थुप्रैले विश्वास गरेको दाबी गर्छन्
“येशू अचम्मको हुनुहुन्छ! उहाँ विलक्षणको हुनुहुन्छ!” ब्राजिलकी एउटी धर्मपरायण महिलाले त्यस्तो उद्गार व्यक्त गरिन्। निस्सन्देह, येशूको नाउँ एकदमै प्रभावशाली छ भन्ने कुरालाई नकार्नु पर्ने कुनै कारण छैन। इतिहासलाई फर्केर हेर्ने हो भने मानिसहरू उहाँको खातिर दुःखकष्ट भोग्न अनि मर्न तयार भएका छन्।
प्रेरितहरू, पत्रुस र यूहन्नाले ‘येशूको नाउँमा’ यरूशलेममा प्रचार गरे। त्यसो गरेकोमा तिनीहरूलाई पक्रेर पिटियो। यद्यपि “ ‘उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो’ भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए।”—प्रेरित ५:२८, ४१.
येशूको नाउँको सम्मान गर्ने अर्को मसीही, प्रथम शताब्दीका एन्टिपास थिए। येशूले तिनलाई ‘उहाँमाथिको विश्वास इन्कार नगर्ने विश्वासी जन’ जो ‘तिनीहरूकै बीचमा मारिए, जहाँ शैतान बास गर्छ’ भन्नुभयो। (प्रकाश २:१३) पर्गाममका अरू मसीहीहरूले जस्तै एन्टिपासले ख्रीष्टमाथिको आफ्नो विश्वास इन्कार गरेनन्। एन्टिपासले आफ्नो ज्यानको खतरा मोल्नु परे तापनि येशूको नाउँलाई त्यागेनन्!
त्यसको लगभग आधा शताब्दीपछि सा.यु. १५५ मा मसीही भनी दाबी गर्ने पोलिकार्पलाई पनि ख्रीष्टको निन्दा गर्न लगाउँदा त्यस्तै परीक्षा सामना गरे। तिनले यस्तो जवाफ दिए: “मैले उहाँको सेवा गरेको ८६ वर्ष भइसक्यो अनि उहाँले मलाई एक चोटि पनि हानि पुऱ्याउनुभएको छैन। मलाई बचाउनुहुने राजाको म कसरी निन्दा गरूँ?” ख्रीष्टलाई तिरस्कार गर्न इन्कार गरेको हुँदा पोलिकार्पलाई काठमा जिउँदै जलाइयो।
प्रेरितहरू, एन्टिपास र अरू व्यक्तिहरू मर्नसमेत राजी भएर येशूको पक्षमा खडा भए। अहिलेका मानिसहरू नि?
अहिले येशूको नाउँ
येशूको नाउँले अहिले पनि तीव्र भावनाहरू जगाउँछ। ल्याटिन अमेरिकामा हालका दशकहरूको तथ्यांक हेर्ने हो भने येशूमाथि विश्वास राख्छौं भनी दाबी गर्नेहरूको संख्या अत्यधिक मात्रामा बढिरहेको छ। एकदमै स-साना गाउँहरूमा पनि पेन्टिकोस्टल चर्चहरू छन्। त्यसको साथसाथै, त्यस्ता चर्चहरूको राजनीतिमा लगाउ पनि बढ्दो छ। उदाहरणका लागि, ब्राजिलको कांग्रेस तथा परिषद्का ३१ स्थान ती चर्चका सदस्यहरूले नै ओगटेका छन्।
संयुक्त राज्यमा सुरु भएको नयाँ धार्मिक अभियानको केन्द्रबिन्दु पनि येशू नै हुनुहुन्छ। यस अभियानका अनुयायीहरू आफूलाई प्रमिज किपर्स भन्छन्। टाइम पत्रिकाले १९९७ मा रिपोर्ट गरेअनुसार १९९१ मा तिनीहरूका सभाहरूमा उपस्थिति संख्या ४,२०० थियो भने १९९६ मा ११ लाख पुग्यो। तिनीहरूको एउटा भजनको बोल यस्तो छ: “सदाको लागि मेरो मुक्तिदाता, येशूमा विजय।”
तथापि, येशूको नाउँले उत्प्रेरित गर्ने सबै भावनाहरू उच्च छैनन्। उहाँको नाउँमा युद्धका झण्डाहरू फरफराइरहेका छन्। येशूकै नाउँमा यहूदीहरूको संहार भएको छ, गैरमसीहीहरू मारिएका छन्, भिन्नै मत राख्नेहरूलाई यातना दिइएको छ, अंगभंग गरिएका अनि शूलीमा जलाइका छन्। अनि हालैको कुरा गर्ने हो भने धर्मप्रचारलाई व्यापारिकरण गर्ने कुख्यात प्रथा थालिएको छ। यी सबै ख्रीष्टको नाउँ र त्यसको महत्त्वको अनुचित प्रयोग तथा घीनलाग्दो दुर्व्यवहार हुन्!
यसबाहेक यसले अन्य सान्दर्भिक प्रश्नहरू पनि खडा गर्छ: येशूको नाउँमा विश्वास गर्नुमा के समावेश छ? यहोवाका साक्षीहरू यो विषयप्रति कस्तो दृष्टिकोण राख्छन्? यसपछिको लेखले यी प्रश्नहरूको जवाफ दिनेछ।