प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ३/१५ पृ. ३-५
  • झूटा तर्कहरूद्वारा आफैलाई धोका नदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूटा तर्कहरूद्वारा आफैलाई धोका नदिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफैलाई धोका दिएको उदाहरण
  • झूटा तर्कहरू होइन, सही सोचाइ राख्ने
  • आफ्ना-आफ्ना चालको विचार गर्ने
  • बाइबलले भविष्यवाणी गरेझैं पर्खनुपर्ने समय
  • झूटा तर्कहरू उखेलेर फ्याँक्ने
  • “म तिमीहरूसँगै छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • सबैले यहोवाको महिमा गरून्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ३/१५ पृ. ३-५

झूटा तर्कहरूद्वारा आफैलाई धोका नदिनुहोस्‌

निषेध गरिएको फल हव्वाले खाएपछि परमेश्‍वरले तिनलाई यसरी सोध्नुभयो: “तैंले यो के गरिस्‌?” तिनले यस्तो जवाफ दिइन्‌: “साँपले पो मलाई छल गऱ्‍यो, र मैले त्यो खाएँ।” (उत्प. ३:१३) तिनलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउने धूर्त सर्प सैतानलाई नै पछि गएर “पुरानो सर्प” भनियो, जसले ‘सारा संसारलाई ठगिरहेको छ।’—प्रका. १२:९.

उत्पत्तिको यस विवरणले सैतानलाई धोकेबाजको रूपमा चिनाउँछ, जसले असावधान मानिसहरूलाई धोका दिने मनसायले झूट बोल्छ। हव्वा सैतानको झूटको शिकार भइन्‌। तर हामीलाई धोका दिन सक्ने सैतान मात्र हो भनेर सोच्नु हुँदैन। बाइबलले ‘झूटा तर्कहरूद्वारा आफैलाई धोका दिने’ खतराबारे पनि चेतावनी दिन्छ।—याकू. १:२२.

आफैलाई धोका दिनु असम्भव वा हुनै नसक्ने कुराजस्तो देखिन सक्छ। तर परमेश्‍वरले यस्तो चेतावनी दिनुमा निश्‍चय पनि कुनै उद्देश्‍य छ। त्यसैले हामीले आफैलाई कसरी धोका दिइरहेका हुन सक्छौं र कस्ता झूटा तर्कहरूले हामीलाई बहकाउन सक्छ भनी विचार गर्नु राम्रो हो। एउटा धर्मशास्त्रीय उदाहरणले हामीलाई मदत गर्न सक्छ।

आफैलाई धोका दिएको उदाहरण

ईसापूर्व ५३७ तिर फारसका महान्‌ कोरेसले बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूलाई यरूशलेम फर्केर मन्दिर पुनर्निर्माण गर्ने काममा लाग्न एउटा उर्दी जारी गरे। (एज्रा १:१, २) त्यसपछिको वर्षमा यहोवाको उद्देश्‍यअनुरूपै ती मानिसहरूले नयाँ मन्दिरको जग बसाले। यस महत्त्वपूर्ण कामको पहिलो चरणमा यहोवाको आशिष्‌ पाएकोले ती मानिसहरू रमाए र उहाँको प्रशंसा गरे। (एज्रा ३:८, १०, ११) तर केही समय नबित्दै पुनर्निर्माणकार्यमा विरोध आयो र मानिसहरू निराश भए। (एज्रा ४:४) तिनीहरू फर्केको लगभग १५ वर्षपछि फारसी अख्तियारवालाहरूले यरूशलेममा भइरहेको सम्पूर्ण निर्माणकार्यमा प्रतिबन्ध लगाए। त्यस प्रतिबन्धलाई हरहालतमा लागू गर्न प्रान्तीय अधिकारीहरू यरूशलेम आए र “यहूदीहरूलाई जबरदस्त काम रोक्नलगाए।”—एज्रा ४:२१-२४.

