मार्च
शनिबार, मार्च १
आशाले निराश तुल्याउँदैन।—रोमी ५:५.
हुनत अहिले नयाँ संसार आइसकेको छैन। तर हामीले देख्ने ताराहरू, रूखहरू, जीवजन्तु र मानिसहरूबारे एकछिन विचार गरौँ। ती कुराहरू कुनै समय अस्तित्वमा थिएनन्। तर ती वास्तविक हुन् भन्ने कुरामा हामी शङ्का गर्दैनौँ। यहोवाले सृष्टि गर्नुभएपछि मात्र ती कुराहरू अस्तित्वमा आए। (उत्प. १:१, २६, २७) हाम्रो परमेश्वरले नयाँ संसार स्थापना गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ। उहाँले त्यो प्रतिज्ञा अवश्य पूरा गर्नुहुनेछ! मानिसहरूले कुनै रोगबिमार नभएको संसारमा अनन्त जीवन पाउनेछन्। अहिले अस्तित्वमा रहेको ब्रह्माण्ड वास्तविक भएजस्तै परमेश्वरले तोक्नुभएको समयमा नयाँ संसार पनि वास्तविक हुनेछ। (यसै. ६५:१७; प्रका. २१:३, ४) त्यतिन्जेल आफ्नो विश्वास बलियो बनाउने हर मौकाको सदुपयोग गर्नुहोस्। फिरौतीको बलिदानप्रतिको कृतज्ञतालाई बढाउँदै लैजानुहोस्। यहोवाको शक्तिबारे सोच्नुहोस्। आध्यात्मिक गतिविधिलाई जीवनको अभिन्न भाग बनाउनुहोस्। यसो गर्दा तपाईँ पनि ‘विश्वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्न सक्नुहुनेछ।’—हिब्रू ६:११, १२. w२३.०४ पृ. ३१ अनु. १८-१९
आइतबार, मार्च २
के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्वास गऱ्यौ भने परमेश्वरको महिमा देख्नेछ्यौ?—युह. ११:४०.
येसु आकाशतिर हेरेर सबैको अगाडि प्रार्थना गर्नुहुन्छ। किनकि उहाँ सबै कुराको लागि यहोवालाई श्रेय दिन चाहनुहुन्छ। त्यसपछि येसु ठूलो स्वरमा यसो भन्नुहुन्छ: “ए लाजरस, बाहिर आऊ!” (युह. ११:४३) अनि लाजरस चिहानबाट उठेर बाहिर निस्कन्छन्! येसुले कसै-कसैलाई असम्भव जस्तो लागेको काम गर्नुभयो। यस विवरणले फेरि जीवित हुने आशामाथिको हाम्रो विश्वासलाई बलियो बनाउँछ। कसरी? येसुले मार्थालाई गर्नुभएको प्रतिज्ञा फेरि याद गर्नुहोस्: “तिम्रो भाइ ब्युँतनेछ।” (युह. ११:२३) आफ्नो बुबासित जस्तै येसुसित पनि त्यो प्रतिज्ञा पूरा गर्ने इच्छा र शक्ति छ। येसु रुनुभएको कुराबाट उहाँ मरेकाहरूलाई जीवित पार्न र मृत्युले गर्दा हुने दुःख हटाउन तीव्र इच्छा गर्नुहुन्छ भनेर प्रस्ट भयो। लाजरसलाई फेरि जीवित पारेर येसुले आफूसित मरेकाहरूलाई जीवित पार्ने शक्ति छ भनेर फेरि प्रमाणित गर्नुभयो। साथै येसुले मार्थालाई भन्नुभएको कुरा आजको पदमा उल्लेख गरिएको छ। फेरि जीवित पार्ने परमेश्वरको प्रतिज्ञामा विश्वास गर्ने हामीसित ठोस कारणहरू छन्। w२३.०४ पृ. ११-१२ अनु. १५-१६
सोमबार, मार्च ३
यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्।—भज. १४५:१८.
यहोवाको इच्छा अझ राम्रोसँग बुझेपछि हामीले आफ्नो प्रार्थनाको विषय छाँटकाँट गर्नुपर्ने हुन सक्छ। यहोवाको एउटा उद्देश्य छ र त्यो उहाँले तोकिएकै समयमा पूरा गर्नुहुनेछ भन्ने कुरा हामीले सम्झनुपर्छ। त्यस उद्देश्यमा हामीले भोगिरहेको प्राकृतिक प्रकोप, रोगबिमार, मृत्युजस्ता समस्याहरू पूर्णतया अनि सदाका लागि हटाउने कुरा समावेश छ। यहोवाले आफ्नो राज्यमार्फत त्यो उद्देश्य पूरा गर्नुहुनेछ। (दानि. २:४४; प्रका. २१:३, ४) त्यतिन्जेल उहाँले सैतानलाई यस संसारमाथि शासन गर्ने अनुमति दिनुभएको छ। (युह. १२:३१; प्रका. १२:९) यदि यहोवाले अहिले नै मानिसजातिका समस्याहरू समाधान गरिदिनुभयो भने सैतान सफल शासकजस्तो देखिन सक्छ। त्यसैले यहोवाको कुनै-कुनै प्रतिज्ञा पूरा हुन हामीले पर्खनुपर्ने हुन्छ। तर यसको मतलब उहाँले हामीलाई कुनै मदत नै दिनुहुन्न भन्ने होइन। यहोवाले हामीलाई मदत गर्नुहुनेछ। w२३.०५ पृ. ८ अनु. ४; पृ. ९-१० अनु. ७-८
मङ्गलबार, मार्च ४
हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान।—कल. ४:६.
हामी चासो देखाएकाहरूलाई कसरी मदत गर्न सक्छौँ? सुरुमा त तिनीहरूलाई निम्तो दिनुपर्छ। हामी साक्षीकार्यमा भेटिने मानिसहरूलाई त निम्तो दिन्छौँ नै; त्यसका साथै निम्तो दिनको लागि चिनेजानेका मानिसहरूको सूची बनाउन सक्छौँ। त्यस सूचीमा आफन्तहरू, सहकर्मीहरू, सहपाठीहरू अनि अन्य व्यक्तिहरूको नाम लेख्न सक्छौँ। हामीसित पर्याप्त मात्रामा छापिएको निम्तोपर्ची छैन भने हामी तिनीहरूलाई निम्तोपर्चीको लिङ्क सेयर गर्न सक्छौँ। हामीले निम्तो दिएकाहरूमध्ये कति जना स्मरणार्थमा उपस्थित हुनेछन्, हामीलाई थाह छैन। (उप. ११:६) हामीले निम्तो दिएका व्यक्तिहरूको मनमा केही प्रश्न हुन सक्छ भन्ने कुरा याद गर्नुहोस्, खासगरि तिनीहरू हाम्रो कुनै पनि सभामा उपस्थित भएका छैनन् भने। तिनीहरूले सोध्न सक्ने प्रश्नहरू विचार गर्नुहोस् र त्यसको जवाफ तयारी गर्नुहोस्। स्मरणार्थमा उपस्थित भएपछि चासो देखाएकाहरूले अरू प्रश्न सोध्न सक्छन्। “उचित मनसाय” भएकाहरूले स्मरणार्थ उत्सवबाट लाभ उठाउन सकून् भनेर हामी तिनीहरूलाई स्मरणार्थको अघि, त्यस दौडान र त्यसपछि सक्दो मदत गर्न चाहन्छौँ।—प्रेषि. १३:४८. w२४.०१ पृ. १२ अनु. १३, १५; पृ. १३ अनु. १६
बुधबार, मार्च ५
तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।—याकु. ४:१४.
