यहोवाको प्रबन्ध, ती “दिइएकाजनहरू”
“परदेशीहरू खड़ा हुनेछन् र तेरा भेड़ा-बाख्राहरूलाई चराउनेछन्।”—यशैया ६१:५.
१. “दाता” शब्दले हाम्रो मनमा यहोवाको सम्झना किन गराउँछ?
परमेश्वर कति महान उदारदाता हुनुहुन्छ! प्रेरित पावलले भने: “[यहोवाले नै] सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रेरित १७:२५) परमेश्वरबाट पाउने ‘हरेक असल दान र हरेक उत्तम वरदान’ बारे चिन्तन गर्नाले हामी प्रत्येक नै लाभान्वित हुन सक्तछौं।—याकूब १:५, १७; भजनसंग्रह २९:११; मत्ती ७:७; १०:१९; १३:१२; २१:४३.
२, ३. (क) परमेश्वरले दिनु भएका वरदानहरू प्रति हामीले कस्तो प्रतिक्रिया व्यक्त गर्नु पर्दछ? (ख) लेवीहरू कुन अर्थमा “दिइएकाहरू” थिए?
२ यी सबै कुराका लागि यहोवालाई के दिन सकिएला भनी सोंचमा पर्नु भजनसंग्रहका लेखकको उचित कारण थियो। (भजनसंग्रह ११६:१२) मानिसहरूसित भएको अथवा तिनीहरूले उहाँलाई दिन सक्ने कुनै त्यस्तो कुराको खाँचो हाम्रा सृष्टिकर्त्तालाई छैन। (भजनसंग्रह ५०:१०, १२) तथापि, मानिसहरूले मूल्याङ्कन साथ साँचो उपासना चढाउँन आफूलाई अर्पण गर्दा उहाँ प्रसन्न हुनुहुन्छ भनी यहोवा सङ्केत गर्नुहुन्छ। (हिब्रू १०:५-७ सङ्ग तुलना गर्नुहोस्) सबै मानिसहरूले स्वयंलाई सृष्टिकर्त्ताका लागि समर्पण गर्नु उचित हो र उहाँले पनि, बदलामा, पुरातनका लेवीहरूलाई दिनु भए झैं सेवा गर्ने थप सुअवसरहरू दिनुहुनेछ। सारा इस्राएलीहरू परमेश्वरमा समर्पित भएका भएता पनि वेदी र मन्दिरमा बलिदान चढाउने कामका निम्ति पूजाहारीहरू हुन हारूनको परिवारका लेवीहरूलाई उहाँले छान्नु भयो। बाँकी लेवीहरूलाई चाहिं के भयो?
३ यहोवाले मोशालाई भन्नुभयो: “लेवीको कुललाई यहाँ नजीकै ले . . . र बासस्थानको सेवा गर्दा भेट हुने पालको सबै सामानको जिम्मा तिनीहरूले लिनेछन् . . . र लेवीहरू, हारून् र त्यसको छोराहरूलाई दिइहाल्नू। तिनीहरू इस्राएलका छोराहरूबाट छुट्ट्याइएर उसलाई दिइएका [हिब्रू, नेथुनिम] हुन्।” (गन्ती ३:६, ८, ९, ४१) बासस्थानको सेवा गर्ने कामका निम्ति हारूनलाई लेवीहरू “दिइएका” हुनाले परमेश्वरले यसो भन्न सक्नु भयो: “इस्राएलीहरूका मध्यबाट तिनीहरू मलाई अर्पण गरिएका हुन्।” (गन्ती ८:१६, १९; १८:६) केही लेवीहरूले साधारण कामहरू गर्दथिए; अरूहरूले चाहिं परमेश्वरका नियमहरू पढाउने जस्ता विशेष सुअवसरहरूमा भाग लिने गर्द थिए। (गन्ती १:५०, ५१; १ इतिहास ६:४८; २३:३, ४, २४-३२; २ इतिहास ३५:३-५) अब हामी आफ्नो ध्यान “दिइएका” अर्कै जनहरू र एउटा आधुनिक समानान्तर तर्फ लैजाऔं।
इस्राएलीहरू बेबिलोनबाट फर्किन्छन्
४, ५. (क) कुन इस्राएलीहरू बेबिलोनको निर्वासनबाट फर्किए? (ख) इस्राएलीहरू निर्वासनबाट फर्किएको कुरा आधुनिक समयमा घटेको कुन घटनासित मिल्दछ?
