नोभेम्बर
शनिबार, नोभेम्बर १
तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो।—मत्ति २१:१६.
हामी सभामा थप कुन तरिकामा अरूलाई प्रोत्साहन दिन सक्छौँ? तपाईँ आमाबुबा हुनुहुन्छ भने साना छोराछोरीलाई तिनीहरूको उमेरलाई सुहाउने टिप्पणी तयार पार्न मदत गर्नुहोस्। कुनै-कुनै लेख वैवाहिक समस्या, अवैध यौनसम्बन्ध वा नैतिक स्वच्छताजस्ता गम्भीर विषयहरूमा हुन सक्छन्। यस्तो लेखमा पनि तपाईँको छोराछोरीले टिप्पणी दिन सक्ने एउटा वा दुइटा अनुच्छेद हुन सक्छन्। साथै छोराछोरीलाई तिनीहरूले हात उठाएपिच्छे मौका नपाउन सक्छन् भनेर बुझाउनुहोस्। यसो गर्दा तिनीहरूको सट्टा अरूले मौका पाउँदा तिनीहरू निराश हुनेछैनन्। (१ तिमो. ६:१८) हामीले यहोवाको महिमा हुने र दाजुभाइ दिदीबहिनीको उत्थान हुने टिप्पणीहरू तयार पार्न सक्छौँ। (हितो. २५:११) कहिलेकाहीँ हामी आफ्नो अनुभव छोटकरीमा बताउन सक्छौँ तर आफूतर्फ बढ्तै ध्यान खिच्नदेखि होसियार हुनुपर्छ। (हितो. २७:२; २ कोरि. १०:१८) बरु हामीले यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्ने प्रयास गर्नुपर्छ।—प्रका. ४:११. w२३.०४ पृ. २४-२५ अनु. १७-१८
आइतबार, नोभेम्बर २
आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं बरु जागा बसौँ अनि सचेत रहौँ।—१ थिस्स. ५:६.
सचेत रहिरहन मदत गर्ने महत्त्वपूर्ण गुण प्रेम हो। (मत्ति २२:३७-३९) सुसमाचारको निम्ति जस्तोसुकै कष्ट भोग्नुपरे पनि परमेश्वरप्रतिको प्रेमले हामीलाई त्यसमा लागिरहन मदत गर्छ। (२ तिमो. १:७, ८) हामी यहोवाको सेवा नगर्ने व्यक्तिहरूलाई पनि प्रेम गर्छौँ। त्यसैले हामी टेलिफोन र चिठीमार्फत अनि अरू तरिकामा मानिसहरूलाई साक्षी दिने प्रयास गर्छौँ। ती मानिसहरूले कुनै दिन आफ्नो मन परिवर्तन गर्नेछन् र सही काम गर्नेछन् भनेर हामी आशा गरिरहन्छौँ। (इज. १८:२७, २८) हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई पनि प्रेम गर्छौँ। हामी ‘एकअर्कालाई प्रोत्साहन दिएर अनि एकअर्काको उत्थान गरेर’ यस्तो प्रेम देखाउँछौँ। (१ थिस्स. ५:११) रणभूमिमा सिपाहीहरूले एकअर्कालाई साथ दिएजस्तै हामी पनि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। हामी पनि भाइबहिनीलाई जानाजानी चोट पुऱ्याउँदैनौँ न त खराबीको बदला खराबी गर्छौँ। (१ थिस्स. ५:१३, १५) साथै मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूलाई आदर गरेर पनि हामी प्रेम गरेको देखाउँछौँ।—१ थिस्स. ५:१२ w२३.०६ पृ. १० अनु. ६; पृ. ११ अनु. १०-११
सोमबार, नोभेम्बर ३
[यहोवाले] भनेपछि के त्यो गर्नुहुन्न र?—गन्ती २३:१९.
हाम्रो विश्वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। फिरौतीको बलिदान परमेश्वरका प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने कुराको ग्यारेन्टी हो। हामीले फिरौतीको प्रबन्ध किन गरियो र यसको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो भन्ने कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गऱ्यौँ भने अनन्त जीवन दिने परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरामाथिको हाम्रो विश्वास बलियो हुनेछ। हामी किन यसो भन्न सक्छौँ? फिरौतीको बलिदानको प्रबन्ध गर्न यहोवाले के-के गर्नुभयो? उहाँले आफ्नो एक मात्र प्यारो छोरा, जो उहाँको सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्थ्यो, उहाँलाई पृथ्वीमा मानिसको रूपमा जन्मिन पठाउनुभयो। पृथ्वीमा हुनुहुँदा येसुले अनेक कठिनाइहरू सहनुभयो। अन्तमा मानिसहरूले उहाँलाई दिनुसम्म सास्ती दिएर यातनाको खम्बामा झुन्ड्याए। यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो! हामीलाई छोटो समयको लागि मात्र उत्तम जीवन दिन उहाँले आफ्नो प्यारो छोरालाई यस्तो पीडादायी मृत्यु भोग्न कहिल्यै पठाउनुहुने थिएन। (युह. ३:१६; १ पत्रु. १:१८, १९) हो, यहोवाले हाम्रो लागि ठूलो मोल चुकाउनुभयो। त्यसैले उहाँले नयाँ संसारमा हामीलाई पक्कै अनन्त जीवन दिनुहुनेछ। w२३.०४ पृ. २७ अनु. ८-९
मङ्गलबार, नोभेम्बर ४
ए मृत्यु, तेरो खील खोइ?—होसे १३:१४.
के यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ? पक्कै छ! उहाँले फेरि जीवित पार्ने प्रतिज्ञाबारे केही बाइबल लेखकलाई लेख्न लगाउनुभयो। (यसै. २६:१९; प्रका. २०:११-१३) उहाँले कुनै प्रतिज्ञा गर्नुभएपछि त्यो सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४) हो, यहोवा मरेकाहरूलाई जीवित पार्न उत्सुक हुनुहुन्छ। कुलपिता अय्युबले भनेका शब्दहरू विचार गरौँ। तिनी मरिहाले भने पनि यहोवाले तिनलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्ने कुरामा तिनी ढुक्क थिए। (अय्यु. १४:१४, १५) मरिसकेका आफ्ना सबै उपासकलाई पनि यहोवा जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। उहाँ तिनीहरू फेरि स्वस्थ र आनन्दित भएको हेर्न चाहनुहुन्छ। यहोवाबारे सत्य कुरा सिक्ने मौका नपाई मरेका करोडौँ मानिसबारे चाहिँ के भन्न सकिन्छ? हाम्रो मायालु परमेश्वर तिनीहरूलाई पनि जीवित पार्न चाहनुहुन्छ। (प्रेषि. २४:१५) उहाँ तिनीहरूलाई आफ्नो साथी बन्ने र पृथ्वीमा सधैँभरि जीवन बिताउने मौका दिन चाहनुहुन्छ।—युह. ३:१६. w२३.०४ पृ. ९ अनु. ५-६
बुधबार, नोभेम्बर ५
परमेश्वरबाटै हामीले बल पाउनेछौँ।—भज. १०८:१३.
तपाईँ आफ्नो आशालाई कसरी बलियो बनाउन सक्नुहुन्छ? तपाईँको आशा पृथ्वीमा सधैँभरि जिउने हो भने प्रमोदवनबारे बाइबलमा पाइने विवरणहरू पढ्नुहोस् र त्यसमा मनन गर्नुहोस्। (यसै. २५:८; ३२:१६-१८) नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर सोच्नुहोस्। आफू त्यहीँ भएको कल्पना गर्नुहोस्। नियमित रूपमा नयाँ संसारबारे सोच्नुभयो भने तपाईँलाई आफ्ना समस्याहरू “क्षणिक र हलुका” लाग्नेछ। (२ कोरि. ४:१७) हो, यहोवा तपाईँलाई भविष्यको आशामार्फत बलियो पार्नुहुन्छ। उहाँले हामीलाई बल दिन चाहिने सबै कुराको प्रबन्ध गरिसक्नुभएको छ। त्यसैले असाइनमेन्ट पूरा गर्न, परीक्षा सहन वा आफ्नो आनन्द कायम गर्न यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस् र व्यक्तिगत अध्ययन गरेर उहाँको डोऱ्याइ खोज्नुहोस्। भाइबहिनीले दिने प्रोत्साहन स्विकार्नुहोस्। आफ्नो आशालाई धमिलो हुन नदिनुहोस्। ‘अनि महिमाले भरिपूर्ण परमेश्वरको सामर्थ्यबाट ठूलो बल पाएर तपाईँहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक्नुहुनेछ।’—कल. १:११. w२३.१० पृ. १७ अनु. १९-२०
बिहीबार, नोभेम्बर ६
सबै कुराको निम्ति धन्यवाद चढाओ।—१ थिस्स. ५:१८.
हामीसित यहोवालाई धन्यवाद चढाउन सक्ने थुप्रै कारण छन्। हामीसँग भएको जुनसुकै असल कुराको लागि हामी उहाँलाई धन्यवाद चढाउन सक्छौँ किनकि हरेक असल वरदान उहाँबाट नै आएको हो। (याकु. १:१७) जस्तै: हामी सुन्दर पृथ्वी र यसमा भएका अचम्मका कुराहरूको लागि कृतज्ञता व्यक्त गर्न सक्छौँ। साथै हामीले पाएको जीवन, परिवार, साथीभाइ र भविष्यको आशाको लागि धन्यवाद दिन सक्छौँ। परमेश्वरसित अनमोल मित्रता गाँस्न पाएकोमा पनि हामी आभार व्यक्त गर्न सक्छौँ। यहोवाप्रति कृतज्ञ हुन सक्ने कारणहरूबारे सोच्न हामीले अझ धेरै प्रयास गर्नुपर्ने हुन सक्छ। किनकि हामी बैगुनी संसारमा बाँचिरहेका छौँ। मानिसहरू प्रायजसो आफूसँग भएका कुराहरूप्रति कृतज्ञ हुनुको साटो आफ्ना चाहनाहरू पूरा गर्ने कुरामा केन्द्रित छन्। यस्तो मनोभावले हामीलाई पनि असर गर्न सक्छ, जसले गर्दा हामी हरेक चोटि प्रार्थना गर्दा आफूलाई चाहिएको कुरा मात्र मागिरहेका हुन सक्छौँ। यस्तो मनोभावदेखि जोगिन यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूप्रति कृतज्ञ हुन सिकिरहनुपर्छ र त्यसलाई व्यक्त गरिरहनुपर्छ।—लुका ६:४५. w२३.०५ पृ. ४ अनु. ८-९
शुक्रबार, नोभेम्बर ७
रतीभर शङ्का नगरी विश्वाससहित मागिरहोस्।—याकु. १:६.
हाम्रो मायालु बुबा यहोवा हामी दुःखमा परेको चाहनुहुन्न। (यसै. ६३:९) त्यसो भन्दैमा उहाँ हामीलाई सबै परीक्षाबाट जोगाउनुहुन्न। हामीले भोग्ने परीक्षाहरूलाई नदी र ज्वालासित तुलना गर्न सकिन्छ। (यसै. ४३:२) तर उहाँले हामीलाई परीक्षाहरू छिचोल्दै अघि ‘जान’ मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हामीलाई परीक्षाहरूले गर्दा उहाँको सेवा गर्नै नसक्ने हदसम्म पुग्न दिनुहुनेछैन। साथै परीक्षाहरू सहन उहाँ हामीलाई पवित्र शक्ति दिनुहुन्छ। (लुका ११:१३; फिलि. ४:१३) त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौँ: उहाँले हामीलाई परीक्षाहरू सहन र वफादार रहन चाहिएकै मदत दिनुहुन्छ। यहोवा हामीले उहाँमाथि भरोसा गरेको चाहनुहुन्छ। (हिब्रू ११:६) कहिलेकाहीँ हामीलाई आफूले सामना गरिरहेको परीक्षा पार गर्नै नसकिनेजस्तो लाग्न सक्छ। अनि यहोवाले मदत गर्नुहुने कुरामा पनि शङ्का उब्जिन सक्छ। तर परमेश्वरको शक्ति पाएर हामी समस्याहरूको “पर्खाल नाघ्न” सक्छौँ भनेर बाइबलमा आश्वासन दिइएको छ। (भज. १८:२९) त्यसैले शङ्कालाई बढ्न दिनुको साटो यहोवाले जवाफ दिनुहुन्छ भन्ने कुरामा पूरा भरोसा राख्दै प्रार्थना गर्नुपर्छ।—याकु. १:६, ७. w२३.११ पृ. २२ अनु. ८-९
शनिबार, नोभेम्बर ८
प्रेम दन्केको आगो हो, याहको ज्वाला हो। यसलाई उर्लेको भेलले निभाउन सक्दैन, नदीले बगाउन सक्दैन।—श्रेष्ठ. ८:६, ७.
साँचो प्रेमको कत्ति राम्रो परिभाषा! यी शब्दहरू विवाहित दम्पतीका लागि साँच्चै प्रोत्साहनदायी छन्। हो, तपाईँहरू एकअर्कालाई प्रगाढ प्रेम गर्न सक्नुहुन्छ। पतिपत्नीले एकअर्कालाई आजीवन प्रेम गर्न प्रयास गरिरहनुपर्छ। जस्तै: आगोलाई कहिल्यै निभ्न नदिने हो भने त्यसमा दाउरा थपिरहनुपर्छ। तर कसैले दाउरा थपेन भने आगो बिस्तारै निभ्छ। त्यस्तैगरि पतिपत्नीबीचको प्रेमलाई आजीवन बलियो बनाइराख्ने हो भने दुवैले आ-आफ्नो तर्फबाट कोसिस गरिरहनुपर्छ। कहिलेकाहीँ आर्थिक कठिनाइ, स्वास्थ्य समस्या वा छोराछोरीलाई हुर्काउँदा आइपर्ने चुनौतीहरूले गर्दा पतिपत्नीले आपसी प्रेम सेलाएको महसुस गर्न सक्छन्। त्यसैले “याहको ज्वाला” निभ्न नदिन पतिपत्नीले यहोवासितको सम्बन्धलाई बलियो बनाउन आ-आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०५ पृ. २० अनु. १-३
आइतबार, नोभेम्बर ९
नडराऊ।—दानि. १०:१९.
साहस विकास गर्न हामीले के गर्नुपर्छ? आमाबुबाले हामीलाई साहसी हुन प्रोत्साहन दिन सक्नुहुन्छ तर आफूसित भएको साहस हामीलाई पैतृक सम्पत्तिको रूपमा दिन सक्नुहुन्न। साहस विकास गर्नु भनेको नयाँ सीप सिक्नुजस्तै हो। कुनै सीप तिखार्ने एउटा तरिका भनेको प्रशिक्षकले गरेको कामलाई नजिकबाट नियाल्नु र तिनले गरेजस्तै गर्नु हो। त्यसैगरि हामीले पनि अरूले यो गुण कसरी देखाउँछन् भन्ने कुरा नजिकबाट नियालेर अनि तिनीहरूको उदाहरण अनुकरण गरेर साहसी हुन सिक्न सक्छौँ। दानिएलजस्तै हामी परमेश्वरको वचनसित राम्ररी परिचित हुनुपर्छ। यहोवासित नियमित रूपमा अनि खुलस्त कुराकानी गरेर हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यहोवाले हामीलाई सधैँ मदत गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएर उहाँमाथि भरोसा गर्नुपर्छ। यसो गऱ्यौँ भने विश्वासको जाँच हुँदा हामी साहसी हुन सक्छौँ। साहसी मानिसहरूले अरूको आदर कमाउँछन्। उनीहरूले असल हृदय भएका व्यक्तिहरूलाई यहोवाबारे सिक्न मदत गर्न पनि सक्छन्। हो, हामीसित साहस विकास गर्नुपर्ने जायज कारणहरू छन्। w२३.०८ पृ. २ अनु. २; पृ. ४ अनु. ८-९
सोमबार, नोभेम्बर १०
सबै कुरा जाँच।—१ थिस्स. ५:२१.
‘जाँच्नु’ भनेर अनुवाद गरिएको ग्रीक शब्द सुन र चाँदीजस्ता बहुमूल्य धातु सकली हो कि होइन भनेर परीक्षण गर्ने सन्दर्भमा प्रयोग गरिन्थ्यो। त्यसैले हामीले सुन्ने वा पढ्ने कुराहरू साँचो हो कि होइन भनेर जाँच्नुपर्छ। महासङ्कष्ट नजिकिँदै जाँदा हामीले त्यसो गर्नु अझै महत्त्वपूर्ण हुनेछ। कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागको पछि दौड्नु हुँदैन। हो, हामीले बाइबल र यहोवाको सङ्गठनले के भन्छ भनेर जाँचेर हेर्नुपर्छ। यसो गऱ्यौँ भने हामी प्रेतहरूले फैलाउने झूटा अफवाहहरू वा भ्रामक कुराहरूको बहकाउमा पर्नेछैनौँ। (हितो. १४:१५; १ तिमो. ४:१) महासङ्कष्टमा यहोवाका सेवकहरू समूहको रूपमा बच्नेछन्। तर हामी प्रत्येकको जीवनमा भोलि के हुने हो, हामीलाई थाह छैन। (याकु. ४:१४) हामीले जीवितै महासङ्कष्ट पार गर्न सक्छौँ वा त्यसअघि नै हाम्रो मृत्यु हुन सक्छ तर वफादार रह्यौँ भने इनामस्वरूप अनन्त जीवन पाउनेछौँ। त्यसैले हाम्रो सुन्दर आशामा ध्यान केन्द्रित गरिरहौँ र यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहौँ! w२३.०६ पृ. १३ अनु. १५-१६
मङ्गलबार, नोभेम्बर ११
यहोवाले आफ्ना सेवकहरूलाई . . . आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।—आमो. ३:७.
कुनै-कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर हामीलाई थाह छैन। (दानि. १२:८, ९) तर कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर एक-एक कुरा थाह छैन भन्दैमा त्यो पूरा हुनेछैन भन्ने त होइन। यहोवाले विगतमा जस्तै आज पनि ठीक समयमा आवश्यक कुरा पक्कै प्रकट गर्नुहुनेछ। अब चाँडै “शान्ति र सुरक्षा”-को घोषणा गरिनेछ। (१ थिस्स. ५:३) त्यसपछि संसारका राजनैतिक शक्तिहरूले झूटो धर्ममाथि आक्रमण गर्नेछन् र त्यसलाई नाश गर्नेछन्। (प्रका. १७:१६, १७) अनि तिनीहरूले परमेश्वरका जनहरूमाथि आक्रमण गर्नेछन्। (इज. ३८:१८, १९) त्यसपछि अन्तिम युद्ध अर्थात् आरमागेडोन सुरु हुनेछ। (प्रका. १६:१४, १६) यी घटनाहरू चाँडै घट्नेछन्। त्यतिन्जेल बाइबलको भविष्यवाणीमा ध्यान दिएर अनि अरूलाई पनि त्यसै गर्न मदत गरेर हाम्रो मायालु बुबाप्रति कृतज्ञ भएको देखाइरहौँ। w२३.०८ पृ. १३ अनु. १९-२०
बुधबार, नोभेम्बर १२
हामी आपसमा प्रेम गरिरहौँ किनकि प्रेम परमेश्वरबाट आउँछ।—१ युह. ४:७
प्रेषित पावलले विश्वास, आशा र प्रेमबारे चर्चा गरेपछि अन्तमा यसो भने: “यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।” (१ कोरि. १३:१३) पावलले किन यसो भने? किनभने भविष्यमा हामीले आशा गरेका कुराहरू पूरा भइसकेका हुनेछन्। त्यसैले नयाँ संसारबारे परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गरिरहनुपर्नेछैन। तर यहोवा र मानिसहरूलाई भने हामीले सधैँ प्रेम गरिरहनुपर्छ। वास्तवमा भन्ने हो भने उहाँहरूप्रतिको हाम्रो प्रेम बढ्दै जानेछ। साथै, प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो। येसुले प्रेषितहरूलाई यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” (युह. १३:३५) साथै एकअर्कालाई प्रेम गर्छौँ भने हामी एकतामा रहन सक्छौँ। पावलले प्रेम “एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो” भने। (कल. ३:१४) यसबारे प्रेषित युहन्नाले यस्तो लेखे: “जसले परमेश्वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।” (१ युह. ४:२१) एकअर्कालाई प्रेम गर्दा हामीले परमेश्वरलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ। w२३.११ पृ. ८ अनु. १, ३
बिहीबार, नोभेम्बर १३
हरकिसिमका बोझलाई पन्छ्याऔँ।—हिब्रू १२:१.
बाइबलमा ख्रिष्टियनहरूको जीवनलाई दौडसित तुलना गरिएको छ। दौड पूरा गर्ने धावकहरूले अनन्त जीवनको इनाम पाउनेछन्। (२ तिमो. ४:७, ८) त्यो दौड दौडिरहन हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। किनभने दौडको अन्तिम रेखा धेरै नजिक छ। प्रेषित पावलले यो दौड पूरा गर्न केले मदत गर्छ भनेर बताए। तिनले यसो भने: ‘हामी पनि हरकिसिमका बोझलाई पन्छ्याएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।’ के पावलले ख्रिष्टियनहरूले कुनै भारी बोक्नुपर्दैन भन्न खोजिरहेका थिए? त्यसो त पक्कै थिएन। बरु तिनले हरकिसिमका अनावश्यक बोझचाहिँ पन्छ्याउनुपर्छ भन्न खोजिरहेका थिए। यस्तो प्रकारको बोझले हामीलाई थकाउन सक्छ र हाम्रो गतिलाई घटाउन सक्छ। यो दौड दौडिरहन हामीले आफ्नो गतिलाई घटाउन सक्ने हरकिसिमका अनावश्यक बोझलाई तुरुन्तै याद गरिहाल्नुपर्छ र पन्छ्याइहाल्नुपर्छ। तर हामीले बोक्नै पर्ने भारीलाई भने पन्छ्याउनु हुँदैन। नत्र त हामी त्यस दौडदेखि बाहिरिनेछौँ।—२ तिमो. २:५. w२३.०८ पृ. २६ अनु. १-२
शुक्रबार, नोभेम्बर १४
तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्।—१ पत्रु. ३:३.
व्यावहारिकताले हामीलाई अरूको विचारको कदर गर्न मदत गर्छ। जस्तै: हाम्रा दिदीबहिनीमध्ये कसैलाई मेकअप गर्न मन पर्छ भने कसैलाई मन पर्दैन। केही ख्रिष्टियन ठिक्क मात्रामा रक्सी पिउन मन पराउँछन् तर कोही भने पिउँदैनन्। सबै ख्रिष्टियन स्वस्थ हुन चाहन्छन् अनि आफ्नो स्वास्थ्यको ख्याल राख्न फरक-फरक तरिका अपनाउँछन्। हामीलाई आफूले गर्ने छनौटहरू सधैँ सही हुन्छ जस्तो लाग्छ भने मण्डलीका भाइबहिनीलाई पनि आफूले जस्तै गर्न दबाब दिने हदसम्म पुग्न सक्छौँ। यसले गर्दा अरूलाई ठक्कर लाग्न सक्छ र मण्डलीमा फुट उत्पन्न हुन सक्छ। (१ कोरि. ८:९; १०:२३, २४) यहोवाले हाम्रो पहिरनको सन्दर्भमा कडा नियमहरू होइन बरु सिद्धान्तहरू दिनुभएको छ। हाम्रो पहिरनमा व्यावहारिकता, “सुझबुझ” र भद्रता झल्किनुपर्छ। (१ तिमो. २:९, १०) यस्तो पहिरनले परमेश्वरको महिमा गर्छ। हामी आफ्नो पहिरनले अरूको अनावश्यक ध्यान खिच्न चाहँदैनौँ। बाइबल सिद्धान्तहरूले एल्डरहरूलाई पहिरन र हेयर स्टाइलबारे आफ्नै नियमहरू नबनाउन मदत गर्छ। w२३.०७ पृ. २३-२४ अनु. १३-१४
शनिबार, नोभेम्बर १५
मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ। अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।—यसै. ५५:२.
यहोवाले हामीलाई आफ्नो भविष्य कसरी सुखी बनाउन सक्छौँ भनेर सिकाउनुभएको छ। बकबक गर्ने “मूर्ख आइमाई”-को निम्तो स्विकार्नेहरू अवैध यौनसम्बन्ध राखेर आनन्दित हुन खोज्छन्। यस्तो कामले तिनीहरूलाई “चिहानको गहिराइमा” पुऱ्याउँछ। (हितो. ९:१३, १७, १८) “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूको भविष्य भने फरक हुनेछ। (हितो. ९:१) हामी यहोवाले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्न सिक्दै छौँ। (भज. ९७:१०) अनि अरूलाई पनि “साँचो बुद्धि”-बाट आनन्द उठाउन निम्तो दिँदै छौँ र यस्तो निम्तो दिन पाउँदा हामी खुसी छौँ। एक अर्थमा हामी पनि ती दासीहरूजस्तै हौँ, जसले “सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ: ‘जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।’” साँचो बुद्धिको निम्तो स्विकार्दा हामीले अहिले मात्र होइन, भविष्यमा पनि आशिष् पाउनेछौँ। ‘समझशक्तिको बाटोमा अघि बढ्दा’ हामी “दीर्घायु” हुनेछौँ।—हितो. ९:३, ४, ६. w२३.०६ पृ. २४ अनु. १७-१८
आइतबार, नोभेम्बर १६
हतपती नरिसाउने मानिस वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।—हितो. १६:३२.
सहकर्मी वा सहपाठीले तपाईँको धर्मबारे सोध्दा तपाईँलाई कस्तो लाग्छ? डर वा चिन्ता लाग्छ कि? हामीमध्ये धेरैलाई त्यस्तै लाग्छ। तर त्यस्तो प्रश्नबाट हामी अर्को व्यक्तिको सोचाइ वा विश्वासबारे थाह पाउन सक्छौँ र तिनलाई सुसमाचार सुनाउने मौका पाउँछौँ। तर कहिलेकाहीँ भने तिनीहरू हामीसित असहमत भएकोले वा वादविवाद गर्न चाहेकोले त्यस्तो प्रश्न सोध्छन्। यसमा हामी अचम्म मान्दैनौँ। किनकि तिनीहरूले हाम्रो विश्वासबारे गलत जानकारी पाएका हुन सक्छन्। (प्रेषि. २८:२२) साथै हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ अनि यस समयमा थुप्रै मानिस “कुनै पनि कुरामा सहमत नहुने” र “निष्ठुर” हुन्छन्। (२ तिमो. ३:१, ३) कसैले तपाईँको विश्वासको विषयमा वादविवाद गर्न खोज्यो भने तपाईँलाई शान्त अनि विचारशील हुन केले मदत गर्छ? एकै शब्दमा भन्नुपर्दा कोमलताले। कोमल व्यक्ति हतपती रिसाउँदैन बरु कसैले रिस उठाउँदा वा कस्तो जवाफ दिने भनेर पक्का नहुँदा आफ्ना भावनाहरूलाई वशमा राख्छ। w२३.०९ पृ. १४ अनु. १-२
सोमबार, नोभेम्बर १७
तिमीले तिनीहरूलाई सारा पृथ्वीका शासक ठहराउनेछौ।—भज. ४५:१६.
हामीले पैसालाई प्रेम गर्नु हुँदैन अनि यहोवाको आज्ञा उल्लङ्घन गर्न लगाउने कुराहरूदेखि अलग्गै रहनुपर्छ भन्ने सल्लाह पनि बेलाबेलामा पाउने गर्छौँ। यी सल्लाहहरू लागू गर्दा हाम्रै भलाइ हुन्छ। (यसै. ४८:१७, १८; १ तिमो. ६:९, १०) महासङ्कष्टको दौडान अनि हजार वर्षीय शासनमा यहोवाले हामीलाई डोऱ्याउन पक्कै पनि मानिसहरूलाई प्रयोग गरिरहनुहुनेछ। के त्यतिबेला हामी आफूले पाएको निर्देशन पालन गर्नेछौँ? यो कुरा हामी अहिले यहोवाले दिनुभएको डोऱ्याइअनुसार चल्छौँ कि चल्दैनौँ, त्यसमै भर पर्छ। त्यसैले सधैँ यहोवाको डोऱ्याइअनुसार हिँडिरहौँ। यसमा हाम्रो हेरविचार गर्न नियुक्त गरिएका पुरुषहरूको डोऱ्याइअनुसार चल्नु समावेश छ। (यसै. ३२:१, २; हिब्रू १३:१७) हामीसित हाम्रो गाइड यहोवामा भर पर्नुपर्ने हरकारण छ, जसले हामीलाई बाटोहरूमा आइपर्ने खतराहरूदेखि सचेत गराउनुहुन्छ र हाम्रो गन्तव्यतर्फ अर्थात् नयाँ संसारमा अनन्त जीवनतर्फ डोऱ्याउनुहुन्छ। w२४.०२ पृ. २५ अनु. १७-१८
मङ्गलबार, नोभेम्बर १८
उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।—एफि. २:५.
प्रेषित पावल यहोवाको सेवामा आनन्दित थिए तर तिनले थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो। पावल अक्सर लामो यात्राहरू गर्थे। त्यतिबेला यात्रा गर्न सजिलो थिएन। यात्राको दौडान पावल कहिले “नदीहरूको खतरामा” त कहिले “डाँकुहरूको खतरामा” परे। तिनले थुप्रै पटक विरोधीहरूको कुटाइ पनि खाए। (२ कोरि. ११:२३-२७) तिनले भाइबहिनीको लागि धेरै मेहनत गरे तर तिनीहरूले सधैँ कृतज्ञता भने देखाएनन्। (२ कोरि. १०:१०; फिलि. ४:१५) यहोवाको सेवामा लागिरहन पावललाई केले मदत गऱ्यो? तिनले यहोवाको व्यक्तित्वबारे धर्मशास्त्रबाट र उहाँको सेवामा बटुलेका अनुभवहरूबाट थुप्रै कुरा सिके। यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा तिनी विश्वस्त भए। (रोमी ८:३८, ३९; एफि. २:४, ५) अनि यहोवाप्रतिको तिनको प्रेम बढ्दै गयो। पावलले ‘पवित्र जनहरूको सेवा गरेर’ र त्यसलाई ‘निरन्तरता’ दिएर यहोवालाई प्रेम गरेको देखाए।—हिब्रू ६:१०. w२३.०७ पृ. ९ अनु. ५-६
बुधबार, नोभेम्बर १९
हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्।—रोमी १३:१.
बाइबलमा सरकारहरूलाई “उच्च अख्तियारवालाहरू” भनिएको छ। थुप्रै मानिस सरकारहरू हाम्रै भलाइका लागि हुन् र तिनीहरूले बनाएका केही नियम पालन गर्नुपर्छ भनेर मानिलिन्छन्। तर तिनीहरू कुनै नियम अन्यायपूर्ण वा अचाक्ली माग गरेको जस्तो लाग्दा त्यो नियम पालन नगरे पनि हुन्छ भन्छन्। बाइबलमा बताइएअनुसार मानव सरकारहरूले गर्दा हामीले दुःख पाइरहेका छौँ, तिनीहरू सैतानको अधीनमा छन् र ती चाँडै नाश हुनेछन्। (भज. ११०:५, ६; उप. ८:९; लुका ४:५, ६) साथै बाइबलमा यस्तो पनि भनिएको छ: “जसले अख्तियारको विरोध गर्छ, ऊ परमेश्वरको प्रबन्धविरुद्ध खडा भएको हुन्छ।” यहोवाले सुव्यवस्था कायम राख्न सरकारहरूलाई शासन गर्ने अनुमति दिनुभएको छ र हामीले तिनीहरूको नीतिनियम पालन गरेको चाहनुहुन्छ। त्यसैले ‘तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर्नुपर्छ,’ जसमा कर तिर्नु, तिनीहरूको आदर गर्नु र तिनीहरूप्रति आज्ञाकारी हुनु समावेश छ। (रोमी १३:१-७) हामीलाई कुनै नियम पालन गर्न असहज लाग्न सक्छ, त्यो नियम अन्यायपूर्ण लाग्न सक्छ वा पालन गर्दा धेरै पैसा खर्च हुन्छ जस्तो लाग्न सक्छ। तैपनि हामी यहोवाप्रति आज्ञाकारी हुन्छौँ र उहाँले अख्तियार दिनुभएका व्यक्तिहरूप्रति पनि आज्ञाकारी हुन्छौँ। किनभने तिनीहरूको नीतिनियम यहोवाको आज्ञासित नबाझिएसम्म हामी तिनीहरूप्रति आज्ञाकारी भएको उहाँ चाहनुहुन्छ।—प्रेषि. ५:२९. w२३.१० पृ. ८ अनु. ९-१०
बिहीबार, नोभेम्बर २०
तिनीमाथि यहोवा परमेश्वरको पवित्र शक्ति आयो।—न्याय. १५:१४.
सिमसोन जन्मेको समयतिर इस्राएल राष्ट्रमाथि पलिस्तियालीहरूले शासन गरिरहेका थिए। उनीहरूको थिचोमिचोले गर्दा इस्राएलीहरूले निकै दुःख भोगिरहेका थिए। (न्याय. १३:१) यहोवाले ‘इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउन’ सिमसोनलाई रोज्नुभयो। (न्याय. १३:५) यो जिम्मेवारी पूरा गर्न सिमसोन यहोवामा भर पर्नुपर्थ्यो। एकपटक पलिस्तियाली सेना सम्भवतः यहुदाको लेहीमा सिमसोनलाई पक्रन आएको थियो। त्यतिबेला यहुदाका मानिसहरू साह्रै डराएकोले तिनीहरूले सिमसोनलाई शत्रुहरूको हातमा सुम्पिदिने निर्णय गरे। सिमसोनका आफ्नै मानिसहरूले तिनलाई दुइटा नयाँ डोरीले कस्सिनेगरि बाँधे र पलिस्तियालीहरूको हातमा सुम्पिदिए। (न्याय. १५:९-१३) तर “तिनीमाथि यहोवा परमेश्वरको पवित्र शक्ति आयो” र तिनले आफूलाई बाँधिएको डोरी धुजाधुजा हुनेगरि चुँडाले। त्यसपछि “तिनले गधाको एउटा आलो बङ्गारा देखे,” त्यो टिपे र त्यसैले हिर्काएर १ हजार पलिस्तियालीलाई मारे।—न्याय. १५:१४-१६. w२३.०९ पृ. २-३ अनु. ३-४
शुक्रबार, नोभेम्बर २१
यो उहाँले हाम्रा प्रभु ख्रिष्ट येसुको सम्बन्धमा युगौँअघि रच्नुभएको उद्देश्यअनुसारै छ।—एफि. ३:११.
यहोवाले “युगौँअघि रच्नुभएको उद्देश्य” क्रमिक रूपमा बाइबलमार्फत प्रकट गर्नुभएको छ। उहाँ मानिसजाति र पृथ्वीको लागि आफ्नो उद्देश्य पूरा गर्न जुनसुकै बाटो रोज्न सक्नुहुन्छ अनि उहाँ सधैँ सफल हुनुहुन्छ। किनकि “यहोवाले सबै कुरा आफ्नो उद्देश्यअनुसार गर्नुहुन्छ।” (हितो. १६:४) उहाँको उद्देश्य “युगौँअघि”-देखिको हो किनकि त्यो उद्देश्य पूरा हुनुअघि उहाँले लामो समय बित्न दिनुभएको छ र उहाँले गर्नुहुने काम सधैँभरि रहिरहन्छ। उहाँको उद्देश्य के हो? उहाँले त्यो पूरा गर्न के-कस्तो छाँटकाँट गर्नुभएको छ? परमेश्वरले प्रथम मानव दम्पतीका लागि एउटा उद्देश्य राख्नुभएको थियो। त्यसबारे उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर। . . . पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।” (उत्प. १:२८) तर आदम र हव्वाले विद्रोह गरेपछि पूरै मानव परिवार पापी भयो। तैपनि यहोवाको उद्देश्य विफल भएन। उहाँले आफ्नो उद्देश्य पूरा गर्न अर्कै बाटो रोज्नुभयो। तिनीहरूले पाप गरेलगत्तै उहाँले स्वर्गमा एउटा राज्य स्थापना गर्ने निर्णय गर्नुभयो। त्यस राज्यले मानिस र पृथ्वीको लागि उहाँको सुरुको उद्देश्य पूरा गर्ने थियो।—मत्ति २५:३४. w२३.१० पृ. १९-२० अनु. ६-७
शनिबार, नोभेम्बर २२
यहोवा मेरो मदतगार नहुनुभएको भए म तुरुन्तै नष्ट भइसक्ने थिएँ।—भज. ९४:१७.
यहोवा हामीलाई उहाँको सेवामा लागिरहन मदत गर्नुहुन्छ। तर हामी कुनै कमीकमजोरीसित लामो समयदेखि सङ्घर्ष गर्दै छौँ भने यहोवाको सेवामा लागिरहन सजिलो नहुन सक्छ। कहिलेकाहीँ हामीलाई यस्तो पनि लाग्ला, ‘मेरो कमीकमजोरीको अगाडि पत्रुसको कमीकमजोरी त केही होइन।’ तर यहोवा हामीलाई हरेस नखान मदत दिनुहुन्छ। (भज. ९४:१८, १९) एक जना भाइको उदाहरण विचार गरौँ। तिनले सत्य सिक्नुअघि वर्षौँदेखि समलिङ्गी जीवन बिताइरहेका थिए। तर सत्य सिकेपछि तिनले आफ्ना खराब आचरणहरू चटक्कै छोडे। तैपनि कुइच्छाहरूले तिनलाई बेलाबेलामा सताउने गर्छ। तिनलाई हरेस नखान कुन कुराले मदत गऱ्यो? तिनी भन्छन्: “यहोवा मलाई बल दिनुहुन्छ।” तिनी अझै यसो भन्छन्: “यहोवाको मदत पाएर . . . सत्यको मार्गमा हिँड्न सम्भव छ भनेर मैले सिकेँ। . . . उहाँले मलाई प्रयोग गरिरहनुभएको छ र मेरा कमीकमजोरीहरूसित लड्न बल दिइरहनुभएको छ।” w२३.०९ पृ. २३ अनु. १२
आइतबार, नोभेम्बर २३
नम्र र यहोवाको डर मान्ने मानिसले धनसम्पत्ति, सम्मान र जीवन पाउँछ।—हितो. २२:४.
जवान भाइहरू हो, तपाईँहरू आफसेआफ परिपक्व ख्रिष्टियन बन्नुहुन्न। त्यसको लागि अनुकरण गर्न सक्ने असल उदाहरणहरूमध्ये केही रोज्नुपर्छ, सोच्ने क्षमता विकास गर्नुपर्छ, भरोसायोग्य हुनुपर्छ, जीवनमा उपयोगी हुने सीपहरू सिक्नुपर्छ र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयारी गर्नुपर्छ। आफूले उन्नति गर्नुपर्ने क्षेत्रहरूबारे सोच्दा तपाईँ अत्तालिनुहुन्छ होला। तर तपाईँ सफल हुन सक्नुहुन्छ। यहोवा तपाईँलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ भनेर नबिर्सनुहोस्। (यसै. ४१:१०, १३) अनि मण्डलीका भाइबहिनी पनि तपाईँलाई मदत गर्न तयार छन्। आफ्नो तर्फबाट सक्दो कोसिस गरेर परिपक्व ख्रिष्टियन बनेपछि तपाईँको जीवनमा खुसीयाली छाउनेछ। हामी तपाईँ जवान भाइहरूलाई धेरै माया गर्छौँ। परिपक्व ख्रिष्टियन बन्न तपाईँहरूले गर्नुहुने प्रयासमा यहोवाले प्रचुर मात्रामा आशिष् देऊन्! w२३.१२ पृ. २९ अनु. १९-२०
सोमबार, नोभेम्बर २४
‘दोषको वास्ता नगर।’—हितो. १९:११.
भाइबहिनीका नराम्रा गुणहरूमा होइन, राम्रा गुणहरूमा ध्यान दिनुहोस्। एउटा उदाहरण विचार गरौँ। तपाईँ भाइबहिनीसित रमाइलो गर्नुहुन्छ अनि अन्तमा ग्रुप फोटो खिच्नुहुन्छ। एउटा मात्र फोटो खिच्यो भने ‘कस्तो आउँछ, कस्तो आउँछ’ भन्ने लागेकोले तपाईँ अरू दुई वटा फोटो पनि खिच्नुहुन्छ। अब तपाईँसित तीन वटा फोटो छन्। तर एउटा फोटोमा एक जना भाइले अनुहार बिगारिरहेको तपाईँ याद गर्नुहुन्छ। त्यसैले त्यो फोटो डिलिट गर्नुहुन्छ किनभने तपाईँसित अरू दुई वटा फोटो छन्, जसमा ती भाइलगायत ग्रुपका सबै जना मुस्कुराइरहेका छन्। हामी सबैले साधारणतया भाइबहिनीसित यादगार समय बिताएका हुन्छौँ। तर मानौँ, एकचोटि कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुख्ने केही कुरा भने वा गरे। त्यस्तो सम्झनालाई तपाईँले के गर्नुपर्छ? बिग्रिएको फोटो डिलिट गरेजस्तै त्यस्तो तीतो सम्झना पनि बिर्सने कोसिस गर्नुभए कसो होला? (एफि. ४:३२) तिनीसित बिताएका थुप्रै मीठा सम्झना हामीसित छन्। हामी त्यस्ता मीठा सम्झनाहरूलाई साँचेर राख्न चाहन्छौँ। w२३.११ पृ. १२ अनु. १६-१७
मङ्गलबार, नोभेम्बर २५
‘स्त्रीहरूले भद्र पहिरनले आफूलाई सिँगारून् किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।’—१ तिमो. २:९, १०.
यहाँ प्रयोग गरिएको ग्रीक अभिव्यक्तिले ख्रिष्टियन स्त्रीको पहिरन अरूको आदर गर्ने अनि अरूको भावना र विचारको कदर गर्ने किसिमको हुनुपर्छ भन्ने अर्थ दिन्छ। भद्र पहिरन लगाउने सन्दर्भमा राम्रो उदाहरण बसालेकोमा हामी परिपक्व दिदीबहिनीको प्रशंसा गर्छौँ! परिपक्व ख्रिष्टियनले देखाउनुपर्ने अर्को गुण समझशक्ति हो। समझशक्ति भनेको के हो? समझशक्ति भनेको सही र गलत छुट्ट्याउने अनि जे सही छ, त्यही गर्ने क्षमता हो। अबिगेलको उदाहरण विचार गरौँ। तिनको पति नाबालले गलत निर्णय गरे, जसले गर्दा उनको पूरै घरानाको ज्यान जोखिममा पऱ्यो। अबिगेलले तुरुन्तै कदम चालिन्। तिनले समझदारी देखाएकोले थुप्रैको ज्यान जोगियो। (१ समु. २५:१४-२३, ३२-३५) समझशक्तिले हामीलाई कहिले बोल्ने र कहिले चुप लाग्ने भनेर बुझ्न मदत गर्छ। साथै यसले कुराकानी गर्दा अरूको नितान्त व्यक्तिगत कुरा नखोतल्न र असजिलो महसुस गराउने कुरा नसोध्न मदत गर्छ।—१ थिस्स. ४:११. w२३.१२ पृ. २० अनु. ८-९
बुधबार, नोभेम्बर २६
आओ, परमेश्वरले दिनुहुने महिमाको आशामा रमाऔँ।—रोमी ५:२.
प्रेषित पावलले यी शब्दहरू रोमको मण्डलीलाई लेखेका थिए। त्यहाँका भाइबहिनीले यहोवा र येसुबारे सिके, उहाँहरूमाथि विश्वास गरे र ख्रिष्टियन बने। त्यसैले परमेश्वरले तिनीहरूको ‘विश्वासले गर्दा तिनीहरूलाई धर्मी ठहराउनुभयो’ र पवित्र शक्तिले अभिषेक गर्नुभयो। (रोमी ५:१) हो, तिनीहरूले सुन्दर आशा पाए, जुन पक्कै पूरा हुने थियो। पछि पावलले एफिससका अभिषिक्त ख्रिष्टियनहरूलाई तिनीहरूले पाएको आशाबारे बताए। त्यो आशा “पवित्र जनहरूले पाउने उत्तराधिकार” थियो। (एफि. १:१८) अनि पावलले कलस्सीका ख्रिष्टियनहरूलाई तिनीहरूले आफ्नो इनाम कहाँ पाउनेछन् भनेर पनि सङ्केत गरे। तिनले त्यो “आशा तिमीहरूको निम्ति स्वर्गमा साँचिएको छ” भने। (कल. १:४, ५) त्यसैले फेरि जीवित भएपछि अभिषिक्त जनहरूले स्वर्गमा अनन्त जीवन पाउनेछन् र येसुसितै शासन गर्नेछन्।—१ थिस्स. ४:१३-१७; प्रका. २०:६. w२३.१२ पृ. ९ अनु. ४-५
बिहीबार, नोभेम्बर २७
परमेश्वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले . . . तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।—फिलि. ४:७.
