राज्य उद्घोषकहरूका रिपोर्ट
फ्रान्समा साक्षीहरू जनसमक्ष जान्छन्
जनवरी २२, १९९९ शुक्रबारका दिन बिहान सबेरैदेखि आइतबारसम्म फ्रान्सका यहोवाका साक्षीहरूले फ्रान्सका जनताहरू हो, तपाईंहरू बहकिनुभयो! विषयक पर्चाका १.२ करोड प्रतिहरू सडकमा र पछि घर घरमा वितरण गरे। किन यस्तो अभियान गर्नु पऱ्यो?
त्यस दिन बिहान पत्रकार सम्मेलनमा उक्त अभियान गर्नुको कारण बताइयो। साक्षीहरूका प्रवक्ताले यसो भने: “अहिले हामीले वास्तवमा स्पष्ट पार्न चाहेको कुरा के हो भने, हामी को हौं भनेर चिनाउन र हामीबारे फैलाइएका अपमानजनक टीकाटिप्पणीहरूको अन्त गर्न चाहन्छौं। हामी टीकाटिप्पणीहरू सुन्न तयार छौं तर अब उप्रान्त हाम्रो नाउँ बदनाम हुने झूटा टिप्पणीहरू सुन्न तयार छैनौं।”
यहोवाका साक्षीहरू फ्रान्सको तेस्रो ठूलो धार्मिक समूह हो। तर थुप्रै साक्षी केटाकेटीहरूलाई स्कूलमा दुःख दिने र जिस्क्याउने गरिन्छ। वयस्कहरूले भने साक्षी हुनाकारण जागिर गुमाउनु परेका र धम्की सहनुपरेका छन्। पत्याउन गाह्रो छ तर धर्मको लागि प्राप्त चन्दाहरूमा समेत ६० प्रतिशत कर लगाइएको छ। उक्त अभियानले यस्तो भेदभावप्रति कस्तो कदम चाल्यो?
उक्त पर्चामा यसो भनिएको छ: “फ्रान्सका २,५०,००० यहोवाका साक्षीहरू र तिनीहरूसित संगत गर्ने व्यक्तिहरू फ्रान्समा सन् १९०० देखि चल्दै आएको मसीही धर्मलाई १९९५ देखि अरू खतरनाक गुटहरूसित छ्यासमिस गरिएकोमा विरोध जनाउँछन्। . . . तिनीहरूमाथि गरिएको अनेकन् यातनाको विरोध गर्छन्।” फ्रान्सका साक्षीहरूमाथि थोपरेका झूटा आरोपहरू र बदनाम गर्न चाहनेहरूको छली कार्यले उब्जाएको नकारात्मक प्रचारप्रसार जनसमक्ष प्रकट गरियो। पर्चाको अन्तमा यसो भनिएको छ: “अहिले युरोपमा २० लाखभन्दा बढी यहोवाका साक्षीहरू र तिनीहरूका सरसंगत छन्। सुसमाचारको पुस्तकमा दिइएका मूल्यमान्यताहरूअनुरूप चलेर तिनीहरू जुन देशका नागरिक हुन्, त्यस देशका सरकारका नियमहरूको आदर गर्छन्। फ्रान्सका जनताहरू हो, यी तथ्य कुराहरू हुन्। वास्तविकता प्रस्तुत गर्नु हाम्रो कर्तव्य हो!”
छिटो, सकारात्मक जवाफ
पहिलो दिनमै लाखौं पर्चाहरू वितरण भए। पेरिसमा मात्रै दिउँसो सम्ममा ७,००० भन्दा बढी साक्षीहरूले १३ लाखभन्दा बढी पर्चाहरू वितरण गरिसकेका थिए। फ्रान्सका जनताहरूले यति धेरै मानिसहरू सडकमा पर्चा वितरण गरिरहेको पहिले कहिल्यै देखेका थिएनन्। राष्ट्रिय र स्थानीय अखबार तथा टेलिभिजनलगायत सञ्चारमाध्यमहरूले यस्तो अभियानप्रति सकारात्मक प्रतिक्रिया देखाए। ले पोग्रे दे ल्यों अखबारले यस्तो टिप्पणी गऱ्यो: “यस कार्यले . . . एउटा शब्दबाट उत्पन्न गलत सोचाइलाई प्रस्ट पार्छ। ‘गुट’ शब्दले . . . अनुचित, खतरनाक र हानिकारक अर्थ लिएको दस वर्ष जति भयो। . . . यहोवाका साक्षीहरू समाजलाई उथलपुथल गर्ने खतरनाक मानिसहरू होइनन्।”
यहोवाका साक्षीहरूबारे परिचित मानिसहरूलाई तिनीहरू शान्तिमय स्वभावका छन् र तिनीहरू पहिलेदेखि चलिआएको सामाजिक परिपाटीको आदर गर्छन् भनेर राम्ररी थाह छ। तसर्थ, सडकमा भेटेका थुप्रैले यस अभियानमा सामेल भएका हजारौं साक्षीहरूको कार्यप्रति मूल्यांकन र सहयोग देखाए। धन्यवाद व्यक्त गर्न थुप्रै टेलिफोन कल, फ्याक्स र चिठीपत्रहरू तुरुन्तै प्राप्त हुन थाले। सबैभन्दा महत्त्वपूर्ण कुरा, इमानदार हृदय भएका व्यक्तिहरूले काल्पनिक र बेमतलबका टिप्पणीहरू नभई साक्षीहरूबारे तथ्य कुरा सुन्ने मौका पाए अनि आफूले कदर गरेका भावनाहरूमाथि आघात पुगेकाहरूले आफ्नो कुरा व्यक्त गर्न पाए।