कट्टरपन्थ—यो के हो?
कट्टरपन्थको सुरुआत कहाँबाट भयो? उन्नाइसौं शताब्दीको अन्ततिर उदारवादी विचारधाराका धर्मविद्हरूले बाइबल लेखोटहरूको ऐतिहासिकता तथा सत्यता पत्ता लगाउन गरिएको अध्ययन र विकासवादजस्ता वैज्ञानिक सिद्धान्तहरूअनुसार आफ्नो विश्वासमा छाँटकाँट गरिरहेका थिए। यसको परिणामस्वरूप बाइबलप्रति मानिसहरूको भरोसा धरमराउन थाल्यो। संयुक्त राज्यमा रूढिवादी धार्मिक नेताहरूले त्यस्तो अवस्थालाई सुल्झाउन विश्वासका लागि अत्यावश्यक आधारभूत तत्त्वहरू भनी प्रकाशित गरे।a ती आधारभूत तत्त्वहरू छलफल गर्दै २० औं शताब्दीको सुरुतिर तिनीहरूले “द फन्डामेन्टल्स्—अ टेस्टिमोनी टु ट्रुथ” (अंग्रेजी) नामक खण्डहरू प्रकाशित गरे। यही शीर्षकबाट नै अंग्रेजी शब्द “फन्डामेन्टलिजम” अर्थात् “कट्टरपन्थ” भन्ने शब्द आयो।
बीसौं शताब्दीको बीचसम्ममा कट्टरपन्थबारे समाचार माध्यममा फाटफुट चर्चा देखा पर्न थालिसकेको थियो। उदाहरणका लागि, सन् १९२५ मा धार्मिक कट्टरपन्थीहरूले स.रा.अ., टेनीसीका एक स्कूल शिक्षक जोन स्कोप्स् विरुद्ध मुद्दा हाले। यो पछि गएर स्कोप्स् मुद्दा भनेर चिनिन थाल्यो। तिनको अपराध के थियो? तिनले स्कूलमा विकासवाद सिकाइरहेका थिए र त्यो त्यस प्रान्तको कानुन विरुद्ध थियो। त्यतिबेला केही मानिसहरूको सोचाइमा कट्टरपन्थ अलिक समयपछि सामसुम हुनेछ भन्ने थियो। सन् १९२६ मा प्रोटेस्टेन्ट पत्रिका क्रिश्चियन सेन्चुरी-ले कट्टरपन्थ “खोक्रो र देखावटी” हुनुका साथै “यसमा रचनात्मक उपलब्धि गर्ने गुनहरूको पूर्णतया अभाव छ र पछिसम्म टिक्नेछैन” भनेर टिप्पणी गऱ्यो। त्यो निष्कर्ष कत्ति गलत साबित भयो!
सन् १९७० दशकदेखि कट्टरपन्थीहरूबारे बारम्बार समाचारहरूमा सुन्ने गर्छौं। सं.रा.अ. क्यालिफोर्नियास्थित फुलर थियोलजिकल सेमिनरीका प्राध्यापक मिरोस्लाभ भोल्फ यसो भन्छन्: “कट्टरपन्थ अहिलेसम्म टिकेको मात्र होइन, फस्टाइ पनि रहेको छ।” आज “कट्टरपन्थी” भन्ने शब्द प्रोटेस्टेन्टहरूमा मात्र लागू हुँदैन तर क्याथोलिक, मुसलमान, यहूदी र हिन्दूजस्ता अन्य धर्महरूमा पनि लागू हुन्छ।
हाम्रै समयले जन्माएको अवस्था
कट्टरपन्थ किन फैलियो त? यसबारे अध्ययन गर्नेहरूको भनाइअनुसार हाम्रो समयको नैतिक र धार्मिक अनिश्चितता पनि यसको एउटा कारण हो। पहिला पहिला धेरैजसो मानिसहरू परम्परागत विश्वासहरूमा आधारित नैतिक वातावरणमा आफ्नो जीवन बिताउँथे। अहिले ती विश्वासहरूमाथि प्रश्न गरिन्छ वा त्यसलाई तिरस्कार गरिन्छ। धेरै बुद्धिजीवीहरू परमेश्वर नै छैन र यस भावशून्य ब्रह्माण्डमा मानिस एक्लो छ भन्छन्। थुप्रै वैज्ञानिकहरूले मानिसजाति मायालु सृष्टिकर्ताको कार्य नभई विकासवादको उपज हो भन्छन्। जे गरे पनि ठीकै छ भन्ने विचारधारा व्याप्त छ। समाजको जुनसुकै पक्षमा नैतिक मूल्यहरू झन् झनै खस्कँदै छन्।—२ तिमोथी ३:४, ५, १३.
कट्टरपन्थीहरू त्यस्तै पुरानो मान्यता भएको वातावरणको चाहना गर्छन्। अनि केहीले आफ्नो राष्ट्र वा समुदायमा आफूलाई नैतिक तवरमा उचित लाग्ने र सिद्धान्तमा आधारित जग फेरि बसाल्ने कोसिस गर्छन्। अरूलाई जबरजस्ती “सही” नैतिक संहिता र सैद्धान्तिक विश्वासअनुरूप जीवन बिताउन लगाउन तिनीहरू आफूले सकेजति सबै गर्छन्। आफ्नो विचारधारा सही र अरूको चाहिं गलत भन्ने कुरामा कट्टरपन्थीलाई कुनै शंका हुँदैन। कट्टरपन्थ (अंग्रेजी) नामक पुस्तकमा प्राध्यापक जेम्स बारले कट्टरपन्थीहरू “अक्सर वैरभावी र खिसी गर्ने हुन्छन् र यसले गर्दा संकुचित, कट्टर, साम्प्रदायी भाव उस्काउँछ” भने।
कसैलाई पनि आफू संकुचित, कट्टर विचारधारा भएको व्यक्ति भनेको मन पर्दैन। त्यसैले कट्टरपन्थी को हो र को होइन भन्ने कुरामा सबै सहमत छैनन्। तथापि, केही पक्षहरू छन् जसले धार्मिक कट्टरपन्थको चिनारी दिन्छन्।
कट्टरपन्थीलाई चिन्ने
धार्मिक कट्टपन्थीहरूले अक्सर रूढिवादी विचारहरू वा कुनै संस्कृतिको धार्मिक विश्वास जगेर्ना गर्ने प्रयास गर्छन् र सांसारिक कुराहरूको विरोध गर्छन्। तर यसको अर्थ कट्टरपन्थीहरूले सबै आधुनिक कुराहरूको विरोध गर्छन् भनेको होइन। केहीले आफ्नो विचारधारा प्रचारप्रसार गर्न आधुनिक सञ्चार माध्यम निकै प्रभावशाली ढंगमा प्रयोग गरेका छन्। तर समाज धर्मनिरपेक्ष भयो भने त्यसको विरोध गर्छन्।b
केही कट्टरपन्थीहरू आफ्नो लागि मात्र रूढिवादी सिद्धान्त वा जीवनशैलीको जगेर्ना गर्ने नभई अरूमाथि पनि ती जबरजस्ती लागू गराउन कटिबद्ध हुन्छन्। अतः, क्याथोलिक कट्टरपन्थी आफैले मात्र गर्भपातको विरोध गर्ने होइन तर तिनले शायद गर्भपातलाई गैरकानुनी बनाउन आफ्नो देशका विधायकहरूलाई पनि दबाब दिनेछन्। पोल्याण्डमा ला रापुब्लेका नामक अखबारअनुसार क्याथोलिक चर्चले गर्भपात विरुद्ध कानुन पारित गर्न “एउटा ‘आन्दोलन’ नै गऱ्यो, जसमा यसले आफूसित भएको सबै शक्ति र प्रभाव चलायो।” यसो गर्दा चर्चका अधिकारीहरूले कट्टरपन्थीहरूले जस्तै कार्य गरिरहेका थिए। संयुक्त राज्यका प्रोटेस्टेन्ट क्रिश्चियन कोएलिसन पनि त्यस्तै प्रकारका “आन्दोलनहरू” गर्छन्।
कट्टरपन्थीहरू विशेषगरि तिनीहरूको कट्टर धार्मिक विश्वासबाट चिनिन्छन्। त्यसैले, प्रोटेस्टेन्ट कट्टरपन्थीहरू बाइबलको शाब्दिक अनुवाद गर्न कटिबद्ध हुन्छन्। जस्तै पृथ्वी साँच्चै छ दिनमा बनाइएको थियो भन्ने विश्वासहरू। अर्कोतर्फ, क्याथोलिक कट्टरपन्थी भने पोपबाट कुनै पनि गल्ती हुनसक्दैन भनेर विश्वस्त हुन्छ।
त्यसैकारण “कट्टरपन्थी” भन्ने बित्तिकै अव्यवहारिक हठधर्मीहरू भन्ठान्नु र कट्टरपन्थ फैलिरहेको देख्दा कट्टरपन्थी विचारधारा नराख्नेहरू चिन्तित महसुस गर्नुको कारण सजिलै बुझ्नसक्छौं। हामी कट्टरपन्थीहरूसित सहमत नहौंला र तिनीहरूले राजनीतिमा हात हाल्दा कहिलेकाहीं हुने हिंस्रक कार्य देखेर भयभीत पनि हौंला। निस्सन्देह, एउटा धर्मको कट्टरपन्थी अर्को धर्मको कट्टरपन्थीको काम देखेर डराउला! तैपनि, विचारशील थुप्रै मानिसहरू भने कट्टरपन्थ फैलाउने कारक तत्त्वहरू देखेर चिन्तित हुन्छन्। जस्तै, छाडा नैतिक जीवन, विश्वासको कमी र आधुनिक समाजमा आध्यात्मिकताको तिरस्कार।
के त्यस्ता कुराहरूको परिणाम कट्टरपन्थ मात्र हो त? होइन भने विकल्प के छ त?
[फुटनोटहरू]
a सन् १८९५ मा परिभाषित “फन्डामेन्टलिजम” अर्थात् कट्टरपन्थको तथाकथित पाँच बुँदाहरू यसप्रकार छन् “(१) धर्मशास्त्र पूर्णतया प्रेरित भएको हो र कहीं पनि गल्ती छैन; (२) येशू ख्रीष्टको ईश्वरत्व; (३) कन्या केटीद्वारा ख्रीष्टको जन्म; (४) प्रायश्चितको मोल तिर्न ख्रीष्टको क्रूसमा मृत्यु; (५) शारीरिक पुनरुत्थान र पृथ्वीमा उहाँको दोस्रो आगमन।”—स्टुडे डे तोलोजेया (धर्मविज्ञानको अध्ययन)।
b “धर्मनिरपेक्षले” आध्यात्मिकता वा पवित्रतामा वास्ता नराखी निरपेक्षतामा जोड दिन्छ। धर्मनिरपेक्ष, धर्म वा धार्मिक विश्वाससित सम्बन्धित छैन।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
सन् १९२६ मा प्रोटेस्टेन्ट पत्रिकाले कट्टरपन्थ “खोक्रो र देखावटी” हुनुका साथै “यसमा रचनात्मक उपलब्धि गर्ने गुनहरूको पूर्णतया अभाव छ र पछिसम्म टिक्नेछैन” भनेर वर्णन गऱ्यो