कुन प्रकारका मानिसहरूलाई तपाईं कदर गर्नुहुन्छ?
वधू चाहियो। गहुँ गोरो, राम्रो जीउ-डाल भएकी र ग्य्राजुएट। पोस्ट ग्य्राजुएट भन्दा बढी पढेकी भए झनै राम्रो। जमीन-जयदाद सहितको कुलीन घरानाबाट आएकी हुनुपर्छ। एकै जातको भएमा बेस हुनेछ।”
विवाह सम्बन्धी यस्तो विज्ञापन सायद तपाईंले भारतको कुनै समाचार पत्रमा देख्नु होला। हुन सक्छ विश्वका अन्य भागहरूमा पनि यस्तै मिल्दो-जुल्दो कुरा तपाईं देख्न सक्नुहुन्छ। भारतमा प्रायः यस्तो सूचना विवाह गर्न इच्छुक कुनै पुरुषका आमा-बाबुले छपाउने गर्छन्। यसको जवाफमा रातो रङ्गको सारी र सुनको गर-गहना टम्म लाएकी केटीको फोटो समेत आउन सक्छ। केटा पक्षको परिवारलाई मन परेमा विवाह सम्बन्धी कुराकानी सुरु हुन सक्छ।
प्रायः सबैले रुचाएका स्तरहरू
विवाहका लागि गोरी केटीको माग गर्ने कुरा भारतमा अति नै प्रचलित छ। यसको कारण के हो भने हिन्दू समाजका तल्लो जात भनौदाहरू कालो रङ्गको हुन्छन् भन्ने गहिरो धारणा छ। हालसालै भारतको टेलिभिजन कार्यक्रममा काली र गोरी, दुईजना केटीहरूको कथा देखाइएको थियो। गोरी केटी निर्दयी र अभद्र, काली केटी दयालु र शान्त स्वभावकी थिइ। अचानक जादुइ परिवर्तन हुन्छ र गोरी केटीलाई काली हुने सजाय हुन्छ र काली केटीले चाहिं गोरी हुने इनाम पाउँछे। निस्सन्देह कथाको नैतिक सार अन्तमा सत्य कै जित हुन्छ भन्ने भए तापनि गोरो वर्णको हुनु चाहिं एउटा मनपर्दो इनाम हो भन्ने कुरा यसबाट देखिन्छ।
यस्ता जातीय भावनाहरू हामीले सोचेको भन्दा प्रायः निकै नै गहिरो हुन्छ। उदाहरणका लागि, एकजना एसियाली मानिसले एउटा पश्चिमी देशमा गएर त्यहाँ उसको छालाको रङ्ग वा आँखाको बनौटको कारण उसलाई दुर्व्यवहार गरियो भनेर गुनासो गर्न सक्छ। यस प्रकारको व्यवहारले गर्दा ऊ विचलित हुन्छ र आफू भेद-भावको शिकार भयो भनी ठान्न सक्छ। तर जब ऊ आफ्नो देश फर्कन्छ तब उसले पनि अरू जातिका मानिसहरू सित त्यस्तै व्यवहार गर्न सक्छ। आज पनि मानिसहरूले कसैको कदर गर्ने नगर्ने फैसला उसको छालाको रङ्ग र जातीय पृष्ठभूमिको आधारमा गर्छन्।
“यी सबै गराउने रुपियाँ-पैसा नै हो,” भनेर प्राचीन समयको राजा सुलेमानले लेखे। (उपदेशक १०:१९) यो कुरा कति सत्य छ! मानिसप्रति कुन दृष्टि अपनाइने हो, त्यसमा धनको असर पनि पर्दछ। त्यो धन-सम्पत्ति कसरी कमाइयो, सो कमै सोधिन्छ। कुनै मानिस परिश्रम गरेर वा पैसालाई होशियारीका साथ चलाएर धनी भएको वा ठगी काम गरेर भएको हो? यसको केही महत्त्व हुँदैन। गलत काम गरेर कमाएको होस् वा नहोस्, धन हुने व्यक्तिको चापलुसी गर्न धेरै मानिसहरू अघि सर्छन्।
उच्च शिक्षालाई पनि यस प्रतियोगितात्मक संसारमा ठूलो मान्यता दिइएको छ। बच्चा जन्मिने बित्तिकै आमा-बाबुहरू उसको शिक्षाका लागि ठूलो रकम जम्मा गर्न थाल्छन्। ऊ दुई या तीन वर्षको हुनासाथै उसलाई विश्वविद्यालयको उपाधिसम्म पुऱ्याउने लामो यात्रामा प्रथम कदम चाल्दै उसको आमा-बाबुले उसलाई एउटा राम्रो नर्सरी स्कूल वा किण्डरगार्डेनमा भर्ना गर्ने चिन्ता गर्न थाल्छन्। कसै कसैको विचारमा आफूसित एउटा प्रतिष्ठापूर्ण डिप्लोमा हुनुको अर्थ सबैबाट मान्यता र आदर पाउने अधिकार प्राप्त गर्नु हो।
हो, मानिसको रङ्ग, शिक्षा, पैसा, जातीय पृष्ठभूमि—आज यी नै कुराहरू निर्णायक स्तरहरू भएका छन्। यी कुराहरूकै आधारमा धेरै व्यक्तिहरूले अरूहरूको कदर गर्ने नगेर्ने फैसला—भनौं भने पूर्व-फैसला नै गर्ने गर्छन्। यी सबै कुराहरूकै आधारमा मानिसहरू एकअर्काको कदर गर्ने वा न गर्ने फैसला गर्छन्। यस सम्बन्धमा तपाईंबारे के भन्न सकिन्छ? तपाईं कसको कदर गर्नुहुन्छ? के तपाईं पैसा, गोरो छाला भएको वा उच्च शिक्षा प्राप्त व्यक्तिहरूलाई मात्र कदर र सम्मान पाउने योग्यको ठान्नुहुन्छ? यस्तो हो भने, तपाईंका यस्ता धारणाहरूको आधारलाई तपाईंले गम्भीरतापूर्वक जाँच गर्नु आवश्यक छ।
के यी स्तरहरू ठीक हुन्?
हिन्दू वर्ल्ड भन्ने पुस्तक यसरी टिप्पणी गर्दछ: “ब्राह्मणको हत्या गर्ने तल्लो जातको कुनै पनि व्यक्तिलाई नमेरसम्म शासना दिइन सकिन्थ्यो, उसको धन-सम्पत्ति जफत गरिन्थ्यो र उसको आत्माले नरकमा अनन्तकाल सम्मै सजाय भोग्नु पर्थ्यो। तर ब्राह्मणले कसैको हत्या गरेमा चाहिं उसलाई जरिवानामात्र हुनसक्थ्यो र मृत्युदण्ड भने उसलाई कहिल्यै दिंइन्दैन थियो।” हुनः त यस पुस्तकले पुरातन समयबारे कुरा गरिरहेको छ। तर यस सन्दर्भमा वर्तमान स्थिति कस्तो छ? बीसौं शताब्दीमा समेत जातीय पूर्वाग्रह र क्षेत्रीय तनावको कारण रगतको खोला बगेको छ। र यो परिस्थिति भारतमा मात्र सीमित छैन। दक्षिण अफ्रिकामा रङ्गभेदको कारणले उब्जेको घृणा र हिंसा, संयुक्त राज्यको जातीय पूर्वाग्रह, बाल्टिक गणराज्यको राष्ट्रिय पूर्वाग्रह र अन्य ठाउँहरूमा भइ रहेका सबै कुराको पछाडि आत्म-श्रेष्ठताको भाव छ। जातीय अथवा राष्ट्रियताको कारण एउटालाई भन्दा अर्कोको कदर गर्नाले निश्चय पनि परिणाम असल वा शान्तिमय भएको छैन।
धन-सम्पत्तिको विषयमा के भन्न सकिन्छ? निस्सन्देह, इमान्दारीका साथ परिश्रम गरेर धेरैजना धनी भएका छन्। तथापि, अपराधी-वर्ग, काला-बजारी गर्नेहरू, लागू-पर्दाथका व्यापारीहरू, अवैध हात-हतियारका विक्रेताहरू र यस्तै अन्य व्यक्तिहरूले रासका रास धन-सम्पत्ति थुपारेका छन्। हो, यिनीहरूमध्ये कुनैकुनैले परोपकारी अथवा गरीबलाई मदत गर्ने योजनाहरूका लागि चन्दा दिने गर्छन्। तथापि, तिनीहरूको शिकार हुनेहरूले तिनीहरूको अपराधी क्रियाकलापको परिणामस्वरूप हुन सम्मको पीडा र कष्ट भोग्नु परेको छ। यिनीहरूको तुलनामा केही साना देखिने अपराधीहरू अर्थात् घूसखोरहरू वा शङ्कास्पद रीतिले व्यापार गर्नेहरू पनि नैराश्य, नोक्सानी अथवा स्वयं तिनीहरूले बनाएको वा गरेको काम राम्रोसित नचल्दा, मृत्यु समेतको शिकार भएका छन्। अवश्य पनि अरूहरूको कदर गर्ने वा नगर्ने फैसला धन-सम्पत्तिको आधारमा मात्र गर्नु हुँदैन।
तर शिक्षाको विषयमा के भन्न सकिन्छ? कुनै व्यक्तिको नाउँको पछाडि शैक्षिक उपलब्धिका उपाधिहरू र अन्य पदहरूको लामो सूची जोडिएको छ भन्दैमा त्यो व्यक्ति इमान्दार र धर्मी छ भन्न सकिन्छ र? के यसको अर्थ हामीले उसको कदर गर्नुपर्ने हो? यो साँचो हो कि शिक्षाले मानिसको विचारलाई फराकिलो पारिदिन सक्छ र आफ्नो शिक्षालाई अरूहरूको लाभका लागि प्रयोग गर्ने धेरै व्यक्तिहरू आदर र सम्मान पाउने योग्यका छन्। तर शिक्षित वर्गले जनसाधारणलाई शोषण र दमन गरेका उदाहरणहरू इतिहासभरि पाइन्छन्। साथै, आज-भोलि कलेज र विश्वविद्यालयहरूमा भइरहेका कुराहरूलाई विचार गर्नुहोस्। क्याम्पसहरू लागू-पदार्थको दुरुपयोग र यौन सम्बन्धबाट सर्ने रोगहरू जस्ता समस्याहरूले ग्रसित छन्। धेरैजसो विद्यार्थीहरू पैसा, शक्ति र ख्याति प्राप्त गर्नका लागि मात्र भर्ना हुन्छन्। कुनै व्यक्तिको शिक्षा नै उसको असली चरित्रको एउटा भरपर्दो सङ्केत हो भन्नु मिल्दैन।
छालाको रङ्ग, शिक्षा, पैसा, जातीय पृष्ठभूमि वा यस्ता अन्य कुराहरूको आधारमा एक जना व्यक्तिले अर्को व्यक्तिको मोल गर्नु पटक्कै उचित कुरा होइन। अरूहरूले आफ्नो कदर गरोस् भनेर मसीहीहरू यस्ता कुराहरूमा व्यस्त रहनु हुँदैन। उसो भए मानिसले कुन कुरालाई विशेष ध्यान दिनु पर्दछ त? कुन स्तरहरूलाई मान्यता दिनु पर्ने हो? (w92 12/1)