४ साँचो उपासना पुनर्स्थापना गर्न बडा हाकिम यरूबाबेलको नेतृत्वमा इस्राएलका शेष जनहरू कसरी आफ्नो देश फर्के भनी एज्रा र नहेम्याहले वर्णन गरेका छन्। दुवै वर्णनहरू अनुसार फर्किनेहरूको संख्या ४२,३६० थियो। त्यस मध्येका हजारौं जनहरू चाहिं “इस्राएलका . . . मानिसहरू” थिए। यस पछिको विवरणमा पूजाहारीहरूको नामावाली दिइएको छ। अनि लेवी गायकहरू र पालेहरू समेत गरी ३५० जना जति लेवीहरूको नाउँ दिइएको छ। एज्रा र नेहम्याहले अरू हजारौंबारे पनि लेखेकाछन्, जो सम्भवतः इस्राएलीहरू हुनाका साथै पूजाहारी समेत थिए होलान् तर जसले आफ्नो पुर्खौलीको प्रमाण दिन सक्तैन थिए।—एज्रा १:१, २; २:२-४२, ५९-६४; नहेम्याह ७:७-४५, ६१-६६.
५ निर्वासनमा लगिएका इस्राएलका यी शेष जनहरू, जो पछि यरूशलेम र यहूदामा फर्किएर आए, तिनीहरूले परमेश्वर प्रति असामान्य भक्ति र साँचो उपासनाका निम्ति गहिरो वचनबद्धता प्रदर्शित गरे। अघि उल्लेख गरे झैं, यसको एउटा उपयुक्त समानता हामी आधुनिक समयमा आत्मिक इस्राएलका शेष जनहरूमा पाउछौं जो महान बेबिलोनको दासत्वबाट १९१९ मा मुक्त भएर बाहिर निस्के।
६. हाम्रो समयमा परमेश्वरले आत्मिक इस्राएलीहरूलाई कसरी प्रयोग गर्नु भएको छ?
६ १९१९ मा छुटकारा पाए देखिन् ख्रीष्टका ती शेष अभिषिक्त भाइहरू साँचो उपासनाका निम्ति उत्साहकासाथ अगाडि बढी रहेका छन्। “परमेश्वरका इस्राएलमा” गठन हुने १४४,००० मध्यका अन्तिम जनहरूलाई जम्मा पार्ने तिनीहरूको प्रयासलाई यहोवाले आशिष दिनु भएको छ। (गलाती ६:१६; प्रकाश ७:३, ४) अभिषिक्त शेष जनहरू नै सामूहिक रूपमा “विश्वासी र बुद्धिमान दास” हुन् जसलाई जीवनदायी आत्मिक भोजनको प्रबन्ध मिलाउने काममा प्रयोग गरिन्छ र सो भोजनलाई विश्वभरि वितरण गर्नमा तिनीहरूले बडो मेहनत गरेका छन्।—मत्ती २४:४५-४७.
७. साँचो उपासनामा अभिषिक्त जनहरूसँग को पनि सम्मिलित छन्?
७ अघिल्लो लेखमा देखाए अनुसार, यहोवाका जनहरूमा अब लाखौं “अरू भेडा” सम्मिलित छन्, जसले चाँडै आउने महान सङ्कष्टलाई पार गर्ने ईश्वर-प्रदत्त आशा राखेका छन्। तिनीहरू यहोवालाई सधैंभरि यस पृथ्वीमा सेवा गर्ने इच्छा गर्दछन् जहाँ तिनीहरू फेरि कहिले भोकाउने र तिर्खाउने छैनन् र जहाँ दुःखका आँसूहरू फेरि बगने छैनन्। (यूहन्ना १०:१६; प्रकाश ७:९-१७; २१:३-५) के यी जनहरूसँग मिल्दो कुनै कुरा हामी बेबिलोनबाट फर्कनेहरूको विवरणमा पाउँछौं? हो, पाउँछौं!
गैर-यहूदीहरू पनि फर्किन्छन्
८. इस्राएलीहरू बेबिलोनबाट फर्किन्दा तिनीहरूका साथमा अरू को पनि थिए?
८ बेबिलोनमा भएका यहोवासँग प्रेम गर्नेहरूलाई प्रतिज्ञा गरिएको देशमा फर्किने आह्वान दिंदा, हजारौं गैर-इस्राएलीहरू पनि तयार भए। एज्रा र नहेम्याहले प्रस्तुत गरेका फिरिस्तहरूमा, “नेथिनिम” (अर्थात्, “दिइएकाहरू”) र “सुलेमानका चाकरहरूका सन्तानहरू” बारे हामी पढ्दछौं, जसको जम्मा संख्या ३९२ थियो। ती विवरणहरूमा ‘पुरुष र स्त्री कमारा-कमारीहरू,’ साथै गैर-लेवी “पुरुष र स्त्री गवैयाहरू” [नहेम्याह ७:६७] लगायत अरू ७,५०० भन्दा बढी व्यक्तिहरूको चर्चा गरिएको छ। (एज्रा २:४३-५८, ६५; नहेम्याह ७:४६-६०, ६७) यतिका धेरै गैर-इस्राएलीहरूले कुन कुराबाट फर्कने प्रेरणा पाए?
९. निर्वासनबाट फर्किने कुरामा परमेश्वरको आत्मा कसरी बिथोलित थियो?
९ “यरूशलेममा परमप्रभुको [यहोवाको न्यु. व.] भवनको पुनर्निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका” हरेक मानिसहरूबारे एज्रा १:५ मा भनिएको छ। हो, यहोवाबाट नै फर्किने जति सबैले प्रेरणा पाए। उहाँले नै तिनीहरूको भावनालाई, अर्थात्, तिनीहरूको मानसिक झुकाउलाई उत्तेजित पार्नुभयो। स्वर्गैबाट आफ्नो पवित्र आत्मा, अर्थात् सक्रिय शक्ति प्रयोग गर्नु भएर परमेश्वरले यसो गर्न सक्नु भएको हो। यसप्रकार, “परमप्रभुको [यहोवाको न्यु. व.] भवन पुनर्निर्माण गर्न अघि बढने” सबैलाई नै “[परमेश्वरको] आत्माले” मदत दियो।—जकरिया ४:१, ६; हग्गै १:१४.
आधुनिक समयको एउटा समानान्तर
१०, ११. बेबिलोनबाट फर्किने गैर-इस्राएलीहरूको के समानान्तर पाउन सकिन्छ?
१० यस प्रकार फर्किएर आउने गैर-इस्राएलीहरूले कसको पूर्वाभास दिन्छ? धेरै मसीहीहरूले जवाफमा यसो भन्न सक्छन्: “त्यस बेलाका नेथिनिमहरू आजका ‘अरू भेडाका’ प्रतिक हुन्।” ठीक हो, तर नेथिनिमहरू मात्र होइनन्; किनकि फर्किने सबै गैर-इस्राएलीहरूले आज आत्मिक इस्राएलमा समावेश नभएका मसीहीहरूलाई प्रतिनिधित्व गर्दछन्।
११ यु मे सरभाइभ आरमागेदोन इन्टु गोड्स न्यु ओर्डरa भन्ने पुस्तकमा भनिएको छ: “बडा हाकिम यरूबाबेलसँग बेबिलोन छाडनेहरूमध्य ४२,३६० इस्राएलीहरूका शेष जनहरू मात्र थिएनन् . . . त्यहाँ हजारौं गैर-इस्राएलीहरू पनि थिए . . . नेथिनिम बाहेक अरू गैर-इस्राएलीहरू, चाकरहरू, पेशेवर पुरुष र महिला गवैयाहरू र सुलेमानका चाकरहरूका सन्तानहरू त्यहाँ थिए।” पुस्तकले व्याख्या गरेको छ: “नेथिनिम, चाकरहरू, गवैयाहरू, सुलेमानका चाकरहरूका सन्तानहरू अथवा यी सबै गैर-इस्राएलीहरू दासत्वको देशलाई छाडेर शेष इस्राएलीहरूसँग फर्किए . . . अतः के यो सोंच्नु ठीक हुनेछ कि आज आत्मिक इस्राएलीहरू मध्यका न हुने विभिन्न जातिका मानिसहरूले आत्मिक इस्राएलका शेष जनहरूसित सङ्गत गर्दै तिनीहरूका साथ यहोवा परमेश्वरको उपासनालाई बढावा दिनेछन् र? हो, बढावा दिनेछन्।” यस प्रकारका जनहरू ‘आधुनिक र लाक्षणिक रूपमा नेथिनिम, गवैयाहरू, र सुलेमानका चाकरहरूका सन्तानहरू हुन्’।
१२. आत्मिक इस्राएलीहरूका निम्ति परमेश्वरले आफ्नो आत्मा कसरी विशेष रूपमा प्रयोग गर्नुहुन्छ, तर त्यो उहाँका सबै उपासकहरूका निम्ति उपलब्ध छ भनी हामी किन विश्वस्त हुन सक्तछौं?
१२ पुरातनमा झैं, परमेश्वरले पृथ्वीमा सदा बाँच्ने आशा राख्नेहरूलाई पनि आफ्नो आत्मा प्रदान गर्नुहुन्छ। हुन ता हो, यिनीहरू नयाँ भएर जन्मँदैनन्। १४४,००० मध्यका प्रत्येकले परमेश्वरका आत्मिक पुत्र हुने र पवित्र आत्माद्वारा अभिषिक्त भएर नयाँ भएर जन्मने विशेष अनुभव गर्दछन्। (यहून्ना ३:३, ५; रोमी ८:१६; एफिसी १:१३, १४) यथार्थमा, यस प्रकारको अभिषेक सानो झुण्ड प्रति परमेश्वरको आत्माको एउटा अनुपम अभिव्यंजन हो। तर उहाँको इच्छा पालन गराउनका निम्ति पनि परमेश्वरको आत्माको आवश्यकता पर्दछ। अतः, येशूले भन्नुभयो: “स्वर्गीय [स्वर्गमा हुनु हुने] पिताले उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ।” (लूका ११:१३) माग्ने व्यक्ति स्वर्गीय आशा राख्ने अथवा अरू भेडाका भए पनि, उहाँको इच्छा पालन गराउन यहोवाको आत्मा प्रशस्त मात्रामा उपलब्ध हुनेछ।
१३. परमेश्वरका सबै नै सेवकहरूमाथि आत्मा कसरी कृयाशील हुन सक्तछ?
१३ परमेश्वरको आत्माले इस्राएली र गैर-इस्राएली दुवैलाई यरूशलेम फर्किन प्रेरित गऱ्यो, र आज पनि उहाँका सबै वफादार जनहरूलाई त्यसले बल र मदत दिन्छ। एकजना मसीहीको ईश्वर-प्रदत्त आशा स्वर्गीय जीवन होस् वा पार्थिव जीवन, उसले सुसमाचार प्रचार गर्नै पर्दछ, र त्यस काममा विश्वासी हुनका निम्ति पवित्र आत्माले उसलाई सक्षम पार्दछ। हाम्रो आशा जे भएता पनि—हामी प्रत्येकले—आत्माका फलहरूको विकाश गर्नु आवश्यक छ किनकि हामीलाई प्रशस्त मात्रामा यी फलहरूको ठूलो खाँचो छ।—गलाती ५:२२-२६.
विशेष सेवाका निम्ति दिइएको
१४, १५. (क) फर्किएका गैर-इस्राएलीहरूमध्यका कुन दुइटा समूहहरूको विशेष उल्लेख गरिएको छ? (ख) नेथिनिम को थिए, र तिनीहरूले के गर्थ्ये?
१४ आत्मा द्वारा प्रेरित भएर फर्कन लागेका हजारौं गैर-इस्राएलीहरूमध्येका दुईवटा साना समूहहरूको विशेष चर्चा परमेश्वरको वचनमा गरिएको छ—अर्थात् नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरू बारे। तिनीहरू को थिए र के गर्द थिए? र त्यसले आजकालागि के अर्थ राख्तछ?
१५ नेथिनिमहरूका पुर्खौली गैर-इस्राएली थिए र तिनीहरूले लेवीहरूसित मिलेर सेवा गर्ने सौभाग्य पाएका थिए। “समुदायको निम्ति र परमप्रभुको [यहोवाको न्यु. व.] वेदीको निम्ति दाउरे र पनेरे” भएका गिबोनका कनानीहरूलाई सम्झनुहोस्। (यहोशू ९:२७) सम्भवतः तिनीहरूकै सन्तान मध्येका केही दाऊदको शासनकाल र अन्य अरू समयमा नेथिनिम भनी थपिएकाहरू पनि बेबिलोनबाट फर्किने नेथिनिममा सामेल थिए होलान्। (एज्रा ८:२०) नेथिनिम के गर्दथिए? लेवीहरूको काम पूजाहारीलाई मदत गनु थियो, र त्यस पछि लेवीहरूका मदतका निम्ति नेथिनिमहरू खटाइएका थिए। खतना गरिएका विदेशीहरूका निम्ति पनि यो एउटा सौभाग्यको कुरा थियो।
१६. समयमा नेथिनिमले निभाउने भूमिका कसरी बदलियो?
१६ बेबिलोनबाट फर्किने समूहमा पूजाहारीहरू वा नेथिनिम र “सुलेमानका चाकरहरूका सन्तानहरूको” तुलनामा लेवीहरू थोरै थिए। (एज्रा ८:१५-२०) डा. जेम्स हेस्टिङ्गसले लेखेका द डिक्सनरी आफ द बाइबल भन्दछ: “केही समय पश्चात्, [नेथिनिम] एउटा पवित्र औपचारिक श्रेणीको रूपमा पूर्णतया स्थापित हुनगएको र तिनीहरूलाई सेवाका विशेषाधिकारहरू प्रदान गरिएको हामी पाउँदछौं।” वेटस टेस्टामेन्टम भन्ने एउटा शास्त्रीय पत्रिका भन्दछ: “एउटा परिवर्तन भयो। निर्वासनबाट फर्किए पछि, यी [विदेशीहरूलाई] मन्दिरका दासहरू नठानेर, मन्दिरमा औपचारिक रूपमा सेवा गर्ने अरू सूमहहरूकै बराबरको [अथवा व्यक्तिहरूका समूहहरू] ओहदा दिइयो र तिनीहरू त्यहाँका सेवकहरू हुन गए।”—“एउटा परिवर्तित स्थिति” शिर्षक भएको बाकस हेर्नुहोस्.
१७. नेथिनिमले बढता जिम्मावारी किन पाए, र यसबारे बाइबलमा के प्रमाण पाइन्छ?
१७ तर जरुर पनि पूजाहारीहरू र लेवीहरूको बराबरीका चाहिं नेथिनिमहरू भएनन्। लेवीहरू र पूजाहारीहरू इस्राएलीहरू थिए, जसलाई यहोवा आफैले छान्नु भएको थियो। तिनीहरूको ठाउँलाई गैर-इस्राएलीहरूले लिन मिल्दैन थियो। तापनि, लेवीहरूको संख्या कम भएको हुनाले, परमेश्वरको सेवा गर्ने काममा नेथिनिमलाई धेरै नै प्रयोग गरिन्थ्यो भनी बाइबलमा सङ्केत गरिएको पाउँदछौं। तिनीहरूलाई मन्दिरकै नजिक बस्ने डेरा दिइन्थ्यो। नहेम्याहको समयमा मन्दिर नजिकको पर्खाल मरम्मत गर्ने काममा पूजाहारीहरू सँग-सँगै तिनीहरू काम गर्दथिए। (नहेम्याह ३:२२-२६) मन्दिरमा तिनीहरूले पनि सेवा गर्ने भएकाले जसरी लेवीहरूलाई कर-माफीको सुविधा दिइएको थियो, त्यसरी नै नेथिनिमहरूले पनि कर तिर्नु पर्ने छैन भनी फारसका राजाले हुकुम गरे। (एज्रा ७:२४) यी “दिइएकाहरूले” (लेवीहरू र नेथिनिमहरू) आत्मिक काम-कुराहरूमा कति ठूलो भूमिका निभाउँद थिए र तिनीहरूलाई कहिले पनि लेवीहरू सित नगनिएता पनि आवश्यकता अनुसार कसरी यी नेथिनिमहरूले उठाउने जिम्मावारी बढदै गयो भन्ने कुरा यसबाट देखिन्छ। एज्राले निर्वासनमा गएकाहरूलाई फर्किनकालागि जम्मा पार्दा, तीमध्य शुरुमा लेवीहरू पटक्कै थिएनन्। अतः केही लेवीहरूलाई जम्मा पार्न तिनले अझ जोडसित प्रयास गरे। फलःस्वरूप ३८ जना लेवीहरू र २२० जना नेथिनिमहरू “मन्दिरका सेवकहरू” भएर सेवा गर्न फर्किने भए।—एज्रा ८:१५-२०.
१८. सुलेमानका चाकरहरूका सन्तानहरूले के काम गरे होलान्?
१८ गैर-इस्राएलीहरूबाट छानिएको दोस्रो समूह सुलेमानका चाकरहरूका सन्तानहरूको थियो। तिनीहरूबारे बाइबलमा धेरै विस्तृत विवरण छैन। केही “सोपेरेतका सन्तानहरू” थिए। एज्राले त्यस नाउँसित एउटा निश्चयात्मक सर्वनाम थपेर त्यसलाई हास्सोपरेत भनेकाछन्, जसको अर्थ सम्भवतः “शास्त्री” हो। (एज्रा २:५५; नहेम्याह ७:५७) यसकारण तिनीहरू शास्त्रीहरू वा लेखनदासहरू अथवा मन्दिर-प्रशासनमा भाग लिने शास्त्रीहरू थिए होलान्। विदेशी पुर्खौली भएता पनि बेबिलोन छाड़ेर यहोवाको उपासना पुनर्स्थापित गर्ने काममा सहभागी हुन फर्केर सुलेमानका चाकरहरूका सन्तानहरूले परमेश्वर प्रति आफ्नो भक्ति प्रमाणित गरे।
आज हामीहरूले पनि आफूलाई अर्पण गरौं
१९. आजका अभिषिक्त जनहरू र अरू भेडाहरूका बीच के सम्बन्ध छ?
१९ हाम्रो समयमा परमेश्वरले शेष अभिषिक्त जनहरूलाई शुद्ध उपासना अघि बढाउने र सुसमाचारको घोषणा गर्ने कामका निम्ति जोड-तोडका साथ प्रयोग गर्नु भएको छ। (मर्कूस १३:१०) हजारौं, लाखौं मानिसहरू तिनीहरूसँग उपासनामा सामेल भएको देख्ता तिनीहरू कति रमाउँदछन्! र शेष जनहरू र अरू भेडाका बीच कस्तो आनन्ददायक सहयोग छ!—यूहन्ना १०:१६.
२०. नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरूसँगको एउटा समानान्तरबाट कुन नयाँ कुरा बुझ्नु मनासिब छ? (हितोपदेश ४:१८)
२० पुरातन बेबिलोनबाट फर्किने सबै नै गैर-इस्राएलीहरू अहिले आत्मिक इस्राएलीहरूका शेष जनहरूसँग मिलेर सेवा गर्ने अरू भेडाहरू जस्तै हुन्। तथापि, नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरूबारे विशेष चर्चा बाइबलमा किन गरिएको हो? फर्केर आउने अन्य गैर-इस्राएलीहरूलाई भन्दा यी नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरूलाई सेवाका बढी विशेषाधिकारहरू दिइएको कुरामा हाम्रो ध्यान आकर्षित गराउन। त्यो घटना सम्भवतः, आज परमेश्वरले केही परिपक्व र इच्छुक अरू भेडालाई थप कर्त्तव्यहरू र सेवाका बढी विशेषाधिकारहरू दिनु भएको कुराको एउटा अग्रिम-झल्को हुन सक्तछ।
२१. पार्थिव आशा हुने केही भाइहरूले कसरी थप कर्त्तव्यहरू र सुअवसरहरू पाएकाछन्?
२१ नेथिनिमलाई दिइएका थप सेवा सम्बन्धी सु-अवसरहरू सोझै आत्मिक गतिविधिहरूसित सम्बन्धित थिए। सुलेमानका चाकरहरूका सन्तानहरूले सम्भवतः प्रशासनिक जिम्मावारीहरू पाए। त्यसैगरी आज, यहोवाले उहाँका जनहरूका आवश्यकताहरूको देखरेख गर्न ‘मानिसहरू . . . वरदान’ दिनु भएको छ। (एफिसी ४:८, ११, १२) यस प्रबन्धमा सैकडों परिपक्व, अनुभवी भाइहरू ‘भेडा-बाख्राहरूलाई चराउने काममा,’ परिभ्रमण अध्यक्ष र जिल्ला अध्यक्षहरू भएर, र वाचटावर सोसाइटीका ९८ शाखाहरूका शाखा समितिहरूमा सेवा गर्ने काममा भाग लिइरहेका छन्। (यशैया ६१:५) सोसाइटीको मुख्यालयमा, “विश्वासी दास” र तिनको परिचालक निकायको निर्देशनमा योग्य मानिसहरूले आत्मिक आहार तयार पार्ने काममा मदत दिने प्रशिक्षण पाइ रहेका छन्। (लूका १२:४२) धेरै समय देखिन् समर्पित अन्य स्वयंसेवकहरू चाँहि बेथेल घरहरू र कारखानाहरू संचालन गर्ने काममा र नयाँ शाखा सुबिधाहरू र मसीही उपासनाका निम्ति सभा-गृहहरू बनाउने कामको रेख-देख गर्नका निम्ति प्रशिक्षित भएका छन्। शाही पूजाहारीगिरीमा सम्मिलित हुने शेष अभिषिक्त जनहरूका नजिकी मदतगारहरू भएर सेवा गर्ने काममा तिनीहरूले उत्कृष्ट योग्यता देखाएका छन्।—१ कोरिन्थी ४:१७; १४:४०; १ पत्रुस २:९ सङ्ग तुलना गर्नुहोस्.
२२. अहिले अरू भेडाहरूमध्यका केहीलाई महत्त्वपूर्ण जिम्मावारी दिनु किन उपयुक्त छ, र त्यस प्रति हामीले के कस्तो प्रतिक्रिया जनाउनु पर्दछ?
२२ पुरातन समयमा, पूजाहारीहरू र लेवीहरूले यहूदीहरूका बीच सेवा गरी नै रहे। (यूहन्ना १:१९) तथापि, आज, आत्मिक इस्राएलका शेष अभिषिक्त जनहरू घट्दै जानु पर्दछ। (यूहन्ना ३:३० सित तुलना गरेर हेर्नुहोस्) अन्तमा, महान बेबिलोन नष्ट भए पछि, ‘छाप लगाइएका’ १४४,००० हरू सबै नै थुमाको विवाहका निम्ति स्वर्गमा हुनेछन्। (प्रकाश ७:१-३; १९:१-८) तर हाल अरू भेडाहरू बढदै जानु पर्दछ। नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरू जस्तै तिनीहरू मध्यका केहीलाई शेष अभिषिक्त जनहरूका रेख-देखमा महत्त्वपूर्ण जिम्मावारीहरू दिइयो भन्दैमा तिनीहरू शेखी गर्दैनन् नता आत्म-श्रेष्ठताको भाव नै व्यक्त गर्छन्। (रोमी १२:३) यस कुराले हामीलाई विश्वस्त पार्द छ कि जसै परमेश्वरका जनहरू “महा सङ्कष्टबाट” निस्कनेछन् अरू भेडाहरूका बीचमा अगुवाई लिन अनुभवी मानिसहरू—राजकुमारहरू—तयार हुनेछन्।—प्रकाश ७:१४; यशैया ३२:१; प्रेरित ६:२-७ सङ्ग तुलना गर्नुहोस्.
२३. परमेश्वरको सेवा प्रति हामी सबैले किन एउटा मनकारी भावना विकाश गर्नु पर्दछ?
२३ बेबिलोनबाट फर्किने सबैको मन र हृदयमा सर्व-प्रथम यहोवाको उपासना नै थियो भनी प्रमाणित गर्न तिनीहरू कडा मेहनतका साथ काम गर्न इच्छुक थिए। आज पनि त्यस्तै छ। शेष अभिषिक्त जनहरूका साथमा “परदेशीहरू . . . साँच्चै नै खडा” भएकाछन् र “भेडा-बाख्राहरूलाई चराउने” काम गरिरहेकाछन्। (यशैया ६१:५) अतः ईश्वर-प्रदत्त आशा हाम्रो जे भएता पनि, र आर-मागेडोनमा यहोवाको सत्यता प्रमाणित हुने दिन आउन अघि, आत्माद्वारा नियुक्त भएका प्राचीनहरूलाई जे सुअवसरहरू प्रदान गरिएता पनि, हामी सबैले नै एउटा निःस्वार्थ, हितकारी र दानी स्वभावको विकाश गरौं। यहोवाले दिनु भएको महान लाभहरूको ऋण हामीले उहाँलाई कहिले चुकाउन नसकेता पनि उहाँको सङ्गठन भित्र हामीले जे गर्छौं त्यो तन-मनले गरौं। (भजनसंग्रह ११६:१२-१४; कलस्सी ३:२३) यस प्रकार “पृथ्वीमाथि राज्य गर्न” नियुक्त भएका अभिषिक्त जनहरूसँग अरू भेडाहरू मिलेर सेवा गर्दा, हामी सबैले नै साँचो उपासनाका निम्ति आफूलाई समर्पण गर्न सक्तछौं।—प्रकाश ५:९, १०. (w 4/15/92)
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इनकोरपोरेटेड द्वारा प्रकाशित्, पाना १४२-८.
याद राख्नु पर्ने बुँदाहरू
◻ पुरातन इस्राएलमा लेवीहरू कुन तरिकामा “दिइएकाहरू” थिए?
◻ कुन गैर-इस्राएलीहरू निर्वासनबाट फर्किए, र तिनीहरूले कसको पूर्वाभास गरे?
◻ नेथिनिमबारे के परिवर्तन भए जस्तो छ?
◻ नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानहरूसित सम्बन्धित कुन समानान्तरको अहिले मूल्याङ्कन गरिन्छ?
◻ अभिषिक्त जनहरू र अरू भेडाहरूका बीच रहेको सहयोगले के विश्वास उत्पन्न गराउँछ?
[पृष्ठ २८-मा भएको पेटी]
एउटा परिवर्तित स्थिति
निर्वासनबाट फर्किएका केही गैर-इस्राएलीहरूले आफ्नो स्थितिमा परिवर्तन अनुभव गरेको विषयमा धेरै बाइबल शब्दकोषहरू र इन्साइक्लोपिडियाहरूले टिप्पणी गरेका छन्। उदाहरणकालागि, “तिनीहरूको स्थितिमा परिवर्तन” भन्ने शिर्षकमनि, द इन्साइक्लोपिडिया बिब्लिका भन्दछ: “अघि नै सङ्केत गरिए अनुसार, तिनीहरूको सामाजिक प्रतिष्ठा आवश्यकतानुसार बढाइयो। [नेथिनिम] अब कडा अर्थमा दासहरू जस्ता देखिंदैनन्।” (चान र ब्लैकद्वारा सम्पादित, खण्ड ३, पाना ३३९९) द साइक्लोपिडिया आफ बिब्लिकल लिटरेचरमा, जोन किटो लेख्तछन्: “तिनीहरूमध्यबाट [नेथिनिमहरूमध्य] धेरै पलिस्तिनमा यस्तो साधारण काम गर्नका निम्ति फर्किएलान् भनी आशा गरिएको थिएन . . . यिनीहरूले आफ्नो स्वविवेकद्वारा यसरी देखाएको भक्तिको कारण, नेथिनिमको सामाजिक स्थान धेरै नै बढेर गयो।” (खण्ड २, पाना ४१७) द इन्टरन्याशनल स्टाण्डर्ड बाबइल इन्साइक्लोपिडियाले देखाउँछ: “यी घटनाहरूको सन्दर्भ र सुलेमानको समयमा तिनीहरूले निभाएको भूमिकाको परिपेक्षमा, सुलेमानका चाकरहरूलाई दोस्रो मन्दिरमा महत्त्वपूर्ण जिम्मावारीहरू सुम्पिएको थियो होला भनी अनुमान लाउन सकिन्छ।”—जी. डब्लू. ब्रोम्लेद्वारा सम्पादित, खण्ड ४, पाना ५७०.
[पृष्ठ २९-मा भएको चित्र]
यरूशलेमलाई पुनर्निर्माण गर्न इस्राएलीहरू फर्किंदा हजारौं गैर-इस्राएलीहरूले तिनीहरूलाई साथ दिएका थिए
[पृष्ठ ३१-मा भएको चित्र]
कोरियाको शाखा समिति। पुरातन नेथिनिमले जस्तै, अरू भेडाहरूले पनि साँचो उपासनामा महत्त्वपूर्ण जिम्मावारीहरू उठाउँछन्