तपाईं भावशून्यताप्रति कस्तो प्रतिक्रिया जनाउनुहुन्छ?
१ मनोभाव वा भावनाको कमी हुनु अथवा चासो वा वास्ता नहुनु नै भावशून्यता हो। हामीले सेवकाईमा सामना गर्नुपर्ने सबैभन्दा सामान्य र अप्ठ्यारो मनोवृत्तिमध्ये यो एक हो। यसप्रति तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? के यसले गर्दा तपाईं सेवकाईमा सेलाउँदै जानुभएको छ? मानिसहरूलाई परमेश्वरको राज्य समाचार सुनाउन तपाईं कसरी भावशून्यतालाई जित्न सक्नुहुन्छ?
२ सर्वप्रथम, आफ्नो इलाकाका मानिसहरू भावशून्य हुनुको कारण बुझ्नुहोस्। राजनैतिक वा धार्मिक अगुवाहरूदेखि निराश भएर पो तिनीहरू भावशून्य भएका हुन् कि? के तिनीहरूले आफ्नो समस्याको कुनै समाधान नै छैन भन्ठान्छन्? के तिनीहरू उत्तम कुराको प्रतिज्ञाहरूप्रति शंका गर्छन्? के तत्कालै ठोस लाभहरू नदेखेसम्म आध्यात्मिक विषयमा तिनीहरू मन लगाउनै चाहँदैनन्?
३ राज्य आशा प्रकाश पार्नुहोस्: परमेश्वरको राज्यले समाधान नगर्ने कुनै समस्या नै छैन। त्यसकारण, राज्यले पूरा गर्ने प्रतिज्ञाहरूबारे हामी अरूलाई प्रत्येक अवसरमा बताउनेछौं। त्यसो गर्दा बाइबल पद देखाउन सम्भव वा व्यवहारिक नभए तापनि मुख्य धर्मशास्त्रीय बयानहरू उल्लेख गर्न सकिन्छ। (हिब्रू ४:१२) तथापि, राज्यले पूरा गर्ने प्रतिज्ञाहरूबारे कुरा कसरी अघि बढाउने?
४ हामी मानिसहरूलाई किन भेट्छौं, त्यो तिनीहरूलाई बुझाउनुपर्छ। छिमेकीप्रतिको प्रेम र समुदायप्रतिको चासोकै कारण हामी तिनीहरूकहाँ गएका हौं भनी तिनीहरूलाई बताउनु जरुरी छ। तिनीहरूलाई विचारपूर्ण प्रश्न सोध्नसक्छौं। जस्तै, “तपाईंको विचारमा [समुदायलाई असर गर्ने समस्या] कसरी समाधान गर्न सकिएला?” एउटा प्रश्नले चासो नजगाए अर्को प्रश्न सोध्नुहोस्।
५ एउटा सुसम्पन्न इलाकाका मानिसहरूले राज्य समाचारप्रति चासो नै लिंदैनन् थिए। चासो जगाउने किसिमको भूमिका बनाउन प्रकाशकहरूले प्रयास गरे। ज्ञान पुस्तक प्रस्तुत गर्दा एक दम्पतीले यस्तो भूमिका बाँधे: “वर्तमान संसारमा सफलता हासिल गर्न असल शिक्षा महत्त्वपूर्ण छ जस्तो तपाईंलाई लाग्छ? विस्तृत शिक्षामा बाइबलको ज्ञान पनि समावेश छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ?” तिनीहरूले एक दिन दिउँसो तीनवटा पुस्तक प्रस्तुत गरे। पुस्तक स्वीकार गर्ने एउटी आइमाईले ज्ञान पुस्तक पूरै पढी सिध्याएको कुरा पछि बताइन् र बाइबल अध्ययन गर्न राजी भइन्।
६ भावशून्य व्यक्तिहरू भेट्दा विभिन्न प्रस्तुतिहरू प्रयोग गर्नुहोस्। खुलदुली लाग्ने प्रश्नहरू सोध्नुहोस् अनि परमेश्वरको वचनको शक्ति सदुपयोग गर्नुहोस्। यसरी अरूलाई राज्यको अद्भुत आशा अँगाल्ने मदत दिन सक्नुहुन्छ।