“रक्षा” भनेर अनुवाद गरिएको मूल भाषाको शब्द शत्रुहरूको आक्रमणबाट सहरलाई सुरक्षित राख्न पहरा दिने सिपाहीहरूलाई बुझाउन प्रयोग गरिन्थ्यो। मूलढोकाहरूमा सिपाहीहरूले पहरा दिइरहेका छन् भनेर थाह भएकोले सहरका बासिन्दाहरू ढुक्क भएर सुत्न सक्थे। त्यसैगरि परमेश्वरको शान्तिले हाम्रो हृदय र दिमागको रक्षा गर्छ भनेर थाह भएकोले हामी ढुक्क महसुस गर्छौँ। (भज. ४:८) हाम्रो अवस्था पनि हन्नाको जस्तै तुरुन्तै परिवर्तन नहोला तर हामी केही हदसम्म ढुक्क महसुस गर्न सक्छौँ। (१ समु. १:१६-१८) अनि त्यस्तो शान्तिले हामीलाई राम्ररी सोचविचार गर्न र सही निर्णय गर्न मदत गर्न सक्छ। हामी के गर्न सक्छौँ? गाह्रो अवस्था आइपर्दा सहरका बासिन्दाहरूले पहरेदारलाई गुहारेजस्तै हामीले पनि आफ्नो रक्षक यहोवालाई गुहार्नुपर्छ। कसरी? उहाँले दिनुहुने शान्ति पाएको महसुस नभएसम्म उहाँलाई निरन्तर प्रार्थना गरेर। (लुका ११:९; १ थिस्स. ५:१७) यदि तपाईँले पनि गाह्रो अवस्थाको सामना गरिरहनुपरेको छ भने व्यग्रतासाथ प्रार्थना गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँले यहोवाको शान्ति पाएको महसुस गर्नुहुनेछ र त्यसले तपाईँको हृदय अनि दिमागको रक्षा गर्नेछ।—रोमी १२:१२. w२४.०१ पृ. २१ अनु. ५-६
शुक्रबार, नोभेम्बर २८
हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्।—मत्ति ६:९.
आफ्नो बुबाको नाम पवित्र पार्न येसुले अनेक किसिमको यातना, अपमान र झूटो आरोप सहनुभयो। आफूले यहोवालाई खुसी तुल्याइरहेको कुरा येसुलाई थाह थियो। त्यसैले अरूले बेइज्जतीपूर्ण व्यवहार गरे पनि उहाँले सरम मान्नुभएन। (हिब्रू १२:२) साथै त्यस कठिन घडीमा सैतानले सीधै आक्रमण गर्दै छ भनेर पनि उहाँलाई थाह थियो। (लुका २२:२-४; २३:३३, ३४) सैतान जसरी भए पनि येसुको सत्यनिष्ठा तोड्न चाहन्थ्यो तर त्यो पूर्णतया विफल भयो! सैतान महाफटाहा हो र यहोवाका सेवकहरू एकदमै गाह्रो अवस्थामा पनि सत्यनिष्ठ रहन सक्छन् भनेर येसुले अकाट्य प्रमाण दिनुभयो! के तपाईँ राजा येसुलाई खुसी पार्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यहोवाको नामको प्रशंसा गरिरहनुहोस् र उहाँ कस्तो व्यक्ति हुनुहुन्छ भनेर बुझ्न अरूलाई मदत दिइरहनुहोस्। यसो गर्नुभयो भने तपाईँले येसुको पाइला पछ्याइरहनुभएको हुनेछ। (१ पत्रु. २:२१) येसुले जस्तै यहोवालाई खुसी बनाइरहनुभएको हुनेछ र उहाँको शत्रु सैतानलाई एक नम्बरको झूटा साबित गरिरहनुभएको हुनेछ। w२४.०२ पृ. ११ अनु. ११-१३
शनिबार, नोभेम्बर २९
यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ?—भज. ११६:१२.
विगत पाँच वर्षमा १० लाखभन्दा धेरैले बप्तिस्मा गरे। यहोवालाई जीवन समर्पण गर्दा तपाईँले येसु ख्रिष्टको चेला बन्ने र यहोवाको इच्छालाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण ठान्ने छनौट गरिरहनुभएको हुन्छ। यहोवालाई जीवन समर्पण गर्नुमा के समावेश छ? येसुले यसो भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्।” (मत्ति १६:२४) यहाँ “आफूलाई इन्कार गरोस्” भनेर अनुवाद गरिएको ग्रीक अभिव्यक्तिलाई “आफ्नो लागि जिउन छोडोस्” भनेर पनि अनुवाद गर्न सकिन्छ। यहोवाको समर्पित सेवकको रूपमा तपाईँले उहाँको इच्छासित बाझिने कुराहरूलाई इन्कार गर्नुपर्छ। (२ कोरि. ५:१४, १५) त्यसमा अवैध यौनसम्बन्धजस्ता “शरीरका कामहरू”-लाई इन्कार गर्नु समावेश छ। (गला. ५:१९-२१; १ कोरि. ६:१८) के यस्ता नीतिनियमले तपाईँको जीवनलाई गाह्रो बनाउँछ? यदि तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँले दिनुभएका नीतिनियम तपाईँकै भलाइका लागि हुन् भनेर ढुक्क हुनुहुन्छ भने गाह्रो बनाउनेछैन।—भज. ११९:९७; यसै. ४८:१७, १८. w२४.०३ पृ. २ अनु. १; पृ. ३ अनु. ४
आइतबार, नोभेम्बर ३०
मैले तिमीलाई स्विकारेको छु।—लुका ३:२२.
यहोवा आफूले स्विकारेको वा अनुमोदन दिएको व्यक्तिलाई पवित्र शक्ति दिनुहुन्छ। (मत्ति १२:१८) हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ, ‘के मैले आफ्नो जीवनमा परमेश्वरको पवित्र शक्तिको फलका पक्षहरू देखाउन सकेको छु?’ तपाईँले यहोवालाई चिनेपछि आफू अझ धीरजी हुन सकेको महसुस गर्नुभएको छ होला। वास्तवमा तपाईँ पवित्र शक्तिको फलका पक्षहरू देखाउन जत्ति प्रयास गर्नुहुन्छ, आफूमाथि यहोवाको अनुमोदन छ भन्ने कुरामा त्यत्ति नै ढुक्क हुनुहुनेछ। यहोवा आफूले अनुमोदन दिएको व्यक्तिलाई फिरौतीको प्रबन्धबाट लाभ उठाउन मदत गर्नुहुन्छ। (१ तिमो. २:५, ६) हामी फिरौतीमा विश्वास गर्छौँ होला र बप्तिस्मा पनि गरिसकेका छौँ होला। तर हाम्रो हृदयले भने हामीमाथि यहोवाको अनुमोदन छ भनेर स्विकार्दैन भने नि? यो कुरा नबिर्सनुहोस्, हामी सधैँ आफ्नो हृदयलाई भरोसा गर्न सक्दैनौँ तर यहोवालाई भने पूर्णतया भरोसा गर्न सक्छौँ। किनभने उहाँले फिरौतीमा विश्वास गर्नेहरूलाई धर्मी ठान्नुहुन्छ र तिनीहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ।—भज. ५:१२; रोमी ३:२६. w२४.०३ पृ. ३० अनु. १५; पृ. ३१ अनु. १७