प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es25 पृ. ९८-१०८
  • अक्टोबर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
  • उपशीर्षकहरू
  • बुधबार, अक्टोबर १
  • बिहीबार, अक्टोबर २
  • शुक्रबार, अक्टोबर ३
  • शनिबार, अक्टोबर ४
  • आइतबार, अक्टोबर ५
  • सोमबार, अक्टोबर ६
  • मङ्‌गलबार, अक्टोबर ७
  • बुधबार, अक्टोबर ८
  • बिहीबार, अक्टोबर ९
  • शुक्रबार, अक्टोबर १०
  • शनिबार, अक्टोबर ११
  • आइतबार, अक्टोबर १२
  • सोमबार, अक्टोबर १३
  • मङ्‌गलबार, अक्टोबर १४
  • बुधबार, अक्टोबर १५
  • बिहीबार, अक्टोबर १६
  • शुक्रबार, अक्टोबर १७
  • शनिबार, अक्टोबर १८
  • आइतबार, अक्टोबर १९
  • सोमबार, अक्टोबर २०
  • मङ्‌गलबार, अक्टोबर २१
  • बुधबार, अक्टोबर २२
  • बिहीबार, अक्टोबर २३
  • शुक्रबार, अक्टोबर २४
  • शनिबार, अक्टोबर २५
  • आइतबार, अक्टोबर २६
  • सोमबार, अक्टोबर २७
  • मङ्‌गलबार, अक्टोबर २८
  • बुधबार, अक्टोबर २९
  • बिहीबार, अक्टोबर ३०
  • शुक्रबार, अक्टोबर ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
es25 पृ. ९८-१०८

अक्टोबर

बुधबार, अक्टोबर १

‘माथिबाट आउने बुद्धि पाउने मानिस आज्ञाकारी हुन्छ।’​—याकु. ३:१७.

के तपाईँलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लागेको छ? राजा दाउदलाई त्यस्तै लागेको थियो। त्यसैले तिनले परमेश्‍वरलाई प्रार्थनामा यसो भने: “तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्‌।” (भज. ५१:१२) दाउद यहोवालाई प्रेम गर्थे। तैपनि तिनलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लाग्यो। हामीलाई पनि त्यस्तै लाग्न सक्छ। किन? एउटा कारण, हामीमा जन्मजातै अनाज्ञाकारी हुने झुकाव छ। दोस्रो, सैतान हामीलाई आफूजस्तै विद्रोही बनाउन लागिपरेको छ। (२ कोरि. ११:३) तेस्रो, हामी विद्रोही मनोभाव भएको संसारमा बाँचिरहेका छौँ, “जुन मनोभावले अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।” (एफि. २:२) त्यसैले यहोवाप्रति र उहाँले नियुक्‍त गर्नुभएका अख्तियारवालाहरूप्रति आज्ञाकारी भइरहन हामीले पापी झुकावसित सङ्‌घर्ष गर्नुपर्छ। साथै दियाबल अनि यस संसारले दिने दबाबको प्रतिरोध गर्नुपर्छ। w२३.१० पृ. ६ अनु. १

बिहीबार, अक्टोबर २

तिमीले त असल दाखमद्य अहिलेसम्म जोगाइराखेका रहेछौ।​—युह. २:१०.

येसुले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको चमत्कारबाट हामी के सिक्न सक्छौँ? हामी नम्र हुनुपर्छ। उहाँले त्यो चमत्कार गरेकोमा घमन्ड गर्नुभएन। वास्तवमा भन्‍ने हो भने आफूले गरेका कामहरूमा उहाँले कहिल्यै घमन्ड गर्नुभएन। बरु उहाँले नम्र भई सधैँ सबै कुराको श्रेय अनि महिमा आफ्नो बुबालाई दिनुभयो। (युह. ५:१९,३०; ८:२८) येसुको अनुकरण गर्दै नम्र भयौँ भने हामी आफ्ना उपलब्धिहरूमा घमन्ड गर्नेछैनौँ। हामी आफूमा घमन्ड नगरौँ बरु हाम्रा महान्‌ परमेश्‍वर यहोवाको सेवा गर्न पाएकोमा घमन्ड गरौँ। (यर्मि. ९:२३,२४) सबै असल कुराको लागि उहाँलाई श्रेय देऔँ। आखिर उहाँको मदतविना हामी के नै गर्न सक्छौँ र? (१ कोरि. १:२६-३१) नम्र छौँ भने अरूको लागि गरेका असल कुराहरूको श्रेय हामी लिनेछैनौँ। यहोवा हामीले गरेका असल कुराहरू देख्नुहुन्छ र त्यसको मोल गर्नुहुन्छ भन्‍ने कुरा सम्झेर खुसी हुन्छौँ। (मत्ति ६:२-४ तुलना गर्नुहोस्‌; हिब्रू १३:१६) हो, नम्र हुने सन्दर्भमा येसुको अनुकरण गर्दा हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ।—१ पत्रु. ५:६. w२३.०४ पृ. ४ अनु. ९; पृ. ५ अनु. ११-१२

शुक्रबार, अक्टोबर ३

तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।​—फिलि. २:४.

प्रेषित पावलले ख्रिष्टियनहरूलाई अरूको कुरामा ध्यान दिन प्रोत्साहन दिए। हामी यो सल्लाह सभामा कसरी लागू गर्न सक्छौँ? अरू पनि सभामा भाग लिन चाहन्छन्‌ भन्‍ने कुरा मनमा राखेर। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। साथीहरूसित कुराकानी गर्दा तिनीहरूलाई बोल्ने मौका नै नदिई के तपाईँ आफू मात्र बोलेको बोल्यै गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न। तपाईँ तिनीहरूको कुरा पनि सुन्‍न चाहनुहुन्छ। त्यसैगरि हामी सभामा सकेसम्म धेरैले टिप्पणी दिएको चाहन्छौँ। वास्तवमा भन्‍ने हो भने भाइबहिनीलाई प्रोत्साहन दिने एउटा एकदमै राम्रो तरिका भनेको तिनीहरूलाई आफ्नो विश्‍वास व्यक्‍त गर्ने मौका दिएर हो। (१ कोरि. १०:२४) त्यसैले हामी आफ्नो टिप्पणीलाई छोटो बनाउन सक्छौँ। यसो गर्दा अरू धेरैले टिप्पणी दिने मौका पाउँछन्‌। छोटो टिप्पणी दिँदा पनि धेरै जानकारी समावेश नगर्नुहोस्‌। तपाईँले अनुच्छेदको पूरै कुरा ढाक्नुभयो भने अरूले भन्‍ने कुरा नै बाँकी हुँदैन। w२३.०४ पृ. २२-२३ अनु. ११-१३

शनिबार, अक्टोबर ४

अरूलाई सुसमाचार बाँड्‌न म यसको निम्ति सबथोक गर्छु।​—१ कोरि. ९:२३.

परिस्थिति परिवर्तन हुँदा विशेषगरि साक्षीकार्यमार्फत अरूलाई मदत दिनु कत्ति महत्त्वपूर्ण छ भनेर हामीले सम्झनुपर्छ। हामी साक्षीकार्यमा व्यावहारिक हुनुपर्छ। हामी फरक-फरक धार्मिक आस्था, पृष्ठभूमि र मनोवृत्ति भएका मानिसहरू भेट्‌छौँ। व्यावहारिक हुने सन्दर्भमा हामी प्रेषि. पावलको उदाहरणबाट सिक्न सक्छौँ। येसुले पावललाई “अन्यजातिहरूको प्रेषित” नियुक्‍त गर्नुभयो। (रोमी ११:१३) हुन पनि पावलले यहुदीहरू, ग्रीकहरू, बुद्धिजीवीहरू, गाउँलेहरू, सरकारी अख्तियारवालाहरू र राजाहरूलाई साक्षी दिए। यस्ता फरक-फरक मानिसहरूको मन छुन तिनी “सबै किसिमका मानिसका लागि सबै कुरा” भए। (१ कोरि. ९:१९-२२) तिनले मानिसहरूको संस्कृति, पृष्ठभूमि र धार्मिक आस्था मनमा राखेर साक्षी दिने तरिकामा छाँटकाँट गरे। हामीले पनि व्यावहारिक हुँदै प्रत्येक व्यक्‍तिको अवस्था विचार गरेर आफ्नो प्रस्तुतिमा छाँटकाँट गऱ्‍यौँ भने साक्षीकार्यमा अझ प्रभावकारी हुन सक्छौँ। w२३.०७ पृ. २३ अनु. ११-१२

आइतबार, अक्टोबर ५

प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ।​—२ तिमो. २:२४.

कोमलता बल हो, कमजोरी होइन। गाह्रो परिस्थितिमा शान्त रहन भित्री बल चाहिन्छ। कोमलता “पवित्र शक्‍तिको फल”-को एउटा पक्ष हो। (गला. ५:२२, २३) “कोमलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द कहिलेकाहीँ पाल्तु बनाइएको जङ्‌गली घोडालाई बुझाउन प्रयोग गरिन्थ्यो। जङ्‌गली घोडा कस्तो हुन्छ? त्यो शान्त रहे तापनि बलियो हुन्छ। हामी मानिसहरू पनि कसरी कोमल हुनुका साथै बलियो हुन सक्छौँ? आफ्नै भरमा त सक्दैनौँ। हामीले यो सुन्दर गुण विकास गर्न परमेश्‍वरलाई पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। थुप्रैले कोमल हुन सिकेका छन्‌। जस्तै: अरूले वादविवाद गर्न खोज्दा हाम्रा थुप्रै भाइबहिनीले कोमलता देखाएका छन्‌ र यसले गर्दा अरू मानिसहरूले साक्षीहरूलाई राम्रो नजरले हेर्न सकेका छन्‌।—२ तिमो. २:२४, २५. w२३.०९ पृ. १५ अनु. ३

सोमबार, अक्टोबर ६

मैले . . . प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्‍वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।​—१ समु. १:२७.

एउटा आश्‍चर्यलाग्दो दर्शनमा प्रेषित युहन्‍नाले स्वर्गमा २४ जना एल्डरले यहोवाको उपासना गरिरहेको देखे। तिनीहरूले यहोवा “महिमा, आदर अनि शक्‍ति” पाउन योग्य हुनुहुन्छ भन्‍ने कुरा स्विकार्दै उहाँको प्रशंसा गरे। (प्रका. ४:१०, ११) वफादार स्वर्गदूतहरूसित पनि उहाँको प्रशंसा र आदर गर्ने थुप्रै कारण छन्‌। तिनीहरू स्वर्गमा परमेश्‍वरसँगै भएकोले तिनीहरूले उहाँलाई राम्ररी चिन्‍ने मौका पाएका छन्‌। उहाँले गर्नुहुने कामहरूमा उहाँका गुणहरू प्रकट भएको तिनीहरूले देख्न सक्छन्‌। यसरी उहाँका कामहरू देख्दा तिनीहरू उहाँको प्रशंसा गर्न उत्प्रेरित हुन्छन्‌। (अय्यु. ३८:४-७) हामीले पनि प्रार्थनामा यहोवाको प्रशंसा गर्नुपर्छ। हामीले प्रार्थनामा यहोवाबारे कुन कुरा मन पर्छ र हामी किन उहाँको आदर गर्छौँ भनेर बताउन सक्छौँ। कुनै बाइबल विवरण पढ्‌दा तपाईँलाई यहोवाको कुन गुण सबैभन्दा मन पऱ्‍यो, पत्ता लगाउने कोसिस गर्नुहोस्‌। (अय्यु. ३७:२३; रोमी ११:३३) त्यसपछि ती गुणहरूबारे थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो, बताउनुहोस्‌। यहोवाले हामी र हाम्रा दाजुभाइ दिदीबहिनीलाई गरिरहनुभएको मदतको लागि पनि उहाँको प्रशंसा गर्न सक्छौँ।—१ समु. २:१, २. w२३.०५ पृ. ३-४ अनु. ६-७

मङ्‌गलबार, अक्टोबर ७

यहोवा परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताओ।​—कल. १:१०.

सन्‌ १९१९ मा परमेश्‍वरका मानिसहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भए। सोही वर्षदेखि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले निष्कपट मानिसहरूलाई भर्खरै खुलेको “पवित्र मार्ग”-मा हिँड्‌न मदत गर्न थाल्यो। (मत्ति २४:४५-४७; यसै. ३५:८) विगतमा वफादार सेवकहरूले आध्यात्मिक बाटो तयार पार्न मेहनत गरेकोले यसमा हिँड्‌न थालेका मानिसहरूले यहोवा र उहाँको उद्देश्‍यबारे सिक्न सके। (हितो. ४:१८) तिनीहरूले यहोवाको स्तरअनुरूप आफ्नो जीवनमा छाँटकाँट पनि गर्न सके। यहोवा आफ्ना मानिसहरूले रातारात त्यस्ता परिवर्तनहरू गरेको आशा गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई क्रमिक रूपमा शुद्ध पार्नुभएको छ। आफ्नो हर कामले यहोवालाई प्रसन्‍न तुल्याउन पाउँदा हामी कत्ति खुसी हुनेछौँ! बाटोलाई ठीक अवस्थामा राख्न नियमित रूपमा मर्मतसम्भार गर्नुपर्छ। महान्‌ बेबिलोनबाट धेरै भन्दा धेरै मानिस निस्केर आउन सकून्‌ भनेर १९१९ देखि “पवित्र मार्ग” बनाउने काम चलिरहेको छ। w२३.०५ पृ. १७ अनु. १५-१६

बुधबार, अक्टोबर ८

म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ।​—हिब्रू १३:५.

परिचालक निकायको विभिन्‍न समितिमा सेवा गर्ने सहयोगीहरूलाई त्यस निकायले तालिम दिँदै आएको छ। ती सहयोगीहरूले सङ्‌गठनमा थुप्रै गहन जिम्मेवारी सम्हालिरहेका छन्‌। तिनीहरू ख्रिष्टका अरू भेडाको ख्याल राख्न सक्षम छन्‌। महासङ्‌कष्टको अन्ततिर पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि पनि पृथ्वीमा यहोवाका जनहरूले शुद्ध उपासना गरिरहनेछन्‌। हो, त्यतिबेला मागोगको गोग अर्थात्‌ राष्ट्रहरूको गठबन्धनले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछ। (इज. ३८:१८-२०) तर त्यो क्षणिक आक्रमण विफल हुनेछ; त्यसले परमेश्‍वरका जनहरूलाई उहाँको उपासना गर्नदेखि रोक्न सक्नेछैन। यहोवाले पक्कै तिनीहरूलाई जोगाउनुहुनेछ! एउटा दर्शनमा प्रेषित युहन्‍नाले ख्रिष्टका अरू भेडा मिलेर बनेको “ठूलो भीड” देखेका थिए। युहन्‍नालाई त्यो “ठूलो भीड” “महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌” भनेर बताइएको थियो। (प्रका. ७:९, १४) यहोवाले पक्कै तिनीहरूको रक्षा गर्नुहुनेछ! w२४.०२ पृ. ५-६ अनु. १३-१४

बिहीबार, अक्टोबर ९

पवित्र शक्‍तिको काममा बाधा नपुऱ्‍याओ।​—१ थिस्स. ५:१९.

हामी कसरी पवित्र शक्‍ति पाउन सक्छौँ? हामी त्यसको लागि प्रार्थना गर्न सक्छौँ, परमेश्‍वरको वचन अध्ययन गर्न सक्छौँ र आध्यात्मिक गतिविधिमा भाग लिन सक्छौँ। यसो गर्दा हामीले “पवित्र शक्‍तिको फल” विकास गर्न मदत पाउनेछौँ। (गला. ५:२२, २३) आफ्नो सोचाइ अनि आचरण शुद्ध राखिरहनेहरूलाई मात्र उहाँ आफ्नो पवित्र शक्‍ति दिनुहुन्छ। यदि हामी अशुद्ध कुराहरू सोचिरहन्छौँ र त्यस्तै काम गर्छौँ भने उहाँले हामीलाई पवित्र शक्‍ति दिइरहनुहुन्‍न। (१ थिस्स. ४:७, ८) पवित्र शक्‍ति पाइरहन हामीले ‘भविष्यवाणीहरूलाई तुच्छ सम्झनु हुँदैन।’ (१ थिस्स. ५:२०) यस पदमा चलाइएको “भविष्यवाणी” शब्दले परमेश्‍वरले पवित्र शक्‍तिमार्फत हामीलाई दिनुभएका सन्देशहरूलाई बुझाउँछ। यसमा यहोवाको दिनसित सम्बन्धित कुराहरू र त्यस दिनको लागि तत्पर रहनुपर्ने कुराहरू समावेश छन्‌। हामी आरमागेडोन आफ्नो जीवनकालमा आउनेछैन भन्‍ने सोचाइ राख्दैनौँ। बरु असल आचरण कायम राखेर र “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू”-मा व्यस्त भएर त्यो दिन आउनेछ भन्‍ने कुरामा विश्‍वास गरेको देखाउँछौँ।—२ पत्रु. ३:११, १२. w२३.०६ पृ. १२ अनु. १३-१४

शुक्रबार, अक्टोबर १०

यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो।​—हितो. ९:१०.

आफ्नो डिभाइसमा कुनै अश्‍लील दृश्‍य देखा पर्दा हामीले के गर्नुपर्छ? हामीले तुरुन्तै आफ्नो आँखा फर्काउनुपर्छ। यहोवासितको सम्बन्ध हामीसित भएको सबैभन्दा बहुमूल्य कुरा हो भनेर सम्झन्छौँ भने हामीले त्यस्तो कदम चाल्न सक्नेछौँ। कुनै-कुनै तस्बिर अश्‍लील नभए तापनि त्यसले यौनइच्छा जगाउन सक्छ। हामीले किन त्यस्ता कुराहरूलाई तिरस्कार गर्नुपर्छ? किनकि मनमनै व्यभिचार गर्नतर्फ धकेल्न सक्ने ससानो कुरादेखि पनि हामी अलग्गै रहन चाहन्छौँ। (मत्ति ५:२८, २९) थाइल्याण्डका डेभिड भन्‍ने एल्डर यसो भन्छन्‌: “म आफैलाई यस्तो प्रश्‍न सोध्छु, ‘कुनै तस्बिर अश्‍लील नभए पनि मैले त्यो हेरिरहेँ भने के यहोवालाई त्यो मन पर्छ?’ यसरी सोच्दा मैले बुद्धिमानी कदम चाल्न सकेको छु।” हामी यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डराउँछौँ भने बुद्धिमानी कदम चाल्न मदत पाउनेछौँ। परमेश्‍वरको “डर मान्‍नु बुद्धिको सुरुवात हो।” w२३.०६ पृ. २३ अनु. १२-१३

शनिबार, अक्टोबर ११

हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस।​—यसै. २६:२०.

“भित्री कोठा”-ले मण्डलीहरूलाई बुझाएको हुन सक्छ। महासङ्‌कष्टको बेला हामी भाइबहिनीसँगै एकतामा रहेर उहाँको सेवा गरिरह्‍यौँ भने उहाँले प्रतिज्ञा गर्नुभएको सुरक्षा पाउनेछौँ। त्यसैले हामीले भाइबहिनीलाई सहन मात्र होइन, तिनीहरूलाई प्रेम गर्न पनि धेरै प्रयास गर्नुपर्छ। यस्तो प्रयासमा हाम्रो जीवन निर्भर हुन सक्छ! “यहोवाको महान्‌ दिन”-मा मानिसजातिले कठिनाइहरू भोग्नुपर्नेछ। (सप. १:१४, १५) यहोवाका मानिसहरूले पनि कठिनाइहरू भोग्नेछन्‌। तर हामी अहिल्यैदेखि तयार छौँ भने शान्त रहन र अरूलाई मदत गर्न सक्नेछौँ। अनि जस्तोसुकै चुनौती आइपरे तापनि सहनशील हुन सक्नेछौँ। दुःखमा परेका भाइबहिनीलाई कोमल करुणा देखाउन र तिनीहरूलाई आवश्‍यक मदत दिन हामी आफ्नो तर्फबाट सक्दो कोसिस गर्नेछौँ। अनि हामीले भाइबहिनीलाई अहिल्यैदेखि प्रेम गर्न सिक्यौँ भने भविष्यमा पनि त्यसरी नै प्रेम देखाउन सक्नेछौँ। यी गुणहरू देखाउन सक्दो कोसिस गऱ्‍यौँ भने यहोवाले हामीलाई कुनै प्रकोप र कठिनाइहरू नहुने संसारमा इनामस्वरूप अनन्त जीवन दिनुहुनेछ।—यसै. ६५:१७. w२३.०७ पृ. ७ अनु. १६-१७

आइतबार, अक्टोबर १२

[यहोवाले] तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।​—१ पत्रु. ५:१०.

परमेश्‍वरको वचनमा वफादार पुरुषहरूलाई अक्सर बलिया मानिसहरूको रूपमा व्याख्या गरिएको छ। तर तिनीहरूमध्ये एकदमै बलिया व्यक्‍तिहरूले पनि कहिलेकाहीँ कमजोर महसुस गरे। जस्तै: राजा दाउदले कहिलेकाहीँ आफू “पहाडजत्तिकै अटल” भएको महसुस गरे तर कहिलेकाहीँ भने “त्रसित” भए। (भज. ३०:७) हुनत सिमसोन परमेश्‍वरको शक्‍ति पाएर बलवान्‌ भएका थिए। तर परमेश्‍वरको शक्‍ति नपाएमा आफू पनि “कमजोर भएर अरू मानिसजस्तै हुनेछु” भनेर तिनलाई थाह थियो। (न्याय. १४:५, ६; १६:१७) यी वफादार पुरुषहरू परमेश्‍वरको शक्‍ति पाएर मात्रै बलिया हुन सकेका थिए। प्रेषित पावलले पनि आफूलाई यहोवाको शक्‍ति चाहिन्छ भनेर बुझेका थिए। (२ कोरि. १२:९, १०) तिनले स्वास्थ्य समस्याहरूको सामना गरिरहेका थिए। (गला. ४:१३, १४) कहिलेकाहीँ तिनलाई पनि असल काम गर्न गाह्रो भयो। (रोमी ७:१८, १९) कहिलेकाहीँ भने तिनी चिन्तित भए र तिनको ज्यानको समेत ठेगान थिएन। (२ कोरि. १:८, ९) तैपनि पावल कमजोर हुँदा बलिया भए। कसरी? यहोवाले तिनलाई चुनौतीहरूको सामना गर्न बल दिनुभयो। w२३.१० पृ. १२ अनु. १-२

सोमबार, अक्टोबर १३

यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।​—१ समु. १६:७.

आफू बेकामको छु भन्‍ने भावनाले सताउँदा हामी यो कुरा सम्झन सक्छौँ: यहोवाले नै हामीलाई उहाँतर्फ खिच्नुभएको हो। (युह. ६:४४) हामीले आफूमा भएका असल गुणहरू नदेखे तापनि यहोवाले भने देख्नुहुन्छ किनकि उहाँ हाम्रो हृदयको कुरा जान्‍नुहुन्छ। (२ इति. ६:३०) त्यसैले यहोवाले हामी उहाँको नजरमा अनमोल छौँ भन्‍नुहुँदा त्यस कुरामा ढुक्क हुन सक्छौँ। (१ युह. ३:१९, २०) सत्य सिक्नुअघि हामीमध्ये केहीले गम्भीर पाप गरेका थियौँ होला, जसले गर्दा हामीलाई अझै पनि दोषी भावनाले सताइरहेको हुन सक्छ। (१ पत्रु. ४:३) वफादार ख्रिष्टियनहरू समेत पापी झुकावविरुद्ध लड्‌नुपर्छ। के तपाईँलाई पनि कहिलेकाहीँ आफू यहोवाको क्षमा पाउन योग्य छैनँ जस्तो लाग्छ? त्यस्तो लाग्छ भने विगतका वफादार सेवकहरूलाई समेत यस्तो भावनाले सताएको थियो भन्‍ने कुरा थाह पाउँदा तपाईँले पक्कै सान्त्वना पाउनुहुनेछ। उदाहरणको लागि, प्रेषित पावलले पनि आफ्ना कमीकमजोरीले गर्दा लाचार महसुस गरेका थिए। (रोमी ७:२४) हुनत तिनले पश्‍चात्ताप गरेर बप्तिस्मा गरेका थिए तैपनि तिनले आफूलाई “प्रेषितहरूमध्ये . . . सबैभन्दा सानो” र पापीहरूमध्ये “मुख्य” भने।—१ कोरि. १५:९; १ तिमो. १:१५. w२४.०३ पृ. २७ अनु. ५-६

मङ्‌गलबार, अक्टोबर १४

तिनीहरूले . . . यहोवाको भवनलाई त्यागे।​—२ इति. २४:१८.

राजा यहोआसको गलत निर्णयबाट सिक्न सकिने एउटा पाठ भनेको हामीले यहोवालाई प्रेम गर्ने र उहाँलाई खुसी बनाउन चाहनेहरूलाई साथी बनाउनुपर्छ। त्यस्ता साथीहरूले हामीलाई असल काम गर्न उत्प्रेरित गर्छन्‌। हामीले आफ्नै उमेरकाहरूलाई मात्र साथी बनाउनुपर्छ भन्‍ने छैन। नबिर्सनुहोस्‌, यहोआस आफ्नो साथी यहोयादाभन्दा निकै साना थिए। साथी रोज्ने सन्दर्भमा आफैलाई सोध्नुहोस्‌: ‘के तिनीहरूले यहोवामाथिको मेरो भरोसालाई बलियो बनाउन मदत गर्छन्‌? के तिनीहरू मलाई उहाँको स्तरअनुसार जीवन बिताउन प्रोत्साहन दिन्छन्‌? के तिनीहरू यहोवा र उहाँका बहुमूल्य सत्यबारे कुरा गर्छन्‌? के तिनीहरू उहाँका स्तरहरूको कदर गर्छन्‌? के तिनीहरू मलाई सुन्‍न मन लाग्ने कुरा मात्रै भन्छन्‌ या आवश्‍यक परेको बेला सच्याउँछन्‌?’ (हितो. २७:५, ६, १७) यदि तिनीहरू यहोवालाई प्रेम गर्दैनन्‌ भने तिनीहरूसित मित्रता कायम राखिराख्नु उचित हो र? तर तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ भने तिनीहरूसितको मित्रतालाई कायम राख्नुहोस्‌; तिनीहरूले तपाईँलाई सधैँ मदत गर्नेछन्‌।—हितो. १३:२०. w२३.०९ पृ. ९-१० अनु. ६-७

बुधबार, अक्टोबर १५

अल्फा र ओमेगा म नै हुँ।​—प्रका. १:८.

“अल्फा” ग्रीक वर्णमालाको पहिलो अक्षर हो र “ओमेगा” अन्तिम अक्षर हो। “अल्फा र ओमेगा म नै हुँ” भन्‍नुभएको कुराबाट यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्‌नुहुन्छ भनेर बुझ्न सक्छौँ। आदम र हव्वालाई सृष्टि गर्नुभएपछि यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।” (उत्प. १:२८) आफ्नो उद्देश्‍यबारे पहिलो चोटि बताउनुहुँदा यहोवाले एक अर्थमा “अल्फा” भन्‍नुभयो। उहाँको उद्देश्‍य आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले पृथ्वीलाई भर्ने र त्यसलाई प्रमोदवन बनाउने हो। त्यो समय आएपछि यहोवाले एक अर्थमा “ओमेगा” भन्‍नुहुनेछ। “आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक” सृष्टि गर्ने काम सिद्धिएपछि उहाँले एउटा ग्यारेन्टी दिनुभयो। यहोवाले मानिसजाति र पृथ्वीको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्ने ग्यारेन्टी दिनुभयो। सातौँ दिनलाई पवित्र घोषणा गर्नुहुँदा उहाँले त्यस दिनको अन्तमा आफ्नो उद्देश्‍य पूरा हुने ग्यारेन्टी दिँदै हुनुहुन्थ्यो।—उत्प. २:१-३. w२३.११ पृ. ५ अनु. १३-१४

बिहीबार, अक्टोबर १६

यहोवाको बाटो तयार पार! हाम्रा परमेश्‍वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ।​—यसै. ४०:३.

बेबिलोनदेखि इस्राएलसम्मको कठिन यात्रा पूरा गर्न झन्डै चार महिना लाग्ने थियो। यहोवाले तिनीहरूको यात्रामा आइपर्ने जुनसुकै बाधा-अवरोध हटाउनेछु भनेर प्रतिज्ञा गर्नुभयो। आफूले गर्ने कुनै पनि त्यागको तुलनामा इस्राएल फर्कँदा पाइने आशिष्‌ धेरै छन्‌ भनेर वफादार यहुदीहरूलाई थाह थियो। सबैभन्दा ठूलो आशिष्‌ भनेको तिनीहरूको उपासनासित सम्बन्धित थियो। बेबिलोनमा यहोवाको एउटा पनि मन्दिर थिएन। मोसाको व्यवस्थाअनुसार भेटीहरू चढाउन त्यहाँ कुनै वेदी थिएन। अनि ती भेटीहरू चढाउन पुजारीहरूको प्रबन्ध पनि थिएन। त्यहाँ परमेश्‍वरका मानिसहरूको भन्दा झूटा देवीदेवतालाई पुज्ने मानिसहरूको सङ्‌ख्या धेरै थियो। ती मूर्तिपूजकहरू यहोवा र उहाँका स्तरहरूको कुनै कदर गर्दैनथे। त्यसैले परमेश्‍वरको डर मान्‍ने हजारौँ यहुदी साँचो उपासना पुनर्स्थापित गर्न आफ्नो मातृभूमि फर्कन निकै उत्सुक थिए। w२३.०५ पृ. १४-१५ अनु. ३-४

शुक्रबार, अक्टोबर १७

ज्योतिका सन्तानझैँ हिँड।​—एफि. ५:८.

“ज्योतिका सन्तानझैँ” हिँडिरहन हामीलाई परमेश्‍वरको पवित्र शक्‍ति चाहिन्छ। किन? किनभने यस अनैतिक संसारमा चोखो रहिरहन सजिलो छैन। (१ थिस्स. ४:३-५, ७, ८) पवित्र शक्‍तिले हामीलाई यस संसारको सोचाइविरुद्ध लड्‌न मदत गर्छ, जसमा परमेश्‍वरको सोचाइसित मेल नखाने मानव दर्शन र खोक्रा विचारधारा समावेश छन्‌। साथै पवित्र शक्‍तिले हामीलाई ‘हरकिसिमका भलाइ अनि धार्मिकताको फल’ फलाउन पनि मदत गर्छ। (एफि. ५:९) हामीले पवित्र शक्‍ति पाउने एउटा तरिका त्यसको लागि प्रार्थना गर्नु हो। यहोवाले ‘उहाँसित माग्नेहरूलाई पवित्र शक्‍ति दिनुहुन्छ’ भनेर येसुले बताउनुभएको थियो। (लुका ११:१३) साथै हामीले सभामा सँगै मिलेर यहोवाको प्रशंसा गर्दा पनि पवित्र शक्‍ति पाउन सक्छौँ। (एफि. ५:१९, २०) यसले हाम्रो जीवनमा प्रभाव पार्दा हामीले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउन सक्नेछौँ। w२४.०३ पृ. २३-२४ अनु. १३-१५

शनिबार, अक्टोबर १८

मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।​—लुका ११:९.

के तपाईँलाई अझ धीरज चाहिन्छ? त्यसो हो भने प्रार्थना गर्नुहोस्‌। धीरज पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) त्यसैले हामी पवित्र शक्‍तिको लागि प्रार्थना गर्न सक्छौँ र यसको फलका पक्षहरू विकास गर्न यहोवासित मदत माग्न सक्छौँ। यदि हामी धीरजको जाँच हुने परिस्थितिमा पऱ्‍यौँ भने धीरजी हुन पवित्र शक्‍ति ‘मागिरहनुपर्छ।’ (लुका ११:१३) साथै कुनै मामिलालाई यहोवाको नजरले हेर्न सकौँ भनेर उहाँसित मदत माग्न सक्छौँ। प्रार्थना गरेपछि हरेक दिन धीरजी हुन हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। हामी जत्ति धेरै धीरजको लागि प्रार्थना गर्छौँ र धीरजी हुने प्रयास गर्छौँ, त्यत्ति नै यस गुणले हाम्रो हृदयमा जरा गाड्‌नेछ र यो हाम्रो व्यक्‍तित्वको अभिन्‍न भाग बन्‍नेछ। यसले हामीलाई बाइबलका उदाहरणहरूमा मनन गर्न पनि मदत गर्छ। बाइबलमा धीरज देखाएका थुप्रै व्यक्‍तिको विवरण पाउँछौँ। ती विवरणहरूमा मनन गरेर हामी धीरज देखाउने तरिकाहरू सिक्न सक्छौँ। w२३.०८ पृ. २२-२३ अनु. १०-११

आइतबार, अक्टोबर १९

माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।​—लुका ५:४.

येसुले प्रेषित पत्रुसलाई यहोवाले तिनको ख्याल राख्नुहुनेछ भनेर आश्‍वासन दिनुभयो। फेरि जीवित हुनुभएका येसुले पत्रुस र अन्य प्रेषितहरूसामु फेरि अर्को एउटा चमत्कार गर्नुभयो। यसपालि पनि तिनीहरूले थुप्रै माछा समात्न सके। (युह. २१:४-६) यो चमत्कार देखेपछि पत्रुस यहोवाले तिनको भौतिक आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएको हुनुपर्छ। येसुले भन्‍नुभएको यो कुरा पनि पत्रुसले सम्झेको हुनुपर्छ, ‘परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनेहरूको’ भौतिक आवश्‍यकता यहोवाले पूरा गर्नुहुन्छ। (मत्ति ६:३३) त्यसपछि पत्रुसले माछा मार्ने व्यवसायलाई होइन तर सेवाको कामलाई प्राथमिकता दिए। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा तिनले साहसी भई साक्षी दिए र हजारौँले सुसमाचार स्विकारे। (प्रेषि. २:१४, ३७-४१) त्यसपछि तिनले सामरियाका र अन्यजातिका मानिसहरूलाई येसुबारे सिक्न अनि उहाँको पछि लाग्न मदत गरे। (प्रेषि. ८:१४-१७; १०:४४-४८) यहोवाले हर किसिमका मानिसहरूलाई मण्डलीमा ल्याउन पत्रुसलाई थुप्रै तरिकामा प्रयोग गर्नुभयो। w२३.०९ पृ. २० अनु. १; पृ. २३ अनु. ११

सोमबार, अक्टोबर २०

तिमीहरूले मलाई मेरो सपना र त्यसको अर्थ बताएनौ भने तिमीहरूलाई टुक्राटुक्रा पारिनेछ।​—दानि. २:५.

बेबिलोनीहरूले यरुसलेमलाई नाश गरेको लगभग दुई वर्षपछि राजा नबुकद्‌नेजरले विशाल मूर्तिबारे डरलाग्दो सपना देखेका थिए। दानिएल र अन्य बुद्धिमान्‌ मानिसहरूले राजाको सपना बताउन र त्यसको अर्थ खोल्न सकेनन्‌ भने राजाले तिनीहरूलाई मार्ने धम्की दिएका थिए। (दानि. २:३-५) दानिएलले तुरुन्तै कदम चाल्नुपर्ने थियो। अन्यथा थुप्रैले आफ्नो ज्यान गुमाउनुपर्ने हुन्थ्यो। “दानिएल राजाकहाँ गए र राजाले देखेको सपनाको अर्थ बताउन केही समय पाऊँ भनी बिन्ती गरे।” (दानि. २:१६) यसो गर्न तिनलाई साहस र विश्‍वास चाहिन्थ्यो। यसअघि तिनले सपनाको अर्थ खोलेको विवरण कतै पाइँदैन। दानिएलले आफ्ना साथीहरूलाई “यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्‍वरलाई बिन्ती गर्नू” भनी अनुरोध गरे। (दानि. २:१८) यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। उहाँको मदत पाएर दानिएलले राजा नबुकद्‌नेजरको सपनाको अर्थ खोलिदिए। यसरी दानिएल र तिनका साथीहरूको ज्यान जोगियो। w२३.०८ पृ. ३ अनु. ४

मङ्‌गलबार, अक्टोबर २१

जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।​—मत्ति २४:१३.

धीरज देखाउँदा हुने फाइदाहरू विचार गर्नुहोस्‌। हामी धीरजी भयौँ भने अझ खुसी हुन र शान्त रहन सक्छौँ। त्यसैले धीरजी हुँदा हाम्रो मानसिक र शारीरिक स्वास्थ्य अझै राम्रो हुन सक्छ। हामीले अरूप्रति धीरज देखाउँदा तिनीहरूसितको सम्बन्ध अझै राम्रो हुन्छ। अनि मण्डलीका भाइबहिनीबीचको एकता पनि अझ बलियो हुन्छ। साथै कसैले रिस उठाउँदा हामी आफूलाई काबूमा राख्छौँ र यसले गर्दा अवस्था अझै बिग्रन पाउँदैन। (भज. ३७:८, फुटनोट; हितो. १४:२९) सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ र उहाँसित अझ नजिक हुन्छौँ। धीरज साँच्चै मनमोहक गुण हो। यसले सबैलाई लाभ पुऱ्‍याउँछ। हुनत धीरजी हुन सधैँ सजिलो नहुन सक्छ तर यहोवाको मदत पायौँ भने हामी यो गुण विकास गरिरहन सक्छौँ। धीरजी भई नयाँ संसारको बाटो हेरिरह्‍यौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: “यहोवासित डराउनेहरूमाथि र उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ।” (भज. ३३:१८) त्यसैले हामी धीरज धारण गरिरहौँ! w२३.०८ पृ. २२ अनु. ७; पृ. २५ अनु. १६-१७

बुधबार, अक्टोबर २२

विश्‍वास . . . कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।​—याकु. २:१७.

कसैले आफूसित विश्‍वास भएको दाबी गर्लान्‌। तर तिनको कामबाट तिनीसित विश्‍वास भएको देखिनुपर्छ भनेर याकुबले बताउन खोज्दै थिए। (याकु. २:१-५, ९) याकुबले अर्को एक जना मानिसबारे पनि बताए, जसले ‘कुनै भाइ वा बहिनीसित लुगा वा दिनभरि खान पुग्ने भोजन नभएको’ देख्छन्‌ तर मदत भने गर्दैनन्‌। तिनले आफूसित विश्‍वास भएको दाबी गरे तापनि कामबाट नदेखाएकोले तिनको विश्‍वास बेकारको थियो। (याकु. २:१४-१६) याकुबले विश्‍वास कामद्वारा देखाउने सन्दर्भमा राहाबको उदाहरण बताए। (याकु. २:२५, २६) राहाबले यहोवा र उहाँले इस्राएलीहरूलाई साथ दिनुभएको कुराबारे सुनेकी थिइन्‌। (यहो. २:९-११) उनले आफ्नो विश्‍वास कामद्वारा प्रकट गरिन्‌। एकचोटि दुई जना इस्राएली जासुसको ज्यान खतरामा पर्दा उनले तिनीहरूलाई बचाइन्‌। नतिजास्वरूप उनी त्रुटिपूर्ण र गैर-इस्राएली भए तापनि अब्राहामजस्तै धर्मी ठहरिन्‌। राहाबको उदाहरणबाट विश्‍वास कामद्वारा देखाउनुको महत्त्व बुझ्न सक्छौँ। w२३.१२ पृ. ५ अनु. १२-१३

बिहीबार, अक्टोबर २३

तिमीहरू विश्‍वासको जगमा जरा हालिएका र दृढ होओ।​—एफि. ३:१७.

हामी बाइबलका आधारभूत शिक्षाहरूमा मात्र चित्त बुझाएर बस्न चाहँदैनौँ। बरु पवित्र शक्‍तिको मदत पाएर “परमेश्‍वरका गहिरा कुराहरू”-समेत सिक्न चाहन्छौँ। (१ कोरि. २:९, १०) यहोवासित अझै नजिक हुन कुनै विषयमा गहिरिएर अध्ययन गर्न थाल्नुभए कसो होला? जस्तै: परमेश्‍वरले इस्राएलीहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो, त्यसबारे अध्ययन गर्नुहोस्‌। अनि त्यसबाट उहाँ हामीलाई पनि प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ, खोज्नुहोस्‌। यहोवाले उपासनाको सन्दर्भमा इस्राएलीहरूको लागि गर्नुभएका प्रबन्धहरू र अहिले हाम्रो लागि गर्नुभएका प्रबन्धहरूबीच कस्ता समानताहरू छन्‌, जाँच्नुहोस्‌। अथवा येसुसित सम्बन्धित भविष्यवाणीहरू उहाँ पृथ्वीमा हुनुहुँदा कसरी पूरा भए, गहिरिएर अध्ययन गर्नुहोस्‌। गहिरा विषयहरूमा अध्ययन गर्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी एउटा राम्रो साधन हो। गहिरिएर अध्ययन गर्दा तपाईँको विश्‍वास बलियो हुनेछ र तपाईँले ‘परमेश्‍वरको ज्ञान पाउनुहुनेछ।’—हितो. २:४, ५. w२३.१० पृ. १८-१९ अनु. ३-५

शुक्रबार, अक्टोबर २४

सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।​—१ पत्रु. ४:८.

पत्रुसले यहाँ चलाएको “प्रगाढ” शब्दको शाब्दिक अर्थ “तन्काउनु” हो। त्यस पदको दोस्रो भागमा त्यस्तो प्रेमले के गर्छ भनेर बताइएको छ। त्यसले भाइबहिनीका पापहरू ढाक्छ। कल्पना गर्नुहोस्‌, एउटा टेबुलमा दागैदाग छ। हामी एउटा कपडालाई तनक्क तन्काएर टेबुलको एउटा वा दुइटा मात्र होइन, सबै दाग ढाक्न सक्छौँ। त्यसैगरि यदि हामीमा भाइबहिनीप्रति प्रगाढ प्रेम छ भने हामी तिनीहरूको एउटा वा दुइटा कमजोरी मात्र होइन, “असङ्‌ख्य पापहरू” ढाक्न अर्थात्‌ क्षमा दिन सक्छौँ। भाइबहिनीप्रतिको हाम्रो प्रेम प्रगाढ छ भने क्षमा दिन एकदमै गाह्रो हुँदा समेत हामीले तिनीहरूलाई क्षमा दिन सक्नेछौँ। (कल. ३:१३) भाइबहिनीलाई क्षमा दिन सक्यौँ भने तिनीहरूप्रतिको हाम्रो प्रेम प्रगाढ छ र हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ। w२३.११ पृ. १०-११ अनु. १३-१५

शनिबार, अक्टोबर २५

सापानले राजासामु त्यो पुस्तक पढ्‌न थाले।​—२ इति. ३४:१८.

छब्बीस वर्षको हुँदा राजा योसियाहले यहोवाको भवन मर्मतसम्भार गर्न थाले। त्यतिबेला “यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको व्यवस्थाको पुस्तक” भेटियो। त्यसमा लेखिएको कुरा सुनेपछि राजा योसियाहले कदम चालिहाले। (२ इति. ३४:१४, १९-२१) के तपाईँलाई दिनहुँ बाइबल पढ्‌न मन पर्छ? तपाईँ त्यसो गर्ने कोसिस गर्दै हुनुहुन्छ भने तपाईँको पढाइ कस्तो हुँदै छ? के तपाईँ आफूलाई मदत गर्ने बाइबल पदहरू लेखेर राख्नुहुन्छ? लगभग ३९ वर्षको हुँदा तिनले एउटा गम्भीर गल्ती गरे र आफ्नो ज्यान गुमाए। तिनले यहोवाको डोऱ्‍याइ खोज्नुको साटो आफैमाथि भरोसा गरे। (२ इति. ३५:२०-२५) यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ। हामी उमेरमा जत्ति नै पाको भए पनि वा परमेश्‍वरको वचन अध्ययन गर्न थालेको जत्ति नै लामो समय भए पनि हामीले यहोवाको खोजी गरिरहनुपर्छ। यसमा नियमित रूपमा डोऱ्‍याइको लागि उहाँलाई प्रार्थना गर्नु, उहाँको वचन अध्ययन गर्नु र परिपक्व ख्रिष्टियनहरूको सल्लाह सुन्‍नु समावेश छ। यसो गऱ्‍यौँ भने हामीबाट गम्भीर गल्ती हुने सम्भावना कम हुनेछ र हामी अझ आनन्दित हुन सक्नेछौँ।—याकु. १:२५. w२३.०९ पृ. १२ अनु. १५-१६

आइतबार, अक्टोबर २६

परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।​—याकु. ४:६.

बाइबलमा यहोवालाई प्रेम गरेका र उहाँको सेवा गरेका थुप्रै उदाहरणीय स्त्रीको विवरण पाइन्छ। तिनीहरूको “आनीबानी सन्तुलित” थियो र तिनीहरू “सबै कुरामा विश्‍वासयोग्य” थिए। साथै जवान बहिनीहरूले आफ्नै मण्डलीका परिपक्व दिदीबहिनीबाट पनि सिक्न सक्छन्‌। जवान बहिनीहरू हो, के तपाईँ आफूले अनुकरण गर्न सक्ने कुनै परिपक्व दिदीबहिनीलाई चिन्‍नुहुन्छ? तिनीहरूका सुन्दर गुणहरू याद गर्नुहोस्‌। अनि ती गुणहरू कसरी देखाउन सकिन्छ, विचार गर्नुहोस्‌। परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने एउटा गुण नम्रता हो। कुनै स्त्री नम्र छिन्‌ भने यहोवा र अरूसितको तिनको सम्बन्ध राम्रो हुन्छ। जस्तै: यहोवालाई प्रेम गर्ने स्त्रीले नम्र भई शिरत्वको प्रबन्धको अधीनमा बस्ने छनौट गर्छिन्‌। (१ कोरि. ११:३) त्यस प्रबन्धमा यहोवाले मण्डली र परिवारमा नेतृत्व लिने जिम्मेवारी कसको हो भनेर बताउनुभएको छ। w२३.१२ पृ. १८-१९ अनु. ३-५

सोमबार, अक्टोबर २७

पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।​—एफि. ५:२८.

पतिले पत्नीलाई प्रेम गरेको अनि पत्नीको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकताको ख्याल यहोवा राखेको चाहनुहुन्छ। सोच्ने क्षमता विकास गर्ने, स्त्रीहरूको आदर गर्ने र भरोसायोग्य हुनेजस्ता गुण तथा सीपहरूले तपाईँलाई असल पति हुन मदत गर्नेछ। विवाह गरेपछि तपाईँको छोराछोरी जन्मिन पनि सक्छ। असल बुबा हुने सन्दर्भमा तपाईँ यहोवाबाट के सिक्न सक्नुहुन्छ? (एफि. ६:४) यहोवाले आफ्नो छोरा येसुलाई प्रेम गरेको र स्विकारेको कुरा खुलस्त बताउनुभयो। (मत्ति ३:१७) तपाईँ बुबा बन्‍नुभयो भने छोराछोरीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा तिनीहरूलाई विश्‍वस्त पारिरहनुहोस्‌। तिनीहरूले गरेका असल कामहरूको खुलेर प्रशंसा गर्नुहोस्‌। यहोवाको अनुकरण गर्ने बुबाहरूले आफ्ना छोराछोरीलाई परिपक्व बन्‍न मदत गर्न सक्छन्‌। परिवारका सदस्यहरू र मण्डलीका भाइबहिनीलाई प्रेम गरेको देखाएर र तिनीहरूको राम्रोसँग हेरविचार गरेर तपाईँ अहिल्यैदेखि असल बुबा बन्‍ने तयारी गर्न सक्नुहुन्छ। त्यसैले तिनीहरूलाई प्रेम गरेको र अनमोल ठानेको कुरा बताउन सिक्नुहोस्‌।—युह. १५:९. w२३.१२ पृ. २८-२९ अनु. १७-१८

मङ्‌गलबार, अक्टोबर २८

[यहोवाले] तिमीहरूलाई स्थिर गराउनुहुनेछ।​—यसै. ३३:६.

हामीले पनि अरू मानिसहरूले जस्तै गाह्रो अवस्था र रोगबिमारको सामना गर्नुपर्छ। अनि ख्रिष्टियन भएकोले हामीले विरोधीहरूबाट खेदोको पनि सामना गर्नुपर्ने हुन सक्छ। यहोवाले हामीमाथि यस्ता गाह्रा अवस्थाहरू आइपर्नै दिनुहुन्‍न भन्‍ने त होइन तर उहाँले हामीलाई मदत गर्ने वाचा भने गर्नुभएको छ। (यसै. ४१:१०) उहाँको मदत पाएर हामी आफ्नो आनन्द कायम राख्न सक्छौँ, सही निर्णयहरू गर्न सक्छौँ र एकदमै गाह्रो अवस्थामा पनि उहाँप्रति वफादार रहिरहन सक्छौँ। यहोवाले हामीलाई शान्ति दिने वाचा गर्नुभएको छ र त्यस शान्तिलाई बाइबलमा “परमेश्‍वरको शान्ति” भनिएको छ। (फिलि. ४:६, ७) हामीले त्यस्तो शान्ति उहाँसित अनमोल सम्बन्ध गाँस्यौँ भने मात्र पाउन सक्छौँ अनि त्यसले हाम्रो हृदय र दिमागलाई शान्त बनाउँछ। यस्तो शान्ति “मानिसको समझभन्दा बाहिरको” हुन्छ। भन्‍नुको मतलब त्यो शान्ति कत्ति उत्कृष्ट हुन्छ भनेर हामी मानिसहरूले कल्पनासमेत गर्न सक्दैनौँ। के तपाईँले पनि व्यग्र प्रार्थना गरेपछि आफ्नो हृदय र दिमाग शान्त भएको महसुस गर्नुभएको छ? छ भने त्यो नै “परमेश्‍वरको शान्ति” हो। w२४.०१ पृ. २० अनु. २; पृ. २१ अनु. ४

बुधबार, अक्टोबर २९

मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌; म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।​—भज. १०३:१.

यहोवालाई प्रेम गर्नेहरू तनमनले उहाँको नामको गुणगान गाउन उत्प्रेरित हुन्छन्‌। यहोवाको नामको प्रशंसा गर्नु भनेको उहाँकै प्रशंसा गर्नु हो भनेर दाउदले बुझेका थिए। यहोवाको नाम सुन्दा हामी उहाँको व्यक्‍तित्व, उहाँका मनमोहक गुणहरू र उहाँका आश्‍चर्यलाग्दा कामहरू पनि सम्झन्छौँ। दाउद आफ्नो बुबा यहोवाको नामलाई पवित्र ठान्थे र त्यस नामको गुणगान गाउन चाहन्थे। तिनी “तनमनले” त्यसो गर्न चाहन्थे। त्यसैगरि लेवीहरूले पनि यहोवाको प्रशंसा गर्ने काममा अगुवाइ लिए। परमेश्‍वरको पवित्र नामको जत्ति नै प्रशंसा गरिए पनि त्यो कमै हुनेछ भनेर तिनीहरूले स्विकारे। (नहे. ९:५) यसरी मनैदेखि गरिएको प्रशंसाले यहोवाको हृदयलाई पक्कै आनन्दित तुल्यायो! w२४.०२ पृ. ९ अनु. ६

बिहीबार, अक्टोबर ३०

हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।​—फिलि. ३:१६.

तपाईँले गाह्रो लक्ष्य राख्नुभएकोले त्यो हासिल गर्न सक्नुभएन भने यहोवाले तपाईँलाई असफल व्यक्‍तिको रूपमा हेर्नुहुन्‍न। (२ कोरि. ८:१२) लक्ष्यमा आइपर्ने बाधाबाट पाठ सिक्नुहोस्‌। आफूले हासिल गरेका लक्ष्यहरू नबिर्सनुहोस्‌। बाइबल भन्छ: ‘तिमीहरूको कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।’ (हिब्रू ६:१०) त्यसैले तपाईँले पनि आफूले हासिल गरेका लक्ष्यहरू बिर्सनु हुँदैन। बरु ती लक्ष्यहरूमा मनन गर्नुहोस्‌, जस्तै: यहोवासित मित्रता विकास गरेको, उहाँबारे अरूसित कुरा गरेको वा बप्तिस्मा गरेको। विगतमा जस्तै अहिलेको लक्ष्य हासिल गर्न पनि निरन्तर प्रगति गर्नुहोस्‌। यहोवाको मदतले तपाईँ आफ्नो लक्ष्यसम्म पुग्न सक्नुहुन्छ। तपाईँले आफ्नो आध्यात्मिक लक्ष्य हासिल गर्न निरन्तर प्रयास गर्दा यहोवाले तपाईँलाई कसरी मदत गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (२ कोरि. ४:७) तपाईँले हरेस खानुभएन भने अझ ठूला आशिष्‌हरू पाउनुहुनेछ।—गला. ६:९. w२३.०५ पृ. ३१ अनु. १६-१८

शुक्रबार, अक्टोबर ३१

बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ अनि म परमेश्‍वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर विश्‍वास गरेका छौ।​—युह. १६:२७.

यहोवाले आफ्ना सेवकहरूप्रतिको माया थुप्रै तरिकामा व्यक्‍त गर्नुभएको छ। बाइबलमा यहोवाले येसुलाई प्यारो छोरा भनेर सम्बोधन गर्नुभएको दुई वटा घटना उल्लेख गरिएको छ। (मत्ति ३:१७; १७:५) यहोवाले उहाँ तपाईँदेखि खुसी हुनुहुन्छ भनेर बताउनुभयो भने तपाईँलाई कस्तो लाग्छ? हुनत यहोवा हामीसित सीधै कुरा गर्नुहुन्‍न तर आफ्नो वचनद्वारा हामीलाई माया गरेको कुरा व्यक्‍त गर्नुहुन्छ। हामीले सुसमाचारका पुस्तकहरूमा येसुले भन्‍नुभएका कुराहरू पढ्यौँ भने एक अर्थमा यहोवाको कुरा सुनिरहेका हुन्छौँ। येसुले दुरुस्त आफ्नो बुबाको व्यक्‍तित्व झल्काउनुभयो। त्यसैले उहाँले आफ्ना त्रुटिपूर्ण तर वफादार अनुयायीहरूलाई माया व्यक्‍त गर्नुभएको विवरण पढ्‌दा यहोवाले नै ती शब्दहरू हामीलाई भनिरहनुभएको कल्पना गर्न सक्छौँ। (युह. १५:९, १५) तर हामीमाथि परीक्षा आइपर्नुको मतलब हामीले यहोवाको अनुमोदन गुमायौँ भन्‍ने त होइन। बरु त्यसलाई यहोवाप्रतिको प्रेम र उहाँमाथिको भरोसा देखाउने मौकाको रूपमा लिनुपर्छ।—याकु. १:१२. w२४.०३ पृ. २८ अनु. १०-११

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने