जीवनी
यहोवाको करुणा र हेरचाह अनुभव गर्दै
फे किङको वृत्तान्तमा आधारित
मेरा आमाबाबु दयालु स्वभावको हुनुहुन्थ्यो तर अरू थुप्रै मानिसजस्तै उहाँहरूलाई पनि धर्मप्रति पटक्कै चासो थिएन। मेरी आमा यसो भन्ने गर्नुहुन्थ्यो: “परमेश्वर त पक्कै हुनुपर्छ, हुनुहुन्न भने फूल कसले बनायो र रूखहरू कसले बनायो?” तर धर्मप्रति उहाँको चासो त्यत्तिमै सीमित थियो।
सन् १९३९ मा म ११ वर्षकी हुँदा मेरो बुबाको मृत्यु भयो र म आमासँग इंगल्याण्डको म्यानचेस्टर भन्ने ठाउँको ठीक दक्षिणपट्टि स्टकपोर्टमा बस्न थालें। म सधैं मेरो सृष्टिकर्ताबारे धेरै कुरा जान्न चाहन्थें र आफूलाई खासै केही थाह नभए तापनि बाइबललाई आदर गर्थें। त्यसैले मैले चर्च अफ इंग्ल्याण्डमा के हुँदो रहेछ भनेर हेर्न जाने निर्णय गरें।
त्यहाँ गरिने धार्मिक समारोहहरूले त मलाई खासै केही असर गरेन तर जब सुसमाचारका पुस्तकहरू पढिन्थ्यो, येशूका शब्दहरूले बाइबल नै सत्य हुनुपर्छ भनी मलाई विश्वस्त गरायो। त्यतिबेलाको कुरा सम्झिंदा, मैले आफैले बाइबल नपढेकोमा चाहिं छक्क लाग्छ। पछि, हाम्रो परिवारको एक जना साथीले आधुनिक अनुवादमा “नयाँ नियम” दिंदासमेत मैले कहिल्यै पढिनँ।
सन् १९५० मा कोरियाली युद्ध सुरु हुँदा भने मैले गम्भीरतापूर्वक सोच्न थालें। दोस्रो विश्वयुद्ध जस्तै के यो युद्ध पनि फैलिनेछ? फैलियो भने आफ्नो छिमेकीलाई प्रेम गर्नू भन्ने येशूको आज्ञा म कसरी पालन गर्न सक्छु? तर फेरि अर्कोतर्फ, मानिसहरूले मेरो देशमा आक्रमण गर्दा तिनीहरूलाई रोक्न केही नगरी मूकदर्शक भएर के म बस्न सक्थें र? मैले त्यसो गरें भने पक्कै पनि आफ्नो कर्तव्यलाई अवहेलना गरिरहेकी हुने थिएँ। म असाध्यै अलमल्लमा परे तापनि मलाई आफ्ना सबै प्रश्नहरूको जवाफ बाइबलमा पाइन्छ भनेर पक्का थियो तर बाइबलमा कहाँ, कसरी पत्ता लगाउने भनेर केही थाह थिएन।
अस्ट्रेलियामा सत्यको खोजी गर्दै
सन् १९५४ मा मेरी आमा र मैले अस्ट्रेलियामा बसाइँ सर्ने निर्णय गऱ्यौं, जहाँ मेरी दिदी जीन बस्नुहुन्थ्यो। केही वर्षपछि जीनले बाइबलप्रति मेरो चासो र म चर्च जाने कुरा थाह भएकोले यहोवाका साक्षीहरूलाई मसँग सम्पर्क राख्न आग्रह गरेको कुरा बताउनुभयो। उहाँ तिनीहरूबारे मेरो धारणा जान्न चाहनुहुन्थ्यो। उहाँले मलाई यसो भन्नुभयो, “मलाई तिनीहरूको कुरा सही हो या गलत त्यो त थाह छैन तर जेहोस् तिनीहरू आफ्नो कारण बताउँछन् जुन चर्चले गर्दैन।”
मलाई भेट्न आउनुभएको दम्पती बिल र लिन्डा स्नाइडर असाध्यै रमाइलो हुनुहुन्थ्यो। उहाँहरू झन्डैझन्डै ७० वर्ष पुग्न लाग्नुभएको थियो र साक्षीहरू भएको निकै वर्ष भइसकेको थियो। उहाँहरूले यहोवाका साक्षीहरूद्वारा एडलेडमा सञ्चालित रेडियो स्टेसनमा काम गर्नुभएको थियो र दोस्रो विश्वयुद्धको दौडान अस्ट्रेलियामा प्रचारकार्यमाथि प्रतिबन्ध लगाइँदा पूर्ण-समय सुसमाचारकको रूपमा सेवा सुरु गर्नुभएको थियो। तथापि, बिल र लिन्डा अत्यन्तै मदतकारी भए तापनि म अझै विभिन्न धर्महरू केलाउँदै थिएँ।
एउटी सहकर्मीले मलाई प्रचारक बिल्ली ग्राहमको सभामा लगिन् र त्यसपछि हामीमध्ये थुप्रैले एक जना पादरीलाई भेट्यौं जसले प्रश्नहरू सोध्न आग्रह गरेका थिए। मैले आफूलाई खुलदुली लागिरहेको एउटा प्रश्न सोधें: “तपाईं कसरी एक जना मसीही हुन सक्नुहुन्छ र आफ्नो छिमेकीलाई प्रेम गर्न सक्नुहुन्छ, जब तपाईंले तिनीहरूलाई युद्धमा मार्नुहुन्छ?” पूरै समूहमा तुरुन्तै गाइँगुइँ चल्यो—यसबाट यो प्रश्नले सबैलाई पिरोलिरहेको थियो भनी स्पष्ट भयो! अन्ततः ती पादरीले यसो भने: “मलाई यस प्रश्नको जवाफ थाह छैन। म यसबारे अझै विचार गर्दैछु।”
यतिन्जेल, बिल र लिन्डासँगको मेरो बाइबल अध्ययन अघि बढिरहेको थियो र सेप्टेम्बर १९५८ मा मैले बप्तिस्मा लिएँ। मैले मेरा शिक्षकहरूको उदाहरण अनुकरण गर्ने विचार गरें र त्यसैले त्यसको अर्को वर्ष अगस्त महिनादेखि म नियमित अग्रगामी अर्थात् पूर्ण-समय सुसमाचारकको रूपमा भर्ती भएँ। आठ महिनापछि मलाई विशेष अग्रगागीको रूपमा सेवा गर्न निमन्त्रणा दिइयो। मेरी दिदी जेनले पनि आफ्नो अध्ययनमा प्रगति गरेर बप्तिस्मा लिएको कुरा थाह पाउँदा म कत्ति खुसी भएँ!
सुअवसरको ढोका खुल्यो
म सिड्नीको एउटा मण्डलीमा सेवा गर्दै थिएँ र थुप्रै गृह बाइबल अध्ययनहरू पनि सञ्चालन गरिरहेकी थिएँ। एक दिन मैले चर्च अफ इंगल्याण्डका अवकाश प्राप्त पादरी भेटें र तिनलाई संसारको अन्तबारे चर्चले के भन्छ भनी सोधें। तिनले चर्चमा सिकाइरहेको ५० वर्षभन्दा बढी भइसकेको कुरा बताए तापनि म तिनको जवाफबाट वाल्ल परें: “त्यो प्रश्नको जवाफ दिन मैले अनुसन्धान गर्नुपर्छ किनभने मलाई यहोवाका साक्षीहरूलाई जत्तिको बाइबलबारे राम्ररी थाह छैन।”
त्यसको केही समयपछि नै पाकिस्तानमा सेवा गर्न स्वयम्सेवकहरूको लागि आह्वान गरियो। यो आह्वान अविवाहित स्त्रीलाई होइन तर अविवाहित पुरुष वा विवाहित दम्पतीहरूका लागि मात्र हो भन्ने कुरा थाह नभएकोले मैले आवेदन दिएँ। तर मेरो आवेदन ब्रूक्लिन मुख्यालयमा पठाइएछ किनभने चाँडै मैले बम्बे (अहिले मुम्बई भनिन्छ), भारतमा एउटा ठाउँ रिक्त छ र म त्यो ठाउँमा जान चाहन्छु कि भनी सोधिएको पत्र प्राप्त गरें। त्यो कुरा १९६२ को हो। मैले त्यो प्रस्ताव स्वीकारें र बम्बेमा १८ महिना बिताएपछि अलाहबादमा गएँ।
मैले हिन्दी भाषा सिक्न चाँडै आफ्नो मन लगाउन थालें। यो भारतीय भाषाको हिज्जे र उच्चारणमा सामान्यतया एकरूपता छ, त्यसैले यो भाषा सिक्न त्यत्ति गाह्रो छैन। तथापि, गाह्रो गरी-गरी तिनीहरूको भाषा बोल्नुको सट्टा अंग्रेजीमा कुरा गर्न घरधनीहरूले आग्रह गर्दा दिक्क लाग्थ्यो! तर यस नयाँ देशले चाखलाग्दो र उत्प्रेरणादायी चुनौतीहरू प्रस्तुत गऱ्यो साथै मैले अस्ट्रेलियाका सँगी साक्षीहरूको संगतिबाट आनन्द उठाएँ।
सुरु-सुरुमा त मैले बिहे गर्नेबारे सोच्थें तर बप्तिस्मा लिउन्जेलसम्म यहोवाको सेवामा एकदमै व्यस्त भएकी हुँदा त्यसबारे सोच्ने मौका पाइनँ। तथापि, फेरि मलाई जीवनसाथीको आवश्यकता खड्किन थाल्यो। निस्सन्देह, म आफ्नो विदेशी असाइनमेन्ट छोड्न चाहँदैनथें त्यसैले यस विषयमा यहोवालाई प्रार्थना गरें र त्यसपछि यो कुरा मनबाट निकालिदिएँ।
अप्रत्याशित आशिष्
त्यतिबेला एड्विन स्किनरले भारत शाखाको काम निरीक्षण गरिरहनुभएको थियो। उहाँ १९४६ मा वाचटावर बाइबल स्कूल अफ गिलियडको आठौं कक्षामा अन्य थुप्रै विश्वासी भाइहरूसँग उपस्थित हुनुभएको थियो जसमध्ये चीनमा खटाइएका ह्यारोल्ड किङ र स्टान्ली जोन्स पनि थिए।a सन् १९५८ मा ह्यारोल्ड र स्टान्लीलाई साङ्घाइमा प्रचार गरेको अभियोगमा एकल नजरबन्दको सजाय दिइयो। सन् १९६३ मा ह्यारोल्डलाई मुक्त गरिंदा एड्विनले तिनलाई पत्र लेख्नुभयो। ह्यारोल्डले संयुक्त राज्य अमेरिका र बेलाइतको आफ्नो भ्रमणबाट हङकङ फर्केपछि जवाफ पठाए जसमा तिनको बिहे गर्ने इच्छा पनि व्यक्त गरिएको थियो। तिनले एड्विनलाई यो कुरा जेलमा हुँदा प्रार्थनामा राखेको बताए र सुहाउँदो पत्नी हुन लायकको कोही साक्षी चिनेको छ कि भनेर सोधे।
भारतमा प्रायजसो मागी विवाह गरिने भएकोले एड्विनलाई विवाह मिलाइदिन थुप्रै आग्रहहरू आइरहन्थ्यो तर उहाँले कहिल्यै यस काममा चासो देखाउनुभएन। त्यसैकारण उहाँले ह्यारोल्डको त्यो चिठी रूथ म्याककेलाई दिनुभयो जसको श्रीमान् होमर परिभ्रमण निरीक्षक थिए। अन्ततः रूथले मलाई सच्चाइमा आएको धेरै वर्ष भइसकेका एक जना मिसनरी विवाह गर्न इच्छुक छन् र म तिनलाई पत्र लेख्न राजी छु कि भनेर सोधिन्। तिनले मलाई ती भाइ को हुन् वा तिनीबारे थप केही बताइनन्।
जीवनसाथीको लागि मेरो प्रार्थनाबारे यहोवालाई बाहेक अरू कसैलाई थाह थिएन र मेरो सुरुको प्रतिक्रिया यस विचारलाई बेवास्ता गर्ने थियो। तैपनि, मैले यसबारे जत्ति धेरै सोचें म के निष्कर्षमा पुगें भने, यहोवाले विरलै हामीले सोचेको ढङ्गमा प्रार्थनाको जवाफ दिनुहुन्छ। त्यसैले उनलाई विवाह गर्नै पर्छ भन्ने बाध्यता छैन भने तिनले मलाई फेरि लेख्न सक्छन् भनी मैले रूथलाई लेखें। ह्यारोल्ड किङको दोस्रो चिठी मलाई थियो।
ह्यारोल्ड चीनको जेलबाट मुक्त भएपछि उहाँको तस्विर तथा कथाहरू विभिन्न अखबार तथा पत्रिकाहरूमा छापिएको थियो। यतिबेलासम्म उहाँ संसारभरि प्रख्यात भइसक्नुभएको थियो तर म चाहिं उहाँको विश्वासीलो ईश्वरतान्त्रिक सेवाबाट प्रभावित भएँ। त्यसैले पाँच महिनासम्म हामीले पत्राचार गऱ्यौं र त्यसपछि म हङकङ गएँ। हामीले अक्टोबर ५, १९६५ मा बिहे गऱ्यौं।
हामी दुवै जना विवाह गर्न र पूर्ण-समय सेवामा रहन चाहन्थ्यौं र हाम्रो उमेर ढल्कँदै गएकोले हामीलाई जीवनसाथीको आवश्यकता महसुस भयो। ह्यारोल्डप्रतिको मेरो माया बढ्दै गयो र मैले उहाँले अरूको ख्याल राख्दै दयालु ढङ्गमा व्यवहार गर्नुभएको देखें र सेवाको सन्दर्भमा समस्याहरू आउँदा उहाँले सामना गर्ने तरिकाबाट उहाँले मेरो गहिरो आदर जित्नुभयो। सत्ताइस वर्षसम्म हामीले एकदमै सुखमय वैवाहिक जीवनको आनन्द उठायौं र यहोवाबाट थुप्रै आशिष्हरू प्राप्त गऱ्यौं।
चिनियाँहरू असाध्यै मेहनती मानिसहरू हुन् र मलाई तिनीहरू मन पर्छ। हङकङमा क्यान्टोनिज भाषा बोलिन्छ, यसमा चिनियाँ भाषाको म्यानडरिनमा भन्दा थुप्रै स्वर वा उतारचढाव हुन्छ, त्यसैले यो सिक्न अलि गाह्रै छ। ह्यारोल्ड र मैले हाम्रो वैवाहिक जीवनको सुरुवात यहोवाका साक्षीहरूको शाखा कार्यालयमा अवस्थित मिसनरी घरबाट गऱ्यौं र त्यसपछि हामीले हङकङको विभिन्न भागमा सेवा गऱ्यौं। हो, हामी धेरै खुसी थियौं तर १९७६ मा मेरो स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन थाल्यो।
स्वास्थ्य समस्याहरूको सामना गर्दै
मेरो रक्तश्राव भइरहेको केही महिना भइसकेको थियो र शरीरमा रगतको मात्रा एकदमै कम भइसकेको थियो। शल्यक्रिया गर्नुपर्ने भयो तर अस्पतालमा डाक्टरहरूले रगतविना शल्यक्रिया गर्न इन्कार गरे किनभने तिनीहरूले शल्यक्रिया गरे भने अति रक्तस्रावले मेरो मृत्यु हुनेछ भनी बताए। एक दिन मेरो अवस्थाबारे डाक्टरहरूले छलफल गरिरहेको बेला नर्सहरूले विनाकारण जीवन गुमाउनुमा केही फाइदा छैन भनेर मेरो मन परिवर्तन गर्न खोजे। त्यो दिनमा १२ वटा शल्यक्रियाको तालिका थियो र त्यसमध्ये १० वटा गर्भपतनको थियो तर गर्भवती महिलाहरूलाई तिनीहरूको बच्चाको ज्यान नलिन कसैले एक शब्द पनि बोलेनन्।
अन्ततः ह्यारोल्डले मेरो मृत्यु भए तापनि अस्पताल दोषमुक्त हुनेछ भनी पत्र लेख्नुभयो र डाक्टरहरू मेरो शल्यक्रिया गर्न सहमत भए। मलाई शल्यक्रिया गर्ने कोठामा लगियो र ऐनेस्थेसिया दिन तयार गरियो। तथापि, अन्तिम घडीमा ऐनेस्थेसिया दिने व्यक्तिले मानेनन् र अस्पतालले मलाई घर पठाइदियो।
त्यसपछि हामीले कुनै पनि अस्पतालमा संलग्न नभएको स्त्री रोगका डाक्टरसँग सम्पर्क राख्यौं। मेरो अवस्थाको गम्भीरता बुझेकोले शल्यक्रियाको लागि लिएको मूल्य अरूलाई नबताउने सर्तमा तिनले कम मूल्यमा मेरो शल्यक्रिया गरिदिने प्रस्ताव राखे। तिनले सफलतासाथ शल्यक्रिया गरे र त्यो पनि रगतको प्रयोगविना। यस विशेष घडीमा ह्यारोल्ड र मप्रति यहोवाको करुणा र हेरचाह प्रस्ट थियो।
सन् १९९२ मा ह्यारोल्ड सिकिस्त बिरामी पर्नुभयो। हामी शाखा कार्यालयमा सऱ्यौं र हामी दुवैको त्यहाँ मायालु हेरचाह गरियो। मेरो प्यारो श्रीमान्ले १९९३ मा ८१ वर्षको उमेरमा आफ्नो पार्थिव जीवन पूरा गर्नुभयो।
इंगल्याण्डमा फिर्ता
म हङकङ बेथेल परिवारको सदस्य हुनुमै खुसी थिएँ तर मलाई त्यहाँको गर्मी र आद्रता सहन असाध्यै गाह्रो हुँदै थियो। त्यसपछि ब्रुक्लिन मुख्यालयबाट एउटा आशै नगरेको चिठी प्राप्त गरें र त्यसमा मेरो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अझ सुविधा सम्पन्न शाखामा सर्नेबारे के विचार छ भनी सोधिएको थियो। त्यसैले २००० मा म इंगल्याण्ड फर्कें र लण्डन बेथेल परिवारको सदस्य भएँ। यो कस्तो मायालु प्रबन्ध साबित भएको छ! मेरो न्यानो स्वागत गरियो र मैले आफ्ना विभिन्न कार्यभारहरूबाट आनन्द उठाइरहेकी छु जसमा बेथेलको पुस्तकालय र त्यहाँ भएका २,००० पुस्तकहरूको रेखदेख गर्ने काम पनि समावेश छ।
म लण्डनमा भेला हुने चिनियाँ मण्डलीसँग संगत गर्छु तर यहाँ परिस्थिति परिवर्तन भएको छ। अचेल थुप्रै मानिसहरू चीनबाट र थोरै मात्र हङकङबाट आउँछन्। तिनीहरू म्यानडरिन बोल्छन् र यसले गर्दा प्रचारकार्यमा नयाँ चुनौती खडा हुन्छ। देशभरि नै चीनबाट आएका पोस्टग्य्राजुयट विद्यार्थीहरूसँग थुप्रै रोचक बाइबल अध्ययनहरू सञ्चालन गरिएका रिपोर्टहरू प्राप्त हुन्छन्। तिनीहरू मेहनती छन् र आफूले सिकिरहेको बाइबल सत्यको मूल्याङ्कन गर्छन्। तिनीहरूलाई मदत गर्न पाउनु आनन्दको कुरा हो।
मेरो आफ्नो नयाँ घरको शान्त वातावरणमा म अक्सर आफ्नो आनन्ददायी जीवनलाई फर्केर हेर्छु र मलाई यहोवाको करुणा देखेर सधैं उदेक लाग्छ। उहाँको उद्देश्यसित सम्बन्धित सबै कुरामा यो देखिन्छ र उहाँले आफ्नो प्रत्येक सेवकप्रति देखाउनुहुने व्यक्तिगत चासो एकदमै प्रस्ट छ। उहाँले मप्रति देखाउनुभएको मायालु चासोको लागि कृतज्ञ हुने मसँग हर कारण छ।—१ पत्रुस ५:६, ७.
[फुटनोट]
a यी दुई मिसनरीहरूको जीवनी द वाचटावर, जुलाई १५, १९६३, पृष्ठ ४३७-४२ र डिसेम्बर १५, १९६५, पृष्ठ ७५६-६७ मा प्रकाशित भएको थियो।
[पृष्ठ २४-मा भएको चित्र]
भारतमा सेवा गर्दै
[पृष्ठ २५-मा भएका चित्रहरू]
सन् १९६३ मा ह्यारोल्ड किंग र १९५० को दशकमा चीनमा सेवा गर्दै
[पृष्ठ २६-मा भएका चित्रहरू]
हङकङमा हाम्रो विवाह दिन, अक्टोबर ५, १९६५
[पृष्ठ २६-मा भएको चित्र]
हङकङ बेथेलका सदस्यहरूसित, बीचमा लियाङहरू अनि दायाँ ग्यानावेजहरू