प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr20 जुलाई पृ. १-४
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०२०)
  • उपशीर्षकहरू
  • जुलाई ६-१२
  • जुलाई १३-१९
  • जुलाई २०-२६
  • जुलाई २७–अगस्त २
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०२०)
mwbr20 जुलाई पृ. १-४

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

जुलाई ६-१२

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ६-७

“म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”

it-2-E पृ. ४३६ अनु. ३

मोसा

इस्राएली पुरुषहरूमा पनि ठूलो परिवर्तन आयो। तिनीहरूले पहिला मोसाको योग्यतामा भरोसा गरेका थिए तर फारोको आदेशमा तिनीहरूको काम झनै गाह्रो भएपछि तिनीहरूले मोसाविरुद्ध यतिबिघ्न गनगन गर्न थाले कि मोसा निरुत्साहित भए अनि यहोवालाई पुकारे। (प्रस्थ ४:२९-३१; ५:१९-२३) त्यसबेला सर्वोच्च परमेश्‍वरले मोसालाई बलियो पार्न अब्राहाम, इसहाक र याकुबले जान्‍न चाहेको कुरा अर्थात्‌ यहोवा नामको पूरै अर्थ खुलाउने समय आएको छ भनी बताउनुभयो। त्यसको लागि उहाँले इस्राएलीहरूलाई छुटकारा दिनुहुने थियो अनि तिनीहरूलाई एउटा विशाल राष्ट्रको रूपमा स्थापित गर्नुहुने थियो। (प्रस्थ ६:१-८) तैपनि इस्राएली पुरुषहरूले मोसाको कुरा सुनेनन्‌। तर नवौँ विपत्तिपछि तिनीहरूले मोसालाई पूर्ण समर्थन गरे, जसले गर्दा दसौँ विपत्तिपछि मोसाले तिनीहरूलाई “सैन्य दलजस्तो गरी” व्यवस्थित तरिकामा त्यहाँबाट निकाल्न सके।—प्रस्थ १३:१८.

it-2-E पृ. ४३६ अनु. १-२

मोसा

मिश्रको फारोको अगाडि। मोसा र हारुनले ‘ईश्‍वरहरूको लडाइँमा’ प्रमुख भूमिका खेलिरहेका थिए। फारोले जादुगरहरूका प्रमुखहरू सम्भवतः यान्‍नेस र याम्ब्रेसलाई बोलाए (२ति ३:८) अनि सबै मिश्री देवीदेवताहरूको शक्‍ति जम्मा गर्न लगाएर यहोवाको शक्‍तिविरुद्ध खडा गराए। हारुनले मोसाको निर्देशनमा गरेको पहिलो चमत्कारले यहोवा मिश्री देवीदेवताहरूभन्दा उच्च हुनुहुन्छ भनेर प्रमाणित गरे तापनि फारोको हृदय झनै कठोर भयो। (प्रस्थ ७:८-१३) पछि तेस्रो विपत्ति आइपर्दा जादुगरहरूले यो कुरा मानिलिन बाध्य भए: “यसमा परमेश्‍वरकै हात छ!” तिनीहरूलाई पिलोको विपत्तिले असाध्यै सताएकोले मोसाको विरोध गर्न त्यस दौडान तिनीहरू फारोसामु हाजिर हुन समेत सकेनन्‌।—प्रस्थ ८:१६-१९; ९:१०-१२.

विपत्तिले हृदय नरम र कठोर बनाउने काम गऱ्‍यो। मोसा र हारुनले सबै दस विपत्तिको घोषणा गरे। मोसाले घोषणा गरेअनुसारै विपत्तिहरू आए र यसले तिनी परमेश्‍वरको प्रतिनिधि हुन्‌ भनेर प्रमाणित भयो। यहोवाको नामको घोषणा भयो अनि मिश्रभरि त्यसबारे चर्चा चल्यो र यसले गर्दा उहाँको नामप्रति केही मानिसहरूको हृदय नरम भयो भने केहीको कठोर। भन्‍नुको मतलब, इस्राएलीहरू र केही मिश्रीहरूको हृदय नरम भयो तर फारो, तिनका सल्लाहकारहरू र समर्थकहरूको चाहिँ कठोर भयो। (प्रस्थ ९:१६; ११:१०; १२:२९-३९) मिश्रीहरूले आफ्ना देवीदेवताहरूलाई क्रोधित तुल्याएकोले यस्तो विपत्ति भोग्नुपरेको हो भनेर सोचेनन्‌ बरु यहोवाले तिनीहरूको देवीदेवताहरूको न्याय गर्दै हुनुहुन्छ भनेर थाह पाए। नवौँ विपत्तिपछि “मिश्रमा फारोका चाकरहरू र मानिसहरूले मोसाको निकै सम्मान गर्न थाले।”—प्रस्थ ११:३.

बहुमूल्य रत्न खोजौँ

it-1-E पृ. ७८ अनु. ३-४

सर्वशक्‍तिमान्‌

यहोवाले अब्राहामसित इसहाकको जन्मबारे प्रतिज्ञा गर्नुहुँदा “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” (’एल शदाइ) भन्‍ने उपाधि प्रयोग गर्नुभयो। त्यो प्रतिज्ञा पक्कै पूरा हुनेछ भनेर अब्राहामले परमेश्‍वरको शक्‍तिमा पूर्ण विश्‍वास गर्नुपर्थ्यो। त्यसपछि यो उपाधि अब्राहामसित बाँधिएको करारका उत्तराधिकारीहरू इसहाक र याकुबलाई आशिष्‌ दिइँदा परमेश्‍वरलाई सम्बोधन गर्न प्रयोग गरियो।—उत्प १७:१; २८:३; ३५:११; ४८:३.

त्यसैले पछि यहोवाले मोसालाई यसो भन्‍न सक्नुभयो: “म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको [बि’एल शदाइ] रूपमा देखा परेको थिएँ। तर मेरो यहोवा नामले भने म तिनीहरूकहाँ प्रकट भइनँ।” (प्रस्थ ६:३) तर यसको मतलब, ती कुलपिताहरूलाई यहोवाको नाम थाह थिएन भन्‍ने होइन किनभने तिनीहरूले र तिनीहरूअघिका मानिसहरूले यो नाम पटक-पटक प्रयोग गरेका थिए। (उत्प ४:१, २६; १४:२२; २७:२७; २८:१६) कुलपिताहरूको बारेमा लेखिएको उत्पत्तिको किताबमा “सर्वशक्‍तिमान्‌” शब्द जम्मा ६ पटक उल्लेख गरिएको छ भने मौलिक हिब्रू लेखोटमा यहोवाको व्यक्‍तिगत नाम १७२ पटक प्रयोग गरिएको छ। हुनत ती कुलपिताहरूले व्यक्‍तिगत तवरमा परमेश्‍वरलाई मात्र “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” भन्‍ने उपाधि सुहाउँछ र उहाँ त्यो नामको योग्य हुनुहुन्छ भनेर अनुभव गरेका थिए, तैपनि यहोवा नामको पूरा अर्थ र त्यसले सङ्‌केत गर्ने कुरा बुझ्ने अवसर पाएका थिएनन्‌। यस सन्दर्भमा दि इल्युस्ट्रेटेड बाइबल डिक्सनरी-ले (खण्ड १, पृ. ५७२) यस्तो टिप्पणी गरेको छ: “कुलपिताहरूलाई प्रकट गरिएको कुरा भविष्यबारे गरिएको प्रतिज्ञाहरूसित सम्बन्धित थियो। यसले तिनीहरू याहवे यस्तो परमेश्‍वर (‘एल) हुनुहुन्छ, जो ती प्रतिज्ञाहरू पूरा गर्न सक्षम (सम्भवतः शदे-को एउटा अर्थ) हुनुहुन्छ भनेर विश्‍वस्त हुनुपर्ने कुरालाई सङ्‌केत गरेको हुनुपर्छ। बलिरहेको झाडीको अगाडि प्रकट गरिएको कुरा अझ सशक्‍त र प्रभावशाली थियो किनभने चिरपरिचित याहवे नाममा परमेश्‍वरको शक्‍ति र उहाँको निकटता र निरन्तर उपस्थिति समावेश थियो।”—जे. डि. डग्लसद्वारा संशोधित, १९८०.

it-2-E पृ. ४३५ अनु. ५

मोसा

मोसा हिचकिचाए तैपनि तिनलाई अयोग्य ठहराइएन। मोसाले राम्ररी बोल्न सक्दिनँ भनेर आत्मविश्‍वासको कमी भएको देखाए। तर अहिले तिनी ४० वर्षअघि इस्राएललाई छुटकारा दिन अग्रसर भएका मोसाजस्ता थिएनन्‌, तिनी परिवर्तन भइसकेका थिए। तिनले यहोवालाई त्यो जिम्मेवारी आफूलाई नसुम्पिन बिन्तीभाउ गरिरहे। अन्तमा तिनले त्यो जिम्मेवारी अरूलाई नै दिन बिन्ती पनि गरे। हुनत यसले गर्दा परमेश्‍वर क्रोधित हुनुभयो, तैपनि उहाँले मोसालाई त्याग्नुभएन बरु प्रवक्‍ताको रूपमा तिनको दाइ हारुनलाई खटाउनुभयो। मोसा परमेश्‍वरको प्रतिनिधि भएकोले हारुनको लागि तिनी “परमेश्‍वरजस्तै” भए किनभने मोसाको प्रवक्‍ता भएर हारुन बोले। त्यसलगत्तै इस्राएलका नाइकेहरूसितको भेटमा र फारोसित पटक-पटक भएको भेटमा परमेश्‍वरले मोसालाई निर्देशनहरू र आज्ञाहरू दिनुहुन्थ्यो र मोसाले ती निर्देशनहरू र आज्ञाहरू हारुनलाई सुनाउँथे जस्तो देखिन्छ। त्यसैले फारोको (मोसा ४० वर्षअघि भागेका फारोका उत्तराधिकारी) अगाडि वास्तवमा हारुन बोलेका थिए। (प्रस्थ २:२३; ४:१०-१७) पछि यहोवाले हारुनलाई मोसाको “भविष्यवक्‍ता”-को रूपमा सम्बोधन गर्नुभयो। भन्‍नुको अर्थ, जसरी मोसा परमेश्‍वरको भविष्यवक्‍ता थिए र तिनी उहाँबाट निर्देशन पाउँथे, त्यसरी नै हारुन पनि मोसाको निर्देशनअनुसार चल्नुपर्थ्यो। मोसालाई तिनी “फारोको अगाडि परमेश्‍वरजस्तै” बनाइँदै छन्‌ भनेर बताइयो, अर्थात्‌ तिनलाई परमेश्‍वरले शक्‍ति र फारोमाथि अख्तियार दिनुभएको थियो। त्यसैले अब मिश्रको राजादेखि डराउनुपर्ने कुनै कारण थिएन।—प्रस्थ ७:१, २.

जुलाई १३-१९

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ८-९

“घमन्डी फारोले अनजानमै परमेश्‍वरको उद्देश्‍य पूरा गरे”

it-2-E पृ. १०४०-१०४१

हठी

यहोवा परमेश्‍वरले मानिसहरूसित गर्नुभएको व्यवहारबाट के देखिन्छ भने कुनै व्यक्‍ति वा जातिहरू मृत्युको योग्य भए तापनि उहाँले तिनीहरूलाई जीवित रहन दिनुभएर धीरज देखाउनुभएको छ। (उत्प १५:१६; २प ३:९) उहाँको धीरजप्रति कसै-कसैले कृपा पाउन योग्य जीवन बिताएर सकारात्मक प्रतिक्रिया देखाएका छन्‌ (यहो २:८-१४; ६:२२, २३; ९:३-१५) भने अरू कतिपयचाहिँ यहोवा र उहाँका जनहरूप्रति झनै हठी भएका छन्‌। (व्य २:३०-३३; यहो ११:१९, २०) यहोवा मानिसहरूलाई हठी हुन दिनुहुनेभएकोले उहाँले ‘हृदय कठोर हुन दिनुहुन्छ’ वा ‘हृदय कठोर बनाइदिनुहुन्छ’ भन्‍ने विवरण पाइन्छ। उहाँ अन्तमा हठी मानिसहरूमाथि न्यायदण्ड ल्याउनुहुँदा उहाँको अथाह शक्‍ति प्रकट हुन्छ अनि उहाँको नाउँको चारैतिर घोषणा हुन्छ।—प्रस्थ ४:२१; युह १२:४०; रोमी ९:१४-१८ तुलना गर्नुहोस्‌।

it-2-E पृ. ११८१ अनु. ३-५

दुष्टता

साथै यहोवा परमेश्‍वरले परिस्थितिलाई यस्तो तरिकामा पनि मोड्‌न सक्नुहुन्छ, जसले गर्दा दुष्टहरूले उहाँको उद्देश्‍य अनजानमै पूरा गरिरहेका हुन्छन्‌। उनीहरूले उहाँको विरोध गरे तापनि उहाँले आफ्ना जनहरूको निष्ठा कायम राख्न मदत गर्नलाई आवश्‍यक परेमा उनीहरूलाई रोक्न सक्नुहुन्छ अनि त्यस्ता मानिसहरूको कामद्वारा पनि आफ्नो धार्मिकता प्रकट गर्न सक्नुहुन्छ। (रोमी ३:३-५, २३-२६; ८:३५-३९; भज ७६:१०) यसबारे हितोपदेश १६:४ मा यस्तो लेखिएको छ: “यहोवाले सबै कुरा आफ्नो उद्देश्‍यअनुसार गर्नुहुन्छ; उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्‍य राख्नुभएको छ।”

यसको राम्रो उदाहरण यहोवाले फारोलाई चलाएर मोसा र हारुनमार्फत दासत्वमा परेका इस्राएलीहरूलाई छुटकारा दिन मिलाउनुभएको प्रबन्ध हो। परमेश्‍वरले यी मिश्री शासकलाई दुष्ट बनाउनुभएको त थिएन तर उहाँले तिनलाई जीवित रहन दिनुभयो अनि यस्ता परिस्थितिहरू सृजना गर्नुभयो, जसले गर्दा फारोले आफैलाई दुष्ट साबित गरे र तिनी मृत्युको योग्य भए। यहोवाले यसो गर्नुको उद्देश्‍यबारे प्रस्थान ९:१६ मा यस्तो लेखिएको छ: “मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”

यहोवाले मिश्रमा दस विपत्ति ल्याउनुभएर अनि अन्तमा फारो र तिनको सेनालाई लाल समुद्रमा नाश गर्नुभएर प्रभावशाली ढङ्‌गमा आफ्नो असीमित शक्‍ति प्रकट गर्नुभयो। (प्रस्थ ७:१४–१२:३०; भज ७८:४३-५१; १३६:१५) धेरै वर्षपछिसम्म पनि थुप्रै राष्ट्रमा त्यो घटनाबारे चर्चा भइरह्‍यो। यसरी परमेश्‍वरको नाम पृथ्वीको चारैतिर घोषणा भयो। (यहो २:१०, ११; १स ४:८) यहोवाले फारोलाई उत्तिखेरै नाश गर्नुभएको भए उहाँको शक्‍ति र महिमा अद्‌भुत तरिकामा प्रकट हुने थिएन अनि उहाँका जनहरूको छुटकारा पनि सम्भव हुने थिएन।

जुलाई २०-२६

बाइबलमा पाइने अनमोल धन | प्रस्थान १०-११

“मोसा र हारुनले ठूलो साहस देखाए”

it-2-E पृ. ४३६ अनु. ४

मोसा

फारोसामु बोल्न साहस र विश्‍वासको खाँचो थियो। मोसा र हारुनले यहोवाको बल अनि उहाँको पवित्र शक्‍तिको मदत पाएर आफ्नो जिम्मेवारी पूरा गर्न सके। फारोको दरबारभित्रको दृश्‍य कल्पना गर्नुहोस्‌। त्यहाँ त्यसबेलाको अजेय विश्‍वशक्‍तिको शासक फारो थिए, जो हठी र अतुलनीय वैभवशाली व्यक्‍ति थिए। तिनी आफैलाई ईश्‍वर ठान्थे। तिनको वरिपरि सल्लाहकारहरू, सेनापतिहरू, अङ्‌गरक्षकहरू र दासहरू थिए। त्यहाँ धर्मगुरुहरू, जादुगरहरू अनि मोसाको विरोध गर्नेहरूको नाइके पनि थिए। त्यो राज्यमा फारोबाहेक यी मानिसहरू पनि शक्‍तिशाली मानिसहरूमा गनिन्थे। यी सबै प्रभावशाली मानिस फारोको पक्षमा खडा भएर मिश्री देवताहरूको समर्थन गर्थे। मोसा र हारुन फारोसामु एक पटक मात्र होइन, बारम्बार उपस्थित भए। प्रत्येक पटक फारोको हृदय कठोर हुँदै गयो किनभने तिनी हिब्रू दासहरूलाई आफ्नो मुठ्ठीमा राख्न कटिबद्ध थिए। आठौँ विपत्तिको घोषणा गरेपछि मोसा र हारुनलाई फारोसामुबाट धपाइयो र नवौँ विपत्तिपछि तिनीहरूलाई फारोसामु फेरि देखा परेमा मृत्युदण्ड दिइनेछ भनेर धम्क्याइयो।—प्रस्थ १०:११, २८.

बहुमूल्य रत्न खोजौँ

it-1-E पृ. ७८३ अनु. ५

प्रस्थान

यहोवाले आफ्नो शक्‍ति अद्‌भुत तरिकामा प्रकट गर्नुभएर आफ्नो नाम उच्च पार्नुभयो र इस्राएललाई छुटकारा दिनुभयो। लाल समुद्रको पूर्वी तटमा सुरक्षितसाथ पुगेपछि मोसाले गीत गाउन इस्राएलीहरूमाझ नेतृत्व लिए। उनकी दिदी भविष्यवक्‍ता मरियमले चाहिँ खैँजडी लिएर बजाउन थालिन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै उनको पछिपछि लागे अनि ती पुरुषहरूले गाएको सुनेर तिनीहरूले पनि गाउन थाले। (प्रस्थ १५:१, २०, २१) इस्राएलीहरू र तिनीहरूका शत्रुहरूबीच ठूलो भिन्‍नता देखियो। तिनीहरू मिश्रबाट निस्केपछि कुनै मानिस वा जनावरले तिनीहरूलाई हानि गरेन। तिनीहरूलाई कुकुरले समेत भुकेन। (प्रस्थ ११:७) हुनत प्रस्थानको विवरणमा फारो आफै आफ्नो सेनासित समुद्रमा गए र नाश भए भनेर लेखिएको छैन तर भजन १३६:१५ मा यहोवाले “फारो र तिनको सेनालाई लाल समुद्रमा फालिदिनुभयो” भनेर उल्लेख गरिएको छ।

जुलाई २७–अगस्त २

बाइबलमा पाइने अनमोल धन | प्रस्थान १२

“निस्तार चाडले ख्रिष्टियनहरूको लागि कस्तो अर्थ राख्छ?”

it-2-E पृ. ५८३ अनु. ६

निस्तार चाड

मिश्रमा निस्तार चाडको बेला घरहरूमा छर्किएको रगतले नाश गर्ने स्वर्गदूतबाट पहिला सन्तानहरूको उद्धार गऱ्‍यो। पछि यस चाडका केही पक्षहरू येसुमा पूरा भयो। पावलले अभिषिक्‍त ख्रिष्टियनहरूलाई पहिला सन्तानहरूको मण्डली (हिब्रू १२:२३) र ख्रिष्टलाई तिनीहरूको मुक्‍तिदाता भनेका छन्‌, जसले उहाँको रगतद्वारा मुक्‍ति पाउँछन्‌। (१थि १:१०; एफि १:७) निस्तार चाडको पाठोको एउटै हड्डी भाँच्नु हुँदैनथ्यो। येसुको पनि एउटै हड्डी भाँचिनेछैन भनेर भविष्यवाणी गरिएको थियो अनि यो उहाँको मृत्यु हुँदा पूरा भयो। (भज ३४:२०; युह १९:३६) त्यसैले व्यवस्थाअनुसार यहुदीहरूले सयौँ वर्षसम्म मनाइरहेको निस्तार चाड पछि आउने कुराको छाया थियो अनि त्यसले “परमेश्‍वरको पाठो” येसु ख्रिष्टलाई सङ्‌केत गऱ्‍यो।—हिब्रू १०:१; युह १:२९.

बहुमूल्य रत्न खोजौँ

it-2-E पृ. ५८२ अनु. २

निस्तार चाड

मिश्रमाथि आएको दस विपत्ति त्यहाँका देवीदेवताहरूमाथि गरिएको न्याय साबित भयो, विशेषगरि दसौँ विपत्ति, जसमा सबै पहिलो सन्तानको मृत्यु भयो। (प्रस्थ १२:१२) मिश्री रा देवको लागि थुमा पवित्र भएकोले निस्तार चाडको पाठोको रगत ढोकाको चौकोसमा छर्कनु मिश्रीहरूको लागि ईश्‍वरनिन्दा गरेको हुने थियो। साथै गोरुलाई पनि पवित्र ठानिन्थ्यो अनि गोरुको पहिलो सन्तान मारिँदा ओसिरिस देवलाई ठूलो धक्का पुग्ने थियो। फारोलाई रा देवको छोराको रूपमा हेरिन्थ्यो। त्यसैले फारोको जेठो छोराको मृत्यु हुँदा तिनी र रा दुवै शक्‍तिहीन भएको प्रमाणित हुने थियो।

it-1-E पृ. ५०४ अनु. १

सभा

यी सबै “पवित्र सभा”-को एउटा विशेषता भनेको ती सभाहरूको बेला मानिसहरूले कुनै किसिमको गाह्रो काम गर्नु हुँदैन थियो। उदाहरणको लागि, अखमिरा रोटीको चाडको पहिलो र सातौँ दिन “पवित्र सभा”-को दिन थियो, जसबारे यहोवाले यसो भन्‍नुभयो: “यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू। तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।” (प्रस्थ १२:१५, १६) तर “पवित्र सभा”-को दौडान पुजारीहरू यहोवालाई भेटी चढाउन व्यस्त हुँदा (लेवी २३:३७, ३८) तिनीहरू दैनिक कामकाज नगर्नू भन्‍ने आज्ञाविपरीत चलिरहेका हुँदैन थिए। यी अवसरहरू साधारण मानिसहरूको लागि केही पनि नगरी बस्ने समय थिएन बरु आध्यात्मिक तवरमा बलियो हुने समय थियो। साप्ताहिक विश्रामदिनमा मानिसहरू उपासना गर्न र निर्देशन पाउन एकसाथ भेला हुन्थे। त्यसपछि परमेश्‍वरको वचन सबैसामु पढिन्थ्यो र व्याख्या गरिन्थ्यो अनि पछि सभाघरहरूमा पनि यस्तै गर्न थालियो। (प्रे १५:२१) त्यसैले विश्रामदिन वा अरू “पवित्र सभा”-हरूको बेला मानिसहरूले कुनै पनि गाह्रो काम गर्दैन थिए बरु तिनीहरू सृष्टिकर्ता र उहाँका उद्देश्‍यहरूबारे प्रार्थना र मनन गर्नमा समर्पित हुन्थे।—समुदाय हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने