पृथ्वीको अन्तसम्म गवाही
इटा
टुली
गडहाभन
गटहाब
जुलियेनहाब
आङगमासलिक
टुली एउटा यस्तो नाउँ हो, जुन पुरातन समयदेखि भौगोलिक वा अन्य कुराहरूको अन्तिम लक्ष्य वर्णन गर्न प्रयोग गरिन्थ्यो। आज यो संसारको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्डको सुदूर उत्तरी भागमा पर्ने बस्ती हो। यो बस्तीको नाउँ सन् १९१० मा डेनिश अन्वेषक नटु रासमुसेनले राखेको थियो। तिनले यस ठाउँलाई उत्तर ध्रुवीय यात्राको शिविर बनाए। आज पनि टुलीमा जानु मनोरञ्जन नभई एउटा कठोर यात्रा हो।
अझै पनि टुलीमा यात्रा गर्नु अत्यन्तै जरुरी छ। येशूले “पृथ्वीको अन्तसम्म मेरो गवाही” देओ भन्ने आज्ञा दिनुभएको थियो। र यही आज्ञाअनुरूप यहोवाका साक्षीहरू सुदूर उत्तरी भागको स्थायी मानव बस्तीहरूमा परमेश्वरको राज्यको सुसमाचार लग्न उत्सुक छन्।—प्रेरित १:८; मत्ती २४:१४.
‘हामी टुलीमा कहिले जानसक्छौं?’
“पृथ्वीको अन्तसम्म” गरिने प्रचारकार्यमा भाग लिन चाहने दुइ डेनिश साक्षीहरू सन् १९५५ मा ग्रीनल्याण्ड पुगे। पछि अरू आए र बिस्तारै तिनीहरूको प्रचारकार्य दक्षिणी तथा पश्चिमी समुद्री तटको मेलभिल खाडीसम्म र पूर्वी तटको केही भागससम्म फैलियो। तर वास्तवमा टुलीजस्तो ग्रीनल्याण्डको सुदूर क्षेत्रमा चिठी वा टेलिफोनद्वारा मात्रै प्रचार गरिएको थियो।
एक दिन सन् १९९१ मा पूर्ण-समय सेवक बो र तिनकी पत्नी हेलेन मेलभिल खाडी देख्ने चट्टानमा उभिरहेका थिए। उत्तरतिर हेर्दै तिनीहरूले ‘त्यहाँका मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउन हामी कहिले टुलीसम्म जानसक्छौं होला?’ भनेर सोचे।
सन् १९९३ मा अर्को पूर्ण-समय सेवक भर्नर, वेगसँग चल्ने ५.५ मिटर लामो आफ्नो मोटर जहाज क्वामानेक-मा (प्रकाश) चढेर मेलभिल खाडी पार गर्न आँटे। तिनले पहिला पनि जहाजबाट गटहाबदेखि माथि उपरनभिर्कसम्म १,२०० किलोमिटर यात्रा गरिसकेका थिए। यद्यपि, अथाह उत्तर ध्रुवीय समुद्रमा मेलभिल खाडी पार गर्न ४०० किलोमिटर यात्रा गर्नु त अर्कै कुरा हो। प्रायः वर्ष दिनभरि खाडी बरफले अवरूद्ध हुन्छ। बरफको कारण तिनको एउटा इन्जिन काम नगर्ने भए तापनि भर्नर त्यस खाडी पार गर्न सफल भए। अनि तिनले फर्कनअघि केही प्रचार गर्ने मौका पाए।
टुलीमा जाने
त्यस यात्रापछि भर्नरले नयाँ योजनाहरू बनाउन थाले। चारवटा बर्थ भएको सात मिटर लामो र सबैभन्दा महत्त्वपूर्ण त, आधुनिक नौयात्रा उपकरण भएको जहाजका मालिक आर्न र कारेनसित तिनले सँगै टुली जाने बन्दोबस्त मिलाए। जहाजमा सुत्ने ठाउँ पनि हुन्छ र दुइटा जहाज सँगै मेलभिल खाडीमा यात्रा गर्दा खतरा पनि कम हुन्छ। तर ६०० निवासी भएको मुख्य शहर तथा अन्य छ बस्तीहरू ढाक्न तिनीहरूलाई अझ बढी सहयोगको आवश्यक थियो। त्यसैले तिनीहरूले बो, हेलेन, योर्न र इन्जलाई आमन्त्रित गरे। यी अनुभवी सेवकहरू त्यस देशमा गर्नुपर्ने यात्रासित परिचित थिए। यस दलको पाँच जनाले ग्रीनलैन्डी भाषा पनि बोल्नसक्थे।
तिनीहरूले पहिल्यै बाइबल प्रकाशनहरू पठाए। खाना, पानी, इन्धन, जगेडा इन्जिन र रबरको डुंगाका साथै प्रकाशनहरूले जहाज टन्नै लादिएको थियो। महिनौंको तयारीपछि अगस्त ५, १९९४ मा टोली भेला भयो र लुलीसाटको बन्दरगाहमा खचाखच सामान भरेको दुवै जहाज जान तयार भए। उत्तरमा जाने यात्रा सुरु भयो। दुइ जहाजमध्ये सानोमा भर्नर, बो र हेलेन थिए। “यात्राको दौडान केही कुरामा समातेर आफ्नो बर्थमा बस्नु वा सुत्नुबाहेक अरू केही गर्न सकिंदैन थियो” भनेर बो लेख्छन्। आउनुहोस्, हामी यात्राको दैनिकी हेरौं।
“त्यहाँ अथाह शान्त समुद्र थियो। हाम्रो आँखाअघि विशाल सुन्दर दृश्यहरू थिए। टलपल टल्किरहेको समुद्र, बाक्लो कुहिरोको पाटाहरू, चम्किलो सूर्य र निलो आकाश, हिमशिलाका चित्ताकर्षक आकार र विभिन्न रंगहरू, बरफको पाटोमा घाम तापिरहेको वलरस, समुद्री तटका पहाडी भीरहरू र साना मैदानहरू—दृश्यहरूको कुनै अन्त थिएन।
“निस्सन्देह, सबैभन्दा चाखलाग्दो कुरा त छेउछाउका बस्तीहरूको भ्रमण थियो। आगन्तुकहरू को हुन् हेर्न र तिनीहरूको स्वागत गर्न घाटसम्म मानिसहरू र साधारणतया केटाकेटीहरू आउँथे। हामीले बाइबल प्रकाशनहरू वितरण गऱ्यौं र मानिसहरूलाई हाम्रो संगठनको भिडियो चलचित्र देखायौं। हामीले छोड्नुअघि अधिकांश मानिसहरूले त्यो भिडियो चलचित्र हेर्न पाए। दक्षिण उपरनभिर्कमा उत्रनुअघि नै थुप्रै मानिसहरू आफ्ना जहाजहरू लिएर हाम्रो जहाजतर्फ ओइरे। त्यसैले साँझभरि हाम्रो जहाजमा पाहुनाहरू थिए र धेरै बाइबल प्रश्नहरूका जवाफ दियौं।”
बल्ल अब ७०० किलोमिटरपछि दुइ जहाज मेलभिलको खाडी पार गर्न तयार भए।
जोखिमपूर्ण चुनौती
“यसलाई यात्राको जोखिमपूर्ण भागको रूपमा लिन सकिन्थ्यो। अनि हामीले कतै नरोकी पार गर्नुपर्थ्यो किनभने साभिस्भिक बस्ती (जहाँबाट इलाका सुरु हुन्छ र जहाँ हामीले बास पाउँथ्यौं) अझै बरफले अवरूद्ध थियो।
“अतः हामीले यात्रा थाल्यौं। त्यहाँ धेरै बरफ भएकोले हामी अझ टाढा बरफ नजमेको ठाउँबाट यात्रा गऱ्यौं। खुशीको कुरा, पानी शान्त थियो। पहिलाका केही घण्टाहरू शान्तपूर्ण थिए। तर समुद्रमा यात्रा गर्नु सजिलो थिएन। साँझपख हामीले केप योर्क देख्यौं र बिस्तारै जमीन नजीकै उत्तरतिर लाग्यौं। तर त्यहाँ बरफ थियो। आँखाले भ्याउन सक्ने ठाउँसम्म पहिल्यैदेखिको पुरानो, बाक्लो र टुक्रा टुक्रा भएको बरफका पाटाहरू थिए। धेरै टाढासम्म हामी बरफको किनारा हुँदै गयौं। कहिलेकाहीं त साँघुरो ठाउँबाट जानुपर्थ्यो। अगाडि बाक्लो खरानी रंगको सुरुवाजस्तै कुहिरो थियो, जुन विशेषगरि सूर्यास्तको किरणमा सुन्दर देखिन्छ। र छालहरू पनि थिए! कुहिरो, छाल र बरफ सबैको हामीले एकैचोटि सामना गर्नुपऱ्यो र साधारणतया यिनीहरूमध्ये एउटा मात्र पनि चुनौतीको लागि पर्याप्त हुन्छ।”
हाम्रो स्वागत
“पिटुफिक नजीकै पुग्दा हामी नछचल्किएको पानीमा गयौं। सृष्टिले हाम्रो भव्यतासाथ स्वागत गऱ्यो। निलो आकाशमा चमचम चम्किरहेको सूर्य, अगाडि फराकिलो चम्किलो गल्छी र त्यसमा तैरिरहेका हिमशीलाहरू र अझ टाढा डेनडेसको चट्टानमा पुरानो टुलीको सुन्दर छाया!” लगभग १०० किलोमिटर उत्तर पुगेपछि यात्रुहरू आफ्नो अन्तिम लक्ष्यमा पुगे।
अब तिनीहरू घर-घरमा प्रचार गर्न उत्सुक थिए। तिनीहरूमध्ये दुइ जनाले पहिलो ढोकामा रूखो जवाफ पाए। तिनीहरू बताउँछन्, “हामीलाई डेनमार्कमा जस्तै अस्वीकार गरियो।” “तर अधिकांशले हाम्रो हार्दिक स्वागत गरे। मानिसहरू विचारशील र सुसूचित थिए। केहीले हामीबारे सुनेको कुरा उल्लेख गरे र आखिरमा हामी आएकोमा खुशी भए। हामीले केही असाध्यै राम्रा मानिसहरू भेट्यौं। जस्तै, उत्तरी ध्रुवमा खोज यात्राको लागि गएका सील शिकारीहरू र आदिवासीहरू। तिनीहरू सन्तुष्ट तथा मितव्ययी थिए र आधुनिक सभ्यताबारे नकारात्मक दृष्टिकोण राख्थे।”
पछिका केही दिनहरूमा हामी सबैले राम्रा अनुभवहरू बटुल्यौं। हरेक ठाउँमा बाइबल साहित्यहरूलाई मूल्यांकनसहित लिए। केही घरहरूमा त साक्षीहरूले तुरुन्तै बाइबल अध्ययन सुरु गरे। जिज्ञासा देखाउने एउटा घरबारे इन्ज बताउँछिन्: “एउटा मात्र कोठा भएको सफा र आरामदायक घर थियो। त्यहाँ बस्ने एक नम्र मानिसलाई हामीले लगातार तीन दिनसम्म भेट्यौं र हामीलाई तिनी एकदमै प्यारो लाग्न थाल्यो। तिनको घरबाहिर एस्किमो डुंगा थियो र तिनी एक पक्का सील शिकारी थिए। तिनले थुप्रै हिउँ भालु, वालरस र निस्सन्देह, सील मारेका थिए। हाम्रो अन्तिम भेटमा हामीले तिनीसँगै बसेर प्रार्थना गऱ्यौं र तिनको गहभरि आसुँ भयो। अब हामीले सबै कुरा यहोवाको हातमा छोड्नुपर्छ र आशा छ फेरि फर्कन पाउनेछौं।”
टुलीमा क्यानाडाका एस्किमोहरू बारम्बार आउँछन्। इन्ज भन्छिन्: “हेलेन र मैले क्यानाडाका थुप्रै एस्किमो भेट्यौं। चाखलाग्दो कुरा, तिनीहरूले ग्रीनल्याण्डवासीहरूसित कुरा गर्नसक्छन्। उत्तर ध्रुवीय क्षेत्रका मानिसहरू आपसमा सम्बन्धित भाषा बोल्छन् जस्तो देखिन्छ। क्यानाडाका एस्किमोको आफ्नै लिखित भाषा भए तापनि ग्रीनलैन्डी भाषाका हाम्रा प्रकाशनहरू तिनीहरूले पढ्नसक्थे। यसले गर्दा तिनीहरूले राम्रा सुअवसरहरू पाउनसक्छन्।”
जहाजबाट यात्रा गर्दा ५० देखि ६० किलोमिटर टाढा पर्ने बस्तीहरूको पनि भ्रमण गरियो। “क्वेरटाट बस्ती जाने बाटोमा हामी नारवाल शिकारीहरू भेटाउने आशामा समुद्री तट हुँदै गयौं। निस्सन्देह, हामीले चट्टानमा समतल मैदानजस्तो ठाउँमा भुवादार लुगा लगाएका तीन वा चार परिवारहरूलाई तिनीहरूको पाल र डुंगासहित भेट्यौं। भाला हातमा लिएर ती मानिसहरू पालैपालो दुर्लभ नारवालहरूको शिकार गर्न चट्टानमा बस्थे। केही दिनदेखि कुनै सफलताबिना कुरिरहेकोले तिनीहरू हामीलाई देख्दा खुशी थिएनन् किनभने हामीले ह्वेललाई भगाउला भन्ने तिनीहरूलाई लागेको थियो! तिनीहरू पूर्णतया आफ्नै संसारमा मुग्ध थिए जस्तो देखिन्थे। स्त्रीहरूले केही प्रकाशनहरू स्वीकारे तर वार्तालाप गर्नको लागि त्यो उपयुक्त समय थिएन। हामी आखिरमा साँझको ११ बजेतिर क्वेरटाट पुग्यौं र बिहानको २ बजेभित्र त्यस बस्तीमा हाम्रो अन्तिम भेट सकायौं!”
“अन्ततः हामी ग्रीनल्याण्डको सुदूर उत्तरी बस्ती सिओरापालुक पुग्यौं। यो ठाउँ थोरै घाँस भएको बाँझो भूमिको चट्टानमुनि बलौटे किनारमा अवस्थित छ।” साक्षीहरू शाब्दिक अर्थमा पनि साँच्चै तिनीहरूको प्रचार कार्यको लागि सुदूर उत्तरी दिशासम्म पुगेका छन्।
यात्रा पूरा गरियो
साक्षीहरूले आफ्नो कार्य पूरा गरे। तिनीहरूले घर-घर, पाल-पालमा गएर प्रचार गरे, प्रकाशनहरू बाँडे, ग्राहक बनाए, भिडियो चलचित्रहरू देखाए, थुप्रै ग्रीनल्याण्डवासीहरूसित कुरा गरे र बाइबल अध्ययनहरू सञ्चालन गरे। अब घर फर्कने समय भएको छ। “हामी साँझतिर मोरियुसाकको बस्तीबाट निस्केर हाम्रो रबर डुंगामा पुग्दा केही मानिसहरू हाम्रो बिदाइ गर्न किनारमा आएका थिए र तिनीहरूले आफूले पाएका पुस्तक वा पुस्तिकाहरू हल्लाएर बिदाइ गरिरहेका थिए।”
पछि समुद्री तटको एकदमै दुर्गम भागको चट्टानबाट एक जना मानिसले हात हल्लाएको देख्दा साक्षीहरू आश्चर्यचकित भए! “निस्सन्देह हामी तिनलाई भेट्न किनारमा गयौं। एक महिनादेखि आफ्नो डुंगामा समुद्री तटमा यात्रा गरिरहेका यो जवान बर्लिन, जर्मनीका रहेछन्। जर्मनीमा तिनको घरमा यहोवाका साक्षीहरू नियमित तवरमा आउँदा रहेछन् र तिनीसित केही पुस्तकहरू पनि रहेछन्। हामीले तिनीसित केही घण्टा बितायौं र त्यस्तो ठाउँमा पनि साक्षीहरू भेट्दा तिनी साँच्चै प्रभावित भए।”
बरफको कारण पहिला जान नपाएको बस्ती, साभिस्भिकमा परिभ्रमण सेवकहरूको हार्दिक स्वागत गरियो। त्यहाँका केही व्यक्तिहरूले अघिल्लो वर्ष केही प्रकाशनहरू पाएर पढेका रहेछन् र तिनीहरू अझ बढी आध्यात्मिक खानाको लागि भोकाएका थिए।
मेलभिल खाडीबाट फर्कन १४ घण्टा लाग्यो। “हामीले विभिन्न सुन्दर रंगहरूमा परिवर्तन हुँदै, लामो समय लाग्ने सूर्यास्त हेऱ्यौं। सूर्यास्त हुने बित्तिकै सूर्योदय पनि लामो समयसम्म हुन्थ्यो। उत्तरपूर्वी क्षितिजमा रातो र कलेजी रंग छर्दै सूर्यास्त हुने बित्तिकै दक्षिणतिरबाट सूर्योदय हुन्थ्यो। यो वर्णन गर्नै नसकिने दृश्य हो। र त्यो दृश्यलाई हुबहु तस्बिरमा उतार्न पनि गाह्रो पर्छ।” कर्मी दल रातभरि जागा रह्यो।
“हामी कुर्लोस्वाक पुग्दा एकदमै थकित भइसकेका थियौं। तर हामी आनन्दित र सन्तुष्ट थियौं। हामीले सफलतापूर्वक यात्रा पूरा गऱ्यौं! यात्राको बाँकी भागमा समुद्री तटका शहरहरू तथा बस्तीहरूमा धेरै जिज्ञासुहरू भेटायौं। बारम्बार यो प्रश्नहरू सोधिन्थ्यो: ‘तपाईंहरूमध्ये एक जना किन यहाँ बस्नुहुन्न? यति चाँडो गएको देख्दा हामीलाई दुःख लाग्छ!’”
क्वारसुटमा आगन्तुकहरूमध्ये पाँच जनालाई एक मित्रैलो परिवारले तिनीहरूसित खाना खान निम्ताए। “परिवारले हामीलाई तिनीहरूसितै रात बिताउन आग्रह गरे। तर ४० किलोमिटर टाढा लंगर अड्काउने राम्रो ठाउँ भएकोले हामीले अस्वीकार गऱ्यौं र यात्रा थाल्यौं। बिहानीपख हिमशिलाको ठूलो चोक्टा छुट्टिएकोले अघिल्लो दिन हामी जहाँ थियौं त्यहाँ १४ वटा सानो डुंगा छालले डुबाएको कुरा हामीले अर्को दिन सुन्यौं!”
अन्तमा टुलीको यात्रा पूरा गरेर दल लुसीसाट फर्क्यौं। त्यही समयतिर अन्य दुइ प्रकाशकहरूले ग्रीनल्याण्डको पूर्वी तटको पृथक् भागमा यात्रा गरेका थिए। ती दुइ यात्रामा प्रकाशकहरूले १,२०० पुस्तक, २,१९९ पुस्तिका र ४,२२४ पत्रिकाहरू वितरण गरे र १५२ जनालाई ग्राहक बनाए। अहिले यी धेरै जिज्ञासु व्यक्तिहरूसित मुख्यतया टेलिफोन र चिठी मार्फत सम्पर्क राखिएको छ।
समय, बल, र पैसा खर्च गर्नु परे तापनि यहोवाका साक्षीहरू “पृथ्वीको अन्तसम्म मेरो गवाही” देओ भन्ने आफ्नो मालिकको आज्ञा पालन गर्न पाएकोमा एकदमै आनन्दित छन्।—प्रेरित १:८.
[पृष्ठ २८-मा भएको चित्र]
ग्रीनल्याण्डको पूर्वी तटमा
टुलीमा प्रकाशकहरूको समूह पुगेकै समयतिर एक साक्षी दम्पती भेगो र सोन्या काम नगरेको अर्को इलाका, ग्रीनल्याण्डको पूर्वी तट इटोकोरटुरमिटमा (स्कोरेसबिसुन्द) गए। त्यहाँ पुग्न तिनीहरूले आइसल्याण्डसम्म यात्रा गरेर अनि ग्रीनल्याण्डको तट कन्सटेबल प्वाइन्टसम्म हवाइजहाजमा फर्केर फेरि हेलिकप्टरबाट जानुपर्थ्यो।
“यहोवाका साक्षीहरू त्यहाँ गएका पहिलो चोटि थिए” ग्रीनलैन्डी मातृभाषा भएका यी दुइ अग्रगामीहरू भन्छन्। “छक्कलाग्दो कुरा, पृथक् क्षेत्रमा भए तापनि ती मानिसहरू सुसूचित थिए। तैपनि तिनीहरू नयाँ कुरा सिक्न खुशी थिए। निपुण कथाकारहरू भएकोले तिनीहरूले हामीलाई सील शिकार गरेकोबारे तथा प्रकृतिमा भएका अन्य अनुभवहरू उत्सुकतासाथ बताए।” प्रचार कार्यप्रति तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
“घर-घर प्रचार गर्दा हामीले मसीही धर्म सिकाउने जे ——लाई भेट्यौं। ‘तपाईंहरूले मलाई पनि भेट्नुभएकोमा धन्यवाद’ तिनले भने। हामीले आफ्नो प्रकाशन देखाउँदै प्रयोग गर्ने तरिका देखायौं। भोलिपल्ट तिनी हामीकहाँ आए र यहोवा नाउँबारे सिक्न चाहन्थे। हामीले तिनकै ग्रीनलैन्डी भाषाको बाइबलको पादटिप्पणीमा भएका यसको स्पष्टीकरण देखायौं। हामीले त्यो ठाउँ छाडेपछि तिनले हाम्रो भ्रमणको निम्ति धन्यवाद दिन नुकमा बस्ने हाम्रो साथीलाई टेलिफोन गरे। यस मानिसलाई मदत गरी नै रहन हामीले प्रयास गर्नैपर्छ।
“हामीले यहोवाका साक्षीहरूबारे जानकारी भएका शिक्षक ओ ——लाई पनि भेट्यौं। तिनले हामीलाई १४ देखि १६ वर्षका केटाकेटीहरू भएको तिनको कक्षामा दुइ घण्टासम्म बोल्न दिए। अतः हामीले हाम्रो भिडियो चलचित्र देखायौं र तिनीहरूका प्रश्नहरूको जवाफ दियौं। युवाजनहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरूa (अंग्रेजी) तथा अन्य पुस्तकहरू सबै हाताहात सिद्धियो। पछि हामीले त्यस कक्षाको तीन जना केटीहरू भेट्यौं। तिनीहरूसित थुप्रै प्रश्नहरू थिए र अझ तिनीहरूमध्ये विशेषगरि एक जनाले एकदमै चासो दिइन्। तिनले सोधिन्, ‘यहोवाको साक्षी कसरी बन्न सकिन्छ? तपाईंहरू जस्तो हुन पक्कै पनि सन्तोषप्रद हुन्छ होला। मेरो बुबाले पनि तपाईंहरूको कार्य मन पराउनुहुन्छ।’ तिनलाई चिठी लेख्ने हामीले वचन दियौं।
“एउटा बस्तीमा हामीले मसीही धर्म सिकाउने अर्को व्यक्ति एम ——लाई भेट्यौं र तिनीसित निकै चाखलाग्दो वार्तालाप भयो। शिकारबाट सबै फर्कने बित्तिकै हाम्रो प्रकाशन बाँड्ने बन्दोबस्त गर्ने कुरा तिनले बताए। अहिले त्यस दुर्गम क्षेत्रमा तिनी हाम्रो ‘प्रकाशक’ हुन्।”
यात्रा घुमाउरो र कठिन भए तापनि यी दुइ अग्रगामीले आफ्नो प्रयासहरूमा प्रचुर इनाम पाएको महसुस गरे।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।