“परमेश्वरको पर्वत”-को देशमा “साक्षीको थुप्रो”
महादेशहरूको मानचित्रमा पश्चिम अफ्रिकाको समुद्री किनारा हुँदै तपाईं गिनीको खाडीको पूर्वतिर लम्कनुभयो भने त्यो समुद्री किनारा दक्षिणतिर मोड्ने बित्तिकै क्यामरून भेटाउनुहुनेछ। अनि तल दक्षिणतिर झर्नुभयो भने कालो बालुवाको विराट् समुद्रीतटमा पुग्नुहुनेछ। कालो बालुवा क्यामरून पर्वतबाट निस्केको ज्वालामुखीले गर्दा भएको हो।
यस सोली आकारको ४,०७० मिटर अग्लो पर्वतले सम्पूर्ण भूभाग ओगटेको छ। सूर्यास्तको समयमा क्यामरून पर्वतका भिरालोहरूलाई वैजनी, सुन्तले, सुनौलो र कलेजीजस्ता भव्य रंगका किरणहरूले छपक्क छोप्छन्। समुद्र र नजीकको दलदलले यी सबै रंगहरूलाई ऐनाले जस्तै परावर्तन गर्छ, जसले गर्दा आकाशलाई पृथ्वीदेखि छुट्याउनै मुस्किल पर्छ। त्यस इलाकाका यथार्थवादी जातिहरूले त्यो पर्वतलाई मोङगो मा लोबा अर्थात् जसको अनुवाद हो “देवताहरूको रथ” वा साधारणतया “परमेश्वरको पर्वत” भन्ने नाउँ दिनुको कारण सजिलै बुझ्नसक्छौं।
अझ दक्षिणतिर गयौं भने किलोमिटरौं लामो सेतो बलौटे समुद्रीतटहरूमा नरिवलका बोटहरू लहरै छन्। रमणीय समुद्रीतटहरूको अलावा यस देशका धेरैजसो भाग भूमध्यरेखा वरपर भएका घना जंगलले ढाकिएको छ र ती कंगो तथा मध्य अफ्रिकी गणतन्त्रको सिमाना र उत्तरमा नाइजेरिया तथा उप-सहारा मरुभूमिको चादसम्म फैलिएको छ। देशको पश्चिमी पहाडी भागले यात्रुहरूलाई युरोपका केही भागहरूको सम्झना गराउँछ। तथापि, यहाँको उष्ण हावापानीले तपाईंलाई दुइ पाइला हिंड्ने बित्तिकै भूमध्यरेखा पुगिन्छ भन्ने कुरा सम्झाइहाल्छ। यहाँको विविध ग्रामीण इलाकाले गर्दा थुप्रै पथप्रदर्शकहरू क्यामरूनलाई अफ्रिकी महादेशको सानो प्रतिरूप भन्छन्। विभिन्न जातीय समूहहरू र २२० भन्दा बढी औपचारिक भाषा तथा उपभाषाहरूले गर्दा झन् यस्तो भान हुन्छ।
तपाईं क्यामरून जानुहुने हो भने डुवाला बन्दरगाह वा राजधानी याउन्डेको भव्य होटेलहरूमध्ये एउटामा बस्नुहुन्छ होला। तर त्यहाँका मानिसहरू र अझ विशेषगरि यहोवाका २४,००० भन्दा बढी साक्षीहरूका जीवनबारे केही थाह पाउने अवसर भने चुकाउन सक्नुहुनेछ। ती साक्षीहरू “परमेश्वरको पर्वत”-को देशमा “साक्षीको थुप्रो” बनाउन व्यस्त छन्।a यिनीहरूमध्ये केहीलाई भेट्न त्यस देशको यात्रा गरे कसो होला? यस पश्चिम अफ्रिकी देशमा तपाईंको अन्वेषण साँच्चै इनामदायी हुनेछ।
डुंगा, बुश ट्याक्सी वा साइकलद्वारा?
क्यामरूनको सबैभन्दा लामो नदी सानेगे, समुद्रमा मिसिने ठाउँमा एउटा ठूलो त्रिकोणीय भूमि बनाउँछ। त्यस विशाल इलाकाका सबै बासिन्दाहरूकहाँ पुग्न यहोवाका साक्षीहरूले अक्सर डुंगाबाट यात्रा गर्नुपर्छ। नौ जना राज्य प्रकाशकहरू भएको एमबियाकोका सानो समूहले त्यसै गर्छ। तिनीहरूमध्ये दुइ जना २५ किलोमिटर टाढा योयो गाउँमा बस्छन्। एमबियाको पुग्न तिनीहरूले बेसरी डुंगा खियाउनुपर्छ तर तिनीहरू मसीही सभाहरूमा सधैं उपस्थित हुन्छन्।त्यस समूहको भ्रमण गर्दा परिभ्रमण निरीक्षकले यहोवाका साक्षीहरू—नाउँ पछाडिको संगठन (अंग्रेजी) भिडिओ चलचित्र देखाउने सुझाउ दिए। तर त्यो भन्नु जति गर्न सजिलो थिएन। त्यस्तो दुर्गम गाउँमा भिडिओ क्यासेट रिकर्डर, टेलिभिजन सेट र बिजुली कहाँ पाउने?
त्यस भ्रमणको हप्ता केही प्रकाशकहरूले स्थानीय चर्चको पादरीलाई भेटे। पादरीले तिनीहरूको न्यानो स्वागत गर्दा तिनीहरू छक्क परे र तिनीसित जोशिलो बाइबल छलफल भयो। भाइहरूले त्यस पादरीसित भिसीआर मात्र होइन तर जेनरेटरसमेत भएको देखेर तिनको उपकरणहरू लिन सकिन्छ कि भनी सोध्ने आँट गरे। बाइबल छलफल रमाइलो लागेको हुँदा त्यस पादरी मदत गर्न राजी भए। शनिबार साँझ भिडिओ हेर्न त्यस पादरी र तिनको चर्चका अधिकांश सदस्यहरूलगायत जम्माजम्मी १०२ जना मानिसहरू आए। योयोका दुइ साक्षीहरूले दुइटा डुंगामा थुप्रै जिज्ञासु व्यक्तिहरूलाई ल्याए। उच्च प्रवाह भएको पानीमा डुंगा खियाउनुपर्ने कुराको त तिनीहरूलाई यादै भएन। भिडिओ हेरिसकेपछि एकदमै प्रभावित र प्रोत्साहित हुनुका साथै यहोवाको आदर गर्ने लक्ष्य भएको महान् संगठनको भाग हुन पाएकोमा तिनीहरूले गर्व महसुस गरे।
डुंगाबाट पुग्न नसक्ने ठाउँहरूमा बुश ट्याक्सीबाट जानुपर्छ। यात्रुहरूलाई पर्खने बिसौनीहरूमा निकै चहलपहल हुन्छ। चिसो पानी बिक्रेता, केरावाल र खलासी केटाहरूको माझ आफू अलमल्लमा पर्नु सजिलो छ। खलासी केटाहरूको काम बिसाइरहेको बुश ट्याक्सीमा यात्रुहरूलाई बसाउनु हो अनि त्यो तिनीहरूअनुसार जहिल्यै “हिंड्नै लागेको” हुन्छ। तथापि “हिंड्नै लागेको” शब्दको अर्थलाई सामान्य रूपमा मात्र लिनुपर्छ। यात्रुहरूले घण्टौं र कहिलेकाहीं एक दुइ दिनसम्म पर्खनुपर्छ। सबै यात्रुहरूलाई भित्र कोचाएर चालकले सरसामान, सागसब्जीका झोलाहरू र कहिलेकाहीं त कुखुरा तथा बोकाहरू सबैमाथि छतमा थान्कोमान्को लगाएपछि बुश ट्याक्सी धूलो उड्ने खल्ट्याङखुल्टुङ बाटोमा गुड्न थाल्छ।
एक परिभ्रमण सेवकले यस्तो यातायात साधनबाट वाक्क भएर त्यसमा यात्रा नगर्ने निर्णय गरे। अहिले तिनी साइकलबाट यात्रा गर्छन्। तिनी यसो भन्छन्: “मण्डली मण्डलीमा जान मैले साइकल चलाउने निर्णय गरेदेखि म जहिले पनि समयमै पुग्छु। हो, त्यसरी यात्रा गर्दा घण्टौं लागे तापनि बुश ट्याक्सी कुरेर एक दुइ दिन त खेर फाल्नु पर्दैन। वर्षा याममा बाढीले गर्दा कुनै कुनै बाटोहरूलाई त स्वात्तै बगाउँछ। त्यो हिलो तर्न आफ्नो जुत्ता फुकाल्नुपर्छ। एक दिन खोलामा मेरो एउटा जुत्ता खस्यो र हप्तौंपछि पाएँ; त्यो पनि एक साक्षीकी छोरीले माछा मार्न जाँदा संयोगवश मेरो जुत्ता पो समातेछिन्! केही समयसम्म पानीमा हराएको जुत्ता फेरि लगाउन पाएकोमा म खुशी छु। कहिलेकाहीं म यहोवाका साक्षीहरूले कहिल्यै प्रचार नगरेको इलाका हुँदै जान्छु। मसित के छ भनेर गाउँलेहरूले सधैं सोध्छन्। त्यसैले म आफ्नो झोलामा सधैं पत्रिका तथा पुस्तिकाहरू हाल्छु। हरेकपल्ट सोध्दा म बाइबल आधारित प्रकाशनहरू दिन्छु र छोटकरीमा साक्षी दिन्छु। मलाई विश्वास छ, यहोवाले सत्यका यी बीउहरूलाई बढाउनुहुनेछ।”
भित्री भागमा
यहोवाका साक्षीहरूले क्यामरूनको भित्री भाग अर्थात् जंगलभित्रका गाउँहरूमा समेत परमेश्वरको राज्य सुसमाचार सुनाउन यत्न गर्छन्। सो गर्न निकै प्रयास गर्नुपर्छ तर नतिजाहरू हृदयस्पर्शी छन्।
पूर्ण-समय सेविका, मारीले एक जवान केटी आरलेटसित बाइबल अध्ययन सुरु गरिन्। पहिलो अध्ययनको अन्तमा यस अफ्रिकी भागको चलनअनुसार मारीले आरलेटलाई ढोकासम्म पुऱ्याउन आउँछिन् कि भनेर सोधिन्। तथापि, यस जवान केटीले पाइताला दुखेकोले हिंड्नै नसक्ने कुरा बताइन्। आरलेटको पाइताला एक प्रकारको पोथी उपियाँबाट संक्रमित थियो र यसले मासुभित्र दुलो बनाएर पीप जमाउँछ। मारीले नडराई एक एक गरी सबै उपियाँहरू निकालिन्। त्यस केटीलाई राती प्रेतहरूले पनि सताउने गरेको पछि मारीले थाह पाइन्। यहोवामाथि भरोसा गर्न र अझ विशेषगरि उहाँको नाउँ ठूलो स्वरले प्रार्थनामा पुकार्न मारीले धैर्यतापूर्वक सिकाइन्।—हितोपदेश १८:१०.
आरलेटले चाँडचाँडो प्रगति गरिन्। तिनले शारीरिक र बौद्धिक तवरमा उल्लेखनीय प्रगति गरेकीले सुरुमा त परिवारले अध्ययन गर्दा कुनै खराबी देखेन। तर जब तिनीहरूले तिनी एक यहोवाको साक्षी हुन चाहन्छिन् भन्ने थाह पाए, तब अध्ययन गर्न निषेध गरे। आफ्नी छोरी असाध्यै विचलित भएकी देखेर आरलेटकी आमाले मारीलाई भेटेर अध्ययन पुनः सुरु गर्न आग्रह गरिन्।
क्षेत्रीय सम्मेलनको दुवै दिन आरलेटलाई सँगै लिएर जान मारीले चालकलाई पैसा तिरिन्। तथापि, आरलेटको घर जाने बाटोमा गाडी लानै मिल्दैन भनेर चालक मान्दै मानेनन्। अतः मारीले आरलेटलाई जसोतसो मूल बाटोसम्म ल्याइन्। निस्सन्देह, यहोवाले ती प्रयासहरूमा आशिष् दिनुभयो। अहिले आरलेट मण्डलीका सबै सभाहरू धाउँछिन्। तिनलाई मदत गर्न मारी झिजो नमानी आरलेटलाई लिन जान्छिन्। जाँदा र आउँदा दुवै चोटि तिनीहरू सँगै ७५ मिनेट लामो बाटो हिंड्छन्। आइतबारको सभा बिहान ८:३० बजे सुरु हुने हुँदा मारी बिहान ६:३० मा घरबाट निस्कनुपर्छ र तैपनि तिनीहरू समयमै आइपुग्छन्। चाँडै नै आरलेटले बप्तिस्मा लिएर आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिने आशा गरेकी छिन्। मारी भन्छिन्: “तिनले अध्ययन गर्न थाल्दा तिनलाई पहिला नभेट्ने जो कोहीले पनि तिनले कति परिवर्तन गरेकी छिन् भनेर कल्पनै गर्न सक्दैन। यहोवाले तिनलाई आशिष् दिनुभएकोमा म उहाँप्रति असाध्यै कृतज्ञ छु।” मारी आत्मत्यागी प्रेमको साँच्चै असल उदाहरण हुन्।
सुदूर उत्तरमा
उत्तरी क्यामरून विविधता र अचम्मका कुराहरूको संगालो हो। वर्षा याममा यो विशाल लहलहाउँदो हरियो बगैंचामा परिणत हुन्छ। तर चर्को घाम लागेपछि घाँस ओइलाउँछ। बाह्र बजेको टन्टलापुर घाममा छहारी पाउन गाह्रो हुने हुँदा भेडाहरू पनि छहारीको लागि रातो माटोका घरका भित्ताहरूमा कोचाकोच गर्छन्। बालुवा र सुक्खा घाँसको बीचमा हरियोको नाउँमा बोओबाब रूखहरूका पातहरू फाटफुट मात्र हुन्छन्। भूमध्यरेखा वरपरका जंगलमा पाइने रूखहरू जतिकै यी रूखहरू अग्ला हुँदैनन्, तापनि प्रतिकूल मौसम खप्ने सन्दर्भमा भने यी रूखहरू ती अग्ला रूखहरू जतिकै बलियो हुन्छन्। प्रतिकूल मौसम खप्नसक्ने यी रूखहरूले यस क्षेत्रमा सत्यको ज्योति चम्काउन त्यहाँ बसोबास गर्न गएका केही साक्षीहरूको जोश र साहसलाई स्पष्टसित चित्रित गर्छ।
त्यस क्षेत्रमा केही मण्डलीहरूबीचको दूरी ५०० देखि ८०० किलोमिटर छ र त्यहाँ साँच्चै एक्लो महसुस हुन्छ। तर त्यहाँ थुप्रैले चासो देखाउँछन्। मदत गर्न अन्य इलाकाका साक्षीहरू त्यहाँ बसाइँ सर्छन्। सेवकाईमा प्रभावकारी हुने हो भने तिनीहरूले स्थानीय उपभाषा फूफूल्दा सिक्नुपर्छ।
गरुआका एक साक्षीले १६० किलोमिटर टाढा आफू जन्मेको गाउँमा केही दिनको लागि प्रचार गर्ने निर्णय गरे। तिनले केही इच्छुक व्यक्तिहरू भेट्टाए तर यातायात खर्च महँगो पर्ने हुनाले नियमित तवरमा तिनीहरूकहाँ फर्कन सकेनन्। एक जिज्ञासु व्यक्तिले पुनः आउनको निम्ति बिन्ती गरेर लेखेको चिठी त्यस साक्षीले केही हप्तापछि पाए। यातायातको लागि अझै पैसा नपुगेकोले तिनी जानै सकेनन्। गाउँमा दश जना मानिसहरू तिनको भ्रमणको लागि पर्खिरहेका छन् भनेर जानकारी दिन त्यस मानिस गरुआमा आफ्नो घरमा आएको देख्दा त्यस साक्षी कति चकित भए होलान् विचार गर्नुहोस्!
चादको सिमाना नजीकैको अर्को गाउँमा ५० जना जिज्ञासु व्यक्तिहरूले नै बाइबल अध्ययनको प्रबन्ध मिलाएका छन्। तिनीहरूले आफूहरूमध्ये तीन जनालाई नजीकै पर्ने चाद मण्डलीका सभाहरूमा उपस्थित हुने प्रबन्ध मिलाए। अनि त्यहाँबाट फर्केपछि तिनीहरूले सम्पूर्ण समूहसित बाइबल अध्ययन गर्थे। निस्सन्देह, यहाँ येशूका निम्न शब्दहरू लागू हुनसक्छ: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर।”—मत्ती ९:३७, ३८.
शहरहरूमा साक्षीकार्य
क्यामरूनमा निकै वर्षसम्म प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूको अभावपछि विगत दुइ वर्षदेखि प्रशस्त मात्रामा खुलेआम उपलब्ध हुन थाल्यो। थुप्रै मानिसहरूले यी पत्रिकाहरू पहिलो पटक पढेकोले धेरै चासो देखाउँछन्। एउटा शहरमा खटाइएको जवान विशेष अग्रगामी दम्पतीले आफ्नो नयाँ इलाकामा पहिलो चोटि बिहान प्रचार गर्दा ८६ वटा पत्रिकाहरू वितरण गरे। केही प्रकाशकहरूले एक महिनामा २५० वटासम्म पत्रिकाहरू वितरण गर्छन्! तिनीहरूको सफलताको रहस्य के हो? तिनीहरू सबैलाई पत्रिकाहरू प्रस्तुत गर्छन्।
जनसाधारणको लागि खुल्ला कार्यालयमा काम गर्ने एक साक्षीले सधैं अरूले देख्ने ठाउँमा पत्रिकाहरू राख्छन्। एउटी स्त्रीले पत्रिकाहरू हेरिन् तर एउटै लिइनन्। साक्षीले त्यस स्त्रीको चासो भएको बुझेर एक प्रति प्रस्तुत गरे र तिनले स्वीकारिन्। त्यस स्त्रीलाई भोलिपल्ट फेरि देख्दा साक्षी तीन छक परे। तिनी आफूले लिएको पत्रिकाको लागि चन्दा दिन मात्र आएकी थिइनन् तर अझ अरू बढी लिन आएकी थिइन्। किन? आफू बलात्कारको शिकार भइसकेकीले तिनले त्यही विषयको पत्रिका रोजेकी थिइन्। तिनले त्यहाँ दिएको सल्लाह रातभरि दोऱ्याइ तेऱ्याइ पढेछिन्। निकै ढुक्क महसुस भएकोले तिनी यहोवाका साक्षीहरूबारे अझ बढी जान्न चाहन्थिन्।
स-साना केटाकेटीहरूले पनि बाइबल आशाको सन्देश सुनाउन भाग लिनसक्छन्। एक छ वर्षीया साक्षी बच्चीलाई तिनको शिक्षकले क्याथोलिक भजन गाउन लगाउँदा आफू यहोवाको साक्षी भएकोले गाउन अस्वीकार गरिन्। त्यसपछि शिक्षकले अंक दिन तिनको आफ्नै धर्मबाट एउटा गीत गाउन लगाए। तिनले “प्रमोदवनबारे परमेश्वरको प्रतिज्ञा” शीर्षक गीत छानिन् र किताप नहेरी गाइन्। शिक्षकले तिनलाई सोधे: “तिमीले गीतमा प्रमोदवनको उल्लेख गऱ्यौ। यो प्रमोदवन कहाँ छ?” त्यस केटीले चाँडै यसै पृथ्वीमा प्रमोदवन स्थापना गर्ने परमेश्वरको उद्देश्यबारे बताइन्। तिनको जवाफ सुनेर शिक्षक छक्क परे र तिनको आमाबाबुसित अध्ययन गर्ने किताप मागे। तिनलाई धर्मबारे सिकाइने पाठको साटो यस कितापबाट सिकेको कुराको आधारमा अंक दिन त्यस शिक्षक इच्छुक थिए। ठीकसित अंक दिने हो भने, आफैले पहिला अध्ययन गर्नुपर्ने सुझाउ आमाबाबुले त्यस शिक्षकलाई दिए। तिनीसित बाइबल अध्ययन सुरु भयो।
भ्रमण गर्ने योजना बनाउँदै हुनुहुन्छ?
आज यस संसारका धेरै भागहरूमा परमेश्वरको राज्यको सुसमाचारप्रति मानिसहरूले चासो देखाउँदैनन्। नता परमेश्वर न बाइबलप्रति तिनीहरू चासो लिन्छन्। अरू चाहिं डरले थरथर छन् र कुनै अपरिचित व्यक्ति आउँदा ढोका खोल्न पटक्कै चाहँदैनन्। यहोवाका साक्षीहरूको सेवकाईमा यी साँच्चै चुनौती हो। तर क्यामरूनमा कति भिन्न छ!
यहाँ घर-घरमा प्रचार गर्नु रमाइलो हुन्छ। ढकढकाउनुको साटो “काङ काङ काङ” भन्ने चलन छ। अनि भित्रबाट यस्तो जवाफ आउँछ, “को हो?” र त्यसपछि हामी यहोवाका साक्षीहरू हौं भनी परिचय दिन्छौं। अक्सर, आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई मुढाहरू ल्याउन अह्राउँछन् र सम्भवतः आँपको रूखको छहारीमा राख्छन्। परमेश्वरको राज्य के हो र यसले मानिसजातिको दुःखदायी अवस्थालाई कसरी हटाउनेछ भनेर बुझाउँदै रमाइलोसित समय बिताइन्छ।
त्यस्तै छलफलपछि एक स्त्रीले आफ्नो भावनाहरू यसरी व्यक्त गरिन्: “म जन्मेर हुर्केको धर्ममा मैले खोजिरहेको सत्य नपाउँदा म दुःखित छु। मलाई सत्य देखाइदिनुभएकोमा म परमेश्वरप्रति कृतज्ञ छु। म चर्चमा डिकन थिएँ। कुमारी मरियमको मूर्ति हरेक डिकनको घरमा पालैपालो एक एक हप्ता राखिन्छ र प्रत्येकले आ-आफ्नो बिन्तीहरू चढाउनसक्छ। तर म चाहिं सधैं सत्य थाह पाउन मदत मिलोस् भनी मरियमलाई आग्रह गर्थें। तिनीसित सत्य छैन भनेर अहिले परमेश्वरले मलाई देखाउनुभएको छ। म यहोवालाई धन्यवाद दिन्छु।”
अतः, परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर प्रचुर मात्रामा आनन्द अनुभव गर्न चाहनुहुन्छ भने, पश्चिम अफ्रिकाको यस भागमा गए कसो होला? डुंगा, बुश ट्याक्सी वा साइकल जेसुकैबाट “अफ्रिकाको सानो प्रतिरूप” पत्ता लगाउनुको अलावा तपाईंले “परमेश्वरको पर्वत”-को देशमा “साक्षीको थुप्रो” बनिंदै गरेको कार्यमा योगदान पुऱ्याउनुहुनेछ।
[फुटनोट]
a “गिलियड” अनुवाद गरिएको हिब्रू शब्दको सम्भाव्य अर्थ “साक्षीको थुप्रो” हो। सन् १९४३ देखि वाचटावर बाइबल स्कूल अफ गिलियडले क्यामरूनमा मात्रै होइन, विश्वभरि प्रचारकार्य थाल्न मिसनरीहरू पठाउँदै आएको छ।
[पृष्ठ २२-मा भएको स्रोत]
Map: Mountain High Maps® Copyright © 1995 Digital Wisdom, Inc.