प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ४/१५ पृ. ३०-३१
  • एकअर्काको ख्याल राख्ने विश्‍वव्यापी समाज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्काको ख्याल राख्ने विश्‍वव्यापी समाज
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • खाँचोमा परेकाहरूलाई भाइहरू मदत गर्छन्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ४/१५ पृ. ३०-३१

एकअर्काको ख्याल राख्ने विश्‍वव्यापी समाज

आँखाले भ्याउञ्जेल जताततै मानिसै मानिस देखिन्छन्‌। तीमध्ये थुप्रै वृद्ध छन्‌ र कसै कसैलाई त अपांग भएकोले हिंड्‌न पनि गाह्रो छ। दुई जीउका भएकाले हिंड्‌न अप्ठ्यारो भएका आइमाईहरू र लहरै स-साना भान्टाङभुन्टुङ लिएर हिंडेका जवान दम्पतीहरू पनि छन्‌। यी पुरुष, स्त्री र बालबच्चाहरू शरणार्थीहरू हुन्‌, जो गृहयुद्ध, प्राकृतिक प्रकोप वा अन्य कारणहरूले गर्दा आफ्नो घरबार छोडेर छिमेकी मुलुकमा जान बाध्य भए। कसै कसैले त जबरजस्ती बारम्बार आफ्नो घरबार छोड्‌नु परेको छ। देशमा अस्थिरता छाउन लागेको वा प्राकृतिक प्रकोप पर्न लागेको छनक पाउने बित्तिकै यिनीहरू केही मालताल गुटमुटाउँछन्‌, छोराछोरीलाई जम्मा गर्छन्‌ र सुरक्षित स्थानतर्फ दौडन्छन्‌। त्यसपछि, अवस्था अलि सुध्रेपछि धेरैजसो शरणार्थीहरू घर फर्कन्छन्‌ र फेरि आफ्नो घर बनाएर नयाँ जीवन सुरु गर्छन्‌।

मध्य अफ्रिकी गणतन्त्रले थुप्रै मुलुकका शरणार्थीहरूका लागि आफ्नो देशको ढोका खोलिदिएको वर्षौं भइसक्यो। हालै, यहोवाका साक्षीहरूलगायत हजारौं मानिसहरू प्रजातान्त्रिक गणतन्त्र कंगोको युद्धग्रस्त इलाका छोडेर तुलनात्मक हिसाबले अलि सुरक्षित, मध्य अफ्रिकी गणतन्त्रतर्फ भाग्नुपऱ्‍यो।

खाँचोमा परेकाहरूलाई भाइहरू मदत गर्छन्‌

मध्य अफ्रिकी गणतन्त्रका यहोवाका साक्षीहरू सघाउन सकेकोमा खुसी छन्‌ र यसलाई सुअवसर ठान्छन्‌। त्यहाँ आइपुगेका भाइहरूका लागि आवासको प्रबन्ध मिलाइयो। सुरुमा त निजी घरहरूमा बस्ने प्रबन्ध मिलाइएको थियो तर शरणार्थीहरूको संख्या बढ्‌न थालेपछि थप प्रबन्धहरू मिलाउनु परेको प्रस्टै देखियो। केही राज्यभवनहरूलाई धेरै जना सुत्न मिल्ने कोठा बनाइयो। त्यहाँ बस्नेहरूलाई सुविधा होस्‌ भनेर स्थानीय साक्षीहरूले राजीखुसीसाथ थप बत्ती जडान गरे, पानीका पाइपहरू ल्याए अनि भुइँ प्लास्टर गरे। यी अस्थायी आवासगृह स्थापित गर्न शरणार्थीहरूले स्थानीय भाइहरूसित मिलेर काम गरे। शरणार्थीहरूले जीवनरक्षक आध्यात्मिक भोजन प्राप्त गरिरहन सकून्‌ भनेर लिंगाला भाषामा सम्पूर्ण सभाहरूको प्रबन्ध पनि मिलाइयो। स्थानीय साक्षीहरू र आगन्तुकहरूबीचको आपसी सहयोगले अन्तरराष्ट्रिय भ्रातृत्व वास्तविक रहेछ भनेर देखायो।

अक्सर शरणार्थी परिवार सबै एकसाथ आइपुग्दैनन्‌। कहिलेकाहीं गन्तव्य स्थानमा पुगिसकेपछि मात्र छुट्टिएका परिवारहरूको पुनर्मिलन हुन्थ्यो। गन्तव्य स्थानसम्म सुरक्षित आइपुगेकाहरूको नामावली प्रत्येक राज्यभवनमा राखिएको हुन्थ्यो। हराइरहेकाहरूलाई खोज्ने प्रबन्ध पनि मिलाइन्थ्यो। यस मुलुकमा यहोवाका साक्षीहरूको काम हेर्ने शाखा कार्यालयले बाटोमा आइरहेका साक्षीहरूको मदतका लागि अनि हराएकाहरूलाई खोज्न हरेक दिन तीनवटा गाडी पठाउने गरेको थियो। यी गाडीहरूमा ठूलठूलो अक्षरमा “वाच टावर—यहोवाका साक्षीहरू” भनेर लेखिएको हुन्थ्यो।

बाटोमा आमाबाबुसित छुट्टिएका सात जना शरणार्थी केटाकेटीहरूले यहोवाका साक्षीहरूको यो भ्यान देख्दा कत्ति रमाए होलान्‌, कल्पना गर्नुहोस्‌ त। तिनीहरू तुरुन्तै दगुरेर भ्यानछेउ आइपुगे र आफूहरू साक्षी भएको कुरा बताए। भाइहरूले तिनीहरूलाई भ्यानमा राखेर राज्यभवनमा पुऱ्‍याइदिए। त्यहाँ तिनीहरूले आ-आफ्नो परिवारलाई भेटे।

यी निष्कपट मसीहीहरूलाई केले एक पटक मात्र होइन तर बारम्बार यस्ता परिस्थितिहरूको सामना गर्न मदत गऱ्‍यो? हामी आखिरी दिनमा बाँचिरहेका छौं भनेर पवित्र धर्मशास्त्रमा अगमवाणी गरिएको कुरामा तिनीहरू पूर्णतया विश्‍वास गर्छन्‌।—२ तिमोथी ३:१-५; प्रकाश ६:३-८.

अतः यहोवा परमेश्‍वरले चाँडै युद्ध, घृणा, हिंसा र मारकाटको अन्त गर्नुहुनेछ भनेर तिनीहरूलाई थाह छ। शरणार्थी समस्या विगतको कुरा हुनेछ। त्यतिञ्जेल, १ कोरिन्थी १२:१४-२६ मा पावलले दिएको सल्लाह पालन गर्दै यहोवाका साक्षीहरू एकअर्काको ख्याल राख्ने अथक प्रयास गर्छन्‌। नदीनाला, सीमाना, भाषा र दूरीले अलग्याए तापनि तिनीहरू एकअर्कामा चासो राख्छन्‌। त्यसैले त, कसैलाई आपत्‌ पर्ने बित्तिकै सघाउन अघि सरिहाल्छन्‌।—याकूब १:२२-२७.

[पृष्ठ ३०-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अफ्रिका

मध्य अफ्रिकी गणतन्त्र

प्रजातान्त्रिक गणतन्त्र कंगो

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ ३०-मा भएका चित्रहरू]

तीनवटा राज्यभवनलाई अतिथि सत्कार शिविरमा परिणत गरियो

[पृष्ठ ३१-मा भएको चित्र]

भान्छाकोठामा चाहिने सरसामानहरू तुरुन्तै जोरजाम गरियो

[पृष्ठ ३१-मा भएको चित्र]

शरणार्थीहरू धमाधम आइपुगे

[पृष्ठ ३१-मा भएका चित्रहरू]

जन्मेका मात्र के थिए, शरणार्थी भइसकेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने