उत्तम मार्ग
यहोवाका साक्षीहरू संसारमा आध्यात्मिकता र नैतिकताको ह्रास अनि समाजका मानिसहरूले धर्ममा आस्था राख्न नसक्नुजस्ता कुराबारे चिन्तित छन्। यसैकारण तिनीहरूलाई कहिलेकाहीं कट्टरपन्थीहरू भनिन्छ। तर के तिनीहरू साँच्चै कट्टरपन्थीहरू हुन् त? अहँ, होइनन्। तिनीहरूको धार्मिक विश्वास दह्रो भए तापनि आज जुन अर्थमा कट्टरपन्थी भन्ने पदावली चलाएको छ, त्यससँग भने मेल खाँदैन। तिनीहरूले आफ्नो विचारधारालाई प्रचारप्रसार गर्न राजनैतिक नेताहरूलाई दबाब दिंदैनन् र जुलुसहरू निकाल्दैनन् अनि आफ्नो मतसित सहमत नहुनेहरूसँग झगडा गर्दैनन्। तिनीहरूले उत्तम मार्ग पाएका छन्। तिनीहरू आफ्नो नेता येशू ख्रीष्टको अनुसरण गर्छन्।
यहोवाका साक्षीहरू धार्मिक सत्य छ र यो बाइबलमा पाइन्छ भनी विश्वस्त छन्। (यूहन्ना ८:३२; १७:१७) बाइबलले मसीहीहरूलाई दयालु, असल, शान्त र व्यवहारिक हुन सिकाउँछ र यस्ता गुनहरूले कट्टर हुने मौका दिंदैन। (गलाती ५:२२, २३; फिलिप्पी ४:५) बाइबलमा याकूबको पुस्तकमा मसीहीहरूलाई ‘माथिबाट आउने ज्ञान’ खेती गर्न प्रोत्साहित गरिएको छ जुन “पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ।” याकूब अझै यसो भन्छन्: “मेल-मिलाप खोज्नेहरूका निम्ति धर्मको फल मिलापमै रोपिन्छ।”—याकूब ३:१७, १८.
येशू सत्यबारे एकदमै चिन्तित हुनुहुन्थ्यो भनी यहोवाका साक्षीहरूले बिर्सेका छैनन्। उहाँले पन्तियस पिलातसलाई यसो भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ। सत्यको जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३७) उहाँ सत्यको निडर उद्घोषक हुनुभए तापनि कहिल्यै अरूलाई आफ्नो विश्वासअनुसार गर्न जबरजस्ती गर्नुभएन। बरु, उहाँले तिनीहरूको मन अनि हृदय छुनुभयो। उहाँको स्वर्गमा हुनुहुने पिता, “असल र सरल” परमेश्वरले यस पृथ्वीबाट कहिले अनि कसरी अन्याय र झूट हटाउनुहुनेछ, त्यो परमेश्वरले नै निर्णय गर्नुहुनेछ भनी येशूलाई थाह थियो। (भजन २५:८) यसकारण, उहाँसित असहमत हुनेहरूलाई उहाँले दबाउन खोज्नुभएन। बरु, त्यतिबेलाका धार्मिक कट्टरपन्थी नेताहरूले उहाँलाई दबाउन खोजेका थिए।—यूहन्ना १९:५, ६.
धार्मिक सिद्धान्तहरूमा यहोवाका साक्षीहरू दृढ विश्वास गर्नुका साथै नैतिकतासम्बन्धी ठोस मूल्य र मान्यताहरू राख्छन्। प्रेरित पावलजस्तै तिनीहरू पनि “एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा” छ भनी विश्वस्त छन्। (एफिसी ४:५) येशूका यी शब्दहरू पनि तिनीहरूलाई थाह छ: “त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) तैपनि, अरूलाई तिनीहरूकै विश्वास पछ्याउन जबरजस्ती गर्दैनन्। बरु, तिनीहरू पावलको नक्कल गर्छन् र “परमेश्वरसँग मिलाप” राख्न चाहनेहरूलाई “बिन्ती” गर्छन्। (२ कोरिन्थी ५:२०) यो उत्तम मार्ग हो। अनि परमेश्वरको मार्ग पनि यही हो।
आज जुन अर्थमा धार्मिक कट्टरपन्थी भन्ने शब्द चलाइन्छ, त्यो एकदमै भिन्न छ। समाजमा आफ्नो सिद्धान्तहरू मानिसहरूलाई मान्न लगाउन कट्टरपन्थीहरू हिंसालगायत अन्य थुप्रै चालहरू चल्छन्। यसो गर्दा तिनीहरू राजनैतिक व्यवस्थाको अत्यावश्यक भाग हुन जान्छन्। तर येशूले आफ्ना अनुयायीहरूलाई ‘यस संसारका भाग नहुनू’ भन्नुभएको थियो। (यूहन्ना १५:१९; १७:१६; याकूब ४:४) यी शब्दहरू मनमा राख्दै यहोवाका साक्षीहरू राजनैतिक विवादहरूमा कसैको पक्ष लिंदैनन्। अनि इटालेली अखबार फियोरेपाजेना-ले सहमति जनाएझैं तिनीहरू “कुनै कुरा पनि कसैमाथि जबरजस्ती गर्दैनन्; तिनीहरूले बताउने कुरा स्वीकार्न वा इन्कार गर्न सबै स्वतन्त्र छन्।” नतिजा कस्तो भएको छ? साक्षीहरूको शान्तिमय सन्देशले सबै प्रकारका मानिसहरूलाई आकर्षित गर्छ। अझ भनौं भने, एक ताका कट्टरपन्थी भएकाहरूलाई समेत आकर्षित गर्छ।—यशैया २:२, ३.
दृढ मूल्य र मान्यता भएको संसार
कट्टरपन्थीहरूलाई चिन्ता लाग्ने समस्याहरू मानिसहरूले सुल्झाउन सक्दैनन् भनी यहोवाका साक्षीहरूले बुझेका छन्। तपाईंले कोही व्यक्तिलाई परमेश्वरमाथि विश्वास राख्न वा तपाईंको आफ्नो धर्म स्वीकार्न जबरजस्ती गर्न सक्नुहुन्न। त्यो सम्भव छ भन्ठानेकोले नै इतिहासमा एकदमै डरलाग्दा घटनाहरू भएका छन्। जस्तै मसीही र मुसलमानहरूबीचको धर्मयुद्ध, मध्ययुगमा भएको इन्क्विजिशन र अमेरिकी आदिवासीहरूको “धर्मपरिवर्तन।” तथापि, तपाईं परमेश्वरमाथि विश्वास गर्नुहुन्छ भने यी मामिलाहरू उहाँकै हातमा छोड्नुहुनेछ।
बाइबलअनुसार परमेश्वरले उहाँको व्यवस्था तोड्न र दुःखकष्ट रहिरहन सधैंभरि अनुमति दिनुहुनेछैन। त्यो समय सकिनै लागेको छ। स्वर्गमा स्थापित परमेश्वरको राज्यबाट येशूले शासन गरिरहनुभएको छ अनि चाँडै त्यो राज्यले मानव सरकारहरू हटाउनेछ र मानिसजातिमाथि शासन गर्न थाल्नेछ। (मत्ती २४:३-१४; प्रकाश ११:१५, १८) यसको नतिजा पृथ्वीभरि प्रमोदवन हुनेछ अनि त्यहाँ शान्ति र धार्मिकता छाउनेछ। त्यतिबेला साँचो परमेश्वरलाई कसरी उपासना गर्नुपर्ने हो भनी कुनै अन्योल हुनेछैन। “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) करुणा, सत्य, न्याय र भलाइजस्ता अनन्तकालसम्म उपयोगी मूल्य र मान्यताहरू सबै आज्ञाकारी मानिसजातिको भलाइको लागि विजयी हुनेछ।
त्यस समयको प्रत्याशा गर्दै भजनरचयिताले कवितात्मक शैलीमा यसो भने: “कृपा र सत्यता आपसमा मिलेका छन्। र धार्मिकता र शान्तिले एक दोस्रोलाई चुम्बन गरेका छन्। पृथ्वीबाट सत्यता उम्रेर निस्कन्छ, र धार्मिकताले चाहिं स्वर्गबाट तल हेरेको छ। जे असल छ त्यही परमेश्वरले दिनुहुनेछ। र हाम्रो जमीनले बेसरी उमार्नेछ। धार्मिकताचाहिं उहाँको अगिअगि जानेछ। र उहाँका पाइलाहरूमा हामीलाई हिंड़ने बाटो बनाउनेछ।”—भजन ८५:१०-१३.
हामीले संसारमा विद्यमान परिस्थितिलाई परिवर्तन त गर्न सक्दैनौं तर यी ईश्वरीय गुनहरू आज पनि विकास गर्नसक्छौं। अतः, हामी नयाँ संसारमा परमेश्वरले राख्न चाहनुभएका जस्तै मानिसहरू हुनेछौं। भजनरचयिताले भनेका नम्रहरूमध्ये हामी पनि हुनेछौं: “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:११) उहाँको इच्छाअनुसार गर्नेहरूलाई परमेश्वरले समर्थन गर्नुहुन्छ र आशिष् दिनुहुन्छ अनि भविष्यको लागि अद्भुत कुराहरूको प्रतिज्ञा गर्नुहुन्छ। प्रेरित यूहन्नाले यसो भने: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको राज्यको सुसमाचारसित परिचित हुन यहोवाका साक्षीहरू सबैलाई आमन्त्रित गर्छन्
[पृष्ठ ६-मा भएको चित्रको स्रोत]
पृष्ठ ३, ४, ५ र ६ को दियो: Printer’s Ornaments/by Carol Belanger Grafton/Dover Publications, Inc.