साँचो विश्वासतर्फ डोऱ्याउने नाउँ
“तपाईं येशू र उहाँको रगतले प्रदान गर्ने छुटकाराको मोलमा विश्वास गर्नुहुन्न,” एउटी महिलाले यहोवाका साक्षीलाई भनिन्। अर्का मानिसले यसो भने: “तपाईंहरू आफूलाई यहोवाका साक्षीहरू भन्नुहुन्छ तर म येशूको साक्षी हुँ।”
यहोवाका साक्षीहरू येशूलाई विश्वास गर्दैनन् वा उहाँलाई दिनुपर्ने सम्मान दिंदैनन् भन्ने धारणा कुनै नौलो कुरा होइन। तर तथ्य के हो त?
हो, यहोवाका साक्षीहरू परमेश्वरको नाउँ, यहोवालाईa अत्यन्तै महत्त्वपूर्ण ठान्छन्। ब्राजिलका एक जना साक्षी, इतामार यसो भन्छन्: “मैले परमेश्वरको नाउँ थाह पाएपछि मेरो जीवनले अर्कै मोड लियो। पहिलो चोटि पढ्दा त मस्त निद्राबाट झल्याँस्स ब्यूँझेझैं भयो। यहोवा भन्ने नाउँले मनमा तीव्र भावनाहरू जगायो र मलाई झक्झकायो; मेरो हृदय छोयो।” तैपनि तिनी यसो भन्छन्: “येशूप्रतिको प्रेमले पनि मेरो हृदय ओतप्रोत हुन्छ।”
हो, अनन्त जीवन पाउन “परमेश्वरको पुत्र” येशूको “नाउँमा” विश्वास गर्नुपर्छ भनी यहोवाका साक्षीहरूले बुझेका छन्। (१ यूहन्ना ५:१३) तर ‘येशूको नाउँमा’ भन्नुको अर्थ के हो?
येशूको नाउँको अर्थ के हो
“येशूको नाउँमा” र त्यस्तै प्रकारका अभिव्यक्तिहरू मसीही युनानी धर्मशास्त्र वा “नयाँ नियम”-मा प्रयोग भएका छन्। भनौं भने, येशूको भूमिकाको सन्दर्भमा “नाउँ” शब्द ८० चोटिभन्दा बढी प्रयोग भएको छ र त्यसमध्ये ३० चोटि जति त प्रेरितको पुस्तकमै छन्। प्रथम शताब्दीका मसीहीहरूले येशूको नाउँमा बप्तिस्मा दिए, उहाँको नाउँमा निको पारे, उहाँको नाउँमा सिकाए, उहाँको नाउँ पुकारे, उहाँको नाउँको खातिर दुःख भोगे अनि उहाँको नाउँ उच्च पारे।—प्रेरित २:३८; ३:१६; ५:२८; ९:१४, १६; १९:१७.
एउटा बाइबल शब्दकोशअनुसार “नाउँ” अर्थ बुझाउने युनानी शब्दले बाइबलमा प्रायजसो “नाउँले संकेत गर्नसक्ने सम्पूर्ण कुरालाई बुझाउँछ। जस्तै, अख्तियार, पदवी, आचरण, गौरव, शक्ति, श्रेष्ठता इत्यादि।” त्यसकारण, येशूको नाउँले यहोवा परमेश्वरले उहाँलाई सुम्पनुभएको वैभवशाली तथा विशाल अख्तियारलाई बुझाउँछ। येशू स्वयंले यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” (मत्ती २८:१८) पत्रुस र यूहन्नाले एक जना लंगडोलाई निको पारेपछि यहूदी धार्मिक नेताहरूले यो जान्न चाहे: “कुन शक्तिबाट, अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?” तब पत्रुसले निर्भयताका साथ येशूको नाउँले प्रतिनिधित्व गर्ने अख्तियार र शक्तिमा आफ्नो विश्वास प्रकट गर्दै भने “नासरतका येशू ख्रीष्टको नाउँमा, यो मानिस तपाईंहरूका सामने निको भएर उभिएको छ।”—प्रेरित ३:१-१०; ४:५-१०.
येशू वा सिजरमा विश्वास?
तथापि, येशूको नाउँमा त्यस्तो विश्वास राख्नु सजिलो हुनेछैन। येशूले भविष्यवाणी गर्नुभएअनुसार उहाँका चेलाहरू ‘उहाँको नाउँको खातिर सबै जातिमध्ये घृणित हुनेछन्।’ (मत्ती २४:९) किन? किनभने येशूको नाउँले परमेश्वरको नियुक्त राजा, राजाहरूका राजाको हैसियतमा उहाँले पाउनुभएको ओहदालाई बुझाउँछ र सबै राष्ट्रहरू उहाँप्रति आज्ञाकारी भएर निहुरिनुपर्छ तर तिनीहरू त्यसो गर्न तयार वा इच्छुक छैनन्।—भजन २:१-७.
येशूको समयका धार्मिक नेताहरू पनि येशूको अधीनमा बस्न चाहँदैनथे। तिनीहरूले “सिजरबाहेक हाम्रा अरू राजै छैन” भनेर वास्तवमा परमेश्वरको पुत्रलाई इन्कार गरिरहेका थिए। (यूहन्ना १९:१३-१५) बरु, तिनीहरूले सिजर नाउँ र तिनको साम्राज्यवादी सरकारको शक्ति तथा अख्तियारमा भरोसा राखे। तिनीहरूले आफ्नो ओहदा तथा पदवी जोगाउन येशू मारिनुपर्छ भन्ने निधोसमेत गरे।—यूहन्ना ११:४७-५३.
येशूको मृत्युपछिका शताब्दीहरूमा मसीही हौं भनी दाबी गर्ने थुप्रै मसीहीहरूले पनि यहूदी नेताहरूको जस्तै मनोवृत्ति राखे। यी नाउँ मात्रका मसीहीहरूले सरकारको शक्ति र अख्तियारमा विश्वास राखे अनि विवादहरूमा मुछिए। उदाहरणका लागि, ११ औं शताब्दीमा चर्चले बेरोजगार सिपाहीहरूलाई मिलिसिया क्रिस्टी वा मसीही सेनाहरूको दलमा संगठित पारेपछि “धार्मिक युद्ध परिचालन गर्ने जिम्मेवारी मसीहीजगत्को ऐहिक शक्तिबाट खोसियो र त्यसको बदलामा चर्चले मसीही सेनाको निकायद्वारा सञ्चालन गर्न थाल्यो।” (मसीहीधर्मको अक्सफोर्ड इतिहास [अंग्रेजी]) त्यो विवरणले थप के बताउँछ भने पोपका कुनै कुनै घोषणाहरूको आधारमा अधिकांश धार्मिक योद्धाहरूले धार्मिक युद्धहरूमा भाग लिएको खण्डमा “तिनीहरू परमेश्वरसित मिलोमतोमा बाँधिन्छन् र फलतः तिनीहरूले प्रमोदवनमा जीवन पाउने कुरा यकिन छ” भन्ने विश्वास गर्न थाले।
कसै कसैले तर्क गर्लान्, येशूप्रति वफादार रहेर राजनैतिक मामिला तथा आफ्नो देशका लागि युद्धहरूमा सामेल हुन पनि सकिन्छ। तिनीहरूलाई लाग्नसक्छ, जहाँसुकै जुनसुकै अवस्थामा दुष्टताको प्रतिरोध गर्नु मसीहीको कर्तव्य हो र आवश्यक परेमा लडाइँमा भाग लिन पनि पछि पर्नु हुँदैन। तर के प्रारम्भिक मसीहीहरू पनि यस्तै दृष्टिकोण राख्थे?
“प्रारम्भिक मसीहीहरूले सशस्त्र लडाइँमा भाग लिंदैनथे” भनी द क्रिश्चियन सेन्चुरी नामक पत्रिकाको एउटा लेखले बताउँछ। त्यसमा बताइएअनुसार सा.यु. १७०-१८० को दशकसम्म मसीहीहरू सैनिक सेवामा भर्ती भएको कुनै प्रमाण पाइँदैन। उक्त लेखले थप यसो भन्छ: “बिस्तारै बिस्तारै पछि गएर मात्र मसीहीहरूले सैनिक सेवाको विरोध गर्न छोडेर त्यसमा सामेल हुन थाले।”
त्यसको परिणाम के भएको छ? “युद्धको सन्दर्भमा मसीहीधर्मले पनि गैरमसीहीहरूले जस्तै अडान लिनुले भन्दा अरू कुनै कुराले यति बिघ्न बदनाम गरेको छैन” भनी द क्रिश्चियन सेन्चुरी पत्रिकाको लेखले बताउँछ। “मसीहीहरूले एकातिर मृदुल मुक्तिदाताको विश्वास अँगाल्ने अनि अर्कोतिर धार्मिक वा राष्ट्रवादी युद्धहरूलाई जोडतोडले समर्थन गर्ने गरेकोले मसीही विश्वासलाई असाध्यै हानि पुऱ्याएको छ।”
अहिले प्रारम्भिक मसीहीहरूको अनुकरण गर्ने
के अहिलेका मसीहीहरूले प्रारम्भिक मसीहीहरूको उत्कृष्ट उदाहरण अनुकरण गर्नु सम्भव छ? सम्भव छ भनेर यस शताब्दीका यहोवाका साक्षीहरूले देखाएका छन्। तिनीहरूबारे बताउँदै हलोकस्ट एजुकेशनल डाइजेस्ट-का सम्पादकले यस्तो टिप्पणी गरे: “यहोवाको कुनै पनि साक्षी कहिल्यै युद्धमा सामेल हुँदैन . . . यो संसारका उच्च ओहदामा बसेका सबै मानिसहरूको पनि यस्तै विश्वास भइदिएको भए [दोस्रो विश्वयुद्ध] हुने नै थिएन।”
हाल भइरहेका क्षेत्रीय विवादहरूबारे पनि त्यसै भन्न सकिन्छ, जस्तै उत्तरी आयरल्याण्डमा चर्केको विवाद। केही वर्षअघिको कुरा हो, यहोवाको एक जना साक्षी बेल्फास्ट शहरको प्रोटेस्टेन्ट इलाकामा घर घर प्रचार गरिरहेका थिए। यो साक्षी पहिले क्याथोलिक थिए भनी थाह पाएपछि एक जना घरधनीले सोधे: “तपाईं क्याथोलिक हुनुहुँदा के [आइरिस रिपब्लिकन आर्मी] आइ आर ए-लाई समर्थन गर्नुहुन्थ्यो?” उक्त व्यक्ति क्याथोलिकलाई बन्दुकले हानेर मार्न लम्किरहेको बेला पक्राउ परेर भर्खरै मात्र मुक्त भएका थिए। त्यसकारण, आफ्नो जवाफ सुनेर उक्त घरधनी रिसले चूर हुनसक्ने सम्भावना थियो। अतः साक्षीले यस्तो जवाफ दिए: “म अहिले क्याथोलिक होइन। म एक जना यहोवाको साक्षी हुँ। साँचो मसीहीको हैसियतमा जुनसुकै सरकार वा मानिसको लागि किन नहोस्, कसैको पनि ज्यान लिनेछैन।” यो कुरा सुनेपछि घरधनीले हात मिलाउँदै यसो भने: “अर्काको ज्यान लिनु नराम्रो कुरा हो। तपाईंहरूले राम्रो काम गरिरहनुभएको छ। गरिरहनुहोस्।”
येशूको नाउँमा विश्वास राख्नुको अर्थ के हो
तथापि, येशूको नाउँमा विश्वास राख्नुको अर्थ युद्धमा भाग नलिनु मात्र होइन। ख्रीष्टका सबै आज्ञाहरू पालन गर्नुपर्छ। किनभने येशूले यसो भन्नुभयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्यौ भने, तिमीहरू मेरा मित्र हौ” अनि उहाँको एउटा आज्ञा यस्तो छ, ‘आपसमा प्रेम गर्नु।’ (यूहन्ना १५:१४, १७) प्रेमले अरूको भलाइ गर्न खोज्छ। यसले कुनै पनि प्रकारको जातीय, धार्मिक तथा सामाजिक पूर्वाग्रह राख्दैन। यो कसरी हुन्छ भनी येशूले देखाउनुभयो।
येशूको समयका यहूदीहरू सामरीहरूप्रति असाध्यै कटु भाव राख्थे। त्यस्तो वातावरणमा पनि येशूले सामरी आइमाईसित कुरा गर्नुभयो। फलस्वरूप उनी र अरू थुप्रैले उहाँको नाउँमा विश्वास राखे। (यूहन्ना ४:३९) साथै, आफ्ना चेलाहरू “यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म . . . गवाही” हुनेछन् भनेर पनि येशूले भन्नुभएको थियो। (प्रेरित १:८) उहाँको जीवनदायी सन्देश यहूदीहरूका लागि मात्र थिएन। त्यसैअनुरूप पत्रुसले रोमी कप्तान कर्निलियसकहाँ जाने निर्देशन पाए। यहूदीले बेग्लै जातिको व्यक्तिलाई भेट्नु व्यवस्था विपरीत भए तापनि “कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नभन्नू भनी” परमेश्वरले पत्रुसलाई स्पष्ट पार्नुभयो।—प्रेरित १०:२८.
येशूको अनुकरण गर्दै यहोवाका साक्षीहरू मानिसहरूको जातीय, धार्मिक वा आर्थिक पृष्ठभूमिको कुनै वास्ता नगरी येशूको नाउँद्वारा प्राप्त हुने मुक्तिबारे स्वेच्छाले सिकाउँछन्। येशूको नाउँमाथिको विश्वासले ‘प्रभु येशूलाई आफ्नो मुखले’ जनसमक्ष ‘स्वीकार गर्न’ तिनीहरूलाई प्रेरित गर्छ। (रोमी १०:८, ९) हामी तपाईंलाई तिनीहरूले दिने मदत स्वीकार्न आग्रह गर्छौं ताकि तपाईंले पनि ख्रीष्टको नाउँमा विश्वास राख्न सकोस्।
येशूको नाउँले साँच्चै सम्मान, आदर तथा आज्ञाकारिता जगाउनुपर्ने हो। प्रेरित पावलले यसो भने: “स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:१०, ११) पृथ्वीका अधिकांश बासिन्दाहरू येशूको शासनको अधीनमा बस्न इच्छुक नभए तापनि अधीनमा बस्नैपर्ने, अन्यथा नाश हुनुपर्ने समय नजिकै छ भनी बाइबलले देखाउँछ। (२ थिस्सलोनिकी १:६-९) त्यसकारण, येशूका सबै आज्ञा पालन गरेर उहाँको नाउँमा विश्वास गर्ने समय अहिल्यै हो।
[फुटनोट]
a थप जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी) पुस्तिकाको पृष्ठ २८-३१ को लेख “हामीले किन परमेश्वरको नाउँ थाह पाउनुपर्छ” हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको चित्र]
येशूको नाउँमा लाखौंले अरूलाई मारे अनि लाखौं मारिए
[पृष्ठ ७-मा भएको चित्र]
येशूले जातीय पूर्वाग्रह राख्नुभएन। तपाईं नि?