भेन्डाको फलदायी भूमि
म र मेरी पत्नीले भेन्डामा पूर्ण-समय सेवा गरेको दस वर्षभन्दा बढी भइसक्यो। दक्षिण अफ्रिकाको उत्तरी भागमा पर्ने लिम्पोपो नदीको दक्षिणतिर भेन्डा अवस्थित छ र पहिले पहिले लिम्पोपो नदी तरेर आएका विभिन्न जनजातिहरू यहाँ बसोबास गर्छन्। कोही कोही भेन्डाहरू आफ्नो बाबुबाजे यहाँ बसोबास गर्न थालेको १,००० वर्षभन्दा बढी भइसक्यो भन्ने दाबी गर्छन्।
निस्सन्देह, यो प्रान्त कुनै समय मापुंगुबे राज्य भनिने पुरातन सभ्यताको भाग थियो। यो दक्षिण अफ्रिकाको सबैभन्दा पहिलो ठूलो बस्ती थियो र पश्चिममा बोत्स्वानादेखि पूर्वमा मोजाम्बिकसम्म फैलिएको विशाल लिम्पोपो नदीले सीमा बाँधेको उपत्यका जत्रो थियो। सा.यु. ९०० देखि सा.यु. ११०० सम्म मापुंगुबेले अरबी व्यापारीहरूलाई हात्तीको दाह्रा, गैंडाको खाग, जनावरको छाला, तामा अनि सुनसमेत बेच-बिखन गर्थ्यो। शाही खानदानको लास गाड्ने गरिएको मापुंगुबे भनिने पहाडमा सुनको जलप लगाइएका कलात्मक आकृतिहरू फेला परेका छन्। एउटा विश्वकोशले बताएअनुसार यी “दक्षिण अफ्रिकामा भएका सुन खानीहरूबारे सुरु सुरुतिर पत्ता लागेका प्रमाणहरू” हुन्।
आजकल यी सुन खानीहरूमा काम हुँदैन। अहिले, भेन्डाको मुलुक आफ्नो उत्पादनशीलताको लागि प्रख्यात छ। सटपान्सवर्ग पहाडको दक्षिणमा एउटा लहलहाउँदो उपत्यका छ र त्यहाँ आभोकाडो, केरा, आँप र अम्बाजस्ता फलफूलहरू प्रशस्त मात्रामा फल्छन्। पिकान र मेकडेमियाजस्ता किसमिसबाहेक तरकारीको उब्जनी पनि प्रशस्त हुन्छ। पालुंगो स्वादको जंगली मुरोहो पनि प्रशस्त फल्छ र स्थानीयवासीहरूले यो एकदमै मन पराउँछन्।
भेन्डाहरू शान्तिप्रिय र अतिथि सत्कार गर्ने स्वभावका मानिसहरू हुन्। निम्तोबिना घरमा टुप्लुक्क आइपुगेको पाहुनाको लागि समेत घर मालिकले कुखुरा काट्न लगाउनु कुनै अनौठो कुरा होइन। अनि मकैबाट तयार पारिने बुस्वा-सित यो मासु खाइन्छ। यसरी आएको पाहुनालाई खानपिन गराइसकेपछि घरधनी उसलाई पुऱ्याउन अलि परसम्म सँगै जान्छन्। पाहुनाप्रति आदर देखाउने यो परम्परागत तरिका हो। केटाकेटीहरूलाई पाहुनाहरूप्रति सम्मान देखाउन निहुरिएर हात अगाडि फैलाउन सिकाइएको हुन्छ। यहाँ चित्रमा दुइटी भेन्डा स्त्रीहरूले परम्परागत ढंगमा अभिवादन गरिरहेको दृश्य छ।
गाह्रो भाषा
युरोपेली मूलका मानिसहरूलाई भेन्डा भाषा सिक्न निकै गाह्रो पर्छ। एउटा कठिनाइ हो, थुप्रै शब्दहरूको हिज्जे एउटै भए तापनि उच्चारण बेग्लाबेग्लै हुन्छ। एक दिनको कुरा हो, यहोवाका साक्षीहरूको भेन्डा मण्डलीलाई बाइबलमा आधारित भाषण दिइरहेको बेला मैले श्रोतागणलाई सबै मानिससित कुरा गर्न प्रोत्साहन दिइरहेको थिएँ। एक जना श्रोताको हाँसो फुत्किहाल्यो किनभने मैले “सबै मानिससित” भन्नुको साटो “सबै औंलासित” भनें।
मैले जन प्रचारकार्यमा पहिलो चोटि भेन्डा भाषा बोल्न थाल्दा एउटी भेन्डा आइमाइले यसो भनिन्: “म अंग्रेजी जान्दिनँ।” आफूलाई त भेन्डा भाषा नै बोलेको जस्तो लागेको थियो तर उसले अंग्रेजी बोलेको भन्ठानी! अर्को चोटि भने मैले एउटा केटोलाई घर मालिक बोलाइदेउ भनें। घर मालिक बुझाउने भेन्डा शब्द हो, टोहो। तर मैले गल्ती गरेर तोहो भनेछु, घरको मालिक नभई घरको बाँदरलाई बोलाइदेउ भनेछु! यस्तो गल्तीहरूले गर्दा म दिक्क हुन्थें तर हरेस नखाई लागिरहँदा अहिले म र मेरी पत्नी दुवै भेन्डा भाषामा राम्ररी कुरा गर्न सक्ने भएका छौं।
आध्यात्मिक फल
भेन्डाको मुलुक आध्यात्मिक अर्थमा फलदायी साबित भएको छ। सन् १९५० को दशकतिर मेसिना शहरको तामा खानीमा काम गर्न छिमेकी मुलुकबाट आएका आप्रवासीहरूको समूहबाट यहोवाका साक्षीहरूको एउटा मण्डली स्थापना भयो। तिनीहरूको जोसिलो क्रियाकलापले गर्दा थुप्रै भेन्डाहरूले बाइबल सच्चाइ सिक्ने मौका पाए। त्यसको एक दशकपछि भेन्डा साक्षीहरूको समूहले सिबासा शहरको एउटा निजी घरमा सभाहरू सञ्चालन गर्न थालिसकेका थिए।
थप वृद्धिको लागि वाच टावर सोसाइटीको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयले यस फलदायी भूमिमा पूर्ण-समय प्रचारकहरू पठायो। चाँडै, सिबासाको त्यो सानो समूह एउटा ठूलो मण्डली भइसकेको थियो। त्यतिबेला मसीही सभाहरू कक्षाकोठामा सञ्चालन हुन्थ्यो। पिटर्जवर्ग इलाकाका यहोवाका साक्षीहरूको मदतले १६० किलोमिटर दक्षिणमा पर्ने टोहोयान्डाउमा एउटा राज्यभवन निर्माण गरियो।
दक्षिण अफ्रिकाको उत्तरी भागमा भेन्डा भाषा बोल्नेहरूको जनसंख्या ५,००,००० भन्दा बढी छ। यहाँ १९५० को दशकमा परमेश्वरको राज्यबारे प्रचार गर्न थालिंदा भेन्डा भाषी साक्षी एक जना पनि थिएन। अहिले १५० भन्दा बढी छन्। तर अहिले पनि प्रचार नगरिएका र अझै प्रचार गर्न बाँकी थुप्रै इलाकाहरू छन्। सन् १९८९ मा हामीले हामुट्शा भन्ने भेन्डा गाउँमा प्रचार गर्न थाल्यौं। त्यतिबेला त्यहाँ एक जना मात्र साक्षी थियो। अहिले त्यो गाउँमा ४० जनाभन्दा बढी राज्य प्रचारकहरू छन्। अहिले हामी राज्यभवन निर्माण कार्यमा व्यस्त छौं। यस निर्माण कार्यमा सहयोग पुऱ्याउने पिटर्जवर्ग मण्डलीको मदत र सम्पन्न मुलुकका भाइहरूको आर्थिक सहयोगको लागि हामी कृतज्ञ छौं।
हामी क्याराभानमा (सानो घुमन्ते घर) बस्छौं। आफ्नो जीवन सकेसम्म सरल राखेर हामीले थुप्रै स्थानीय मानिसहरूलाई सुसमाचार सुनाउने समय निकाल्न सकेका छौं। (मर्कूस १३:१०) फलस्वरूप, यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्न थुप्रैलाई मदत दिने सुअवसर पाएका छौं। उदाहरणका लागि, माइकललाई लिनुहोस्। तिनले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक साथीको घरमा देखेका थिए।a तिनले त्यो पढ्न थाले र सत्य यही हो भनेर बुझिहाले। अतः तिनले वाच टावर सोसाइटीसित पत्राचार गरेर थप बाइबल साहित्यहरू मागे। माइकलले चिठीमा आफू भर्खरै स्थानीय अपोस्टलिक चर्चको सदस्यको हैसियतमा बप्तिस्मा लिएको कुरा पनि बताए। तिनले लेखे, “मैले परमेश्वरको राज्यमा पुग्न रोजेको बाटो गलत रहेछ भनेर थाह पाएँ। त्यसकारण मैले तपाईंहरूको सदस्य बन्ने निधो गरेको छु तर मलाई के के गर्नुपर्छ, थाह छैन।” तिनले आफ्नो ठेगाना दिए अनि आफूकहाँ यहोवाको एक जना साक्षी पठाइयोस् भन्ने निवेदन गरे। मैले माइकलको ठेगाना पत्ता लगाएर तिनीसित बाइबल अध्ययन गर्न थालें। अहिले तिनी बप्तिस्माप्राप्त साक्षी भइसकेका छन् र वफादार भएर यहोवाको सेवा गर्दैछन्।
डिसेम्बर १९९७ मा हामी टोहोयान्डाउको रंगशालामा सम्पन्न यहोवाका साक्षीहरूको “परमेश्वरको वचनमा विश्वास” जिल्ला अधिवेशनमा उपस्थित भयौं। जम्मा ६३४ जना उपस्थित थिए र १२ जनाले बप्तिस्मा लिए। मैले भेन्डा भाषामा दुइटा भाषण दिने सुअवसर पाएँ। यस फलदायी भूमिमा बिताएको आनन्दमय दशकमा त्यो अवसर, साँच्चै एउटा अविस्मरणीय क्षण थियो!—साभार।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।