राज्य उद्घोषकहरूका रिपोर्ट
पहिलेका शत्रुहरू यहोवाको सेवामा एकताबद्ध
“बोस्नियाको सशस्त्र सेनामा हुँदा मैले पहिलो चोटि यहोवाका साक्षीहरूबारे सुनेको थिएँ,” ब्रांको भन्छन्।a
घाइतेहरूको उपचार गरिने अस्पतालमा ब्रांको सुरक्षाकर्मी थिए। एक जना चिकित्सकले साक्षीहरूसित बाइबल अध्ययन गरिरहेका थिए र बाइबलबाट सिकेका थुप्रै कुराहरू राती काम गर्ने पालोमा तिनले ब्रांकोलाई सुनाए।
त्यो रात सुनेका कुराहरूले ब्रांको यति प्रभावित भए, तिनले तुरन्तै आफ्ना हातहतियारहरू समर्पण गरे। अझ बढी सिक्न तिनले साक्षीहरूसित सम्पर्क राखे। अर्कै युरोपेली मुलुकमा बसाइँ सरेको केही समयपछि ब्रांकोले राज्य भवन खोजे अनि यहोवाका साक्षीहरूको युगोस्लाभियाली मण्डलीको सभामा उपस्थित हुन थाले। त्यहीं नै ब्रांको र स्लोबोडानको भेट भयो।
स्लोबोडान पनि बोस्नियाबाटै आएका थिए र ब्रांकोले भाग लिएकै युद्धमा स्वयंसेवक थिए तर कुरा यति हो, तिनीहरू एकअर्काको प्रतिद्वन्दी समूहमा थिए। स्लोबोडानले क्रोएशियालीहरू विरुद्ध सर्बियालीहरूको पक्षबाट लडेका थिए। तर तिनीहरूले एकअर्कालाई भेटुञ्जेल स्लोबोडान यहोवाको बप्तिस्माप्राप्त साक्षी भइसकेका थिए। तिनले आफ्नो पुरानो शत्रु, ब्रांकोसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। अध्ययनमा प्रगति गर्दै जाँदा ब्रांकोले यहोवाबारे अझ बढी सिके र परमेश्वरप्रति तिनको प्रेम बढ्यो। यसले ब्रांकोलाई आफ्नो जीवन सृष्टिकर्तालाई समर्पण गर्न प्रेरित गऱ्यो। सन् १९९३ अक्टोबरमा तिनले आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिए।
स्लोबोडान यहोवाको साक्षी कसरी बन्न पुगे? अलिक समयअघि तिनी बोस्नियाको युद्धग्रस्त क्षेत्रबाट अन्तै सरेका थिए। तिनले साक्षीहरूद्वारा प्रकाशित केही प्रकाशनहरू पढेका थिए तर सन् १९९२ को सुरुतिर तिनको घरमा दुइ साक्षीहरू आएपछि मात्र परमेश्वरको वचनमा तिनको चासो बढ्यो। स्लोबोडानलाई बाइबल अध्ययन गर्ने प्रस्ताव कसले राखेका थिए? मुयोले र तिनी पनि बोस्नियाबाटै आएका मुस्लिम थिए। बाइबल अध्ययनमा प्रगति गर्दै जाँदा कुनै समय एकआपसका शत्रु, मुयो र स्लोबोडानले एकअर्काको विश्वास बलियो पार्न हरेक दिन केही समय सँगै बिताउन थाले।
पहिलेको युगोस्लाभियाको युद्धले लाखौं मानिसहरूको ज्यान लिएको छ। तर ब्रांको, स्लोबोडान र मुयो यहोवाका साक्षीहरूको एउटै मण्डलीमा छन् र अहिले सुसमाचारको पूर्ण-समय प्रचारकको हैसियतमा सेवारत छन्। तिनीहरूले साम्प्रदायिक तथा जातीय कलहमाथि विजय हासिल गरेका छन् र अहिले सृष्टिकर्ता, यहोवाको अधीनमा बसेर शान्ति खोज्छन्।
तर त्यस्ता परिवर्तनहरू कुन कुराले ल्यायो? यो यहोवाप्रति प्रेम, बाइबलप्रति आदर र आफ्नो जीवनमा बाइबलको सच्चाइ पालना गर्ने उत्सुकताले गर्दा सम्भव भयो। पवित्र धर्मशास्त्रले भनेझैं, “परमेश्वरको वचन जीवित र प्रबल, . . . हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।”—हिब्रू ४:१२.
[फुटनोट]
a उपनाउँहरू प्रयोग गरिएका छन्।