बाइबलमा आठ जना व्यक्तिलाई यसै पृथ्वीमा फेरि जीवित पारिएको विवरण पाइन्छ। ती प्रत्येक विवरण ध्यान दिएर पढ्नुभए कसो होला? यी विवरणहरू पढ्दा सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्। ती प्रत्येक विवरणले परमेश्वरसित मरेकाहरूलाई फेरि जीवित पार्ने इच्छा र शक्ति छ भनेर कसरी देखाउँछ, विचार गर्नुहोस्। साथै सबैभन्दा महत्त्वपूर्ण पुनर्जीवनमा मनन गर्नुहोस्। त्यो हो, येसुको पुनर्जीवन। उहाँ फेरि जीवित हुनुभएपछि सयौँ मानिससामु देखा पर्नुभएको थियो। यस तथ्यले पुनर्जीवनमाथिको हाम्रो विश्वासलाई अझ बलियो बनाउँछ। (१ कोरि. १५:३-६, २०-२२) यहोवाले मरेकाहरूलाई जीवित पार्ने प्रतिज्ञा गर्नुभएकोमा हामी उहाँप्रति धेरै आभारी छौँ। उहाँको यो प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। किनभने उहाँसित त्यो पूरा गर्ने इच्छा र शक्ति दुवै छ। यस अनमोल आशामाथिको हाम्रो विश्वासलाई बलियो बनाइरहने सङ्कल्प गरौँ। यसो गर्दा हामी परमेश्वरसित अझै नजिक हुनेछौँ, जसले हामी प्रत्येकलाई यसो भन्दै हुनुहुन्छ, ‘तिम्रो प्रियजन ब्युँतनेछ!’—युह. ११:२३. w२३.०४ पृ. ८ अनु. २; पृ. १२ अनु. १७; पृ. १३ अनु. २०
बिहीबार, मार्च ६
मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।—मिका ६:८.
मर्यादामा रहनु र नम्रताबीच नजिकको सम्बन्ध छ। मर्यादामा रहने व्यक्तिले आफूबारे बढ्तै सोच्दैन र आफ्नो सीमितता स्विकार्छ। नम्र छौँ भने हामी अरूको आदर गर्छौँ र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ। (फिलि. २:३) मर्यादामा रहने व्यक्ति प्रायजसो नम्र पनि हुन्छ। गिदोन नम्र र मर्यादामा रहने व्यक्ति थिए। शक्तिशाली मिद्यानीहरूको हातबाट इस्राएलीहरूलाई छुटाउन यहोवाले गिदोनलाई रोज्नुभयो। यो कुरा एक जना स्वर्गदूतबाट थाह पाउँदा नम्र गिदोनले यसो भने: “मनस्सेको कुलमा मेरो घराना सबैभन्दा सानो छ र मेरो बुबाको घरानामा पनि म एक साधारण मानिस हुँ।” (न्याय. ६:१५) तिनले यो जिम्मेवारी पूरा गर्न आफू अयोग्य भएको महसुस गरे। तर यहोवालाई तिनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भनेर थाह थियो। उहाँको मदतले गर्दा गिदोनले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सके। एल्डरहरू मर्यादामा रहन र नम्र हुन सक्दो प्रयास गर्छन्। (प्रेषि. २०:१८, १९) तिनीहरू आफ्नो योग्यता र उपलब्धिबारे धाक लगाउँदैनन् न त आफ्नो कमीकमजोरी र गल्तीको कारण आफूलाई बेकामको ठान्छन्। w२३.०६ पृ. ३ अनु. ४-५
शुक्रबार, मार्च ७
उसले तेरो शिर कुच्याउनेछ।—उत्प. ३:१५.
सैतानको शिर कुच्याइनेछ, जुन १ हजार वर्षभन्दा धेरै समयपछि पूरा हुनेछ। (प्रका. २०:७-१०) त्यसअघि पृथ्वीलाई नै हल्लाउने घटनाहरू हुनेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। पहिलो, राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को घोषणा गर्नेछन्। (१ थिस्स. ५:२, ३) राष्ट्रहरूले “एक्कासि” सम्पूर्ण झूटा धर्ममाथि आक्रमण गर्नेछन् र यसरी महासङ्कष्ट सुरु हुनेछ। (प्रका. १७:१६) त्यसपछि येसुले भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउनुभएर मानिसजातिको न्याय गर्नुहुनेछ। (मत्ति २५:३१-३३, ४६) यस समयावधिमा सैतान हात बाँधेर बस्नेछैन। त्यसले परमेश्वरका जनहरूलाई घृणा गर्ने भएकोले तिनीहरूमाथि आक्रमण गर्न मागोग देशको गोगलाई अर्थात् राष्ट्रहरूको गठबन्धनलाई उक्साउनेछ। (इज. ३८:२, १०, ११) महासङ्कष्टको कुनै समयमा पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरू स्वर्ग लगिनेछन् अनि तिनीहरूले ख्रिष्ट र उहाँका स्वर्गीय दलसँगै मिलेर महासङ्कष्टको अन्तिम चरणमा आरमागेडोनको युद्ध लड्नेछन्। (मत्ति २४:३१; प्रका. १६:१४, १६) त्यसपछि पृथ्वीमा ख्रिष्टको हजार वर्षीय शासन सुरु हुनेछ।—प्रका. २०:६. w२३.१० पृ. २०-२१ अनु. ९-१०
शनिबार, मार्च ८
तपाईँको यस सेवकले सानैदेखि यहोवा परमेश्वरको डर मान्दै आएको छ।—१ राजा १८:१२.
