मलावीको सुसमाचार!
दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा नोभेम्बर १५, १९९३ का दिन वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी औपचारिक रूपमा दर्ता गरियो। यसले यहोवाका साक्षीहरूलाई कानूनी मान्यता र मलावीका मानिसहरूलाई बाइबलका सच्चाइहरू प्रचार गर्न स्वतन्त्रता दिनेछ।
यहोवाका साक्षीहरूको काम सञ्चालन गर्न सन् १९४८ मा मलावीमा वाच टावर सोसाइटीको शाखा कार्यालय स्थापना भएको थियो। जनवरी ८, १९५७ मा पहिलो पटक त्यहाँ वाच टावर सोसाइटी दर्ता भएको थियो। कयौं वर्षसम्म यहोवाका साक्षीहरूले ठूलो वृद्धिको आनन्द उठाए। तर सन् १९६४ मा भीषण सतावट सुरु हुन थाल्यो। किन?
परमेश्वरप्रति आज्ञाकारी हुँदै यहोवाका साक्षीहरूले राजनीतिमा कडा तटस्थता कायम गरे। (यूहन्ना १७:१६) स्पष्ट छ, कसै कसैले यस शास्त्रीय अडानलाई राम्ररी बुझेनन् र साक्षीहरू उग्रवादी धर्म र बहिष्कृत व्यक्तिहरू हुन् भनी गलत दृष्टिकोण राखे। यसर्थ, यी शान्तिप्रिय मसीहीहरूलाई सताउनु कसै कसैलाई न्यायोचित नै लाग्यो। थुप्रै साक्षीहरूको जागिर खोसिए, पिटिए र बेइज्जत गरिए। कसै कसैलाई आफ्ना केटाकेटीहरूबाट जबर्जस्ती छुट्याइयो।
सन् १९७२ मा ३०,००० भन्दा बढी साक्षीहरू र तिनीहरूसित बाइबल अध्ययन गरिरहेका केही व्यक्तिहरू आफ्नो ज्यान जोगाउन देश छाडेर भागे। छिमेकी राष्ट्र मोजाम्बिकका शरणार्थी शिविरहरूमा हजारौंले बसोबास गरे। तर सन् १९७५ मा यी शरणार्थीहरूलाई मलावीमा फिर्ता पठाइए र त्यहाँ तिनीहरूले थप सतावट भोग्नु पऱ्यो। थुप्रै शरणार्थीहरू यातना शिविरहरूमा हालिए। यी उत्पीडनहरू भइरहेको बेला मलावीका कानूनी मान्यताप्राप्त सङ्गठनहरूको सूचीबाट वाच टावर सोसाइटीको नाउँ हटाइयो। त्यसै समयदेखि यस मुलुकमा यहोवाका साक्षीहरू र तिनीहरूको कानूनी मान्यताप्राप्त सङ्गठन प्रतिबन्धित भएको हो।
यस्ता कामकुराहरूको बावजूद साक्षीहरूले प्रतिरोध गरेनन्। तिनीहरूले सरकारको विरोध गर्न कहिल्यै हूलहरू जम्मा अथवा हुलदङ्गा गरेनन्। बरु, तिनीहरूले सरकारी “उच्च अख्तियारवालाहरूप्रति” उचित आदर र सम्मान देखाउनुपर्ने आफ्नो मसीही जिम्मेवारी प्रार्थनापूर्वक पूरा गरे। (रोमी १३:१-७; १ तिमोथी २:१, २) बाइबलमा उल्लिखित मसीही जीवनको उच्चस्तरहरू पनि साक्षीहरूले कायम गरे र फलस्वरूप तिनीहरूले आचरणसम्बन्धी अत्युत्तम उदाहरण बसाल्न सके।
भर्खरै प्राप्त स्वतन्त्रतापछि मलावीका यहोवाका साक्षीहरू “समयमा [अनुकूल समयमा, न्यु व.]” ढिलासुस्ती नगरीकन बाइबलका सच्चाइहरू प्रचार गर्न कटिबद्ध छन्।—२ तिमोथी ४:२. (w94 5/15)
[पृष्ठ ३१-मा भएको चित्र]
सन् १९६० तिर मलावी बेथेल परिवारसित एम. जी. हेन्शल