परमेश्वरले कसको कदर गर्नुहुन्छ?
हामीलाई आफ्ना सङ्गीहरूले मन पराएको हामी सबै नै चाहन्छौं। तर एकजना मसीहीमा चाहिं परमेश्वरको नजरमा मनपर्दो हुने एउटा अझ बलियो इच्छा हुनुपर्छ। यहोवा परमेश्वरबारे भजनसंग्रह ८४:११-मा यसरी उल्लेख गरिएको छ: “परमप्रभुले अनुग्रह र गौरव दिनु हुनेछ, इमान्दारीसँग हिंड्नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्न।” “उहाँले [परमेश्वरले] कदर गर्नु हुने मानिसहरूका निम्ति पृथ्वीमा शान्ति” होस् भन्दै स्वर्गदूतहरूले येशू जन्मिनुहुँदा आनन्दसाथ कराउँदै प्रतिज्ञा गरे।—लूका २:१४, मोफेट.
तर परमेश्वरले कसको कदर गर्नु हुन्छ? के परमेश्वरका स्तरहरू मानिसका जस्तै छन्? निश्चय नै छैनन् भनेर अघिल्लो लेखमा छलफल गरिएका कुराहरूबाट देखिसक्यौं। यथार्थमा, मसीहीहरूलाई “परमेश्वरको देखा-सिकी गर्ने होओ” भनेर सल्लाह दिइएको छ। अतः हामी प्रत्येकले आफूलाई यी प्रश्नहरू सोध्नु उचित हुने छ: जुन मानिसहरूलाई परमेश्वरले कदर गर्नु हुन्छ, के म पनि ती व्यक्तिहरूको कदर गर्ने गर्छु? कि मानिसहरूलाई सांसारिक स्तरहरूको आधारमा जाँच्ने प्रवृत्ति ममा छ? (एफिसी ५:१) यहोवाको अनुग्रह र अनुमोदन प्राप्त गर्न हामीले होशियारीसाथ उहाँको दृष्टिकोण अपनाउनु पर्दछ।
परमेश्वरका उच्च स्तरहरू
प्रेरित पत्रुसले भने: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” यस बाहेक, परमेश्वरले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनेर प्रेरित पावलले पनि साक्षी दिएका थिए। (प्रेरित १०:३४, ३५; १७:२६) यसकारण शारीरिक बनौट जस्तो सुकै होस्, सबै मानिसहरू परमेश्वरको दृष्टिमा समान छन् भन्ने निष्कर्षमा पुग्नु मनासिब हो। अतः, कुनै व्यक्ति एउटा विशेष क्षेत्र, रङ्ग, वा जातिको हुँदैमा एकजना मसीहीले उसलाई बढी मान्यता दिन सुहाउँदैन। यसको सट्टा तिनले हाम्रो आदर्श, येशू ख्रीष्टको नमुना अनुसरण गरेमा राम्रो हुनेछ: किनभने येशूले कुनै भेद-भाव देखाउनु भएन भन्ने कुरा उहाँका शत्रुहरूले समेत स्वीकार गरे।—मत्ती २२:१६.
कम महत्त्वको अथवा महत्त्वहीन कुराहरूको वर्णन गर्ने बेलामा “छालासम्म मात्र सीमित” भन्ने अङ्ग्रेजी भाषाको अभिव्यक्ति अक्सर प्रयोग गरिन्छ। किनकि छालाको रङ्ग पनि त त्यस्तै हो; छालासम्म मात्र त्यो सीमित हुन्छ। मानिसको छालाको रङ्गबाट उसको व्यक्तित्व वा भित्री गुणहरू कदापि झर्ल्किदैन। सङ्गत गर्न, सङ्गै बसेर खान वा हात मिलाउनका लागि हामीले मानिस रोज्ने गर्दा तिनीहरूको छालाको रङ्गलाई विशेष ध्यान दिनु हुँदैन। अहिलेसम्म लेखिएको सबैभन्दा सुन्दर र प्रेमपूर्ण कवितालाई प्रेरणा दिने कन्याले आफ्नो विषयमा भनेकी यस कुरालाई नबिर्सनु होस्: “म श्यामवर्णकी तर सुन्दरी छु, . . . घामले डढेर अलिक काली” भएकी छु। (श्रेष्ठगीत १:५, ६) जाति र रङ्गको आधारमा अरूहरूको कदर गर्नु ठीक होइन। बरु त्यस व्यक्तिले परमेश्वरको भय मान्छ कि मान्दैन र ऊ धार्मिकतानुसार हिंडेको छ छैन भन्ने कुरा नै बढी महत्त्वपूर्ण हो।
मानिससित भौतिक धन-सम्पत्ति हुनु बारे परमेश्वरको विचार के छ? परमेश्वरले सबैभन्दा बढी मन पराउनु र कदर गर्नु भएको व्यक्ति उहाँको पुत्र येशू ख्रीष्ट हुनु हुन्छ। तापनि, उहाँ पृथ्वीमा हुनु हुँदा येशूका लागि “शिर अडाउने ठाउँ पनि” थिएनन्। (मत्ती ८:२०) उहाँसँग जमीन-जायदाद, घर-खेत, फलफूलका वृक्षहरू वा पशुहरू, केही थिएन। तैपनि यहोवाले उहाँको कदर गर्नुभयो र ब्रह्माण्डमा परमेश्वर बाहेक अरू सबैभन्दा एउटा उच्चतम स्थान दिनुभयो।—फिलिप्पी २:९.
येशू ख्रीष्ट भौतिक सरसामानहरूमा होइन तर असल कार्यहरूमा धनी हुनु भएको कारण परमेश्वरले उहाँलाई कदर गर्नु भयो। (१ तिमोथी ६:१७, १८ सँग तुलना गर्नुहोस्।) आफ्ना चेलाहरूलाई पनि उहाँले यसरी नसिहत दिनुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन।” (मत्ती ६:१९, २०) तसर्थ यस संसारका सरसामानहरूमा धनी हुनेहरूलाई मात्र कदर गर्नुको सट्टा मसीहीहरूले सांसारिक सम्पत्तिको आधारमा कुनै भेद-भाव देखाउनु हुँदैन। तिनीहरूले परमेश्वरतर्फ धनी हुने मानिसहरूको खोजी गर्ने छन्। ती मानिसहरू भौतिक तवरमा गरीब होस् वा धनी। “परमेश्वरले यस पृथ्वीका कङ्गालीहरूलाई विश्वासको खानी, र उहाँलाई प्रेम गर्नेहरूको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका राज्यको हकदार बनाउनालाई” चुन्नुभएको छ भन्ने कुरालाई कहिल्यै नबिर्सनुहोस्। (याकूब २:५) परमेश्वरको दृष्टिकोण राख्नुभयो भने तपाईं कहिल्यै पनि भौतिक तवरमा धनी हुनेहरूलाई कदर गर्ने वा तिनीहरूको चापलुसी गर्ने व्यापक चलनको शिकार बन्नु हुनेछैन।
शिक्षाको सम्बन्धमा कुरा गर्ने हो भने, परमेश्वरले हामीलाई ज्ञान र बुद्धिको खोजी गर्ने प्रोत्साहन दिनु हुन्छ र पृथ्वीमा अझसम्म पाइला राख्नु भएको सबैभन्दा महान शिक्षक स्वयं येशू हुनु हुन्थ्यो भनेर बाइबलले स्पष्टसँग देखाउँदछ। (हितोपदेश ४:७; मत्ती ७:२९; यूहन्ना ७:४६) तर सांसारिक बुद्धि वा शिक्षाको मात्र परमेश्वरले कदर गर्नु हुन्न। यसको ठीक विपरीत पावलले हामीलाई भन्छन् कि “शरीर अनुसार धेरैजना बुद्धिमान (लाई) . . . बोलावट भएको छैन . . . तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो।”—१ कोरिन्थी १:२६, २७.
उच्च शिक्षाका विद्यालयहरूमा सिकाइने सांसारिक विषयहरूमा शिक्षा पाएका व्यक्तिहरूको परमेश्वरले कदर गर्नुहुन्न। बरु उहाँले ती जनहरूको कदर गर्नुहुन्छ जो उहाँको वचन बाइबलमा पाइने सत्यको “शुद्ध भाषा”-मा पोख्त छन्। (सपन्याह ३:९) वास्तवमा, आज यहोवा आफैले आफ्ना मानिसहरूलाई पृथ्वीको कुना कुनासम्म फैलिएको एउटा शैक्षिक कार्यक्रमद्वारा सिकाइरहनु भएको छ। अगमवक्ता यशैयाले अगमवाणी गरे झैं, सारा राष्ट्रका मानिसहरूले यी शब्दहरूद्वारा आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन्: “आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्नेछौं।” यसकारण सांसारिक शिक्षालाई उच्च स्थान दिनुको सट्टा मसीहीहरूले त्यस्ता व्यक्तिहरूको खोजी गर्नेछन् जसले आफ्नो काम र वचनद्वारा तिनीहरू साँच्चै नै “परमप्रभुबाट सिकाइएका (व्यक्तिहरू)” हुन् भनी प्रमाणित गर्दछन्। यसो गरेमा तिनीहरूले परमेश्वरले दिनुहुने “ठूलो शान्ति”-को आनन्द उठाउनेछन्।—यशैया २:३; ५४:१३.
हामी परमेश्वरको अनुग्रह पाउन सक्छौं
हो, अरूहरूको कदर गर्ने कुरामा परमेश्वरका स्तरहरू मानिसहरूको भन्दा धेरै नै फरक छन्। तथापि, उहाँले हाम्रो कदर गरेको हामी चाहन्छौं भने, उहाँका तौर-तरिकाहरू अनुसार निर्देशित हुने कोशिश हामीले गर्नै पर्छ। यसको अर्थ हामीले अरूहरूलाई स्वार्थ र पूर्वाग्रहको भावनाले ग्रसित मानवीय दृष्टिकोणले होइन तर परमेश्वरको दृष्टिकोणबाट हेर्न सिक्नु पर्छ। यो हामी कसरी गर्न सक्छौं?
यहोवा परमेश्वरले मानिसको हृदय जाँच्नु हुन्छ। प्रेम, भलाइ, दया र धीरजजस्ता गुणहरू प्रदर्शित गर्ने मानिसहरूलाई उहाँ कदर गर्नुहुन्छ। हामीले पनि त्यस्तै गर्नुपर्छ। (१ शमूएल १६:७; गलाती ५:२२, २३) हामीले छालाको रङ्ग वा जातीय पृष्ठभूमि हेर्नु भएन। बरु सकेसम्म मानिसको भित्री रूपलाई हेर्नुपर्छ। भौतिक कुराहरूमा धनी हुनेहरूलाई खोजी हिंड्नुको सट्टा हामीले धनप्रति परमेश्वरको दृष्टिकोणलाई अपनाउनु पर्दछ र “असल काममा उदारचित्त भएर धनवान” हुने प्रयत्न गर्नुपर्छ। (१ तिमोथी ६:१८) परमेश्वरले हाम्रो कदर गर्नु भएको हामी चाहन्छौं भने हामीले परमेश्वरको र उहाँको पुत्र येशू ख्रीष्टको सही ज्ञानको खोजी गरी नै रहनुपर्दछ र सत्यको शुद्ध भाषामा पोख्त हुने हामीलाई खाँचो छ। (यूहन्ना १७:३, १७) यसो गऱ्यौं भने हामी पनि परमेश्वरले कदर गर्नु हुनेहरू मध्येका हुनेछौं। (w92 12/1)