निष्ठा कहाँ हरायो?
करीब सय वर्षअगाडि बार्नी बर्नाटो नाउँका हीरा व्यापारी दक्षिण अफ्रिकाबाट बेलाइत फर्के। त्यहाँ पुगेपछि आफ्नो विषयमा एउटा समाचारपत्रले लेखेको कथन उनलाई चित्त बुझेन। त्यसकारण, उनले त्यस पत्रिकाका सम्पादकलाई ठूलो रकमको चेक र कागजमा केही लेखेर दोस्रो लेखमा “भूलसुधार” छपाइदिनु भने।
सम्पादक, जे.के. जेरोमले त्यो खेस्रा कागज रद्दी टोकरीमा फ्याँकिदिए र चेक फर्काइदिए। अचम्म मान्दै बर्नाटोले चेकको रकम दोब्बर गरिदिन्छु भने। तर जेरोमले त्यो पनि इन्कार गरे। बर्नाटोले सोधे, “त्यसोभए कति चाहियो त?” त्यो घटना सम्झँदै जेरोम भन्छन्: “मैले उनलाई बताइदिएँ, आजसम्म लण्डनमा कसैले घूस लिएर समाचार फेरेको छैन।” उनको पत्रकारिताप्रतिको निष्ठा कुनै हालतमा पनि पैसामा बिक्ने थिएन।
“निष्ठा” शब्दलाई “नैतिक सदाचार; इमानदारी” भनेर परिभाषित गरिएको छ। निष्ठावान् व्यक्ति भरपर्दो हुन्छ। तर अहिले, समाजको जुनसुकै क्षेत्रमा पनि सत्यता र निष्ठाको अभाव खट्किएको छ।
बेलाइतमा नैतिक निष्ठा हराउँदै गएकोले सञ्चार माध्यमहरूले “बेइमानी” भन्ने अर्थ लाग्ने अंग्रेजी शब्द बढी चलनचल्तीमा ल्याएका छन्। दि इन्डिपेन्डेन्ट समाचारपत्रले यसबारे भन्छ, नैतिक निष्ठाको कमीले “प्रेमसम्बन्धदेखि लिएर ठूलठूला निर्यात अनि स्थानीय सरकारले गर्ने धाँधलीमा समेत प्रभाव पार्छ।” जीवनको जुनसुकै क्षेत्रमा पनि यसको उत्तिकै प्रभाव छ।
निष्ठाको खस्कँदो स्तर
निष्ठावान् हुनु भनेको पक्कै पनि सिद्ध हुनु त होइन, तर यसले मानिसमा हुनुपर्ने गुनहरू झल्काउँछ। छिटछिटो धनी हुन खोज्ने होडबाजीको दुनियाँमा निष्ठा सद्गुनजस्तो त होइन तर झन्झटजस्तो पो देखिन्छ। उदाहरणका लागि, विद्यार्थीहरूले जाँचमा चोर्न नयाँ नयाँ उपकरणहरू चलाउन थालेका छन्, त्यस्ता उपकरणहरू प्रयोग गर्न नदिन प्रायः असम्भव नै हुन्छ। बेलाइतका एक प्राध्यापकको दाबीअनुसार आधाभन्दा बढी विद्यार्थीहरूले जाँचमा चोर्छन्। अनि यसरी चोर्ने बेलाइतका विद्यार्थीहरू मात्र होइनन्।
ढाँट्ने र ठग्ने मान्छेहरूले गर्दा निर्दोषहरूलाई त्यत्तिकै मर्का परेको छ। भारतको भोपाल राज्यको घटनालाई ध्यान दिनुहोस्। सन् १९८४ मा विषालु ग्याँसको कारण लोग्नेमान्छे, आइमाई र केटाकेटी गरेर २,५०० जनाभन्दा बढी मरे अनि अरू लाखौं घाइते भए। द सन्डे टाइम्स-को रिपोर्टले यसो भन्यो: “पीडितहरूलाई राहत दिने आयोजनाहरू भ्रष्टाचारले ग्रस्त भए। . . . हजारौं नक्कली कागजात र किर्ते प्रमाणहरूले गर्दा कुन चाहिं जायज हो भनेर छुट्याउनै गाह्रो पऱ्यो।” बल्लबल्ल, दश वर्षपछि, ४७ करोड अमेरिकी डलरमध्ये मुश्किलले ३५ लाख अमेरिकी डलर मात्र पीडितहरूलाई राहतस्वरूप बाँडियो।
धर्मको क्षेत्रमा नि? निष्ठाको सम्बन्धमा धर्मको कस्तो स्तर छ त? अफसोचको कुरा, धर्मको स्तर संसारको अन्य क्षेत्रको भन्दा अलिकता पनि उच्च छैन। उदाहरणका लागि, रोमन क्याथोलिकका पादरी, इमोन केसिलाई नै लिऊँ न। उनले आफूलाई एक अवैध छोराको बाबु हुँ भनेर स्वीकारे। त्यो छोरा अहिले किशोरावस्थामा छ। बेलाइतको गार्डियन समाचारपत्रले लेखेअनुसार, यो “कुनै नौलो घटना होइन।” त्यस्तै विचार व्यक्त गर्दै द टाइम्स-ले यस्तो प्रतिवेदन दियो: “कसैले नगरेको कुकर्म पादरी केसिले गरेकाले उनी बदनाम भएका होइनन्। सत्य कुरा त के हो भने, विशप केसि त्यस्तो कुकर्म गर्ने न त पहिलो न अन्तिम व्यक्ति नै हुन्। अर्थात् उनले जस्तै सधैं कुमार वा कुमारी नै रहने शपथ भंग गर्ने अरू पनि कैयौं पादरीहरू छन्।” यसै भनाइलाई समर्थन गर्दै स्कटल्याण्डको द ग्ल्यासगो हेराल्ड यस्तो दाबी गर्छ, २ प्रतिशतलाई छोडेर संयुक्त राज्यका बाँकी जम्मै रोमन क्याथोलिक पादरीहरू विपरीत लिंगसँग र समलिंगसँग यौनसम्पर्क राख्छन्। यो तथ्यांक सही होस् या नहोस्, माथिको आँकडाले क्याथोलिक पादरीहरूको नैतिकपतनलाई भने प्रष्टै देखाउँछ।
के यस्ता भ्रष्ट मानिसहरू माझ पनि नैतिक निष्ठा कायम राख्न सकिएला? निष्ठा कायम राखेर के फाइदा छ? यसको लागि के गर्नुपर्छ अनि त्यसो गर्दा इनाम चाहिं के पाइन्छ नि?