प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१ पृ. ३-५
  • परिवार—आपत्‌कालीन अवस्थामा छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार—आपत्‌कालीन अवस्थामा छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्तो खतरा?
  • आमा वा बुबा मात्र भएको परिवार बढ्‌दो छ
  • प्रेमशून्य विवाहको दलदलमा फसेको
    ब्यूँझनुहोस्‌!—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१ पृ. ३-५

परिवार—आपत्‌कालीन अवस्थामा छ!

“अनि त्यसपछि तिनीहरू सुखसित बस्न थाले।” परीहरूको कथा यसरी टुंगिन्छ तर आजभोलिका विवाहहरूमा यस्तो अवस्था झन्‌ झन्‌ हराउँदै गइरहेको छ। वर र वधुले एकअर्कालाई ‘आजीवन सुखमा पनि, दुःखमा पनि साथ दिने’ बाचाबन्धन अक्सर साहित्यिक अलंकार मात्र भएको छ। सुखी परिवार त केवल संयोगको कुराजस्तै देखिन थालेको छ।

सन्‌ १९६० देखि १९९० को दशकभित्र अधिकांश औद्योगिक पश्‍चिमी मुलुकहरूमा पारपाचुके दर दुई गुनाभन्दा पनि बढी भएको छ। केही मुलुकहरूमा त यो दर चार गुना बढेको छ। उदाहरणका लागि, स्वीडेनमा वर्षेनी हुने ३५,००० विवाहहरूमध्ये लगभग आधाजसो त टुक्रन्छन्‌ र यसले ४५,००० भन्दा धेरै बच्चाहरूलाई असर गरिरहेको छ। वैवाहिक बन्धनमा नबाँधिकनै सँगै बसिरहेका जोडीहरू टुक्रने दर त झन्‌ धेरै छ र यसले अरू थप दसौं हजार बच्चाहरूलाई असर गरिरहेको छ। यस्तो चलन संसारभरि अन्य मुलुकहरूमा पनि धमाधम बढ्‌दैछ र यो पृष्ठ ५ को पेटीबाट पनि बुझ्नसक्छौं।

हो, परिवार टुक्रनु र वैवाहिक बन्धन भताभुंग हुनु इतिहासमा कुनै नौलो घटना होइन। सा.यु.पू. १८ औं शताब्दीका हामराबीको संहितामा बाबेलमा पारपाचुके गर्न छुट दिइएका व्यवस्थाहरू समावेश थियो। त्यसबाहेक, सा.यु.पू. १६ औं शताब्दीमा स्थापित मोशालाई दिइएको व्यवस्थाले पनि इस्राएलमा पारपाचुके गर्ने अनुमति दिएको थियो। (व्यवस्था २४:१) तथापि, पारिवारिक बन्धन अहिले २० औं शताब्दीमा जस्तो कमजोर पहिले कहिल्यै भएको थिएन। करिब दस वर्षअघि एक अखबारका स्तम्भकारले लेखे: “आजभन्दा ५० वर्षपछि हाम्रो परिवार अहिलेको जस्तो आमाबाबु छोराछोरी सबै एकसाथ मिलेर बस्ने परिवार नहुने सम्भावना छ। यस्तो पारिवारिक संरचनाको ठाउँमा भिन्‍नै प्रकारका परिवारहरू देखा पर्नसक्छन्‌।” त्यसबेलादेखि यता तिनको यो विचारसित दुरुस्तै मेल खाने प्रचलन चारैतिर देखापर्न थालेजस्तो छ। पारिवारिक संरचना द्रुत गतिले भताभुंग हुन थालेकोले यो प्रश्‍न गर्नु अति नै सान्दर्भिक भएको छ, “के यसको जगेर्ना होला?”

पतिपत्नीलाई मिलेर बस्न र एकताबद्ध परिवार कायम राख्न किन असाध्यै गाह्रो भएको होला? निकै वर्ष सँगै जीवन बिताइसकेका र आफ्नो विवाहको रजत तथा स्वर्णजयन्ती पनि मनाइसकेकाहरूको सफल दाम्पत्य जीवनको रहस्य के हो? सन्‌ १९८३ मा पहिलेको सोभियत संघको अजरबैजानमा क्रमशः १२६ तथा ११६ वर्ष पुगिसकेका लोग्ने र स्वास्नीले आफ्नो विवाहको १०० औं वार्षिकोत्सव मनाएको रिपोर्ट उल्लेख गर्नु प्रासंगिक होला।

कस्तो खतरा?

धेरैजसो मुलुकहरूमा कानुनी तवरमा पारपाचुके गर्न पाइने केही आधारहरू हुन्‌, व्यभिचार, मानसिक वा शारीरिक यातना, पति वा पत्नीबाट त्यागिनु, मतवालापन, नपुंसकता, पागलपन, पति वा पत्नी छँदाछँदै अर्कोसित बिहे गर्नु र लागूपदार्थको दुर्व्यसन आदि। तथापि, सबैभन्दा प्रमुख कारण त हालैका केही दशकहरूभित्र विवाह तथा परम्परागत परिवारप्रतिको आधारभूत मनोवृत्तिमा आमूल परिवर्तन हुनु नै हो। विवाहलाई पवित्र बन्धन मान्‍ने चलन पनि हराउँदैछ। संगीत, चलचित्र, टिभी श्रृंखला तथा लोकप्रिय साहित्य तयार गर्ने लोभी निर्माताहरूले कथित यौन स्वच्छन्दता, अनैतिकता, छाडा आचरण र आत्मकेन्द्रित जीवनशैलीलाई निकै उचालेका छन्‌। युवा तथा वृद्ध सबैको मनमस्तिष्क खलबल्याउने संस्कृति तिनीहरूले प्रवर्धन गरिरहेका छन्‌।

सन्‌ १९९६ मा गरिएको सर्वेक्षणअनुसार २२ प्रतिशत अमेरिकीहरूले आफ्नो पति वा पत्नीबाहेक पर-पुरुष वा पर-स्त्रीसित यौन सम्पर्क कायम राख्दा कहिलेकाहीं वैवाहिक जीवनमा फाइदा नै हुनसक्छ भने। स्वीडेनको एउटा प्रमुख अखबार आफ्टनब्लाडेट-को विशेषांकले महिलाहरूलाई “आफ्नो स्थिति सुधार्न” पारपाचुके गर्नुहोस्‌ भन्‍ने सुझाउ दिएको थियो। केही लोकप्रिय मनोवैज्ञानिकहरू तथा मानव शास्त्रीहरूले विकासवादको सिद्धान्तले केही वर्षभित्रै आफ्नो लोग्ने वा स्वास्नी फेर्न मन लाग्नेगरि मानिस “तयार” पारिएको हो भन्‍ने अनुमानसमेत लगाएका छन्‌। अर्को शब्दमा भन्‍ने हो भने तिनीहरूले आफ्नो पति वा पत्नीबाहेक पर-पुरुष वा पर-स्त्रीसित यौन सम्पर्क राख्नु र पारपाचुके गर्नु स्वाभाविक हो भनिरहेका छन्‌। छोराछोरीले पनि कुनै दिन पारपाचुके गर्नुपर्दा सजिलो हुने भएकोले आमाबाबुले पारपाचुके गर्दा छोराछोरीको हित हुनसक्छ भनेर तर्क गर्नेहरू पनि छन्‌!

धेरैजसो युवाहरू आमाबाबु र छोराछोरी एकसाथ मिलेर बस्ने र एउटै भान्छामा खाने पारिवारिक जीवनशैली रुचाउँदैनन्‌। “म आफ्नो पूरै जीवन एक जना मानिससित मात्रै बिताउन कदापि सक्दिनँ” भन्‍ने विचारधारा निकै लोकप्रिय छ। एक १८ वर्षे डेनिश ठिटोले भने, “विवाह भनेको क्रिसमसजस्तै दन्त्यकथा मात्र हो। म यसमा विश्‍वास गर्दिनँ।” आयरलैन्डस्थित राष्ट्रिय महिला संघकी नरीन बर्न व्यक्‍त गर्छिन्‌, “बेकारमा लोग्नेको मोजा धुन किन बिहे गर्ने? तिनीहरूसित घुम्नुस्‌, मस्ती गर्नुस्‌। . . . धेरै आइमाईहरूको विचारमा जीवन बिताउन लोग्नेमान्छेको सहारा चाहिन्छ भन्‍ने त्यस्तो केही छैन।”

आमा वा बुबा मात्र भएको परिवार बढ्‌दो छ

युरोपभरि यो मनोवृत्तिले गर्दा आमाले मात्र बच्चा हुर्काउने प्रचलन निकै फस्टाउन थालेको छ। यीमध्ये केही आमाहरू त किशोरीहरू हुन्‌ र कुनै योजना नबनाई आमा बन्‍नु गलत होइन भन्‍ने तिनीहरूको धारणा छ। केही आमाहरू एक्लै बच्चा हुर्काउन चाहन्छन्‌। यीमध्ये प्रायजसो आमाहरू बच्चाको बुबासित विवाह नै नगरी वा विवाह गर्ने योजना नै नगरी केही समय सँगै बस्नेहरू छन्‌। गत वर्ष न्युजविक पत्रिकाले “के विवाह गर्ने चलनै विलिन भयो?” भन्‍ने प्रश्‍न सोध्दै आवरण लेख प्रकाशित गरेको थियो। त्यस पत्रिकामा युरोपमा अवैध बच्चाहरूको जन्म निकै द्रुत गतिले बढेको र कसैले पनि तिनीहरूको हेरचाह नगरेको उल्लेख गरिएको थियो। यो सूचीमा स्वीडेन अग्रपंक्‍तिमा आउला किनकि त्यहाँ जन्मेका बच्चाहरूमध्ये ५० प्रतिशत जति अवैध सम्बन्धबाट जन्मिएका हुन्‌। डेनमार्क तथा नर्वेको कुरा पनि झन्डै यस्तै छ अनि त्यसैगरि फ्रान्स र बेलाइतमा एकतिहाइ बच्चाहरू यसरी जन्मेका छन्‌।

गत केही दशकहरूदेखि संयुक्‍त राज्यमा आमाबुबा दुवै भएको परिवार धमाधम घट्‌दैछ। एउटा प्रतिवेदनअनुसार “१९६० मा . . . सबै बच्चाहरूमध्ये ९ प्रतिशत मात्र आमा वा बुबा मात्र भएको परिवारमा हुर्कन्थे। सन्‌ १९९० सम्ममा यो बढेर २५ प्रतिशत पुग्यो। अहिले आएर २७.१ प्रतिशत अमेरिकी बच्चाहरू आमा वा बुबा मात्र भएको परिवारमा हुर्किरहेका छन्‌ र यो संख्या धमाधम बढ्‌दैछ। . . . आमा वा बुबा मात्र भएको परिवारको संख्या १९७० देखि दुई गुनाभन्दा पनि बढी भएको छ। केही अनुसन्धानकर्ताहरूअनुसार परम्परागत परिवारलाई आज यति धेरै खतरा छ कि यो लोप हुनै लागेको अवस्थामा पुगेजस्तो छ।”

रोमन क्याथोलिक चर्चले आफ्नो अधिकांश नैतिक अख्तियार गुमाइसकेका मुलुकहरूमा आमा वा बुबा मात्र भएको परिवार अकासिंदैछ। इटालीको आधाभन्दा पनि कम परिवारमा आमा, बुबा र छोराछोरीहरूसँगै बस्छन्‌ र परम्परागत परिवारको ठाउँ निस्सन्तान दम्पती र आमा वा बुबा मात्र भएको परिवारले ओगट्‌न थालेको छ।

केही मुलुकहरूका कल्याणकारी कोषले वास्तवमा विवाह नै नगर्न प्रोत्साहित गर्छ। सरकारी मदत पाउने एक्ली आमाहरूले विवाह गरेमा त्यस्तो सहयोग पाइँदैन। डेनमार्कमा एक्ली आमाहरूले बच्चाको लालनपालनका लागि सरकारको तर्फबाट थप भत्ता पाउँछन्‌ र कुनै कुनै समाजमा त नाबालिग आमाहरूले अतिरिक्‍त रकमका साथै घरभाडासमेत पाउँछन्‌। यसप्रकार यहाँ पैसाको कुरा आउँछ। स्वीडेनमा हुने पारपाचुकेले गर्दा करदाताहरूले भत्ता, घर खर्च तथा सामाजिक मदतका लागि अढाई लाखदेखि ३.७५ लाख अमेरिकी डलरसम्मको कर तिर्नुपर्छ भनी आल्फ बि. स्भेनसन दाबी गर्छन्‌।

मसीहीजगत्‌का चर्चहरूले परिवारमा देखा पर्न थालेको यो विध्वंसकारी चलन हटाउन केही गर्न सकिरहेका छैनन्‌ वा कोसिसै गरिरहेका छैनन्‌ जस्तो देखिन्छ। धेरैजसो पास्टर तथा पादरीहरू आफ्नै परिवारको झमेलामै अल्झिरहेका छन्‌। त्यसैकारण, अरूलाई मदत गर्न तिनीहरू असमर्थ छन्‌। कसै कसैले त पारपाचुके गर्ने सुझाउसमेत दिन्छन्‌। अप्रिल १५, १९९६ को आफ्टनब्लाडेट-को रिपोर्टअनुसार ब्राडफोर्ड, बेलाइतका पास्टर स्टीभन एलेनले विशेष पारपाचुके कार्यक्रम नै तयार गर्नुका साथै उक्‍त औपचारिक कार्यक्रमले बेलाइतका सबै चर्चहरूमा मान्यता पाउनुपर्ने विचार व्यक्‍त गरेका छन्‌। “यो आफूमाथि आइपरेको घटनालाई स्वीकार्ने र त्यसअनुरूप छाँटकाँट गर्ने व्यक्‍तिलाई मदत गर्ने निवारण सेवा हो। यसबाट परमेश्‍वरले अझै पनि तिनीहरूलाई माया गर्नुहुन्छ भनेर बुझ्न मदत गर्छ र आफूमाथि बज्रपात भएको आघात सहनसक्ने बनाउँछ।”

अतः यो पारिवारिक गठबन्धन कतातिर लम्किरहेको छ? परिवारको जगेर्ना होला भन्‍ने के कुनै आशा छ? यस्ता खतराहरूका बावजूद पनि के प्रत्येक परिवारले आफ्नो पारिवारिक एकतालाई जोगाइराख्न सक्ला? कृपया यसपछिको लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ५-मा भएको चार्ट]

केही मुलुकहरूमा वर्षदिनभित्र हुने विवाह तथा पारपाचुके

मुलुक वर्ष विवाह पारपाचुके

अस्ट्रेलिया १९९३ १,१३,२५५ ४८,३२४

इस्टोनिया १९९३ ७,७४५ ५,७५७

क्यानाडा १९९२ १,६४,५७३ ७७,०३१

क्युबा १९९२ १,९१,८३७ ६३,४३२

चेक गणतन्त्र १९९३ ६६,०३३ ३०,२२७

जर्मनी १९९३ ४,४२,६०५ १,५६,४२५

जापान १९९३ ७,९२,६५८ १,८८,२९७

डेनमार्क १९९३ ३१,५०७ १२,९९१

नर्वे १९९३ १९,४६४ १०,९४३

पोर्टो रिको १९९२ ३४,२२२ १४,२२७

फ्रान्स १९९१ २,८०,१७५ १,०८,०८६

माल्दिभ्स १९९१ ४,०६५ २,६५९

संघीय रूस १९९३ ११,०६,७२३ ६,६३,२८२

संयुक्‍त अधिराज्य १९९२ ३,५६,०१३ १,७४,७१७

संयुक्‍त राज्य १९९३ २३,३४,००० ११,८७,०००

स्वीडेन १९९३ ३४,००५ २१,६७३

(सन्‌ १९९४ जनगणनाको वार्षिक पुस्तक-मा [अंग्रेजी] आधारित, संयुक्‍त राष्ट्र संघ, न्यु योर्क १९९६)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने