डिसेम्बर
सोमबार, डिसेम्बर १
मरेकाहरू ब्युँतनेछन्।—लुका २०:३७.
के यहोवासित मरेकाहरूलाई जीवित पार्ने शक्ति छ? पक्कै छ! उहाँ “सर्वशक्तिमान्” हुनुहुन्छ। (प्रका. १:८) त्यसैले उहाँसित जुनसुकै शत्रु यहाँसम्म कि मृत्युलाई समेत हराउने अथाह शक्ति छ। (१ कोरि. १५:२६) परमेश्वरसित मरेकाहरूलाई जीवित पार्ने शक्ति छ भन्न सकिने अर्को कारण हो, उहाँको सम्झना-शक्ति अथाह छ। उहाँ प्रत्येक तारालाई नामै काढेर बोलाउनुहुन्छ। (यसै. ४०:२६) साथै उहाँ मरेका मानिसहरूलाई पनि सम्झनुहुन्छ। (अय्यु. १४:१३; लुका २०:३८) उहाँ तिनीहरूको ससाना कुराहरू पनि सजिलै सम्झन सक्नुहुन्छ। जस्तै: तिनीहरूको रूपरङ्ग, आनीबानी, गुणहरू, जीवनका अनुभवहरू र सम्झनामा भएका कुराहरू। फेरि जीवित पार्ने यहोवाको प्रतिज्ञामा हामी विश्वास गर्न सक्छौँ किनकि उहाँसित त्यो पूरा गर्ने इच्छा र शक्ति दुवै छ। यस प्रतिज्ञामा विश्वास गर्न सक्ने अर्को कारण हो, यहोवाले पहिला पनि मरेकाहरूलाई जीवित पार्नुभएको थियो। बाइबलकालीन समयमा उहाँले येसुलगायत केही वफादार पुरुषलाई फेरि जीवित पार्ने शक्ति दिनुभएको थियो। w२३.०४ पृ. ९-१० अनु. ७-९
मङ्गलबार, डिसेम्बर २
तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।—कल. ४:६.
हामीले आफ्नो विश्वासबारे विचार पुऱ्याएर अनि कोमलतासाथ बतायौँ भने मानिसहरूले हाम्रो कुरा सुन्ने सम्भावना धेरै हुन्छ र कुराकानी अघि बढ्न सक्छ। तर कसैले जित्ने उद्देश्यले कुरा गर्छन् वा हाम्रो विश्वासको खिल्ली उडाउँछन् भने तिनीहरूसित कुरा अगाडि बढाउनै पर्छ भन्ने छैन। (हितो. २६:४) वास्तवमा कोही-कोही मात्र यस्ता खालका हुन्छन्, धेरैजसोले भने हाम्रो कुरा सुन्छन्। स्पष्ट छ, कोमल हुने लक्ष्य राख्दा थुप्रै लाभ उठाउन सक्छौँ। कसैले विवाद हुने प्रश्न गर्दा वा आलोचना गर्दा तिनीहरूलाई कोमलतासाथ जवाफ दिन सकूँ भनेर यहोवासित बल माग्नुहोस्। नबिर्सनुहोस्, तपाईँको कोमल मनोभावले मतभिन्नतालाई वादविवाद हुने हदसम्म पुऱ्याउनदेखि जोगाउँछ। अनि तपाईँले कोमल भएर अनि आदरपूर्वक जवाफ दिनुभयो भने तपाईँको कुरा सुन्नेहरूमध्ये कोही-कोही यहोवाका साक्षीहरूप्रति अनि बाइबल सत्यप्रति सकारात्मक हुन सक्छन्। कसैले तपाईँको विश्वासबारे सोध्यो भने ‘तिनीहरूलाई जवाफ दिन सधैँ तयार हुनुहोस् तर जवाफ दिँदा कोमल भाव र गहिरो आदर देखाउनुहोस्।’ (१ पत्रु. ३:१५) कोमलतालाई आफ्नो बल बनाउनुहोस्! w२३.०९ पृ. १९ अनु. १८-१९
बुधबार, डिसेम्बर ३
धीरज धारण गर।—कल. ३:१२.
धीरजी भएको देखाउने चार वटा तरिका विचार गरौँ। पहिलो, धीरजी व्यक्ति हतपती रिसाउँदैनन्। अरूले रिस उठाउँदा जस्तालाई त्यस्तै गर्दैनन् बरु शान्त रहन्छन्। तनाव हुँदा पनि अरूसित रुखो व्यवहार गर्दैनन्। (प्रस्थ. ३४:६) दोस्रो, धीरजी व्यक्ति शान्त भई पर्खन्छन्। कुनै कुराको लागि आफूले सोचेभन्दा लामो समय पर्खनुपऱ्यो भने त्यस्तो व्यक्ति अधीर हुँदैनन् वा रिसाउँदैनन्। (मत्ति १८:२६, २७) तेस्रो, धीरजी व्यक्ति हडबडाउँदैनन्। कुनै महत्त्वपूर्ण काम गर्नुपर्दा धीरजी व्यक्तिले हतारमा काम सुरु गर्ने वा सिद्ध्याउने गर्दैनन्। बरु त्यो काम कसरी पूरा गर्ने भनेर योजना बनाउन समय छुट्ट्याउँछन्। अनि काम राम्ररी सिद्ध्याउन पर्याप्त समय दिन्छन्। चौथो, धीरजी व्यक्ति गनगन नगरी परीक्षाहरू सहने कोसिस गर्छन्। तिनले सकारात्मक मनोवृत्ति कायम राख्दै सहिरहन सक्दो कोसिस गर्छन्। (कल. १:११) हामी ख्रिष्टियनहरूले यी विभिन्न तरिकामा धीरजी भएको देखाउनुपर्छ। w२३.०८ पृ. २०-२१ अनु. ३-६
बिहीबार, डिसेम्बर ४
मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।—हितो. १७:३.
हामीले आफ्नो प्रतीकात्मक हृदयलाई सुरक्षित राख्नुपर्ने मुख्य कारण हो, यहोवा हाम्रो हृदय जाँच्नुहुन्छ। यसको अर्थ उहाँ हामीलाई मानिसहरूले भन्दा राम्ररी चिन्नुहुन्छ; हामी वास्तवमा कस्तो मानिस हौँ भनेर जान्नुहुन्छ। यदि हामीले आफ्नो मनमस्तिष्कमा अनन्त जीवन दिने बुद्धिका कुराहरू भऱ्यौँ भने उहाँले हामीलाई प्रेम गर्नुहुनेछ। (युह. ४:१४) यसो गऱ्यौँ भने सैतान र दुष्ट मानिसहरूको पतित नैतिक स्तर र झूटहरूले हाम्रो मनमस्तिष्कमा कुनै ठाउँ पाउनेछैन। (१ युह. ५:१८, १९) हामी यहोवाको जत्ति नजिक हुन्छौँ, त्यत्ति नै उहाँप्रतिको प्रेम र आदर पनि बढ्नेछ। किनभने हामी आफ्नो बुबाको चित्त दुखाउन चाहँदैनौँ, यहाँसम्म कि उहाँविरुद्ध पाप गर्ने कुरा सोच्न समेत सक्दैनौँ। क्रोएसियाकी एक बहिनी मार्टा अवैध यौनसम्बन्ध राख्ने प्रलोभनमा परेकी थिइन्। तिनी यस्तो लेख्छिन्: “मैले राम्रोसँग सोच्नै सकिनँ र गलत काम गर्ने इच्छालाई दबाउन धेरै गाह्रो भयो। तर यहोवाको डरले मलाई जोगायो।” परमेश्वरप्रतिको डरले मार्टालाई कसरी मदत गऱ्यो? तिनले गलत निर्णय गर्दा कस्ता नतिजाहरू भोग्नुपर्छ भन्नेबारे सोचिन्। हामी पनि त्यसै गर्न सक्छौँ। w२३.०६ पृ. २०-२१ अनु. ३-४
शुक्रबार, डिसेम्बर ५
“मैले जातिजातिकै आँखाको अगाडि तिमीहरूमाझ आफ्नो नाम पवित्र पार्दा तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।—इज. ३६:२३.
यहोवाको उद्देश्य आफ्नो नाममा लागेको सबै कलङ्क हटाएर त्यस नामलाई पवित्र पार्नु हो भनेर येसुलाई थाह थियो। त्यसैले हाम्रा मालिकले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्।” (मत्ति ६:९) सबै बौद्धिक प्राणी यही महत्त्वपूर्ण विवादमा मुछिएका छन् भनेर येसुलाई थाह थियो। आफ्नो बुबाको नाम पवित्र पार्न येसुले जे-जति गर्नुभयो, त्यति त ब्रह्माण्डमा अरू कसैले गरेको छैन। तर एकछिन सोच्नुहोस् त, येसु कुन आरोपमा पक्राउ पर्नुभयो? ईश्वरनिन्दा! आफ्नो बुबाको पवित्र नामको दुरुपयोग गर्नु वा निन्दा गर्नु महापाप हो भनेर येसुले बुझ्नुभएको थियो। उहाँलाई सोही आरोपमा पक्राउ गरिनेछ र दोषी ठहऱ्याइनेछ भनेर थाह भएकोले उहाँलाई एकदमै छटपटी भयो। आफू पक्राउ पर्ने समय नजिकिँदै जाँदा उहाँ “असह्य वेदनामा” पर्नुको मुख्य कारण यही हुन सक्छ।—लुका २२:४१-४४. w२४.०२ पृ. ११ अनु. ११
शनिबार, डिसेम्बर ६
बुद्धिले घर बनाउँछ।—हितो. २४:३.
जीवनको दौडमा हामीले आफ्नो परिवारलाई भन्दा यहोवा र येसुलाई धेरै माया गर्नुपर्छ। (मत्ति १०:३७) तर यसको मतलब हामीले पारिवारिक जिम्मेवारीलाई बेवास्ता गर्न मिल्छ भन्ने होइन। यदि परमेश्वर अनि ख्रिष्टले हामीलाई स्विकार्नुभएको चाहन्छौँ भने हामीले परिवारमा आफ्नो भूमिका पूरा गर्नुपर्छ। (१ तिमो. ५:४, ८) यसो गऱ्यौँ भने हामी अझै आनन्दित हुनेछौँ। हुन पनि पतिपत्नीले एकअर्कालाई प्रेम र आदर गर्दा, आमाबुबाले छोराछोरीलाई प्रेम गर्दा र तालिम दिँदा अनि छोराछोरीले आमाबुबाको आज्ञा पालन गर्दा परिवार आनन्दित हुन्छ भनेर यहोवालाई थाह छ। (एफि. ५:३३; ६:१, ४) परिवारका प्रत्येक सदस्यले बाइबलको बुद्धिमानी सल्लाहमा भरोसा गर्नुपर्छ। आफूलाई सही लाग्ने कुरा, लोकप्रिय विचारधारा वा विशेषज्ञ भनाउँदाहरूको सल्लाहअनुसार नगर्नुहोस्। बाइबलआधारित प्रकाशनहरूको पूरापूर सदुपयोग गर्नुहोस्। यी प्रकाशनहरूमा बाइबलका सिद्धान्तहरू कसरी लागू गर्ने भन्नेबारे व्यावहारिक सल्लाहहरू पाइन्छन्। w२३.०८ पृ. २८ अनु. ६-७
आइतबार, डिसेम्बर ७
तिमीले यसमा दिनरात मनन गर्नू। तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ। यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।—यहो. १:८.
ख्रिष्टियन बहिनीहरूले उपयोगी सीपहरू सिक्नुपर्छ। तिनीहरूले सानो बेला सिकेका सीपहरू जीवनभरि नै काम लाग्छ। राम्ररी लेखपढ गर्न सिक्नुहोस्। कुनै-कुनै समाजमा स्त्रीहरूले लेखपढ गर्न सिक्नुलाई खासै महत्त्व दिइँदैन। तर प्रत्येक ख्रिष्टियनले लेखपढ गर्न सिक्नु महत्त्वपूर्ण छ। (१ तिमो. ४:१३) त्यसैले जस्तोसुकै चुनौती आइपरे पनि राम्ररी लेखपढ गर्न सिक्नुहोस्। यसो गर्दा तपाईँलाई कस्तो लाभ हुन्छ? यस्तो सीपले तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिरहन मदत गर्न सक्छ। साथै परमेश्वरको वचनको असल विद्यार्थी अनि शिक्षक बन्न पनि मदत गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबल पढ्दा र त्यसमा मनन गर्दा तपाईँ यहोवासित अझै नजिक हुनुहुनेछ।—१ तिमो. ४:१५. w२३.१२ पृ. २० अनु. १०-११
सोमबार, डिसेम्बर ८
परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने . . . सो यहोवा परमेश्वर जान्नुहुन्छ।—२ पत्रु. २:९.
प्रलोभनहरूको प्रतिरोध गर्न यहोवासित मदत माग्नुहोस्। त्रुटिपूर्ण भएकोले हामीले गलत कामहरू गर्ने प्रलोभनसित निरन्तर सङ्घर्ष गर्नुपर्छ। यस्तो सङ्घर्षलाई अझ गाह्रो बनाइदिन सैतान लागिपरेको छ। त्यसले हाम्रो सोचाइलाई भ्रष्ट पार्न चलाउने एउटा तरिका भनेको अनैतिकताले भरिएको मनोरञ्जन हो। यस्तो मनोरञ्जनले आफ्नो मनमस्तिष्क भऱ्यौँ भने हामी गम्भीर पाप गर्नतर्फ धकेलिन सक्छौँ। (मर्कु. ७:२१-२३; याकु. १:१४, १५) गलत काम गर्ने प्रलोभनको प्रतिरोध गर्न हामीलाई यहोवाको मदत चाहिन्छ। येसुले नमुना प्रार्थनामा यस्तो बिन्ती गर्नुभयो: “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस् तर त्यस दुष्टबाट छुटाउनुहोस्।” (मत्ति ६:१३) यहोवा हामीलाई मदत गर्न चाहनुहुन्छ तर हामीले पनि उहाँसित मदत माग्नुपर्छ। साथै हामीले आफ्नो प्रार्थनाअनुसार कदम पनि चाल्नुपर्छ। w२३.०५ पृ. ६-७ अनु. १५-१७
मङ्गलबार, डिसेम्बर ९
तीन सुताले बाटिएको डोरी सजिलै चुँडिँदैन।—उप. ४:१२.
स्वर्गमा बस्नुहुने बुबासितको मित्रताको मोल गर्ने पतिपत्नीले राजीखुसीले उहाँको सल्लाह लागू गर्छन्। यसो गर्दा तिनीहरू आपसी प्रेमलाई कमजोर बनाउन सक्ने समस्याहरूको सफलतापूर्वक सामना गर्न र त्यसदेखि जोगिन सक्छन्। आध्यात्मिक व्यक्तिले यहोवाको देखासिकी गर्न सक्दो प्रयास गर्छ। अनि उहाँले देखाउनुहुने दया, धीरज र क्षमाजस्ता गुणहरू आफूमा विकास गर्छ। (एफि. ४:३२–५:१) पतिपत्नीले यस्ता गुणहरू देखाउँदा तिनीहरूबीचको प्रेम अझ बलियो हुन्छ। विवाह गरेको २५ वर्षभन्दा धेरै भइसकेको लिना बहिनी यसो भन्छिन्: “आध्यात्मिक व्यक्तिलाई प्रेम र आदर गर्न सजिलो हुन्छ।” एउटा बाइबल उदाहरण विचार गरौँ। यहोवाले मसीहको आमाबुबा रोज्नुपर्दा दाउदका थुप्रै सन्तानमध्ये युसुफ र मरियमलाई रोज्नुभयो। किन? किनकि तिनीहरू दुवैको यहोवासितको सम्बन्ध बलियो थियो र तिनीहरूले आफ्नो वैवाहिक जीवनमा उहाँलाई पहिलो स्थान दिनेछन् भनेर यहोवालाई थाह थियो। w२३.०५ पृ. २०-२१ अनु. ३-४
बुधबार, डिसेम्बर १०
जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूप्रति आज्ञाकारी होओ।—हिब्रू १३:१७.
हाम्रो नेता येसु त्रुटिरहित हुनुहुन्छ तर उहाँले अगुवाइ लिन नियुक्त गर्नुभएका पुरुषहरू भने त्रुटिपूर्ण छन्। विशेषगरि तिनीहरूले हामीलाई चित्त नबुझ्ने निर्देशन दिँदा तिनीहरूप्रति आज्ञाकारी हुन गाह्रो लाग्न सक्छ। एकचोटि प्रेषित पत्रुसलाई पनि आज्ञाकारी हुन गाह्रो लागेको थियो। एक जना स्वर्गदूतले मोसाको व्यवस्थाअनुसार अशुद्ध ठानिने जनावरको मासु खाने निर्देशन दिँदा पत्रुसले एक चोटि मात्र होइन, तीन-तीन चोटि तिरस्कार गरेका थिए। (प्रेषि. १०:९-१६) किन? तिनलाई त्यो नयाँ निर्देशन बेतुकको लाग्यो। यरुसलेमका एल्डरहरूले पावललाई चार जना पुरुषलाई आफूसितै मन्दिरमा लैजान र शुद्धीकरणको विधिअनुसार आफूलाई शुद्ध पार्न निर्देशन दिए। त्यसो गरेको खण्डमा पावलले मोसाको व्यवस्था पालन गर्दै छन् भनेर देखिने थियो। तर पावललाई ख्रिष्टियनहरू अबउसो मोसाको व्यवस्थाको अधीनमा छैनन् भनेर थाह थियो। अनि तिनले कुनै गलत काम गरेका थिएनन्। तैपनि तिनले आफूले पाएको निर्देशन तुरुन्तै पालन गरे। “भोलिपल्ट पावलले ती मानिसहरूलाई आफूसित लगे र मोसाको व्यवस्थाबमोजिम तिनीहरूसँगसँगै आफूलाई शुद्ध पारे।” (प्रेषि. २१:२३, २४, २६) पावल आज्ञाकारी भएकोले भाइबहिनीबीचको एकता कायम रह्यो।—रोमी १४:१९, २१. w२३.१० पृ. १० अनु. १५-१६
बिहीबार, डिसेम्बर ११
यहोवाको डर मान्नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्न पाउँछन्।—भज. २५:१४.
कसैसित घनिष्ठ मित्रता कायम राख्न एकअर्काको डर हुनुपर्छ भनेर त पक्कै भन्नुहुन्न होला। तर यहोवाको घनिष्ठ मित्र बन्न उहाँको ‘डर मान्नुपर्छ।’ यहोवाको सेवा गरेको जत्ति नै लामो समय भए पनि हामीले उहाँप्रतिको डरलाई कायम राख्नुपर्छ। तर परमेश्वरको डर मान्नु भनेको के हो? यहोवाको डर मान्ने व्यक्तिले उहाँलाई प्रेम गर्छ र उहाँसितको सम्बन्धलाई बिगार्न सक्ने कुनै पनि काम गर्न चाहँदैन। येसु “परमेश्वरको डर मान्नुहुन्थ्यो।” (हिब्रू ५:७) उहाँ परमेश्वरदेखि कहिल्यै त्रसित हुनुभएन। (यसै. ११:२, ३) बरु उहाँ परमेश्वरलाई धेरै प्रेम गर्नुहुन्थ्यो र उहाँको आज्ञा पालन गर्न चाहनुहुन्थ्यो। (युह. १४:२१, ३१) येसुजस्तै हामी यहोवाको गहिरो आदर र श्रद्धा गर्छौँ किनभने उहाँ मायालु, बुद्धिमान्, न्यायी र शक्तिशाली हुनुहुन्छ। यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको डोऱ्याइअनुसार चल्छौँ कि चल्दैनौँ भन्ने कुरामा उहाँ चासो लिनुहुन्छ भनेर पनि हामीलाई थाह छ। हामी आफ्नो व्यवहारबाट यहोवालाई या दुःखी या त खुसी बनाउन सक्छौँ।—भज. ७८:४१; हितो. २७:११. w२३.०६ पृ. १४ अनु. १-२; पृ. १५ अनु. ५
शुक्रबार, डिसेम्बर १२
आफू शक्तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्न पुग्यो। . . . तिनले आफ्ना परमेश्वर यहोवालाई विश्वासघात गरे।—२ इति. २६:१६.
राजा उज्जियाह शक्तिशाली भएपछि तिनले आफ्नो शक्ति र समृद्धिको स्रोत यहोवा हुनुहुन्छ भनेर बिर्से। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफूले पाएका आशिष्हरू र सुअवसरहरू यहोवाले नै दिनुभएको हो भनेर हामीले बिर्सनु हुँदैन। आफूले हासिल गरेका उपलब्धिहरूमा घमन्ड गर्नुको साटो त्यसको श्रेय यहोवालाई दिनुपर्छ। (१ कोरि. ४:७) हामीबाट गल्ती हुन्छ र बेलाबेलामा अनुशासन चाहिन्छ भनेर नम्र भई स्विकार्नुपर्छ। साठी वर्ष पुग्न लागेका एक भाइले यस्तो लेखे: “अरूले मेरा गल्तीहरू याद गर्दा ज्यादै निराश हुनु हुँदैन भनेर मैले सिकेको छु। मूर्ख निर्णयहरू गरेकोले अनुशासन पाउँदा म आफ्नो गल्ती सुधार्ने र यहोवालाई सबैभन्दा उत्तम कुरा दिइरहने कोसिस गर्छु।” हामीले यहोवाको डर मानिरह्यौँ र नम्र भइरह्यौँ भने हाम्रो जीवन कत्ति राम्रो हुनेछ!—हितो. २२:४. w२३.०९ पृ. १० अनु. १०-११
शनिबार, डिसेम्बर १३
तिमीहरू सहनशील हुनु आवश्यक छ किनकि परमेश्वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।—हिब्रू १०:३६.
प्रथम शताब्दीका ख्रिष्टियनहरू सहनशील हुनु आवश्यक थियो। सामान्यतया मानिसहरूले भोग्ने समस्याहरूबाहेक तिनीहरूले थप परीक्षा भोगे। तिनीहरूले यहुदी धर्मगुरुहरू र रोमी अख्तियारवालाहरूबाट मात्र होइन, आफ्नै परिवारका सदस्यहरूबाट पनि खेदो भोगे। (मत्ति १०:२१) अनि मण्डलीभित्र टेढोमेढो कुरा गरेर फुट गराउन खोज्ने धर्मत्यागीहरू पनि थिए। (प्रेषि. २०:२९, ३०) यस्तो अवस्थाको बाबजुद ती ख्रिष्टियनहरू सहनशील भइरहे। (प्रका. २:३) कसरी? तिनीहरूले अय्युबजस्ता सहनशीलता देखाएका बाइबल पात्रहरूबारे मनन गरे। (याकु. ५:१०, ११) बलको लागि प्रार्थना गरे। (प्रेषि. ४:२९-३१) अनि सहनशील हुँदा पाइने इनाममा ध्यान केन्द्रित गरे। (प्रेषि. ५:४१) हामीले बाइबल र हाम्रा प्रकाशनहरूमा सहनशीलता देखाएका व्यक्तिहरूको उदाहरण पढ्ने र मनन गर्ने गऱ्यौँ भने हामी पनि सहनशील हुन सक्छौँ। w२३.०७ पृ. ३ अनु. ५-६
आइतबार, डिसेम्बर १४
यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।—मत्ति ६:३३.
यहोवा र येसुले हामीलाई त्याग्नुहुनेछैन। येसुलाई इन्कार गरेपछि प्रेषित पत्रुसले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपऱ्यो: ख्रिष्टको पछि लागिरहने वा पछि लाग्न छोड्ने। येसुले पत्रुसको विश्वास नडगमगाओस् भनेर परमेश्वरलाई उत्कट बिन्ती चढाउनुभएको थियो। येसुले पत्रुसलाई यस प्रार्थनाबारे बताउनुभयो र तिनले पछि आफ्ना भाइहरूलाई बलियो बनाउनेछन् भन्ने कुरामा आफू विश्वस्त भएको कुरा बताउनुभयो। (लुका २२:३१, ३२) येसुका यी शब्दहरू सम्झँदा पत्रुसले कत्ति हौसला पाए होलान्! हामीले पनि पत्रुसले जस्तै जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा यहोवाले मायालु गोठालाहरूमार्फत हामीलाई वफादार रहन मदत गर्न सक्नुहुन्छ। (एफि. ४:८, ११) पत्रुस र अन्य प्रेषितहरूले जस्तै हामीले पनि साक्षीकार्यलाई पहिलो स्थान दियौँ भने यहोवाले हाम्रा भौतिक आवश्यकताहरू पूरा गरिदिनुहुनेछ। w२३.०९ पृ. २४-२५ अनु. १४-१५
सोमबार, डिसेम्बर १५
गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो; त्यसको इनाम उहाँले दिनुहुन्छ।—हितो. १९:१७.
यहोवा हामीले गरेको सानोभन्दा सानो काम पनि याद गर्नुहुन्छ। उहाँले त्यसलाई बहुमूल्य बलिदान र सापटीको रूपमा हेर्नुहुन्छ, जुन उहाँले पछि तिर्नुहुन्छ। तपाईँ पहिला सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्नुहुन्थ्यो भने तपाईँले विगतमा प्रेमले उत्प्रेरित भएर गर्नुभएको काम यहोवा सम्झनुहुन्छ। (१ कोरि. १५:५८) अनि तपाईँले अहिले देखाइरहनुभएको प्रेम पनि उहाँ याद गर्नुहुन्छ। यहोवा हामी सबैले उहाँ र अरूप्रतिको प्रेमलाई बढाउँदै लगेको चाहनुहुन्छ। हामीले सिकेजस्तै यहोवाको वचन दिनहुँ पढेर, त्यसमा मनन गरेर अनि प्रार्थना गरेर उहाँप्रतिको प्रेम बढाउन सक्छौँ। भाइबहिनीलाई विभिन्न तरिकामा मदत गरेर हामी तिनीहरूप्रतिको प्रेम बढाउन सक्छौँ। यसरी हाम्रो प्रेम बढ्दै जाँदा यहोवा र हाम्रो आध्यात्मिक परिवारसित हामी अझै घनिष्ठ हुनेछौँ। यस्तो मित्रता सधैँभरि रहनेछ! w२३.०७ पृ. १० अनु. ११; पृ. ११ अनु. १३; पृ. १३ अनु. १८
मङ्गलबार, डिसेम्बर १६
हरेकले आफ्नो भारी आफै बोक्नेछ।—गला. ६:५.
प्रत्येक ख्रिष्टियनले स्वास्थ्य उपचार रोज्ने सन्दर्भमा आफ्नो भारी आफैले बोक्नुपर्छ। ख्रिष्टियनहरू रगत र तन्त्रमन्त्रदेखि अलग रहनुपर्छ भनेर बाइबलमा स्पष्टै बताइएको छ। त्यसैले हामी यी दुइटा कुरा मुछिएको उपचारविधि रोज्दैनौँ। (प्रेषि. १५:२०; गला. ५:१९, २०) तर यसबाहेक अरू उपचारविधि रोज्ने सन्दर्भमा ख्रिष्टियनहरूले आफै निर्णय गर्न सक्छन्। केही भाइबहिनी डाक्टरकहाँ उपचार गराउँछन् भने केही भाइबहिनी वैकल्पिक उपचारविधि रोज्छन्। कुन उपचारविधि सही वा गलत भन्नेबारे हाम्रो कडा विचारधारा हुन सक्छ। तैपनि हामीले भाइबहिनीको स्वास्थ्यसम्बन्धी निर्णय गर्ने अधिकारको कदर गर्नुपर्छ। यस सन्दर्भमा हामीले निम्न कुराहरू मनमा राख्नुपर्छ: (१) परमेश्वरको राज्यमा मात्रै हामी पूर्णतया स्वस्थ हुन सक्छौँ। (यसै. ३३:२४) (२) आफ्नो लागि कुन उपचारविधि सबैभन्दा राम्रो हुन्छ भन्ने सन्दर्भमा प्रत्येक ख्रिष्टियन “पूर्णतया विश्वस्त” हुनुपर्छ। (रोमी १४:५) (३) अरूले गलत निर्णय गरे भनेर हामी दोष लगाउँदैनौँ वा तिनीहरूलाई ठेस लाग्ने कुनै काम गर्दैनौँ। (रोमी १४:१३) (४) ख्रिष्टियनहरू एकअर्कालाई प्रेम गर्छन् र व्यक्तिगत छनौटलाई भन्दा मण्डलीको एकतालाई पहिलो स्थानमा राख्छन्।—रोमी १४:१५, १९, २०. w२३.०७ पृ. २४ अनु. १५
बुधबार, डिसेम्बर १७
नाजिरीको रूपमा जीवन बिताउन्जेल ऊ यहोवा परमेश्वरको सामुन्ने पवित्र होस्।—गन्ती ६:८.
के तपाईँ यहोवासितको सम्बन्धको मोल गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। पुरातन समयदेखि आज हाम्रो समयसम्म थुप्रै सेवक त्यस्तै महसुस गर्छन्। (भज. १०४:३३, ३४) तिनीहरूले यहोवाको उपासनाको लागि थुप्रै त्याग गरे। पुरातन इस्राएलका नाजिरीहरू अर्थात् समर्पित व्यक्तिहरूले पनि त्यागहरू गरे। यो अभिव्यक्ति तिनीहरूको लागि उपयुक्त छ किनकि ती जोसिला इस्राएलीहरूले विशेष तरिकामा यहोवाको सेवा गर्न केही खास त्याग गरेका हुन्थे। मोसाको व्यवस्थाअनुसार कुनै पुरुष वा स्त्रीले केही समयको लागि नाजिरीको रूपमा सेवा गर्न यहोवासित विशेष भाकल गर्न सक्थे। (गन्ती ६:१, २) त्यो भाकल गर्ने नाजिरीहरूलाई केही खास आज्ञा दिइएको हुन्थ्यो, जुन अरू इस्राएलीहरूले पालन गर्नुपर्दैनथ्यो। कुनै इस्राएलीले किन नाजिरी हुने छनौट गर्थे? तिनीहरू यहोवाप्रतिको गहिरो प्रेम र उहाँले दिनुभएका आशिष्हरूप्रतिको कृतज्ञताले उत्प्रेरित भएका हुन सक्थे।—व्यव. ६:५; १६:१७. w२४.०२ पृ. १४ अनु. १-२
बिहीबार, डिसेम्बर १८
‘यहोवालाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूलाई उहाँ अटल प्रेम देखाउनुहुन्छ।’—दानि. ९:४.
बाइबलमा “वफादारी,” “अटल प्रेम” वा “कृपा” भनेर अनुवाद गरिएको हिब्रू शब्दले अक्सर परमेश्वरले आफ्ना सेवकहरूलाई गहिरो स्नेहले उत्प्रेरित भएर गर्नुहुने प्रेमलाई बुझाउँछ। बाइबलमा परमेश्वरका सेवकहरूबीच हुने प्रेमलाई बुझाउन पनि यही शब्द प्रयोग गरिएको छ। (२ समु. ९:६, ७) हामी यहोवाप्रति वफादार भएको उहाँ चाहनुहुन्छ। हामी यहोवाप्रतिको वफादारीलाई बढाउँदै लैजान सक्छौँ। यस सन्दर्भमा दानिएलको उदाहरण विचार गरौँ। थुप्रै चोटि दानिएलको वफादारीको जाँच भयो। त्यस्तै एउटा ठूलो जाँच तिनी ९० वर्ष नाघिसकेपछि भएको थियो। दरबारका अफिसरहरू दानिएललाई मन पराउँदैनथे न त तिनका परमेश्वरको आदर नै गर्थे। त्यसैले तिनीहरूले दानिएललाई मार्ने षड्यन्त्र रचे। तिनीहरूले राजालाई एउटा उर्दी जारी गर्न लगाए। त्यस उर्दीले दानिएल आफ्ना परमेश्वरप्रति वफादार छन् कि राजाप्रति भनेर देखाउने थियो। दानिएलले आफू राजाप्रति वफादार भएको देखाउन ३० दिनसम्म यहोवालाई प्रार्थना नगरे पुग्थ्यो। तर दानिएलले सम्झौता गरेनन्।—दानि. ६:१२-१५, २०-२२. w२३.०८ पृ. ५ अनु. १०-१२
शुक्रबार, डिसेम्बर १९
आपसमा प्रेम गरिरहौँ।—१ युह. ४:७.
यहोवा हामीले भाइबहिनीलाई जस्तोसुकै अवस्थामा पनि प्रेम गरिरहेको चाहनुहुन्छ। यदि कुनै भाइबहिनी ख्रिष्टियन गुण देखाउन चुके भने तिनले जानाजानी त्यसो गरेका होइनन् र तिनले बाइबल सिद्धान्तअनुसार चल्न कोसिस गरिरहेका छन् भनेर हामीले सोच्नुपर्छ। (हितो. १२:१८) आफ्ना वफादार उपासकहरूको कमीकमजोरीको बाबजुद यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ। हामीले गल्ती गर्दा उहाँ हामीसितको सम्बन्धलाई तोड्नुहुन्न न त हामीसित रिसाएर नै बस्नुहुन्छ। (भज. १०३:९) त्यसैले क्षमा दिने सन्दर्भमा यहोवाको अनुकरण गर्नु कत्ति महत्त्वपूर्ण! (एफि. ४:३२–५:१) नबिर्सनुहोस्, अन्त नजिकिँदै जाँदा हामी भाइबहिनीसित झन्झनै नजिक हुनुपर्छ। हामीले अझ धेरै खेदो भोग्नुपर्नेछ भनेर हामीलाई थाह छ। हामी आफ्नो विश्वासको खातिर झ्यालखानामा समेत पर्न सक्छौँ। त्यस्तो अवस्थामा हामीलाई भाइबहिनीको साथ अझ धेरै चाहिन्छ।—हितो. १७:१७. w२४.०३ पृ. १५-१६ अनु. ६-७
शनिबार, डिसेम्बर २०
मानिसको हरेक पाइलालाई यहोवाले डोऱ्याउनुहुन्छ।—हितो. २०:२४.
बाइबलमा यहोवासित नजिक भएका, उहाँको अनुमोदन पाएका र आनन्दित जीवन बिताएका युवाहरूको विवरण पाउँछौँ। दाउद पनि तिनीहरूमध्ये एक थिए। तिनले कलिलै उमेरमा यहोवाको उपासना गर्ने छनौट गरे र पछि वफादार राजा भए। (१ राजा ३:६; ९:४, ५; १४:८) दाउदबारे अध्ययन गर्दा तपाईँले वफादार भई यहोवाको सेवा गर्न प्रोत्साहन पाउनुहुनेछ। अथवा तपाईँ मर्कुस वा तिमोथिबारे अध्ययन गर्न सक्नुहुन्छ। तिनीहरूले युवावस्थामै यहोवाको सेवा गर्न थाले र वफादार भई उहाँको सेवा गरिरहे। तिनीहरूको यस्तो निर्णयले यहोवालाई खुसी बनायो। तपाईँको भविष्य तपाईँ अहिले जे गर्नुहुन्छ, त्यसैमा निर्भर हुन्छ। तपाईँ आफैमा होइन, यहोवामा भर पर्नुभयो भने उहाँले तपाईँलाई बुद्धिमानी निर्णय गर्न मदत गर्नुहुनेछ। अनि तपाईँको जीवन आनन्दित र इनामदायी हुनेछ। नबिर्सनुहोस्, तपाईँ यहोवाको लागि जे-जति गर्नुहुन्छ, उहाँ त्यसको मोल गर्नुहुन्छ। हाम्रो मायालु बुबाको सेवा गर्नु नै जीवन बिताउने सबैभन्दा राम्रो तरिका हो! w२३.०९ पृ. १३ अनु. १८-१९
आइतबार, डिसेम्बर २१
एकअर्कालाई . . . खुला मनले क्षमा गरिरहो।—कल. ३:१३.
प्रेषित पावललाई भाइबहिनी पनि अरू मानिसजस्तै त्रुटिपूर्ण छन् भनेर थाह थियो। जस्तै: तिनी येसुको चेला बनिसकेको कुरा भाइबहिनीले पत्याउँदै पत्याएनन्। (प्रेषि. ९:२६) अर्को एकचोटि, केही भाइबहिनीले तिनको कुरा काटेर तिनको बदनाम गरे। (२ कोरि. १०:१०) पावलले आफ्नै आँखाअगाडि एक जिम्मेवार भाइले गलत निर्णय गरेको देखे, जसले गर्दा अरूले ठेस खाएका हुन सक्छन्। (गला. २:११, १२) अनि पावलको एक जना नजिकको सहकर्मी मर्कुसले तिनलाई साह्रै निराश तुल्याए। (प्रेषि. १५:३७, ३८) यीमध्ये कुनै पनि अवस्थामा पावलले तिनको चित्त दुखाउने भाइबहिनीसित बोलचालै बन्द गर्न सक्थे। तर तिनले त्यसो गरेनन् बरु भाइबहिनीप्रति सकारात्मक दृष्टिकोण कायम राखे र सक्रिय भई यहोवाको सेवामा लागिरहे। त्यसो गर्न पावललाई केले मदत गऱ्यो? पावल भाइबहिनीलाई प्रेम गर्थे। त्यही प्रेमले तिनलाई भाइबहिनीको कमीकमजोरीमा होइन बरु तिनीहरूका सुन्दर गुणहरूमा ध्यान केन्द्रित गर्न मदत गऱ्यो। त्यही प्रेमले गर्दा पावलले आजको पदको सल्लाह लागू गर्न सके। w२४.०३ पृ. १५ अनु. ४-५
सोमबार, डिसेम्बर २२
प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ।—२ तिमो. २:२४.
कोमलता कत्ति बहुमूल्य गुण हो भनेर देखाउने थुप्रै विवरण बाइबलमा पाइन्छ। इसहाकको उदाहरण विचार गरौँ। तिनी पलिस्तियालीहरूको इलाका गेरारमा बसोबास गर्दा तिनका बुबाका नोकरहरूले खनेको इनार छिमेकीहरूले डाह गरेर माटोले पुरिदिए। आफ्नो हकको लागि लड्नुको साटो तिनले आफ्नो घरपरिवारलाई अन्तै सारे र अर्कै इनारहरू खने। (उत्प. २६:१२-१८) तर त्यहाँ पनि पलिस्तियालीहरू आएर ती इनारहरू आफ्नो हो भनेर झगडा गरे। यस्तो अवस्थामा पनि इसहाकले शान्तपूर्वक कदम चाले। (उत्प. २६:१९-२५) अरूले निहुँ खोज्दा समेत तिनले कसरी कोमलता देखाइरहन सके? तिनले पक्कै पनि आफ्नो शान्तिप्रेमी बुबा अब्राहामबाट र “शान्त अनि नम्र मनोभाव”-की आमा साराबाट धेरै कुरा सिकेको हुनुपर्छ।—१ पत्रु. ३:४-६; उत्प. २१:२२-३४. w२३.०९ पृ. १५ अनु. ४
मङ्गलबार, डिसेम्बर २३
मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।—यसै. ४६:११.
यहोवाले आफ्नो जेठो छोरालाई पृथ्वीमा मानिसहरूलाई उहाँको राज्यबारे सिकाउन र फिरौतीस्वरूप जीवन दिन पठाउनुभयो। पछि उहाँले येसुलाई स्वर्गमा परमेश्वरको राज्यको राजा हुन पुनर्जीवित पार्नुभयो। बाइबलको मूल विषय यहोवाको नाम उच्च पार्नु हो। उहाँले मसीही राज्यमार्फत पृथ्वीको लागि आफ्नो उद्देश्य पूरा गर्नुहुँदा त्यो नाम उच्च पारिनेछ। यहोवाको उद्देश्य कहिल्यै परिवर्तन हुँदैन। उहाँले आफ्नो उद्देश्य पूरा गरेरै छोड्ने ग्यारेन्टी दिनुभएको छ। (यसै. ४६:१०; हिब्रू ६:१७, १८) पृथ्वी प्रमोदवनमा परिणत हुनेछ, जहाँ आदम र हव्वाका त्रुटिरहित अनि धर्मी सन्तानहरूले “सधैँभरि जीवनको आनन्द” उठाउनेछन्। (भज. २२:२६) तर यहोवाको उद्देश्य यत्तिमै सीमित छैन। उहाँको मुख्य उद्देश्य स्वर्ग र पृथ्वीमा रहेका बौद्धिक प्राणीहरूलाई एकतामा बाँध्नु हो। यो उद्देश्य पूरा भएपछि ती सबै प्राणीले उहाँलाई सार्वभौम परमेश्वरको रूपमा स्विकारेर उहाँको अधीनमा बस्नेछन्। (एफि. १:८-११) यहोवाले सुन्दर तरिकामा आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ भनेर बुझ्दा के तपाईँको मन छोएन र? w२३.१० पृ. २० अनु. ७-८
बुधबार, डिसेम्बर २४
“हिम्मत गर . . . म तिमीहरूको साथमा छु,” सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।—हाग्गै २:४.
