पाठकहरूका प्रश्नहरू
फिलिप्पी २:९ मा पावलले येशूबारे यसो भने: “परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ।” यो नयाँ नाउँ के हो? येशू, यहोवाभन्दा कम श्रेणीको हुनुहुन्छ भने येशूको नाउँ हरेक नाउँभन्दा कसरी उच्च हुनसक्छ?
फिलिप्पी २:८, ९ मा यसो भनिएको छ: “[येशू] रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो। त्यसैकारणले पनि परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ।”
यस पद्यांशको अर्थ, यहोवाको नाउँ मात्र हरेक नाउँभन्दा उच्च भएकोले येशू र यहोवा एउटै व्यक्ति हुनुपर्छ भन्ने होइन। फिलिप्पी दोस्रो अध्यायको सन्दर्भले देखाएअनुसार येशूले यस उच्च नाउँ पुनरुत्थानपछि प्राप्त गर्नुभयो। त्यसअघि उहाँसित त्यो नाउँ थिएन। अर्कोतर्फ, यहोवा सधैं सर्वोच्च हुनुहुन्छ र उहाँको स्थान कहिल्यै परिवर्तन भएको छैन। येशूले पृथ्वीमा हुनुहुँदाभन्दा श्रेष्ठ नाउँ पाउनुभएको तथ्यले नै के प्रमाणित गर्छ भने, उहाँ र यहोवा एउटै हुनुहुन्न। येशूलाई हरेक नाउँभन्दा उच्च नाउँ प्रदान गरियो भनी पावलले बताउँदा तिनले यो बुझाउन खोजेका थिए, परमेश्वरका सारा प्राणीहरूमध्ये येशूको नाउँ सबैभन्दा उच्च छ।
येशूको उच्च नाउँ के हो? यशैया ९:६ ले त्यसको जवाफ दिन मदत दिन्छ। आउँदै गरेको मसीह, येशूबारे भविष्यवाणी गर्ने उक्त पदले यसो भन्छ: “शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ।” यहाँ येशूको “नाउँ” उहाँको उच्च ओहदा र अख्तियारसित सम्बन्धित छ। यसै अर्थमा हामी फिलिप्पी २:९ मा उल्लिखित “हरेक नाउँभन्दा उच्च” नाउँको अर्थ बुझ्छौं। यहोवाले येशूलाई दिनुभएको उच्च अख्तियारलाई स्वीकारेर उहाँसमक्ष घुँडा टेक्न सबैलाई आज्ञा दिइएको छ। यो अख्तियार अन्य कुनै प्राणीको भन्दा उच्च छ। केही अनुवादमा प्रयोग गरिएको “अरू” शब्द युनानी पदबाट सोझै लिइएको होइन तर त्यसलाई त्यस पदको अर्थले बुझाउँछ। येशूको “नाउँ” उहाँको आफ्नै नाउँभन्दा उच्च होइन तर अरू प्राणीहरूको नाउँभन्दा उच्च छ।
सबै विश्वासी स्वर्गदूत तथा मानवहरूसित एक भएर येशूको नाउँलाई स्वीकार्न पाएकोमा हामी कति खुशी छौं! अतः “परमेश्वर पिताको महिमाको निम्ति” यहोवाले दिनुभएको उच्च तथा शक्तिशाली स्थानको अधीनमा बसेर हामी उहाँसमक्ष घुँडा टेक्छौं।—फिलिप्पी २:११; मत्ती २८:१८.