जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
नोभेम्बर १०-१६
बाइबलमा पाइने अनमोल धन श्रेष्ठगीत ३–५
भित्री सुन्दरताको महत्त्व
g०४ १२/२२ पृ. ९ अनु. २-५
सबैभन्दा महत्त्वपूर्ण सुन्दरता
के भित्री सुन्दरताले अरूलाई आकर्षित गर्छ? विवाह गरेको झन्डै दस वर्ष भइसकेको जोर्जिना यसो भन्छिन्, “मेरो श्रीमान् इमानदार हुनुहुन्छ र मप्रति वफादार हुनुहुन्छ। त्यसैले मलाई उहाँ निकै मन पर्छ अनि उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरलाई खुसी बनाउनु हो। त्यसले गर्दा उहाँ अझ विचारशील अनि मायालु हुनुभएको छ। निर्णयहरू गर्दा उहाँ मेरो पनि राय लिनुहुन्छ। त्यसैकारण उहाँले मेरो कदर गर्नुभएको महसुस गर्छु। उहाँ मलाई धेरै माया गर्नुहुन्छ।”
सन् १९८७ मा विवाह गरेका ड्यानिएल यसो भन्छन्, “मेरी श्रीमती असाध्यै सुन्दर छिन्। उनको बाहिरी रूप मात्र होइन, भित्री व्यक्तित्व पनि सुन्दर छ। जुन मलाई निकै मन पर्छ। उनी विचारशील छिन् र सधैँ अरूको ख्याल राख्छिन्। उनमा थुप्रै असल गुणहरू छन्। त्यसैले मलाई उनीसित हुन पाउँदा निकै खुसी लाग्छ।”
अहिलेको संसारमा मानिसहरू बाहिरी रूपलाई बढ्तै महत्त्व दिन्छन्। तर साँच्चै भन्ने हो भने संसारले देखाउने जस्तो “चिटिक्क परेको” रूपरङ्ग बनाउन सजिलो भने छैन। तर हामी आफ्नो भित्री सुन्दरतालाई राम्रो बनाउने गुणहरू भने विकास गर्न सक्छौँ। बाइबल भन्छ, “बाहिरी रूप भ्रामक होला अनि सौन्दर्य पनि उडेर जाला तर यहोवाको डर मान्ने स्त्रीले अरूको प्रशंसा पाइरहन्छिन्।” साथै बाइबलमा यस्तो पनि चेतावनी दिइएको छ, “कुनै स्त्री सुन्दरी भए पनि ऊसँग सुझबुझ छैन भने ऊ सुङ्गुरको थुतुनोमा लगाइदिएको सुनको बुलाकीजस्तै हुन्छे।”—हितोपदेश ११:२२; ३१:३०.
परमेश्वरको वचनले हामीलाई भित्री व्यक्तित्वको मोल गर्न सिकाउँछ। परमेश्वरको वचन भन्छ, “तिमीहरूको सिँगार हृदयको सिँगार होस् र तिमीहरू आफूलाई शान्त अनि नम्र मनोभावले सिँगार किनकि यस्तो सिँगार कहिल्यै बिग्रेर जाँदैन र परमेश्वरको नजरमा त्यो ठूलो मोलको हुन्छ।” (१ पत्रुस ३:४) साँच्चै यस्तो भित्री सुन्दरता बाहिरी सुन्दरताभन्दा कता हो कता बहुमूल्य हुन्छ अनि हामी सबैले यो विकास गर्न सक्छौँ।
नोभेम्बर १७-२३
बाइबलमा पाइने अनमोल धन श्रेष्ठगीत ६–८
ढोकाजस्तो होइन, पर्खालजस्तो हुनुहोस्
yp2 पृ. ३३
सुलम्मेनी युवती—एक उत्कृष्ट उदाहरण
रोमान्टिक चासो देखाउने सन्दर्भमा सोच्ने बुझ्ने क्षमता चलाउनुपर्छ भनेर सुलम्मेनी युवतीलाई थाह थियो। त्यसैले उनले आफ्ना साथीहरूलाई यसो भनिन्, “म तिमीहरूलाई कसम खान लगाउँछु: मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।” भावनाले सोच्ने बुझ्ने क्षमतालाई सजिलै असर गर्छ भनेर उनले बुझेकी थिइन्। जस्तै: कुनै व्यक्ति आफ्नो लागि सुहाउँदो जोडी नभए तापनि अरूले तिनीसित रोमान्टिक चासो राख्न दबाब दिन सक्छन् भनेर उनले बुझेकी थिइन्। त्यसको साथै आफ्नै भावनाले पनि सही निर्णय गर्नदेखि उनलाई रोक्न सक्थ्यो। त्यसैले सुलम्मेनी युवती “पर्खाल”-जस्तै भइरहिन्।—श्रेष्ठगीत ८:४, १०.
के प्रेमप्रति तपाईँको दृष्टिकोण सुलम्मेनी युवतीको जस्तै छ? के तपाईँ भावनामा बहेर नभई सोचविचार गरेर निर्णय गर्नुहुन्छ? (हितोपदेश २:१०, ११) कुनै व्यक्तिसित रोमान्टिक सम्बन्ध गाँस्न तयार नभए तापनि कहिलेकाहीँ अरूले तपाईँलाई त्यसो गर्न दबाब दिन सक्छन्। कहिलेकाहीँ आफ्नै भावनाहरूले गर्दा पनि त्यस्तो दबाब महसुस हुन सक्छ। उदाहरणको लागि, जवान केटाकेटीले हात समातेर हिडिँरहेको देख्दा के तपाईँलाई आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ? के तपाईँ बाइबलको शिक्षाअनुसार नचल्ने व्यक्तिहरूप्रति रोमान्टिक चासो राख्नुहुन्छ? रोमान्टिक चासो देखाउने सन्दर्भमा सुलम्मेनी युवतीले बुद्धिमानी निर्णय गरिन्। तपाईँ पनि त्यस्तै गर्न सक्नुहुन्छ।
नोभेम्बर २४-३०
बाइबलमा पाइने अनमोल धन यसैया १–२
‘कुकर्मले भरिएका मानिसहरूको’ लागि आशा
ip-1 पृ. १४ अनु. ८
एक बुबा र तिनका विद्रोही छोराहरू
८ यसैयाले कडा शब्दहरू चलाउँदै यहुदा राष्ट्रलाई यस्तो सन्देश सुनाउँछन्: “धिक्कार छ! ए पापी राष्ट्र! ए कुकर्मले भरिएका मानिसहरू! ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी! तिमीहरूले यहोवालाई त्यागेका छौ; इस्राएलका पवित्र परमेश्वरको अनादर गरेका छौ अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।” (यसैया १:४) दुष्टहरूको कामले सीमा नाघ्दा सहनै नसक्ने हुन्छ। अब्राहामको समयमा सदोम र गमोराका मानिसहरूको पाप कत्ति धेरै थियो भनेर बुझाउन यहोवाले यसो भन्नुभयो: “तिनीहरूले घोर कुकर्म गरेका छन्।” (उत्पत्ति १८:२०) अहिले यहुदाका मानिसहरूको अवस्था पनि त्यस्तै थियो। यसैयाले तिनीहरूलाई “कुकर्मले भरिएका” मानिसहरू भनी बताए। साथै तिनले ती मानिसहरूलाई “दुष्टहरूको समूह!,” “भ्रष्ट केटाकेटी!” भनेर पनि सम्बोधन गरे। ती यहुदीहरू विद्रोही केटाकेटीहरूजस्तै थिए। तिनीहरूले उहाँलाई “आफ्नो पिठिउँ” फर्काए। एउटा बाइबल अनुवादमा तिनीहरू आफ्नो बुबाबाट “पूर्णतया टाढिए” भनेर बताइएको छ।
बहुमूल्य रत्न
ip-1 पृ. ३९ अनु. ९
यहोवाको भवन उच्च पारियो
९ अहिले परमेश्वरका सेवकहरू यहोवाको उपासना गर्न साँच्चिकै कुनै डाँडामा बनाएको मन्दिरमा भेला हुँदैनन्। हुनत यरुसलेममा यहोवाको एउटा मन्दिर थियो तर त्यो मन्दिर पनि रोमी सेनाहरूले इस्वी संवत् ७० मा नष्ट गरिदिए। यसबाहेक प्रेषित पावलले यरुसलेमको मन्दिर र वासस्थानले प्रतीकात्मक कुरा अर्थात् ‘यहोवा परमेश्वरले टाँग्नुभएको साँचो पाललाई’ बुझाउँछ भनी बताए। (हिब्रू ८:२) पालले केलाई बुझाउँछ? येसु ख्रिष्टको बलिदानको आधारमा यहोवाको उपासना गर्ने प्रबन्धलाई बुझाउँछ। (हिब्रू ९:२-१०, २३) त्यसैले यसैया २:२ मा उल्लेख गरिएको “यहोवा परमेश्वरको भवनको डाँडा”-ले हाम्रो समयमा उच्च पारिएको यहोवाको उपासनालाई बुझाउँछ। हो, चारैतिरबाट मानिसहरू यहोवाको डाँडामा भेला हुनुको अर्थ कुनै साँच्चैको डाँडामा भेला हुने कुरालाई नभई उपासनामा एकताबद्ध हुने कुरालाई बुझाउँछ।
डिसेम्बर १-७
बाइबलमा पाइने अनमोल धन यसैया ३–५
यहोवाले हामी आज्ञाकारी भएको आशा गर्नु स्वाभाविक हो
“यो अङ्गुरको बोटको हेरचाह गर्नुहोस्”!
यसैयाले ‘इस्राएलको घरानालाई’ ‘जङ्गली अङ्गुरको’ फल फलाउने अङ्गुर बगानसित तुलना गरे। (यसैया ५:२, ७) जङ्गली अङ्गुर खेती गरिएको अङ्गुरभन्दा निकै सानो हुन्छ। जङ्गली अङ्गुरमा गुदीभन्दा बियाँ धेरै हुन्छ। त्यसैले त्यो खान वा मद्य बनाउन काम लाग्दैन। धर्मत्यागी राष्ट्रलाई बुझाउन यो तुलना सुहाउँदो थियो किनभने तिनीहरूले धार्मिक स्तरअनुसार नचलेर यहोवाको स्तर उल्लङ्घन गरेर नराम्रो फल फलाए। तिनीहरूले यस्तो फल फलाउनुमा बगान मालिकको कुनै गल्ती थिएन। यहोवाले इस्राएल राष्ट्रले असल फल फलाओस् भनेर आफूले सकेजति सबै गर्नुभएको थियो। उहाँले यसो भन्नुभयो: “मैले आफ्नो अङ्गुर बगानको लागि के मात्र गरिनँ? मैले त्यसको लागि सबथोक गरेँ।”—यसैया ५:४.
“यो अङ्गुरको बोटको हेरचाह गर्नुहोस्”!
इस्राएलले असल फल नफलाएकोले यहोवाले आफ्ना मानिसहरूलाई जोगाउन बनाउनुभएको पर्खाल भत्काइदिने चेतावनी दिनुभयो। अब उहाँले आफ्नो प्रतीकात्मक बगानलाई छिमल्ने वा गोडमेल गर्नुहुने थिएन। त्यसमा पानी पनि बर्सिने थिएन बरु काँडा र सिउँडीहरूले अङ्गुर बगान भरिने थियो।—यसैया ५:५, ६.
डिसेम्बर ८-१४
बाइबलमा पाइने अनमोल धन यसैया ६–८
“म हाजिर छु! मलाई पठाउनुहोस्!”
ip-1 पृ. ९५ अनु. १५-१६
यहोवा परमेश्वर आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ
१५ अब यहोवा यसैयालाई तिनले मानिसहरूलाई के भन्नुपर्ने हो अनि मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन् भनेर बताउनुहुन्छ।“जाऊ र यी मानिसहरूलाई भन: ‘तिमीहरूले बारम्बार सुन्नेछौ तर केही बुझ्नेछैनौ। तिमीहरूले बारम्बार देख्नेछौ तर केही सिक्नेछैनौ।’ तिनीहरूको मन बोधो बनाइदेऊ, तिनीहरूको कान बन्द गरिदेऊ र तिनीहरूको आँखा टालिदेऊ ताकि तिनीहरूले केही पनि नदेखून्, तिनीहरूले केही पनि नसुनून् र तिनीहरूको मनले केही पनि नबुझोस् अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।” (यसैया ६:९, १०) के त्यसको मतलब यसैयाले सोचविचार नगरी बोल्नुपर्छ, कौशलता अपनाउनुपर्दैन भन्न खोजिएको हो, जसले गर्दा यहुदीहरू यहोवाबाट टाढिने थिए? पटक्कै होइन! ती यहुदीहरू यसैयाका आफ्नै भाइबन्धुहरू थिए, जसलाई तिनी माया गर्थे। तर यहोवाले भन्नुभएका शब्दहरूले यसैयाले जति नै वफादार भएर आफ्नो जिम्मेवारी पूरा गरे तापनि यहुदीहरूले तिनको कुरा सुन्नेछैनन् भन्ने कुरालाई सङ्केत गर्थ्यो।
१६ यसमा गल्ती ती यहुदीहरूकै थियो किनभने यसैयाले “बारम्बार” तिनीहरूलाई सन्देश सुनाउने थिए तर तिनीहरूले सुन्ने थिएनन् न त बुझ्ने नै थिए। धेरैजसो मानिसहरू जिद्दी अनि भावशून्य हुने थिए। एक अर्थमा तिनीहरू पूरै बहिरो अनि अन्धोजस्तै हुने थिए। यसैया “ती मानिसहरू” कहाँ बारम्बार जाँदा कुन कुरा स्पष्ट हुने थियो? तिनीहरू यसैयाको कुरा बुझ्नै चाहँदैन थिए भन्ने कुरा स्पष्ट हुने थियो। यहोवाले यसैयामार्फत् दिनुभएको सन्देशप्रति तिनीहरूले आफ्नो मन र दिमाग आफैले बन्द गरेको साबित गर्ने थिए। आजका मानिसहरूबारे पनि त्यसै भन्न सकिन्छ। यहोवाका साक्षीहरूले परमेश्वरको राज्यबारे जति नै सुनाए तापनि धेरैजसो मानिसहरू त्यो सन्देश सुन्न इन्कार गर्छन्।
ip-1 पृ. ९९ अनु. २३
यहोवा परमेश्वर आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ
२३ येसुले आफ्नो समयमा पनि यो भविष्यवाणी पूरा भइरहेको छ भनेर देखाउन यसैयाको भविष्यवाणी उद्धृत गर्नुभयो। येसुको समयका मानिसहरूको मनोवृत्ति पनि यसैयाको समयका यहुदीहरूको जस्तै थियो। तिनीहरूले येसुको सन्देश सुन्न इन्कार गरेर आफैलाई अन्धो र बहिरो बनाए, जसले गर्दा तिनीहरूले विनाश भोग्नुपऱ्यो। (मत्ति २३:३५-३८; २४:१, २) इ.सं ७० मा सेनापति टाइटसको नेतृत्वमा रोमी सैनिकहरूले यरुसलेम सहरलाई विनाश गरे र त्यहाँको मन्दिर जलाइदिए। केहीले भने येसुको कुरा सुनेका थिए र उहाँको चेला बनेका थिए। त्यसैले येसुले तिनीहरूलाई तिमीहरू “आनन्दित हौ” भन्नुभयो। (मत्ति १३:१६-२३, ५१) “यरुसलेमलाई सैनिकहरूले घेरेको” देखेपछि तिनीहरू “डाँडाहरूतिर भाग्न थालून्” भनेर येसुले भन्नुभएको थियो। (लुका २१:२०-२२) त्यसैले येसुको चेतावनीमा ध्यान दिने र त्यसअनुसार चल्ने आध्यात्मिक राष्ट्र अर्थात् “परमेश्वरको इस्राएल” त्यस विनाशबाट बचे।—गलाती ६:१६.
डिसेम्बर १५-२१
बाइबलमा पाइने अनमोल धन यसैया ९–१०
‘चहकिलो ज्योतिको’ भविष्यवाणी
ip-1 पृ. १२५-१२६ अनु. १६-१७
शान्तिका राजकुमारबारे गरिएको प्रतिज्ञा
१६ यसैया ९:१ मा यसैयाले यस्तो भविष्यवाणी गरे: “पछि परमेश्वरले यर्दनको इलाकामा पर्ने समुद्रपारिको त्यो बाटो अर्थात् जातिजातिहरूको गालिललाई महिमित पार्नुहुनेछ।” यस भविष्यवाणीले येसु ख्रिष्टले यस पृथ्वीमा सेवा गर्नुहुँदाको समयलाई बुझाउँछ। येसुले पृथ्वीमा आफ्नो सेवाको दौडान धेरैजसो समय गालिलमा बिताउनुभयो। यही ठाउँमा येसुले आफ्नो सेवा सुरु गर्नुभयो अनि यसरी प्रचार गर्न थाल्नुभयो: “स्वर्गको राज्य नजिकै आएको छ।” (मत्ति ४:१७) गालिलमा नै उहाँले प्रख्यात डाँडाको उपदेश दिनुभएको थियो, प्रेषितहरू छान्नुभएको थियो र पहिलो चमत्कार गर्नुभएको थियो। साथै आफू फेरि जीवित हुनुभएपछि ५०० भन्दा धेरै चेलाकहाँ देखा पर्नुभएको ठाउँ पनि गालिल नै थियो। (मत्ति ५:१–७:२७; २८:१६-२०; मर्कुस ३:१३, १४; युहन्ना २:८-११; १ कोरिन्थी १५:६) यसप्रकार यसैयाले भविष्यवाणी गरेझैँ येसुले “नप्तालिको भूमि र जबुलुनको भूमि”-लाई महिमित पार्नुभयो। तर येसुले गालिलमा मात्र प्रचारकार्य सीमित राख्नुभएन। इस्राएलको चारैतिर प्रचार गर्नुभयो। यसरी उहाँले यहुदा अनि पूरै इस्राएल राष्ट्रलाई “महिमित” पार्नुभयो।
१७ तर मत्तिले गालिलका मानिसहरूले “चहकिलो ज्योति देखे” भन्नुको अर्थ के हो? यो पनि तिनले यसैयाको भविष्यवाणीबाट उद्धरण गरिरहेका थिए। यसैयाले यस्तो लेखेका थिए: “अँध्यारोमा हिँडिरहेका मानिसहरूले चहकिलो ज्योति देखे। अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथि ज्योति चम्कियो।” (यसैया ९:२) प्रथम शताब्दीमा झूटा उपासनाले गर्दा सत्यको ज्योति ओझेलमा परेको थियो। यहुदी धर्मगुरुहरूले विभिन्न धार्मिक प्रचलनहरू अपनाएर “परमेश्वरको वचनलाई बेकामको” तुल्याएका थिए। (मत्ति १५:६) नम्र मानिसहरू ती “अन्धा अगुवाहरू”-को पछि लागेकाले अन्योलमा परेका थिए। (मत्ति २३:२-४, १६) तर येसुले परमेश्वरबारे साँचो शिक्षा सिकाउनुभएपछि ती नम्र मानिसहरूको आँखा खुल्यो। (युहन्ना १:९, १२) पृथ्वीमा हुनुहुँदा येसुले गर्नुभएको काम र उहाँको बलिदानले गर्दा पाएको आशिष्लाई यसैयाको भविष्यवाणीमा उल्लेख गरिएको “चहकिलो ज्योति” भन्न एकदमै उपयुक्त छ।—युहन्ना ८:१२.
ip-1 पृ. १२८-१२९ अनु. २०-२१
शान्तिका राजकुमारबारे गरिएको प्रतिज्ञा
२० यसैयाले यस्तो भविष्यवाणी गरेका थिए: “मिद्यानीहरूको समयमा जस्तै तपाईँले तिनीहरूको बोझिलो जुवा टुक्राटुक्रा पारिदिनुभएको छ, तिनीहरूका काँधको लौरो र तिनीहरूलाई काम अह्राउनेको छडी भाँचिदिनुभएको छ।” (यसैया ९:४) यस कुराबाट मसीहको काम चिरस्थायी हुनेछ भनेर प्रमाणित हुन्छ। यसैयाको समय भन्दा शताब्दियौँअघि मिद्यानीहरूले मोआबीहरूसँग मिलेर इस्राएलीहरूलाई पापमा फसाउने षड्यन्त्र रचेको थियो। (गन्ती २५:१-९, १४-१८; ३१:१५, १६) पछि मिद्यानीहरूले सात वर्षसम्म इस्राएलीहरूलाई थिचोमिचो गरे। तिनीहरूले इस्राएलीहरूको खेतमा आक्रमण गरेर बालीनाली लुट्थे। (न्यायकर्ता ६:१-६) तर