प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ७/१५ पृ. २५-२९
  • “अनुसन्धानमूलक न्याय”—बाइबल-आधारित सिद्धान्त?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अनुसन्धानमूलक न्याय”—बाइबल-आधारित सिद्धान्त?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो के हो?
  • भाषिक सम्बन्धको अभाव
  • प्रसंगले के देखाउँछ?
  • केही चाखलाग्दा जवाफहरू
  • के हिब्रूको पुस्तकले यस सिद्धान्तको समर्थन गर्छ?
  • समस्या तथा गतिरोध
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ७/१५ पृ. २५-२९

“अनुसन्धानमूलक न्याय”—बाइबल-आधारित सिद्धान्त?

संयुक्‍त राज्यको इस्ट कोस्टमा भेला भएका लगभग ५०,००० मानिसहरू अक्टोबर २२, १८४४ का दिन एक उत्कट प्रतीक्षामा थिए। तिनीहरूका आध्यात्मिक नेता, विलियम मिलरको भनाइअनुसार येशू ख्रीष्ट ठीक त्यही दिन पृथ्वीमा फर्कनुहुनेथियो। मिलराइट्‌स भनिने यस समूहले रातिसम्मै आ-आफ्ना उपासना थलोहरूमा पर्खिरहे। रात बितेर बिहान पनि भयो तर प्रभु देखा परेनन्‌। अलमल्ल परेका यी व्यक्‍तिहरू आ-आफ्नो घर फर्के र त्यसउप्रान्त त्यस दिनलाई “महानिराशा”-को दिन भन्‍न थाले।

यद्यपि, निराशा तुरुन्तै आशामा बदलियो। तिनीहरूको अनुमान सही थियो भनेर परमेश्‍वरले दर्शनहरूद्वारा प्रकट गर्नुभयो भनी एलन हार्मन नाउँकी युवतीले मिलराइट्‌सको सानो समूहलाई विश्‍वास दिलाउन सकिन्‌। तिनको विश्‍वासमा त्यस महत्त्वपूर्ण घटना अर्थात्‌ त्यतिबेला ख्रीष्ट “स्वर्गीय पवित्रस्थानको अति पवित्र स्थानमा” त्यही दिन प्रवेश गर्नुभएको थियो।

झन्डै एक दशकपछि एडभेन्टिस्ट प्रचारक जेम्स ह्वाइटले (जसले एलन हार्मोनसित विवाह गरेका थिए) अक्टोबर १८४४ यता ख्रीष्टको कामबारे वर्णन गर्न एउटा नयाँ पद्यांश चलाउन थाले। जनवरी २९, १८५७ को रिभ्यु एण्ड हेरल्ड-मा ह्वाइटले भने, ख्रीष्टले “अनुसन्धानमूलक न्याय” गर्न थालिसक्नुभएको छ। सेभन्थ-डे एडभेन्टिस्ट कहलाइने लगभग ७० लाख मानिसहरूको आधारभूत विश्‍वास पनि यही हो।

तथापि, सेभन्थ-डे एडभेन्टिस्ट (एस डि ए) चर्चका सम्माननीय केही विद्वान्‌हरूले “अनुसन्धानमूलक न्याय” साँच्चै बाइबल आधारित सिद्धान्त हो कि होइन भनेर शंका व्यक्‍त गर्न थालेका छन्‌। तिनीहरूलाई त्यसमाथि शंका उपशंका हुनुको कारण के हो? तपाईं सेभन्थ-डे एडभेन्टिस्ट हुनुभएको भए तपाईंलाई पनि यो प्रश्‍नले कुतकुत्याउने थियो। तर सर्वप्रथम “अनुसन्धानमूलक न्याय” के हो?

यो के हो?

यस सिद्धान्तलाई समर्थन गर्न उल्लेख गरिने प्रमुख शास्त्रपद दानियल ८:१४ हो। त्यहाँ यसो भनिएको छ: “औ जवाफ यस्तो आयो, ‘दुइ हजार तीन सय दिनसम्म! त्यसपछि पवित्रस्थान शुद्ध हुनेछ!’ ” (किङ जेम्स भर्सन) “त्यसपछि पवित्रस्थान शुद्ध हुनेछ” भन्‍ने पद्यांशले गर्दा धेरैजसो एडभेन्टिस्टहरू यो पदलाई लेवी अध्याय १६ सित जोड्‌छन्‌। उक्‍त अध्यायमा प्रायश्‍चितको दिनमा यहूदी प्रधानपूजाहारीले पवित्रस्थान शुद्ध गर्ने विधि-विधान वर्णन गरिएको छ। तिनीहरू दानियलका शब्दहरू हिब्रू अध्याय ९ सित पनि मिलान गर्छन्‌ र त्यहाँ येशूलाई स्वर्गका महान्‌ प्रधानपूजाहारी भनी वर्णन गरिएको छ। एक एस डि ए विद्वान्‌ भन्छन्‌, यो तर्क “प्रमाण-पद” तरिकामा आधारित छ। यस तरिकाअनुसार “जस्तै दानि. ८:१४, लेवी १६ र हिब्रू ७, ८, ९ मा पाइने पवित्रस्थान शब्द लिइन्छ” अनि “ती सबै शास्त्रपदले एउटै कुरा गरिरहेको हो” भन्‍ने निष्कर्ष निकाल्छ।

एडभेन्टिस्टहरू यस्तो तर्क गर्छन्‌: पुरातन इस्राएलका पूजाहारीहरूले मन्दिरको पवित्र कहलिने भागमा दिनहुँ सेवा गर्थे र त्यसबाट पापको क्षमा सम्भव भयो। प्रायश्‍चितको दिनमा प्रधानपूजाहारीले अति पवित्र भागमा (मन्दिरको सबैभन्दा भित्री कोठा) वार्षिक विधि-विधान गर्थे र यसो गरेर पाप पूर्णतया हटाउन सकिन्थ्यो। तिनीहरूको निष्कर्षअनुसार ख्रीष्टले स्वर्गमा पूजाहारीको हैसियतमा सेवा गर्नुहुँदा त्यसको दुइ चरण हुनेछ। पहिलो चरण प्रथम शताब्दीमा येशूको स्वर्गारोहण हुँदा सुरु भयो भने अन्त चाहिं १८४४ मा भयो र यसले गर्दा पापहरू क्षमा हुन सम्भव भयो। दोस्रो चरण वा “न्याय समयावधि” अक्टोबर २२, १८४४ मा सुरु भयो र अझै चालू छ अनि यसले गर्दा पाप पूर्णतया हटाउन सम्भव हुनेछ। यो पाप हटाउने कार्य कसरी सम्पन्‍न हुन्छ?

ख्रीष्टमा विश्‍वास गर्छौं भनी दाबी गर्नेहरूको (सर्वप्रथम मरेकाहरूको र त्यसपछि जिउँदाहरूको) जीवन विवरण येशूले १८४४ देखि केलाइरहनुभएको छ र त्यसैको आधारमा तिनीहरू अनन्त जीवनको योग्य छन्‌ कि छैनन्‌ निर्धारण हुनेछन्‌ भन्‍ने विश्‍वास गरिन्छ। यही परीक्षण “अनुसन्धानमूलक न्याय” हो। यसरी मानिसहरूको न्याय गरेपछि यस जाँचमा सफल हुनेहरूको पाप, विवरण पुस्तकबाट हटाइन्छ। तर एलन ह्वाइटले वर्णन गरेअनुसार यो जाँचमा असफल हुनेहरूको ‘नाउँ जीवनको पुस्तकबाट’ मेटाइनेछ। यसरी, “जीवन वा मृत्यु के पाउने हो भनी सबैको भविष्य निर्धारण गरिसकेको हुनेछ।” त्यतिबेला स्वर्गको पवित्रस्थान शुद्ध हुनुका साथै दानियल ८:१४ पूरा हुनेछ। सेभन्थ-डे एडभेन्टिस्टहरू त्यही कुरा सिकाउँछन्‌। तर एस डि ए प्रकाशन एडभेन्टिस्ट रिभ्यु यो कुरा स्वीकार्छ: “अनुसन्धानमूलक न्याय भन्‍ने पद बाइबलमा पाइँदैन।”

भाषिक सम्बन्धको अभाव

यस शिक्षाले केही एडभेन्टिस्टहरूलाई पिरोलेको छ। एक अवलोकनकर्ता यसो भन्छन्‌, “अनुसन्धानमूलक न्याय भनिने हाम्रो परम्परागत शिक्षालाई केलाएर हेर्ने सन्दर्भमा इतिहासले देखाएअनुसार हाम्रा सदस्यहरूमध्ये वफादार नेताहरूले निकै आन्तरिक वेदना भोगेका छन्‌।” तिनी अझै भन्छन्‌, हालैका वर्षहरूमा यो वेदना शंकामा परिणत भएको छ किनभने विद्वान्‌हरूले “पवित्रस्थानको शुद्धीकरणसम्बन्धी आधारभूत स्पष्टीकरणहरूमाथि शंका गर्न थाले।” आउनुहोस्‌, त्यसमध्ये दुइटा बुँदा हामी केलाऔं।

स्पष्टीकरण नम्बर एक: दानियलको अध्याय ८ लेवी १६ सित सम्बन्धित छ। यो आधारलाई दुइ प्रमुख समस्याले फितलो बनाएको छ। ती हुन्‌, भाषा र प्रसंग। सर्वप्रथम भाषालाई लेऔं। लेवी अध्याय १६ मा वर्णन गरिएअनुसार ‘शुद्ध पारिएको पवित्रस्थानको’ भविष्यसूचक पूर्ति दानियल अध्याय ८ को ‘शुद्ध पवित्रस्थान’ हो भनी एडभेन्टिस्टहरू विश्‍वास गर्छन्‌। किङ जेम्स भर्सन-को दानियल ८:१४ मा प्रयोग गरिएको “शुद्ध हुनेछ” भन्‍ने पद हिब्रू क्रिया सधाक-को (जसको अर्थ हो, “धर्मी हुनु”) गलत अनुवाद हो भनी अनुवादकहरूले पत्ता नलगाउञ्जेल उक्‍त तुलना स्वीकार्य नै देखिएको थियो। धर्मविज्ञानका प्राध्यापक एन्थोनी ए. होकेमे यस्तो टिप्पणी गर्छन्‌: “त्यस पदमा शुद्ध हुनेछ भनेर अनुवाद हुनु दुःखको कुरा हो किनभने शुद्ध पारियो [ ताहेर] भनी प्रायजसो अनुवाद गरिने हिब्रू शब्द यहाँ प्रयोगै भएको छैन।a यो लेवी अध्याय १६ मा प्रयोग भएको छ र किङ जेम्स भर्सन-ले ताहेर शब्दलाई “शुद्ध” र “शुद्ध हुने” भनी अनुवाद गरेको छ। (लेवी १६:१९, ३०) यसर्थ, डा. होकेमेको यस्तो निष्कर्ष उचित छ: “दानियलले प्रायश्‍चितको दिनमा गरिने जस्तो शुद्धीकरणबारे बताइरहेका भए तिनले सदाक-को [ सधाक] साटो ताहिर [ताहेर] चलाउँथे।” यद्यपि, लेवीको पुस्तकमा सधाक र दानियलको पुस्तकमा ताहेर चलाएको छैन। यहाँ कुनै भाषिक सम्बन्ध पाइँदैन।

प्रसंगले के देखाउँछ?

अब प्रसंगलाई विचार गर्नुहोस्‌। एडभेन्टिस्टहरूको विचारमा दानियल ८:१४ “एउटा छुट्टै पद हो” र यसअघिका पदहरूसित यसको कुनै सम्बन्ध छैन। तर यसै लेखमा समावेश गरिएको पेटी, “दानियल ८:१४ को प्रसंग” अन्तर्गत दानियल ८:९-१४ पढ्‌नुहुँदा के तपाईंलाई त्यस्तो लाग्छ र? पद ९ मा एक विरोधी, सानो सिङबारे बताइएको छ। यस विरोधीले पवित्रस्थानमाथि आक्रमण गर्नेछ भनी पद १०-१२ ले देखाउँछ। पद १३ यस्तो प्रश्‍न गर्छ, ‘यसले कहिलेसम्म विरोध गरिरहनेछ?’ पद १४ यस्तो जवाफ दिन्छ: “दुइ हजार तीन सय साँझ र बिहानसम्म! त्यसपछि पवित्रस्थान विजय भएर निस्कनेछ!” स्पष्टतः पद १३ को प्रश्‍नको जवाफ पद १४ ले दिन्छ। धर्मविज्ञानी डेस्मन्ड फर्ड यसो भन्छन्‌: “दानि. ८:१४ लाई यसरी अलग्गै छुट्याउनु [‘कहिलेसम्म?’ पद १३] कुनै आधारबिना यत्तिकै हावामा झुन्ड्याउनु बराबर हुनेछ।”b

एडभेन्टिस्टहरूले पद १४ लाई किन प्रसंगबाट अलग्गै पार्न खोजेका हुन्‌? अप्ठ्यारो निष्कर्षमा नपुगोस्‌ भनेर। पद १४ मा उल्लिखित पवित्रस्थानको अशुद्धीकरण सानो सिङको गतिविधिले गर्दा हो भनी प्रसंगले देखाउँछ। तथापि, “अनुसन्धानमूलक न्याय” सिद्धान्तले पवित्रस्थान अशुद्ध पारिनुको कारण ख्रीष्टको क्रियाकलापले हो भन्छ। भनिन्छ, उहाँले विश्‍वासीहरूको पाप स्वर्गको पवित्रस्थानमा सार्नुहुन्छ। अतः, एडभेन्टिस्टहरूले सिद्धान्त र प्रसंग दुवै स्वीकारेको खण्डमा के हुन्छ? सेभन्थ-डे एडभेन्टिस्ट र एस डि ए बाइबल कमेन्ट्री-का भूतपूर्व सह-सम्पादक डा. रेमन्ड एफ. कट्रेल यस्तो लेख्छन्‌: “एस डि ए-ले अर्थ लगाएअनुसार दानियल ८:१४ प्रसंगबाट लिइएको हो भनी विश्‍वास गर्ने स्वाँग गर्नु ख्रीष्ट नै त्यो सानो सिङ हुनुहुन्छ भनेर विश्‍वास गर्नु बराबर हुनेछ।” डा. कट्रेल इमानदारीपूर्वक यो कुरा स्वीकार्छन्‌: “प्रसंग तथा एडभेन्टिस्टहरूको स्पष्टीकरण दुवैलाई एउटै कुरासित मिलान गर्न सक्दैनौं।” तसर्थ, “अनुसन्धानमूलक न्याय” सिद्धान्तको सन्दर्भमा एडभेन्टिस्ट चर्चले एउटा निर्णय गर्नुपऱ्‍यो—प्रतिपादित सिद्धान्त छान्‍ने वा दानियल ८:१४ को प्रसंग स्वीकार्ने। तर दुःखको कुरा, यसले प्रतिपादित सिद्धान्तलाई स्वीकारेर प्रसंगलाई तिरस्कार गऱ्‍यो। त्यसकारण “धर्मशास्त्रबाट अर्थ लगाउन” नसकिने कुरा “अर्थ लगाएकोमा” जानकार बाइबल विद्यार्थीहरूले एडभेन्टिस्टहरूलाई दोष लाउनु कुनै अचम्मको कुरा होइन भनी डा. कट्रेल भन्छन्‌।

डा. कट्रेलले आइतबारे धार्मिक कक्षाहरूमा पढाउन १९६७ तिर दानियलको पुस्तकमा आधारित एउटा पाठ तयार पारे र यो संसारभरिका एस डि ए चर्चहरूलाई पठाइयो। दानियल ८:१४ यसको प्रसंगसित सम्बन्धित छ र ‘शुद्धीकरणले’ ख्रीष्टमा विश्‍वास गर्छु भनी दाबी गर्नेहरूलाई बुझाउँदैन भनेर सिकायो। उल्लेखनीय कुरा त के छ भने, उक्‍त पाठमा “अनुसन्धानमूलक न्याय” भन्‍ने पदावली उल्लेखै गरिएको छैन।

केही चाखलाग्दा जवाफहरू

एडभेन्टिस्टहरू यति विघ्न सचेत हुँदा हुँदै पनि “अनुसन्धानमूलक न्याय”-को सिद्धान्तलाई समर्थन गर्नै नसक्नु कस्तो हास्यास्पद कुरा हो। डा. कट्रेलले २७ जना प्रमुख एडभेन्टिस्ट धर्मविज्ञानीहरूलाई यो प्रश्‍न गरे, ‘दानियल अध्याय ८ र लेवी अध्याय १६ को सम्बन्ध बुझाउन भाषिक वा सान्दर्भिक के कारण बताउन सक्नुहुन्छ?’ तिनीहरूको जवाफ कस्तो थियो?

“दानि. ८:१४ सित प्रायश्‍चितको दिन र अनुसन्धानमूलक न्यायको सम्बन्ध गाँस्नुमा कुनै भाषिक वा सान्दर्भिक कारण छैन भनी २७ जनाले नै पुष्टि गरे।” तिनले ती धर्मविज्ञानीहरूलाई सोधे, ‘यस्तो सम्बन्ध गाँस्नुमा के अरू कुनै कारण छ?’ प्रायजसो एडभेन्टिस्टले अरू कारण छैन भनी बताए। एलेन ह्वाइटले गर्दा यस्तो सम्बन्ध गाँसेका हौं भनी पाँच जनाले जवाफ दिए अनि दुइ जनाको जवाफ थियो, अनुवादमा हुनसक्ने “सकारात्मक संयोग”-ले गर्दा। धर्मविज्ञानी फर्ड यस्तो टिप्पणी गर्छन्‌: “हाम्रा सबैभन्दा ज्ञानी व्यक्‍तिहरूले निकालेको निष्कर्षअनुसार दानियल ८:१४ बारे हाम्रो परम्परागत शिक्षाको समर्थन गर्न सकिंदैन भनी प्रस्ट हुन्छ।”

के हिब्रूको पुस्तकले यस सिद्धान्तको समर्थन गर्छ?

स्पष्टीकरण नम्बर दुइ: दानियल ८:१४ हिब्रू अध्याय ९ सित सम्बन्धित छ। धर्मविज्ञानी फर्ड भन्छन्‌, “हाम्रा सबैजसो प्रारम्भिक कार्यहरूले दानि. ८:१४ बुझाउन हिब्रू अध्याय ९ लाई आधार बनाएका छन्‌। यो सम्बन्ध १८४४ को “महानिराशा” पछि जोड्‌न थालिएको हो। डोऱ्‍याइको खोजमा लागेका मिलेराइट हिरम एड्‌सनले टेबलमा बाइबल खसालेपछि त्यो कुनै एउटा अध्यायमा खुलोस्‌ भन्‍ने आशा गरे। परिणाम के भयो? हिब्रू अध्याय ८ र ९ मा पल्टिन पुग्यो। फर्ड भन्छन्‌: “एडभेन्टिस्टहरूका लागि १८४४ र दानियल ८:१४ को अर्थ यी अध्यायहरूमा छन्‌ भन्‍नुभन्दा उचित तथा प्रतीकात्मक दाबी अरू के हुनसक्थ्यो र!”

दानियल ८:१४, प्रायश्‍चितको दिन र अनुसन्धानमूलक न्याय पुस्तकमा डा. फर्ड अझै यसो लेख्छन्‌, “यस्तो दाबी सेभन्थ-डे एडभेन्टिस्टहरूका लागि निर्णायक छ। हाम्रोनिम्ति अत्यावश्‍यक पवित्रस्थानसम्बन्धी सिद्धान्तको . . . महत्त्वबारे विस्तृत विवरण . . . हिब्रू अध्याय ९ मा मात्र पाइन्छ।” हो, “नयाँ नियम”-को हिब्रू अध्याय ९ त्यो अध्याय हो, जसले लेवी अध्याय १६ को भविष्यसूचक अर्थ बुझाउँछ। तर एडभेन्टिस्टहरू यसो पनि भन्छन्‌, दानियल ८:१४ “पुरानो नियम”-को त्यो पद हो, जसले उक्‍त अर्थ बुझाउँछ। दुवै भनाइहरू सही हुन्‌ भने हिब्रू अध्याय ९ र दानियल अध्याय ८ बीच पनि सम्बन्ध हुनुपर्छ।

डेस्मन्ड फर्ड यस्तो टिप्पणी गर्छन्‌: “हिब्रू अध्याय ९ पढ्‌ने बित्तिकै केही कुराहरू छर्लंग भइहाल्छन्‌। दानियलको पुस्तक र दानि. ८:१४ लाई बुझाउने कुनै संकेत पाइँदैन। . . . सम्पूर्ण अध्याय नै लेवी अध्याय १६ को पूर्ति हो।” तिनी भन्छन्‌: “पवित्रस्थानका सेवाहरूको महत्त्वबारे छलफल गर्ने नयाँ नियमको एक मात्र पुस्तकमा हामीले सिकाएजस्तो पवित्रस्थानको शिक्षा पाइँदैन। यो कुरालाई संसारभरिका सुपरिचित एडभेन्टिस्ट लेखकहरूले स्वीकारेका छन्‌।” त्यसोभए, यस सिद्धान्तलाई समर्थन गर्न स्पष्टीकरण नम्बर दुइ पनि त्यत्तिकै कमजोर छ।

तथापि, यस्तो निष्कर्ष निक्लनु नौलो कुरा होइन। डा. कट्रेल भन्छन्‌, “दानियल ८:१४ र हिब्रू ९ अध्यायको यसरी परम्परागत ढंगमा अर्थ खुलाउँदा निराधार समस्याहरू हुनेछन्‌ भनी चर्चका बाइबल विद्वान्‌हरूलाई” धेरै पहिलेदेखि थाह थियो। लगभग ८० वर्षअघि प्रभावशाली सेभन्थ-डे एडभेन्टिस्ट इ. जे. वागेनरले यसरी लेखे: “पवित्रस्थानबारे एडभेन्टिस्टको शिक्षालगायत ‘अनुसन्धानमूलक न्याय’ . . . प्रायश्‍चितको खुलेआम तिरस्कार हो।” (विश्‍वासको स्वीकारोक्‍ति [अंग्रेजी]) लगभग ३० वर्षअघि त्यस्ता समस्याहरू एस डि ए चर्चको नेतृत्व मण्डलसमक्ष साधारण सभामा प्रस्तुत गरिएको थियो।

समस्या तथा गतिरोध

साधारण सभाले “दानियलको पुस्तकका समस्याहरूका लागि समिति” गठन गऱ्‍यो। त्यसको उद्देश्‍य दानियल ८:१४ मा केन्द्रित समस्याहरू कसरी समाधान गर्ने भनी प्रतिवेदन प्रस्तुत गर्नु थियो। त्यसका १४ सदस्यीय समितिले पाँच वर्षसम्म उक्‍त प्रश्‍नको अध्ययन गऱ्‍यो तर समाधान प्रस्तुत गर्दा एक मत हुन सकेनन्‌। दानियल ८:१४ लाई एडभेन्टिस्टहरूले अर्थ खुलाएअनुसार केही “अनुमानहरूको” आधारमा “सन्तोषजनक स्पष्टीकरण” पाउन सकिन्छ र पुराना समस्याहरूलाई “बिर्सनुपर्छ” भनी समिति सदस्य, कट्रेलले १९८० मा बताए। तिनले यो पनि भने: “नबिर्सनुहोस्‌, समितिको नाउँ नै दानियलको पुस्तकका समस्याहरूका लागि समिति थियो र प्रायजसोको सुझाउ थियो, हामी समस्याहरूलाई बिर्सेर त्यसबारे कुरै नगरौं।” त्यसो गर्नुको मतलब, “हामीसित कुनै जवाफ छैन” भनी स्वीकार्नु बराबर हुनेथियो। त्यसकारण, अल्पसंख्यक सदस्यहरूले बहुमतको कदर गर्न मानेनन्‌ र कुनै औपचारिक प्रतिवेदन प्रस्तुत हुन सकेन। सैद्धान्तिक समस्याहरू यथावत्‌ रहे।

यस गतिरोधबारे टिप्पणी गर्दै डा. कट्रेल यसो भन्छन्‌: “दानियल ८:१४ को विवाद यथावत्‌ छ किनभने त्यस्तो निराधार समस्या वास्तवमा छँदैछैन भनी स्वीकार्न हामी अहिलेसम्म अनिच्छुक छौं। समस्या नै नभएजस्तो स्वाँग पारुञ्जेल, व्यक्‍तिगत र सामूहिक तवरमा आफ्नो पूर्वानुमानित कुरा माथि पार्ने प्रयास गरुञ्जेल यो विवाद सुल्झनेछैन।”—स्पेक्ट्रम, एडभेन्टिस्ट फोरमको संगठनबाट प्रकाशित पत्रिका।

डा. कट्रेल “ती आधारभूत अनुमान तथा कुनै एउटा पदलाई अलग्गै छुट्याउने सिद्धान्तहरूलाई पुनः एक चोटि होशियारीपूर्वक केलाउन” एडभेन्टिस्टहरूलाई आग्रह गर्छन्‌। “अनुसन्धानमूलक न्याय” सिद्धान्त बाइबलमा ठोस आधारित हो वा परम्परागत बकम्फुसे कुरामा आधारित हो भनी केलाउन हामी एडभेन्टिस्टहरूलाई प्रोत्साहन दिन चाहन्छौं।c प्रेरित पावलले बुद्धिमानीपूर्वक यस्तो आग्रह गरे: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।”—१ थिस्सलोनिकी ५:२१.

[फुटनोटहरू]

a विल्सन्स ओल्ड टेस्टामेन्ट वर्ड स्टडीज-ले सदाक-लाई (वा सधाक) “धर्मी हुनु, न्यायसंगत हुनु” र ताहिर-लाई (वा ताहेर) “स्पष्ट, तेजिलो, चम्किलो हुनु; हरेक अशुद्ध कुरा वा प्रदूषणबाट शुद्ध, स्वच्छ, निष्खोट हुनु” भनी परिभाषित गर्छ।”

b चर्चले खर्च बेहोर्ने सं.रा.अ. स्थित प्यासिफिक युनियन कलेजमा डा. फर्ड पढाउँथे। उक्‍त सिद्धान्तसम्बन्धी अध्ययन गर्न एस डि ए-ले तिनलाई छ महिने काज दियो तर तिनले पत्ता लगाएका कुराहरू अस्वीकार गरे। ती कुराहरू तिनले दानियल ८:१४, प्रायश्‍चितको दिन र अनुसन्धानमूलक न्याय (अंग्रेजी) पुस्तकमा प्रकाशित गरे।

c दानियल अध्याय ८ बारे तार्किक स्पष्टीकरणको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “तपाईंको इच्छा पृथ्वीमा पूरा होस्‌” पुस्तकको (अंग्रेजी) पृष्ठ १८८-२१९ हेर्नुहोस्‌।

[पृष्ठ २७-मा भएको पेटी]]

दानियल ८:१४ को प्रसंग

दनियल ८:९ “तीमध्ये एउटाबाट एउटा सानो सीङ उम्रयो, र त्यसले दक्षिण, पूर्व र सबैभन्दा सुन्दर देशतिर आफ्नो असाधारण शक्‍तिको प्रदर्शन गऱ्‍यो। १० औ त्यसले स्वर्गको सेनाझैं ठूलो हुने अभिलाषा गऱ्‍यो। त्यसले कुनै कुनै दल र कुनै कुनै तारालाई पृथ्वीमा खसालेर तिनलाई आफ्नो खुट्टाले कुल्च्यो। ११ सेनाहरूका कुमार जत्तिकै महान्‌ हुने त्यसले अभिलाषा गऱ्‍यो। औ सेनाहरूका कुमारको नित्यको बलि त्यसले रोकिदियो, र उहाँको पवित्रस्थान भत्काइदियो। १२ स्वर्गीय सेनाहरू त्यसलाई सुम्पिए, र नित्यको बलिको विरुद्धमा त्यो अधर्मी भएर खड़ा भयो, र साँचो धर्मलाई भूइँमा फ्याँकिदियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो।

“१३ त्यसपछि मैले एउटा जनलाई बोलिरहेको र फेरि अर्को पवित्र जनले तिनलाई जवाफ दिइरहेको सुने, को हो कुन्‍नि! एउटाले भने, ‘यस दर्शनमा संकेत गरेको समय कहिलेसम्म भइरहला? नित्यको होमबलि कहिलेसम्म रोकिरहला? अधर्मले कहिलेसम्म उजाड़ पारिरहला, औ पवित्रस्थान र सबैभन्दा सुन्दर देश कहिलेसम्म खुट्टाले कुल्चन सुम्पिरहला?’ १४ औ जवाफ यस्तो आयो, “दुइ हजार तीन सय साँझ र बिहानसम्म! त्यसपछि पवित्रस्थान विजय भएर निस्कनेछ!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने