उदार हुँदा पाइने आशिष्हरू
उदारता भनेको अरूलाई खुला दिलले कनजुस्याइँ नगरी फरासिलो भई तथा न्यानो हृदयसहित मदत गर्नु हो। तर उदार व्यक्तिले उपकार पाउने व्यक्ति र यहोवा दुवैबाट थुप्रै आशिष्हरू पाउँछन्।
यशैया ३२:८ मा हिब्रू शब्द नादिभ-लाई “उदार” (NW) भनी अनुवाद गरिएको छ तर यसलाई “राजी-खुशी” र ‘उदार दाता’ भनेर पनि अनुवाद गरिएको छ। (भजन ५१:१२; गन्ती २१:१८, पादटिप्पणी, NW) युनानी संज्ञा हाप्लोतेस-लाई २ कोरिन्थी ८:२ र ९:११ मा “उदारता” भनी अनुवाद गरिएको छ भने रोमी १२:८ मा “उदारचित्त” र एफिसी ६:५ मा “सच्चा हृदय” भनी अनुवाद गरिएको छ। उदारताको सर्वोत्तम उदाहरण यहोवा स्वयं हुनुहुन्छ। उहाँले आफ्ना आज्ञाकारी सृष्टिहरूका सबै आवश्यकता “उहाँको सम्पत्तिअनुसार” पूरा गरिदिनुहुन्छ। (१ यूहन्ना ५:१४; फिलिप्पी ४:१९) बुद्धिजस्तो अतुलनीय वरदानलगायत हरेक असल दान र हरेक उत्तम वरदान उहाँले दिनुभएको हो।—याकूब १:५, १७.
धरौटी राखेर उधारो लिने व्यक्तिहरूप्रति समेत उदारताको यस ईश्वरीय गुन खेती गर्न मोशाले आफ्ना सँगी इस्राएलीहरूलाई आग्रह गरे। “आफ्नो दाज्यू-भाइलाई दुःखमा परेको देख्यौ भने निष्ठूर भएर आफ्नो मुठी नबाँध्नू। तर आफ्नो मुठी खोलेर खाँचोअनुसार जे जति चाहिन्छ दिनू। . . . तिमीहरूले उसलाई निसंकोच दिनू, औ उसलाई दिंदा तिमीहरूको मनमा कष्ट नहोस्, . . . यसै कारण म तिमीहरूलाई आज्ञा दिंदैछु, आफ्ना भाइ-वन्धु—आफ्नो देशमा भएका गरीब र खाँचो हुनेहरूलाई उदारचित्तले दिनू।” (व्यवस्था १५:७-११) यस ईश्वरीय सल्लाह पालन गरेमा कठिन अवस्था भोगिरहेका इस्राएलीहरूले मदत पाउनेथिए।
तर अरूप्रति उदार हुने मानिसहरूले कस्ता आशिष्हरू पाउनेछन्? हितोपदेश ११:२५ मा यसो भनिएको छ: “उदार मानिसको [शाब्दिक अर्थमा, उपहार दिने व्यक्ति] उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता [संवृद्धि] पाउँछ।” येशू ख्रीष्टले यसरी व्यक्त गर्नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अनि फेरि उहाँले यस्तो भन्नुभयो: “देओ, र तिमीहरूलाई दिइनेछ। पूरा नाप खाँदी खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्। किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।” (लूका ६:३८) अतः उदार व्यक्ति तथा उपकार पाउने व्यक्ति दुवैले आशिष् पाउँछन्।
मसीही मण्डलीमा उदारता
प्रेरित पावलले उदारताबारे प्रथम शताब्दीका मसीहीहरूलाई थुप्रै कुराहरू भनेका छन्। तिनी यसो भन्छन्: “किफायतीसँग छर्नेले किफायतीसँगै काट्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ।” साँच्चै यस्तो हुनेभएकोले उक्त प्रेरित यो तर्क गर्छन्: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” यहोवाको उदारताको महान् उदाहरणबारे अझ औंल्याउँदै पावल भन्छन्, उहाँले छर्नेलाई बिउ र खानालाई रोटी प्रशस्त दिनुहुने मात्र नभई कोरिन्थका भाइहरूलाई “हरेक कुरामा सारा उदारताले” धनी बनाउनुभयो ताकि तिनीहरू पनि अरूप्रति उदार होऊन्। त्यसरी उदार हुँदा “परमेश्वरलाई धन्यवाद चढ़ाउने काम हुन्छ” भनी पावलले घोषणा गरे। (२ कोरिन्थी ९:६-१३) फलस्वरूप उदार मसीहीहरूले यहोवाबाट पनि आशिष् पाउन सक्नेछन्।
यही ईश्वरीय गुन, उदारता देखाउन रोमका मसीहीहरूलाई प्रोत्साहन दिंदै पावलले यसरी लेखे: “दिनेले उदारचित्तले देओस्।” (रोमी १२:८) अनि हिब्रूका मसीहीहरूलाई यस्तो लेखे: “भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” (हिब्रू १३:१६) उदारचित्तले दिने सन्दर्भमा म्यासिडोनियाका मण्डलीहरू उल्लेखनीय थिए। दरिद्र भए पनि आनन्दपूर्वक तिनीहरूले “औकातभन्दा बढ़ता” दिए र “तिनीहरूका उदारताको धन भएर प्रशस्त बढ़यो।”—२ कोरिन्थी ८:१-४.
के सबै मानिसहरूप्रति उदार हुने?
तर यस्ता व्यक्तिहरू पनि छन् जो उदारता र खुला दिलले दिन योग्यका हुँदैनन्। बाइबलले बैगुनी, जाँगर नभएका तथा अल्छी व्यक्तिको निन्दा गर्छ। उदाहरणका लागि, जाडो मौसममा खेत नजोत्ने अल्छेले फसलको समयमा माग्न सुहाउँदैन। काम गर्न इन्कार गर्ने व्यक्तिलाई उदारचित्तले दिनु कुनै खाँचो छैन। (हितोपदेश २०:४; २ थिस्सलोनिकी ३:१०) विधवा हुँदैमा स्वतः उद्धार पाइँदैनथ्यो। (१ तिमोथी ५:९, १०) गलातिया, म्यासिडोनिया र अखैयाका मण्डलीहरूले दिएको चन्दा खाँचोमा परेका मूर्तिपूजकहरूलाई होइन तर खाँचोमा परेका “पवित्र जनहरूका” निम्ति थियो।—१ कोरिन्थी १६:१; २ कोरिन्थी ९:१, २.
उदार हुँदा पाइने आशिष्हरूबाट आनन्द उठाउनुहोस्
मसीहीहरूले आज खुला दिलले उदार भई दिनेमा यहोवाको असल उदाहरण अनुकरण गर्छन्। साँच्चै आवश्यकतामा परेकाहरूलाई तिनीहरूले खुला दिलले आफ्नो भौतिक सम्पत्ति पनि दिन्छन्। यहोवाको राज्य गतिविधिलाई अघि बढाउने सबै कार्यमा तिनीहरू भाग लिन्छन्। अनि सम्पूर्ण हृदयले ‘सबै मानिसहरूसित’ तिनीहरू आध्यात्मिक सत्य बाँड्छन्।—१ तिमोथी २:४.
यसरी खाँचोमा परेकाहरूलाई मदत गर्ने कार्यमा तिनीहरू सहभागी भएकाले तिनीहरू आफैले पनि प्रचुर मात्रामा आशिष् पाउँछन्।