सेप्टेम्बर
सोमबार, सेप्टेम्बर १
माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ।—लुका १:७८.
यहोवाले येसुलाई मानिसजातिका सबै समस्या समाधान गर्ने शक्ति दिनुभएको छ। येसुले चमत्कारहरूमार्फत मानिसले कहिल्यै समाधान गर्न नसक्ने समस्याहरू हटाउन सक्नुहुन्छ भनेर देखाउनुभयो। जस्तै: उहाँसित मानिसजातिको सबै समस्याको मूल जड पाप अनि यसका असरहरू अर्थात् रोगबिमार र मृत्युलाई हटाउने शक्ति छ। (मत्ति ९:१-६; रोमी ५:१२, १८, १९) उहाँले चमत्कारहरूमार्फत मानिसहरूका “हरप्रकारका” रोगबिमारलाई निको पार्न र मरेकाहरूलाई समेत जीवित पार्न सक्नुहुन्छ भनेर देखाउनुभयो। (मत्ति ४:२३; युह. ११:४३, ४४) उहाँसित ठूलो आँधीलाई नियन्त्रणमा राख्ने र प्रेतहरूलाई धपाउने शक्ति पनि छ। (मर्कु. ४:३७-३९; लुका ८:२) यहोवाले आफ्नो छोरालाई यस्तो शक्ति दिनुभएको कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ! परमेश्वरले प्रतिज्ञा गर्नुभएका सबै असल कुरा उहाँको राज्यले पूरा गर्नेछ भनेर हामी विश्वस्त हुन सक्छौँ। येसुले गर्नुभएका चमत्कारहरूबाट नयाँ संसारमा उहाँले अझै व्यापक रूपमा चमत्कारहरू गर्नुहुनेछ भनेर बुझ्न सक्छौँ। w२३.०४ पृ. ३ अनु. ५-७
मङ्गलबार, सेप्टेम्बर २
पवित्र शक्तिले सबै कुरा, परमेश्वरका गहिरा कुराहरूसमेत खोजतलास गर्छ।—१ कोरि. २:१०.
यदि तपाईँ ठूलो मण्डलीमा हुनुहुन्छ अनि धेरै चोटि हात उठाए पनि मौका नपाउनुभएको महसुस हुँदा हात नउठाऔँ जस्तो लाग्न सक्छ। तर टिप्पणी दिने कोसिस गरिरहनुहोस्। प्रत्येक सभाको लागि एउटाभन्दा धेरै टिप्पणी तयार पार्नुहोस्। छलफलको सुरुतिर टिप्पणी दिने मौका पाउनुभएन भने बीचतिर वा अन्ततिर मौका पाउन सक्नुहुन्छ। प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्दा प्रत्येक अनुच्छेद मूल विषयसित कसरी सम्बन्धित छ, विचार गर्नुहोस्। यसो गर्दा तपाईँले छलफलको अवधिभर कुनै न कुनै राम्रो टिप्पणी दिन सक्नुहुनेछ। साथै बाइबलका गहिरा कुराहरू छलफल गरिएका अनुच्छेदहरूबाट टिप्पणी तयारी गर्न सक्नुहुन्छ। किन? यस्ता अनुच्छेदहरूमा थोरै मात्र हात उठ्न सक्छन्। तर तपाईँले दुई/तीन वटा सभामा लगातार एक चोटि पनि मौका पाउनुभएन भने नि? तपाईँ सभाअघि सञ्चालकलाई भेटेर कुन अनुच्छेदमा जवाफ दिन चाहनुहुन्छ भनेर बताउन सक्नुहुन्छ। w२३.०४ पृ. २१-२२ अनु. ९-१०
बुधबार, सेप्टेम्बर ३
युसुफले . . . यहोवा परमेश्वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए।—मत्ति १:२४.
युसुफले राजीखुसीले यहोवाको निर्देशन पालन गरे, जसले तिनलाई असल पति हुन मदत गऱ्यो। तिनले परिवारको सन्दर्भमा परमेश्वरबाट निर्देशनहरू पाए। प्रत्येक चोटि ठूलै परिवर्तन गर्नुपरे तापनि तिनले तुरुन्तै ती निर्देशन पालन गरे। (मत्ति १:२०; २:१३-१५, १९-२१) परमेश्वरको निर्देशन पालन गर्दै युसुफले मरियमलाई सुरक्षा दिए, साथ दिए र उनको ख्याल राखे। युसुफको यस्तो मायालु व्यवहारले मरियमलाई आफ्नो पतिको अझ धेरै आदर गर्न र तिनलाई प्रेम गर्न मदत गरेको हुनुपर्छ। पतिहरू हो, परिवारको ख्याल राख्ने सन्दर्भमा बाइबलआधारित सल्लाह लागू गरेर युसुफको अनुकरण गर्नुहोस्। बाइबलको सल्लाह लागू गर्न ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्छ। तर यसो गर्दा तपाईँले आफ्नी पत्नीलाई प्रेम गरिरहनुभएको हुनेछ र यसले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउनेछ। विवाह गरेको २० वर्षभन्दा धेरै भइसकेको भानुआटुकी एक बहिनी यसो भन्छिन्: “मेरो श्रीमान्ले यहोवाको निर्देशन पालन गर्नुभएकोले मैले उहाँलाई अझ धेरै आदर गर्न सकेकी छु। म सुरक्षित महसुस गर्छु र उहाँले गर्नुभएका निर्णयहरूलाई मैले विश्वस्त भएर समर्थन गर्न सकेकी छु।” w२३.०५ पृ. २१ अनु. ५
बिहीबार, सेप्टेम्बर ४
त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।—यसै. ३५:८.
बेबिलोनबाट मातृभूमि फर्कने यहुदीहरू परमेश्वरको निम्ति “एक पवित्र जाति” हुनुपर्थ्यो। (व्यव. ७:६) तर यसको मतलब तिनीहरूले यहोवालाई खुसी तुल्याउन कुनै परिवर्तन नै गर्नुपर्दैन भन्ने त होइन। धेरैजसो यहुदीको जन्म बेबिलोनमा भएको थियो। तिनीहरूको सोचाइ अनि मूल्यमान्यता धेरै हदसम्म बेबिलोनीहरूको जस्तै भइसकेको हुनुपर्छ। यहुदीहरूको पहिलो समूह इस्राएलमा फर्केको ६९ वर्षपछि इस्राएलमै जन्मेका सन्तानले यहुदी भाषा बोल्न समेत नसिकेको कुरा थाह पाउँदा त राज्यपाल नहेम्याह तीनछक परे। (व्यव. ६:६, ७; नहे. १३:२३, २४) परमेश्वरको वचन मुख्यतः हिब्रू भाषामा लेखिएको थियो। ती केटाकेटीले हिब्रू भाषा नै बुझ्दैनथे भने तिनीहरूले कसरी यहोवालाई प्रेम गर्न र उहाँको उपासना गर्न सिक्न सक्थे र? (एज्रा १०:३, ४४) त्यसैले ती यहुदीहरूले ठूला परिवर्तनहरू गर्नुपर्थ्यो। यसो गर्न इस्राएलमा तिनीहरूलाई अझै सजिलो हुने थियो किनभने त्यहाँ शुद्ध उपासना क्रमिक रूपमा पुनर्स्थापित हुँदै थियो।—नहे. ८:८, ९. w२३.०५ पृ. १५ अनु. ६-७
शुक्रबार, सेप्टेम्बर ५
लड्न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ अनि झुकेका सबैलाई उठाउनुहुन्छ।—भज. १४५:१४.
हाम्रो इच्छा जति नै बलियो भए पनि वा हामी अनुशासित भए पनि हाम्रो लक्ष्यमा बाधा आइपर्न सक्छ। जस्तै: “चिताउँदै नचिताएको घटना”-ले गर्दा हाम्रो समय र शक्ति खाइदिन सक्छ। यसले गर्दा आफ्नो लक्ष्य हासिल गर्न समय नै नहुन सक्छ। (उप. ९:११) कुनै कठिनाइको सामना गर्नुपर्दा हामी निराश हुन सक्छौँ र हामीमा कुनै बल नै बाँकी नहुन सक्छ। (हितो. २४:१०) त्रुटिपूर्ण भएकोले हामीबाट गल्तीहरू हुन्छन्। यसले गर्दा पनि हामीलाई लक्ष्यसम्म पुग्न अझै गाह्रो हुन सक्छ। (रोमी ७:२३) अथवा हामी एकदमै थकित हुन सक्छौँ। (मत्ति २६:४३) हामी यस्ता बाधाहरूलाई कसरी पन्छ्याउन सक्छौँ? लक्ष्यमा बाधा आइपर्दैमा तपाईँ असफल हुनुभयो भन्ने होइन। हामीलाई विभिन्न समस्या वा कठिनाइले लडाउन सक्छ भनी बाइबल बताउँछ। तर हामी फेरि उठ्न सक्छौँ भनेर पनि बाइबल बताउँछ। हो, बाधाहरूको बाबजुद अघि बढ्दा तपाईँ यहोवालाई खुसी बनाउन चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ। यसरी तपाईँ अघि बढिरहेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला! w२३.०५ पृ. ३० अनु. १४-१५
शनिबार, सेप्टेम्बर ६
‘बगालको निम्ति उदाहरण बन्नुहोस्।’—१ पत्रु. ५:३.
अग्रगामी सेवा गर्दा जवान पुरुषहरूले थरीथरीका मानिसहरूसित मिलेर काम गर्न सिक्न सक्छन्। यसले तिनीहरूलाई बुद्धिमानीपूर्वक पैसा खर्च गर्न र आम्दानीभन्दा धेरै खर्च नगर्न पनि सिकाउँछ। (फिलि. ४:११-१३) पूर्ण-समय सेवा सुरु गर्नुअघि सहायक अग्रगामी सेवा गर्नु बेस हो। यसरी सहायक अग्रगामी सेवा गरेकाहरू नियमित अग्रगामी सेवाको लागि तयार हुन सकेका छन्। अग्रगामी सेवाले पूर्ण-समय सेवाका अरू ढोकाहरू पनि खोल्छ। जस्तै: निर्माण सेवा, बेथेल सेवा। ख्रिष्टियन पुरुषहरूले एल्डरको रूपमा मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्ने लक्ष्य राख्नुपर्छ। एल्डरको रूपमा सेवा गर्न अघि बढिरहेका पुरुषहरूले ‘असल काम गर्न चाहेका हुन्छन्’ भनेर बाइबल बताउँछ। (१ तिमो. ३:१) सर्वप्रथम, भाइहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुनुपर्छ। सहायक सेवकहरूले एल्डरहरूलाई भाइबहिनीको ख्याल राख्न विभिन्न व्यावहारिक तरिकामा सघाउँछन्। एल्डर अनि सहायक सेवकहरू दुवैले नम्र भई मण्डलीका भाइबहिनीको सेवा गर्छन् र जोसका साथ सुसमाचार सुनाउने काममा भाग लिन्छन्। w२३.१२ पृ. २८ अनु. १४-१६
आइतबार, सेप्टेम्बर ७
जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्वरको खोजी गर्न थाले।—२ इति. ३४:३.
यहोवाको खोजी गर्न थाल्दा राजा योसियाह १६ वर्षका थिए। तिनी यहोवा र उहाँको इच्छाबारे सिक्न चाहन्थे। तर यी जवान राजाको जीवन सजिलो भने थिएन। त्यतिबेला थुप्रै मानिस झूटो देवीदेवताको उपासना गर्थे। त्यसैले तिनीहरूलाई रोक्न योसियाह साहसी हुनुपर्थ्यो। अनि तिनले साँच्चै साहस देखाए! बीस वर्ष नपुग्दै तिनले यहुदा र यरुसलेमबाट झूटो उपासना हटाउन थाले। (२ इति. ३४:१, २) तपाईँ कलिलै उमेरको हुनुहुन्छ भने पनि योसियाहले जस्तै यहोवा र उहाँका गुणहरूबारे अझ धेरै सिक्ने छनौट गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँ आफ्नो जीवन उहाँलाई समर्पण गर्न उत्प्रेरित हुनुहुनेछ। समर्पण गरेपछि तपाईँले कसरी जीवन बिताउनुपर्छ? लुक भाइले १४ वर्षको उमेरमा बप्तिस्मा गरे। तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरेको दिन यसो भने: “अबदेखि म यहोवाको सेवालाई पहिलो स्थान दिन्छु र उहाँलाई खुसी बनाउने कोसिस गर्छु।” (मर्कु. १२:३०) तपाईँ पनि यस्तै गर्न इच्छुक हुनुभयो भने त्यो तपाईँको लागि आशिष् साबित हुनेछ! w२३.०९ पृ. ११ अनु. १२-१३
सोमबार, सेप्टेम्बर ८
जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन् . . . तिनीहरूको आदर गर।—१ थिस्स. ५:१२.
प्रेषित पावलले यो पत्र लेख्दा थिस्सलोनिकी मण्डली स्थापना भएको एक वर्ष पनि भएको थिएन। सायद त्यस मण्डलीका नियुक्त पुरुषहरू कम अनुभवी थिए र तिनीहरूले गल्तीहरू पनि गरे होलान्। तैपनि तिनीहरू आदर पाउन योग्य थिए। महासङ्कष्ट नजिकिँदै जाँदा हामी निर्देशनहरूको लागि एल्डरहरूमा अझ धेरै भर पर्नुपर्ने हुन सक्छ। त्यतिबेला मुख्यालय र शाखा कार्यालयसित हाम्रो सम्पर्क टुट्न सक्छ। त्यसैले अहिल्यैदेखि एल्डरहरूलाई प्रेम र आदर गर्न सिक्नु जरुरी छ। जस्तोसुकै अवस्थामा पनि सचेत रहौँ र तिनीहरूको कमीकमजोरीमा होइन बरु यहोवाले यी वफादार पुरुषहरूलाई ख्रिष्टमार्फत डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरामा ध्यान देऔँ। टोपले सिपाहीको टाउकोलाई जोगाएजस्तै उद्धारको आशाले हाम्रो सोचाइलाई जोगाउँछ। हामी संसारले दिने कुरालाई रद्दी ठान्छौँ। (फिलि. ३:८) हाम्रो आशाले हामीलाई शान्त रहन मदत गर्छ। w२३.०६ पृ. ११-१२ अनु. ११-१२
मङ्गलबार, सेप्टेम्बर ९
मूर्ख आइमाई बकबक गर्छे, ऊ अज्ञानी हुन्छे।—हितो. ९:१३.
“मूर्ख आइमाई”-को कुरा सुन्नेहरूले एउटा छनौट गर्नुपर्छ: उसको निम्तो स्विकार्ने कि नस्विकार्ने? हामीसित अवैध यौनसम्बन्धदेखि अलग रहनुपर्ने ठोस कारणहरू छन्। “मूर्ख आइमाई” यसो भन्छे: “चोरेको पानी मीठो हुन्छ।” (हितो. ९:१७) “चोरेको पानी” के हो? बाइबलमा विवाहित दम्पतीबीच हुने यौनसम्बन्धलाई मुहानको स्वच्छ पानीसँग तुलना गरिएको छ। (हितो. ५:१५-१८) कानुनी रूपमा विवाह गरेको पतिपत्नीले यौनसम्बन्धको आनन्द उठाउन सक्छन्। तर “चोरेको पानी”-को सन्दर्भमा भने कुरा फरक छ। त्यस्तो पानीले अवैध यौनसम्बन्धलाई बुझाउन सक्छ। चोरले कसैले नदेख्नेगरि चोरेजस्तै यस्तो सम्बन्ध राख्नेहरूले आफ्नो कुकर्म अरूबाट लुकाउन खोज्छन्। आफ्नो कुर्कम कसैले थाह पाउन सक्दैन जस्तो लागेकोले तिनीहरूलाई “चोरेको पानी” मीठो लाग्न सक्छ। तर वास्तवमा तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन् किनकि यहोवा सबै कुरा देख्नुहुन्छ। उहाँको अनुमोदन गुमाउनुजस्तो तीतो अनुभव अरू कुनै हुन सक्दैन। यो कुनै हालतमा “मीठो” अनुभव हुन सक्दैन।—१ कोरि. ६:९, १०. w२३.०६ पृ. २२ अनु. ७-९
बुधबार, सेप्टेम्बर १०
नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।—१ कोरि. ९:१७.
तपाईँलाई आफ्नो प्रार्थना अनि साक्षीकार्य अर्थपूर्ण भइरहेको छैन जस्तो लाग्छ भने नि? यहोवाले तपाईँलाई पवित्र शक्ति दिन छोड्नुभयो भन्ने निष्कर्षमा नपुग्नुहोस्। तपाईँ त्रुटिपूर्ण हुनुहुन्छ। त्यसैले तपाईँको भावनामा उतारचढाव आउँछ। यदि तपाईँको जोस सेलाउन थालेको छ भने प्रेषित पावलको उदाहरणमा मनन गर्नुहोस्। तिनले येसुको अनुकरण गर्न सक्दो कोसिस गरे तैपनि कहिलेकाहीँ त्यसो गर्ने इच्छा कम हुन सक्छ भनेर तिनलाई थाह थियो। पावल आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि तिनी सेवाको काम पूरा गर्न कटिबद्ध थिए। तपाईँ पनि आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि सही कुरा गरिरहन दृढ हुनुहोस्, भावनामा बहेर निर्णय नगर्नुहोस्। जे सही छ, त्यो गर्ने कोसिस गरिरहनुभयो भने समयको दौडान यहोवाको सेवामा लागिरहने तपाईँको इच्छा बढ्नेछ।—१ कोरि. ९:१६. w२४.०३ पृ. ११-१२ अनु. १२-१३
बिहीबार, सेप्टेम्बर ११
तिनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ।—२ कोरि. ८:२४.
हामी भाइबहिनीलाई आफ्ना साथीहरूको समूहमा स्वागत गरेर प्रेम गरेको देखाउन सक्छौँ। (२ कोरि. ६:११-१३) हामीमध्ये थुप्रैको मण्डलीमा फरक-फरक पृष्ठभूमि र व्यक्तित्वका भाइबहिनी छन्। हामी तिनीहरूको असल गुणहरूमा ध्यान दिएर आपसी प्रेमलाई बलियो बनाउन सक्छौँ। हामीले भाइबहिनीलाई यहोवाको नजरबाट हेर्न सिक्यौँ भने हामी तिनीहरूलाई प्रेम गर्छौँ भन्ने प्रमाण दिइरहेका हुन्छौँ। महासङ्कष्टको बेला हामीलाई नभई नहुने गुण प्रेम हो। महासङ्कष्ट सुरु हुँदा हामीले कहाँ सुरक्षा पाउनेछौँ? प्राचीन बेबिलोनमाथि आक्रमण भएपछि के गर्ने भनेर यहोवाले आफ्ना मानिसहरूलाई निर्देशन दिनुभयो। उहाँले यसो भन्नुभयो: “हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” (यसै. २६:२०) यो निर्देशन महासङ्कष्टको बेला हामीलाई पनि लागू हुन्छ जस्तो देखिन्छ। w२३.०७ पृ. ६-७ अनु. १४-१६
शुक्रबार, सेप्टेम्बर १२
यस संसारको दृश्य परिवर्तन हुँदै छ।—१ कोरि. ७:३१.
हामी आफ्नो आचरणबाट व्यावहारिक भएको देखाउन सक्छौँ। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के मलाई मानिसहरूले व्यावहारिक, लचिलो र सहनशील व्यक्ति भनेर चिन्छन्? अथवा कठोर, रुखो वा जिद्दीवाल भनेर चिन्छन्? के म आफूले भनेजस्तै हुनुपर्छ भनेर ढिपी गर्छु? अथवा के म अरूको कुरा ध्यान दिएर सुन्छु र सम्भव छ भने तिनीहरूले भनेको कुरा मान्छु?’ हामी जत्ति धेरै व्यावहारिक हुन्छौँ, त्यत्ति नै यहोवा र येसुको अनुकरण गरिरहेका हुन्छौँ। परिस्थिति परिवर्तन हुँदा हामी व्यावहारिक हुनुपर्छ। जीवनमा परिवर्तनहरू आउँदा सोच्दै नसोचेका कठिनाइहरू भोग्नुपर्ने हुन सक्छ। जस्तै: हामीलाई अचानक गम्भीर रोग लाग्न सक्छ। अथवा देशको अर्थतन्त्र र राजनैतिक अवस्था डामाडोल हुन सक्छ र त्यसले हाम्रो पूरै जीवन अस्तव्यस्त पार्न सक्छ। (उप. ९:११) आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा पनि हामीलाई गाह्रो हुन सक्छ। निम्न चार वटा कदम चाल्यौँ भने हामीले नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न सक्नेछौँ: (१) वास्तविकता स्विकार्ने, (२) विगतमा होइन, भविष्यमा ध्यान दिने, (३) सकारात्मक कुरा सोच्ने र (४) अरूलाई मदत गर्ने। w२३.०७ पृ. २२ अनु. ७-८
शनिबार, सेप्टेम्बर १३
तिमी अतिप्रिय छौ।—दानि. ९:२३.
भविष्यवक्ता दानिएललाई बेबिलोनीहरूले कैदी बनाएर आफ्नो जन्मस्थल यरुसलेमबाट टाढा लैजाँदा तिनी जवानै थिए। तैपनि बेबिलोनीहरू तिनलाई देखेर प्रभावित भएका थिए। तिनीहरूले दानिएलको ‘बाहिरी रूप हेरे’ र तिनी “कुनै खोट नभएका, हेर्नमा राम्रा” अनि कुलीन घरानाबाट आएको याद गरे। (१ समु. १६:७) यी कारणहरूले गर्दा बेबिलोनीहरूले दानिएललाई राजाको दरबारमा काम गर्न विशेष तालिम दिए। (दानि. १:३, ४, ६) यहोवाले दानिएलको भित्री व्यक्तित्व हेर्नुभयो र तिनलाई माया गर्नुभयो। यहोवाले दानिएलको नाम दशकौँसम्म वफादार रहेका नुह र अय्युबसितै उल्लेख गर्नुहुँदा तिनी १८/१९ वा २२/२३ वर्ष मात्र पुगेका हुन सक्छन्। तैपनि यहोवाले तिनलाई नुह र अय्युबजत्तिकै धर्मी ठान्नुभयो। (उत्प. ५:३२; ६:९, १०; अय्यु. ४२:१६, १७; इज. १४:१४) अनि यहोवाले लामो समयसम्म वफादार रहेकोमा दानिएललाई बुढेसकालसम्मै माया गर्नुभयो।—दानि. १०:११, १९. w२३.०८ पृ. २ अनु. १-२
आइतबार, सेप्टेम्बर १४
सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ।—एफि. ३:१८.
तपाईँ घर किन्ने विचार गर्दै हुनुहुन्छ भने त्यस घरको एक-एक कुरा थाह पाउन चाहनुहुन्छ। हामी बाइबल पढ्दा र अध्ययन गर्दा पनि त्यस्तै गर्न सक्छौँ। यदि तपाईँले सरसरती मात्र पढ्नुभयो भने “परमेश्वरको पवित्र सन्देशका आधारभूत कुराहरू” मात्रै सिक्नुहुनेछ। (हिब्रू ५:१२) तर बाइबलको कुरा पूर्ण रूपमा बुझ्न चाहनुहुन्छ भने घरभित्र छिरेर एक-एक कुरा हेर्नुभएजस्तै बाइबल पनि गहिरिएर अध्ययन गर्नुपर्छ। यसरी अध्ययन गर्ने एउटा राम्रो तरिका बाइबलमा लेखिएका कुराहरू आपसमा कसरी सम्बन्धित छन् भनेर बुझ्ने कोसिस गर्नु हो। तपाईँ बाइबलका के-कस्ता सत्यहरूमा विश्वास गर्नुहुन्छ र किन विश्वास गर्नुहुन्छ भनेर पनि बुझ्ने कोसिस गर्नुहोस्। परमेश्वरको वचन पूर्ण रूपमा बुझ्न हामीले यसका गहिरा सत्यहरू अध्ययन गर्नुपर्छ। प्रेषित पावलले भाइबहिनीलाई ‘सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ्नको’ लागि परमेश्वरको वचन लगनशील भएर अध्ययन गर्न आग्रह गरे। त्यसो गरेमा तिनीहरू “विश्वासको जगमा [अझै] जरा हालिएका र दृढ” हुने थिए। (एफि. ३:१४-१९) हामीले पनि त्यसै गर्नुपर्छ। w२३.१० पृ. १८ अनु. १-३
सोमबार, सेप्टेम्बर १५
भाइहरू हो, यहोवा परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले भोगेको कष्ट र उनीहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लेओ।—याकु. ५:१०.
बाइबलमा धीरज देखाएका अरू थुप्रै उदाहरण पाउँछौँ। तिनीहरूबारे अनुसन्धान गर्नुभए कसो होला? जस्तै: दाउदलाई सानै उमेरमा इस्राएलको भावी राजा अभिषेक गरिएको थियो। तर तिनले राज्याधिकार पाउन धेरै वर्ष पर्खनुपरेको थियो। सिमियोन र हन्नाले प्रतिज्ञा गरिएको मसीहलाई पर्खे अनि वफादार भई यहोवाको उपासना गरे। (लुका २:२५, ३६-३८) यस्ता विवरणहरू अध्ययन गर्दा यी प्रश्नहरूको जवाफ खोज्नुहोस्: ‘यी व्यक्तिलाई धीरज देखाउन केले मदत गरेको हुन सक्छ? धीरजी हुँदा तिनले कस्तो आशिष् पाए? म कसरी तिनको अनुकरण गर्न सक्छु?’ तपाईँ धीरज नदेखाएका व्यक्तिहरूबारे पढेर पनि लाभ उठाउन सक्नुहुन्छ। (१ समु. १३:८-१४) तिनीहरूबारे पढ्दा आफैलाई सोध्नुहोस्: ‘तिनीहरूले किन धीरज देखाउन सकेनन्? अधीर भएकोले तिनीहरूले कस्ता नतिजाहरू भोग्नुपऱ्यो?’ w२३.०८ पृ. २५ अनु. १५
मङ्गलबार, सेप्टेम्बर १६
परमेश्वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौँ।—युह. ६:६९.
जस्तोसुकै चुनौती आइपरे तापनि प्रेषित पत्रुस वफादार थिए। तिनले कहिलेकाहीँ गल्ती गरे तापनि येसुको पछि लाग्न भने छोडेनन्। जस्तै: एकचोटि येसुले भन्नुभएको कुरा चेलाहरूले बुझ्न सकेनन्। थुप्रै चेलाले उहाँको कुराको अर्थ बुझ्ने कोसिस गरेनन् बरु उहाँको पछि लाग्न छोडे। तर पत्रुस भने वफादार रहे। (युह. ६:६८) येसुसित मात्र “अनन्त जीवनका वचनहरू” छन् भनेर तिनलाई थाह थियो। येसुलाई पत्रुस र अन्य प्रेषितहरूले त्याग्नेछन् भनेर उहाँलाई थाह थियो। तैपनि उहाँले पत्रुस फर्कनेछन् र वफादार भई सेवा गरिरहनेछन् भन्ने कुरामा आफू विश्वस्त भएको कुरा व्यक्त गर्नुभयो। (लुका २२:३१, ३२) “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ” भनेर येसुले बुझ्नुभएको थियो। (मर्कु. १४:३८) त्यसैले आफूलाई चिन्न इन्कार गरे तापनि उहाँले तिनलाई त्याग्नुभएन। फेरि जीवित हुनुभएपछि येसु सम्भवतः पत्रुस एक्लै भएको बेला तिनीकहाँ देखा पर्नुभयो। (मर्कु. १६:७; लुका २४:३४; १ कोरि. १५:५) एकदमै निराश भएका पत्रुस कत्ति प्रोत्साहित भए होलान्! w२३.०९ पृ. २२ अनु. ९-१०
बुधबार, सेप्टेम्बर १७
आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्।—रोमी ४:७.
परमेश्वरमाथि विश्वास राख्नेहरूको पापलाई उहाँले ढाक्नुहुन्छ अर्थात् क्षमा गर्नुहुन्छ। उहाँ तिनीहरूलाई पूर्णतया क्षमा दिनुहुन्छ र तिनीहरूको पापको लेखा राख्नुहुन्न। (भज. ३२:१, २) यहोवा त्यस्ता व्यक्तिहरूलाई तिनीहरूको विश्वासको आधारमा खोटरहित र धर्मी ठहराउनुहुन्छ। अब्राहाम, दाउद र अरू वफादार उपासकहरू धर्मी ठहरिए तापनि त्रुटिपूर्ण र पापी नै थिए। तर तिनीहरूको विश्वासले गर्दा परमेश्वरको उपासना नगर्ने मानिसहरूको तुलनामा तिनीहरूलाई परमेश्वरले खोटरहित व्यक्तिको रूपमा हेर्नुभयो। (एफि. २:१२) रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले परमेश्वरको मित्र बन्न विश्वास हुनै पर्छ भनेर बताए। अब्राहाम र दाउद परमेश्वरमा विश्वास गर्ने भएकोले उहाँको मित्र बन्न सके। हामी पनि परमेश्वरमाथि विश्वास गरेर उहाँको मित्र बन्न सक्छौँ। w२३.१२ पृ. ३ अनु. ६-७
बिहीबार, सेप्टेम्बर १८
परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान अर्थात् ओठको फल चढाऔँ। परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।—हिब्रू १३:१५.
आज सबै ख्रिष्टियनले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो समय, शक्ति र स्रोतसाधन प्रयोग गर्ने अनमोल सुअवसर पाएका छन्। यहोवालाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम सेवा चढाएर हामी उहाँको उपासना गर्ने सुअवसरको कदर गरेको देखाउन सक्छौँ। प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रको अन्ततिर हामीले बेवास्ता गर्नै नहुने उपासनाका विभिन्न पक्षबारे बताए। (हिब्रू १०:२२-२५) जस्तै: प्रार्थनामार्फत परमेश्वरसामु जानु, आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्नु, मण्डलीको रूपमा एकसाथ भेला हुनु र “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी” एकअर्कालाई प्रोत्साहन दिइरहनु। प्रकाशको किताबको अन्ततिर यहोवाका स्वर्गदूतले यसो भने: “परमेश्वरको उपासना गर!” (प्रका. १९:१०; २२:९) ती स्वर्गदूतले यो साँच्चै महत्त्वपूर्ण कुरा हो भनेर जोड दिन यो कुरा दुई चोटि भने। यहोवाको महान् आध्यात्मिक मन्दिरबारे सिकेको यो गहिरो सत्य र हाम्रा महान् परमेश्वरको उपासना गर्ने सुअवसरको मोल गरिरहौँ! w२३.१० पृ. २९ अनु. १७-१८
शुक्रबार, सेप्टेम्बर १९
हामी आपसमा प्रेम गरिरहौँ।—१ युह. ४:७.
हामी सबै जना ‘आपसमा प्रेम गरिरहन’ चाहन्छौँ। तर हामीले येसुको यस चेतावनीलाई पनि मनमा राख्नुपर्छ: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ति २४:१२) यहाँ येसुले आफ्ना अधिकांश चेलाबीचको प्रेम सेलाएर जानेछ भन्न खोजिरहनुभएको थिएन। तर यस संसारको स्वार्थी मनोभावको प्रभावमा नपर्न हामी सचेत रहनुपर्छ। यस कुरालाई मनमा राख्दै एउटा महत्त्वपूर्ण प्रश्न विचार गरौँ: भाइबहिनीप्रतिको हाम्रो प्रेम बलियो छ कि छैन भनेर थाह पाउने के कुनै तरिका छ? अरूप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भनेर थाह पाउने एउटा तरिका कुनै परिस्थितिमा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ भनेर जाँच्नु हो। (२ कोरि. ८:८) त्यस्तै एउटा परिस्थितिबारे प्रेषित पत्रुसले बताएका छन्। तिनले यसो भने: “सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) अरूले गल्ती गर्दा वा हाम्रो चित्त दुखाउँदा हाम्रो प्रेमको जाँच हुन सक्छ। w२३.११ पृ. १० अनु. १२-१३
शनिबार, सेप्टेम्बर २०
तिमीहरू आपसमा प्रेम गर।—युह. १३:३४.
यदि हामी मण्डलीमा कसैलाई माया गर्छौँ र कसैलाई गर्दैनौँ भने प्रेम देखाउने सन्दर्भमा येसुको सल्लाह पालन गरिरहेका हुँदैनौँ। हुनत हामी येसुजस्तै मण्डलीमा कसैसित अरूसित भन्दा नजिक महसुस गर्छौँ होला। (युह. १३:२३; २०:२) तर प्रेषित पत्रुसले हामीलाई मण्डलीका सबै भाइबहिनीलाई आफ्नै परिवारलाई जस्तै “भ्रातृस्नेह” देखाउन सम्झाएका छन्। (१ पत्रु. २:१७) पत्रुसले हामीलाई “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर” भनेर सल्लाह दिए। (१ पत्रु. १:२२) यहाँ चलाइएको “प्रगाढ प्रेम” भन्ने अभिव्यक्तिले कसैलाई प्रेम देखाउन गाह्रो लाग्दा पनि आफैलाई तन्काउनु वा तिनलाई प्रेम देखाउन कडा मेहनत गर्नु भन्ने अर्थ दिन्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा हाम्रो स्वाभाविक झुकाव ‘जस्तालाई त्यस्तै’ गर्ने हुन सक्छ। तर त्यस्तो व्यवहारले परमेश्वरलाई खुसी बनाउँदैन भनेर पत्रुसले येसुबाट सिके। (युह. १८:१०, ११) पत्रुसले यस्तो लेखे: “खराबीको बदला खराबी नगर; अपमानको बदला अपमान नगर। त्यसको उल्टो आशिष् देओ।” (१ पत्रु. ३:९) तपाईँमा प्रगाढ प्रेम छ भने तपाईँ दयालु र विचारशील हुन उत्प्रेरित हुनुहुनेछ। w२३.०९ पृ. २८-२९ अनु. ९-११
आइतबार, सेप्टेम्बर २१
‘स्त्रीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्वासयोग्य हुनुपर्छ।’—१ तिमो. ३:११.
एउटा बच्चा हुर्केर कत्ति छिटो ठूलो हुन्छ; त्यो देख्दा हामीलाई अचम्म लाग्छ। त्यो बच्चा कसैले प्रयासै नगरी आफसेआफ हुर्केको जस्तो देखिन्छ। तर ख्रिष्टियन परिपक्वता भने आफसेआफ हासिल हुने कुरा होइन। (१ कोरि. १३:११; हिब्रू ६:१) त्यो लक्ष्य हासिल गर्न यहोवासितको सम्बन्ध बलियो हुनुपर्छ। साथै हामीलाई पवित्र शक्ति पनि चाहिन्छ। यसले यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्न, उपयोगी सीपहरू सिक्न र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयार हुन मदत गर्नेछ। (हितो. १:५) यहोवाले पुरुष र स्त्री बनाउनुभयो। (उत्प. १:२७) पुरुष र स्त्रीको शारीरिक बनौट फरक हुन्छ। त्यति मात्र होइन, तिनीहरू अरू तरिकामा पनि फरक हुन्छन्। जस्तै: यहोवाले पुरुष र स्त्रीलाई फरक-फरक भूमिका दिनुभएको छ। त्यसैले ती भूमिकाहरू निर्वाह गर्न तिनीहरूलाई फरक-फरक गुण र सीप चाहिन्छ।—उत्प. २:१८. w२३.१२ पृ. १८ अनु. १-२
सोमबार, सेप्टेम्बर २२
‘सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोराको नाममा बप्तिस्मा गराओ।’—मत्ति २८:१९.
के येसु अरू मानिसले यहोवा बुबाको नाम प्रयोग गरेको चाहनुहुन्थ्यो? पक्कै चाहनुहुन्थ्यो। त्यतिबेलाका केही धर्मगुरु परमेश्वरको नाम एकदमै पवित्र भएकोले यो नाम उच्चारणसमेत गर्नु हुँदैन भनेर विश्वास गर्थे। तर येसु त्यस्ता गैर-धर्मशास्त्रीय चलनहरूको प्रभावमा कहिल्यै पर्नुभएन। उहाँले आफ्नो बुबाको नामको सधैँ आदर गर्नुभयो। गेरासिनीहरूको इलाकामा प्रेतले सताएको मानिसलाई उहाँले निको पार्नुहुँदा के भयो, विचार गरौँ। त्यहाँका मानिसहरू यत्ति डराए कि तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे। (मर्कु. ५:१६, १७) हुनत उहाँ त्यहाँबाट जानुभयो तर उहाँ त्यस इलाकाका मानिसहरूले परमेश्वरको नाम थाह पाएको चाहनुहुन्थ्यो। त्यसैले उहाँले त्यस मानिसलाई एउटा काम दिनुभयो। येसुले तिनको लागि के गर्नुभयो भनेर होइन बरु यहोवाले तिनको लागि के गर्नुभयो भनेर तिनले बताउनुपर्ने थियो। (मर्कु. ५:१९) आज पनि हामीले संसारभरि नै यहोवा बुबाको नामबारे मानिसहरूलाई बताएको येसु चाहनुहुन्छ। (मत्ति २४:१४; २८:२०) यसो गर्दा हामीले राजा येसुलाई खुसी बनाइरहेका हुन्छौँ। w२४.०२ पृ. १० अनु. १०
मङ्गलबार, सेप्टेम्बर २३
तिमीले . . . मेरो नामको खातिर धेरै कष्ट सहेका छौ।—प्रका. २:३.
अन्तको यस कठिन समयमा यहोवाको सङ्गठनको भाग हुन पाउनु साँच्चै आशिष्को कुरा हो! संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको छ। तर यहोवाले हामीलाई मदत दिन मायालु आध्यात्मिक परिवार दिनुभएको छ। (भज. १३३:१) अनि उहाँ हामीलाई पारिवारिक जीवन सुखी बनाउन पनि मदत गर्नुहुन्छ। (एफि. ५:३३–६:१) साथै हामीले चिन्ता-फिक्रीको सामना गर्न सकौँ र आनन्दित हुन सकौँ भनेर उहाँ हामीलाई बुद्धि पनि दिनुहुन्छ। यहोवाको सेवामा लागिरहन हामीले कडा मेहनत गर्नुपर्छ। किन? किनकि कहिलेकाहीँ अरूले गरेका वा भनेका कुराहरूले गर्दा हाम्रो चित्त दुख्न सक्छ। हामी आफ्नै गल्तीहरूले गर्दा पनि निराश हुन सक्छौँ, खासगरि एउटै गल्ती बारम्बार दोहोरिँदा। हामी निम्न अवस्थाहरूमा सहनशील भई यहोवाको सेवामा लागिरहनुपर्छ: (१) कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा, (२) जीवनसाथीसितको सम्बन्ध बिग्रँदा र (३) आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा। w२४.०३ पृ. १४ अनु. १-२
बुधबार, सेप्टेम्बर २४
हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।—फिलि. ३:१६.
तपाईँले सेवा विस्तार गरेका भाइबहिनीको अनुभव सुन्नुहुनेछ। जस्तै: राज्य प्रचारकहरूका लागि स्कुलमा गएका अथवा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेका भाइबहिनीको अनुभव। यदि परिस्थितिले दिन्छ भने तपाईँ पनि त्यस्तो लक्ष्य राख्न सक्नुहुन्छ। यहोवाका सेवकहरूले पहिलादेखि नै सेवा विस्तार गर्ने इच्छा देखाउँदै आएका छन्। (प्रेषि. १६:९) तर तपाईँ सेवा विस्तार गर्न सक्ने अवस्थामा हुनुहुन्न भने नि? त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीको तुलनामा आफू त केही कामको छैन भन्ने सोचाइ नराख्नुहोस्। किनकि महत्त्वपूर्ण कुरा भनेको अन्तसम्म सहनु हो। (मत्ति १०:२२) त्यसैले यो कुरा नबिर्सनुहोस्, आफ्नो क्षमता र परिस्थितिले दिएसम्म यहोवाको सेवा गर्दा तपाईँले उहाँलाई खुसी बनाइरहनुभएको हुनेछ। अनि तपाईँ निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ।—भज. २६:१. w२४.०३ पृ. १० अनु. ११
बिहीबार, सेप्टेम्बर २५
परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो।—कल. २:१३.
हामीले आफ्नो पापको पश्चात्ताप गऱ्यौँ भने यहोवाले हामीलाई क्षमा दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ८६:५) त्यसैले आफ्नो पापको लागि मनैदेखि क्षमा माग्दा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाइरहेका हुन्छौँ र उहाँले क्षमा दिनुभयो भनेर ढुक्क हुन सक्छौँ। यो कुरा मनमा राख्नुहोस्: यहोवा कठोर वा अव्यावहारिक हुनुहुन्न। उहाँ हाम्रो क्षमताले भ्याएजति गरेको चाहनुहुन्छ। हामीले उहाँको सेवामा सक्दो गर्दा उहाँ त्यसको कदर गर्नुहुन्छ। तनमनले यहोवाको सेवा गरेका बाइबल पात्रहरूबारे पनि विचार गर्नुहोस्। प्रेषित पावलबारे सोच्नुहोस्। तिनले वर्षौँसम्म जोसिलो भई साक्षीकार्यमा भाग लिए। तिनले सुसमाचार फैलाउन हजारौँ किलोमिटर यात्रा गरे र ठाउँ-ठाउँमा मण्डलीहरू स्थापना गरे। तर पछि तिनको परिस्थिति परिवर्तन भएकोले साक्षीकार्यमा पहिलाजति भाग लिन सकेनन्। त्यतिबेला के तिनले यहोवाको अनुमोदन गुमाए? गुमाएनन्। बरु तिनले सकेजति गरिरहे र यहोवाबाट आशिष् पाए। (प्रेषि. २८:३०, ३१) हामी पनि सधैँ एकैनासले यहोवाको सेवा गर्न सक्दैनौँ होला। तर उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको सेवा गर्नुपछाडिको हाम्रो मनसाय हो। w२४.०३ पृ. २७ अनु. ७, ९
शुक्रबार, सेप्टेम्बर २६
बिहान झिसमिसेमै [येसु] . . . सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।—मर्कु. १:३५.
येसुका प्रार्थनाहरूबाट उहाँका चेलाहरूले सिक्न सक्थे। उहाँले सेवाको कामको अवधिभरि थुप्रै पटक प्रार्थना गर्नुभयो। उहाँ धेरैजसो व्यस्त हुनुहुन्थ्यो र उहाँको वरिपरि धेरै मानिस झुम्मिरहेका हुन्थे। त्यसैले उहाँले प्रार्थनाको लागि समय छुट्ट्याउनुभयो। (मर्कु. ६:३१, ४५, ४६) जस्तै: एकान्तमा प्रार्थना गर्न उहाँ बिहान झिसमिसेमै उठ्नुभयो। एकचोटि त उहाँले एउटा महत्त्वपूर्ण निर्णय गर्नुअघि पूरै रात प्रार्थना गर्नुभयो। (लुका ६:१२, १३) उहाँले आफ्नो मृत्युको अघिल्लो रात बारम्बार प्रार्थना गर्नुभयो किनभने उहाँ आफूले पाएको सबैभन्दा कठिन जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुहुन्थ्यो। (मत्ति २६:३९, ४२, ४४) जति नै व्यस्त भए पनि प्रार्थना गर्न समय निकाल्नुपर्छ भनेर येसुको उदाहरणबाट सिक्न सक्छौँ। येसुले जस्तै हामीले पनि प्रार्थनाको लागि निश्चित समय छुट्ट्याउनुपर्ने हुन सक्छ। त्यसको लागि बिहान सबेरै उठ्न सक्छौँ वा राती प्रार्थना गरेपछि मात्र सुत्न सक्छौँ। यसो गर्दा हामीले यस अमूल्य उपहारको मोल गरेको यहोवालाई देखाइरहेका हुन्छौँ। w२३.०५ पृ. ३ अनु. ४-५
शनिबार, सेप्टेम्बर २७
हामीलाई दिइएको पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।—रोमी ५:५.
यस पदमा परमेश्वरको प्रेम तिनीहरूको “हृदयमा भरिएको छ” भनेर बताइएको छ। एउटा बाइबल शब्दकोशमा परमेश्वरको प्रेमलाई “अविरल बगिरहेको पानीसित” तुलना गरिएको छ। यस तुलनाबाट अभिषिक्त जनप्रति यहोवाको प्रेम कत्ति अथाह छ भनेर देखिन्छ। ती बोलाइएका जनलाई पनि यो कुरा थाह छ र तिनीहरूको हृदय उहाँको प्रेमले भरिएको छ। (यहु. १) तिनीहरूको भावना प्रेषित युहन्नाले लेखेको यस कुराबाट बुझ्न सकिन्छ: “हेर, परमेश्वरका सन्तान कहलाइने सुअवसर दिएर बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ!” (१ युह. ३:१) के यहोवा अभिषिक्त जनलाई मात्र प्रेम गर्नुहुन्छ? होइन, उहाँ हामी सबैलाई प्रेम गर्नुहुन्छ। यहोवा हामी सबैलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो? फिरौतीको बलिदान। यस्तो प्रेम आजसम्म कसैले देखाएको छैन।—युह. ३:१६; रोमी ५:८. w२४.०१ पृ. २८ अनु. ९-१०
आइतबार, सेप्टेम्बर २८
म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्। यो कुरामा म ढुक्क छु: परमेश्वर मेरो साथमा हुनुहुन्छ।—भज. ५६:९.
माथिको पदमा दाउदले आफ्नो डरलाई जित्न सक्नुको एउटा कारणबारे बताइएको छ। तिनको ज्यान अझै पनि खतरामा भए तापनि यहोवाले तिनको लागि भविष्यमा के गरिदिनुहुनेछ भन्ने कुरामा तिनले मनन गरे। यहोवाले उपयुक्त समयमा बचाउनुहुनेछ भनेर दाउदलाई थाह थियो। हुन पनि यहोवाले साउलपछिको इस्राएलको राजा दाउद हुनेछन् भनेर घोषणा गरिसक्नुभएको थियो। (१ समु. १६:१, १३) यहोवाले प्रतिज्ञा गर्नुभएका कुराहरू दाउदको लागि पूरा भएसरह थिए। यहोवाले तपाईँको लागि के गरिदिने प्रतिज्ञा गर्नुभएको छ? उहाँले हामीलाई सबै समस्यादेखि जोगाउनुहुन्छ भनेर हामी आशा गर्दैनौँ। तर नबिर्सनुहोस्, यहोवाले आउँदै गरेको नयाँ संसारमा अहिले हामीले भोगिरहेका समस्याहरूलाई हटाउनुहुनेछ। (यसै. २५:७-९) हाम्रो सृष्टिकर्तासित मरेकाहरूलाई ब्युँताउने, हाम्रा शारीरिक अनि भावनात्मक पीडालाई निको पार्ने र सबै विरोधीलाई नामेट पार्ने शक्ति छ।—१ युह. ४:४. w२४.०१ पृ. ६ अनु. १२-१३
सोमबार, सेप्टेम्बर २९
आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।—भज. ३२:१.
आफ्नो समर्पण र बप्तिस्माबारे सोच्नुहोस्। यहोवाको पक्षमा खडा हुन चाहनुभएकोले तपाईँले यी कदमहरू चाल्नुभयो। तपाईँ कुन कुराले गर्दा सत्य यही हो भनेर पक्का हुनुभएको थियो, त्यसबारे सोच्नुहोस्। तपाईँले यहोवाबारे सही ज्ञान लिनुभयो र बुबाको रूपमा उहाँलाई आदर र प्रेम गर्न थाल्नुभयो। विश्वास बढ्दै गएपछि तपाईँ पश्चात्ताप गर्न उत्प्रेरित हुनुभयो। यहोवाले घृणा गर्नुहुने कुराहरूलाई त्याग्नुभयो र उहाँको इच्छाअनुसार जीवन बिताउन थाल्नुभयो। उहाँबाट क्षमा पाएको महसुस गर्दा तपाईँ ढुक्क हुनुभयो। (भज. ३२:२) तपाईँ सभाहरूमा उपस्थित हुनुभयो र आफूले सिकेका कुराहरू अरूलाई पनि सुनाउन थाल्नुभयो। समर्पण र बप्तिस्मा गरेपछि तपाईँ जीवनको बाटोमा हिँड्दै हुनुहुन्छ र यही बाटोमा हिँडिरहन दृढ हुनुहुन्छ। (मत्ति ७:१३, १४) यहोवाको उपासना र उहाँको आज्ञापालन गर्ने सन्दर्भमा स्थिर र अटल रहिरहनुहोस्। w२३.०७ पृ. १७ अनु. १४; पृ. १९ अनु. १९
मङ्गलबार, सेप्टेम्बर ३०
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।—१ कोरि. १०:१३.
समर्पणको वाचामा मनन गर्दा तपाईँले जस्तोसुकै प्रलोभनको प्रतिरोध गर्ने बल पाउनुहुनेछ। जस्तै: के तपाईँ अरूको जीवनसाथीसित तिनलाई मन पराएको जस्तो भान पर्नेगरि कुरा गर्नुहुन्छ? पक्कै गर्नुहुन्न! किनकि तपाईँले समर्पण गर्दा नै त्यस्तो नगर्ने वाचा गरिसक्नुभएको छ। कुनै अनुचित भावना आउनेबित्तिकै त्यसलाई हटाइहाल्नुभयो भने तपाईँ त्यस्तो भावनाले जरा गाडेपछि हुने पीडादेखि जोगिनुहुनेछ। तपाईँले ‘दुष्टको मार्गतिर हेर्दा पनि हेर्नुहुनेछैन।’ (हितो. ४:१४, १५) यस सन्दर्भमा तपाईँ येसुको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ। उहाँ आफ्नो बुबालाई खुसी तुल्याउन कटिबद्ध हुनुहुन्थ्यो। परमेश्वरलाई अप्रसन्न तुल्याउने कुराहरूलाई येसुले जस्तै तुरुन्तै अनि दृढ भई तिरस्कार गर्न कटिबद्ध हुनुहोस्! (मत्ति ४:१०; युह. ८:२९) वास्तवमा परीक्षा र प्रलोभन आइपर्दा तपाईँले आफू ‘निरन्तर येसुको पछि लाग्न’ कटिबद्ध भएको देखाउने मौका पाउनुहुन्छ। ‘निरन्तर येसुको पछि लाग्न’ यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। w२४.०३ पृ. ९-१० अनु. ८-१०