प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१ पृ. २३-२७
  • जस्तोसुकै अवस्थामा यहोवाको सेवामा एकताबद्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जस्तोसुकै अवस्थामा यहोवाको सेवामा एकताबद्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकहरू चाहिएको ठाउँमा सेवा गर्ने
  • दक्षिण प्रशान्तमा सेवा गर्ने
  • हाम्रा भाइहरू अनमोल छन्‌
  • एक पछि अर्को टापु
  • अन्तमा अफ्रिका!
  • अर्बुद रोग विरुद्ध संघर्ष
  • पुनः बेनिनमा
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१ पृ. २३-२७

जस्तोसुकै अवस्थामा यहोवाको सेवामा एकताबद्ध

मिशेल र बाबेट म्युलरको वृतान्तमा आधारित

“दु:खलाग्दो खबर छ,” चिकित्सकले भने। “अब तपाईंले अफ्रिकामा मिसनरी जीवन बिर्से पनि हुन्छ।” मेरी पत्नी, बाबेटतिर हेर्दै तिनले भने, “तपाईंलाई स्तनको अर्बुद रोग लागेको छ।”

हामी कति स्तब्ध भयौं वर्णन गरेर साध्यै छैन। हामीले धेरै कुराहरू झलझली सम्झन थाल्यौं। चिकित्सकसितको यो भेटघाट केवल अन्तिम परीक्षण हुनेछ भनेर हामीले सोचेका थियौं। हामीले दक्षिण अफ्रिका, बेनिन फर्कन हवाइटिकट किनिसकेका थियौं। हप्तादिनभित्र त्यहाँ पुग्ने आशा गरेका थियौं। हाम्रो वैवाहिक जीवनको २३ वर्षमा हामीले निकै दुःखसुख भोगिसकेका थियौं। अन्योल र त्रसित हुँदै हामीले अर्बुद रोग विरुद्ध संघर्ष गर्ने तयारी गर्न थाल्यौं।

सुरुदेखि नै सुन्‍नुहोस्‌। मिशेल सन्‌ १९४७ सेप्टेम्बर र बाबेट सन्‌ १९४५ अगस्तमा जन्मेका थिए। हामी फ्रान्समा हुर्क्यौं र सन्‌ १९६७ मा विवाह गऱ्‍यौं। हामी प्यारिसमा बस्थ्यौं। सन्‌ १९६८ को सुरुतिर एक बिहान बाबेटलाई काममा जान ढिलो भयो। एउटी स्त्री ढोकामा आएर तिनलाई एउटा धार्मिक पुस्तक दिइन्‌। तिनले त्यो लिइन्‌। त्यसपछि त्यो स्त्रीले भनिन्‌: “तपाईं र तपाईंको पतिसित कुरा गर्न म र मेरो पति फेरि आऊँ?”

बाबेटले आफ्नो जागिरबारे सोचिरहेकी थिइन्‌। आफू काममा गइहाल्नको लागि बाबेटले भनिन्‌: “हुन्छ, हुन्छ।”

मिशेल यसरी बताउँछन्‌: “मलाई धर्ममा कुनै चासो थिएन तर त्यो पुस्तिकाले मेरो ध्यानाकर्षण गऱ्‍यो र मैले पढें। केही दिनपछि ती भद्र महिला, जास्लेन लम्वइन आफ्नो पति क्लडसित आइन्‌। क्लड बाइबल प्रयोग गर्न असाध्यै निपुण थिए। उनले मेरा सबै प्रश्‍नहरूको जवाफ दिनसके। म प्रभावित भएँ।

“बाबेट असल क्याथोलिक थिइन्‌ तर तिनीसित बाइबल थिएन र यो क्याथोलिकहरूको लागि कुनै अनौठो कुरा पनि होइन। तिनी परमेश्‍वरको वचन देख्न र पढ्‌न पाउँदा असाध्यै रमाइन्‌। हामीलाई सिकाइएका थुप्रै धार्मिक विचारधाराहरू गलत रहेछन्‌ भनेर हामीले अध्ययनबाट सिक्यौं। आफूले सिकिरहेका कुराहरूबारे हामीले आफ्ना आफन्त र साथीभाइसित कुरा गर्न थाल्यौं। सन्‌ १९६९ जनवरीमा हामी यहोवाका बप्तिस्माप्राप्त साक्षीहरू भयौं। त्यसको लगत्तैपछि हाम्रा आफन्त तथा साथीभाइ गरेर जम्मा नौ जनाले बप्तिस्मा लिए।”

प्रचारकहरू चाहिएको ठाउँमा सेवा गर्ने

बप्तिस्मा लिएको तुरुन्तैपछि हामीले सोच्न थाल्यौं: ‘हाम्रा बालबच्चाहरू पनि छैनन्‌। पूर्ण-समय सेवकाई गरे कसो होला?’ त्यसैले सन्‌ १९७० मा जागिर छोडेर हामी नियमित अग्रगामी सेवामा भर्ती भयौं र फ्रान्सको बीचमा पर्ने नेभर्स नजीकै एउटा सानो गाउँ, मान्यी-लर्ममा बसाइँ सऱ्‍यौं।

यो कठिन कार्यभार थियो। बाइबल अध्ययन गर्न चाहने मानिसहरू भेटाउनु गाह्रो थियो। सांसारिक जागिर पाउन नसकेकोले हामीसित एकदमै कम पैसा हुन्थ्यो। कहिलेकाहीं हामीसित खानको लागि आलु मात्रै हुन्थ्यो। जाडो महिनामा तापक्रम -२२ डिग्री सेल्सियससम्म पुग्थ्यो। हामीले त्यहाँ बिताएको समयलाई सात दुब्ला गाईहरूको समय भन्थ्यौं।—उत्पत्ति ४१:३.

तर यहोवाले हामीलाई सँभाल्नुभयो। हाम्रो भोजन सिद्धिनै लाग्दा एक दिन हुलाकीले एक बाकस चीज ल्याए र त्यो बाबेटकी दिदीले पठाएकी रहिछिन्‌। अर्को दिन हामी प्रचारकार्य सिध्याएर घर फर्कंदा हाम्रा केही साथीहरू ५०० किलोमिटर लामो यात्रा गरेर हामीलाई भेट्‌न पर्खिरहेका रहेछन्‌। हामीले कठिन परिस्थिति भोगिरहेको खबर सुनेर यी भाइहरूले हाम्रो निम्ति दुइटा गाडीभरि खाना ल्याइदिएका रहेछन्‌।

साढे एक वर्षपछि सोसाइटीले हामीलाई विशेष अग्रगामी नियुक्‍त गऱ्‍यो। त्यसपछि चार वर्ष हामीले नेभर्स, ट्रोयस र अन्तमा मोन्टेन्यी लामेट्‌समा सेवा गऱ्‍यौं। सन्‌ १९७६ मा फ्रान्सको दक्षिणपश्‍चिम क्षेत्रको लागि मिशेल क्षेत्रीय निरीक्षक नियुक्‍त भए।

दुइ वर्षपछि क्षेत्रीय निरीक्षकहरूका लागि आयोजना गरिएको स्कूलको दौडान हामीले वाच टावर सोसाइटीबाट एउटा पत्र पायौं र त्यसमा हामीलाई मिसनरीहरू भएर विदेशमा सेवा गर्ने निमन्त्रणा थियो। पत्रअनुसार हामीले चाद वा बुर्किना फासो (त्यति बेला अपर भोल्टा) छान्‍नसक्थ्यौं। हामीले चाद छान्यौं। तुरुन्तै हामीले अर्को पत्र पायौं र हामीलाई ताहिटी शाखाअन्तर्गत काम गर्न खटाइयो। हामीले त एउटा ठूलो महादेश, अफ्रिकामा सेवा गर्न चाहेका थियौं तर एउटा सानो टापुमा पो पुग्यौं!

दक्षिण प्रशान्तमा सेवा गर्ने

ताहिटी, दक्षिण प्रशान्तको सुन्दर उष्ण कटिबन्धीय टापु हो। हामी त्यहाँ पुग्दा झन्डै सय जना जति भाइहरू हामीलाई भेट्‌न विमानस्थलमा आएका थिए। तिनीहरूले हामीलाई फूलका मालाहरूले स्वागत गरे र हामी फ्रान्सदेखि लामो यात्रा गरेको कारण थाकेको भए तापनि असाध्यै खुशी थियौं।

ताहिटी पुगेको चार महिनापछि हामीले सुकेका नरिवलहरू ढुवानी गर्ने सानो डुंगाबाट यात्रा गऱ्‍यौं। पाँच दिनपछि हाम्रो नयाँ कार्यभार अर्थात्‌ मार्किसस टापुहरूबीच नुकु हिभामा पुग्यौं। त्यो टापुमा १,५०० जति मानिसहरू बस्थे तर त्यहाँ हामीबाहेक कोही भाइहरू थिएनन्‌।

त्यति बेला त्यहाँको जीवनशैली सरल थियो। हामी कंक्रिट र बाँसले बनाएको सानो घरमा बस्थ्यौं। बिजुली थिएन। पानीको धारा त थियो तर कहिलेकाहीं मात्र पानी आउँथ्यो र त्यो पनि हिलो मिसिएको। प्रायजसो हामीले आकाशेपानी ट्यांकीमा जम्मा गरेर काम चलाउँथ्यौं। पक्की सडक थिएन, कच्ची गोरेटो बाटो मात्रै थियो।

टापुका टाढा इलाकासम्म पुग्न हामीले घोडाहरू भाडामा लिनुपर्थ्यो। काठबाट बनाइएका काठीहरू चढ्‌न विशेषगरि बाबेटलाई असाध्यै असजिलो हुन्थ्यो किनभने तिनले पहिले कहिल्यै घोडा चढेकी थिइनन्‌। बाटोमा ढलेका बाँसहरू काट्‌न हामी ठूलो धारिलो चुप्पी बोक्थ्यौं। यहाँको जीवनशैली फ्रान्समा भन्दा असाध्यै भिन्‍न थियो।

हामी दुइ जना मात्रै भए तापनि आइतबारका सभाहरू सञ्चालन गर्थ्यौं। दुइ जना मात्रै भएकोले सुरु सुरुमा हामीले अन्य सभाहरू सञ्चालन गर्दैनथियौं। बरु, सभाको विषयवस्तु सँगै पढ्‌थ्यौं।

यसरी सञ्चालन गरिरहनु ठीक छैन भनेर हामीले केही महिनापछि निर्णय गऱ्‍यौं। मिशेल भन्छन्‌: “मैले बाबेटलाई भनें, ‘हामीले सभाको लागि राम्ररी लुगा लगाउनुपर्छ। तिमी त्यहाँ बस, म यहाँ बस्छु। म प्रार्थना गरेर सुरु गर्नेछु अनि त्यसपछि हामी ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र सेवकाई सभा सञ्चालन गर्नेछौं। म प्रश्‍नहरू सोध्नेछु र कोठामा तिमी मात्रै भए पनि जवाफ देऊ।’ त्यसो गरेको राम्रै भयो किनभने मण्डली नहुँदा आध्यात्मिक तवरमा सजिलै सुस्त हुन सकिन्छ।”

हाम्रा मसीही सभाहरूमा मानिसहरू आउन अलिक समय लाग्यो। सुरुका आठ महिना त हामी दुइ जना मात्रै थियौं। पछि, एक दुइ जना र कहिलेकाहीं तीन जना आउँथे। एक वर्ष, प्रभुको साँझको भोज सुरु गर्दा हामी दुइ जना मात्रै थियौं। दश मिनेटपछि केही मानिसहरू आए। अतः मैले रोकेर फेरि भाषण सुरु गरें।

आज, मार्किसस टापुहरूमा ४२ जना प्रकाशक र ३ वटा मण्डलीहरू छन्‌। यद्यपि, अधिकांश कार्य हामी पछि आएका व्यक्‍तिहरूले गरे। हामीले त्यति बेला भेटेका केही मानिसहरूले अहिले बप्तिस्मा लिइसके।

हाम्रा भाइहरू अनमोल छन्‌

हामी नुकु हिभामा छँदा धैर्य धारण गर्न सिक्यौं। सबैभन्दा आधारभूत कुराहरूबाहेक बाँकी अरू कुरा पाउन पर्खनुपर्थ्यो। उदाहरणका लागि, किताप चाहियो भने पत्राचार गर्नुपर्थ्यो र त्यो पाउन दुइ तीन महिना कुर्नुपर्थ्यो।

हामीले सिकेको अर्को पाठ हो, हाम्रा भाइहरू अनमोल छन्‌। ताहिटीमा सभा धाउँदा भाइहरूले गीत गाएको सुनेपछि हाम्रा गहभरि आँसु भरिए। हो, केही भाइहरूसित व्यवहार गर्न गाह्रो होला। तर भ्रातृत्वमा बस्न पाउनु कति असल हो भनेर तपाईंले एक्लै बस्नुपर्दा बुझ्नुहुन्छ। सोसाइटीले निर्णय गरेअनुसार सन्‌ १९८० मा हामी ताहिटी फर्क्यौं र क्षेत्रीय कार्य थाल्यौं। भाइहरूको न्यानो आतिथेय र प्रचार कार्यप्रति तिनीहरूको प्रेमले हामी असाध्यै प्रोत्साहित भयौं। हामीले ताहिटीको क्षेत्रीय कार्यमा तीन वर्ष बितायौं।

एक पछि अर्को टापु

त्यसपछि हामीलाई रायाटिया, अर्को प्रशान्त टापुको मिसनरी गृहमा खटाइयो र हामी त्यहाँ दुइ वर्ष जति बस्यौं। रायाटियापछि हामीलाई टुवामोटु टापु समूहको क्षेत्रीय कार्यमा खटाइयो। हामीले डुंगाबाट ८० वटामध्ये २५ वटा टापुको भ्रमण गऱ्‍यौं। यसो गर्नु बाबेटको लागि गाह्रो थियो। हरेक पटक डुंगाबाट यात्रा गर्दा तिनी बिरामी हुन्थिन्‌।

बाबेट यसो भन्छिन्‌: “वाक्कै लाग्थ्यो! डुंगामा बसुञ्जेल बिरामी हुन्थें। पाँच दिन जलयात्रा गर्नुपऱ्‍यो भने म पाँचै दिन बिरामी हुन्थें। कुनै औषधीले काम गरेन। यद्यपि, बिरामीको बावजूद मेरो विचारमा समुद्र सुन्दर थियो। अद्‌भुत दृश्‍य थियो। डुंगा सँगसँगै डल्फिनहरू दौडन्थे। ताली बजायो भने तिनीहरू प्रायजसो पानीमाथि उफ्रन्थे!”

क्षेत्रीय कार्यमा पाँच वर्ष बिताइसकेपछि हामी दुइ वर्षको लागि पुनः ताहिटीमा खटाइयौं र त्यहाँ प्रचार कार्य रमाइलो भयो। साढे एक वर्षमै हाम्रो मण्डलीका प्रकाशकहरू दोब्बर भएर ३५ बाट ७० पुग्यो। त्यसमध्ये हामीले बाइबल अध्ययन गरेका १२ जनाले हामीले त्यो ठाउँ छोड्‌नुअघि बप्तिस्मा लिए। तिनीहरूमध्ये केही अहिले मण्डलीका प्राचीनहरू भएका छन्‌।

हामीले दक्षिण प्रशान्तमा जम्माजम्मी १२ वर्ष बितायौं। मण्डलीहरू राम्ररी स्थापित भइसकेकोले ती टापुहरूमा अब मिसनरीहरूको खाँचो छैन भन्‍ने पत्र हामीले सोसाइटीबाट पायौं। हामी ताहिटीमा पुग्दा ४५० प्रकाशकहरू थिए र त्यो ठाउँ छोड्‌दा १,००० भन्दा बढी भइसकेका थिए।

अन्तमा अफ्रिका!

हामी फ्रान्स फर्क्यौं र साढे एक महिनापछि सोसाइटीले हामीलाई दक्षिण अफ्रिका, बेनिन जाने नयाँ कार्यभार दियो। हामी १३ वर्षअघि त्यहीं जान चाहन्थ्यौं, त्यसैले असाध्यै खुशी भयौं।

हामी सन्‌ १९९० नोभेम्बर ३ तारिखका दिन बेनिन पुग्यौं र परमेश्‍वरको राज्यको प्रचार कार्यमाथि १४ वर्ष लामो प्रतिबन्ध हटाइएपछि पुग्ने प्रथम मिसनरीहरूमध्ये हामी पनि थियौं। त्यो असाध्यै रमाइलो अनुभव थियो। हामीलाई त्यहाँको परिस्थितिमा घुलमिल हुन गाह्रो भएन किनभने त्यहाँको जीवनशैली प्रशान्त टापुहरूमा जस्तै थियो। मानिसहरू असाध्यै मित्रैलो र आतिथेय छन्‌। बाटोमा हिंडिरहेको जोसुकै मानिससित तपाईं कुरा गर्न सक्नुहुन्छ।

बेनिन पुगेको केही हप्तामै बाबेटले स्तनमा एउटा गाँठोजस्तो महसुस गरिन्‌। त्यसैले हामी नवस्थापित शाखा कार्यालय नजीकैको सानो क्लिनिकमा गयौं। चिकित्सकले जाँचेपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्नेछ भने। भोलिपल्ट हामी अर्को क्लिनिकमा गयौं र त्यहाँ फ्रान्सबाट आएका युरोपेली चिकित्सक, स्त्री रोग विशेषज्ञलाई भेट्यौं। तिनले पनि बाबेटको शल्यक्रिया गर्न तुरुन्तै फ्रान्स फर्किनुपर्छ भनिन्‌। त्यसको दुइ दिनपछि फ्रान्स जान हामीले हवाइयात्रा थाल्यौं।

बेनिन छोड्‌नु पर्दा हामी दुःखी थियौं। भर्खरै मात्र धार्मिक स्वतन्त्रता पाएकाले त्यहाँका भाइहरू नयाँ मिसनरीहरू आएकोमा खुशी थिए र हामी पनि त्यहाँ हुन पाएकोमा रमायौं। त्यसकारण त्यहाँ केही हप्ता मात्र बसेर फर्कनु परेकोले हामी खिन्‍न थियौं।

फ्रान्समा पुगेपछि शल्यचिकित्सकले बाबेटको परीक्षण गरे अनि शल्यक्रिया गर्नैपर्ने पुष्टि गरे। चिकित्सकहरूले तुरुन्तै सानो चिरफार गरेर बाबेटलाई भोलिपल्टै अस्पतालबाट घर पठाइदिए। यति मात्र गरे पुग्छ होला भनेर हामी ढुक्कै भएका थियौं।

आठ दिनपछि हामीले शल्यचिकित्सकलाई भेट्यौं। त्यति बेला तिनले बाबेटलाई स्तनको अर्बुद रोग भएको खबर सुनाए।

त्यति बेला कस्तो महसुस गरेकी थिइन्‌ भनेर स्मरण गर्दै बाबेट यसो भन्छिन्‌: “सुरुमा म मिशेल जति दुःखी भइनँ। तर त्यो नराम्रो समाचार सुनेको भोलिपल्ट म भावशून्य भएँ। रुन पनि सकिनँ, हाँस्न पनि सकिनँ। मलाई आफू मर्छु होला जस्तो लागेको थियो। मेरो विचारमा अर्बुद रोग र मृत्यु एउटै कुरा थियो। मेरो मनोवृत्ति थियो, जे जति गर्नुपर्छ त्यो त गर्नैपर्छ।”

अर्बुद रोग विरुद्ध संघर्ष

हामीले शुक्रबार त्यो नराम्रो समाचार सुन्यौं र बाबेटको दोस्रो शल्यक्रिया मंगलबार हुने निश्‍चित भयो। हामी बाबेटकी दिदीकहाँ बसेका थियौं। तर तिनी पनि असाध्यै बिरामी भएकीले तिनको सानो घरमा बसिरहन नमिल्ने भयो।

अब कहाँ जाने भनेर हामीले सोच्न थाल्यौं। त्यसपछि हामीले इभ्स र ब्रिजीट मर्डालाई सम्झ्यौं। हामी यस दम्पतीसित पहिले पनि बसेका थियौं। त्यो दम्पती हामीप्रति असाध्यै आतिथेय थिए। त्यसकारण हामीले इभ्सलाई फोन गरेर बाबेटको शल्यक्रिया हुनलागेको तर बस्ने प्रबन्ध नमिलेको कुरा बतायौं। मिशेललाई एउटा काम चाहिएको कुरा पनि बतायौं।

इभ्सले मिशेललाई तिनकै घरमा काम मिलाए। भाइहरूले थुप्रै दयापूर्ण कार्यद्वारा हामीलाई सहयोग गरे र प्रोत्साहन दिए। तिनीहरूले हामीलाई आर्थिक सहयोग पनि गरे। सोसाइटीले बाबेटको उपचार खर्च बेहोऱ्‍यो।

निकै ठूलो शल्यक्रिया गर्नुपऱ्‍यो। चिकित्सकहरूले लिम्फ गाँठो र स्तन झिक्नुपऱ्‍यो। तिनीहरूले तुरुन्तै केमोथेरापी सुरु गरे। एक हप्तापछि बाबेट घर फर्कन सक्ने भइन्‌ तर थप उपचारको लागि तीन हप्तासम्म हरेक हप्ता अस्पतालमा धाउनुपर्थ्यो।

बाबेटको औषधोपचार होऊञ्जेल मण्डलीका भाइहरूले असाध्यै मदत गरे। एउटी साक्षी बहिनीको पनि स्तनको अर्बुद रोग भएको थियो र तिनले निकै प्रोत्साहन दिइन्‌। कस्ता कुराहरू आशा गर्नुपर्छ भनेर तिनले बाबेटलाई बताइन्‌ र निकै सान्त्वना दिइन्‌।

तैपनि, हामी आफ्नो भविष्यबारे चिन्तित थियौं। यो कुरा बुझेर मिशेल र झानेट सेल्यर्येले हामीलाई भोजनालयमा लगे।

हामीले तिनीहरूलाई भन्यौं, हामीले मिसनरी सेवा छोड्‌नुपर्नेछ र हामी अफ्रिकामा कहिल्यै फर्कन सक्नेछैनौं। तथापि, भाइ सेल्यर्येले भने: “के रे? छोड्‌नुपर्छ भनेर कसले भन्यो? परिचालक निकायले? फ्रान्सका भाइहरूले? हैन, कसले भन्यो?”

मैले भनें, “कसैले होइन, मैले नै भनेको।”

भाइ सेल्यर्येले भने, “अहँ, त्यो कहाँ हुन्छ र। तपाईंहरू अवश्‍य फर्कनुहुनेछ!”

केमोथेरापीपछि विकिरण उपचारविधि गरियो र त्यो सन्‌ १९९१ अगस्तको अन्ततिर सकियो। बाबेट नियमित परीक्षणको लागि फ्रान्स फर्किन्‌ भने हामी अफ्रिका गए पनि हुने कुरा चिकित्सकहरूले बताए।

पुनः बेनिनमा

अतः हामीले ब्रूक्लिनस्थित मुख्यालयमा पत्र लेखेर पुनः मिसनरी सेवा गर्ने अनुमति माग्यौं। हामी तिनीहरूको जवाफ सुन्‍न उत्सुक थियौं। दिनहरू बित्न थाले। मिशेलले अझ बढी पर्खन सकेनन्‌ र अन्ततः तिनले ब्रूक्लिनमा टेलिफोन गरेर हाम्रो पत्र पाए कि पाएनन्‌ भनेर सोधे। त्यो पत्र पाएर त्यसबारे सोचविचार गरेको बताइयो। हामी बेनिन फर्कन सक्थ्यौं! हामी यहोवाप्रति कति कृतज्ञ भयौं!

यो समाचारको खुशीयाली मनाउन मर्डा परिवारले ठूलो प्रीतिभोजको आयोजना गरे। सन्‌ १९९१ नोभेम्बरमा हामी बेनिन फर्क्यौं र भाइहरूले प्रीतिभोज तथा रमाइलो कार्यक्रम गरेर हाम्रो स्वागत गरे।

अहिले बाबेटको अवस्था राम्रै देखिन्छ। हामी पूर्ण चिकित्सा परीक्षणको लागि बारम्बार फ्रान्स जान्छौं र चिकित्सकहरूले अर्बुद रोगको कुनै संकेत फेला पारेका छैनन्‌। हामीले पुनः मिसनरी सेवा गर्न पाएकोमा हर्षित छौं। बेनिनमा हाम्रो खाँचो भएको महसुस गर्छौं र यहोवाले हाम्रो कार्यलाई आशिष्‌ दिनुभएको छ। यहाँ फर्केदेखि हामीले १४ जनालाई बप्तिस्मा लिन मदत गरेका छौं। तिनीहरूमध्ये पाँच जना अहिले नियमित अग्रगामी गर्छन्‌ र एक जना चाहिं सहायक सेवक नियुक्‍त भएका छन्‌। हाम्रो सानो मण्डली वृद्धि भएर दुइटा मण्डली बनेको पनि देखेका छौं।

वर्षौंको दौडान हामीले पतिपत्नीको हैसियतमा यहोवाको सेवा गरेका छौं र थुप्रै आशिष्‌ पाउनुको साथै रमाइला मानिसहरू भेटेका छौं। तर कठिनाइहरू सफलतापूर्वक सहन यहोवाले हामीलाई प्रशिक्षण दिनुको साथै सुदृढ पार्नुभएको छ। परिस्थिति अनुकूल नहुँदा अय्यूबले जस्तै हामी सधैं त्यसको कारण बुझ्दैनथियौं तर यहोवाले हामीलाई सधैं मदत गर्नुहुनेछ भनेर निर्धक्क थियौं। यो परमेश्‍वरको वचनले भनेझैं हो: “हेर, परमप्रभुको हात बचाउन नसक्ने गरी शक्‍तीहीन भएको छैन। उहाँको कान सुन्‍न नसक्ने गरी बाक्लो भएको पनि छैन।”—यशैया ५९:१.

[पृष्ठ २३-मा भएका चित्र]

बेनिनको स्थानीय पोशाक लगाएका मिशेल तथा बाबेट म्युलर

[पृष्ठ २५-मा भएका चित्र]

उष्ण कटिबन्धीय ताहिटीका पोलिनेशियालीहरूबीच मिसनरी कार्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने