क्लोभिसको बप्तिस्मा फ्रान्समा क्याथोलिकवादको १,५०० वर्ष
“पोपको नाउँमा, बुम्म” सेप्टेम्बर १९९६ मा पोप जोन पल द्वितीयले भ्रमण गर्ने एउटा फ्रान्सेली चर्चमा उक्त सन्देश लेखिएको एउटा कच्चा बम भेटिएको थियो। फ्रान्समा पोपको पाँचौं भ्रमणको दौडान देखिएको घोर विरोधको यो एउटा उदाहरण थियो। तैपनि, फ्रांकेली राजा क्लोभिसले क्याथोलिक धर्म अंगीकार गरेको १,५०० औं वार्षिकी समारोह पोपसित मनाउन लगभग २,००,००० मानिसहरू फ्रान्सको रेम्स शहरमा भेला भए। यो राजा को थिए, जसको बप्तिस्मालाई फ्रान्सको बप्तिस्मा भनिन्छ? अनि यस समारोहलाई लिएर किन यतिबिघ्न विवाद खडा भएको?
खस्कँदै गएको साम्राज्य
क्लोभिसको जन्म सा.यु. ४६६ तिर भएको थियो र तिनी सालियन फ्रांकका राजा, चिल्ड्रिक प्रथमका छोरा थिए। सा.यु. ३५८ मा रोमीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारेपछि यी जर्मन कुललाई हालको बेल्जियममा एउटा सर्तमा बसोबास गर्ने अनुमति दिइयो। त्यो सर्त, तिनीहरूले सीमामा सुरक्षा तथा रोमी सेनाको लागि सिपाहीहरू उपलब्ध गर्नुपर्ने थियो। यसले गर्दा स्थानीय फ्रान्सेली-रोमी जनसमुदायसितको साँठगाँठले गर्दा यी फ्रांकहरू बिस्तारै रोमीहरूले भनेअनुसारै चल्न थाले। चिल्ड्रिक प्रथम रोमीहरूका समर्थक भएको कारण तिनले भिसिगोथ र साक्सनजस्ता जर्मनी कुलहरू विरुद्ध युद्ध गरे। यसले गर्दा तिनले फ्रान्सेली-रोमी समुदायको प्रशंसा पाए।
गलको रोमी प्रान्त, उत्तरको राइन नदीदेखि दक्षिणमा पाइरीनिजसम्म फैलिएको थियो। तथापि, सा.यु. ४५४ मा रोमी सेनापति आशस्को मृत्युपछि शासन गर्ने कोही भएन। त्यति मात्र होइन, सा.यु. ४७६ मा रोमका अन्तिम सम्राट् रोम्युलस अगस्तलसको पतन र रोमी साम्राज्यको पश्चिमी भागको अन्तपछि त्यहाँ निकै राजनैतिक अस्थिरता छायो। फलस्वरूप, गलको अवस्था सीमा इलाकामा बसोबास गरिरहेका कुलहरूमध्ये कुनै एकले टिप्न मात्र बाँकी पाकेको फलजस्तै भयो। त्यसकारण, क्लोभिसले आफ्नो बुबाको उत्तराधिकारी भएपछि राज्य विस्तार गर्न खोज्नु कुनै अनौठो कुरा होइन। सा.यु. ४८६ मा तिनले गलमा रोमका अन्तिम प्रतिनिधिलाई स्वासन शहरमा परास्त गरे। यस विजयपछि तिनले उत्तरको सोम नदी र मध्य तथा पश्चिमी गलको लोवार नदीसम्म कब्जा जमाए।
भावी राजा हुने व्यक्ति
