। w२३.०४ पृ. ८-९ अनु. २-४

बिहीबार, फेब्रुअरी ६

[युसुफ र मरियम] हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जाने गर्थे।​—लुका २:४१.

युसुफ र मरियमले एकसाथ मिलेर पनि यहोवासितको सम्बन्ध बलियो बनाइराख्न प्रयास गरे। परिवारै मिलेर यहोवाको उपासना गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरूले बुझेका थिए। (लुका २:२२-२४; ४:१६) आजका विवाहित दम्पतीहरूको लागि कत्ति राम्रो उदाहरण! तपाईँहरूको पनि छोराछोरी छन्‌ भने सभामा उपस्थित हुन र पारिवारिक उपासनाको लागि समय मिलाउन चुनौतीपूर्ण हुन सक्छ। अनि पतिपत्नीलाई सँगै मिलेर अध्ययन र प्रार्थना गर्नको लागि समय निकाल्न अझ गाह्रो हुन सक्छ। तर यो कुरा नबिर्सनुहोस्‌, एकसाथ मिलेर यहोवाको उपासना गर्दा तपाईँ उहाँ र आफ्नो जीवनसाथीसित अझ नजिक हुनुहुनेछ। त्यसैले यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुहोस्‌। तपाईँहरूको सम्बन्ध राम्रो छैन भने नि? तपाईँहरूलाई सँगै मिलेर पारिवारिक उपासना गरौँ जस्तो नलाग्न सक्छ। त्यसो हो भने सुरुमा छलफललाई छोटो र रमाइलो बनाउने कोसिस गर्नुहोस्‌। यस्तो कदम चाल्नुभयो भने तपाईँहरूको सम्बन्ध सुध्रिन सक्छ र दम्पतीको रूपमा आध्यात्मिक गतिविधिमा भाग लिने इच्छा बढ्‌न सक्छ। w२३.०५ पृ. २२ अनु. ७-८

शुक्रबार, फेब्रुअरी ७

ओबदियाह यहोवा परमेश्‍वरको असाध्यै डर मान्थे।​—१ राजा १८:३.

ओबदियाहलाई परमेश्‍वरको डरले कस्ता गुणहरू विकास गर्न मदत गऱ्‍यो? यसले तिनलाई इमानदार र भरोसायोग्य बन्‍न मदत गऱ्‍यो। यी गुणहरू देखेर राजाले तिनलाई आफ्नो घरानाको रेखदेख गर्ने जिम्मा दिए। (नहेम्याह ७:२ तुलना गर्नुहोस्‌।) परमेश्‍वरको डरले ओबदियाहलाई असाधारण साहस देखाउन पनि मदत गऱ्‍यो, जुन तिनलाई निकै खाँचो थियो। तिनी राजा आहाबका शासनकालको समयका मानिस थिए। (१ राजा १६:३०) साथै बाआलको उपासना गर्ने आहाबकी पत्नी ईजेबेलले यहोवालाई यत्ति धेरै घृणा गर्थिन्‌ कि उनले दस गोत्रे राज्यबाट साँचो उपासना नामेट पार्न खोजिन्‌। उनले परमेश्‍वरका थुप्रै भविष्यवक्‍ताको समेत हत्या गरिन्‌। (१ राजा १८:४) ईजेबेलले परमेश्‍वरका भविष्यवक्‍ताहरूलाई खोजी-खोजी मार्न थाल्दा ओबदियाहले १०० जना भविष्यवक्‍तालाई ‘५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखे। अनि उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिए।’ (१ राजा १८:१३, १४) ईजेबेलले यो कुरा थाह पाएको भए ओबदियाहलाई पक्कै पनि मार्न लगाउने थिइन्‌। ओबदियाह पनि हामीजस्तै साधारण मानिस भएकोले तिनी डराएका हुन सक्छन्‌। तर तिनलाई आफ्नो ज्यानभन्दा यहोवा र उहाँका सेवकहरू प्यारो थियो। w२३.०६ पृ. १५-१६ अनु. ९-१०

शनिबार, फेब्रुअरी ८

म यहोवा . . . तिमीहरूलाई डोऱ्‍याउँछु।​—यसै. ४८:१७.

विगतमा जस्तै यहोवा आज पनि आफ्ना जनहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ। उहाँ आफ्नो वचन बाइबल र मण्डलीका शिर येसु ख्रिष्टमार्फत त्यसो गर्दै हुनुहुन्छ। यहोवाले आज आफ्ना जनहरूलाई डोऱ्‍याउन मानिसहरूलाई प्रयोग गरिरहनुभएको छ भन्‍ने कुराको के कुनै प्रमाण छ? पक्कै छ। जस्तै: सन्‌ १८७० पछि भएका घटनाहरू विचार गरौँ। चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले परमेश्‍वरको राज्य स्थापना हुने सन्दर्भमा १९१४ एउटा महत्त्वपूर्ण वर्ष हुनेछ भनेर बुझ्नुभयो। (दानि. ४:२५, २६) उहाँहरू बाइबलका भविष्यवाणीहरूको आधारमा त्यस निष्कर्षमा पुग्नुभएको थियो। के उहाँहरूले गर्नुभएको अनुसन्धानमा यहोवाको डोऱ्‍याइ थियो? पक्कै थियो! सन्‌ १९१४ मा भएका घटनाहरूले परमेश्‍वरको राज्यले शासन गर्न थालेको कुरा स्पष्टै देखायो। प्रथम विश्‍वयुद्ध सुरु भयो, महामारी फैलियो, भूकम्पहरू गए र ठाउँठाउँमा अनिकाल पऱ्‍यो। (लुका २१:१०, ११) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन ती निष्कपट पुरुषहरूलाई प्रयोग गरिरहनुभएको थियो। w२४.०२ पृ. २२ अनु. ११

आइतबार, फेब्रुअरी ९

धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।​—भज. ३४:१९.

हामी यहोवाको जनहरू भएकोले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ हामीले सुखी जीवन बिताएको चाहनुहुन्छ भनेर हामीलाई थाह छ। (रोमी ८:३५-३९) बाइबल सिद्धान्त लागू गर्दा सधैँ हाम्रै भलाइ हुन्छ भनेर पनि हामीले बुझेका छौँ। (यसै. ४८:१७, १८) तर अचानक समस्याहरू आइपर्दा हामी के गर्छौँ? जस्तै: परिवारको सदस्यले हामीलाई कुनै तरिकामा निराश बनाएको हुन सक्छ। गम्भीर स्वास्थ्य समस्याले गर्दा हामीले यहोवाको सेवामा चाहेजति गर्न सकिरहेका छैनौँ होला। हामी प्राकृतिक प्रकोपको चपेटामा परेका छौँ होला। अथवा हामीले विश्‍वासको खातिर खेदो भोगिरहेका हुन सक्छौँ। यस्ता परीक्षाहरू आइपर्दा हामीलाई यस्तो लाग्न सक्छ: ‘यो सब मलाई नै किन भइरहेको छ? मैले केही गल्ती गरेँ कि? ममाथि यहोवाको आशिष्‌ छैन कि?’ के तपाईँले पनि यस्तै महसुस गर्नुभएको छ? छ भने निराश नहुनुहोस्‌। यहोवाका अरू सेवकले पनि यस्तै भावनाहरूसित सङ्‌घर्ष गरेका छन्‌।—भज. २२:१,२; हब. १:२,३. w२३.०४ पृ. १४ अनु. १-२

सोमबार, फेब्रुअरी १०

मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्‌कल्प गरेको छु। म जीवनभर त्यसो गरिरहनेछु।​—भज. ११९:११२.

हामी यहोवासितको मित्रतालाई बिगार्न चाहँदैनौँ। त्यसैले हामी कुनै गलत काम गर्ने प्रलोभन आइपर्दा वा त्यसो गर्ने सोचाइ आउँदा त्यसलाई तुरुन्तै तिरस्कार गर्छौँ। यहोवा हामी “मनैदेखि आज्ञाकारी” भएको चाहनुहुन्छ। (रोमी ६:१७) हामीले उहाँको नीतिनियममध्ये कुन पालन गर्ने वा कुन नगर्ने भनेर रोज्न सक्दैनौँ। बरु हामीले बिर्सन नहुने कुरा भनेको उहाँले दिनुहुने डोऱ्‍याइले सधैँ हाम्रै भलाइ हुन्छ। (यसै. ४८:१७, १८; १ कोरि. ६:९, १०) दियाबलले हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन हिंसा र दबाब प्रयोग गर्छ। त्यो हामीलाई ‘निल्न’ अर्थात्‌ यहोवासितको हाम्रो सम्बन्धलाई तहसनहस पार्न चाहन्छ। (१ पत्रु. ५:८) प्रथम शताब्दीका ख्रिष्टियनहरू आफ्नो विश्‍वासमा अटल रहेकोले तिनीहरूलाई धम्काइयो, कुटियो र मारियो। (प्रेषि. ५:२७, २८, ४०; ७:५४-६०) सैतानले आज पनि परमेश्‍वरका मानिसहरूको खेदो गर्न छोडेको छैन। यो कुरा रूस र अन्य देशका दाजुभाइ दिदीबहिनीमाथि गरिएको क्रूर व्यवहारबाट स्पष्ट हुन्छ। सैतानले प्रत्यक्ष आक्रमणको अलावा “दाउपेचहरू” पनि चलाउँछ।—एफि. ६:११. w२३.०७ पृ. १५-१६ अनु. ६-९

मङ्‌गलबार, फेब्रुअरी ११

हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔँ।​—एफि. ४:१५.

तपाईँले परमेश्‍वरको वचन जत्ति धेरै अध्ययन गर्नुहुन्छ, त्यत्ति नै यहोवाप्रतिको प्रेम बढ्‌दै जान्छ। त्यही प्रेमले तपाईँलाई आफूले सिकेको कुरा लागू गर्न उत्प्रेरित गर्छ। तपाईँले बाइबल सिद्धान्तहरू बुझेपछि अझै बुद्धिमानी निर्णयहरू गर्न सक्नुहुन्छ। परमेश्‍वरलाई खुसी बनाउने इच्छाले गर्दा आफ्नो मनोवृत्ति र आनीबानीलाई सुधार्नुहुन्छ। जसरी बच्चाले आफ्नो मायालु आमाबुबाको देखासिकी गर्छ, त्यसरी नै तपाईँले स्वर्गमा बस्नुहुने बुबाको देखासिकी गर्दै जानुहोस्‌। (एफि. ५:१, २) हामीले आफैलाई सोध्न सक्छौँ: ‘के बप्तिस्मा गरेदेखि यहोवाप्रतिको मेरो प्रेम अझ बलियो भएको छ? विशेषगरि भाइबहिनीलाई प्रेम देखाउने सन्दर्भमा मेरो सोचाइ र व्यवहार यहोवाको जस्तै हुँदै छ?’ यदि तपाईँसित “पहिले जुन प्रेम थियो,” त्यो अहिले सेलाएको छ भने निराश नहुनुहोस्‌। प्रथम शताब्दीका ख्रिष्टियनहरूको प्रेम पनि सेलाएको थियो। तर येसुले तिनीहरूलाई त्याग्नुभएन र हामीलाई पनि त्याग्नुहुनेछैन। (प्रका. २:४, ७) हामी आफ्नो पहिलेको प्रेमलाई फेरि जगाउन सक्छौँ भनेर उहाँलाई थाह छ। w२३.०७ पृ. ८ अनु. २-३

बुधबार, फेब्रुअरी १२

हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।​—भज. ८६:५.

प्रेषित पत्रुसले एकपछि अर्को गल्ती गरे। पहिलो गल्ती, पत्रुस अतिविश्‍वस्त भए। अरू सबै प्रेषितले येसुलाई त्यागे पनि आफू भने सधैँ वफादार रहिरहने कुरामा तिनले फुर्ती लगाए। (मर्कु. १४:२७-२९) अर्को गल्ती, पत्रुस जागा रहनदेखि बारम्बार चुके। (मर्कु. १४:३२, ३७-४१) त्यसपछि येसुलाई पक्रन तरबार र लाठोहरू लिएर शत्रुहरू आउँदा तिनी उहाँलाई छोडेर भागे। (मर्कु. १४:५०) अन्तमा पत्रुसले येसुलाई चिन्‍न तीन चोटि इन्कार गरे; यहाँसम्म कि तिनले उहाँलाई चिनेकै छैन भनेर कसम खाए। (मर्कु. १४:६६-७१) आफूले गरेको गल्ती कत्ति गम्भीर छ भनेर बुझेपछि पत्रुसले कस्तो महसुस गरे? तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए। (मर्कु. १४:७२) पछि येसु फेरि तिनीकहाँ देखा पर्नुहुँदा गल्तीहरू कोट्याउँदै तिनलाई हप्काउनुभएन बरु तिनलाई अझ ठूलठूला जिम्मेवारीहरू दिइनेछ भनेर बताउनुभयो। (युह. २१:१५-१७) आफूले गम्भीर गल्ती गरेको कुरा पत्रुसलाई थाह थियो। तैपनि तिनले हरेस खाएनन्‌। किन? किनभने येसु तिनलाई अझै पनि माया गर्नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। हाम्रो लागि पाठ? यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र क्षमा दिन तयार हुनुहुन्छ। यस कुरामा हामी विश्‍वस्त भएको उहाँ चाहनुहुन्छ।—रोमी ८:३८, ३९. w२४.०३ पृ. १८-१९ अनु. १३-१५

बिहीबार, फेब्रुअरी १३

त्यसले थुप्रैलाई आफ्नो सिकार बनाइसकी।​—हितो. ७:२६.

अवैध यौनसम्बन्ध राख्ने व्यक्‍तिले लज्जित र बेकार महसुस गर्न सक्छ, नचाहँदा नचाहँदै गर्भवती हुन सक्छ र परिवार टुक्रिन सक्छ। स्पष्ट छ, मूर्ख आइमाईको “घर”-मा खाना खाने निम्तोलाई तिरस्कार गर्नु बुद्धिमानी कुरा हो। अवैध यौनसम्बन्ध राख्नेहरू आध्यात्मिक रूपमा मात्र नभई विभिन्‍न यौनजन्य रोग लागेर अकालमै मर्न सक्छन्‌। (हितो. ७:२३) हितोपदेश अध्याय ९ को पद १८ यसो भन्छ: “उसका पाहुनाहरू चिहानको गहिराइमा पुगिसकेका छन्‌।” तर थुप्रै मानिस किन यस्तो निम्तो स्विकार्छन्‌? (हितो. ९:१३-१८)हामी जोगिनुपर्ने एउटा पासो अश्‍लील सामग्री हो। कसै-कसैलाई यसले कुनै हानि पुऱ्‍याउँदैन जस्तो लाग्छ। तर यो हानिकारक, पतित र लत बस्ने खालको हुन्छ। अश्‍लील दृश्‍य दिमागमा एक चोटि बसेपछि त्यसलाई हटाउन धेरै गाह्रो हुन्छ। त्यसले कुइच्छाहरूलाई मार्दैन बरु झनै दन्काउँछ। (कल. ३:५; याकु. १:१४, १५) अश्‍लील सामग्री हेर्नेहरू अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुग्न सक्छन्‌। w२३.०६ पृ. २३ अनु. १०-११

शुक्रबार, फेब्रुअरी १४

त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।​—दानि. २:४४.

हुनत कहिलेकाहीँ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई अरू राष्ट्रहरूले चुनौती दिन सक्छन्‌। तर कुनै राष्ट्रले यसको ठाउँ लिनेछैन। किनकि परमेश्‍वरको राज्यलाई चित्रण गर्ने “ढुङ्‌गा” एङ्‌ग्लो-अमेरिकी गठबन्धनलाई चित्रण गर्ने पाउहरूमा बजारिनेछ र त्यसलाई धुलोपिठो पार्नेछ। (दानि. २:३४, ३५, ४४, ४५) फलाम र माटो मिसिएका पाउहरूबारे दानिएलले गरेको भविष्यवाणी सत्य हो भन्‍ने कुरामा के तपाईँ विश्‍वस्त हुनुहुन्छ? हुनुहुन्छ भने यसले तपाईँको जीवनशैलीलाई असर गर्नेछ। तपाईँले चाँडै नाश हुने यस संसारमा प्रशस्त धनसम्पत्ति कमाउने कुरामा ध्यान दिनुहुनेछैन। (लुका १२:१६-२१; १ युह. २:१५-१७) यो भविष्यवाणी बुझ्दा साक्षी दिने र सिकाउने काम कत्ति महत्त्वपूर्ण छ भनेर तपाईँले बुझ्नुहुनेछ। (मत्ति ६:३३; २८:१८-२०) हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘परमेश्‍वरको राज्यले चाँडै सम्पूर्ण मानव सरकारलाई नाश गर्नेछ भन्‍ने कुरामा विश्‍वस्त भएको के मेरा निर्णयहरूबाट देखिन्छ?’ w२३.०८ पृ. ११ अनु. १३-१४

शनिबार, फेब्रुअरी १५

हामी सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।​—रोमी १४:१२.

आफ्नो उमेर, स्वास्थ्य वा परिस्थितिले गर्दा चाहेजति गर्न सक्नुहुन्‍न भने त्यो कुरा नम्र भई स्विकार्नुहोस्‌। तपाईँको स्वास्थ्य वा उमेरले गर्दा कुनै जिम्मेवारी पूरा गर्न गाह्रो छ भने बार्जिलैले जस्तै त्यो जिम्मेवारी नस्विकार्नुहोस्‌। (२ समु. १९:३५, ३६) मोसाले जस्तै उपयुक्‍त छ भने अरूको मदत स्विकार्नुहोस्‌ र आफ्नो जिम्मेवारी अरूसित बाँड्‌नुहोस्‌। (प्रस्थ. १८:२१, २२) यसरी मर्यादामा रहँदा आफूलाई थकाउन सक्ने अव्यावहारिक मागहरू गर्नदेखि तपाईँ जोगिनुहुनेछ। हामीले अरूको गलत निर्णयको लागि आफूलाई जबाफदेही ठान्‍नु पनि हुँदैन। हामी अरूको लागि निर्णय गरिदिन सक्दैनौँ न त तिनीहरूलाई गलत निर्णयको नतिजा भोग्नदेखि सधैँ जोगाउन सक्छौँ। जस्तै: तपाईँको छोरा वा छोरीले यहोवाको सेवा गर्न छोड्‌न सक्छन्‌। यस्तो निर्णयले गर्दा आमाबुबालाई असह्‍य पीडा हुन सक्छ। तर छोराछोरीको गलत निर्णयको लागि आफूलाई दोषी ठान्‍ने आमाबुबाले गह्रौँ बोझ बोकिरहेका हुन्छन्‌। यहोवा तिनीहरूले यस्तो बोझ बोकेको चाहनुहुन्‍न। w२३.०८ पृ. २९ अनु. ११-१२

आइतबार, फेब्रुअरी १६

दलिला नाम गरेकी केटीसित सिमसोनको माया बस्यो।​—न्याय. १६:४.

सिमसोन पनि हामीजस्तै त्रुटिपूर्ण थिए। त्यसैले तिनले कहिलेकाहीँ गलत निर्णयहरू गरे। तिनले गरेको एउटा निर्णयले दुःखदायी नतिजा निम्तियो। न्यायकर्ताको रूपमा सेवा गर्न थालेको केही समयपछि “सोरेक बेँसीमा बस्ने दलिला नाम गरेकी केटीसित सिमसोनको माया बस्यो।” यसअघि सिमसोनको एक पलिस्तियाली केटीसित मगनी भएको थियो। त्यसको पछाडि “यहोवा परमेश्‍वरकै हात” थियो किनभने “परमेश्‍वरले पलिस्तियालीहरूलाई आक्रमण गर्ने मौका खोजिरहनुभएको थियो।” पछि सिमसोन पलिस्तियालीहरूको सहर गाजामा एउटी वेश्‍याकहाँ गए र त्यहीँ बसे। त्यतिबेला परमेश्‍वरले सिमसोनलाई पलिस्तियालीहरूको सहरको मूलढोकाका खापाहरू उखेलेर लैजान बल दिनुभयो र सहर असुरक्षित भयो। (न्याय. १४:१-४; १६:१-३) तर दलिला सम्भवतः इस्राएली भएकीले उनीसितको सम्बन्धले पलिस्तियालीहरूसित लडाइँ गर्ने मौका खुल्ने थिएन। सिमसोनलाई धोका दिएबापत दलिलाले पलिस्तियालीहरूबाट टन्‍नै पैसा लिइन्‌। w२३.०९ पृ. ५ अनु. १२-१३

सोमबार, फेब्रुअरी १७

अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ।​—हितो. १९:११.

अन्तर्दृष्टिले हामीलाई कोमल हुन मदत गर्न सक्छ। कसैले हाम्रो विश्‍वासबारे प्रश्‍न उठाउँदा अन्तर्दृष्टि भएको व्यक्‍तिले आत्मसंयम देखाउँछ। यो उदाहरण विचार गरौँ। हामीले समुद्रमा तैरिरहेको हिमशिलाको सानो भाग मात्र देख्छौँ। तर त्यसको ठूलो भाग भने पानीमुनि हुन्छ। त्यसैगरि कसैले प्रश्‍न सोध्दा हामीलाई अक्सर तिनले किन त्यस्तो प्रश्‍न सोधे भनेर थाह हुँदैन। जवाफ दिनुअघि यो कुरा मनमा राख्नु बेस हुन्छ। (हितो. १६:२३) गिदोनले एप्रैमका मानिसहरूलाई कस्तो जवाफ दिए, विचार गरौँ। तिनीहरूले गिदोनलाई इस्राएलका शत्रुहरूसित लड्‌न आफूहरूलाई किन नबोलाएको भनेर रिसाउँदै प्रश्‍न सोधे। तिनीहरू रिसाउनुको कुनै कारण थियो कि? तिनीहरूको आत्मसम्मानमा ठेस लागेको हुन सक्छ। कारण जेसुकै होस्‌, गिदोनले अन्तर्दृष्टि देखाए र तिनीहरू रिसाउनुको कारण बुझ्ने कोसिस गरे अनि कोमलतासाथ जवाफ दिए। नतिजा कस्तो भयो? “गिदोनको . . . कुरा सुनेपछि तिनीहरूको रिस शान्त भयो।”—न्याय. ८:१-३. w२३.०९ पृ. १६ अनु. ८-९

मङ्‌गलबार, फेब्रुअरी १८

हरेक दिन मलाई देखेर उहाँ असाध्यै रमाउनुहुन्थ्यो​—हितो. ८:३०.

यहोवा आफ्नो छोरा येसुसित एकदमै घनिष्ठ हुनुहुन्छ। आफ्नो छोरालाई दुर्व्यवहार गरिएको, तिरस्कार गरिएको अनि सास्ती दिइएको देख्दा यहोवाको मन कत्ति रोयो होला! आफ्नो सन्तान गुमाउनुपरेका आमाबुबालाई त्यो पीडा कत्ति अ सह्‍य हुन्छ भनेर थाह हुन्छ। हामी फेरि जीवित हुने आशामा बलियो विश्‍वास राख्छौँ। तर त्यस आशाले प्रियजन गुमाउनुपर्दाको पीडालाई पूर्णतया मेटाउन भने सक्दैन। यस उदाहरणबाट आफ्नो प्यारो छोराले सास्ती भोग्नुपरेको अनि मृत्यु भोग्नुपरेको देख्दा यहोवालाई कस्तो लाग्यो होला भनेर बुझ्न सक्छौँ। (मत्ति ३:१७) अहिल्यैदेखि व्यक्‍तिगत अध्ययन वा पारिवारिक उपासनामा फिरौतीको बलिदानबारे अध्ययन गर्नुभए कसो होला? अनि स्मरणार्थको दिन बिहानको उपासनाको विशेष कार्यक्रम हेर्न पनि नभुल्नुहोस्‌। यसरी स्मरणार्थको लागि हामीले आफ्नो मन तयार पाऱ्‍यौँ भने चासो देखाएकाहरूलाई पनि मदत गर्न सक्नेछौँ।—एज्रा ७:१०. w२४.०१ पृ. ११ अनु. १०-१२

बुधबार, फेब्रुअरी १९

उहाँले . . . तिमीहरूलाई बलियो पार्नुहुनेछ।​—१ पत्रु. ५:१०.

हामीले यहोवाबाट बल पाउन सक्ने एउटा तरिका उहाँलाई प्रार्थना गरेर हो। अनि उहाँले हाम्रा प्रार्थनाहरूको जवाफस्वरूप “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरि. ४:७) उहाँको वचन पढेर अनि मनन गरेर पनि हामी बल पाउन सक्छौँ। (भज. ८६:११) यहोवाले बाइबलमा हाम्रो लागि लेख्न लगाउनुभएका कुराहरू “प्रबल” छन्‌। (हिब्रू ४:१२) यहोवालाई प्रार्थना गर्दा र उहाँको वचन पढ्‌दा तपाईँले चुनौतीहरूको सामना गर्न, आनन्द कायम गर्न र गाह्रो असाइनमेन्ट पूरा गर्न आवश्‍यक बल पाउनुहुनेछ। उहाँले भविष्यवक्‍ता योनालाई कसरी बल दिनुभयो, विचार गरौँ। योना आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न गाह्रो लागेकोले अन्तै भागेका थिए। यसरी भागेकोले तिनले भयङ्‌कर आँधीमा परेर झन्डै आफ्नो ज्यान गुमाएका थिए र तिनले गर्दा तिनीसँगै यात्रा गरिरहेकाहरूको ज्यान पनि खतरामा परेको थियो। नाविकहरूले तिनलाई समुद्रमा फ्याँकेपछि एउटा ठूलो माछाले तिनलाई निल्यो। माछाको अन्धकार पेटमा पुगेपछि तिनलाई कत्ति डर लाग्यो होला, सोच्नुहोस्‌ त! माछाको पेटमा हुँदा बल पाउन योनाले के गरे? तिनले यहोवालाई प्रार्थना गरे।—योना २:१, २, ७. w२३.१० पृ. १३ अनु. ४-६

बिहीबार, फेब्रुअरी २०

सबै कुराको अन्त नजिक आइपुगेको छ।​—१ पत्रु. ४:७.

प्रेषित पत्रुसले ती पत्रहरू प्रथम शताब्दीका ख्रिष्टियनहरूको लागि लेखेको भए पनि यहोवाले ती पत्रहरूलाई आफ्नो वचनको भाग बनाउनुभयो। त्यसैले आज हामीले पनि ती पत्रहरूबाट लाभ उठाउन सकिरहेका छौँ। (रोमी १५:४) हाम्रो समयका थुप्रै मानिस बाइबलका भविष्यवाणीहरूमा विश्‍वास गर्दैनन्‌। विरोधीहरूले हाम्रो गिल्ला गर्छन्‌ किनकि हामीले धेरै वर्षदेखि परमेश्‍वरको दिन नजिकै छ भनेर बताउँदै आएका छौँ। केही आलोचक त त्यो दिन कहिल्यै आउँदैन समेत भन्छन्‌। (२ पत्रु. ३:३, ४) साक्षीकार्यमा भेटिने मानिसहरू, हाम्रा सहकर्मीहरू वा परिवारका सदस्यहरूले यस्ता कुराहरू भनेको सुन्दा हाम्रो विश्‍वास डगमगाउन सक्छ। त्यस्तो अवस्थामा हामीलाई केले मदत गर्छ भनेर पत्रुसले बताएका छन्‌। कसै-कसैलाई परमेश्‍वरले यस दुष्ट युगको विनाश गर्न ढिला गरिरहनुभएको छ जस्तो लाग्न सक्छ। तर पत्रुसका शब्दहरूबाट समयप्रति यहोवाको दृष्टिकोण हाम्रोभन्दा धेरै फरक छ भनेर बुझ्न सक्छौँ। (२ पत्रु. ३:८, ९) परमेश्‍वरको लागि एक हजार वर्ष भनेको एक दिनजस्तै हो। उहाँ धीरजी हुनुहुन्छ र कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। तर उहाँले तोक्नुभएको दिनमा यस संसारको विनाश अवश्‍य हुनेछ। w२३.०९ पृ. २६-२७ अनु. २-५

शुक्रबार, फेब्रुअरी २१

आफूले सुनेका कुराहरूमा हामीले सदाभन्दा बढी ध्यान दिनु आवश्‍यक छ ताकि हामी कहिल्यै तर्केर नजाऔँ।​—हिब्रू २:१.

प्रेषित पावलले यहुदियाका हिब्रू ख्रिष्टियनहरूलाई किन पत्र लेखे? यसका दुई वटा मुख्य कारण हुन सक्छन्‌। पहिलो, तिनीहरूलाई प्रोत्साहन दिन। ख्रिष्टियन बन्‍नुअघि तिनीहरूमध्ये धेरैजसो यहुदी धर्म मान्थे। तिनीहरू ख्रिष्टियन भएकोले यहुदी धर्मगुरुहरूले तिनीहरूको गिल्ला गरेका हुन सक्छन्‌। किन? किनभने उपासना गर्न ख्रिष्टियनहरूको कुनै मन्दिर थिएन, भेटीहरू चढाउन कुनै वेदी थिएन र पुजारीहरू पनि थिएनन्‌। यसले गर्दा ख्रिष्टको चेला बनेकाहरू निरुत्साहित भएका हुन सक्छन्‌ र तिनीहरूको विश्‍वास कमजोर भएको हुन सक्छ। (हिब्रू ३:१२, १४) तिनीहरूमध्ये कतिपयलाई त फेरि यहुदी धर्ममै फर्केर जाऊँ कि जस्तो लागेको हुन सक्छ। दोस्रो, पावलले बताएअनुसार हिब्रू ख्रिष्टियनहरूले परमेश्‍वरको वचनमा पाइने “खँदिलो खानेकुरा” अर्थात्‌ नयाँ वा गहिरा आध्यात्मिक सत्यहरू बुझ्न प्रयास गरिरहेका थिएनन्‌। (हिब्रू ५:११-१४) तिनीहरूमध्ये केही मोसाको व्यवस्थाअनुसारै चलिरहेका थिए जस्तो देखिन्छ। w२३.१० पृ. २४-२५ अनु. ३-४

शनिबार, फेब्रुअरी २२

युवतीहरूलाई चाहिँ चोखो मनले बहिनीलाई जस्तैगरि सम्झाऊ।​—१ तिमो. ५:२.

केही दिदीबहिनीले समेत विवाह नगर्ने छनौट गरेका छन्‌। (मत्ति १९:१०-१२) तपाईँ अविवाहित दिदीबहिनीलाई यहोवा र येसु अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। हाम्रा अविवाहित दिदीबहिनीहरू भाइबहिनीको लागि प्रोत्साहनका स्रोत हुन्‌। अरूलाई प्रेम गरेकोले र ख्याल राखेकोले तिनीहरू कसैको लागि आध्यात्मिक दिदीबहिनी अनि कसैको लागि आमा भएका छन्‌। (मर्कु. १०:२९, ३०) कोही-कोही पूर्ण-समय सेवा गर्नुहुन्छ। विश्‍वव्यापी साक्षीकार्यमा ख्रिष्टियन दिदीबहिनीको भूमिका निकै ठूलो छ। (भज. ६८:११) के तपाईँ पूर्ण-समय सेवा सुरु गर्न अहिल्यैदेखि योजना बनाउन सक्नुहुन्छ? तपाईँ नियमित अग्रगामी, निर्माण स्वयंसेवक वा बेथेल सेवकको रूपमा सेवा गर्न सक्नुहुन्छ। आफ्नो लक्ष्यबारे प्रार्थना गर्नुहोस्‌। त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीसित कुरा गर्नुहोस्‌ र त्यसको लागि योग्य हुन के गर्नुपर्छ भनेर तिनीहरूलाई सोध्नुहोस्‌। त्यसपछि व्यावहारिक योजना बनाउनुहोस्‌। त्यो लक्ष्य हासिल गरेपछि तपाईँले यहोवाको सेवामा अझ धेरै गर्ने मौका पाउनुहुनेछ। w२३.१२ पृ. २२ अनु. १६-१७

आइतबार, फेब्रुअरी २३

पहिला सुसमाचार प्रचार गरिनुपर्छ।​—मर्कु. १३:१०.

महासङ्‌कष्ट एकदम नजिकै भएकोले सुसमाचार सुनाउने आज्ञा पालन गर्नु जरुरी छ भनेर हामीले बुझेका छौँ। तर हामी साक्षीकार्यमा विरोध वा आर्थिक कठिनाइको सामना गर्दै छौँ भने साक्षीकार्यलाई प्राथमिकता दिन गाह्रो हुन सक्छ। हामी कसरी राज्यसम्बन्धी गति विधिलाई पहिलो स्थान दिन सक्छौँ? “सेनाहरूका यहोवा” हाम्रो साथमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएर। हामीले आफ्नो इच्छालाई नभई राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिइरह्‍यौँ भने उहाँले हामीलाई साथ दिइरहनुहुनेछ। त्यसैले हामी कुनै कुरादेखि डराउनुपर्दैन। (हाग्गै २:४) हामीले जीवन बचाउने साक्षीकार्यलाई प्राथमिकता दिएको यहोवा चाहनुहुन्छ। यहुदीहरूले १७ वर्षअघि नै मन्दिरको जग हालिसकेका थिए। तर हाग्गैले तिनीहरूलाई १७ वर्षसम्म केही नगरी बसेको कुरालाई बिर्सेर नयाँ सुरुवात गर्न प्रोत्साहन दिए। त्यसो गरेमा यहोवाले तिनीहरूमाथि “आशिष्‌ बर्साउने” प्रतिज्ञा गर्नुभयो। (हाग्गै २:१८, १९) हामीले पनि आफूलाई सुम्पिइएको कामलाई प्राथमिकता दियौँ भने उहाँले हाम्रो प्रयासमा पक्कै आशिष्‌ दिनुहुनेछ। w२३.११ पृ. १६ अनु. ८; पृ. १७ अनु. ११

सोमबार, फेब्रुअरी २४

सबैले पाप गरेका छन्‌।​—रोमी ३:२३.

रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले सबै मानिस पापी छन्‌ भने। त्यसोभए कुनै व्यक्‍ति परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिन र उहाँको अनुमोदन पाउन सक्छन्‌? यो कुरा बुझाउन पावलले अब्राहामको उदाहरण चलाए। अब्राहाम कनानमा छँदा यहोवाले तिनलाई धर्मी ठहराउनुभयो। केको आधारमा? के तिनले मोसाको व्यवस्था पालन गरेकोले हो? होइन। (रोमी ४:१३) परमेश्‍वरले तिनलाई धर्मी ठहराउनुभएको ४०० वर्षपछि मात्रै इस्राएल राष्ट्रलाई मोसाको व्यवस्था दिइएको थियो। त्यसोभए परमेश्‍वरले अब्राहामलाई केको आधारमा धर्मी ठहराउनुभयो? उहाँले तिनलाई असीम अनुग्रह देखाउनुभयो र तिनको विश्‍वासको आधारमा तिनलाई धर्मी ठहराउनुभयो।—रोमी ४:२-४. w२३.१२ पृ. ३ अनु. ४-५

मङ्‌गलबार, फेब्रुअरी २५

तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌।​—१ इति. १७:२.

भविष्यवक्‍ता नातानले आजको पदका शब्दहरू दाउदलाई भनेकै रात यहोवाले नातानलाई दाउदले भवन बनाउनेछैनन्‌ भनेर बताउनुभयो। (१ इति. १७:३, ४, ११, १२) यो खबर सुनेपछि दाउदले कस्तो प्रतिक्रिया देखाए? तिनले आफ्नो छोरा सुलेमानलाई यस परियोजनाको लागि चाहिने रकम र सरसामान जुटाउने काममा ध्यान दिए। (१ इति. २९:१-५) यहोवाले दाउदलाई तिनले उहाँको लागि भवन बनाउनेछैनन्‌ भनेर खबर गर्नुभएलगत्तै तिनीसित एउटा करार बाँध्नुभयो। दाउदको घरानाकै एक जनाले सदाको लागि शासन गर्नेछन्‌ भनेर यहोवाले दाउदसित प्रतिज्ञा गर्नुभयो। (२ समु. ७:१६) हजार वर्षीय शासनको दौडान आफ्नै वंशका राजाले शासन गर्दै छन्‌ भनेर थाह पाउँदा दाउद कत्ति खुसी हुनेछन्‌ होला! यस विवरणबाट यहोवाको सेवामा आफूले सोचेजस्तो गर्न नसके पनि उहाँले हामीलाई आसै नगरेका आशिष्‌हरू दिनुहुन्छ भनेर सिक्न सक्छौँ। w२३.०४ पृ. १६ अनु. ८-१०

बुधबार, फेब्रुअरी २६

यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्‍न।​—भज. ९४:१४.

डर लागेको बेला बाइबलको कुनै खास अंशले तपाईँलाई सान्त्वना दिन सक्छ। जस्तै: अय्युब, भजन र हितोपदेशको किताबबाट अनि मत्ति अध्याय ६ मा पाइने येसुका शब्दहरूबाट तपाईँ प्रोत्साहन पाउन सक्नुहुन्छ। यसरी यहोवालाई प्रार्थना गर्दा अनि उहाँको वचन पढ्‌दा तपाईँले उहाँबाट सान्त्वना पाउन सक्नुहुन्छ। जीवनमा कालो बादल छाउँदा यहोवा हाम्रो साथमा हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। हामी कहिल्यै एक्लो हुनेछैनौँ। (भज. २३:४) यहोवाले हाम्रो रक्षा गर्ने, हामीलाई स्थिर पार्ने, साथ दिने र सान्त्वना दिने वाचा गर्नुभएको छ। यहोवाबारे यसैया २६:३ यसो भन्छ: “तपाईँमा पूरै भर पर्नेहरूलाई तपाईँले जोगाउनुहुनेछ। तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्‌।” त्यसैले यहोवामा भरोसा गर्नुहोस्‌ र उहाँले मदत दिन चलाउनुहुने माध्यमहरूको पूरापूर सदुपयोग गर्नुहोस्‌। यसो गर्नुभयो भने गाह्रो अवस्थामा पनि तपाईँ फेरि बलियो हुन सक्नुहुन्छ। w२४.०१ पृ. २५ अनु. १६-१७

बिहीबार, फेब्रुअरी २७

तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।​—यसै. ५४:१७.

माथिको पदमा बताइएको भविष्यवाणी अहिले हाम्रो समयमा पूरा भइरहेको छ। अनि हाम्रो समयमा यो सान्त्वनादायी भविष्यवाणी पनि पूरा भइरहेको छ: “तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्‌ अनि तिनीहरूले अपार शान्ति पाउनेछन्‌। तिमी न्यायको जगमाथि बसालिनेछ्यौ। . . . तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन, तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन; डर र त्रास तिमीदेखि भाग्नेछ।” (यसै. ५४:१३, १४) यहोवाका जनहरूको शैक्षिक कार्यक्रमलाई “यस युगको ईश्‍वर” सैतानले समेत रोक्न सक्दैन। (२ कोरि. ४:४) शुद्ध उपासना पुनर्स्थापित भएको छ र यो फेरि कहिल्यै भ्रष्ट हुनेछैन, सधैँभरि रहिरहनेछ। हामीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ! w२४.०२ पृ. ४ अनु. १०

शुक्रबार, फेब्रुअरी २८

जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।​—मत्ति १०:३७.

हामी आफ्नो समर्पणको वाचालाई गम्भीरतासाथ लिन्छौँ। यसले पारिवारिक मामिलासम्बन्धी निर्णयहरू र तिनीहरूसित गर्ने व्यवहारमा असर गर्छ। हामी परिवारको हेरविचार गर्ने धर्मशास्त्रीय जिम्मेवारी पूरा गर्न मेहनत गर्छौँ। तर यहोवाले हामीबाट चाहनुहुने कुरालाई भन्दा परिवारका सदस्यहरूको इच्छाआकाङ्‌क्षालाई कहिल्यै पहिलो स्थान दिँदैनौँ। (मत्ति १०:३५, ३६; १ तिमो. ५:८) हामीले यहोवालाई खुसी बनाउने निर्णय गर्दा कहिलेकाहीँ हाम्रा आफन्तहरूलाई त्यो कुरा चित्त नबुझ्न सक्छ। यहोवाले परिवारको सुरुवात गर्नुभयो र हाम्रो पारिवारिक जीवन सुखी भएको उहाँ चाहनुहुन्छ। (एफि. ३:१४, १५) यदि हामी साँच्चै आनन्दित हुन चाहन्छौँ भने हामीले यहोवाले चाहनुभएको तरिकामा जीवन बिताउनुपर्छ। तपाईँ आफ्नो परिवारको ख्याल राख्दै हुनुहुन्छ होला अनि तिनीहरूलाई प्रेम र आदर देखाउँदै हुनुहुन्छ होला। (रोमी १२:१०) त्यो सँगसँगै यहोवाको उपासनाको लागि विभिन्‍न त्याग गर्दै हुनुहुन्छ होला। यस्ता त्यागहरूको यहोवा कदर गर्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। w२४.०२ पृ. १७ अनु. ११; पृ. १८ अनु. १३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने