हास्मोनी र तिनीहरूले छाडेको पैतृक सम्पत्ति
येशू यस पृथ्वीमा हुनुहुँदा यहूदी धर्म, गुटहरूमा विभाजित थियो र प्रत्येक गुट जनतामाथि आफ्नो प्रभाव जमाउन तँछाडमछाड गरिरहेका थिए। सुसमाचारका पुस्तकहरूलगायत प्रथम शताब्दीका इतिहासकार जोसेफसका लेखोटहरूमा यस्तो अवस्था चित्रण गरिएको छ।
यस्तो वातावरणमा फरिसी र सदुकीहरू निकै शक्तिशाली देखिन्छन्। यहाँसम्म कि तिनीहरू येशूलाई मसीहको रूपमा स्वीकार्नदेखि इन्कार गर्न जनतालाई मनाउन सफल भएका थिए। (मत्ती १५:१, २; १६:१; यूहन्ना ११:४७, ४८; १२:४२, ४३) तथापि, हिब्रू धर्मशास्त्रमा यी दुई शक्तिशाली समूहबारे कतै पनि उल्लेख गरिएको छैन।
सा.यु.पू. दोस्रो शताब्दीतिरका घटनाबारे चर्चा गर्दा मात्र जोसेफसले सदुकी र फरिसीहरूबारे पहिलो चोटि उल्लेख गरे। त्यतिखेर थुप्रै यहूदी युनानीवाद अर्थात् युनानी संस्कृति र दर्शनको प्रभावमा परेका थिए। सेल्युकाली शासकहरूले यरूशलेमको मन्दिर जुपिटरलाई समर्पण गरेर बिटुलो पार्दा युनानीवाद र यहूदीमतबीचको द्वन्द्व चर्किएको थियो। हास्मोनी परिवारका शक्तिशाली यहूदी नेता जूडा मक्काबीले आफ्नो विद्रोही सैन्यदलद्वारा मन्दिरलाई युनानीहरूको हातबाट छुटाएका थिए।a
मक्काबीहरूको विद्रोह र विजयको केही वर्षपछि नै बढ्दो यहूदी समाजमा आ-आफ्नो प्रभाव जमाउन राजनैतिक विचारधाराहरूमा आधारित गुटहरू धमाधम बनाउने परम्परा सुरु हुन थाल्यो। तर यस्तो विचाराधारा किन फस्टायो? किन यहूदीधर्म यसरी विभाजित भयो? यसको जवाफका लागि आउनुहोस्, हास्मोनीहरूको इतिहासलाई केलाएर हेरौं।
बढ्दो स्वतन्त्रता र फूट
मन्दिरमा यहोवाको उपासनालाई पुनस्थापित गर्ने आफ्नो धार्मिक लक्ष्य प्राप्त गरिसकेपछि जूडा मक्काबी राजनीतितर्फ लागे। फलतः थुप्रै यहूदी तिनको पछि लाग्न छोडे। तैपनि तिनी सेल्युकाली शासक विरुद्ध लडिरहे, रोमसित सम्झौता गरे र स्वतन्त्र यहूदी राष्ट्र निर्माण गर्ने कोसिस गरे। युद्धमा जूडाको मृत्यु भएपछि तिनका भाइहरू जोनाथन र सिमोनले यो अभियान जारी राखे। सेल्युकाली शासकहरूले सुरुमा त मक्काबीहरूको घोर विरोध गरे। तर समयमा यी शासकहरू राजनैतिक सम्झौता गर्न तयार भए र यी हास्मोनी दाजुभाइलाई केही हद आफैले सत्ता सम्हाल्ने अनुमति दिए।
पूजाहारी वंशको भए तापनि कुनै पनि हास्मोनीले प्रधान पूजाहारीको रूपमा सेवा गरिसकेको थिएन। यो पदमा सुलेमानले प्रधान पूजाहारी नियुक्त गरेका सादोक कुलका व्यक्ति नै नियुक्त हुनुपर्छ भन्ने धारणा थुप्रै यहूदीको थियो। (१ राजा २:३५; इजकिएल ४३:१९) सेल्युकालीहरूले आफूलाई प्रधान पूजाहारी नियुक्त गरिदेऊन् भनेर जोनाथनले लडाइ र कुटनीतिको सहारा लिए। तर जोनाथनको मृत्युपछि तिनका दाजु सिमोनले तिनले भन्दा धेरै उपलब्धि हासिल गरे। सेप्टेम्बर सा.यु.पू. १४० मा युनानी ढंगमा लिखित ताम्रपत्रद्वारा यरूशलेममा महत्त्वपूर्ण आज्ञाप्ति जारी गरियो: “राजा दिमित्रियसद्वारा [युनानी सेल्युकाली शासक] तिनी [शिमोन] प्रधान पूजाहारी नियुक्त गरिए, मित्रहरूमध्ये एक पारिए र तिनलाई उच्च सम्मान दिइयो। . . . अर्को विश्वासी अगमवक्ता खडा नभएसम्म शिमोनलाई आफ्नो शासक र प्रधान पूजाहारीको रूपमा स्वीकार्नुपर्छ भनेर यहूदीहरू र तिनीहरूका पूजाहारीहरूले निधो गरे।”—१ मक्काबी १४:३८-४१ (एपोक्राइफामा पाइएको एक ऐतिहासिक किताब)।
शिमोन र तिनका वंशलाई शासक अनि प्रधान पूजाहारी पदमा नियुक्त गर्न विदेशी सेल्युकाली अख्तियार मात्र होइनन् तर तिनका आफ्नै जनताको “ठूलो समुदाय” पनि राजी थियो। यसले ठूलो परिवर्तन ल्यायो। इतिहासकार एमेल सुरर्रका अनुसार हास्मोनीहरूले राजनैतिक राजवंश स्थापित गरिसकेपछि “तिनीहरूको मुख्य चासो तोरहअनुसार [यहूदी व्यवस्था] चल्नु हैन कि आफ्नो राजनैतिक शक्ति कसरी जोगाउने र विस्तार गर्ने, त्यो रह्यो।” तथापि, यहूदी भावनालाई चोट नपुऱ्याउन शिमोनले “राजा” पदवीको साटो “जनताको नेता” भन्ने पदवी प्रयोग गरे।
हास्मोनीहरूले यसरी धार्मिक अनि राजनैतिक शक्ति हत्याएको कसैकसैलाई मन परेन। थुप्रै शास्त्रज्ञअनुसार यतिखेरैतिर कुमरान समूह गठन भएको थियो। सादोक कुलका पूजाहारी, जो कुमरान लेखोटहरूमा संकेत गरिएको “धार्मिकताका शिक्षक” हुन् भनेर विश्वास पनि गरिन्छ, तिनले यरूशलेम छोडेर विद्रोही समूहलाई मृत सागर नजिकै यहूदी मरुभूमिमा लगे। मृत सागरका पाण्डुलिपिहरूमध्ये एउटा, हबकूकको पुस्तकको टिपप्णीले “सुरुमा सत्य भनेर कहलाइने एक दुष्ट पूजाहारी इस्राएलमा शासन गर्दा तिनको हृदय हठी भयो” भनेर भर्त्सना गरेको छ। यस गुटले “दुष्ट पूजाहारी” भनेर वर्णन गरेको शासनारूढ राजाको वर्णन जोनाथन वा शिमोनसित मिल्छ भनेर थुप्रै शास्त्रज्ञ विश्वास गर्छन्।
शिमोनले सैन्य बल प्रयोग गरेर आफ्नो अधीनमा भएको इलाका विस्तार गरिरहे। तथापि, जेरिको नजिक भोज खाइरहेको बेला तिनकै छोरीज्वाइँ टालमीले दुई छोराहरूसमेत शिमोनको हत्या गर्दा तिनको शासनकाल अचानक अन्त भयो। तर यसरी शासन हत्याउने प्रयास विफल भयो। शिमोनका जीवित छोरा जोन हिर्केनसलाई तिनको ज्यान खतरामा छ भनेर होसियार गराइसकिएको थियो। तिनले आफ्ना सम्भाव्य हत्यारा पक्रे र आफ्नो बुबाको ठाउँमा नेतृत्व लिए, सिंहासन ग्रहण गरे।
थप वृद्धि र दबाउ
सुरुमा त जोन हिर्केनसलाई अरामी शक्तिको अत्यन्तै खतरा थियो। तर पछि सा.यु.पू. १२९ मा सेल्युकाली वंशले पार्थीहरूसितको निर्णायक युद्ध हारे। सेल्युकालीहरूमाथि यस युद्धले पारेको प्रभावबारे बताउँदै यहूदी शास्त्रज्ञ मेनखेम स्टर्नले यस्तो लेखे: “सम्पूर्ण राज्य नै धराशायी भयो।” यसरी हिर्केनसले “यहूदाको राजनैतिक स्वतन्त्रता पूर्णतया हासिल गर्न र विभिन्न दिशाहरूमा आफ्नो इलाका विस्तृत गर्न सके।” अनि तिनले साँच्चै नै आफ्नो राज्य विस्तार गरे।
अरामीहरूको खतरा टलेपछि हिर्केनसले यहूदाबाहिरका इलाकाहरूमा पनि चढाइ गर्न थाले र तिनीहरूलाई आफ्नो वशमा लिए। त्यहाँका बासिन्दाहरूले यहूदी धर्म मान्नुपर्थ्यो अन्यथा सम्पूर्ण शहर विध्वंस पारिने थियो। यस्तै एउटा अभियान इदुमिएन्स विरुद्ध (एदोमीहरू) थियो। यससम्बन्धमा टिप्पणी गर्दै स्टर्नले उल्लेख गरे: “इदुमिएन्सको धर्म परिवर्तनजस्तो किसिमको परिवर्तन पहिले कहिल्यै भएको थिएन। किनकि यो एक दुई जनाको नभई सम्पूर्ण जातिकै धर्म परिवर्तन थियो।” जितिएका अन्य इलाकाहरूमा सामरिया पनि थियो र त्यहाँ गिरिज्जिम पर्वतमा रहेको समारीहरूको मन्दिरलाई हिर्केनसले ध्वस्त पारिदिएका थिए। हास्मोनी वंशले जबरजस्ती गरेको यो धर्म परिवर्तन कत्तिको हास्यास्पद थियो, त्यसबारे उल्लेख गर्दै सलमन ग्रेजेलले यसो लेखे: “मथायसका नातिले [जूडा मक्काबीका बुबा] आफ्नै पुर्खाले निकै जतन गरेर राखेको सिद्धान्त अर्थात् धार्मिक स्वतन्त्रताको उल्लंघन गरे।”
फरिसी र सदुकीहरू देखा पर्छन्
हिर्केनसको शासनबारे लेख्दा जोसेफसले पहिलो पल्ट फरिसी र सदुकीहरूको बढ्दो प्रभावबारे उल्लेख गरेका थिए। (जोसेफसले जोनाथनको शासनकालका फरिसीहरूबारे उल्लेख गरेका थिए।) तिनले यिनीहरूको सुरुआतबारे बताएका छैनन्। केही शास्त्रज्ञ यी फरिसीहरू हासिडीवादीहरूबाट छुटिएकाहरू हुन भन्छन्। हासिडीवादीहरू पहिले जूडा मक्काबीलाई आफ्नो धार्मिक लक्ष्य प्राप्त गर्न सघाउने तर पछि तिनले राजनैतिक शक्ति हत्याउन थालेपछि तिनलाई छोड्ने धर्मनिष्ठ गुट थिए।
फरिसी नाउँ अक्सर “छुट्याइएका जनहरू” अर्थ बुझाउने हिब्रू शब्दसित सम्बन्धित भए तापनि कसैकसैले यो शब्द “दोभासेहरू[सित]” सम्बन्धित छ भन्छन्। फरिसीहरू सर्वसाधारणबाटकै शास्त्रविद्हरू हुन्। यिनीहरू विशेष वंशका होइनन्। यिनीहरू विशेष भक्तिको दर्शनअनुसार चल्थे र त्यही दर्शनअनुरूप आफैलाई धार्मिक अशुद्धिबाट अलग पारे। र दैनिक जीवनका साधारण कामकुरामा समेत मन्दिरमा पूजाहारीले पवित्र रहन पालन गर्नुपर्ने व्यवस्था प्रयोग गरे। फरिसीहरूले धर्मशास्त्रको अर्थ खोल्ने नयाँ तरिका विकास गरे। अनि यो पछि गएर मौखिक नियमको रूपमा चिनिन थालियो। शिमोनको शासनकालमा फरिसीहरूमध्ये केही येरसीआमा (वृद्धपुरुषहरूको परिषद्मा) नियुक्त हुँदा यिनीहरूको निकै प्रभाव रह्यो। यही येरसीआ पछि सभाघरको रूपमा चिनिन थालियो।
जोन हिर्केनस पहिले फरिसीहरूका विद्यार्थी थिए र पछि समर्थक भए भनी जोसेफस उल्लेख गर्छन्। तथापि, परिस्थिति बदलिंदै जाँदा हिर्केनसले प्रधान पूजाहारी पद नत्यागेकाले फरिसीहरूले तिनलाई ताडना दिए। फलतः उल्लेखनीय परिवर्तन भयो। हिर्केनसले फरिसीहरूको धर्ममाथि प्रतिबन्ध लगायो। यसबाहेक, अझ दण्ड दिन तिनी फरिसीहरूको धार्मिक प्रतिद्वन्द्वी सदुकीहरूसित मिल्न गयो।
सदुकी नाउँ प्रधान पूजाहारी सादोकसित सम्बन्धित छ र यिनको शाखासन्तानले सुलेमानको समयदेखि पूजाहारी पद सँभाल्दै आएका थिए। तर सबै सदुकीहरू सादोक वंशका थिएनन्। जोसेफसका अनुसार सदुकीहरू कुलीन घरानाका र धनी थिए तर तिनीहरूसित जनताको समर्थन थिएन। प्राध्यापक शिफ्म्यान टिप्पणी गर्छन्: “यिनीहरूमध्ये प्रायजसो . . . पूजाहारी थिए होलान् वा प्रधान पूजाहारीको परिवारसित वैवाहिक बन्धनमा बाँधिनेहरू थिए होलान्।” यसरी निकै समयदेखि शक्तिशाली व्यक्तिहरूसित यिनीहरूको सम्बन्ध थियो। त्यसकारण, सर्वसाधारणको जीवनमा फरिसीहरूको बढ्दो भूमिका र पूजाहारीको जस्तो पवित्रतालाई सर्वसाधारणसम्म विस्तार गर्ने फरिसीहरूको विचार सदुकीहरूले पहिलेदेखि पाइरहेको शक्तिको निम्ति खतराको रूपमा लिइएको थियो। तर, हिर्केनसको शासनकालको अन्तिम वर्षहरूमा सदुकीहरूले फेरि शक्ति हासिल गर्न पाए।
राजनीति बढी तर धार्मिक भक्ति कम
हिर्केनसका जेठा छोरा अरिस्टोबुलसले एक वर्ष मात्र राज्य गर्न पाए। किनकि तिनको मृत्यु भयो। तिनले इटुरियनहरूलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाउने नीतिलाई कायमै राखे र माथिल्लो गालीललाई पनि हास्मोनीहरूको वशमा पारे। तर सा.यु.पू. १०३ देखि ७६ सम्म शासन गर्ने तिनका भाइ, आलेक्सजेन्डर जन्नेसको शासनकालमा हास्मोनीहरू शक्तिको चुलीमा पुगे।
आलेक्सजेन्डर जन्नेसले पहिलेका सम्पूर्ण नीतिलाई इन्कार गरे र आफैलाई प्रधान पूजाहारी र राजा घोषित गरे। हास्मोनी र फरिसीहरूबीचको द्वन्द्व चर्कियो र गृहयुद्ध नै भयो, जसमा ५०,००० यहूदीहरू मरे। यो विद्रोहलाई दमन गरेपछि मूर्तिपूजक राजाहरूले गरेझैं जन्नेसले ८०० विद्रोहीहरूलाई झुन्ड्याए। मर्नेबेला यिनीहरूका स्वास्नी र छोराछोरी यिनीहरूकै सामुन्ने काटिए भने, जन्नेसले आफ्ना रखौटीहरूसँग खुलेआम भोज मनाए।b
फरिसीहरूप्रतिको दुस्मनीको बावजूद जन्नेस व्यावहारिक राजनीतिज्ञ थिए। फरिसीहरूले जनमानसको समर्थन पाएको तिनले याद गरिरहेका थिए। मृत्युशैयामा तिनले आफ्नी पत्नी, शालोम आलेक्सजान्ड्रालाई फरिसीहरूसित मिलेर शासन गर्ने निर्देशन दिए। जन्नेसले आफ्नो राज्यको उत्तराधिकारीको रूपमा छोराहरूलाई नभई स्वास्नीलाई छाने। उनी कुशल शासक साबित भइन् र तिनको शासन (सा.यु.पू. ७६-६७) हास्मोनी शासनकालभरि सबैभन्दा शान्तपूर्णहरू शासनहरूमध्ये एक थियो। फरिसीहरूले फेरि आफ्नो अख्तियार पाए र तिनीहरूको धार्मिक विधिविरुद्धको व्यवस्था खारेज गरियो।
शालोमीको मृत्युपछि प्रधान पूजाहारी अनि तिनका छोरा हिर्केनस द्वितीय र अर्का छोरा अरिस्टोबुलस द्वितीयबीच शक्तिका लागि हानथाप भयो। यिनीहरू दुवैसित पुर्खाको जस्तो राजनैतिक तथा सैन्य दूरदर्शिता थिएन। यिनीहरू दुवैले सेल्युकाली राज्यको पतन भएपछि रोमीहरूको बढ्दो उपस्थितिलाई पनि बुझेनन् जस्तो देखिन्छ। सा.यु.पू. ६३ मा दुवै दाजुभाइले त्यतिखेर दमीशकमा आएका रोमी शासक पोम्पेलाई तिनीहरूबीचको द्वन्द्वको मध्यस्थकर्ता भइदिन आग्रह गरे। त्यही वर्ष पोम्पे र तिनको सैन्यदलले यरूशलेममा हमला गरे र सत्ता हातमा लिए। यो हास्मोनीहरूको शासनको अन्तको सुरुआत थियो। सा.यु.पू. ३७ मा यरूशलेमलाई इदुमिएन राजा महान् हेरोदले कब्जा गरे र यिनलाई रोमी संसदले “यहूदाको राजा,” “रोमी जनताको सहायक र मित्र” भनेर अनुमोदन दिए। हास्मोनी राज्यको अस्तित्व मेटियो।
हास्मोनीहरूले छाडेको पैतृक सम्पत्ति
जूडा मक्काबीदेखि अरिस्टोबुलस द्वितीयको समयसम्म चलेको हास्मोनी शासनकालमा विभाजित धार्मिक गुटको जग बसालियो र यी गुटहरू येशू यस पृथ्वीमा हुनुहुँदा पनि अस्तित्वमा थिए। परमेश्वरको उपासना गर्ने जोससहित हास्मोनीहरूको सुरुआत भएको थियो तर पछि आफ्नै स्वार्थलाई ध्यान दिंदै दुर्व्यवहार गरे। परमेश्वरको व्यवस्थाअनुसार चल्न मानिसहरूलाई एकतामा राख्ने मौका पाउने तिनीहरूका पूजाहारीहरूले राष्ट्रलाई राजनैतिक युद्धतिर धकेल्यो। फलतः विभाजित धार्मिक दृष्टिकोणहरूले फस्टाउने वातावरण पायो। हास्मोनीहरूको अस्तित्व मेटियो तर सदुकी, फरिसी र अरूबीच धार्मिक सत्ताको निम्ति भएको द्वन्द्व हेरोद र रोमसम्म रह्यो।
[फुटनोटहरू]
a नोभेम्बर १५, १९९८-को प्रहरीधरहरा-मा “मक्काबीहरू को थिए?” लेख हेर्नुहोस्।
b मृत सागरमा पाइएका पाण्डुलिपि, “नहूमको टिप्पणी[मा]” “क्रोधित सिंह[ले]” “मानिसहरूलाई जिउँदै झुन्डाए” भनी उल्लेख गरेको छ र यसले माथि उल्लिखित घटनालाई संकेत गरेको हुन सक्छ।
[पृष्ठ ३०-मा भएको चार्ट]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
हास्मोनी राजवंश
जूडा मक्काबी जोनाथन मक्काबी शिमोन मक्काबी
↓
जोन हिर्केनस
↓ ↓
शालोमी आलेक्सजान्ड्रा–विवाहित–आलेक्सजेन्डर जन्नेस अरिस्टोबुलस
↓ ↓
हिर्केनस द्वितीय अरिस्टोबुलस द्वितीय
[पृष्ठ २७-मा भएको चित्र]
जूडा मक्काबीले यहूदीहरूलाई स्वतन्त्र पार्न खोजे
[स्रोत]
The Doré Bible Illustrations/Dover Publications, Inc.
[पृष्ठ २९-मा भएको चित्र]
हास्मोनीहरूले गैरयहूदी शहरहरूलाई आफ्नो कब्जामा लिन युद्ध गरे
[स्रोत]
The Doré Bible Illustrations/Dover Publications, Inc.