अन्य जर्मन कुलहरू जस्तो नभई फ्रांकहरू गैरमसीही थिए। तथापि, क्लोभिसले बर्गन्डीकी राजकुमारी क्लोटिल्डासित विवाह गरेपछि तिनको जीवनमा ठूलो प्रभाव पाऱ्यो। क्लोटिल्डा जोसिलो क्याथोलिक भएकीले आफ्नो पतिको धर्म परिवर्तन गराउन तिनले अथक प्रयास गरिन्। टुअर्सका ग्रेगरीले सा.यु. छैठौं शताब्दीमा लेखेको इतिहासअनुसार सा.यु. ४९६ मा एलेमेनी कुल विरुद्ध टोल्बेकको युद्धमा (जुल्पिक, जर्मनी) क्लोटिल्डाको ईश्वरले विजय प्रदान गरेको खण्डमा आफूले गैरमसीही धर्म त्याग्ने प्रतिज्ञा क्लोभिसले गरे। क्लोभिसको सेना हार्नै लागेको थियो तर एलेमेनी राजाको मृत्यु भयो र तिनको सेनाले आत्मसमर्पण गरे। जहाँसम्म क्लोभिसको कुरा थियो, क्लोटिल्डाको ईश्वरले नै तिनलाई विजयी तुल्याएका थिए। त्यसपछि परम्पराअनुसारै सा.यु. ४९६ डिसेम्बर २५ का दिन क्लोभिसलाई रेम्सको गिर्जाघरमा “सन्त” रेमिजियसले बप्तिस्मा दिए। तथापि, कसै-कसैको विचारमा उक्त मितिभन्दा अलिपछि सा.यु. ४९८/९ तिर उक्त घटना भएको हुन सक्छ।
बर्गन्डीको राज्यलाई दक्षिणपश्चिमसम्म फैलाउने क्लोभिसको प्रयास विफल भयो। तर भिसिगोथहरू विरुद्धको अभियानमा भने तिनले सफलता हासिल गरे जब सा.यु. ५०७ मा तिनले प्वाट्या नजिकै भुयेमा उनीहरूलाई हराए र फलतः दक्षिणपश्चिम गलको अधिकांश भूभागमा कब्जा जमाए। यस विजयलाई मान्यता प्रदान गर्न पूर्वी रोमी साम्राज्य, अनास्टासियसका सम्राट्ले प्रमुख बडापालको सम्माननीय पदवी क्लोभिसलाई प्रदान गरे। यसपछि अन्य सबै पश्चिमी राजाहरूले भन्दा तिनले उच्च पद पाए र फ्रान्सेली-रोमी जनसमुदायमा तिनको शासन कानूनन् भयो।
पूर्वमा राइन नदीको इलाकामा बस्ने फ्रांकहरूलाई आफ्नो अधीनमा पारेपछि क्लोभिसले पेरिसलाई राजधानी बनाए। आफ्नो जीवनको अन्ततिर तिनले लेक्स सालिका भनिने आचारसंहिता दिनुका साथै ओर्लान्सको चर्च निकायको सभा बोलाएर चर्च र राष्ट्रबीचको सम्बन्ध प्रस्ट पारेपछि यो राज्य झनै बलियो भयो। सम्भवतः सा.यु. ५११, नोभेम्बर २७ का दिन तिनको मृत्यु हुँदा तिनी गलको तीन भागमा शासन गर्ने एक मात्र शासक थिए।
द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले क्लोभिसले धर्म परिवर्तन गरेर क्याथोलिक मत स्वीकार्नुलाई “पश्चिमी युरोपको इतिहासकै निर्णायक क्षण” भनेको छ। यस गैरमसीही राजाको धर्म परिवर्तन किन यत्तिको महत्त्वपूर्ण थियो? किनभने तिनले एरियनवादलाई होइन क्याथोलिकवादलाई अंगीकार गरे।
एरियन विवाद
सा.यु. ३२० तिर इजिप्टको अलेक्सजान्ड्रियाका पूजाहारी एरियसले त्रिएकबारे बेग्लै प्रकारका धारणाहरू फैलाउन थाले। एरियसले पिता र पुत्र वास्तवमा एउटै हुन् भन्ने कुरालाई स्वीकारेनन्। पुत्र नै परमेश्वर वा पिताको बराबर हुन सक्दैन किनभने पुत्रको सुरुआत थियो। (कलस्सी १:१५) जहाँसम्म पवित्र आत्माको कुरा छ, एरियसले त्यो एउटा व्यक्ति हो तर पिता र पुत्रभन्दा चाहिं सानो हो भन्ने विश्वास गर्थे। अत्यन्तै लोकप्रिय भएको यस शिक्षाले चर्चमा निकै चर्को विरोध खडा गऱ्यो। सा.यु. ३२५ मा नाइसियाको निकायबाट एरियसलाई निष्कासित गर्नुका साथै तिनका शिक्षाहरूको आलोचना गरियो।a
तथापि, यो विवाद यत्तिकैमा सुल्झिएन। यो धर्म सिद्धान्तबारे विवाद लगभग ६० वर्षसम्म चल्यो र पछिका सम्राट्हरूले कहिले एउटाको त कहिले अर्कोको साथ दिन्थे। सा.यु. ३९२ मा बल्ल सम्राट् थियोडोसियस प्रथमले त्रिएक र क्याथोलिक धर्मको पुरानै मतलाई रोमी साम्राज्यको राष्ट्रिय धर्म बनाए। यस समयको दौडान गथहरू जर्मन पादरी उल्फियासको मदतद्वारा धर्म परिवर्तन गरेर एरियनवादी भइसकेका थिए। अरू जर्मन कुलहरूले पनि हतपत यो बेग्लै “मसीहीधर्म” स्वीकारे।b
क्लोभिसको समयसम्म गलको क्याथोलिक चर्च ठूलो संकटमा परिसकेको थियो। एरियन भिसिगोथहरूले मरेका पादरीहरूको ठाउँमा अर्को नियुक्त गर्न इन्कार गरेर क्याथोलिकवादलाई दबाउन खोजिरहेका थिए। यसबाहेक, दुइटा पोपतन्त्रबीचको फाटोले पनि चर्चलाई अप्ठ्यारोमा पारेको थियो किनभने विरोधी पार्टीका पादरीहरूले रोममा एकअर्कालाई मारिरहेका थिए। यस्तो गोलमालको अलावा केही क्याथोलिक लेखहरूले सा.यु. ५०० मा संसारको अन्त हुनेछ भन्ने धारणालाई अघि बढाएर झनै गोलमाल मच्चाइहेका थिए। तसर्थ, फ्रांकहरूका विजेताले क्याथोलिक धर्म स्वीकार्नुलाई शुभ संकेतको रूपमा लिइयो र त्यसलाई “सन्तहरूको नयाँ सहर्ष युगको” सुरुआत भनियो।
तर क्लोभिसको मनसाय के थियो? धार्मिक मनसाय पनि थियो होला तर तिनको आफ्नै राजनैतिक लक्ष्य थियो। क्याथोलिक धर्म स्वीकारेर क्लोभिसले अधिकांश फ्रान्सेली-रोमी समुदायको प्रशंसा जिते र चर्चका गन्यमान्य व्यक्तिहरूको समर्थन पाए। यसले गर्दा आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूले आशै गर्न नसक्ने मौका तिनले पाए। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले टिप्पणी गरेअनुसार “गलमाथि तिनको विजय भन्नु नै घृणित एरियन कट्टरपन्थीहरूको बोझबाट मुक्ति थियो।”
क्लोभिस वास्तवमा कस्ता व्यक्ति थिए?
सन् १९९६ को वार्षिकीअघि रेम्सका मूल पादरी, जरार डेफ्वाले क्लोभिस, “सोचविचार गरेर अनि बुद्धि पुऱ्याएर गरिएको धर्म परिवर्तनको प्रतीक” हो भने। तथापि, फ्रान्सिसी इतिहासकार अर्नेस्ट लाभेसले यस्तो टिप्पणी गरे: “धर्म परिवर्तन गर्दैमा क्लोभिसको आचरणमा कुनै परिवर्तन आएन; सुसमाचारको पुस्तकको मायालु तथा शान्त शिक्षाले तिनको मन छोएन।” अर्को इतिहासकारले यसो भने: “तिनले ओडिन [नोर्स देव] होइन बरु ख्रीष्टको मदत मागे र आफ्नो जीवनमा भने भने कुनै परिवर्तन ल्याएन।” कन्स्टान्टिनले धर्म परिवर्तन गरेर मसीहीधर्म स्वीकारेको भई टोपले झैं क्लोभिसले पनि सिंहासनको निम्ति खतरा हुन सक्ने सबै विरोधीहरूलाई एकपछि अर्को गर्दै मारेर आफ्नो शासनलाई बलियो बनाए। तिनले “आफ्नो एकदमै टाढाका नाताहरूलाई” समेत सखाप पारे।
क्लोभिसको मृत्युपछि थुप्रै दन्त्यकथाहरू बनिन थाले र तिनी क्रूर योद्धाबाट सम्माननीय सन्त भए। झन्डै एक शताब्दीपछि लेखिएको टुअर्सका ग्रेगरीको वृत्तान्तले क्लोभिस र “मसीही धर्म” स्वीकार्ने पहिलो रोमी सम्राट् कन्स्टान्टिनबीचको सम्बन्धलाई देखाउने प्रयास गरेको पाइन्छ। अनि बप्तिस्मा लिंदा क्लोभिस ३० वर्षका थिए भन्ने दाबी गरेर ग्रेगरीले ख्रीष्टसित तिनको तुलना गर्न खोजेका छन्।—लूका ३:२३.
यस्तै कार्य नवौं शताब्दीमा रेम्सका पादरी अंकमारले पनि गरे। गिर्जाघरहरूमा तीर्थयात्रीहरूलाई जम्मा गर्ने होडबाजीको दौडान तिनले आफ्ना पूर्वाधिकारी “सन्त” रेमिजियसबारे लेखेको वृत्तान्त सम्भवतः चर्चको ख्याति बढाउने र सरसम्पत्ति जम्मा गर्ने प्रयास थियो। तिनले क्लोभिसलाई बप्तिस्माको बेला अभिषेक गर्न सेतो ढुकुरले तेलदानी ल्यायो भनेर बताएका छन् र यो येशूलाई पवित्र आत्माले अभिषेक गरेको विवरणसित मिलाउने सुस्पष्ट प्रयास हो। (मत्ती ३:१६) यस प्रकार अंकमारले क्लोभिस, रेम्स र राजतन्त्रबीच सम्बन्ध स्थापना गरे अनि क्लोभिस, प्रभुबाट अभिषिक्त जन हुन् भन्ने धारणालाई साँचो साबित गरे।c
विवादास्पद वार्षिकी
फ्रान्सका भूतपूर्व राष्ट्रपति चार्ल्स डे गलले एक चोटि यसो भनेका थिए: “मेरो विचारमा फ्रान्सको इतिहासको सुरुआत नै क्लोभिस हुन्, जसलाई फ्रांक कुलका मानिसहरूले फ्रान्सका राजा बनाए अनि त्यसैबाट फ्रान्स भन्ने नाउँ राखियो।” तथापि, सबैले त्यस्तै दृष्टिकोण राख्दैनन्। क्लोभिसको बप्तिस्माको १,५०० औं वार्षिकी विवादमा मुछिएको थियो। सन् १९०५ देखि चर्च र सरकार औपचारिक तवरमा दुइटा पृथक कुरा भएको मुलुकमा, थुप्रैले सरकारी समारोहमा सरकारको सहभागिताको आलोचना गरे। रेम्सको नगर परिषद्ले पोपको भ्रमणको दौडान प्रयोग गरिने पोडियमको खर्च बेहोर्ने घोषणा गर्दा एउटा संगठनले त्यसलाई अवैधानिक ठहर गर्दै अदालतमा त्यस निर्णयलाई बदर गरियो। अरू कतिपयले चाहिं चर्चले फ्रान्समा नैतिक तथा निजामती अख्तियार जमाउन खोजेको ठाने। त्यसमाथि यस विवादलाई अझ चर्काएको कुरा के हो भने, राष्ट्रिय विपक्षी समूह तथा कट्टरपन्थी क्याथोलिक समूहको प्रतीक बनाइयो।
अरूले भने ऐतिहासिक दृष्टिकोणबाट उक्त वार्षिकीको आलोचना गरे। तिनीहरूले क्लोभिसले बप्तिस्मा लिएपछि फ्रान्सले क्याथोलिक धर्म स्वीकारेको होइन भने किनभने फ्रान्सेली-रोमी समुदायमा यस धर्मले जरा गाडिसकेको थियो। अनि तिनीहरू तिनको बप्तिस्माले फ्रान्स राष्ट्रको जन्म भएको होइन भन्ने दाबी गर्छन्। तिनीहरू सा.यु. ८४३ मा चार्लमेनको राज्य विभाजन हुँदा फ्रान्सका प्रथम राजा फ्रान्स द बाल्ड हुनुपर्ने हो, क्लोभिस होइन भन्छन्।
क्याथोलिकवादको १,५०० वर्ष
“चर्चको जेठी छोरीको” हैसियतमा १,५०० वर्षपछि फ्रान्समा क्याथोलिक धर्मको अवस्था कस्तो छ? सन् १९३८ सम्म फ्रान्समा सबैभन्दा बढी बप्तिस्माप्राप्त क्याथोलिकहरू थिए। अहिले यो छैठौं स्थानमा झरेको छ र फिलिपिन्स अनि संयुक्त राज्यजस्ता मुलुकहरू पछाडि परेको छ। फ्रान्समा चार करोड पचास लाख क्याथोलिकहरू छन् तर ६० लाख मात्र नियमित तवरमा मास समारोहको लागि उपस्थित हुन्छन्। हालै फ्रान्सेली क्याथोलिकहरूसित लिइएको सर्वेक्षणअनुसार ६५ प्रतिशतले “यौनसम्बन्धी विषयहरूमा चर्चको शिक्षाको वास्तै गर्दैनन्” अनि ५ प्रतिशत मानिसहरूको लागि येशूले “कुनै अर्थ राख्दैन।” यस्ता नकारात्मक झुकाउहरूले गर्दा सन् १९८० मा फ्रान्सको भ्रमण गर्दा पोपले यो प्रश्न सोधेका थिए: “फ्रान्स, के तिमीले बप्तिस्मा लिंदा गरेको प्रतिज्ञा बिर्स्यौ?”
[फुटनोटहरू]
a अगस्त १, १९८४, पृष्ठ २४ को द वाचटावर हेर्नुहोस्।
b मे १५, १९९४ द वाचटावर-को पृष्ठ ८-९ हेर्नुहोस्।
c क्लोभिसबाटै लुइ भन्ने नाउँ लिइएको हो र यो नाउँ १९ जना फ्रान्सेली राजाहरूलाई (लुइ सत्रौं र लुइ-फिलिप पनि) दिइयो।
[पृष्ठ २७-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
साक्सन
राइन नदी
सोम नदी
स्वासन
रेम्स
पेरिस
गल
लोवार नदी
भुये
प्वाट्या
पाइरीनिस
भिसिगोथ
रोम
[पृष्ठ २६-मा भएको चित्र]
चौधौं शताब्दीको लिपिमा चित्रण गरिएको क्लोभिसको बप्तिस्मा
[स्रोत]
© Cliché Bibliothèque nationale de France, Paris
[पृष्ठ २८-मा भएको चित्र]
फ्रान्सको रेम्स गिर्जाघरको बाहिरपट्टि क्लोभिसको (बीचको आकृति) बप्तिस्माको प्रतीमा
[पृष्ठ २९-मा भएको चित्र]
क्लोभिसको बप्तिस्माको वार्षिकी मनाउन जोन पल द्वितीय फ्रान्स जाँदा विवाद उत्पन्न भयो