जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अगस्त ३-९
बाइबलमा पाइने अनमोल धन | प्रस्थान १३-१४
“साहसी होओ अनि यहोवाले कसरी उद्धार गर्नुहुन्छ, हेर”
w०९-E ३/१५ पृ. ७ अनु. २-३
यहोवालाई कहिल्यै नभुल्नुहोस्
मिश्री सेनाहरूका रथहरू लरखराइरहेको बेला सबै इस्राएली समुद्रको पूर्वीय तटमा पुगिसकेका थिए। तब मोसाले लाल समुद्रमाथि आफ्नो हात पसारे। त्यसपछि यहोवाले सुख्खा जमिनको दायाँबायाँ भएका पानीका पर्खालहरू ढालिदिनुभयो। लाखौँ टनबराबरको पानी फारो र तिनका सेनाहरूमाथि उर्लेर आयो। सबै शत्रु पानीमा डुबे, कोही पनि उम्कन पाएन। इस्राएलीहरू स्वतन्त्र भए!—प्रस्थ. १४:२६-२८; भज. १३६:१३-१५.
त्यस घटनाको खबर वरपरका देशहरूमा फैलँदा ती देशका मानिसहरूमाझ ठूलो त्रास छायो। (प्रस्थ. १५:१४-१६) चालीस वर्षपछि यरिहोकी राहाबले दुई जना इस्राएलीलाई यसो भनिन्: “तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ र यहाँका सबै मानिस आत्तिएका छन्। किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो . . . , त्यो हामीले सुनेका छौँ।” (यहो. २:९, १०) अन्यजातिहरूले समेत यहोवाले आफ्ना मानिसहरूलाई कसरी छुटकारा दिनुभयो भनेर भुलेका थिएनन्। स्पष्ट छ, इस्राएलीहरूसित उहाँलाई सम्झनुपर्ने झन् धेरै कारण थियो।
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. १११७
मूलबाटो, बाटो
प्राचीन समयदेखि विभिन्न महत्त्वपूर्ण व्यापारिक मार्गहरूलगायत मूलबाटोहरू र अरू बाटोहरूले प्यालेस्टाइनको इलाकाका सहरहरू र राज्यहरूलाई जोडेको थियो। (गन २०:१७-१९; २१:२१, २२; २२:५, २१-२३; यहो २:२२; न्या २१:१९; १स ६:९, १२; १३:१७, १८; राजाको मार्ग हेर्नुहोस्।) मिश्रबाट पलिस्तियाका सहरहरू गाजा र अस्कोलनमा पुऱ्याउने मुख्य बाटो थियो भन्ने मान्यता छ र त्यो बाटो बिस्तारै उत्तरपूर्वतिर मोडिएर मगिद्दोतिर जान्थ्यो। त्यसपछि त्यो गालिल समुद्रको उत्तरमा पर्ने हाजोरबाट दमिसकमा पुग्थ्यो। मिश्रबाट पलिस्तिया भएर प्रतिज्ञा गरिएको देशमा पुग्ने यो सबैभन्दा छोटो बाटो थियो। तर यहोवाले इस्राएलीहरूलाई त्यो बाटोबाट लैजानुभएन किनभने तिनीहरू पलिस्तियालीहरूको आक्रमणमा परेर हताश भएको उहाँ चाहनुहुन्न थियो।—प्रस्थ १३:१७.
it-1-E पृ. ७८२ अनु. २-३
प्रस्थान
लाल समुद्र कुन ठाउँमा दुई भाग भएको हुनुपर्छ, जहाँबाट इस्राएलीहरू पारि गए?
याद गर्नुपर्ने कुरा के हो भने इस्राएलीहरू यात्राको दोस्रो चरणमा पुगेपछि अर्थात् “निर्जनभूमिको छेउमा पर्ने एथाम” पुगेपछि परमेश्वरले मोसालाई “फर्केर पिहापिरोथ” जानू र “समुद्रनजिक . . . पाल टाँग्नू” भनेर आज्ञा दिनुभयो। यसो गर्दा फारोले इस्राएलीहरू “यताउता भौँतारिरहेका” छन् भनी सोच्ने थिए। (प्रस्थ १३:२०; १४:१-३) एल हज मार्ग सही मार्ग थियो भनेर तर्क गर्ने शास्त्रविद्हरूले “फर्कनु”-को लागि प्रयोग गरिएको हिब्रू क्रियाको अर्थ जोडदार भएको मान्यता राख्छन् अनि तिनीहरू त्यसले “मोड्नु” वा “अर्कोतिर जानु” भन्ने अर्थ मात्र दिँदैन बरु फर्केर आउनु वा कुनै बाधा छल्न लामो बाटो रोज्नुलाई सङ्केत गर्छ भन्ने गर्छन्। तिनीहरूका अनुसार स्वेज खाडीको शिरको उत्तरतिर पुगेपछि इस्राएलीहरू विपरीत दिशातिर फर्के अनि आफ्नो यात्रालाई खाडीको पश्चिमतिर भएको जेबेल एताका पर्वतमालाको पूर्वतिर मोडे। यदि इस्राएलीहरूको ठूलो सङ्ख्या उत्तरबाट खेदिएका भए तिनीहरूले तुरुन्तै उम्कन सजिलो बाटो फेला पार्न सक्ने थिएनन्। फलस्वरूप, अगाडि समुद्र हुने भएकोले तिनीहरू चारैतिरबाट थुनिने थिए।
इस्वी संवत् प्रथम शताब्दीको यहुदी मान्यताले यो कुरा दर्साउँछ। (पिहाहिरोथ हेर्नुहोस्।) तर अझ महत्त्वपूर्ण कुरा, त्यस घटनाबारे गरिएको वर्णन बाइबलको सरल विवरणसित मेल खान्छ। (प्रस्थ १४:९-१६) अर्कोतर्फ, धेरैजसो प्रख्यात विज्ञहरूको धारणा भने फरक छ। इस्राएलीहरू त्यस खाडीको शिरदेखि (वा लाल समुद्रको पश्चिमी खाडी) धेरै टाढाबाट पारि गएको हुनुपर्छ जस्तो देखिन्छ। त्यसैले फारोका सैन्य दलहरूले खाडीको शिरतिरको भूभागलाई सजिलै घेरा हाल्न सक्ने थिएनन् र अर्कोपट्टि भएका इस्राएलीहरूमाथि आक्रमण गर्न सक्ने थिएनन्।—प्रस्थ १४:२२, २३.
अगस्त १०-१६
बाइबलमा पाइने अनमोल धन | प्रस्थान १५–१६
“गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्”
it-2-E पृ. ४५४ अनु. १
सङ्गीत
इस्राएलमा समूहमा गाइने गीत दोहोरी शैलीको हुन्थ्यो। तिनीहरू या त दुइटा समूह बनाएर पालैपिलो गाउँथे या एक जनाले एउटा हरफ गाएपछि बाँकी समूहले त्यसको प्रतिउत्तर दिँदै गाउँथे। यस्तो शैलीको गीत बाइबलमा थुप्रै पाइन्छ। (प्रस्थ १५:२१; १स १८:६, ७) यस्तो प्रकारको गायन शैलीमा केही भजनहरू लेखिएका छन्। जस्तै; भजन १३६। नहेम्याहको समयमा धन्यवादको स्तुतिगान गाएका दुइटा ठूलो दलले र तिनीहरूमध्ये केहीले यरुसलेमको पर्खालको समर्पणमा यस्तै शैलीमा गाएका हुन सक्छन्।—नहे १२:३१, ३८, ४०-४२; गीत हेर्नुहोस्।
it-2-E पृ. ६९८
भविष्यवक्ता (महिला)
बाइबलमा मरियमलाई पहिलो महिला भविष्यवक्ता भनेर बताइएको छ। परमेश्वरले सम्भवतः मरियमलाई गीत गाउन उत्प्रेरित गर्नुभएर उनीमार्फत सन्देश दिन खोज्नुभएको हुनुपर्छ। (प्रस्थ १५:२०, २१) त्यसैले उनी र हारुनले मोसालाई यसो भनेको विवरण पाइन्छ: “के [यहोवाले] हामीमार्फत पनि बोल्नुभएको छैन र?” (गन १२:२) यहोवा आफैले पनि इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन “मोसा, हारुन र मरियमलाई” अघिअघि पठाउनुभयो भनेर मिकामार्फत बताउनुभयो। (मिका ६:४) हुनत मरियमले परमेश्वरको तर्फबाट बोल्ने सुअवसर पाएकी थिइन् तर परमेश्वरसितको उनको सम्बन्ध आफ्नो भाइ मोसाभन्दा कमजोर थियो। मरियम आफ्नो मर्यादामा रहन चुकेकीले परमेश्वरले उनलाई कडा दण्ड दिनुभयो।—गन १२:१-१५.
बहुमूल्य रत्न खोजौँ
w११-E ९/१ पृ. १४
के तपाईँलाई थाह थियो?
यहोवाले इस्राएलीहरूलाई निर्जनभूमिमा खानको लागि किन बट्टाई चरा जुटाइदिनुभएको हुन सक्छ?
इस्राएलीहरू मिश्रबाट निस्केको केही समयपछि परमेश्वरले तिनीहरूको लागि दुई पटकसम्म मासु खानलाई प्रशस्तगरि बट्टाई चराको प्रबन्ध गरिदिनुभयो।—प्रस्थान १६:१३; गन्ती ११:३१.
बट्टाई सानो चरा हो। यसको लम्बाइ लगभग ७ इन्च (१८ से.मि.) र तौल लगभग १०० ग्राम हुन्छ। यी चराहरूले पश्चिमी एसिया र युरोपको थुप्रै भूभागमा बच्चा कोरल्ने गर्छन्। बसाइँ सर्ने चरा भएकोले यिनीहरूले हिउँदको समय उत्तरी अफ्रिका र अरबियामा बिताउने गर्छन्। बसाइँ सर्ने बेला यो चराको एउटा ठूलो झुन्ड भूमध्य सागरको पूर्वीय तट हुँदै सिनै प्रायद्वीप पार गर्छ।
द न्यु वेस्टमिन्स्टर डिक्सनरी अफ द बाइबल-अनुसार बट्टाई “छिटो र राम्ररी उड्न सक्छ अनि बतासको बहाबसँगै उड्ने गर्छ। तर बतास बहने दिशा परिवर्तन भएमा वा लामो दूरीको उडान गरेर थकित भएमा पूरै झुन्ड जमिनमा खसेर शिथिल हुन्छ।” एक-दुई दिन जमिनमा बसेपछि मात्र यसले आफ्नो यात्रा फेरि सुरु गर्छ। यतिबेला सिकारीहरूले यी चराहरूलाई सजिलै पक्रन सक्छन्। बीसौँ शताब्दीको सुरुतिर इजिप्टले मासुको लागि वर्षेनी लगभग ३० लाख बट्टाई चरा निर्यात गरेको थियो।
इस्राएलीहरूले दुवै चोटि शरद ऋतुको बेला बट्टाईको मासु खाएका थिए। साधारणतया त्यो समयमा बट्टाई चरा सिनै इलाका भएर उडे तापनि इस्राएलीहरूको छाउनीतिर ‘बतास चलाएर’ बट्टाई चरा ल्याउनुहुने यहोवा नै हुनुहुन्थ्यो।—गन्ती ११:३१.
w०६-E १/१५ पृ. ३१
पाठकहरूको प्रश्न
इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको केही समय नबित्दै तिनीहरूले खानेकुराको लागि गनगन गर्न थाले। त्यसैले यहोवाले तिनीहरूको लागि मन्नको प्रबन्ध गरिदिनुभयो। (प्रस्थान १२:१७, १८; १६:१-५) त्यसबेला मोसाले हारुनलाई यस्तो निर्देशन दिए: “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्न भर्नुहोस् र त्यसलाई यहोवा परमेश्वरसामु राख्नुहोस् ताकि त्यो पुस्तौँपुस्तासम्म रहोस्।” विवरण अझ यसो भन्छ: “यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै हारुनले त्यो मन्न एउटा भाँडोमा [बहुमूल्य कागजपत्र राख्ने बाकस] हाले अनि त्यो सुरक्षित होस् भनेर सन्दुकअगाडि राखे।” (प्रस्थान १६:३३, ३४) त्यसबेला पक्कै पनि हारुनले एउटा भाँडोमा मन्न हालेका थिए। तिनले त्यो भाँडो साक्षीपाटीअगाडि राख्न मोसाले सन्दुक बनाएर त्यसमा ढुङ्गाका पाटीहरू नराखेसम्म पर्खनु पर्थ्यो।
अगस्त १७-२३
बाइबलमा पाइने अनमोल धन | प्रस्थान १७-१८
“मर्यादामा रहने पुरुषहरूले तालिम दिन्छन् र जिम्मेवारीहरू सुम्पन्छन्”
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ४०६
ईश्वरप्रेरित लेखोट
मोसाका लेखोटहरू ईश्वरप्रेरित लेखोट थिए किनभने तिनले परमेश्वरको प्रेरणा पाएर ती लेखेका थिए। बाइबलमा भएका थुप्रै प्रमाण केलाउँदा यो शुद्ध उपासनाको भरपर्दो निर्देशिका थियो भन्न सकिन्छ। मोसा आफै अग्रसर भएकोले इस्राएलीहरूको अगुवा र शासक बनेका थिएनन् अनि त्यस्तो जिम्मेवारी पाउँदा सुरुमा तिनी हिचकिचाएका थिए। (प्रस्थ ३:१०, ११; ४:१०-१४) तर परमेश्वरले मोसालाई हौसला दिनुभयो अनि तिनलाई चमत्कार गर्ने शक्ति दिनुभयो। तिनले गरेको चमत्कार देखेर फारोका जादुगरहरूले समेत त्यसमा परमेश्वरकै हात भएको मानिलिन बाध्य भए। (प्रस्थ ४:१-९; ८:१६-१९) त्यसैले मोसा आफैले चाहेर वक्ता र लेखक बनेका थिएनन्। बरु परमेश्वरप्रति आज्ञाकारी भएकोले र पवित्र शक्ति पाएकोले तिनी सुरुमा फारोसामु बोल्न अनि पछि बाइबलको भाग लेख्न उत्प्रेरित भए।—प्रस्थ १७:१४.
अगस्त २४-३०
बाइबलमा पाइने अनमोल धन | प्रस्थान १९-२०
“दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?”
w८९-E ११/१५ पृ. ६ अनु. १
दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?
पहिलो चार वटा आज्ञाले यहोवालाई खुसी बनाउन हामीले के गरेको उहाँ चाहनुहुन्छ भनेर जोड दिन्छ। (पहिलो) उहाँ आफ्नो मात्र उपासना गरिएको चाहने परमेश्वर हुनुहुन्छ। (मत्ति ४:१०) (दोस्रो) उहाँको कुनै पनि उपासकले मूर्तिपूजा गर्नु हुँदैन। (१ युहन्ना ५:२१) (तेस्रो) हामीले परमेश्वरको नाम सही र मर्यादित तरिकामा प्रयोग गर्नुपर्छ, अनादर हुनेगरि कहिल्यै प्रयोग गर्नु हुँदैन। (युहन्ना १७:२६; रोमी १०:१३) (चौथो) हामीले जीवनमा सधैँ पवित्र थोकहरूलाई प्राथमिकता दिनुपर्छ। यसो गर्दा हामी अति धर्मी हुने बाटोमा हिँड्नदेखि ‘विश्राम लिन’ सक्नेछौँ।—हिब्रू ४:९, १०.
w८९-E ११/१५ पृ. ६ अनु. २-३
दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?
(पाँचौँ) आमाबुबाप्रतिको आज्ञाकारिताले परिवारको एकता कायम राख्न र यहोवाको आशिष् पाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यो “प्रतिज्ञासहितको पहिलो आज्ञा”-ले साँच्चै उज्ज्वल आशा दिन्छ! यसो गर्दा “[तपाईँको] भलो” मात्र हुँदैन तर “पृथ्वीमा [तपाईँको] आयु लामो” पनि हुन्छ। (एफिसी ६:१-३) अहिले हामी यस वर्तमान दुष्ट रीतिरिवाजको “अन्तको दिनमा” बाँचिरहेकोले यस्तो आज्ञाकारिताले युवायुवतीलाई कहिल्यै नमर्ने जीवनको आशा दिन्छ।—२ तिमोथि ३:१; युहन्ना ११:२६.
छिमेकीप्रतिको प्रेमले उसलाई हानि पुऱ्याउने यी दुष्कर्म गर्नदेखि हामीलाई रोक्छ: (छैठौँ) हत्या, (सातौँ) व्यभिचार, (आँठौँ) चोरी र (नवौँ) झूटो साक्षी दिने। (१ युहन्ना ३:१०-१२; हिब्रू १३:४; एफिसी ४:२८; मत्ति ५:३७; हितोपदेश ६:१६-१९) तर हाम्रो मनोवृत्तिबारे के भन्न सकिन्छ? (दसौँ) लोभ नगर्नू भन्ने आज्ञाबाट महत्त्वपूर्ण कुरा बुझ्न सकिन्छ। त्यो हो, हाम्रो मनोवृत्ति यहोवाको नजरमा सधैँ सही हुनुपर्छ भनेर उहाँ चाहनुहुन्छ।—हितोपदेश २१:२.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ६८७ अनु. १-२
पुजारी
ख्रिष्टियन पुजारीगिरी। यहोवाले इस्राएलीहरूलाई उहाँको करार पालन गरेमा तिनीहरू “पुजारीहरूको राज्य र पवित्र जाति” हुने प्रतिज्ञा गर्नुभएको थियो। (प्रस्थ १९:६) तर हारुनको वंशको पुजारीगिरी भविष्यको महान् पुजारीगिरीको छाया मात्र भएकोले त्यो पछि परिवर्तन हुने थियो। (हिब्रू ८:४, ५) व्यवस्थाको करार अन्त भएपछि र नयाँ करार स्थापना भएपछि त्यो रद्द हुने थियो। (हिब्रू ७:११-१४; ८:६, ७, १३) इस्राएलीहरूले प्रतिज्ञा गरिएको यहोवाको राज्यमा उहाँको पुजारी भएर सेवा गर्ने पहिलो सुअवसर पाएका थिए र पछि यो सुअवसर अन्यजातिका मानिसहरूले पनि पाए।—प्रे १०:३४, ३५; १५:१४; रोमी १०:२१.
यहुदीहरूमध्ये केहीले मात्र येसुलाई स्विकारेकोले त्यो राष्ट्र वास्तविक पुजारीहरूको राज्य र पवित्र राष्ट्रको सदस्य बन्न चुक्यो। (रोमी ११:७, २०) इस्राएलीहरू परमेश्वरप्रति वफादार नरहेकोले परमेश्वरले तिनीहरूलाई आफ्नो भविष्यवक्ता होसेमार्फत सयौँ वर्षअघि नै यस्तो चेतावनी दिनुभएको थियो: “तिमीहरूले मलाई चिन्न इन्कार गरेका छौ, त्यसैले म पनि तिमीहरूलाई इन्कार गर्नेछु र मेरो पुजारी हुन दिनेछैनँ। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्था बिर्सेका छौ, त्यसैले म पनि तिमीहरूका सन्तानलाई बिर्सनेछु।” (होसे ४:६) त्यसैगरि येसुले यहुदी धर्मगुरुहरूलाई यसो भन्नुभयो: “परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।” (मत्ति २१:४३) तर येसु पृथ्वीमा हुनुहुँदा व्यवस्थाको अधीनमा हुनुभएकोले हारुनको पुजारीगिरी स्विकार्नुभयो अनि उहाँले निको पार्नुभएको एक जना कुष्ठरोगीलाई पुजारीकहाँ जान र तोकिएअनुसार भेटी चढाउन निर्देशन दिनुभयो।—मत्ति ८:४; मर्कु १:४४; लुका १७:१४.
अगस्त ३१–सेप्टेम्बर ६
बाइबलमा पाइने अनमोल धन | प्रस्थान २१-२२
“जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्”
it-1-E पृ. २७१
पिटाइ
हिब्रू मालिकले आफ्नो अटेरी वा विद्रोही दास वा दासीलाई लट्ठीले हिर्काउन पाउँथे। तर यदि पिटाइ खाएर त्यो दास वा दासी मऱ्यो भने हिर्काउने मालिकले सजाय पाउँथे। तर ऊ एक वा दुई दिन बाँचेको खण्डमा मालिकले उसलाई मार्ने मनसायले हिर्काएको होइन भनेर प्रमाणित हुन्थ्यो। तिनले त्यो दास वा दासीलाई “दाम तिरेर किनेको” हुनाले अनुशासनको लागि सजाय दिनु तिनको अधिकार थियो। कसैले पनि आफ्नो घाटा हुनेगरि आफ्नै मूल्यवान् सम्पत्ति नाश गर्न कहिल्यै चाहेको हुँदैन। साथै यदि त्यो दास वा दासी एक दिन वा केही दिनपछि मऱ्यो भने उसको मृत्यु पिटाइले गर्दा भएको हो कि अन्य कारणले, यकिनका साथ भन्न मिल्दैनथ्यो। त्यसैले यदि ऊ एक वा दुई दिन बाँच्यो भने मालिकले सजाय पाउँदैनथे।—प्रस्थ २१:२०, २१.
w१०-E ४/१५ पृ. २९ अनु. ४
यहोवा तपाईँ “सकुशल” हुनुभएको चाहनुहुन्छ
व्यवस्थाका नियमहरू घरपालुवा जनावरले चोट पुऱ्याएको मामिलामा पनि लागू हुन्थ्यो। यदि कुनै गोरुले आफ्नो सिङले हानेर कुनै मान्छेलाई माऱ्यो भने त्यसको मालिकले अरू मानिसको सुरक्षाको लागि त्यस गोरुलाई मार्नुपर्थ्यो। तिनले त्यसको मासु खान वा त्यसको मासु अरूलाई बेच्न नमिल्ने भएकोले त्यसलाई मार्दा ठूलो नोक्सानी हुन्थ्यो। तर मानिलिनुहोस्, कुनै गोरुले मानिसलाई घाइते बनायो तर त्यसको मालिकले त्यसलाई बाँधेर राखेन भने नि? त्यही गोरुले पछि कसैलाई माऱ्यो भने त्यो गोरु र त्यसको मालिक दुवैले मृत्युदण्ड पाउँथे। आफ्नो वस्तुभाउको रेखदेख गर्न अवहेलना गर्नेहरूलाई व्यवस्थामा कडा चेतावनी दिइएको थियो।—प्रस्थ. २१:२८, २९.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ११४३
सिङ
प्रस्थान २१:४ मा उल्लेख गरिएको अभिव्यक्तिको अर्थ हत्यारा पुजारीले पनि मृत्युदण्ड पाउने थिए वा जानाजानी हत्या गर्ने पुजारी वेदीको सिङ समातेर बसे तापनि तिनी मृत्युदण्डदेखि उम्कन सक्दैनथे भन्ने हुन सक्छ।—१रा २:२८-३४ तुलना गर्नुहोस्।