“झन् बढ़ता” सभाहरू धाउनुहोस्
१ यहोवाका जनहरूका लागि एकै ठाउँमा भेला हुनु पहिलेदेखि नै महत्त्वपूर्ण थियो। मन्दिर तथा सभाघरहरू इस्राएलीहरूका लागि साँचो उपासना, ईश्वरीय शिक्षा र रमाइलो संगतिका केन्द्रहरू थिए। यस्तै शिक्षा र संगतिका लागि प्रारम्भिक मसीहीहरूले पनि एकै ठाउँमा भेला हुन छोडेनन्। यस डरलाग्दो आखिरी दिनमा दबाब र परीक्षाहरू बढ्दै गइरहेका छन्। त्यसकारण, हामीलाई पनि हाम्रा मण्डलीका सभाहरूले प्रदान गर्ने आध्यात्मिक बल चाहिन्छ। त्यसका लागि “झन् बढ़ता” सभाहरू धाउनुपर्छ। (हिब्रू १०:२५) हामी सभामा उपस्थित हुनुपर्ने निम्न तीन कारणहरू ध्यान दिनुहोस्।
२ संगतिका लागि: “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर” भनी धर्मशास्त्र हामीलाई चेताउनी दिन्छ। (१ थिस्स. ५:११) ईश्वरीय संगतिले हाम्रो दिमागमा राम्रा राम्रा विचारहरू भरिदिन्छ र भलाइ गर्न हामीलाई प्रेरित गर्छ। तर संगतिमा सामेल भएनौं भने हामी मूर्ख, स्वार्थी अझ अनैतिक सोचविचारतर्फ ढल्कन्छौं।—हितो. १८:१.
३ निर्देशनका लागि: हाम्रो हृदयमा परमेश्वरको प्रेमलाई सजीव पार्न मसीही सभाहरूले बाइबलका निर्देशनमूलक कार्यक्रम अविरल उपलब्ध गराउँछन्। यी सभाहरूले “परमेश्वरको सबै सल्लाह” पालन गर्न व्यवहारिक निर्देशन दिन्छन्। (प्रेरि. २०:२७) सभाहरूले हामीलाई सुसमाचार प्रचार गर्ने र सिकाउने प्रशिक्षण दिन्छन्। साथै बाइबल सत्य स्वीकार्ने व्यक्ति खोज्दा र तिनीहरूलाई सहयोग गर्दा अनुभव हुने आनन्द अझ बढाउँदै लान चाहिने सीपहरू पनि सिकाउँछन्।
४ सुरक्षाको लागि: यस दुष्ट संसारमा मण्डली साँच्चै आध्यात्मिक शरणस्थान अर्थात् शान्ति र प्रेमको आश्रयस्थल हो। मण्डलीको सभामा हामी उपस्थित हुँदा परमेश्वरको पवित्र आत्माले हामीमा “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम[जस्ता]” फलहरू खेती गर्न शक्तिशाली प्रभाव पारेको हुन्छ। (गला. ५:२२, २३) सभाहरूले हामीलाई विश्वासमा अटल र दृढ हुने बल दिन्छन्। तिनीहरूले पछि आउने परीक्षाका लागि तत्पर हुन पनि तयार पार्छन्।
५ सभाहरूमा नियमित उपस्थित हुँदा भजन १३३:१, ३ मा भजनरचयिताले तल बयान गरेझैं आनन्द अनुभव गर्नेछौं: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु . . . कत्ति असल र मनोहर कुरा हुन्छ!” आज परमेश्वरका जनहरू जहाँ उपासना गर्छन् अनि भेला हुन्छन्, “त्यहींनै परमप्रभुले आशिषको आज्ञा दिनुभ[एको छ], अनन्तको जीवन।”