अलेकज्याण्डर छैठौं रोमले बिर्सन नसकेको पोप
“क्याथोलिक दृष्टिकोणबाट भन्ने हो भने, अलेकज्याण्डर छैठौंको कडा आलोचना गर्न पर्याप्त शब्दहरू नै छैनन्। (गेशिक्ट् डर पाप्स्टे जाइट डेम आउसगांग डेस मिटेलार्टटस [मध्ययुगको अन्तदेखिका पोपहरूको इतिहास]) “तिनको निजी जीवन अक्षम्य छ। . . . यो चर्चका प्रमुखले चर्चलाई आदर गर्दैनन् भनी हामीले मानिलिनैपर्छ। बोर्गिया परिवारका समकालीनहरूले त्यस्ता निन्दनीय कार्यहरू देखेको भए तापनि तिनको परिवारले गरेका अवर्णनीय अपराधहरूले गर्दा डरमा चुर्लुम्मै डुबेर हेरिरहे र अहिले चार शताब्दी बितिसक्दा पनि त्यसका असरहरू पूरै हराएका छैनन्।”—ला इग्लेसे एट ला रेनसाँस (१४४९-१५१७) (चर्च र रेनासाँ)।
रोमन क्याथोलिक चर्चको विषयमा मान्यता प्राप्त पुस्तकले पनि पोप र तिनको परिवारको किन त्यस्तो कटु आलोचना गर्छन्? तिनीहरूको त्यस्तो आलोचना गरिनुको कारण के हो? रोममा (अक्टोबर २००२–फेब्रुअरी २००३) आयोजित इ बोर्गिया—यालार्टा डेल पोटार्टे (बोर्गियाहरू—शक्तिको कला) शीर्षक भएको प्रदर्शनले पोपको कार्यालय र अझ विशेष गरी रोडरिगो बोर्गिया वा अलेकज्याण्डर छैठौंले (पोप १४९२-१५०३) उपभोग गरिरहेको विशेषाधिकार देखाएको थियो।
शक्तिमा उदय
रोडरिगो बोर्गियाको जन्म १४३१ मा आरागन राज्यस्थित यातिभाको एउटा प्रतिष्ठित परिवारमा भएको थियो। त्यो राज्य अहिले स्पेनमा पर्छ। तिनका मामा आल्फोन्सो डि बोर्गिया भ्यालेसियाका विशप थिए र तिनले आफ्ना भान्जालाई शिक्षा दिने जिम्मेवारी लिए अनि रोडरिगो किशोरै छँदा तिनले चर्चबाट आउने फाइदा (चर्च अन्तर्गत करबाट आय आर्जन हुने) पाउने प्रबन्ध मिलाए। आल्फोन्सो जो यतिबेलासम्म कार्डिनल भइसकेका थिए, तिनको संरक्षकत्वमा रहेका रोडरिगो १८ वर्षको उमेरमा इटाली सरे र कानुन विषय लिएर पढ्न थाले। आल्फोन्सो पोप क्यालिक्सटस तृतीय भएपछि रोडरिगो र तिनका अर्का एक जना भान्जालाई कार्डिनल बनाए। पेरे लुई बोर्गियालाई विभिन्न शहरको राज्यपाल बनाइयो। चाँडै रोडरिगोलाई चर्चको उपकुलपति बनाइयो र विभिन्न पोपको पदावलीमा तिनले यो पद सम्हाले। यस ओहदाको बलमा तिनले धेरै आर्थिक लाभ हुने कामहरू हात पारे, टन्न पैसा कमाए र अत्यन्तै शक्तिशाली भए र राजकुमारको जस्तो सुखसयलको जीवन बिताए।
रोडरिगो बुद्धिमान् र प्रखर वक्ता हुनुका साथै कलाका संरक्षक अनि आफूले चाहेको कुरा पूरा गरेरै छोड्न सक्षम थिए। तथापि, तिनका थुप्रै अवैध सम्बन्धहरू भएको हुँदा चार जना छोराछोरीचाहिं आजीवन भित्रिनीबाट थिए भने अरू थुप्रै छोराछोरीचाहिं अरू स्त्रीहरूबाटका थिए। पोप पायस द्वितीयले तिनलाई “अत्यन्तै अनिन्यन्त्रित” मनोरञ्जनको लागि ताडना दिए तापनि रोडरिगोले आफ्नो जीवन शैली परिवर्तन गरेनन्।
