सिंगापुरले धार्मिक स्वतन्त्रतामाथि दमन गर्छ
फेब्रुअरी २४, १९९५ को साँझपख सिंगापुर शहरमा प्रहरीहरूले चारवटा घरमा छापा मारेर ६९ मानिसहरूलाई गिरफ्तार गरे।a तीमध्ये एक जना ७१ वर्षीया वृद्धा र दुइ जना १५ वर्षीया बालिकाहरू थिए। गिरफ्तारको गर्नुको कारण? के तिनीहरूले कुनै अपराध वा अराजक क्रियाकलापमा भाग लिएका थिए? अहँ, थिएनन्। तिनीहरूमध्ये कसैले रत्तिभर खतरापूर्ण, अनैतिक वा समाजविरोधी काम गरेका थिएनन्। संगी सिंगापुरवासीहरूको हित, नैतिक मूल्य तथा मान्यता र सुरक्षाका निम्ति तिनीहरू कुनै खतरा थिएनन्। तैपनि, ती चार घरको खानतलासी लिइयो र बाइबल अध्ययन तथा सामाजिक जमघटको आनन्द उठाउन आएका ६९ जनालाई गिरफ्तार गरेर थाना लगियो। रातभर तिनीहरूलाई त्यहीं राखियो, पुछताछ गरियो, ल्याप्चे अनि फोटो लिइयो। हो, एउटा साधारण अपराधीलाई झैं व्यवहार गरियो! तर १८ घण्टासम्म त्यस्तो अमानवीय अवस्थामा राख्दा कानुनी सल्लाह लिन त परै जाओस्, आफू कहाँ छ भनेर परिवारलाई समेत बताउन पाएनन्। कुनै औपचारिकता वा सुचनाबिना त्यस्तो कारबाही गरिंदा यी शान्तिप्रिय र कानुनपालक नागरिकहरूमाथि के बित्यो होला, त्यो कल्पना गर्न गाह्रो छ!
वास्तवमा, यी मानिसहरूमाथि जे-जस्तो व्यवहार गरियो, त्यो नाजी जर्मनीको कालो युग अनि सोभियत संघ तथा पूर्वी युरोपको साम्यवादी युगताका गरिएको व्यवहारभन्दा कम थिएन। सिंगापुर घुम्न आउने आगन्तुकले शायद सफा, धनी अनि आधुनिक शहरभित्र त्यस्तो व्यवहारको आशा नगर्ला। सिंगापुरले यस २० औं शताब्दीमा आर्थिक तथा सामाजिक प्रगति गरेर आश्चर्यजनक छवि बसालेको छ। यस राष्ट्रले त्यस्तो प्रजातन्त्रको घोषणा गरेको छ, जहाँ हरेक नागरिकलाई वाक् स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र भेला हुने स्वतन्त्रतालगायत अन्य आधारभूत मानव अधिकारको ग्यारेन्टी दिने विधान छ।
यद्यपि, बाइबल अध्ययन तथा मसीही संगत गर्न भेला भए भन्ने एउटै आधारको भरमा फेब्रुअरीमा ती मानिसहरू गिरफ्तार भए। तिनीहरूमाथि “गैरकानुनी संगठनको सभा धाएको” अभियोग लगाइयो।
सन् १९७२ मा सरकारले सिंगापुर मण्डलीको आधिकारिक दर्ता रद्द गर्नुका साथै वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबललगायत अन्य साहित्यहरूमाथि प्रतिबन्ध लगाएको थियो। वास्तवमा, त्यहाँदेखि यता यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दिइएको छैन। कुनै किसिमको सफाइ पेश गर्ने मौका पनि दिइएको छैन। पछि, निषेधित बाइबल साहित्य राखेको अभियोगमा सन् १९९४, फेब्रुअरी महिनामा चार जना साक्षीहरूलाई दोषी ठहराइयो। यही मुद्दालाई लिएर हालै सिंगापुर अदालतमा यहोवाका साक्षीहरूमाथि गरिएको आधिकारिक भेदभावको वैधतामाथि चुनौती खडा गरियो। अदालतलाई अपिल गर्दा सन् १९९४, अगस्त महिनामा सुनुवाइ भयो। तर अदालतले राम्ररी केलाएर हेर्नुको साटो सरसरती हेरेर त्यतिकै मुद्दा फछ्र्यौट गऱ्यो। त्यसपछि अर्को महिनामा प्रधान न्यायाधीश योंग पंग हाउले आफ्नो फैसला सुनाए। तिनको फैसला यसप्रकार थियो। यहोवाका साक्षीहरूले सैन्य सेवामा भाग नलिने हुँदा तिनीहरू देशको सुरक्षाका निम्ति खतरापूर्ण छन्। त्यसैकारण, तिनीहरूमाथि लगाइएको अभियोग न्यायोचित छ र त्यसले धार्मिक स्वतन्त्रताको उल्लंघन गर्दैन। फेब्रुअरी १७, १९९५ मा ती चार जना साक्षीहरूले यो कठोर निर्णय विरुद्ध सिंगापुर अपिल अदालतमा अपिल चढाउने अनुमति मागे। तर तिनीहरूको आवेदन स्वीकृत भएन।
सरकार-नियन्त्रित सिंगापुर प्रेसले यो अन्तिम निर्णयलाई निकै महत्त्व दिएको थियो। वास्तवमा, अदालतको निर्णय र त्यसको प्रचार प्रसारले गर्दा नै त्यसपछिका घटनाहरू भएका हुन्। किनभने अपिल गरेको हप्तादिनभित्र ६९ साक्षीहरू गिरफ्तार भए। यिनीहरूमध्ये चार जना—बेलायत, फ्रान्स र लक्जमबर्गका नागरिकहरूमाथि लगाइएको अभियोग चाहिं पालैसित रद्द गरियो। तथापि, रिहा हुने यी मानिसहरूको अनुभव साह्रै कहालीलाग्दो छ। एक जना मानिस आफ्नी श्रीमतीसित सिंगापुर बसेर काम गरेको वर्षौं भइसकेको थियो। तैपनि तिनीहरूले आफ्नो जागिर गुमाए, बहालमा लिएको घर छोड्नुपऱ्यो र आफ्ना थुप्रै घनिष्ठ मित्रहरूसित जबरजस्ती बिदा माग्नुपऱ्यो।
बाँकी ६३ जनालाई चाहिं प्रतिबन्धित संगठनसित साँठगाँठ राखेको अभियोग लगाइयो। अझ तिनीहरूमध्ये कसै कसैलाई अवैध साहित्य राखेको अभियोग पनि लगाइयो। तिनीहरूले अधिकतम तीन वर्ष जेल वा ३,००० सिंगापुर डलर (२,१०० अमेरिकी डलर) जरिवाना वा दुवै सजाय पाउनसक्छन्। दुइ जना १५ वर्षीया केटीहरूलाई चाहिं नाबालिग अदालतमा छुट्टाछुट्टै लगियो।
राष्ट्रियता र अखण्डताका लागि कुनै खतरा होइनन्
यहोवाका साक्षीहरू संसारका २०० भन्दा बढी मुलुकहरूमा बसोबास गर्छन्। ती सबै ठाउँहरूमा तिनीहरू भद्र, इमानदार र कानुन- पालक मानिसहरूको नाउँले परिचित छन्। तिनीहरू कुनै किसिमको अराजक, सरकार विरोधी काममा भाग लिनदेखि कडा इन्कार गर्छन् भनेर पनि सबैलाई थाह छ। अझ भनौं भने, ती कामहरू मसीहीहरूले गर्न नहुने भएकोले कसैले त्यसो गरेमा बहिष्कृत हुनसक्छ। अतः वास्तवमा सिंगापुर सरकारले यहोवाका साक्षीहरूसित डराउनुपर्ने कुनै कारण छैन। तिनीहरू देशको सुरक्षा वा राष्ट्रियता र अखण्डताका लागि कुनै खतरा होइनन्। (रोमी १३:१-७) यो कुरा, १९९५ मार्च २१ तारिखका दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष मिल्टन जि. हेन्सचेलले सिंगापुरका प्रधानमन्त्री गो चोक टंगलाई लेखेको पत्रमा स्पष्ट उल्लेख गरिएको छ। हाम्रा पाठकहरूको लाभका लागि उक्त पत्र यहाँ पुन: प्रकाशित गरिएको छ।
स्वतन्त्रता-प्रेमी व्यापारी, सरकारी अधिकृत र गैरसरकारी पेशामा लाग्ने मानिसहरूले सिंगापुरको यो वर्तमान परिस्थितिमा के कस्ता परिवर्तन हुनेछ, त्यो चाख दिएर हेर्नेछन्। स्वयं सिंगापुर सरकारको संविधान र राष्ट्रहरूको अन्तरराष्ट्रिय समुदायले तयार पारेको आधारभूत मानव अधिकार तथा स्वतन्त्रताअनुरूप के सिंगापुर सरकारले कदम चाल्नेछ त? त्यो मानिसहरूले जाँच्नेछन्। निस्सन्देह, सिंगापुरमा बसोबास गर्ने आफ्ना संगी उपासकहरूको यस्तो वर्तमान स्थिति देखेर संसारभरि यहोवाका साक्षीहरू असाध्यै चिन्तित छन्। यद्यपि, आफ्नो प्रार्थनामा तिनीहरूलाई सम्झँदै उनीहरू बाइबलले दिने यो आश्वासनलाई मनमा राख्छन्: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न।”—भजन ३७:२८.
[फुटनोट]
a यी ६९ जना गिरफ्तार भएकै महिनामा अवैध साहित्य राखेको अभियोगमा अन्य ११ जना गिरफ्तार भएका थिए।
[पृष्ठ ३०-मा भएको पेटी]
मार्च २१, १९९५
गो चोक टंग
प्रधानमन्त्री
इस्ताना एनेक्स सिंगापुर ०९२३ गणतन्त्र सिंगापुर
वरिष्ठ मन्त्री
लि क्वान यु
प्रधानमन्त्रीको कार्यालय
४६० अलेक्जान्ड्रा मार्ग
३७-०० पिएसए भवन
सिंगापुर ०५११
गणतन्त्र सिंगापुर
महोदय,
सन् १९९५ फेब्रुअरी २५ तारिखका दिन सिंगापुरबाट प्रकाशित भएको रोइटर समाचार असाध्यै खेदपूर्ण थियो। उक्त समाचारमा प्रहरीले यहोवाका साक्षीहरूको बाइबल अध्ययन सभा भंग गर्नुको साथै ६९ जनालाई गिरफ्तार गरेको रिपोर्ट दिइएको थियो। यो समाचारले सारा संसारको ध्यान सिंगापुरस्थित यहोवाका साक्षीहरूतर्फ केन्द्रित गरेको छ। जहाँ विगत २० वर्षदेखि यहोवाका साक्षीहरूको क्रियाकलाप तथा साहित्यहरू प्रतिबन्धित छन्।
यद्यपि, २०० भन्दा बढी मुलुकहरूमा खुलेआम कानुनन् सञ्चालन हुने धार्मिक संगठनमाथि सिंगापुरजस्तो प्रजातान्त्रिक मुलुकले किन प्रतिबन्ध लगाउनु पऱ्यो, त्यो बुझ्न भने कठिन छ। आफ्ना नागरिकहरूलाई धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिने सिंगापुरको संविधानलाई ध्यानमा राख्ने हो भने, यो कुराले झनै विचलित तुल्याउँछ।
यहोवाका साक्षीहरू देशको सुरक्षाका लागि कुनै खतरा होइनन्। निस्सन्देह, सारा संसारभरि तिनीहरूले शान्तिप्रिय, मेहनती, नैतिकवान र कानुनपालक मानिसहरूको हैसियतमा आफ्नो छवि बसालेका छन्। मलाई विश्वास छ, तपाईं पनि आफ्नो देशमा यी नै गुनहरूको प्रवर्धन गर्नुहुन्छ।
हो, मसीहीहरूका लागि बाइबलले तोकिदिएका स्तरहरू कडाइका साथ पालन गर्ने हुँदा यहोवाका साक्षीहरूप्रति बेलाबेला मानिसहरूको गलतफहमी भएको छ र गलत मतलब पनि निकालिएको छ। तर के मसीही धर्मका संस्थापकलाई पनि “सिजर” अर्थात् समकालीन सरकार विरोधी भनेर गलत अर्थ लगाइएको थिएन? यहोवाका साक्षीहरू केवल येशू तथा प्रारम्भिक मसीहीहरूको नमुना अनुकरण गर्न चाहन्छन्। तिनीहरू आफ्नो सरकारको आदर गर्छन्, कर तिर्छन् र असल नैतिकताको प्रवर्धन गर्छन्। तिनीहरू कर्तव्यनिष्ठ तथा इमानदार नागरिकहरू हुन्। यहोवाका साक्षीहरूले आजसम्म कुनै देशमा कुनै किसिमको अराजक क्रियाकलापहरूमा भाग लिएका छैनन्। अतः सिंगापुरमा बसोबास गर्ने साक्षीहरू तपाईंको मुलुकको राष्ट्रिय हितका लागि हानिकारक छैनन् भनेर म यहाँलाई आश्वासन दिनसक्छु।
हालै प्रकाशित समाचारहरूले गर्दा तपाईंको सरकारले यहोवाका साक्षीहरूमाथि गरेको दमन सर्वविदित छ। अझ विशेषगरि सारा संसारमा बसोबास गर्ने तिनीहरूका १ करोड २० लाख संगी उपासकहरूलाई त्यो कुरा चिन्ताको विषय हुन गएको छ। आफ्नो सम्माननीय ओहदाको प्रयोग गर्दै वर्तमान परिस्थिति समाधान गरिदिनुहुन र यहोवाका साक्षीहरूलाई तपाईंको मुलुकको संविधानले ग्यारेन्टी दिने धार्मिक स्वतन्त्रता प्रदान गर्नुहुन म विनम्र अनुरोध गर्छु।
मलाई पक्का विश्वास छ, यहोवाका साक्षीहरूका प्रतिनिधिहरूसँग खुलस्त भएर छलफल गर्नुभएमा हाम्रो संगठन र त्यसका क्रियाकलापबारे गलतफहमी हट्नुका साथै सिंगापुर सरकार यहोवाका साक्षीहरूसित डराउनुपर्ने कुनै कारण छैन भन्ने आश्वासन पाउन सकिनेछ। त्यस्तो भेटघाटको प्रबन्ध गर्नु पाए म अवश्य खुशी हुनेछु।
तपाईंको जवाफको प्रतीक्षामा छु।
भवदीय,
मिल्टन जि. हेन्सचेल
अध्यक्ष
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
Nik Wheeler/H. Armstrong Roberts