पछि यहोवाले आफ्नो सेवक गिदोनमार्फत मिद्यानी सेनालाई हराउनुभयो। त्यस दिनपछि इस्राएलीहरू मिद्यानीहरूको हातबाट थिचोमिचोमा परेको विवरण बाइबलमा पाइँदैन। (न्यायकर्ता ६:७-१६; ८:२८) त्यसरी नै चाँडै नै महान् गिदोन येसु ख्रिष्टले यहोवाका जनहरूको शत्रुको नामोनिसान मेटिदिनुहुनेछ। (प्रकाश १७:१४; १९:११-२१) “मिद्यानीहरूको समयमा” जस्तै त्यतिबेला पनि मानिसहरूको शक्तिले नभई यहोवाको शक्तिले गर्दा उहाँका शत्रुहरूमाथि पूर्णतया जित हासिल हुनेछ, त्यो पनि सधैँभरिका लागि। (न्यायकर्ता ७:२-२२) परमेश्वरका सेवकहरूले पछि फेरि कहिल्यै बोझिलो जुवा बोक्नु पर्नेछैन।
२१ परमेश्वरले कहिल्यै पनि युद्ध र हिंसालाई बढावा दिने उद्देश्यले आफ्नो शक्तिको प्रदर्शन गर्नुहुन्न। फेरि जीवित हुनुभएका येसु शान्तिका राजकुमार हुनुहुन्छ। उहाँले शत्रुहरूलाई सदासर्वदाको लागि नामेट पार्नुहुनेछ र चिरस्थायी शान्ति ल्याउनुहुनेछ। युद्धमा प्रयोग हुने हरेक चिजलाई आगोद्वारा भस्म गरिनेछ भनेर यसैयाले बताए। तिनले यस्तो लेखे: “जमिन थर्काउँदै अघि बढ्ने सिपाहीहरूका जुत्ता र रगतमा लतपतिएका सबै लुगा आगोमा भस्म गरिनेछ।” (यसैया ९:५) युद्ध लड्नको लागि सिपाहीहरूले जमिन थर्काउँदै अघि बढेको फेरि कहिल्यै सुनिनेछैन। रगतमा लतपतिएका ती कठोर मन भएका सैनिकहरूको लुगा कहिल्यै देखिनेछैन। हो, युद्ध फेरि कहिल्यै हुनेछैन!—भजन ४६:९.
डिसेम्बर २२-२८
बाइबलमा पाइने अनमोल धन यसैया ११-१३
मसीहबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?
ip-1 पृ. १६० अनु. ९
मसीही राज्यले दिने उद्धार र आनन्द
९ यसैयाले मसीहका थप गुणहरूबारे यस्तो भविष्यवाणी गर्छन्: “आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्। अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्।” (यसैया ११:३ख) के तपाईँ यस्तो न्यायाधीशको कदर गर्नुहुन्न र? मानवजातिको न्यायकर्ताको हैसियतमा मसीह मानिसहरूको झूटो तर्क, अदालतमा गरिने छली तर्क, अफवाह वा धनसम्पत्तिको लोभमा परेर बहकिनुहुन्न। उहाँको नजरमा कपट लुक्न सक्दैन किनकि उहाँ हरेक मानिसको “हृदयको” कुरा बुझ्न सक्नुहुन्छ। (१ पत्रुस ३:४) ख्रिष्टियन मण्डलीमा न्यायसम्बन्धी मामिलाहरू सम्हाल्नेहरूका लागि येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ।—१ कोरिन्थी ६:१-४.
ip-1 पृ. १६१ अनु. ११
मसीही राज्यले दिने उद्धार र आनन्द
११ गल्ती गर्नेहरूलाई सुधार्ने सन्दर्भमा येसुले एल्डरहरूका लागि राम्रो उदाहरण बसाल्नुभयो। किनभने उहाँका चेलाहरूले गल्ती गर्दा तिनीहरूले लाभ उठाउन सक्ने तरिकामा सुधार्नुहुन्थ्यो। तर अर्कोतिर दुष्ट काम गरिरहनेहरूले सजाय भोग्नुपर्नेछ। किनभने परमेश्वरले यस संसारको लेखा लिनुहुँदा मसीहले आफ्नो वचनले “पृथ्वीलाई” हिर्काउनुहुनेछ र सबै दुष्टहरूलाई नाश गर्नुहुनेछ। (भजन २:९; प्रकाश १९:१५ तुलना गर्नुहोस्।) त्यसपछि यस पृथ्वीमा शान्ति भङ्ग गर्ने दुष्टहरू हुनेछैनन्। (भजन ३७:१०, ११) येसुको कम्मरको पटुका धार्मिकता र कम्मरपेटी सत्यता भएकोले उहाँसँग यसो गर्ने शक्ति छ।—भजन ४५:३-७.
डिसेम्बर २९—जनवरी ४
बाइबलमा पाइने अनमोल धन यसैया १४-१६
परमेश्वरका जनहरूका शत्रुहरू सजायदेखि उम्कन सक्नेछैनन्
ip-1 पृ. १८९ अनु. १
राष्ट्रहरूविरुद्ध यहोवाको फैसला
यहोवा आफ्ना सेवकहरूको दुष्ट कामको सजाय दिनको लागि अरू राष्ट्रहरूलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। तर ती राष्ट्रहरू क्रुर हुन्छन्, घमन्डी हुन्छन् र साँचो उपासनालाई घृणा गर्छन् भने यहोवा त्यो कुरा कदापि सहनुहुन्न। त्यसैले धेरै वर्षअघि नै यहोवाले भविष्यवक्ता यसैयालाई ‘बेबिलोनविरुद्ध गरिएको घोषणा’ रेकर्ड गर्न लगाउनुभयो। (यसैया १३:१) तर इस्राएलीहरूलाई बेबिलोनीहरूदेखि धेरै पछि मात्र खतरा हुने थियो। यसैयाको समयमा अस्सेरियालीहरूले परमेश्वरका जनहरूलाई सताइरहेका थिए। अस्सेरियालीहरूले इस्राएलको उत्तरी राज्य र यहुदाका केही इलाकालाई तहसनहस पारिसकेका थिए। तर तिनीहरूको यो जित केही समयको लागि मात्र थियो। यसैया यस्तो लेख्छन्: “सेनाहरूका यहोवाले यसो भनेर शपथ खानुभएको छ: ‘मैले जस्तो सोचेको छु, त्यस्तै हुनेछ। . . . म अस्सेरियालाई मेरो भूमिमा धुलोपिठो पार्नेछु। मेरा डाँडाहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूको गर्दनबाट त्यसको जुवा हटाउनेछु अनि तिनीहरूको काँधबाट त्यसको भारी हटाउनेछु।’” (यसैया १४:२४, २५) यसैयाले यो भविष्यवाणी गरेको केही समयपछि नै यहुदीहरूमा अस्सेरियालीहरूको डर हट्यो।
ip-1 पृ. १९४ अनु. १२
राष्ट्रहरूविरुद्ध यहोवाको फैसला
१२ यसैयाले यस्तो लेखे: “मोआबबारे यहोवाले पहिला नै दिनुभएको सन्देश यही हो। अब यहोवा यसो भन्नुहुन्छ: ‘ज्यालादारी मजदुरको तीन वर्षभित्रै मोआबको गौरव चर्को होहल्ला र खैलाबैलासहित धुलोमा मिल्नेछ। असाध्यै थोरै मानिस बाँकी रहनेछन्, तिनीहरू नभएको बराबर हुनेछन्।’” (यसैया १६:१३, १४) यो भविष्यवाणी साँच्चै पूरा भयो। पुरातात्विक प्रमाणअनुसार ईसापूर्व आठौँ शताब्दीको दौडान मोआबले धेरै ठूलो क्षति बेहोर्नुपऱ्यो। त्यहाँका थुप्रै इलाकामा असाध्यै थोरै मानिस मात्र बाँकी भए। राजा तिग्लाथ-पिलेसर तृतीयको भनाइअनुसार मोआबका राजा सालमानुले तिनलाई तिरो तिर्ने गर्थे। मोआबका राजा काम्मुसुनाद्विले पनि सनहेरिबलाई तिरो तिर्थे। अस्सेरियाका राजाहरू एसर-हद्दोन र अस्सुरबानिपालले बताएअनुसार मोआबका राजाहरू मुसुरि र कामाशाल्तु तिनीहरूको अधीनमा थिए। हुनत मोआबीहरूको नामोनिसान मेटिएको शताब्दियौँ भइसक्यो। तर अहिले फेला परेका केही सहरका भग्नावशेषहरू मोआबीहरूको सहरहरू हुन सक्छ भनी पुरातत्त्वविद्हरू बताउँछन्। एक समय मोआब इस्राएल राष्ट्रको ठूलो शत्रु थियो। तर अचम्मको कुरा त्यो सहरको पुरातात्विक प्रमाण एकदमै थोरै छ।