आज यहोवाका थुप्रै सेवक हाम्रो काममा प्रतिबन्ध लगाइएका देशहरूमा बस्छन्। तिनीहरू सरकारी अख्तियारवालाहरूको आदर गर्छन् तर ओबदियाहले जस्तै यहोवालाई दिनुपर्ने भक्ति अरूलाई दिँदैनन्। (मत्ति २२:२१) मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मानेर तिनीहरू परमेश्वरको डर मानेको देखाउँछन्। (प्रेषि. ५:२९) तिनीहरू साक्षीकार्यमा लागिरहेर र गोप्य रूपमा सभाहरूको लागि भेला भएर यस्तो डर देखाउँछन्। (मत्ति १०:१६, २८) दाजुभाइ दिदीबहिनीले पर्याप्त आध्यात्मिक भोजन पाइरहेका छन् कि छैनन् भन्ने कुरामा पनि तिनीहरू चासो लिन्छन्। केही समयको लागि हाम्रो काममा प्रतिबन्ध लगाइएको एउटा अफ्रिकी देशमा बस्ने आन्रीको उदाहरण विचार गरौँ। प्रतिबन्धको बेला आन्रीले भाइबहिनीकहाँ हाम्रा प्रकाशनहरू पुऱ्याउने काम गरे। तिनले यस्तो लेखे: “म लजालु स्वभावको छु। तर यहोवाले . . . गर्दा नै म यस्तो साहसी हुन सकेको हुँ।” के तपाईँ पनि आन्रीजस्तै साहसी हुन सक्नुहुन्छ? परमेश्वरप्रतिको डर विकास गर्नुभयो भने पक्कै सक्नुहुन्छ। w२३.०६ पृ. १५-१६ अनु. ९, ११
आइतबार, मार्च ९
एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो।—रोमी ५:१२.
आदम र हव्वाले विद्रोह गरेपछि पृथ्वीलाई त्रुटिरहित अनि आज्ञाकारी मानिसहरूले भर्ने परमेश्वरको उद्देश्यलाई सैतानले विफल पारिदिएको जस्तो देखियो। सैतानलाई यहोवाले आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्न जस्तो लागेको हुन सक्छ। यदि यहोवाले आफ्नो उद्देश्य पूरा गर्ने हो भने आदम र हव्वालाई मृत्युदण्ड दिनुपर्छ र अर्को त्रुटिरहित दम्पती सृष्टि गर्नुपर्छ भनेर सैतानले सोचेको हुन सक्छ। यदि परमेश्वरले त्यसो गर्नुभएको भए दियाबलले परमेश्वर झूट बोल्नुहुन्छ भनेर आरोप लगाउन सक्थ्यो। किन? किनकि उत्पत्ति १:२८ अनुसार यहोवाले आदम र हव्वालाई तिनीहरूकै सन्तानले पृथ्वी भरिनेछ भन्नुभएको थियो। परमेश्वरले आदम र हव्वालाई त्रुटिपूर्ण सन्तान जन्माउन दिनुहुनेछ तर तिनीहरू कहिल्यै त्रुटिरहित अवस्थामा पुग्नेछैनन् भनेर सैतानले सोचेको हुन सक्छ। (उप. ७:२०; रोमी ३:२३) यदि त्यसो भएको भए दियाबलले उहाँ असफल हुनुभएको आरोप लगाउन सक्थ्यो। किन? किनकि पृथ्वी आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले भरिने थिएन। w२३.११ पृ. ६ अनु. १५-१६
सोमबार, मार्च १०
लेखिएका कुराहरूभन्दा बढ्ता केही नगर्नू।—१ कोरि. ४:६.
यहोवा हामीलाई आफ्नो वचन र सङ्गठनमार्फत स्पष्ट निर्देशनहरू दिनुहुन्छ। हामीले त्यसमा कुनै थपथाप गरिराख्नु आवश्यक छैन। (हितो. ३:५-७) त्यसैले हामी बाइबलमा लेखिएका कुराहरूभन्दा बढ्ता गर्दैनौँ न त व्यक्तिगत छनौटका कुराहरूमा नियमहरू बनाउँछौँ। सैतानले मानिसहरूलाई बहकाउन र विभाजित पार्न “खोक्रो अनि छली विचारधाराहरू” र “संसारका आधारभूत कुराहरू” प्रयोग गर्छ। (कल. २:८) प्रथम शताब्दीको कुरा गर्नुपर्दा सैतानले मानव दर्शनहरू प्रयोग गऱ्यो, जुन मानव तर्कहरू, गैर-धर्मशास्त्रीय यहुदी शिक्षाहरू र ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नै पर्छ भन्ने शिक्षामा आधारित थिए। यी छली विचारधाराहरू थिए किनभने यसले मानिसहरूको ध्यान साँचो बुद्धिका स्रोत यहोवाबाट अन्तै मोड्यो। आज सैतानले राजनैतिक नेताहरूले बढावा दिने झूटा खबरहरू र अफवाहहरू फैलाउन सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोग गर्छ। w२३.०७ पृ. १६ अनु. ११-१२
मङ्गलबार, मार्च ११
हे यहोवा, तपाईँका कामहरू कत्ति महान् छन्! तपाईँका विचारहरू कत्ति गहिरा छन्!—भज. ९२:५.
यहोवाले सैतान र प्रथम मानव दम्पतीको विद्रोहलाई सुल्झाउनुभएको तरिका देखेर सैतान जिल्ल परेको हुनुपर्छ। यहोवाले आदम र हव्वालाई सन्तान जन्माउन दिनुभएर उहाँ झूट बोल्नुहुन्न बरु सत्य बोल्नुहुन्छ भनेर प्रमाणित भयो। अनि उहाँ असफल होइन, सफल हुनुभयो। किनकि यहोवाले आफ्नो उद्देश्य पूरा गर्न एउटा “सन्तान” दिने प्रतिज्ञा गर्नुभयो, जसले आदम र हव्वाका आज्ञाकारी सन्तानलाई जोगाउने थियो। त्यही सन्तानले फिरौतीस्वरूप आफ्नो ज्यान दिने थियो। (उत्प. ३:१५; २२:१८) यहोवाको यस्तो प्रबन्ध देखेर सैतान चकित भएको हुनुपर्छ। किन? किनकि यो प्रबन्ध निःस्वार्थ प्रेममा आधारित थियो। (मत्ति २०:२८; युह. ३:१६) सैतान स्वार्थी भएकोले त्यसमा यो गुण पटक्कै छैन। फिरौतीको बलिदानले गर्दा कस्ता लाभहरू हुनेछन्? ख्रिष्टको हजार वर्षीय शासनको अन्तमा यहोवाको सुरुको उद्देश्यअनुरूपै आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले पृथ्वी अधिकार गर्नेछन्। w२३.११ पृ. ६ अनु. १७
बुधबार, मार्च १२
परमेश्वरले न्याय गर्नुहुनेछ।—हिब्रू १३:४.
हामी जीवन र रगतको पवित्रतासम्बन्धी यहोवाको नियम पालन गर्छौँ। किन? किनभने यहोवाले जीवन त्यसको रगतमा हुन्छ भन्नुभयो र जीवन उहाँले हामीलाई दिनुभएको अनमोल उपहार हो। (लेवी १७:१४) उहाँले पहिलो चोटि मानिसहरूलाई मासु खान अनुमति दिनुहुँदा रगतचाहिँ नखानू भनेर निर्देशन दिनुभयो। (उत्प. ९:४) उहाँले यो आज्ञा मोसाको व्यवस्थामा फेरि दोहोऱ्याउनुभयो। (लेवी १७:१०) अनि उहाँले प्रथम शताब्दीको परिचालक निकायमार्फत सबै ख्रिष्टियनलाई ‘रगतबाट सधैँ अलग रहनु’ भन्ने निर्देशन दिनुभयो। (प्रेषि. १५:२८, २९) उपचारसम्बन्धी निर्णयहरू गर्दा हामी यस आज्ञामा सम्झौता गर्दैनौँ। हामी गम्भीरतासाथ यहोवाको उच्च नैतिक स्तर पनि पालन गर्छौँ। प्रेषित पावलले हामीलाई शरीरका अङ्गहरूलाई ‘मार्न’ सल्लाह दिए। यसको मतलब, कुइच्छाहरूलाई हटाउन हामीले ठोस कदम चाल्नुपर्छ। हामी अवैध यौनसम्बन्ध राख्न सक्ने हदसम्म पुऱ्याउने कुनै कुरा हेर्दैनौँ वा त्यस्तो काम गर्दैनौँ।—कल. ३:५; अय्यु. ३१:१. w२३.०७ पृ. १५ अनु. ५-६
बिहीबार, मार्च १३
केही सीप नलागेपछि सिमसोनले दलिलालाई . . . सबै कुरा बताइदिए।—न्याय. १६:१७.
के मायामा अन्धो भएकोले सिमसोनले दलिलाको चाल बुझ्न सकेनन्? दलिलाले सिमसोनलाई दिनदिनै कचकच गरिरहिन् र अन्तमा सिमसोनले आफ्नो शक्तिको स्रोतबारे उनलाई सबै कुरा बताइदिए। दुःखको कुरा, यस्तो गल्ती गरेकोले केही समयको लागि सिमसोनले आफ्नो शक्ति र यहोवाको अनुमोदन गुमाए। (न्याय. १६:१६-२०) सिमसोनले यहोवालाई नभई दलिलालाई विश्वास गरेकोले दुःखदायी नतिजाहरू भोग्नुपऱ्यो। पलिस्तियालीहरूले तिनलाई पक्रेर लगे र तिनको आँखा निकालिदिए। त्यसपछि तिनलाई गाजामा झ्यालखानामा हालियो र दासलाई जस्तो गहुँ पिँध्ने काम गर्न लगाइयो। पलिस्तियालीहरूले आफ्नो देवता दागोनलाई थुप्रै बलि चढाए किनभने उनीहरू दागोनले नै सिमसोनलाई आफ्नो हातमा सुम्पिदिएका हुन् भनेर विश्वास गर्थे। पछि उनीहरूले तिनको ‘रमिता हेर्न’ तिनलाई झ्यालखानाबाट खुसीयाली मनाइरहेको ठाउँमा ल्याए र तिनको अपमान गरे।—न्याय. १६:२१-२५. w२३.०९ पृ. ५-६ अनु. १३-१४
शुक्रबार, मार्च १४
सबै मानिसले जुन कुरालाई असल ठान्छन्, त्यही गर।—रोमी १२:१७.
सहकर्मी वा सहपाठीले हामी किन बाइबलको स्तरअनुसार चल्छौँ भनेर सोध्न सक्छन्। त्यतिबेला हामी तिनलाई बाइबलको स्तरअनुसार जीवन बिताउनु किन सबैभन्दा राम्रो हो भनेर बताउन सक्दो कोसिस गर्छौँ तर तिनको विचारको पनि कदर गर्छौँ। (१ पत्रु. ३:१५) तिनले हाम्रो आलोचना गर्नको लागि त्यस्तो प्रश्न सोधेका हुन् भन्ने निष्कर्षमा नपुग्नुहोस्। बरु तिनको प्रश्नबाट तिनले महत्त्वपूर्ण ठान्ने कुरा थाह पाउन सकिन्छ भनेर सोच्नुहोस्। कसैले प्रश्न सोध्नुको कारण जेसुकै भए तापनि हामीले दयालु तरिकामा जवाफ दिनुपर्छ। हाम्रो जवाफले तिनीहरूलाई आफ्नो विचार फेरि केलाउन उत्प्रेरित गर्न सक्छ। हाम्रो सहकर्मीले साक्षीहरू किन जन्मदिन मनाउँदैनन् भन्ने जस्ता प्रश्नहरू सोध्न सक्छन्। त्यतिबेला हामी त्यस्तो प्रश्न सोध्नु पछाडिको कारण विचार गर्न सक्छौँ। सायद तिनलाई साक्षीहरूले कहिल्यै रमाइलो गर्न मिल्दैन जस्तो लागेको हुन सक्छ। हामी तिनको यस्तो चिन्ता कम गर्न केही भन्न सक्छौँ। जस्तै: तिनले अरू सहकर्मीको ख्याल राखेकोमा तिनको प्रशंसा गर्न सक्छौँ। यसो गर्दा जन्मदिनबारे बाइबलमा सङ्केत गरिएको कुरा बताउने मौका पाउन सक्छौँ। w२३.०९ पृ. १७ अनु. १०-११
शनिबार, मार्च १५
होसियार होओ नत्र त ती कुकर्मीहरूको छली कुराहरूद्वारा बहकिएर तिमीहरूले आफ्नो स्थिरता गुमाउनेछौ।—२ पत्रु. ३:१७.
सबै जातिका मानिसलाई साक्षी दिने काममा लाग्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। प्रेषित पत्रुस हामीलाई यहोवाको दिनलाई ‘मनमा राख्न’ आग्रह गर्छन्। (२ पत्रु. ३:११, १२) हामी कसरी त्यसो गर्न सक्छौँ? सकिन्छ भने हामी हरेक दिन नयाँ संसारमा पाइने आशिष्हरूबारे मनन गर्न सक्छौँ। प्रदूषणरहित स्वच्छ वातावरणको आनन्द उठाएको, स्वस्थकर खानेकुरा खाएको, फेरि जीवित भएका प्रियजनहरूलाई स्वागत गरेको अनि सयौँ वर्षअघिका मानिसहरूलाई बाइबल भविष्यवाणीहरू कसरी पूरा भए भनेर सिकाएको कल्पना गर्नुहोस्। यसरी मनन गर्दा यहोवाको दिनको बाटो हेरिरहन र अहिले हामी बाँचिरहेको समय अन्तको दिन हो भन्ने कुरामा विश्वस्त हुन सक्नेछौँ। हामीसित भविष्यबारे ‘पहिल्यैदेखि ज्ञान भएकोले’ झूटा शिक्षकहरूद्वारा ‘बहकिनेछैनौँ।’ w२३.०९ पृ. २७ अनु. ५-६
आइतबार, मार्च १६
परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि परमेश्वरको नजरमा यो असल छ।—एफि. ६:१.
यस संसारका धेरैजसो युवा ‘आमाबुबाको आज्ञा पालन गर्दैनन्।’ (२ तिमो. ३:१, २) किन? केही आमाबुबाको बोली एउटा अनि व्यवहार अर्कै हुन्छ। छोराछोरीलाई यस्तो कुरा चित्त नबुझ्न सक्छ। केही युवालाई भने आमाबुबाको सल्लाह पुरानो जमानाको, अव्यावहारिक वा असाध्यै कडा लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ कि? धेरैलाई आजको पदमा दिइएको यहोवाको आज्ञा पालन गर्न गाह्रो लाग्छ। यसो गर्न तपाईँलाई केले मदत गर्न सक्छ? आज्ञाकारी हुने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (१ पत्रु. २:२१-२४) उहाँ त्रुटिरहित हुनुहुन्थ्यो तर उहाँका आमाबुबा भने त्रुटिपूर्ण थिए। तिनीहरूले कहिलेकाहीँ गल्ती गरे र उहाँलाई बुझ्न सकेनन्। तैपनि उहाँले तिनीहरूको आदर गर्नुभयो।—प्रस्थ. २०:१२. w२३.१० पृ. ७ अनु. ४-५
सोमबार, मार्च १७
यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो।—हिब्रू ७:१८.
भेटीहरू चढाउँदैमा पापबाट पूर्णतया क्षमा पाउन नसकिने भएकोले व्यवस्थालाई “रद्द” गरियो भनेर प्रेषित पावलले सङ्गी ख्रिष्टियनहरूलाई सम्झाए। त्यसपछि पावलले तिनीहरूलाई केही गहिरा सत्य सिकाए। तिनले येसुको बलिदानले सम्भव तुल्याएको “उत्तम आशा”-बारे सम्झाए, जसले तिनीहरूलाई “परमेश्वरसित नजिक” हुन मदत गर्ने थियो। (हिब्रू ७:१९) पावलले हिब्रूहरूलाई पहिला तिनीहरूले चढाएको उपासनाभन्दा ख्रिष्टियनको रूपमा तिनीहरूले चढाउने उपासना किन उत्कृष्ट छ भनेर बताए। व्यवस्थाअनुसार यहुदीहरूले चढाएको उपासना ‘आउने कुराहरूको छाया मात्र थियो तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।’ (कल. २:१७) छाया भनेको कुनै वास्तविक वस्तुको आकृति मात्र हो। त्यसैगरि उपासना गर्ने यहुदीहरूको तरिका आउन लागेका कुराहरूको छाया मात्र थियो। हामीले पापहरूको क्षमा पाउन र यहोवालाई ग्रहणयोग्य उपासना चढाउन उहाँले गर्नुभएको प्रबन्ध राम्ररी बुझ्नुपर्छ। w२३.१० पृ. २५ अनु. ४-५
मङ्गलबार, मार्च १८
अन्तको समयमा दक्षिणका राजा तिनीसित भिड्नेछन् अनि उत्तरका राजा . . . तिनीविरुद्ध जाइलाग्नेछन्।—दानि. ११:४०.
दानिएल अध्याय ११ मा दुई जना राजा अर्थात् राजनैतिक शक्तिहरूबारे बताइएको छ। ती राजाहरू विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न एकअर्कासित भिड्छन्। यस भविष्यवाणीलाई बाइबलका अरू भविष्यवाणीहरूसित तुलना गरेर हेर्दा “उत्तरका राजा”-ले रूस र त्यसका समर्थकहरूलाई अनि “दक्षिणका राजा”-ले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई बुझाउँछ भन्ने निष्कर्षमा पुग्न सक्छौँ। “उत्तरका राजा”-ले शासन गरिरहेका देशहरूमा बस्ने परमेश्वरका जनहरूले प्रत्यक्ष आक्रमण भोगिरहेका छन्। आफ्नो विश्वासको कारण केही साक्षीलाई पिटिएको छ र झ्यालखानामा हालिएको छ। यस्तो आक्रमणले हाम्रा भाइबहिनीलाई त्रसित बनाउनुको साटो तिनीहरूको विश्वासलाई अझै बलियो बनाएको छ। किन? किनभने परमेश्वरका जनहरूमाथि आउने यस्तो खेदोले दानिएलको भविष्यवाणी पूरा गर्छ भनेर तिनीहरूलाई थाह छ। (दानि. ११:४१) यो कुरा थाह पाउँदा हामीले आफ्नो आशालाई बलियो बनाइराख्न र यहोवाप्रति वफादार रहिरहन मदत पाउँछौँ। w२३.०८ पृ. ११ अनु. १५-१६
बुधबार, मार्च १९
जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई छुन्छ।—जक. २:८.
यहोवा हामीलाई उहाँको आँखाको नानीसित तुलना गर्नुहुन्छ। आँखा हाम्रो शरीरको संवेदनशील र बहुमूल्य अङ्ग हो। त्यसैले एक अर्थमा उहाँले यसो भनिरहनुभएको थियो: ‘जसले मेरा मानिसहरूलाई हानि पुऱ्याउँछ, उसले मैले बहुमूल्य ठानेको कुरालाई हानि पुऱ्याइरहेको हुन्छ।’ यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ हाम्रो भावना तुरुन्तै याद गर्नुहुन्छ र रक्षा गर्न तयार हुनुहुन्छ। हामी दुःखी हुँदा उहाँलाई पनि दुःख लाग्छ। त्यसैले हामी ढुक्क भई यसरी प्रार्थना गर्न सक्छौँ: “आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्।” (भज. १७:८) यहोवा हामी प्रत्येकलाई प्रेम गर्नुहुन्छ। यस कुरामा हामी विश्वस्त भएको उहाँ चाहनुहुन्छ। तर उहाँले यो कुरा बुझ्नुभएको छ: विगतका तीता अनुभवहरू वा अहिले भोगिरहेका परीक्षाहरूले गर्दा हामीलाई उहाँको प्रेममाथि शङ्का लाग्न सक्छ। त्यसोभए उहाँको प्रेममाथिको विश्वासलाई कसरी अझै बलियो बनाउन सक्छौँ? येसु, अभिषिक्त जनलगायत हामी सबैलाई यहोवा कसरी प्रेम देखाउनुहुन्छ भन्ने कुरा बुझेर। w२४.०१ पृ. २७ अनु. ६-७
बिहीबार, मार्च २०
‘हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो; उहाँले हामीलाई शत्रुहरूको हातबाट जोगाउनुभयो।’—एज्रा ८:३१.
परीक्षाको बेला यहोवाले आफ्ना जनहरूलाई साथ दिनुभएको एज्राले देखेका थिए। ईसापूर्व ४८४ मा राजा आहासुरसले फारसी साम्राज्यभरिका यहुदीहरूको नामोनिसान मेटाउने उर्दी जारी गर्दा तिनी सम्भवतः बेबिलोनमै थिए। (एस्त. ३:७, १३-१५) त्यतिबेला एज्रा र सबै यहुदीको ज्यान खतरामा थियो। त्यो उर्दी सुनेपछि “सबै प्रान्त”-का यहुदीहरू यत्ति चिन्तित भए कि तिनीहरूले मदतको लागि यहोवालाई पुकार्दै उपवास बसे र रुवाबासी गरे। (एस्त. ४:३) यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रच्नेहरू नै मारिएको देख्दा एज्रा र अरू यहुदीहरूले कस्तो महसुस गरे होलान्, कल्पना गर्नुहोस्। (एस्त. ९:१, २) ती चुनौतीपूर्ण अवस्थाहरूले एज्रालाई भविष्यमा आइपर्ने परीक्षाहरूको लागि तयार बनाएको हुन सक्छ। साथै यहोवासित आफ्ना जनहरूलाई जोगाउने क्षमता छ भन्ने कुरामाथिको भरोसालाई अझै बलियो बनाएको हुनुपर्छ। w२३.११ पृ. १७ अनु. १२-१३
शुक्रबार, मार्च २१
कामविना पनि परमेश्वरले धर्मी ठहराउनुहुन्छ।—रोमी ४:६.
प्रेषित पावलले मुख्यतः “व्यवस्था अनुसारको काम”-बारे बताइरहेका थिए, जुन व्यवस्था इस्राएलीहरूलाई सिनै पर्वतमा दिइएको थियो। (रोमी ३:२१, २८) पावलको समयका केही यहुदी ख्रिष्टियनलाई मोसाको व्यवस्था रद्द भइसक्यो र त्यसबमोजिमका कामहरू गर्नुपर्दैन भनेर स्विकार्न गाह्रो भइरहेको थियो जस्तो देखिन्छ। त्यसैले पावलले परमेश्वरको नजरमा धर्मी ठहरिन “व्यवस्था अनुसारको काम” गर्नुपर्दैन बरु विश्वास गर्नुपर्छ भनेर बुझाउन अब्राहामको उदाहरण बताए। यो निकै प्रोत्साहनदायी छ किनकि परमेश्वर र ख्रिष्टमा विश्वास गर्छौँ भने हामीले परमेश्वरको अनुमोदन पाउन सक्छौँ। अर्कोतर्फ, याकुब अध्याय २ मा बताइएको “काम” पावलले बताएको “व्यवस्था अनुसारको काम”-भन्दा फरक छ। याकुबले बताएको कामले ख्रिष्टियनहरूले दैनिक जीवनमा गर्ने कामकुरालाई बुझाउँछ। (याकु. २:२४) त्यस्ता कामकुराले कुनै ख्रिष्टियनसित परमेश्वरमाथि साँचो विश्वास छ कि छैन भनेर देखाउँछ। w२३.१२ पृ. ३ अनु. ८; पृ. ४-५ अनु. १०-११
शनिबार, मार्च २२
पत्नीको शिर पति हो।—एफि. ५:२३.
विवाह गर्ने विचार गरिरहेका बहिनीहरूले होसियारीसाथ जीवनसाथी रोज्नुपर्छ। नबिर्सनुहोस्, तपाईँ जोसित विवाह गर्नुहुन्छ, उसैको शिरत्वको अधीनमा बस्नुपर्छ। (रोमी ७:२; एफि. ५:३३) त्यसैले आफैलाई सोध्नुहोस्: ‘के तिनी परिपक्व ख्रिष्टियन हुन्? के तिनी आध्यात्मिक कुरालाई प्राथमिकता दिन्छन्? के तिनी बुद्धिमानी निर्णयहरू गर्छन्? के तिनी आफ्नो गल्ती स्विकार्छन्? के तिनी स्त्रीहरूको आदर गर्छन्? के तिनी आध्यात्मिक, भौतिक र भावनात्मक रूपमा मेरो ख्याल राख्न सक्छन्? तपाईँ असल पति पाउन चाहनुहुन्छ भने तपाईँ आफैले पनि असल पत्नीमा हुनुपर्ने गुणहरू विकास गर्नुपर्छ। असल पत्नी पतिको “साथी” र “सहयोगी” हुन्छिन्। (उत्प. २:१८) यहोवालाई प्रेम गर्ने भएकोले तिनी आफ्नो पतिको मान बढाउने कोसिस गर्छिन्। (हितो. ३१:११, १२; १ तिमो. ३:११) यहोवासितको सम्बन्धलाई बलियो बनाएर र परिवार अनि मण्डलीमा अरूलाई सघाएर तपाईँ अहिल्यैदेखि असल पत्नी बन्ने तयारी गर्न सक्नुहुन्छ। w२३.१२ पृ. २२-२३ अनु. १८-१९
आइतबार, मार्च २३
यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस्।—याकु. १:५.
यहोवाले हामीलाई सही निर्णय गर्न चाहिने बुद्धि दिने प्रतिज्ञा गर्नुभएको छ। विशेषगरि हाम्रो पूरै जीवनलाई असर गर्ने निर्णयहरू गर्न परमेश्वरले दिनुहुने बुद्धि चाहिन्छ। यहोवा हामीलाई सहने बल पनि दिनुहुन्छ। उहाँ हामीलाई प्रेषित पावललाई जस्तै परीक्षाहरू सहने बल दिनुहुन्छ। (फिलि. ४:१३) एउटा तरिका भनेको यहोवा हाम्रो आध्यात्मिक परिवारलाई चलाउनुहुन्छ। येसुले आफ्नो मृत्युको अघिल्लो रात यहोवालाई व्यग्र प्रार्थना गर्नुभयो। आफूमाथि ईश्वरनिन्दा गरेको कलङ्क नलागोस् भनेर उहाँले यहोवालाई बिन्ती गर्नुभयो। यहोवाले येसुलाई त्यो कलङ्क लाग्नदेखि जोगाउनुभएन। बरु येसुसँगै स्वर्गमा लामो समय बिताएका उहाँकै एक जना भाइलाई पठाउनुभयो र उहाँलाई हौसला दिनुभयो। (लुका २२:४२, ४३) यहोवा हामीलाई पनि हाम्रा भाइबहिनीमार्फत मदत गर्नुहुन्छ। तिनीहरूले हामीलाई फोन कल वा भेटघाट गरेर प्रोत्साहन दिन सक्छन्। हामी पनि भाइबहिनीलाई प्रोत्साहन दिन “मीठो बोली” बोल्ने कोसिस गर्न सक्छौँ।—हितो. १२:२५. w२३.०५ पृ. १०-११ अनु. ९-११
सोमबार, मार्च २४
एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो।—१ थिस्स. ५:११.
स्मरणार्थमा आएका निष्क्रिय भाइबहिनीहरूलाई ‘अरूले केही भन्ने हुन् कि’ वा ‘कुरा काट्ने हुन् कि’ भनेर डर पनि लागेको हुन सक्छ। त्यसैले तिनीहरूलाई अप्ठ्यारोमा पार्ने प्रश्नहरू नसोध्नुहोस् वा चित्त दुख्ने कुरा नभन्नुहोस्। तिनीहरू पनि हाम्रै परिवारका सदस्य हुन्। तिनीहरूसितै मिलेर फेरि यहोवाको उपासना गर्न पाउँदा हामी खुसी हुन्छौँ। (भज. ११९:१७६; प्रेषि. २०:३५) येसुले हामीलाई उहाँको मृत्युको सम्झना गर्न भन्नुभएकोमा हामी साँच्चै कृतज्ञ छौँ। यस उत्सवमा उपस्थित हुँदा हामी आफैलाई र अरूलाई पनि विभिन्न तरिकामा लाभ हुन्छ। (यसै. ४८:१७, १८) यहोवा र येसुप्रतिको हाम्रो प्रेम अझै प्रगाढ हुन्छ। उहाँहरूले हाम्रो लागि गर्नुभएका कुराहरूप्रति कृतज्ञता देखाउने मौका पाउँछौँ। सङ्गी भाइबहिनीसितको हाम्रो सम्बन्ध पनि अझै बलियो हुन्छ। अनि हामी जिज्ञासु व्यक्तिहरूलाई फिरौतीले गर्दा सम्भव भएका आशिष्हरूबाट कसरी लाभ उठाउन सकिन्छ भनेर बुझ्न मदत गर्न सक्छौँ। यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिन, स्मरणार्थ उत्सवको लागि तयार हुन आफ्नो तर्फबाट सक्दो गरौँ। w२४.०१ पृ. १४ अनु. १८-१९
मङ्गलबार, मार्च २५
म यहोवा तिमीहरूका परमेश्वर हुँ . . . म तिमीहरूलाई डोऱ्याउँछु।—यसै. ४८:१७.
यहोवा हामीलाई कसरी डोऱ्याउनुहुन्छ? मुख्यतः आफ्नो वचन बाइबलद्वारा। तर उहाँ मानिसहरूलाई पनि प्रयोग गर्नुहुन्छ। जस्तै: “विश्वासी र बुद्धिमान् दास,” जसले बुद्धिमानी निर्णयहरू गर्न मदत मिल्ने आध्यात्मिक भोजनको प्रबन्ध गर्छ। (मत्ति २४:४५) हामीलाई डोऱ्याउन यहोवा अन्य योग्य पुरुषहरूलाई पनि चलाउनुहुन्छ। जस्तै: क्षेत्रीय निरीक्षक र मण्डलीका एल्डरहरू। तिनीहरूले दिने प्रोत्साहन र निर्देशनबाट हामी गाह्रो अवस्थाको सामना गर्न मदत पाउँछौँ। अन्त आउनै लागेको यस कठिन समयमा यस्तो भरपर्दो डोऱ्याइ पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ नि, होइन? यस्तो डोऱ्याइले हामीलाई यहोवाको अनुमोदन पाइरहन र जीवनको बाटोमा हिँडिरहन मदत गर्छ। तर कहिलेकाहीँ हामीलाई यहोवाको निर्देशन पछ्याउन गाह्रो लाग्न सक्छ। खासगरि त्यो निर्देशन त्रुटिपूर्ण मानिसहरूबाट आएको हो भने। त्यस्तो बेलामा यहोवाले नै आफ्ना जनहरूलाई डोऱ्याउँदै हुनुहुन्छ र उहाँको डोऱ्याइअनुसार हिँड्दा आशिष् पाउन सक्छौँ भन्ने कुरामा अझ विश्वस्त हुनु जरुरी छ। w२४.०२ पृ. २० अनु. २-३
बुधबार, मार्च २६
वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गर्नुपर्छ।—१ युह. ३:१८.
लगनशील भई परमेश्वरको वचनको अध्ययन गरेर हामी उहाँप्रतिको प्रेम बढाउन सक्छौँ। कुनै बाइबल विवरण पढ्दा यहोवाबारे के सिक्न सकिन्छ भनेर विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘यस विवरणबाट यहोवा मलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छु? यस विवरणमा यहोवालाई प्रेम गर्नुपर्ने कस्ता कारणहरू पाइन्छन्?’ यहोवाप्रतिको प्रेम बढाउँदै लैजाने अर्को तरिका हरेक दिन प्रार्थना गरेर उहाँलाई आफ्नो मनको कुरा बताउनु हो। (भज. २५:४, ५) अनि यहोवा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (१ युह. ३:२१, २२) हामीले अरूप्रतिको प्रेम पनि बढाउँदै लैजानुपर्छ। आफू ख्रिष्टियन भएको केही वर्षपछि प्रेषित पावलले जवान तिमोथिलाई भेटे। तिमोथि यहोवा र भाइबहिनीलाई प्रेम गर्थे। केही वर्षपछि पावलले फिलिप्पीका भाइबहिनीलाई यसो भने: “तिमीहरूको साँचो चासो राख्ने [तिमोथिको] जस्तो मनोभाव भएका अरू मानिस मसित छैन।” (फिलि. २:२०) यहाँ तिनले तिमोथिको व्यवस्थापन गर्ने र जनसमक्ष भाषण दिने क्षमताबारे बताएनन् बरु भाइबहिनीप्रतिको तिमोथिको प्रेमबारे बताए। तिमोथिले सेवा गरेका मण्डलीहरूका भाइबहिनी पक्कै पनि उनको भ्रमणको तीव्र प्रतीक्षामा थिए।—१ कोरि. ४:१७. w२३.०७ पृ. ९ अनु. ७-१०
बिहीबार, मार्च २७
म तिमीलाई . . . कहिल्यै त्याग्नेछैनँ।—हिब्रू १३:५.
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोसाको मृत्यु भयो। के परमेश्वरका जनहरू बेसहारा भए? अहँ, भएनन्। तिनीहरू वफादार होउन्जेल यहोवाले तिनीहरूको आवश्यकता पूरा गरिदिनुभयो। यहोवाले मोसालाई तिनको मृत्यु हुनुअघि यहोसुलाई इस्राएलीहरूको अगुवा नियुक्त गर्नू भन्नुभएको थियो। मोसाले यहोसुलाई वर्षौँदेखि तालिम दिइरहेका थिए। (प्रस्थ. ३३:११; व्यव. ३४:९) अनि नेतृत्व लिन सक्ने अरू थुप्रै सक्षम पुरुष पनि थिए। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्त गरिएको थियो। (व्यव. १:१५) परमेश्वरले आफ्ना जनहरूको राम्रो ख्याल राख्नुभएको थियो। हामी त्यस्तै उदाहरण एलियाको समयमा पनि पाउँछौँ। तिनले दशकौँदेखि इस्राएलीहरूमाझ साँचो उपासनाको नेतृत्व लिइरहेका थिए। तर यहोवाले तिनलाई अर्कै जिम्मेवारी पूरा गर्न यहुदा सार्नुभयो। (२ राजा २:१; २ इति. २१:१२) के त्यतिबेला इस्राएलको दस गोत्रे राज्यका वफादार मानिसहरू बेसहारा भए? अहँ, भएनन्। एलियाले एलिसालाई वर्षौँदेखि तालिम दिइरहेका थिए। यसरी आफ्ना वफादार उपासकहरूको ख्याल राख्ने यहोवाको उद्देश्य पूरा हुँदै गयो। w२४.०२ पृ. ५ अनु. १२
शुक्रबार, मार्च २८
ज्योतिका सन्तानझैँ हिँड।—एफि. ५:८.
एफिसीका ख्रिष्टियनहरू परमेश्वरको वचनअनुसार जिउन थालेकोले एक अर्थमा तिनीहरूलाई ज्योतिले डोऱ्याइरहेको थियो। (भज. ११९:१०५) तिनीहरूले झूटो धर्मका रीतिथिति र अनैतिक आचरण त्यागे। तिनीहरू ‘परमेश्वरको देखासिकी गर्नेहरू’ भए अनि उहाँको उपासना गर्न र उहाँलाई खुसी तुल्याउन अथक प्रयास गरे। (एफि. ५:१) त्यसैगरि हामी पनि सत्य सिक्नुअघि धार्मिक र नैतिक अन्धकारमा थियौँ। हामीमध्ये केहीले झूटो धर्मका चाडपर्व मनाउँथ्यौँ अनि अरू कतिपयले चाहिँ अनैतिक जीवन बिताउँथ्यौँ। तर हामीले सही र गलतबारे यहोवाको स्तर सिकेपछि जीवनमा परिवर्तन गऱ्यौँ। हामी उहाँको धार्मिक स्तरअनुसार जिउन थाल्यौँ अनि यसो गर्दा हामीले थुप्रै लाभ उठाएका छौँ। (यसै. ४८:१७) हामी निस्केर आएको अन्धकारबाट टाढा रहन अनि “ज्योतिका सन्तानझैँ” हिँडिरहन सधैँ सजिलो भने हुँदैन। w२४.०३ पृ. २१ अनु. ६-७
शनिबार, मार्च २९
हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।—फिलि. ३:१६.
तपाईँलाई आफू समर्पण र बप्तिस्माको लागि तयार भइसकेको छैन जस्तो लाग्न सक्छ। सायद यहोवाको स्तरअनुसार जिउन तपाईँले जीवनमा अझै केही छाँटकाँट गर्नुपर्छ होला वा आफ्नो विश्वासलाई बलियो बनाउन तपाईँलाई अझ केही समय चाहिन सक्छ। (कल. २:६, ७) सबै विद्यार्थीको उन्नति एकैनासको हुँदैन अनि सबै जवान समर्पण र बप्तिस्माको लागि एउटै उमेरमा तयार हुन्छन् भन्ने छैन। त्यसैले आफूले गर्न सक्ने कुराहरूको आधारमा आफ्नो आध्यात्मिक उन्नति जाँच्ने कोसिस गर्नुहोस्, अरूसित तुलना गरेर होइन। (गला. ६:४, ५) आफू समर्पणको लागि तयार छैन जस्तो लागे पनि त्यसलाई आफ्नो लक्ष्य बनाइरहनुहोस्। जीवनमा आवश्यक छाँटकाँटहरू गर्न यहोवासित मदत माग्नुहोस्। (फिलि. २:१३) उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ र तपाईँलाई मदत गर्नुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्।—१ युह. ५:१४. w२४.०३ पृ. ५ अनु. ९-१०
आइतबार, मार्च ३०
पतिहरू हो, आ-आफ्नी पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो।—१ पत्रु. ३:७.
एकचोटि सारा एकदमै उदास भएको बेला उनले अब्राहामलाई आफ्नो रिस पोखिन्। यहाँसम्म कि उनले सबै समस्या अब्राहामले गर्दा नै भएको हो भनेर दोषसमेत लगाइन्। सारा अधीनमा बस्छिन् र सधैँ आफूलाई साथ दिन्छिन् भनेर अब्राहामलाई थाह थियो। तिनले उनको कुरा सुने र मामिला सुल्झाउन कोसिस गरे। (उत्प. १६:५, ६) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? पतिहरू हो, परिवारको लागि निर्णय गर्ने अधिकार तपाईँसित छ। (१ कोरि. ११:३) विशेषगरि, तपाईँको निर्णयले पत्नीलाई असर गर्न सक्छ भने निर्णय गर्नुअघि तिनको कुरा ध्यान दिएर सुन्नु मायालु कुरा हो। (१ कोरि. १३:४, ५) अर्को एकचोटि अब्राहामले अचानक आएका पाहुनाहरूलाई आफ्नो घरमा बोलाए। तिनले सारालाई उनले गरिरहेको काम छोडेर धेरै रोटी बनाउन भने। (उत्प. १८:६) साराले अब्राहामको निर्णयलाई समर्थन गर्दै तुरुन्तै खानेकुरा पकाउन थालिन्। पत्नीहरू हो, तपाईँहरूले आफ्नो पतिले गरेको निर्णयलाई समर्थन गरेर साराको अनुकरण गरेको देखाउन सक्नुहुन्छ। यसो गर्दा तपाईँहरूको पनि वैवाहिक सम्बन्ध बलियो हुनेछ।—१ पत्रु. ३:५, ६. w२३.०५ पृ. २४-२५ अनु. १६-१७
सोमबार, मार्च ३१
‘माथिबाट आउने बुद्धि पाउने मानिस आज्ञाकारी हुन्छ।’—याकु. ३:१७.
गिदोन न्यायकर्ता नियुक्त भएपछि तिनको आज्ञाकारिता र साहसको जाँच भयो। तिनलाई आफ्नो बुबाले बनाएको बाआल देवताको वेदी भत्काउने जिम्मेवारी दिइयो। (न्याय. ६:२५, २६) यो काम गर्दा तिनको ज्यानै जान सक्थ्यो। पछि मिद्यानीहरूविरुद्ध लड्नुअघि गिदोनलाई दुई-दुई पटक आफ्नो सेनाको सङ्ख्या घटाउन भनियो। (न्याय. ७:२-७) त्यसपछि तिनलाई मध्यरातमा शत्रुहरूको छाउनीमा आक्रमण गर्न भनियो। (न्याय. ७:९-११) एल्डरहरू “आज्ञाकारी” हुनुपर्छ। आज्ञाकारी एल्डरहरू बाइबलमा भनिएको कुरा र सङ्गठनबाट आएको निर्देशन पालन गर्छन्। यसरी तिनीहरू अरूको लागि राम्रो उदाहरण बसाल्छन्। तर कहिलेकाहीँ तिनीहरूको आज्ञाकारिताको जाँच हुन सक्छ। उदाहरणको लागि, थुप्रै निर्देशन पाउँदा वा निर्देशनहरू छिटो-छिटो परिवर्तन हुँदा तिनीहरूलाई ती तुरुन्तै लागू गर्न गाह्रो लाग्न सक्छ। कुनै-कुनै अवस्थामा तिनीहरूलाई केही निर्देशन व्यावहारिक वा बुद्धिमानी छैन जस्तो लाग्न सक्छ अथवा तिनीहरूले पक्राउ पर्न सक्ने असाइनमेन्ट पाउन सक्छन्। यस्ता अवस्थाहरूमा एल्डरहरू कसरी गिदोनजस्तै आज्ञाकारी हुन सक्छन्? ध्यान दिएर निर्देशनहरू सुन्नुहोस् र ती पालन गर्नुहोस्। w२३.०६ पृ. ४-५ अनु. ९-११