यस्तो गम्भीर अवरोध सामना गर्दा ती यहूदीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिए। तिनीहरूले आफैलाई यसो भने: “परमप्रभुको भवन बनाउने समय अझ आएको छैन।” (हाग्गै १:२) तुरुन्तै मन्दिर निर्माण गर्ने परमेश्‍वरको इच्छा रहेनछ भन्‍ने निष्कर्षमा तिनीहरू पुगे। तिनीहरूले उहाँको इच्छा गर्न खोज्नुको सट्टा उहाँले दिनुभएको काम छोडे र आफ्नै घरलाई अझ राम्रो बनाउनमा व्यस्त भए। परमेश्‍वरका भविष्यवक्‍ता हाग्गैले तिनीहरूलाई सीधै यो प्रश्‍न सोधे: “यो भवन [यहोवाको मन्दिर] उजाड परिरहेको छँदाछँदै पनि के तिमीहरू आफूचाहिं छाना भएका घरमा बस्ने समय छ र?”—हाग्गै १:४.

यस उदाहरणबाट के तपाईं कुनै पाठ सिक्न सक्नुहुन्छ? परमेश्‍वरको उद्देश्‍य पूरा हुने समयबारे गलत धारणा राख्दा परमेश्‍वरको उपासनासित सम्बन्धित क्रियाकलापलाई बेवास्ता गर्न र आफ्नै रुचिका कुराहरूमा अलमलिन सक्छौं। मानिलिनुहोस्‌, तपाईं पाहुनाहरूलाई पर्खंदै हुनुहुन्छ। पर्खुन्जेल तिनीहरूका लागि विभिन्‍न तयारी गर्न भ्याइ न भ्याइ हुन सक्छ। तर तपाईं पाहुनाहरू आइपुग्न ढिलो हुनेछ भन्‍ने खबर पाउनुहुन्छ। के तपाईं तयारी गर्नै छोड्‌नुहुनेछ?

सम्झनुहोस्‌ त, हाग्गै र जकरियाले ती यहूदीहरूलाई यहोवा अझै पनि मन्दिर पुनर्निर्माणकार्य तुरुन्तै थालेको चाहनुहुन्छ भनी बुझ्न मदत गरे। हाग्गैले यस्तो आग्रह गरे: “हे देशका सबै प्रजा हो, साहस गर, काम शुरु गर।” (हाग्गै २:४) परमेश्‍वरको शक्‍तिले साथ दिनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै तिनीहरू आफूलाई अह्राइएको काममा लाग्नुपर्ने थियो। (जक. ४:६, ७) के यस उदाहरणले हामीलाई यहोवाको दिनबारे गलत निष्कर्ष निकाल्नदेखि जोगिन मदत गर्न सक्छ?—१ कोरि. १०:११.

झूटा तर्कहरू होइन, सही सोचाइ राख्ने

प्रेषित पत्रुसले आफ्नो दोस्रो पत्रमा “नयाँ आकाश र नयाँ पृथ्वी” स्थापना गर्ने यहोवाको समयतालिकाबारे बताए। (२ पत्रु. ३:१३) मानव गतिविधिहरूमा परमेश्‍वरले हस्तक्षेप गर्ने कुरामा गिल्ला गर्ने केही मानिसले शङ्‌का गरेको तिनले बताए। तिनीहरूले “सृष्टिको सुरुवात्‌देखि सबै कुरा जसरी चल्दै आएको थियो, . . . त्यसरी नै चलिरहेको” हुँदा केही हुनेछैन भनी गलत तर्क गरे। (२ पत्रु. ३:४) पत्रुस यस्तो गलत तर्कलाई सच्याउन चाहन्थे। तिनले लेखे: “केही कुरा सम्झना गराएर म तिमीहरूमा स्पष्टसित सोच्ने क्षमता जगाउँदैछु।” गिल्ला गर्नेहरू भ्रममा परेका हुन्‌ भनेर तिनले सँगी ख्रीष्टियनहरूलाई सम्झाए। विगतमा पनि परमेश्‍वरले विनाशकारी विश्‍वव्यापी जलप्रलय ल्याएर मानव गतिविधिमा हस्तक्षेप गर्नुभएको थियो।—२ पत्रु. ३:१, ५-७.

निराश र निष्क्रिय भएका यहूदीहरूलाई ईसापूर्व ५२० मा हाग्गैले पनि यस्तै किसिमको प्रोत्साहन दिएका थिए। तिनले उनीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरू आफ्ना-आफ्ना चालको विचार गर।” (हाग्गै १:५) उनीहरूको सोच्ने क्षमता जगाउन तिनले सँगी उपासकहरूलाई परमेश्‍वरले आफ्ना जनका लागि राख्नुभएको उद्देश्‍य र उहाँले गर्नुभएका प्रतिज्ञाहरू सम्झाए। (हाग्गै १:८; २:४, ५) त्यो प्रोत्साहन पाएलगत्तै सरकारी प्रतिबन्धको बाबजुद निर्माणकार्य फेरि सुरु भयो। फेरि पनि विरोधीहरूले निर्माणकार्यलाई रोक्ने कोसिस गरे तर तिनीहरू सफल भएनन्‌। प्रतिबन्ध खारेज गरियो र पाँच वर्षमा मन्दिरको निर्माणकार्य पूरा भयो।—एज्रा ६:१४, १५; हाग्गै १:१४, १५.

आफ्ना-आफ्ना चालको विचार गर्ने

अप्ठेरो परिस्थिति खडा हुँदा के हामी पनि हाग्गैको समयका यहूदीहरूजस्तै निराश हुने सम्भावना छ? निराश भयौं भने सुसमाचार प्रचार गर्ने जोस कायमै राख्न गाह्रो हुन सक्छ। तर हामीलाई केले निराश बनाउन सक्छ? यस संसारमा व्याप्त अन्यायले गर्दा हामी दुःख पाउन सक्छौं। हबकूकलाई विचार गर्नुहोस्‌, जसले यसरी सोधे: “कहिलेसम्म तपाईं मेरो दोहाइ सुन्‍नुहुन्‍न? उपद्रवको कारणले गर्दा म तपाईंमा पुकारा गर्दछु, औ तपाईं उद्धार गर्नुहुन्‍न।” (हब. १:२) परमेश्‍वरले ढिला गर्नुभयो जस्तो लागेर कोही-कोही ख्रीष्टियनले अविलम्बी भाव गुमाएर आरामदायी जीवनशैलीलाई पहिलो स्थान दिन सक्छन्‌। के तपाईंलाई पनि यस्तो हुन सक्छ? यस्तै प्रकारको तर्क गऱ्‍यौं भने हामीले आफैलाई धोका दिइरहेका हुन्छौं। ‘आफ्ना-आफ्ना चालको विचार गर्न’ र ‘स्पष्टसित सोच्ने क्षमता जगाउन’ धर्मशास्त्रले दिएको सल्लाह पालन गर्नु कत्ति महत्त्वपूर्ण छ! हामी आफैलाई सोध्न सक्छौं, ‘यो दुष्ट युग मैले सोचेभन्दा लामो समयसम्म रहेकोमा के म छक्क पर्नुपर्छ र?’

बाइबलले भविष्यवाणी गरेझैं पर्खनुपर्ने समय

यस युगको आखिरी समयबारे येशूले भन्‍नुभएका शब्दहरूलाई एकछिन विचार गर्नुहोस्‌। अन्तको दिनबारे येशूले गर्नुभएको भविष्यवाणीमा उहाँले हामीलाई जागा बस्न बारम्बार सल्लाह दिनुभएको कुरा मर्कूसको विवरणले प्रकट गर्छ। (मर्कू. १३:३३-३७) यहोवाको महान्‌ दिन आरमागेडोनबारे बताइएको भविष्यसूचक विवरणको बीचतिर हामी यस्तै खालको चेतावनी पाउँछौं। (प्रका. १६:१४-१६) किन यसरी बारम्बार चेतावनी दिइएको? किनभने लामो समयसम्म पर्खनुपऱ्‍यो जस्तो लाग्दा मानिसहरूले आफ्नो अविलम्बी भाव गुमाउन सक्ने खतरा हुन्छ। त्यसैले यस्ता सम्झौटाहरू चाहिन्छ।

यस युगको अन्तको पर्खाइमा बस्दा निरन्तर सचेत हुनुपर्ने आवश्‍यकतालाई येशूले दृष्टान्तद्वारा प्रस्ट पार्नुभयो। उहाँले एक घरमालिकबारे उल्लेख गर्नुभयो जसको घरमा चोरी भएको थियो। तिनले आफ्नो घरमा चोरी हुन नदिन के गर्न सक्थे? रातभरि जागा बस्न सक्थे। येशूले उक्‍त दृष्टान्तको अन्तमा हामीलाई यस्तो सल्लाह दिनुभयो: “आफू तयार रहेको प्रमाण देओ, किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।”—मत्ती २४:४३, ४४.

त्यस दृष्टान्तले पर्खनको लागि तयार हुनुपर्ने आवश्‍यकतालाई जोड दिन्छ, चाहे पर्खनुपर्ने त्यो समय लामो नै किन नहोस्‌। यस दुष्ट युग हामीले सोचेभन्दा लामो समयसम्म रहिरहेकोमा हामीले बढी नै चिन्ता लिनु हुँदैन। ‘यहोवाको दिन आएको छैन’ भनेर झूटो तर्क गर्दै हामीले आफैलाई धोका दिनु हुँदैन। यस्तो सोचाइले राज्यको सुसमाचार प्रचार गर्ने हाम्रो इच्छालाई सुस्त बनाउनेछ।—रोमी १२:११.

झूटा तर्कहरू उखेलेर फ्याँक्ने

झूटा तर्कहरूको सम्बन्धमा गलाती ६:७ मा पाइने यो सिद्धान्त लागू हुन्छ: “नबहकिओ . . . मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।” जमिनमा केही छरिएन भने त्यहाँ झारपात पलाइहाल्छ। त्यसैगरि यदि हामीले स्पष्टसित सोच्ने क्षमता जगाएनौं भने हाम्रो दिमागमा झूटा तर्कहरूले जरा गाड्‌न सक्छ। उदाहरणको लागि, हामी आफूलाई यसो भन्‍न सक्छौं, ‘यहोवाको दिन पक्कै आउँछ तर तुरुन्तै भने आउँदैन।’ यसरी आफूले आशा गरेको कुरालाई पछि सार्दा ईश्‍वरतान्त्रिक गतिविधिप्रतिको जोस सेलाउन सक्छ। समय बित्दै जाँदा साँचो उपासनालाई हामी बेवास्ता गर्न थाल्न सक्छौं। अनि हामी जागा नभएको समयमा यहोवाको दिन आउन सक्छ।—२ पत्रु. ३:१०.

“परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा” के रहेछ भनी निरन्तर जाँचेर पत्ता लगाइरह्‍यौं भने झूटा तर्कहरूले हाम्रो दिमागमा जरा गाड्‌ने छैन। (रोमी १२:२) यसो गर्न मदत गर्ने एउटा सर्वोत्तम तरिका नियमित रूपमा परमेश्‍वरको वचन पढ्‌नु हो। यहोवाले सधैं ठहराएको समयमै कदम चाल्नुहुन्छ भन्‍ने कुराप्रतिको हाम्रो विश्‍वस्ततालाई धर्मशास्त्रले बलियो बनाउन सक्छ।—हब. २:३.

अध्ययन, प्रार्थना, सभामा नियमित उपस्थिति र प्रचारकार्यका साथै दयालु कामहरूले हामीलाई ‘यहोवाको दिनको उपस्थितिलाई सधैं सम्झन’ मदत गर्नेछ। (२ पत्रु. ३:११, १२) यी कुरामा अटल भई लागिरहँदा यहोवाले याद गर्नुहुनेछ। प्रेषित पावल हामीलाई यसरी सम्झाउँछन्‌: “हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं।”—गला. ६:९.

यहोवाको दिन पछि सरेको छ भन्‍ने झूटो तर्क गरेर आफैलाई धोका दिने समय अहिले पटक्कै होइन। बरु यो आफ्नो मनलाई स्थिर बनाउने समय हो किनकि यहोवाको दिन नजिकै आएको छ।

[पृष्ठ ४-मा भएको चित्र]

हाग्गै र जकरियाले यहूदीहरूलाई निर्माणकार्यमा लाग्न आग्रह गरे

[पृष्ठ ५-मा भएको चित्र]

चोर आउँदैछ भनेर घरमालिकलाई पहिल्यै थाह भएको भए के हुन्थ्यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने