प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ३/१ पृ. २३-२७
  • अहिलेसम्म यहोवाद्वारा सम्हालिएको

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहिलेसम्म यहोवाद्वारा सम्हालिएको
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो सेवकाई विस्तार गर्ने चाहना
  • निकारागुआमा सेवा गर्दै
  • फेरि बसाइँ सराइ
  • कठिनाइको सामना गर्दै
  • आध्यात्मिकता कायम राख्दै
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आमाबाबुको पदचिन्हलाई पछ्याउँदै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु, त्यसमा रत्तीभर परिवर्तन नहोस्‌!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ३/१ पृ. २३-२७

जीवनी

अहिलेसम्म यहोवाद्वारा सम्हालिएको

फोरेस्ट लिको वृत्तान्तमा आधारित

प्रहरीले हाम्रो ग्रामोफोन र बाइबल साहित्यहरू जफत गरेको केही बेर मात्र भएको थियो। क्यानाडाको नयाँ गभर्नर-जनरललाई यहोवाका साक्षीहरूको गतिविधि गैरकानुनी हो भनेर घोषणा गर्न लगाउन विरोधीहरूको निम्ति दोस्रो विश्‍वयुद्ध एउटा राम्रो कारण भएको थियो। त्यो वर्ष थियो, जुलाई ४, १९४०.

यस्ता घटनाहरू भए तापनि निर्भयतासाथ हामीले थन्काएको ठाउँबाट अझ थप साहित्यहरू झिकायौं र प्रचार गर्न छोडेनौं। त्यतिबेला बुबाले भन्‍नुभएका शब्दहरू म कहिल्यै बिर्सन सक्दिनँ: “हामी कहाँ सजिलै हार मान्छौं र। यो प्रचार गर्ने आज्ञा हामीलाई यहोवाले दिनुभएको हो।” त्यतिबेला म चल्तापुर्जा दस वर्षको केटो थिएँ। तर आज पनि हाम्रो परमेश्‍वर यहोवाले कसरी आफ्ना वफादार जनहरूलाई सम्हाल्नुहुन्छ भनेर बुबाको कटिबद्धता र सेवकाईप्रतिको जोस सम्झौटा भएको छ।

अर्को चोटि प्रहरीले हामीलाई भेट्टाउँदा तिनीहरूले हाम्रो साहित्य जफत गर्नुका साथै बुबालाई पनि पक्रेर लगे र आमा एक्लैले चार जना छोराछोरीको पालनपोषण गर्नुपऱ्‍यो। यो घटना स्यासक्याचेवानमा सन्‌ १९४० को सेप्टेम्बरमा भएको थियो। मेरो बाइबल आधारित अन्तस्करण र झन्डा सलामी वा राष्ट्रिय गान नगाएकोले मलाई चाँडै स्कूलबाट पनि निकालियो। पत्राचारद्वारा स्कूले शिक्षा लिन थालेकोले मेरो तालिका लचकदार थियो र मैले प्रचार कार्यमा अझ बढी भाग लिन सकें।

सन्‌ १९४८ मा यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामीहरूलाई क्यानाडाको पूर्वी तटमा सर्न आह्वान गरियो। त्यसैले, म नोभा स्कटियाको ह्‍यालिफ्याक्स र प्रिन्स एड्‌वर्ड टापुको केप वुल्फमा अग्रगामी गर्न गएँ। त्यसको लगत्तै अर्को वर्ष मैले टोरोन्टोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा दुई हप्ता काम गर्ने निमन्त्रणा स्वीकारें। त्यो दुई हप्ता त लम्बेर छ वर्ष पो भयो र त्यहाँ बिताएको समय इनामदायी साबित भयो। पछि, मैले मर्नालाई भेटें र उनको पनि यहोवाप्रति मेरोजस्तै प्रेम थियो। हामीले डिसेम्बर १९५५ मा बिहे गऱ्‍यौं। हामी ओन्टारियोको मिल्टन भन्‍ने ठाउँमा बस्न थाल्यौं र त्यहाँ चाँडै एउटा नयाँ मण्डली स्थापित भयो। अनि हाम्रो घरको छिंडीचाहिं राज्यभवन भयो।

हाम्रो सेवकाई विस्तार गर्ने चाहना

त्यसपछिका वर्षहरूमा हामी तुलनात्मक रूपमा छोटो समयमै छ जना छोराछोरीका आमाबाबु भयौं। हाम्रो जेठी सन्तान छोरी मिरियम थिइन्‌। त्यसपछि शार्मेन, मार्क, एनेट, ग्रान्ट र अन्ततः ग्लेनको जन्म भयो। म कामबाट घर फर्कंदा अक्सर मेरा छोराछोरी आगो ताप्ने ठाउँ वरिपरि बसिरहेका हुन्थे र मर्नाचाहिं तिनीहरूलाई बाइबल पढेर बाइबल विवरणहरू बुझाइरहेकी हुन्थिन्‌। यसरी तिनीहरूको हृदयमा सानै उमेरदेखि यहोवाप्रति साँचो प्रेम विकास गर्न तिनले मदत गरिन्‌। तिनकै मायालु सहयोगको कारण हाम्रा सबै छोराछोरीले कलिलै उमेरमा बाइबलको पर्याप्त ज्ञान प्राप्त गरे।

सेवकाईप्रतिको मेरो बुबाको जोसले मेरो मन अनि हृदयमा अमेट छाप पारेको थियो। (हितोपदेश २२:६) अतः सन्‌ १९६८ मा यहोवाका साक्षीहरूको परिवारलाई मध्य तथा दक्षिण अमेरिकामा प्रचार कार्यमा मदत गर्न बसाइँ सर्ने आह्वान गर्दा हाम्रो परिवार तत्पर भयो। त्यतिबेला हाम्रा छोराछोरीहरू ५ देखि १३ वर्षको उमेरका थिए र हामी कसैलाई पनि स्पेनी भाषा आउँदैनथ्यो। निर्देशन दिइएअनुसार म विभिन्‍न देशहरूको जीवनस्तर बुझ्न पहिला म निकै ठाउँ गएँ। त्यहाँबाट फर्केपछि परिवारको रूपमा हामीले प्रार्थनापूर्वक आफ्ना विकल्पहरू विचार गऱ्‍यौं र निकारागुआ जाने निर्णय गऱ्‍यौं।

निकारागुआमा सेवा गर्दै

सन्‌ १९७० को अक्टोबरमा हामी आफ्नो नयाँ घरमा पुगिसकेका थियौं र तीन हप्तापछि नै मलाई मण्डलीको सभामा सानो भाग दिइयो। आफूलाई आएको सीमित स्पेनी भाषाको भरमा बल्लतल्ल भाषण दिएँ र अन्तमा सम्पूर्ण मण्डलीलाई शनिवार बिहान ९:३० बजे हाम्रो घरमा सर्भासा-को निम्ति निम्तो दिएँ। मैले खास भन्‍न खोजेको शब्द सर्भेसियो अर्थात्‌ क्षेत्र सेवकाई थियो तर मैले त सबैलाई बियरको निम्ति पो बोलाइरहेको थिएँ। भाषा सिक्नु निस्सन्देह एउटा चुनौती थियो!

सुरु सुरुमा म आफ्नो प्रस्तुति हातमा लेख्ने गर्थें र प्रचार गर्ने घरको ढोकामा नपुगुञ्जेल अभ्यास गर्थें। म यसो भन्‍ने गर्थें: “यो पुस्तकबाहेक तपाईंले निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न सक्नुहुन्छ।” मेरो प्रस्ताव स्वीकार्ने एक जना व्यक्‍तिले पछि मलाई भनेअनुसार तिनी वास्तवमा मैले भन्‍न खोजेको कुरा के रहेछ भनी बुझ्न पो सभामा आएका रहेछन्‌। जेहोस्‌, ती मानिस यहोवाको साक्षी भए। प्रेरित पावलले स्वीकारेझैं परमेश्‍वरले नै नम्रहरूको हृदयमा सत्यको बीउ हुर्कन दिनुहुन्छ भन्‍ने कुराको कस्तो राम्रो प्रमाण!—१ कोरिन्थी ३:७.

राजधानी मानागुआमा झन्डै दुई वर्ष बिताएपछि हामीलाई निकारागुआको दक्षिणी भागमा जान आग्रह गरियो। त्यहाँ हामीले रेभासस्थित मण्डली र नजिकैका जिज्ञासु व्यक्‍तिहरूको समूहसित काम गऱ्‍यौं। विश्‍वासी वृद्ध साक्षी पेड्रो पेना यी समूहहरूमा जाँदा मसँगै आउनुहुन्थ्यो। हामी जानुपर्ने ठाउँमध्ये एक, निकारागुआ तालको ज्वालामुखी टापु थियो र त्यहाँ यहोवाका साक्षीहरूको एउटा मात्र परिवार थियो।

आर्थिक अवस्था कमजोर भए तापनि त्यस परिवारले हाम्रो भ्रमणका लागि मूल्यांकन देखाउन निकै प्रयास गरे। हामी पुगेको साँझ खाना तयार थियो। हामी त्यहाँ एक हप्ता बस्यौं र बाइबललाई प्रेम गर्ने थुप्रै प्रिय मानिसहरूले हामीलाई खाना खुवाए। आइतबारको दिन सार्वजनिक बाइबल भाषणमा १०१ जना उपस्थित हुँदा हामी रोमाञ्चित भयौं।

यहोवाले हामीलाई सम्हाल्नसक्नुहुन्छ भन्‍ने कुराको अर्को प्रमाण पनि मैले अनुभव गरें। कोस्टा रिकाको सीमासँगैको पहाडमा हामी जिज्ञासु व्यक्‍तिहरूलाई भेट्‌न जानुपर्ने थियो। हामी त्यहाँ जानुपर्ने दिनमा पेड्रो मलाई लिन आउनुभयो तर म औलो लागेर ओछ्यानमा परेको थिएँ। त्यसैले मैले भने, “पेड्रो, म जान सक्‍तिनँ।” मेरो निधारमा हात राखेर उहाँले यस्तो जवाफ दिनुभयो: “तपाईंलाई धेरै ज्वरो आएको रहेछ तर तपाईं आउनैपर्छ! भाइहरू पर्खिरहेका छन्‌।” त्यसपछि उहाँले प्रार्थना गर्नुभयो। त्यस्तो हृदयस्पर्शी प्रार्थना मैले विरलै सुनेको हुँला।

पछि, मैले भने: “जानुहोस्‌, तपाईं आफ्नो लागि फ्रेस्को (सर्वत) लिएर आउनुहोस्‌। म दश मिनेटमा तयार हुन्छु।” हामी जाने ठाउँमा साक्षीहरूको दुई परिवार बस्थे र उहाँहरूले हाम्रो असाध्यै राम्रो देखभाल गर्नुभयो। ज्वरोको कारण म एकदमै कमजोर भए तापनि भोलिपल्ट म तिनीहरूसँग प्रचारमा गएँ। हाम्रो आइतबारको सभामा सय जनाभन्दा बढी उपस्थित भएको देख्न पाउनु साह्रै प्रोत्साहनको कुरा थियो!

फेरि बसाइँ सराइ

सन्‌ १९७५ मा हाम्रो सातौं बच्चा भोनको जन्म भयो। त्यसको अर्को वर्ष हामी आर्थिक कारणले गर्दा क्यानाडा फर्कनुपऱ्‍यो। निकारागुआ छोडेर जान सजिलो भएन किनभने यहाँ हामीले साँच्चै यहोवाको सम्हाल्ने शक्‍ति अनुभव गरेका थियौं। हामी त्यहाँबाट जाँदासम्ममा हाम्रो मण्डलीको इलाकामा ५०० भन्दा बढी उपस्थित हुन थालिसकेका थिए।

यसअघि म र हाम्री छोरी मिरियमलाई निकारागुआमा विशेष अग्रगामी नियुक्‍त गर्दा मिरियमले मलाई यसरी सोधेकी थिइन्‌: “बुबा, तपाईं पछि केही गरेर क्यानाडा फर्कनुपऱ्‍यो भने के तपाईं मलाई यहाँ बस्न दिनुहुन्छ?” मेरो फर्केर जाने कुनै मनसाय थिएन त्यसैले मैले भनें: “अवश्‍य!” त्यसैले हामी फर्कंदा मिरियम पूर्ण-समय सेवकको रूपमा त्यहीं बसिन्‌। पछि, तिनले एन्ड्रु रिडसँग विवाह गरिन्‌। तिनीहरू सन्‌ १९८४ मा न्यु योर्कको ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मिसनरी स्कूलको ७७ औं गिलियड कक्षामा गए। मिरियम अहिले उनको श्रीमान्‌सँग डोमिनिकन गणतन्त्रमा सेवा गर्दैछिन्‌ र यो, निकारागुआका उत्कृष्ट मिसनरीहरूले तिनमा विकास गरेको अग्रगामी भावको नतिजा हो।

त्यतिञ्जेल, “हामी सजिलै हार मान्दैनौं” भन्‍ने बुबाका शब्दहरू मेरो हृदयमा ताजै थियो। त्यसैले, सन्‌ १९८१ सम्ममा हामीले मध्य अमेरिकामा फेरि फर्कन पुग्दो पैसा जम्मा गरिसकेका थियौं। हामी यसपटक चाहिं कोस्टा रिका गयौं। त्यहाँ छँदा हामीलाई नयाँ शाखा कार्यालयको निर्माणमा सघाउन आमन्त्रित गरियो। तथापि, सन्‌ १९८५ मा हाम्रो छोरा ग्रान्टलाई स्वास्थ्योपचारको खाँचो भएकोले हामी क्यानाडा फर्क्यौं। ग्लेनचाहिं कोस्टा रिकामै शाखा कार्यालयको निर्माण कार्यलाई सघाउन बस्यो र ऐनेट अनि शार्मेनले चाहिं विशेष अग्रगामीको हैसियतमा सेवा गरे। हामी कोस्टा रिका फेरि फर्कन नपाइएला भन्‍ने कुराको त हामीले विचारसमेत गरेका थिएनौं।

कठिनाइको सामना गर्दै

सेप्टेम्बर १७, १९९३ को दिन एकदमै घमाइलो थियो। हाम्रो जेठो छोरा मार्क र म छतमा काम गर्दै थियौं। हामी सँगसँगै सधैंजसो आध्यात्मिक कुराहरूबारे कुरा गर्दै काम गरिरहेका थियौं। खै कसरी हो कुन्‍नि, मैले आफ्नो सन्तुलन गुमाएँ र छतबाट तल खसें। अनि होस खुल्दा मैले उज्यालो बत्ती र आफू वरपर सेतो लुगा लगाएका मानिसहरू पो देखें। म अस्पतालको आकस्मिक कक्षमा रहेछु।

बाइबलमा भनिएको कुराको कारण मेरो पहिलो प्रतिक्रिया थियो: “म रगत लिन्‍न, नाइँ रगत लिन्‍न!” (प्रेरित १५:२८, २९) शार्मेनले यसो भनेको सुन्दा मैले साह्रै ढुक्क महसुस गरें: “बुबा सबै ठीक छ। हामी सबै यहाँ छौं।” मैले पछि थाह पाएँ कि डाक्टरहरूले मेरो चिकित्सा निर्देशन पुर्जी हेरेछन्‌ र रगत विवादको विषय भएनछ। मेरो घाँटीको हड्डी भाँचिएकोले पूरै जीउ पक्षघात भएको थियो। म आफै साससमेत फेर्न नसक्ने भएछु।

चलहल गर्न नसक्ने भएकोले यहोवाद्वारा सम्हालिन झनै खाँचो पऱ्‍यो। सास फेर्ने ट्युब घुसाउँदा स्वर ग्रन्थीमा हावा जाने ठाउँ बन्द गरियो। त्यसैले, म बोल्न सक्दिनथें। मैले भन्‍न खोजेको कुरा बुझ्न मेरो ओठ पढ्‌नुपर्थ्यो।

खर्च आकाशिन थाल्यो। मेरी श्रीमती र छोराछोरी सबै पूर्ण-समय सेवकाईमा भएको कारण यी आर्थिक जिम्मेवारीहरू पूरा गर्न अग्रगामीको सेवा छोड्‌नुपर्ने हो कि भनेर मलाई चिन्ता लाग्न थाल्यो। तथापि, मार्कले एउटा काम पायो र तीन महिनाभित्र प्रायः खर्च बेहोर्न सम्भव भयो। फलस्वरूप, मेरी श्रीमती र मबाहेक सबै पूर्ण-समय सेवक नै भइरहनसके।

मेरो अस्पतालको कोठाको भित्ता छ विभिन्‍न देशबाट आएका सयौं कार्ड र चिठीहरूले भरिएको थियो। यहोवाले मलाई साँच्चै सम्हालिरहनुभएको थियो। म सघन उपचार कक्षमा साढे पाँच महिनाजति बस्नुपर्दा मेरो परिवारको निम्ति भोजनको प्रबन्ध मिलाएर मण्डलीले पनि मदत गऱ्‍यो। हरेक दिन मसीही प्राचीनहरूले दिउँसो बाइबल, बाइबल साहित्य पढ्‌नुका साथै प्रोत्साहनदायी अनुभवहरू बताएर मसँग समय बिताउँथे। परिवारका दुई सदस्यले मसँग हरेक सभाको निम्ति तयारी गर्थे र यसरी म अत्यावश्‍यक आध्यात्मिक भोजनबाट कहिल्यै वञ्चित हुनुपरेन।

म अस्पतालमै छँदा विशेष सम्मेलन दिनमा जाने प्रबन्ध मिलाइयो। अस्पतालका कर्मचारीहरूले नर्स र श्‍वासप्रश्‍वाससम्बन्धी प्राविधिकलाई दिनभरि मसँगै रहने प्रबन्ध मिलाए। मेरा मसीही भाइबहिनीहरूसँग फेरि संगत गर्न पाउनु एकदमै ठूलोआनन्दको कुरा थियो! मलाई अभिवादन गर्न सयौं लाइनमा बसिरहेको दृश्‍य म कहिल्यै बिर्सिन सक्दिनँ।

आध्यात्मिकता कायम राख्दै

दुर्घटना भएको झन्डै एक वर्षपछि म अस्पतालबाट मेरो परिवारसँगै घर फर्कें तर मलाई अझै २४ घण्टा नै देखभालको आवश्‍यकता थियो। विशेष प्रकारको भ्यानको मदतद्वारा म सभाहरूमा जानसक्छु र म प्रायजसो सबै सभामा उपस्थित हुन्छु। तर यसको लागि संकल्प चाहिन्छ भनेर मैले स्वीकार्नैपर्छ। घर फर्केदेखि मैले सबै जिल्ला अधिवेशनहरू धाउन सकेको छु।

फेब्रुअरी १९९७ मा म केही हदसम्म फेरि बोल्नसक्ने भएँ। मलाई हेर्न बसेका कोही कोही नर्स मैले भन्‍ने बाइबल आधारित आशाहरू मूल्यांकन गर्दै सुन्छन्‌। एक जना नर्सले जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम नामक सम्पूर्ण पुस्तकलगायत वाच टावरका अन्य प्रकाशनहरू मलाई पढेर सुनाइन्‌। लट्ठीको सहायताद्वारा कम्प्युटर चलाएर म मानिसहरूसँग पत्राचार गर्छु। यसरी टाइप गर्नु सजिलो त पक्कै छैन तर सेवकाईमा भाग लिन पाउनु इनामदायी छ।

मेरा नसाहरू अझै असाध्यै दुख्छन्‌। तर अरूसित बाइबल सत्य बाँड्‌दा वा अरू कसैले मलाई पढेर सुनाउँदा दुखाइ केही कम भएको महसुस गर्छु। कहिलेकाहीं म आफ्नी मदतगार श्रीमतीसँग सडक साक्षी कार्यमा भाग लिन्छु र मलाई मदत चाहिएको बेला मैले भन्‍न खोजेको कुरा उनी स्पष्ट पारिदिन्छन्‌। समय समयमा सहायक अग्रगामीको रूपमा पनि सेवा गर्न सकेको छु। मसीही प्राचीनको हैसियतमा सेवा गर्न पाउँदा आनन्द महसुस हुन्छ। विशेष गरी, सभामा भाइहरू मकहाँ आउँदा वा मलाई घरमा भेट्‌न आउँदा र उहाँहरूलाई मदत र प्रोत्साहन दिनसक्दा आनन्द महसुस हुन्छ।

निराश हुन सजिलो छ भनेर मैले स्वीकार्नुपर्छ। त्यसैले, निराश महसुस हुँदा म तुरुन्तै आनन्द महसुस गर्न सकूँ भनेर प्रार्थना गर्छु। यहोवाले मलाई सम्हालिराखून्‌ भनेर म दिनरात प्रार्थना गर्छु। चिठी पाउँदा वा कोही भेट्‌न आउँदा मलाई सधैं खुसी लाग्छ। प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिका पढ्‌दा पनि मेरो मन प्रोत्साहनदायी कुराहरूले भरिन्छ। विभिन्‍न नर्सहरूले कहिलेकाहीं मेरो निम्ति पत्रिकाहरू पढिदिन्छन्‌। मेरो दुर्घटना भएदेखि मैले बाइबलको श्रव्य क्यासेट सात चोटि पूरै सुनिसकें। यहोवाले मलाई सम्हाल्नुभएको विभिन्‍न तरिकाहरूमध्ये यी केही हुन्‌।—भजन ४१:३.

मेरो परिस्थितिमा आएको परिवर्तनले गर्दा हाम्रो महान्‌ निर्देशक यहोवाले जीवनको निम्ति कसरी शिक्षा दिनुहुन्छ भनेर मनन गर्न निकै समय पाएको छु। उहाँको इच्छा र उद्देश्‍यबारे सही ज्ञान, अर्थपूर्ण सेवकाई, आनन्दित परिवारको निम्ति सल्लाह र कठिनाइको बेला के गर्ने भन्‍ने समझ उहाँले हामीलाई दिनुहुन्छ। यहोवाले मलाई वफादार र राम्री पत्नी दिनुभएर आशिष्‌ दिनुभएको छ। मेरा छोराछोरीले पनि मलाई साथ दिएका छन्‌ र सबैभन्दा आनन्दको कुरा त, तिनीहरू सबैले पूर्ण-समय सेवकाईमा भाग लिएको देख्न पाउनु हो। अझ यही सन्‌ २००० मार्च ११ का दिन हाम्रो छोरा मार्क र तिनकी श्रीमती आलिसनले १०८ औं गिलियड कक्षाबाट स्नातक प्राप्त गरे र तिनीहरूलाई निकारागुआमा खटाइयो। मेरी श्रीमती र म तिनीहरूको दीक्षान्त कार्यक्रममा उपस्थित भएका थियौं। कठिनाइले मेरो जीवन परिवर्तन गरेको छ तर मेरो हृदय परिवर्तन गर्न सकेको छैन भनेर म साँच्चै भन्‍नसक्छु।—भजन १२७:३, ४.

आफूले प्राप्त गरेको आध्यात्मिक सम्पदा मेरो परिवारलाई सुम्पिन यहोवाले मलाई बुद्धि दिनुभएकोमा म कृतज्ञ छु। मेरा छोराछोरीले मेरो बुबाको जस्तै मनोवृत्तिसहित आफ्नो सृष्टिकर्ताको सेवा गरिरहेको देख्दा म बल र प्रोत्साहान प्राप्त गर्छु। “हामी कहाँ सजिलै हार मान्छौं र। यो प्रचार गर्ने आज्ञा हामीलाई यहोवाले दिनुभएको हो।” निस्सन्देह, यहोवाले म र मेरो पूरै परिवारलाई अहिलेसम्म सम्हाल्नुभएको छ।

[पृष्ठ २४-मा भएको चित्र]

मेरो बुबा, दाइ, दिदीसँग अग्रगामीको काम गर्दा चलाइएको हाम्रो यताउता गुडाएर लग्न मिल्ने घर अगाडि। म सबैभन्दा दायाँमा छु

[पृष्ठ २६-मा भएको चित्र]

मेरी श्रीमती मर्नासँग

[पृष्ठ २६-मा भएको चित्र]

हाम्रो परिवारको हालै खिचिएको तस्बिर

[पृष्ठ २७-मा भएको चित्र]

म चिठीपत्र लेखेर अझै साक्षी दिने गर्छु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने