अप्रिल
मङ्गलबार, अप्रिल १
तपाईँले यो के गर्नुभएको? . . . तपाईँले मलाई किन झुक्क्याउनुभयो?—उत्प. २९:२५.
पुरातन समयमा यहोवाका सेवकहरूले सोच्दै नसोचेका चुनौतीहरूको सामना गर्नुपऱ्यो। याकुबको उदाहरण विचार गरौँ। तिनलाई तिनको बुबाले लाबानकी छोरीहरूमध्ये एक जनासित विवाह गर्न भने। लाबान तिनीहरूका आफन्त थिए र यहोवाका उपासक थिए। याकुबले यो कुरा मानेमा यहोवाले प्रचुर मात्रामा आशिष् दिनुहुनेछ भनेर बुबा इसहाकले तिनलाई आश्वासन दिए। (उत्प. २८:१-४) याकुबले त्यसै गरे। तिनले कनानदेखि लाबानको घरसम्म लामो यात्रा गरे। लाबानका दुई छोरी थिए—लेआ र राहेल। याकुबको राहेलसँग माया बस्यो र तिनी राहेलसँग विवाह गर्नुअघि लाबानकहाँ सात वर्षसम्म काम गर्न राजी भए। (उत्प. २९:१८) तर याकुबले सोचेजस्तो भएन। लाबानले तिनलाई झुक्क्याएर आफ्नी जेठी छोरी लेआसँग विवाह गरिदिए। अर्को सात वर्ष आफूकहाँ काम गर्न राजी भएमा लाबानले एक हप्तापछि राहेलसँग विवाह गरिदिने वाचा गरे। (उत्प. २९:२६, २७) लाबानले याकुबसितको लेनदेनमा पनि बेइमानी गरे। यसरी याकुबले २० वर्षसम्म लाबानको हातबाट अन्याय भोग्नुपऱ्यो!—उत्प. ३१:४१, ४२. w२३.०४ पृ. १५ अनु. ५
बुधबार, अप्रिल २
तिमीहरूको मनको बह उहाँलाई पोखाओ।—भज. ६२:८.
सान्त्वना र डोऱ्याइ चाहिँदा हामी कसको मदत खोज्छौँ? हामीलाई यस प्रश्नको जवाफ थाह छ। हो, हामी प्रार्थनामार्फत यहोवाको मदत खोज्छौँ। अनि उहाँ हामीलाई प्रार्थना गर्न आग्रह पनि गर्नुहुन्छ। उहाँ हामीले “निरन्तर प्रार्थना” गरेको चाहनुहुन्छ। (१ थिस्स. ५:१७) हामी प्रार्थनामा उहाँसित खुलस्त कुरा गर्न सक्छौँ र जीवनको हरेक क्षेत्रमा उहाँको डोऱ्याइ खोज्न सक्छौँ। (हितो. ३:५, ६) यहोवा उदार परमेश्वर हुनुहुन्छ, त्यसैले हामी उहाँलाई जुनसुकै बेला अनि जति पटक पनि प्रार्थना गर्न सक्छौँ। यहोवा आफ्ना उपासकहरूको प्रार्थनाको मोल गर्नुहुन्छ भनेर येसुलाई थाह थियो। येसु स्वर्गमा हुनुहुँदा आफ्नो बुबाले वफादार पुरुष तथा स्त्रीहरूको प्रार्थनाको जवाफ दिनुभएको येसुले देख्नुभएको थियो। जस्तै: हन्ना, दाउद, एलिया र अन्य थुप्रै वफादार सेवकले मनदेखि गरेको प्रार्थनाको जवाफ दिनुहुँदा उहाँ बुबासँगै हुनुहुन्थ्यो। (१ समु. १:१०, ११, २०; १ राजा १९:४-६; भज. ३२:५) त्यसैले येसुले चेलाहरूलाई निरन्तर अनि विश्वस्त हुँदै प्रार्थना गर्न सिकाउनुभयो।—मत्ति ७:७-११. w२३.०५ पृ. २ अनु. १, ३
बिहीबार, अप्रिल ३
मानिसहरूको डर पासो हो तर जसले यहोवामा भरोसा गर्छ, ऊ सुरक्षित रहन्छ।—हितो. २९:२५.
प्रधानपुजारी यहोयादा यहोवाको डर मान्थे। यो कुरा ईजेबेलकी छोरी अथल्याहले यहुदाको राजगद्दी हडप्दा स्पष्ट भयो। उनी यत्ति क्रूर र सत्ताको भोको थिइन् कि उनले आफ्ना नातिहरूलगायत सम्पूर्ण राजघरानालाई नामेट पार्न खोजिन्। (२ इति. २२:१०, ११) ती नातिहरूमध्ये एक जना यहोआस थिए। तर यहोयादाकी पत्नी यहोसेबाले तिनलाई बचाए। यहोसेबा र उनका पति यहोयादाले यहोआस लुकाए र तिनको ख्याल राखे। यसरी यहोयादा र यहोसेबाले दाउदको वंशलाई जोगाउन मदत गरे। तर वृद्ध यहोयादा यहोवाप्रति वफादार रहे र अथल्याहको डरले गर्दा सही कुरा गर्नदेखि पछि हटेनन्। यहोआस सात वर्षको हुँदा यहोयादाले फेरि एकचोटि यहोवाप्रतिको वफादारीको प्रमाण दिए। तिनले एउटा योजना बनाए। यो योजना सफल भएमा यहोआस राजा हुने थिए, जो दाउदको सिंहासनको असली हकदार थिए। तर योजना विफल भएको खण्डमा यहोयादाले आफ्नो ज्यान गुमाउन सक्थे। यहोवाको आशिष्ले गर्दा त्यो योजना सफल भयो। w२३.०६ पृ. १७ अनु. १२-१३
शुक्रबार, अप्रिल ४
सर्वोच्च परमेश्वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्नुहुनेछ।—दानि. ४:२५.
यस्तो कुरा सुनेपछि राजा नबुकद्नेजरले दानिएललाई राजद्रोहको आरोपमा मृत्युदण्ड दिन सक्थे तर यस्तो खतराको बाबजुद तिनले साहसी हुँदै सपनाको अर्थ बताइदिए। दानिएललाई जीवनभर साहसी भइरहन कुन कुराले मदत गरेको हुन सक्छ? दानिएल सानो छँदा तिनका आमाबुबाले पक्कै पनि तिनको लागि राम्रो उदाहरण बसाले। (व्यव. ६:६-९) दानिएललाई दस आज्ञाजस्तो व्यवस्थाका आधारभूत कुराहरू मात्र होइन, गहिरा कुराहरू पनि थाह थियो। जस्तै: इस्राएलीहरूले खान हुने र खान नहुने कुराहरू। (लेवी ११:४-८; दानि. १:८, ११-१३) दानिएललाई परमेश्वरका मानिसहरूको इतिहासबारे राम्रो ज्ञान थियो र व्यवस्था उल्लङ्घन गर्दा तिनीहरूले कस्तो नतिजा भोगे भनेर पनि थाह थियो। (दानि. ९:१०, ११) साथै आफूले जीवनमा बटुलेको अनुभवबाट जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आए तापनि यहोवा अनि शक्तिशाली स्वर्गदूतहरूले मदत गर्नुहुनेछ भन्ने कुरामा तिनी ढुक्क हुन सके।—दानि. २:१९-२४; १०:१२, १८, १९. w२३.०८ पृ. ३ अनु. ५-६
शनिबार, अप्रिल ५
जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान् हुन्छ।—हितो. ११:२.
रिबेका बुद्धिमान् स्त्री थिइन्। तिनी आवश्यक परेको बेला निर्णायक कदम चाल्न पछि पर्दिनथिन्। (उत्प. २४:५८; २७:५-१७) तैपनि तिनी अरूको आदर गर्थिन् र अधीनमा बस्थिन्। (उत्प. २४:१७, १८, ६५) यदि तपाईँले पनि रिबेकाले जस्तै यहोवाका प्रबन्धहरूलाई नम्र भई समर्थन गर्नुभयो भने तपाईँले आफ्नो परिवार र मण्डलीको लागि असल उदाहरण बसालिरहनुभएको हुनेछ। परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने गुण मर्यादामा रहनु हो। एस्तर मर्यादामा रहने वफादार उपासक थिइन्। उनी मर्यादामा रहेकीले रानी भइसकेपछि पनि अहङ्कारी भइनन्। उनले आफ्नो ठूलोबुबाको छोरा मोर्दकैको सल्लाह सुनिन् र त्यसैअनुसार गरिन्। (एस्त. २:१०, २०, २२) तपाईँ पनि अरूसित सल्लाह मागेर अनि त्यसैअनुसार गरेर एस्तरजस्तै मर्यादामा रहन सक्नुहुन्छ। (ति. २:३-५) एस्तरले अर्को तरिकामा पनि मर्यादामा रहेको देखाइन्। उनी “सुन्दरी थिइन्; उनको रुपरङ्ग असाध्यै राम्रो थियो।” तैपनि उनले अनावश्यक रूपमा अरूको ध्यान आफूतर्फ खिचिनन्।—एस्त. २:७, १५. w२३.१२ पृ. १९-२० अनु. ६-८
आइतबार, अप्रिल ६
परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।—१ युह. ३:२०.
यहोवा हामीले अचाक्ली दोषी महसुस गरेको चाहनुहुन्न। यदि हामीले आफ्नो पाप स्विकाऱ्यौँ, पश्चात्ताप गऱ्यौँ र त्यो नदोहोऱ्याउन आवश्यक कदमहरू चाल्यौँ भने यहोवा हामीलाई क्षमा दिनुहुन्छ भन्ने कुरामा भरोसा गर्न सक्छौँ। (प्रेषि. ३:१९) यहोवाले क्षमा दिइसक्नुभएपछि पनि हामीले दोषी महसुस गरिरहेको उहाँ चाहनुहुन्न। दोषी महसुस गरिरहनु हानिकारक हुन्छ भनेर उहाँलाई थाह छ। (भज. ३१:१०) यदि हामी अति दुःखी भएर शोकमा डुबिरहन्छौँ भने जीवनको दौड दौडन छोड्ने हदसम्म पुग्न सक्छौँ। (२ कोरि. २:७) दोषी भावनाले सताइरहन्छ भने यहोवा “साँच्चै क्षमा” दिनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। (भज. १३०:४) मनैदेखि पश्चात्ताप गर्नेहरूलाई उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।” (यर्मि. ३१:३४) यसको अर्थ यहोवाले एकचोटि क्षमा दिनुभएपछि त्यही पापलाई फेरि कहिल्यै सम्झनुहुन्न। पापको कारण मण्डलीमा कुनै जिम्मेवारी गुमाउनुपरेको छ भने दुःखी नहुनुहोस्। यहोवा तपाईँका पापहरूबारे सोचेर बस्नुहुन्न; त्यसैले तपाईँले पनि त्यसबारे सोचिरहनुपर्दैन। w२३.०८ पृ. ३०-३१ अनु. १४-१५
सोमबार, अप्रिल ७
अटल र स्थिर होओ।—१ कोरि. १५:५८.
कोभिड-१९ महामारीको बेला गलत समाचारहरूको पछि लाग्ने मानिसहरू अचाक्ली चिन्तित भएका थिए। तर हाम्रो सङ्गठनबाट प्राप्त निर्देशनहरू पालन गर्ने साक्षीहरू भने यस्ता अनावश्यक चिन्ताबाट मुक्त थिए। (मत्ति २४:४५) हामीले “अझ महत्त्वपूर्ण कुराहरू”-मा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। (फिलि. १:९, १०) अलमल्याउने कुराहरूले हाम्रो धेरै समय र शक्ति खान सक्छ। खानपिन, मनोरञ्जन र कामजस्ता जीवनका सामान्य कुराहरूलाई हामीले धेरै महत्त्व दियौँ भने यी कुराहरू नै हाम्रो लागि पासो हुन सक्छन्। (लुका २१:३४, ३५) साथै हामी हरेक दिनजसो विभिन्न विरोध कार्यक्रमहरू र राजनैतिक विवादका समाचारहरू सुनिरहेका हुन्छौँ। हामी यस्ता विवादहरूमा अलमलिनदेखि होसियार हुनुपर्छ। नत्र हामीले मनमनै कसैको पक्ष लिइरहेका हुन सक्छौँ। सैतानले विभिन्न तरिका प्रयोग गरेर सही काम गर्ने हाम्रो सङ्कल्पलाई कमजोर बनाउन खोज्छ। w२३.०७ पृ. १६-१७ अनु. १२-१३
मङ्गलबार, अप्रिल ८
मेरो सम्झनामा यो गर्ने गर। —लुका २२:१९.
येसुको मृत्युको सम्झना गर्ने दिन यहोवाका सेवकहरूका लागि वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। येसुले आफ्ना चेलाहरूलाई मनाउनू भनेर आज्ञा दिनुभएको यो एक मात्र उत्सव हो। (लुका २२:१९, २०) यस उत्सवमा हामी येसुको बलिदानप्रति कृतज्ञता देखाउने तरिकाहरूबारे सम्झन मदत पाउँछौँ। (२ कोरि. ५:१४, १५) यसले हामीलाई “एकअर्कालाई प्रोत्साहन” दिने मौका पनि दिन्छ। (रोमी १:१२) चासो देखाएका थुप्रै मानिस स्मरणार्थमा आफूले देखेका र सुनेका कुराहरूले गर्दा जीवनको बाटोमा हिँड्न उत्प्रेरित भएका छन्। स्मरणार्थले संसारभरिका हाम्रा भाइबहिनीलाई कसरी एकतामा बाँध्छ, सोच्नुहोस्। यी सबै कारणले गर्दा स्मरणार्थ हाम्रो लागि निकै विशेष छ! w२४.०१ पृ. ८ अनु. १-३
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ९) लुका १९:२९-४४
बुधबार, अप्रिल ९
परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।—युह. ३:१६.
येसु अनि यहोवाले चुकाउनुभएको मोलमा हामी जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँहरू हामी प्रत्येकलाई कत्ति माया गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। (गला. २:२०) फिरौतीको बलिदान यहोवाले प्रेमले उत्प्रेरित भएर दिनुभएको उपहार हो। उहाँले सबैभन्दा प्यारो छोरा दिनुभएर हामीलाई प्रेम देखाउनुभयो। यहोवाले हाम्रो खातिर आफ्नो छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो। यहोवा आफ्नो प्रेमलाई मनमा गुम्साएर राख्नुहुन्न बरु त्यसलाई व्यक्त गर्नुहुन्छ। (यर्मि. ३१:३) उहाँले हामीलाई आफूतर्फ खिच्नुभएको छ किनकि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। (व्यवस्था ७:७, ८ तुलना गर्नुहोस्।) हामीलाई उहाँको प्रेमदेखि कसैले अनि कुनै कुराले अलग पार्न सक्दैन। (रोमी ८:३८, ३९) यस्तो प्रेमबारे थाह पाउँदा तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ? w२४.०१ पृ. २८ अनु. १०-११
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १०) लुका १९:४५-४८; मत्ति २१:१८, १९; २१:१२, १३
बिहीबार, अप्रिल १०
‘यस आशामा सृष्टि आफैले पनि स्वतन्त्रता पाउनेछ।’—रोमी ८:२०, २१.
अभिषिक्त ख्रिष्टियनहरू आफ्नो स्वर्गीय आशाको मोल गर्छन्। उहाँहरूमध्ये एक भाइ फ्रेडरिक फ्रान्ज हुनुहुन्छ। उहाँले १९९१ मा आफ्नो आशाबारे यसो भन्नुभयो: ‘हाम्रो आशा पक्कै पूरा हुनेछ र हामी १ लाख ४४ हजारमध्येका प्रत्येकले यहोवाले प्रतिज्ञा गर्नुभएको कुरा पाउनेछौँ। हामीले पाउने इनाम हामीले सोचेको भन्दा कता हो कता उत्तम हुनेछ। हामीले त्यस आशालाई सधैँ मूल्यवान् ठानेका छौँ। हामीले जत्ति धेरै पर्खेका छौँ, त्यस आशाप्रतिको हाम्रो कदर पनि त्यत्ति नै बढेको छ। त्यसको लागि हामी पर्खन तयार छौँ। त्यस आशालाई म पहिलेभन्दा धेरै मूल्यवान् ठान्छु।’ चाहे हामीले स्वर्गमा अनन्त जीवन बिताउने आशा पाएका होऔँ वा पृथ्वीमा, हामी आफ्नो गौरवशाली आशामा रमाउन सक्छौँ। अनि आफ्नो सुन्दर आशालाई अझै बलियो बनाउँदै लैजान सक्छौँ। w२३.१२ पृ. ९ अनु. ६; पृ. १० अनु. ८
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ११) लुका २०:१-४७
शुक्रबार, अप्रिल ११
बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।—हिब्रू १०:४.
वासस्थानको प्रवेशद्वारनजिकै यहोवालाई जनावरहरूको बलि चढाउने तामाको एउटा वेदी थियो। (प्रस्थ. २७:१, २; ४०:२९) तर ती बलिहरूले मानिसहरूको पाप पूर्णतया हटाउन सक्दैनथ्यो। (हिब्रू १०:१-४) वासस्थानमा निरन्तर चढाइने पशुबलिहरूले एउटा बलिदानलाई सङ्केत गर्थ्यो, जसले मानिसहरूको पापलाई पूर्णतया हटाउने थियो। येसुलाई आफू मानिसजातिको लागि फिरौतीस्वरूप ज्यान अर्पण गर्न पृथ्वीमा पठाइएको हुँ भनेर थाह थियो। (मत्ति २०:२८) त्यसैले बप्तिस्माको बेला उहाँले आफूलाई यहोवाको इच्छाबमोजिम गर्न अर्पण गर्नुभयो। (युह. ६:३८; गला. १:४) येसुमाथि विश्वास गर्नेहरू सबैको पापको प्रायश्चित गर्न उहाँले आफूलाई “एकै चोटि सदाको लागि” चढाउनुभयो।—हिब्रू १०:५-७, १०. w२३.१० पृ. २६-२७ अनु. १०-११
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १२) लुका २२:१-६; मर्कुस १४:१, २, १०, ११
स्मरणार्थको दिन
सूर्यास्तपछि
शनिबार, अप्रिल १२
परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।—रोमी ६:२३.
हामीमध्ये कसैले पनि मोल तिरेर आफैलाई पाप र मृत्युबाट कहिल्यै छुटाउन सक्दैनौँ। (भज. ४९:७, ८) त्यसैले यहोवाले येसुलाई हाम्रो लागि आफ्नो जीवन अर्पण गर्न पठाउनुभयो। उहाँहरू दुवैले ठूलो मोल चुकाउनुभयो। उहाँहरूले हाम्रो लागि गर्नुभएका त्यागहरूबारे जत्ति धेरै मनन गर्छौँ, फिरौतीप्रतिको हाम्रो कृतज्ञता पनि त्यत्ति नै बढ्नेछ। पाप गरेपछि आदमले अनन्त जीवन पाउने आशा गुमाए। त्यति मात्र होइन, तिनका सबै सन्तानले पनि त्यो आशा गुमाए। आदमले गुमाएको कुरा फिर्ता पाउन येसुले आफ्नो त्रुटिरहित जीवन बलिदानस्वरूप दिनुभयो। पृथ्वीमा हुनुहुँदा “उहाँले एउटै पाप गर्नुभएन अनि उहाँको मुखमा कुनै छल पाइएन।” (१ पत्रु. २:२२) पाप गर्नुअघि आदम त्रुटिरहित भएजस्तै येसु पनि आफ्नो मृत्युको बेला त्रुटिरहित हुनुहुन्थ्यो। त्यसैले आफ्नो जीवन बलिदानस्वरूप दिनुभएर उहाँले फिरौतीको मोल तिर्न सक्नुभयो।—१ कोरि. १५:४५; १ तिमो. २:६. w२४.०१ पृ. १० अनु. ५-६
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १३) लुका २२:७-१३; मर्कुस १४:१२-१६ (सूर्यास्तपछिका घटनाहरू: नीसान १४) लुका २२:१४-६५
आइतबार, अप्रिल १३
उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।—हिब्रू ९:१२.
फेरि जीवित हुनुभएपछि येसु आध्यात्मिक मन्दिरको महापवित्र कोठाभित्र पस्नुभयो। येसुको बलिदान र उहाँको पुजारीगिरीको आधारमा शुद्ध उपासनाको लागि यहोवाले गर्नुभएको प्रबन्ध कत्ति उत्तम छ भनेर हामीले बुझ्यौँ। इस्राएलमा प्रधानपुजारी जनावरको रगत लिएर मानिसले बनाएको महापवित्र कोठामा पस्थे। तर येसु भने परमेश्वरसामु हाजिर हुन सबैभन्दा पवित्रस्थान अर्थात् “स्वर्गमै पस्नुभयो।” त्यहाँ उहाँले हाम्रो “पाप हटाउन” आफ्नो त्रुटिरहित मानव जीवनको मोल यहोवासामु चढाउनुभयो। (हिब्रू ९:२४-२६) हाम्रो आशा स्वर्ग जाने होस् वा यसै पृथ्वीमा बस्ने, हामी आध्यात्मिक मन्दिरमा रहेर यहोवाको उपासना गर्न सक्छौँ। w२३.१० पृ. २८ अनु. १३-१४
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १४) लुका २२:६६-७१
सोमबार, अप्रिल १४
त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ।—हिब्रू ४:१६.
स्वर्गमा शासन गरिरहनुभएका राजा र समानुभूतिशील प्रधानपुजारी येसुको भूमिकाबारे पनि विचार गरौँ। हामी उहाँमार्फत प्रार्थनामा “असीम अनुग्रहको सिंहासनसामु” जान सक्छौँ अनि “चाहिएकै बेला” मदत र कृपा पाउन बिन्ती गर्न सक्छौँ। (हिब्रू ४:१४, १५) यहोवा र येसुले हाम्रो लागि के-कस्ता कुराहरू गर्नुभयो अनि गरिरहनुभएको छ भन्ने कुरामा मनन नगरी हामी एक दिन पनि बिताउन चाहँदैनौँ। यसरी मनन गर्दा हामीप्रतिको उहाँहरूको प्रेमले हाम्रो मन छुन्छ र हामी उहाँको सेवामा जोसिलो हुन बाध्य महसुस गर्छौँ। (२ कोरि. ५:१४, १५) हामी कृतज्ञ छौँ भनेर देखाउने एउटा राम्रो तरिका मानिसहरूलाई यहोवाको साक्षी अनि येसुको चेला बन्न मदत गर्नु हो। (मत्ति २८:१९, २०) प्रेषित पावलले पनि यस्तै गरे। “[यहोवा] सबै किसिमका मानिसले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ” भनेर तिनलाई थाह थियो।—१ तिमो. २:३, ४. w२३.१० पृ. २२-२३ अनु. १३-१४
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १५) मत्ति २७:६२-६६
मङ्गलबार, अप्रिल १५
मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।—प्रका. २१:४.
प्रमोदवनमा मानिसको जीवन कस्तो हुनेछ भनेर बुझाउन हामीमध्ये धेरैजसो यो सान्त्वनादायी बाइबल पद प्रयोग गर्छौँ। त्यसोभए प्रकाश २१:३, ४ का शब्दहरू पूरा हुनेछन् भनेर हामी अरूलाई कसरी विश्वस्त पार्न सक्छौँ? अनि त्यस पदका शब्दहरूमाथिको आफ्नो भरोसालाई कसरी बलियो बनाउन सक्छौँ? यहोवाले यो प्रतिज्ञा लेख्न मात्र लगाउनुभएन बरु यो पूरा हुनेछ भनेर भरोसा गर्न सकिने चित्तबुझ्दा कारणहरू पनि बताउनुभयो। पद ४ पछिका पदहरूमा प्रमोदवनबारे यहोवाले गर्नुभएको प्रतिज्ञामा भरोसा गर्न सकिने कारणहरू पाउँछौँ, जहाँ यस्तो लेखिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’ उहाँ यसो पनि भन्नुहुन्छ: ‘लेख किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।’ अनि उहाँले मलाई भन्नुभयो: ‘यी वचनहरू पूरा भइसकेका छन्! अल्फा र ओमेगा अर्थात् सुरुवात र अन्त म नै हुँ।’”—प्रका. २१:५, ६क. w२३.११ पृ. ३ अनु. ३-५
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १६) लुका २४:१-१२
बुधबार, अप्रिल १६
युवकहरूलाई सुझबुझ चलाउन आग्रह गरिरहनू।—ति. २:६.
सोच्ने क्षमता भएको जवान भाइले पहिरन र हेयरस्टाइल रोज्ने सन्दर्भमा बुद्धिमानी निर्णय गर्छन्। प्रायजसो डिजाइनरहरू र लुगाको विज्ञापन गर्नेहरू यहोवाको आदर गर्दैनन् र अनैतिक जीवनशैली बिताउँछन्। अनि तिनीहरूले डिजाइन गरेका लुगाहरूमा तिनीहरूको अनैतिक सोचाइ झल्किन्छ। जस्तै: तिनीहरू टिमिक्क कसिएको र पुरुषहरू पनि स्त्रीहरूजस्तो देखिने लुगा डिजाइन गर्छन्। त्यसैले कस्तो पहिरन छान्ने भनेर निर्णय गर्नुपर्दा परिपक्वतातर्फ अघि बढिरहेका जवान भाइले बाइबल सिद्धान्तहरूअनुसार निर्णय गर्छन् र उदाहरणीय दाजुभाइको अनुकरण गर्छन्। तिनले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छन्: ‘के मेरा छनौटहरूबाट मैले सुझबुझ चलाएको र अरूप्रति विचारशील भएको देखिन्छ? के मेरो पहिरनले म परमेश्वरको सेवक हुँ भनेर देखाउँछ?’ (१ कोरि. १०:३१-३३) सुझबुझ भएका जवान भाइले मण्डलीका दाजुभाइ दिदीबहिनीको मात्र होइन, यहोवाको पनि आदर कमाउँछन्। w२३.१२ पृ. २६ अनु. ७
बिहीबार, अप्रिल १७
मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त . . . मेरा सेवकहरूले लडाइँ गर्ने थिए।—युह. १८:३६.
विगतमा “दक्षिणका राजा”-ले पनि यहोवाका जनहरूमाथि प्रत्यक्ष आक्रमण गरेको छ। (दानि. ११:४०) जस्तै: बीसौँ शताब्दीको बीचसम्म थुप्रै भाइबहिनीलाई तिनीहरूको तटस्थताको कारण झ्यालखानामा हालियो र साक्षी केटाकेटीलाई स्कुलबाट निकालियो। तर हालैका दशकहरूमा दक्षिणका राजाले शासन गरेको देशहरूमा बस्ने यहोवाका सेवकहरूले अप्रत्यक्ष आक्रमणको सामना गरिरहेका छन्। जस्तै: चुनावको प्रचारप्रसारको दौडान ख्रिष्टियनहरूलाई कुनै पार्टी वा उम्मेदवारको कुरा मन परेकोले उनीहरूलाई समर्थन गरूँ जस्तो लाग्न सक्छ। हुनत तिनी भोटै खसाल्न त नजालान् तर तिनले आफ्नो मनमस्तिष्कमा भने कसैको पक्ष लिइरहेका हुन सक्छन्। त्यसैले हामी आफ्नो व्यवहारमा मात्र होइन, आफ्नो सोचाइ अनि भावनामा पनि तटस्थ रहनु महत्त्वपूर्ण छ!—युह. १५:१८, १९. w२३.०८ पृ. १२ अनु. १७
शुक्रबार, अप्रिल १८
यहोवाको प्रशंसा होस्, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ।—भज. ६८:१९.
हामी “पुरस्कार पाउन सक्नेगरि” जीवनको दौड दौडनुपर्छ। (१ कोरि. ९:२४) येसुले ‘धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले हाम्रो हृदयलाई दबाउन सक्छ’ भनेर बताउनुभयो। (लुका २१:३४) यी तथा अन्य बाइबल पदहरूले जीवनको दौडमा दौडिँदा के-कस्तो छाँटकाँट गर्नुपर्छ भनेर बुझ्न मदत गर्छ। जीवनको दौड जित्ने कुरामा हामी विश्वस्त छौँ किनकि यहोवाले हामीलाई दौडन चाहिने बल दिनुहुन्छ। (यसै. ४०:२९-३१) त्यसैले आफ्नो गति नघटाउनुहोस्! प्रेषि. पावलको अनुकरण गर्नुहोस्, जसले पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरे। (फिलि. ३:१३, १४) तपाईँको दौड अरूले दौडिदिन सक्दैन। तर यहोवाको मदतले तपाईँ सफल हुन सक्नुहुन्छ। यहोवाले तपाईँलाई भारी बोक्न र अनावश्यक बोझ पन्छ्याउन मदत गर्न सक्नुहुन्छ। यहोवा तपाईँको साथमा हुनुभएकोले तपाईँ जीवनको दौड दौडिरहन र त्यो दौड पूरा गरेर पुरस्कार जित्न सक्नुहुन्छ! w२३.०८ पृ. ३१ अनु. १६-१७
शनिबार, अप्रिल १९
तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।—प्रस्थ. २०:१२.
येसु १२ वर्षको हुनुहुँदा भएको घटना विचार गरौँ। (लुका २:४६-५२) युसुफ र मरियमले येसुलाई यरुसलेम लगेका थिए तर घर फर्कँदा उहाँ त्यहीँ छुट्नुभएको तिनीहरूले यादै गरेनन्। वास्तवमा सबै छोराछोरी आफूसँगै छन् कि छैनन् भनेर पक्का गर्ने जिम्मेवारी युसुफ र मरियमकै थियो। उहाँलाई धुइँधुइँती खोजेर भेट्टाएपछि मरियमले उहाँको कारणले आफूहरूलाई कत्ति दुःख भयो भनेर बताइन्। आफ्नी आमाले त्यस्तो दोष लगाउँदा येसुले त्यसको खण्डन गर्न सक्नुहुन्थ्यो। तर उहाँले आफ्नो आमाबुबालाई सरल अनि आदरपूर्ण तरिकामा जवाफ दिनुभयो। हुनत “उहाँले के भन्न खोज्नुभएको हो, तिनीहरूले बुझेनन्।” तैपनि येसु “तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।” युवाहरू हो, आमाबुबाले गल्ती गर्दा वा तपाईँलाई बुझ्न नसक्दा के तपाईँलाई उहाँहरूको आज्ञा पालन गर्न गाह्रो लागेको छ? त्यस्तो अवस्थामा आज्ञा पालन गर्न केले मदत गर्न सक्छ? यहोवालाई कस्तो लाग्छ, विचार गर्नुहोस्। तपाईँले आमाबुबाको आज्ञा पालन गर्दा “प्रभु खुसी हुनुहुन्छ” भनेर बाइबल बताउँछ। (कल. ३:२०) आमाबुबाले कहिलेकाहीँ तपाईँको कुरा राम्रोसँग बुझ्दैनन् वा पालन गर्न गाह्रो हुने नियमहरू बनाउँछन् भनेर यहोवालाई थाह छ। तर उहाँहरूको आज्ञा पालन गर्ने छनौट गर्नुभयो भने तपाईँले यहोवालाई खुसी बनाइरहनुभएको हुनेछ। w२३.१० पृ. ७ अनु. ५-६
आइतबार, अप्रिल २०
व्यावहारिक होऊन् र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।—ति. ३:२.
तपाईँको सहपाठीले यहोवाका साक्षीहरूले समलिङ्गीहरूप्रतिको धारणा बदल्नुपर्छ भनेर बताउन सक्छन्। हामी हरेक व्यक्तिको निर्णय गर्ने अधिकारको कदर गर्छौँ भनेर तिनलाई बताउन सक्छौँ। (१ पत्रु. २:१७) त्यसपछि बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँदा कसरी सुखी हुन सकिन्छ भनेर पनि बताउन सक्छौँ। कुनै व्यक्ति हाम्रो कुरामा पटक्कै सहमत हुँदैनन् भने तिनी के विश्वास गर्छन् भनेर तुरुन्तै अड्कल काट्नु हुँदैन। जस्तै: तपाईँको सहपाठीले परमेश्वरमा विश्वास गर्नु मूर्खता हो भन्न सक्छन्। त्यसोभए के तपाईँले तिनी क्रमविकासमा विश्वास गर्छन् र तिनलाई त्यसबारे धेरै कुरा थाह छ भनेर अड्कल काट्नु ठीक हो? वास्तवमा तिनलाई त्यसबारे धेरै कुरा थाह नहुन सक्छ। तपाईँ तिनलाई jw.org मा भएको सृष्टिसम्बन्धी सामग्रीको लिङ्क सेयर गर्न सक्नुहुन्छ। आफूले हेरेको कुनै लेख वा भिडियोबारे छलफल गर्न तिनी इच्छुक हुन सक्छन्। हो, आदर देखाउँदा तिनलाई बाइबलबारे अझ धेरै कुरा सिक्न मन लाग्न सक्छ। w२३.०९ पृ. १७ अनु. १२-१३
सोमबार, अप्रिल २१
हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ; तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।—भज. ८६:५.
गल्तीहरू गरे तापनि ती सच्याउन सक्दो कोसिस गऱ्यौँ र यहोवामा भर परिरह्यौँ भने उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ र आशिष् दिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (हितो. २८:१३) दलिलाको मायाजालमा फसेपछि सिमसोनले गल्ती गरे तापनि यहोवाको सेवा गर्न भने छोडेनन्। अनि यहोवाले पनि तिनलाई प्रयोग गरिरहनुभयो। परमेश्वरले सिमसोनलाई फेरि बल दिनुभयो र आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्नुभयो। उहाँले तिनलाई उल्लेखनीय विश्वास भएको व्यक्ति ठान्नुभयो र हिब्रू अध्याय ११ मा विश्वासी व्यक्तिहरूको सूचीमा तिनको नाम पनि लेख्न लगाउनुभयो। कमजोर हुँदा हामीलाई बल दिन यहोवा इच्छुक हुनुहुन्छ। यस्तो मायालु परमेश्वरको सेवा गर्न पाउनु कत्ति प्रोत्साहनदायी कुरा! त्यसैले सिमसोनजस्तै हामी पनि यस्तो बिन्ती गरिरहौँ: “कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस।”—न्याय. १६:२८. w२३.०९ पृ. ७ अनु. १८-१९
मङ्गलबार, अप्रिल २२
तिमीहरूले यहोवा परमेश्वरको दिनको उपस्थितिलाई . . . मनमा राख्नुपर्छ।—२ पत्रु. ३:१२.
यहोवाको दिनलाई मनमा राख्यौँ भने हामी अरूलाई सुसमाचार सुनाउन उत्प्रेरित हुनेछौँ। तर कुनै-कुनै अवस्थामा भने अरूलाई साक्षी दिन हामी हिचकिचाउन सक्छौँ। किन? मानिसको डरले गर्दा। पत्रुसलाई पनि त्यस्तै भएको थियो। येसुको पुर्पक्षको रात पत्रुसले आफू येसुको चेला भएको मानिलिन इन्कार गरे अनि पटक-पटक उहाँलाई चिन्दिनँ समेत भने। (मत्ति २६:६९-७५) तर पछि तिनले नै विश्वस्त हुँदै यसो भने: “तिनीहरू जुन कुरासित डराउँछन्, तिमीहरू त्यससित नडराओ न त त्यसले गर्दा चिन्तित नै होओ।” (१ पत्रु. ३:१४) पत्रुसका शब्दहरूबाट हामी पनि मानिसको डरलाई जित्न सक्छौँ भनेर आश्वासन पाउँछौँ। मानिसको डरलाई जित्न हामीलाई केले मदत गर्न सक्छ? पत्रुस यसो भन्छन्: “आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ।” (१ पत्रु. ३:१५) यसमा येसु ख्रिष्ट हाम्रा प्रभु र राजा हुनुहुन्छ अनि उहाँ शक्तिशाली हुनुहुन्छ भनेर आफूलाई सम्झाउनु समावेश छ। w२३.०९ पृ. २७-२८ अनु. ६-८
बुधबार, अप्रिल २३
‘तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपनको नामसमेत नलिइओस्।’—एफि. ५:३.
हामी “अन्धकारका निष्फल कामहरूमा” नअल्झिन सधैँ होसियार रहनुपर्छ। (एफि. ५:११) कुनै व्यक्तिले अशुद्ध वा अनैतिक कुराहरू हेर्ने, सुन्ने वा त्यसबारे कुरा गर्ने गर्छन् भने तिनी सजिलै त्यस्तो काम गर्ने हदसम्म पुग्न सक्छन्। (उत्प. ३:६; याकु. १:१४, १५) यहोवाले अनैतिक र अशुद्ध ठान्नुहुने कुराहरूमा कुनै खतरा छैन भन्ने कुरा सोच्न लगाएर सैतानको संसारले हामीलाई झुक्क्याउन खोज्छ। (२ पत्रु. २:१९) किनभने दुष्ट सैतानले लामो समयदेखि यही पासो प्रयोग गरेर मानिसहरूलाई अलमल्याइरहेको छ, जसले गर्दा तिनीहरूले सही र गलतबीचको फरक छुट्ट्याउन सकेका छैनन्। (यसै. ५:२०; २ कोरि. ४:४) धेरैजसो चलचित्र, टिभी कार्यक्रम र वेबसाइटले यहोवाको धार्मिक स्तरसित बाझिने विचारधारालाई बढावा दिन्छ। धूर्त सैतान हामीले अशुद्ध काम र जीवनशैली अहानिकारक छ भनेर सोचेको चाहन्छ।—एफि ५:६. w२४.०३ पृ. २२ अनु. ८-१०
बिहीबार, अप्रिल २४
पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्।—हिब्रू ८:५.
वासस्थान पालजस्तै थियो। इस्राएलीहरूले वासस्थानलाई निर्जनभूमिमा आफू जहाँ-जहाँ जान्थे, त्यहीँ-त्यहीँ लैजान्थे। तिनीहरूले त्यसलाई यरुसलेममा मन्दिर नबनाइएसम्म झन्डै ५०० वर्षसम्म प्रयोग गरे। (प्रस्थ. २५:८, ९; गन्ती ९:२२) तर वासस्थानले अझ उत्तम कुरालाई सङ्केत गर्थ्यो। यसलाई “स्वर्गका कुराहरूको . . . छाया” भनिएको छ। प्रेषित पावलले बताएअनुसार “यो पाल [अर्थात् वासस्थान] अहिलेको समयको लागि नमुना हो।” (हिब्रू ९:९) त्यसैले तिनले हिब्रूहरूलाई पत्र लेख्नुअघि नै आध्यात्मिक मन्दिर अस्तित्वमा आइसकेको थियो। यो मन्दिर इस्वी संवत् २९ मा अस्तित्वमा आयो। त्यो वर्ष येसुले बप्तिस्मा गर्नुभयो र आध्यात्मिक मन्दिरमा “महान् प्रधानपुजारी”-को रूपमा सेवा गर्न थाल्नुभयो।—हिब्रू ४:१४; प्रेषि. १०:३७, ३८. w२३.१० पृ. २६ अनु. ६-७
शुक्रबार, अप्रिल २५
तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।—फिलि. ४:५.
ख्रिष्टियनहरू लचिलो हुन तयार हुनुपर्छ। परिस्थिति परिवर्तन हुँदा छाँटकाँट गरेर अनि अरूको विचारधारा र निर्णयको कदर गरेर तिनीहरूले आफू लचिलो अर्थात् व्यावहारिक भएको देखाउन सक्छन्। यसो गर्दा तिनीहरू आध्यात्मिक रूपमा फस्टाउँछन्। हामी यहोवाका सेवकहरू व्यावहारिक हुन चाहन्छौँ। साथै नम्र र दयालु पनि हुन चाहन्छौँ। बाइबलमा यहोवालाई “चट्टान” भनिएको छ किनकि उहाँ स्थिर र अटल हुनुहुन्छ। (व्यव. ३२:४) तर उहाँ व्यावहारिक पनि हुनुहुन्छ। उहाँ आफ्नो उद्देश्य पूरा गर्न परिस्थितिअनुसार छाँटकाँट गर्नुहुन्छ। हामीसित पनि परिस्थितिअनुसार छाँटकाँट गर्ने क्षमता छ। किनभने यहोवाले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको थियो। अनि उहाँले हामीलाई जस्तोसुकै गाह्रो अवस्थामा पनि बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू दिनुभएको छ। यहोवा “चट्टान”-जस्तो अटल हुनुभए तापनि व्यावहारिक पनि हुनुहुन्छ भन्ने कुरा उहाँको आफ्नै उदाहरण र उहाँले दिनुभएका सिद्धान्तहरूबाट बुझ्न सक्छौँ। w२३.०७ पृ. २० अनु. १-३
शनिबार, अप्रिल २६
जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।—भज. ९४:१९.
बाइबलमा यहोवालाई ममतामयी आमासित तुलना गरिएको छ। (यसै. ६६:१२, १३) आफ्नो बच्चालाई माया गर्ने, राम्ररी स्याहार्ने र चाहिएको कुरा दिने आमाबारे कल्पना गर्नुहोस्। हामी पनि पीडामा हुँदा यहोवाबाट प्रेम पाउने कुरामा ढुक्क हुन सक्छौँ। हामीबाट गल्ती हुँदा पनि उहाँ हामीलाई प्रेम गर्न छोड्नुहुन्न। (भज. १०३:८) इस्राएलीहरूले यहोवालाई पटक-पटक दुःखी तुल्याए। तर तिनीहरूले पश्चात्ताप गर्दा उहाँले अटल प्रेम देखाउँदै यसो भन्नुभयो: “मेरो नजरमा तिमी अनमोल छौ, तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।” (यसै. ४३:४, ५) परमेश्वरको प्रेम परिवर्तन भएको छैन। गम्भीर गल्ती गऱ्यौँ भने पनि पश्चात्ताप गरेर उहाँकहाँ फर्कियौँ भने उहाँले हामीलाई प्रेम गर्न छोड्नुभएको रहेनछ भनेर महसुस गर्नेछौँ। उहाँले हामीलाई “खुला मनले क्षमा” गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसै. ५५:७) यस्तो क्षमा पाउनु भनेको ‘स्वयम् यहोवाबाट स्फूर्ति प्राप्त’ गर्नु हो।—प्रेषि. ३:१९. w२४.०१ पृ. २७ अनु. ४-५
आइतबार, अप्रिल २७
मेरा परमेश्वर यहोवाको हात ममाथि [रह्यो]।—एज्रा ७:२८.
चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवाले हामीलाई मदत गर्नुहुनेछ। जस्तै: हाकिमसित अधिवेशनको लागि छुट्टी माग्दा वा सभाहरू छुटाउनु नपरोस् भनेर आफ्नो काम गर्ने तालिकामा छाँटकाँट गरिदिन आग्रह गर्दा हामीले यहोवाको साथ पाएको अनुभव गर्ने मौका पाउँछौँ। यसरी यहोवामा भर पर्दा नतिजा हामीले सोचेभन्दा कता हो कता राम्रो हुन सक्छ। अनि यहोवामाथिको हाम्रो भरोसा पनि अझै बलियो हुनेछ। एज्राले नम्र हुँदै मदतको लागि यहोवालाई बिन्ती गरे। आफ्ना जिम्मेवारीहरूले गर्दा चिन्तित हुँदा एज्राले प्रत्येक चोटि नम्र भई यहोवालाई बिन्ती गरे। (एज्रा ८:२१-२३; ९:३-५) तिनको यस्तो मनोभाव देखेर अरू पनि तिनलाई साथ दिन र तिनको विश्वासको अनुकरण गर्न उत्प्रेरित भए। (एज्रा १०:१-४) आफ्नो भौतिक आवश्यकता कसरी पूरा गर्ने होला वा परिवारलाई कसरी सुरक्षित राख्ने होला भनेर हामीलाई पनि चिन्ता लाग्न सक्छ। त्यस्तो बेला यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा ढुक्क भई उहाँलाई बिन्ती गर्नुपर्छ। w२३.११ पृ. १८ अनु. १५-१७
सोमबार, अप्रिल २८
[अब्राहामले] यहोवा परमेश्वरमाथि विश्वास गरे। त्यसैले परमेश्वरले तिनलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो।—उत्प. १५:६.
हामी धर्मी ठहरिन चाहन्छौँ भने अब्राहामले जे गरे, त्यही गर्नुपर्छ भनेर यहोवाले भन्नुभएको छैन। वास्तवमा आफ्नो विश्वास कामबाट प्रकट गर्ने थुप्रै तरिका छन्। जस्तै: हामी मण्डलीमा पहिलो चोटि आएका मानिसहरूलाई अनि अर्को मण्डलीबाट सरेर आएका भाइबहिनीलाई स्वागत गर्न सक्छौँ, खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न सक्छौँ अनि परिवारका सदस्यहरूको लागि असल कामहरू गर्न सक्छौँ। यस्ता कामहरू गर्ने व्यक्तिलाई परमेश्वर स्विकार्नुहुन्छ र आशिष् दिनुहुन्छ। (रोमी १५:७; १ तिमो. ५:४, ८; १ युह. ३:१८) हाम्रो विश्वास प्रकट गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिका मानिसहरूलाई जोसका साथ सुसमाचार सुनाउनु हो। (१ तिमो. ४:१६) यहोवाका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन् र उहाँको तौरतरिका सबैभन्दा उत्कृष्ट छ भनेर विश्वास गरेको कुरा आफ्नो कामबाट देखाउन सक्छौँ। त्यसो गऱ्यौँ भने परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुनेछ र आफ्नो मित्र बनाउनुहुनेछ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। w२३.१२ पृ. २ अनु. ३; पृ. ६ अनु. १५
मङ्गलबार, अप्रिल २९
‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’—एफि. ४:१३, फुटनोट।
प्रेषित पावलले एफिससका ख्रिष्टियनहरूलाई आजको पदमा बताइएको कुरा लागू गर्न सल्लाह दिए। सबै ख्रिष्टियन पुरुषले यो सल्लाह पालन गर्नुपर्छ। त्यसको लागि तिनीहरूले परमेश्वरको व्यवस्था पालन गर्न र जीवनको हरेक क्षेत्रमा बाइबल सिद्धान्तहरूअनुसार चल्न सिक्नुपर्छ। (लुका २:५२) जवान भाइहरू परिपक्व ख्रिष्टियन बन्नु किन महत्त्वपूर्ण छ? ख्रिष्टियन पुरुषहरूले परिवारमा र मण्डलीमा गहन जिम्मेवारीहरू सम्हाल्छन्। जवान भाइहरू हो, तपाईँहरूले भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूबारे सोच्नुभएको होला। तपाईँले अग्रगामी गर्ने, सहायक सेवक बन्ने र पछि गएर एल्डर बन्ने लक्ष्य राख्नुभएको होला। तपाईँ विवाह गर्न अनि छोराछोरी जन्माउन पनि चाहनुहुन्छ होला। (एफि. ६:४; १ तिमो. ३:१) ती लक्ष्यहरूसम्म पुग्न र त्यसमा सफल हुन तपाईँ परिपक्व हुनुपर्छ। w२३.१२ पृ. २४ अनु. १-२
बुधबार, अप्रिल ३०
‘गिदोनको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।’—हिब्रू ११:३२.
यहोवाले एल्डरहरूलाई उहाँको अनमोल बगालको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभएको छ। उहाँले भरोसा गरेर यस्तो जिम्मेवारी दिनुभएकोमा तिनीहरू कृतज्ञ छन्। तिनीहरू “साँच्चै ख्याल राख्ने गोठालाहरू” बन्न मेहनत गर्छन्। (यर्मि. २३:४; १ पत्रु. ५:२) यस्ता पुरुषहरू पाएकोमा हामी साँच्चै आभारी छौँ! एल्डरहरूले न्यायकर्ता गिदोनको उदाहरणबाट सिक्न सक्छन्। (हिब्रू ६:१२) तिनी परमेश्वरका मानिसहरूको रक्षक र गोठाला थिए। (न्याय. २:१६; १ इति. १७:६) गिदोनलाई जस्तै यस कठिन समयमा परमेश्वरका सेवकहरूको हेरचाह गर्न एल्डरहरूलाई जिम्मा दिइएको छ। (प्रेषि. २०:२८; २ तिमो. ३:१) त्यसैले एल्डरहरूले गिदोनको मर्यादा, नम्रता र आज्ञाकारिताबाट थुप्रै पाठ सिक्न सक्छन्। साथै हामीले पनि गिदोनको उदाहरणबाट एल्डरहरूप्रति अझै कृतज्ञ हुन र तिनीहरूलाई पूरापूर साथ दिन सिक्न सक्छौँ।—हिब्रू १३:१७. w२३.०६ पृ. २ अनु. १, ३