स्मरणार्थको लागि सम्पूर्ण तयारी राम्ररी गर्नुहोस्
येशू ख्रीष्टको मृत्युको सम्झना गर्ने साँझको निम्ति सम्पूर्ण तयारी राम्ररी गर्नु ख्रीष्टका अनुयायीहरूका लागि साँच्चै ठूलो आनन्द र सम्मानको कुरा हो। (लूका २२:१९) स्मरणार्थको तयारी गर्न कस्ता व्यावहारिक कदम चाल्नुपर्छ?
◼ समय र स्थान: स्मरणार्थ हुने समय र निश्चित ठाउँबारे सबैले राम्ररी थाह पाएको हुनुपर्छ। एकभन्दा बढी मण्डलीले एउटै राज्यभवन प्रयोग गर्ने तालिका बनाएका छन् भने कार्यक्रमबीचको समय थोरै मात्र हुने भएकोले समयमै आउनुपर्छ र कार्यक्रम सिद्धिनेबित्तिकै हूलमूल नगरी हिंडिहाल्नुपर्छ। भवनको मूलढोका, मूलढोका नजिकैको खुल्ला ठाउँ, छेउछाउको सार्वजनिक बाटो अनि पार्क गर्ने ठाउँमा अनावश्यक भीड हुन नदिन प्रयास गर्नुपर्छ।
◼ निम्तोपर्ची: के प्रकाशकहरू सबैले निम्तोपर्ची पाइसके अनि उनीहरूलाई निम्तोपर्चीमा लेखिएका कुरा राम्ररी थाह छ? यो पर्ची कसरी प्रस्तुत गर्ने भनेर के तपाईंले अभ्यास गरिसक्नुभयो? तपाईं क-कसलाई निम्तो दिनुहुन्छ? सबै निम्तोपर्ची बाँड्न प्रयास गर्नुपर्छ।
◼ यातायात: केही जिज्ञासु व्यक्तिलाई वा केही भाइबहिनीलाई यात्रा गर्न वा अन्य व्यक्तिगत मदत चाहिन सक्छ। तिनीहरूका आवश्यकता पूरा गर्न कस्ता प्रबन्ध मिलाइएका छन्?
◼ प्रतीकहरू: रोटी र दाखमद्य सूर्य अस्ताएपछि मात्र पास गर्न मिल्ने भएकोले उक्त कुरालाई ध्यानमा राख्नुपर्छ। अशक्तताको कारण उपस्थित हुन नसक्ने अभिषिक्त जनकहाँ रोटी र दाखमद्य पुऱ्याउने प्रबन्ध मिलाउनुपर्छ। रोटी र दाखमद्य उचित प्रकारको हुनुपर्छ। साथै यसलाई राख्ने प्लेट र गिलास पनि उपयुक्त खालको हुनुपर्छ।—प्रहरीधरहरा, फेब्रुअरी १५, २००३, पृष्ठ १४-१५, अनुच्छेद १४, १७ हेर्नुहोस्।
◼ राज्यभवन: सभा गर्ने स्थान पहिल्यै राम्ररी सफा गर्नुपर्छ। प्लेटहरू, दाखमद्य राख्ने कप वा गिलासहरू, उपयुक्त टेबल र टेबलपोस पनि सभा हुने भवनमा पहिल्यै मिलाएर राख्नुपर्छ। यदि सभाको लागि अर्कै स्थान प्रयोग गर्ने हो भने त्यहाँ उपस्थित हुने सबै श्रोताले राम्ररी सुन्न सक्ने ध्वनि प्रणाली छ कि छैन पक्का गर्नुपर्छ। रोटी र दाखमद्य पास गर्ने भाइहरूका साथै आवश्यक परिचारकहरू पहिल्यै छान्नुपर्छ। उनीहरूको जिम्मेवारी, रोटी र दाखमद्य पास गर्ने उचित तरिका र भद्र पहिरन तथा कोरीबाटीबारे पहिल्यै निर्देशन दिनुपर्छ।
येशूको मृत्युको सम्झना गर्ने यस अत्यन्तै महत्त्वपूर्ण अवसरमा हामी व्यक्तिगत तवरमा र मण्डलीको रूपमा सम्पूर्ण तयारी राम्ररी गर्न चाहन्छौं। आफ्नो प्रिय पुत्र येशू ख्रीष्टको बलिदानमार्फत यहोवाले मानिसजातिको लागि गर्नुभएको प्रत्येक प्रबन्धको हृदयदेखि कदर गर्ने सबैलाई यहोवाले पक्कै पनि प्रशस्त आशिष् दिनुहुनेछ।