बेबिलोनबाट यरुसलेम पुगेको केही समयपछि नै यहुदीहरूले आर्थिक समस्या, राजनैतिक अस्थिरता र विरोधको सामना गर्नुपऱ्यो। यसले गर्दा तिनीहरूलाई यहोवाको मन्दिर पुनर्निर्माणको कामलाई प्राथमिकता दिन गाह्रो भयो। त्यसैले यहोवाले आफ्ना मानिसहरूको जोस फेरि जगाउन दुई जना भविष्यवक्ता हाग्गै र जकरियालाई पठाउनुभयो, जुन प्रोत्साहन निकै प्रभावकारी साबित भयो। (हाग्गै १:१; जक. १:१) तर लगभग ५० वर्षपछि यहुदीहरूलाई फेरि प्रोत्साहनको खाँचो पऱ्यो। त्यसैले व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु एज्रा बेबिलोनबाट यरुसलेम आए र यहुदीहरूलाई साँचो उपासनालाई प्राथमिकता दिन प्रोत्साहन दिए। (एज्रा ७:१, ६) हाग्गै र जकरियाले गरेका भविष्यवाणीहरूले विगतमा परमेश्वरका जनहरूलाई खेदोको सामना गर्नुपर्दा यहोवामाथि भरोसा गरिरहन मदत गऱ्यो। ती भविष्यवाणीहरूबाट आज हामीले पनि जीवनमा अचानक कुनै समस्या आइपर्दा मदत पाउन सक्छौँ।—हितो. २२:१९. w२३.११ पृ. १४-१५ अनु. २-३
बिहीबार, डिसेम्बर २५
प्रेम धारण गर किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।—कल. ३:१४.
हामी भाइबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ? एउटा तरिका, तिनीहरूलाई सान्त्वना दिएर हो। यदि हामी तिनीहरूप्रति करुणा महसुस गर्छौँ भने तिनीहरूलाई ‘सान्त्वना दिइरहन’ सक्नेछौँ। (१ थिस्स. ४:१८) हामी एकअर्काप्रतिको प्रेमलाई कसरी प्रगाढ बनाइरहन सक्छौँ? भाइबहिनीको गल्तीले गर्दा क्षमा दिन गाह्रो हुँदा समेत क्षमा दिन सक्दो गरेर। अहिले एकअर्कालाई प्रेम देखाउनु किन झनै जरुरी छ? यसको कारणबारे पत्रुसले यसो भने: “सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले . . . आपसमा प्रगाढ प्रेम गर।” (१ पत्रु. ४:७, ८) यस दुष्ट संसारको अन्त नजिकिँदै जाँदा चेलाहरूले कस्तो अवस्थाको सामना गर्नुपर्नेछ भनेर येसुले बताउनुभयो। उहाँले यसो भन्नुभयो: “मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।” (मत्ति २४:९) यस्तो घृणा सहँदै यहोवाप्रति वफादार भइरहन हामी एकतामा रहनुपर्छ। सैतानले हामीमा फुट ल्याउन गर्ने प्रयास विफल हुनेछ किनभने हामी “एकतामा पूर्ण रूपमा गाँस्ने [प्रेमको] बन्धनमा” बाँधिएका छौँ।—फिलि. २:१, २. w२३.११ पृ. १३ अनु. १८-१९
बिहीबार, डिसेम्बर २६
हामी परमेश्वरका सहकर्मीहरू हौँ।—१ कोरि. ३:९.
परमेश्वरको वचनमा अपार शक्ति छ। मानिसहरूलाई यहोवाको नाम र उहाँको व्यक्तित्वबारे सिकाउँदा हामीले थुप्रै अद्भुत कुरा देख्न सक्छौँ। जस्तै: सैतानले मानिसहरूको आँखामा लगाइदिएको झूटको पट्टी बिस्तारै हट्छ अनि तिनीहरूले यहोवा कस्ता मनमोहक गुणहरूले भरिपूर्ण हुनुहुन्छ भनेर देख्न थाल्छन्। तिनीहरू उहाँको अथाह शक्ति देखेर श्रद्धाले भरिन्छन्। (यसै. ४०:२६) उहाँको खोटरहित न्यायमा भरोसा गर्न थाल्छन्। (व्यव. ३२:४) उहाँको बुद्धिको गहिराइ बुझ्न थाल्छन्। (यसै. ५५:९; रोमी ११:३३) यहोवा प्रेम हुनुहुन्छ भन्ने कुराबाट तिनीहरूले सान्त्वना पाउँछन्। (१ युह. ४:८) अनि यहोवासित नजिक हुँदै जाँदा उहाँको सन्तानको रूपमा सधैँभरि बाँच्ने तिनीहरूको आशा झनै बलियो हुन्छ। मानिसहरूलाई हाम्रो बुबा यहोवासित नजिक हुन मदत गर्ने कत्ति ठूलो सुअवसर! यसो गर्दा यहोवाले हामीलाई आफ्नो “सहकर्मी” ठान्नुहुनेछ।—१ कोरि. ३:५. w२४.०२ पृ. १२ अनु. १५
शनिबार, डिसेम्बर २७
भाकल गरेर पूरा नगर्नुभन्दा त भाकलै नगर्नु बेस हो।—उप. ५:५.
तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ वा साक्षी परिवारमा हुर्कँदै हुनुहुन्छ भने तपाईँले पनि बप्तिस्मा गर्नेबारे सोचिरहनुभएको छ होला। त्यो निकै प्रशंसनीय लक्ष्य हो! तर बप्तिस्मा गर्नुअघि तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुपर्छ। यहोवालाई कसरी जीवन समर्पण गरिन्छ? यहोवालाई प्रार्थनामा उहाँको मात्र उपासना गर्ने र उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिने वाचा गरेर। समर्पण गर्दा तपाईँले यहोवालाई सधैँ “आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम” गर्ने वाचा गरिरहनुभएको हुन्छ। (मर्कु. १२:३०) समर्पण भनेको नितान्त व्यक्तिगत कुरा हो; यो केवल तपाईँ र यहोवाबीचको कुरा हो। तर बप्तिस्मा गर्दा तपाईँले समर्पण गर्नुभएको कुरा सबैले थाह पाउँछन्। तपाईँको समर्पण एउटा पवित्र भाकल हो। तपाईँले त्यस भाकलअनुरूप जीवन बिताउने लक्ष्य राख्नुपर्छ र यहोवा पनि तपाईँबाट त्यही चाहनुहुन्छ।—उप. ५:४. w२४.०३ पृ. २ अनु. २; पृ. ३ अनु. ५
आइतबार, डिसेम्बर २८
तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।—एफि. ५:३३.
सबैको वैवाहिक जीवनमा समस्या आइपर्छ। विवाहित दम्पतीहरूले “शारीरिक दुःखकष्ट” झेल्नेछन् भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (१ कोरि. ७:२८) किन? किनभने विवाह दुई त्रुटिपूर्ण व्यक्तिहरूको मिलन हो। तिनीहरूको गुण अनि मन पर्ने/नपर्ने कुराहरू फरक-फरक हुन्छन्। अनि दुवै हुर्केको संस्कृति र पृष्ठभूमि पनि फरक हुन सक्छ। विवाहअघि याद नगरेको कुरा विवाहपछि याद हुन सक्छ। यीमध्ये जुनसुकै कारणले गर्दा पतिपत्नीबीच खटपट पर्न सक्छ। समस्या आइपर्दा दुवैको गल्ती छ भनेर स्विकार्दै समस्या समाधान गर्नतिर लाग्नुको साटो पतिपत्नीले एकअर्कालाई दोष लगाउन थाल्न सक्छन्। तिनीहरूले छुट्टिएर बस्नु वा सम्बन्धविच्छेद गर्नु नै समस्याको समाधान हो भनेर समेत सोच्न सक्छन्। तर के त्यसो गर्दा तिनीहरू आनन्दित हुन सक्छन्? सक्दैनन्। आफ्नो पति वा पत्नीले गर्दा जीवन गाह्रो भए तापनि यहोवाले तिनीहरूलाई मिलेर बस्न सल्लाह दिनुभएको छ। w२४.०३ पृ. १६ अनु. ८; पृ. १७ अनु. ११
सोमबार, डिसेम्बर २९
आशाले निराश तुल्याउँदैन।—रोमी ५:५.
समर्पण र बप्तिस्मा गरिसकेपछि पनि तपाईँले यहोवाबारे सिक्न छोड्नुभएन। त्यसैले तपाईँ आध्यात्मिक रूपमा परिपक्व हुँदै जानुभयो र प्रमोदवनमा सधैँभरि बाँच्ने तपाईँको आशा पनि बलियो हुँदै गयो। (हिब्रू ५:१३–६:१) तपाईँले रोमी ५:२-४ मा बताइएको कुरा आफैले अनुभव गर्नुभयो होला। तपाईँको जीवनमा विभिन्न सङ्कष्ट आए होलान् तर तपाईँले ती सहनुभयो र परमेश्वरको अनुमोदन पाएको महसुस गर्नुभयो। त्यसैले उहाँका प्रतिज्ञाहरू पूरा हुने कुरामा तपाईँ अझ विश्वस्त हुनुभयो र तपाईँको आशा पहिलाको भन्दा झनै बलियो भयो। त्यो आशा तपाईँको लागि झनै वास्तविक भयो, तपाईँले त्यसको अझै मोल गर्न थाल्नुभयो र त्यसले तपाईँलाई जीवनको हरेक पक्षमा परिवर्तन ल्याउन उत्प्रेरित गऱ्यो। जस्तै: परिवारसित गर्ने व्यवहार, तपाईँले गर्ने निर्णयहरू र समय प्रयोग गर्ने तरिका। परमेश्वरको अनुमोदन पाएपछि उत्पन्न भएको आशाबारे प्रेषित पावलले अर्को एउटा महत्त्वपूर्ण कुरा पनि बताए। तिनले त्यो आशा पक्कै पूरा हुनेछ भनेर आश्वासन दिए। w२३.१२ पृ. १२-१३ अनु. १६-१९
मङ्गलबार, डिसेम्बर ३०
[यहोवाले] तिमीहरूलाई स्थिर गराउनुहुनेछ।—यसै. ३३:६.
गाह्रो अवस्थाको सामना गर्नुपर्दा हाम्रो भावना, विचार र व्यवहार अरू बेलाजस्तो सामान्य हुँदैन। जसरी समुद्रमा आएको छालले जहाजलाई उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ। त्यसैगरि मनमा उर्लिएका भावनाहरूको छालले हामीलाई यताउता हुर्ऱ्याउन सक्छ। भावनाहरूको छालले यताउता हुर्ऱ्याउन थाल्दा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ? उहाँले हामीलाई स्थिर पार्ने आश्वासन दिनुभएको छ। ठूलो आँधी आउँदा जहाज बेस्सरी हल्लिन सक्छ। धेरैजसो जहाजको मुन्तिर पाताजस्ता पखेटाहरू हुन्छन्। दुवैपट्टि हुने यी पखेटाहरूले जहाजको हल्लाइलाई धेरै हदसम्म कम गर्छन्, जसले गर्दा यात्रा तुलनात्मक रूपमा सुरक्षित र आरामदायी हुन्छ। तर सामान्यतया जहाज अघि बढिरहेको छ भने यस्ता पखेटाहरूले राम्रोसँग काम गर्न सक्छन्। त्यसैगरि परीक्षा आइपर्दा हामी वफादार भई अघि बढिरहेका छौँ भने यहोवाले हामीलाई स्थिर गराउनुहुनेछ। w२४.०१ पृ. २२ अनु. ७-८
बुधबार, डिसेम्बर ३१
परमेश्वरमा म भरोसा राख्छु; म डराउँदिनँ।—भज. ५६:४.
डर लाग्दा आफैलाई सोध्नुहोस्: ‘यहोवाले के गरिसक्नुभएको छ?’ उहाँले सृष्टि गर्नुभएका कुराहरूबारे विचार गर्नुहोस्। जस्तै: यहोवाले चरा अनि फूलहरूको कसरी ख्याल राख्नुहुन्छ, ‘नियालेर हेर्नुहोस्।’ उहाँको स्वरूपमा सृष्टि नगरिएका र उहाँको उपासना गर्ने क्षमता नभएका ती चरा अनि फूलहरूको त उहाँ यत्ति धेरै ख्याल राख्नुहुन्छ भने हाम्रो झन् कत्ति धेरै ख्याल राख्नुहुन्छ होला! (मत्ति ६:२५-३२) यस्ता कुराहरूमा मनन गर्दा यहोवामाथिको हाम्रो भरोसा अझै बलियो हुनेछ। यहोवाले आफ्ना उपासकहरूको लागि के गरिदिनुभएको थियो, त्यो पनि विचार गर्नुहोस्। तपाईँ उल्लेखनीय विश्वास देखाएका बाइबल पात्रहरूबारे अध्ययन गर्न सक्नुहुन्छ अथवा आधुनिक समयका यहोवाका सेवकहरूको अनुभव पढ्न सक्नुहुन्छ। साथै यहोवाले कसरी तपाईँको ख्याल राख्नुभएको थियो, विचार गर्नुहोस्। उहाँले तपाईँलाई सत्यतर्फ कसरी खिच्नुभयो? (युह. ६:४४) उहाँले तपाईँका प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो? (१ युह. ५:१४) उहाँको प्यारो छोराको बलिदानले गर्दा तपाईँ हरेक दिन कस्ता लाभहरू उठाउँदै हुनुहुन्छ?—एफि. १:७; हिब्रू ४:१४-१६. w२४.०१ पृ. ४ अनु. ६; पृ. ७ अनु. १७