सन् १४९२ मा पोप इनोसेन्ट आठौंको मृत्यु भएपछि चर्चका कार्डिनलहरू तिनको उत्तराधिकारी नियुक्त गर्न भेला भए। रोडरिगो बोर्गियाले सँगी कार्डिनलहरूलाई भव्य उपहार तथा लाभहरू दिने प्रतिज्ञा गरेर त्यस बन्दसत्रबाट पोप अलेकज्याण्डर छैठौंको रूपमा तिनी देखा परे। तिनले कार्डिनलहरूको भोट कसरी किने? चर्चमा ठूलठूला ओहदा, दरबार, महल, शहर, मठ र थुप्रै पैसा आउने विशपका इलाकाहरू दिएर। चर्चसम्बन्धी एक जना इतिहासकारले अलेकज्याण्डर छैठौंको शासनलाई “रोमन चर्चको बेइज्जती र कलंकले भरिएका दिनहरू” भन्नुको कारण बुझ्न सक्छौं।
राजकुमारहरूभन्दा केही फरक छैन
भर्खरै पत्ता लगाइएका अमेरिकी इलाकाहरूबारे स्पेन र पोर्चुगलको विवादमा चर्चका प्रमुख आध्यात्मिक शक्तिको रूपमा अलेकज्याण्डर छैठौंले मध्यस्थता गरे। तिनको निजामती शक्तिको कारण तिनी मध्य इटालीको पोपको अधीनमा रहेका राज्यहरूको प्रमुख भए र रेनासाँ शासकहरूले जस्तै आफ्नो अधिकार क्षेत्रमा पर्ने राज्यहरूमाथि शासन गरे। अलेकज्याण्डर छैठौंको शासन तिनी अघि र पछिका पोपहरूको जस्तै घूसखोरी, कृपावाद र थुप्रै शंकास्पद मृत्युहरूले चिनिएको थियो।
यी गोलमालले भरिएको समयमा विरोधी शक्तिहरूले इटालेली इलाकाहरूमाथि आधिपत्य जमाउन हानथाप गरे र पोप केवल मूकदर्शक मात्र थिएनन्। तिनले राजनैतिक चाल चले तथा साँठगाँठ गरेर पछि त्यसलाई तोड्थे अनि यसको भरमा अझ बढी शक्तिशाली हुन्थे, आफ्ना छोराछोरीलाई तिनीहरूको पेसामा सफल हुन मदत गर्थे र बोर्गिया परिवारलाई अरूभन्दा उच्च बनाउँथे। तिनका छोरा हुवानले क्यासटिलका राजाको नातेदारसँग विवाह गरे र तिनलाई स्पेनको ग्यानडियाको ड्युक बनाइयो। तिनका अर्को छोरा जोफ्रेले नेपल्सका राजाको नातिनीसित विवाह गरे।
फ्रान्ससितको आफ्नो सम्बन्ध बलियो बनाउन पोपले आफ्नो १३ वर्षीया छोरी लुक्रेजाको आरोगनका धनाढ्य परिवारसँग पक्का भएको विवाह तोडेर तिनलाई मिलानको ड्युकको नातेदारसित विवाह गरिदिए। त्यो वैवाहिक सम्बन्ध राजनैतिक दृष्टिकोणबाट त्यति फाइदाजनक नदेखेपछि सम्बन्ध तोड्ने एउटा बहाना बनाए अनि लुक्रेजालाई अर्को प्रतिद्वन्द्वी राजकुल आरोगनको आल्फान्सोसँग विवाह गरिदिए। यी घटनाको दौडान लुक्रेजाका महत्त्वाकांक्षी तथा क्रूर, दाइ सेजार बोर्गियाले फ्रान्सको लुइस बाह्रौंसित सम्बन्ध गाँसे अनि आरोगेनीसित तिनकी बहिनीको विवाहले अप्ठ्यारो परिस्थिति सृजना गऱ्यो। कसरी समाधान गर्ने? एउटा जानकारीअनुसार तिनका निस्सहाय पति, आल्फोन्सोलाई “मार्न खोज्ने चार जना मानिसले तिनलाई सेन्ट पिटर चर्चका सिंढीहरूमा घाइते बनाएर छोडे। स्वास्थ्यलाभ गरिरहेको बेलामा सेजारका एक जना चाकरले तिनको घाँटी निमोठेर हत्या गरे।” पोपले नयाँ रणनीति बनाएर सम्बन्ध गाँस्ने उद्देश्यले अब २१ वर्ष पुगेकी लुक्रेजालाई फेराराको शक्तिशाली ड्युकका छोरासित तेस्रो विवाह गरिदिए।
सेजारको कार्यप्रणालीलाई “रगतले रातो भएको असैद्धान्तिक कथा” भनी वर्णन गरिएको छ। सेजारलाई तिनको बुबाले १७ वर्षको उमेरमा कार्डिनल नियुक्त गरे तापनि तिनी चर्चसम्बन्धी कार्यको लागि भन्दा युद्धको लागि उपयुक्त थिए किनभने तिनी धूर्त, महत्त्वाकांक्षी र अरू कोही-कोही जत्तिकै भ्रष्ट थिए। चर्चको कार्यभारबाट राजीनामा दिएपछि तिनले फ्रान्सेली राजकुमारीसित विवाह गरे अनि भ्यालेन्टेनोइसको ड्युक भन्ने उपाधि पाए। त्यसपछि, फ्रान्सेली सेनाको सहयोगमा इटालीको उत्तरी भागलाई आफ्नो नियन्त्रणमा राख्न आक्रमण र हत्याको एकपछि अर्को कदम चाले।
सेजारको लक्ष्य हासिल गर्न चाहिने फ्रान्सेली सैन्य सहयोग जुटाउन पोपले फ्रान्सका लुइस बाह्रौंलाई तिनको फाइदा हुने तर निन्दनीय सम्बन्धविच्छेद गर्ने अनुमति दिए र यसो गर्दा लुइस बाह्रौंले ब्रिटनीको एनीसित विवाह गरेर उनको अधिकारक्षेत्र आफ्नो राज्यमा गाभ्न सकिने भयो। वास्तवमा भन्ने हो भने, एउटा सन्दर्भसामग्रीले बताएअनुसार पोपले “आफ्नो परिवारका सदस्यहरूको गैरधार्मिक फाइदाको लागि चर्चको प्रतिष्ठा र सिद्धान्तलाई त्यागिदिए।”
पोपको अत्याचारको आलोचना
बोर्गियाले गरेका अत्याचारले गर्दा तिनले शत्रु कमाउनुका साथै आलोचना खप्नुपऱ्यो। पोपले आफ्नो आलोचकहरूको वास्ता गरेनन् तर जिरोलामो साभोनारोला नाउँ गरेका व्यक्तिलाई भने बेवास्ता गर्न सकिएन। तिनी डोमिनिकी भिक्षु, जोडदार प्रचारक र फ्लोरेन्सका राजनैतिक नेता थिए। तिनले चर्च, व्यक्तिविशेषको कुकर्म र पोप स्वयंले गरेको राजनैतिक संलग्नताको निन्दा गरे अनि पोपलाई हटाउनुका साथै चर्चमा सुधार गरिनुपर्ने माग गरे। साभोनारोलाले यस्तो आक्रोश व्यक्त गरे: “हे चर्चका नेताहरू हो, . . . तिमीहरू राति आफ्ना भित्रिनी कहाँ जान्छौं अनि बिहान धार्मिक कामकाज गर्न आउँछौ।” तिनले पछि यसो भने: “[ती नेताहरूको] बाह्य रूप वेश्याको जस्तो छ अनि तिनीहरूको नाउँ चर्चको लागि बदनाम हो। म साँच्चै भन्छु, यिनीहरू मसीही धर्ममा विश्वास गर्दैनन्।”
साभोनारोलाको मुख थुन्ने प्रयासमा पोपले तिनलाई कार्डिनलको पद दिने प्रस्ताव राखे तर तिनले इन्कार गरे। साभोनारोलाले पतन भोग्नुपरेको कारण चर्चविरोधी राजनीति वा प्रचारकार्य के हो, त्यो प्रस्ट छैन तर तिनलाई पछि बहिष्कार गरियो, गिरफ्तार गरियो अनि आफ्नो भूल स्वीकार्न शासना दिइयो अनि झुण्ड्याएर मारियो।
गम्भीर प्रश्नहरू
यी ऐतिहासिक घटनाहरूले गम्भीर प्रश्नहरू खडा गर्छन्। पोपको यस्तो छलकपट र आचरणको लागि कस्तो जवाफ दिन सकिन्छ? ऐतिहासकारहरूले कसरी यसको वर्णन गर्छन्? यस सन्दर्भमा बेग्लाबेग्लै तर्कहरू प्रस्तुत गरिएका छन्।
धेरैको सोचाइमा एलेकज्याण्डर छैठौंबारे छलफल गर्दा तिनको समयको ऐतिहासिक पृष्ठभूमिलाई पनि विचार गर्नुपर्छ। हुनसक्छ, तिनले राजनैतिक र चर्चको सम्बन्धमा यस्तो व्यवहार गर्नुपछाडि शान्ति स्थापना गर्न, प्रतिद्वन्द्वी राज्यहरूबीच स्थिरता कायम गर्न, पोपतन्त्रको समर्थन गर्ने मित्रहरूबीचको बन्धन बलियो बनाइन अनि टर्केली खतराविरुद्ध मसीहीजगत्का राजाहरू एक हुने प्रयास थियो।
तर तिनको आचरण नि? एक जना शास्त्रविद् भन्छन्: “चर्चको सबै युगमा खराब मसीही र काम नलाग्ने पादरीहरू थिए। त्यसकारण कोही पनि आत्तिनुपर्ने कुनै कारण छैन किनभने यसबारे ख्रीष्टले भविष्यवाणी गर्नुभएको थियो; उहाँले आफ्नो चर्चलाई असल गहुँ र झार उम्रने खेत वा असल र खराब माछा दुवै भएको जालसित तुलना गर्नुभयो अनि आफ्ना चेलाहरूमध्ये यहूदालाई पनि केही गर्नुभएन।”a
त्यही शास्त्रविद् अझ यसो भन्छन्: “कुनै एउटा रत्नलाई अड्याइएको धातुले उक्त रत्नको मोल कम नहुने भएझैं पादरीको पापी व्यवहारले . . . तिनको शिक्षालाई खण्डन गर्छ भन्न सकिंदैन। . . . सुन खेलाउने हात शुद्ध होस् या नहोस्, सुन सुनै रहन्छ।” एक जना क्याथोलिक धर्मका इतिहासकारले तर्क गरेअनुसार अलेकज्याण्डर छैठौंको सन्दर्भमा साँचो क्याथोलिकहरूले शास्त्री र फरिसीहरूलाई येशूले दिनुभएको यो सल्लाह पालन गर्नुपर्ने थियो: ‘जे तिनीहरूले भन्दछन् ती गर तर तिनीहरूकै काम जस्तो चाहिं नगर।’ (मत्ती २३:२, ३) तर के साँच्चै तपाईंलाई यो तर्क चित्त बुझ्छ?
के यो साँचो मसीहीधर्म हो?
मसीही हुँ भन्नेहरूलाई जाँच्ने एउटा गुणबारे येशूले एउटा सरल मार्गनिर्देशन प्रस्तुत गर्नुभयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढाका बोटहरूबाट अंगूर अथवा सिउँडीहरूबाट नेभारा बटुलिन्छ र? त्यसैगरी हरेक असल रूखले बढिया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्तैन, नता बिग्रेका रूखले असल फल फलाउनसक्तछ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।”—मत्ती ७:१६-१८, २०.
सामान्यतया भन्ने हो भने, शताब्दीयौं दौडान धार्मिक नेताहरूले कस्तो व्यवहार गरेका छन् अनि कहिले कस्तो छ, के तिनीहरू येशूले स्थापना गरेर उहाँका अनुयायीहरूले पालन गरेको साँचो मसीहीधर्म पछ्याइरहेका छन्? आउनुहोस् हामी दुइटा क्षेत्रमा विचार गरौं—राजनैतिक सहभागिता र जीवन शैली।
येशू कुनै सांसारिक राजकुमार हुनुहुन्नथ्यो। उहाँले एकदमै साधारण जीवन बिताउनुभयो र उहाँ आफैले मानिलिनुभएझैं उहाँको ‘शिर अडाउने ठाउँ पनि थिएन।’ उहाँको राज्य “यस संसारको होइन” र उहाँका चेलाहरू पनि “जस्तो [उहाँ] संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।” यसकारण येशूले त्यतिबेलाको राजनैतिक गतिविधिमा सामेल हुन इन्कार गर्नुभयो।—मत्ती ८:२०; यूहन्ना ६:१५; १७:१६; १८:३६.
तथापि, के यो कुरा सत्य होइन, जनसाधारणले औधी दुःखकष्ट भोग्नुपरे तापनि धार्मिक संगठनहरूले शक्ति र भौतिक सम्पत्तिको लागि राजनैतिक नेताहरूसित हात मिलाउने बानी बसालेका छन्? पादरीवर्गमध्ये धेरै जना सुखसयलमा जीवन बिताउँछन् जबकि तिनीहरूले सेवा गर्नुपर्ने असंख्य मानिसहरू भने दरिद्र अवस्थामा छन् भन्ने कुरा पनि सत्य होइन र?
येशूका सौतेनी भाइ याकूबले यसो भने: “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) किन “परमेश्वरको शत्रु”? पहिलो यूहन्ना ५:१९ यस्तो टिप्पणी गर्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”
अलेकज्याण्डर छैठौंको नैतिकताबारे बोर्गियाको समयका एक जना इतिहासकारले यस्तो लेखे: “तिनको जीवन शैली अनियन्त्रित थियो। तिनलाई लाज, इमानदारिता, विश्वास र धर्म भन्ने कुरा केही थाह थिएन। तिनमा अतृप्त लोभ, बेलगाम महत्त्वाकांक्ष, क्रूरता अनि आफ्ना थुप्रै छोराछोरीको फलिफापको लागि बल्दो चाहना थियो।” निस्सन्देह, पोपतन्त्रमा यस्तो व्यवहार गर्ने बोर्गिया मात्र थिएनन्।
त्यस्तो व्यवहारबारे धर्मशास्त्र के भन्छ? “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन?” भनी पावलले प्रश्न गरे। “न ठगियौ। व्यभिचारीहरू, . . .जारी गर्नेहरू, . . . लोभीहरू . . . परमेश्वरको राज्यको हकदार हुनेछैन।”—१ कोरिन्थी ६:९, १०.
बोर्गियाबारे हालै रोममा गरिएको प्रदर्शनको एउटा उद्देश्य “यी महान् व्यक्तिहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर्नु थियो, . . . तिनीहरूलाई बुझ्नु थियो तर तिनीहरूलाई दोषमुक्त वा निन्दा गर्नु थिएन।” वास्तवमा भन्ने हो भने, दर्शकहरूले आफ्नै निष्कर्ष निकाल्नु पर्थ्यो। त्यसकारण तपाईं कस्तो निष्कर्षमा पुग्नुभयो?
[फुटनोट]
a यी दृष्टान्तहरूबारे सही जानकारीको लागि प्रहरीधरहरा, फेब्रुअरी १, १९९५, पृष्ठ ५-६ अनि सेप्टेम्बर १, १९९२, पृष्ठ १९-२३ हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको चित्र]
रोड्रिगो बोर्गिया, पोप एलेकज्याण्डर छैठौं
[पृष्ठ २७-मा भएको चित्र]
लुक्रेजा बोर्गियाको पिताले आफ्नो शक्ति बढाउन उनको अत्यधिक प्रयोग गरे
[पृष्ठ २८-मा भएको चित्र]
सेजार बोर्गिया महत्त्वाकांक्षी र भ्रष्ट थिए
[पृष्ठ २९-मा भएको चित्र]
जिरोलामो साभोनारोलाको मुख थुन्न नसकिएको हुँदा तिनलाई झुण्ड्याएर जलाइयो