राज्य उद्घोषकहरूका रिपोर्ट
“तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्”
येशूले डाँडाको उपदेशमा आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरू जगत्का ज्योति हौ।” उहाँले तिनीहरूलाई अझै यस्तो आग्रह गर्नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”—मत्ती ५:१४-१६.
इटालीमा यहोवाका साक्षीहरूको असल कार्य मानिसहरूले याद नगरेका होइनन्। उदाहरणका लागि, तिनीहरूका वार्षिक अधिवेशनहरूमा तिनीहरूको असल आचरणले परमेश्वरको प्रशंसा गर्छ। निम्न प्रतिवेदनले यसको पुष्टि दिन्छ:
▪ लामो समयदेखि इटालीस्थित टर्नीका एक स्त्री आफ्नी छोरीलाई चमेनागृह चलाउन मदत गर्दै आएकी थिइन्। त्यो चमेनागृह त्यस शहरको रंगशाला नजीकै थियो। तिनी भन्छिन्: “मैले फूटबल हेर्न आउनेहरू र यहोवाका साक्षीहरूको अधिवेशनमा आउने प्रतिनिधिहरूबीच ठूलो भिन्नता पाएँ। साक्षीहरूले भद्र लुगाहरू लगाउनुका साथै तिनीहरू इमानदार र आदरणीय हुन्थे। विभिन्न जातिका मानिसहरू पनि कसरी त्यस्तो मिल्न सकेका होलान् भनी म छक्क पर्थें।
“एक दिनको कुरा हो, एक साक्षीले मलाई बाटोमा रोकेर परमेश्वरको नाउँ थाह छ भनी सोधिन्। मलाई उहाँको नाउँ थाह थिएन। यहोवाका साक्षीहरू असल व्यक्तिहरू हुन् भनी थाह भएकोले तिनी मकहाँ आउँछु भन्दा हुन्छ भने। मरेकाहरूको अवस्थाबारे मेरा थुप्रै प्रश्नहरू थिए र तिनले बाइबलबाटै त्यसका जवाफहरू दिइन्। कुनै हिचकिचाहटबिना बाइबल अध्ययन गर्न म मञ्जुर भएँ र दुइ हप्तापछि देखि सभाहरू धाउन थालें।
“मेरी छोरीले पहिला त विरोध गरिन् तर पछि मेरो आचरण र कटिबद्धता देखेर तिनको मनोवृत्तिमा परिवर्तन आयो। मैले नौ महिनाअघि बाइबल अध्ययन गर्न थालेकी थिएँ। आज मेरी छोरी र तिनको पतिले चमेनागृहमा आउने मानिसहरूलाई यहोवाका साक्षीहरूबारे राम्रा टिप्पणीहरू गर्छन्। मैले चाहिं त्यही रंगशालामा सम्पन्न भएको अधिवेशनमा बप्तिस्मा लिएँ।”
▪ रोजाटो डेल्ये आब्रुट्सेमा भएको अधिवेशनपछि पालमा बस्नेहरूको निम्ति जग्गा भाँडामा दिने मानिसले यस्तो टिप्पणी गरे: “यहोवाका साक्षीहरू आफ्नो सबै काममा एकदमै इमानदार छन्। गत हप्ता तिनीहरूमध्ये ४० जना मेरो जग्गामा बसेका थिए र तिनीहरू पटक्कै कचकच गर्दैनन्। बरु, तिनीहरूको पालमा कोही थप मानिस बस्न लागेको छ भने आएर खबर गर्नेहरू तिनीहरू मात्रै हुन्। मैले थाह पाएसम्म तिनीहरू जत्तिको बेस ग्राहकहरू त अरू कतै पाइँदैन होला।”
▪ सोही अधिवेशनपछि होटेलको प्रबन्धकले यसो भने: “यहोवाका साक्षीहरू एकदमै शान्तिमय छन्। तिनीहरू हुल्याहा छैनन् र राती छिटो सुत्छन्। तिनीहरू साँच्चै दयालु, इमानदार हुनुका साथै शीलस्वभावका छन्। सबै तिनीहरूजस्तो भए त कत्ति बेस हुनेथियो। अरूले फूलदानी, चुरोटदानी र ट्वाइलेट पेपर तथा चिनीसमेत चोर्छन्! तपाईंहरूले त्यस्तो कहिल्यै गर्नुभएको छैन। तपाईंहरूका केटाकेटीले साँझमा फ्रिजबाट बरफ झिक्दा म कहिल्यै तिनीहरूले कतिवटा झिकेछन् भनी हेर्न जान्न। तिनीहरू आफै हिसाब गरेर तिर्न आउँछन्। तिनीहरूमाथि मेरो पूर्ण विश्वास छ। अरू पनि तिनीहरूजस्तै भए त कत्ति बेस हुनेथियो! मेरो होटेलमा सबै ग्राहकहरू यहोवाका साक्षीहरूजस्तै भइदिए त कत्ति हुन्थ्यो।”
पृथ्वीको अरू भागमा जस्तै यहोवाका साक्षीहरू इटालीमा पनि चिरपरिचित छन्। ‘अन्यजातिहरूका बीचमा तिनीहरू असल चालचलन’ कायम गर्छन्। यसरी आफूले वहन गर्ने साँचो परमेश्वरको नाउँको तिनीहरू प्रशंसा गर्छन्।—१ पत्रुस २:१२.