जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
अगस्त ११-१७
बाइबलमा पाइने अनमोल धन हितोपदेश २६
“मूर्ख” मानिसबाट टाढै रहनुहोस्
it-2-E पृ. ७२९ अनु. ६
वर्षा
मौसमहरू। प्रतिज्ञा गरिएको देशमा मुख्यगरि दुई वटा मौसम हुने गर्छ। गर्मीमा सुख्खा हुन्छ भने हिउँदमा चाहिँ वर्षा हुने गर्छ। (भज ३२:४; श्रेष्ठ २:११ तुलना गर्नुहोस्।) अप्रिल महिनाको बीचदेखि अक्टोबर महिनाको बीचसम्म निकै कम वर्षा हुन्छ। त्यो समयमा कटनीको काम गरिन्छ। हितोपदेश २६:१ बाट कटनीको बेला खासै पानी पर्दैनथ्यो भनेर बुझ्न सक्छौँ। (१स १२:१७-१९ तुलना गर्नुहोस्।) हिउँदमा वर्षा हुने गर्छ तर निरन्तर पानी परिरहँदैन; कुनै-कुनै दिन मौसम सफा हुन्छ। तर त्यतिबेला जाडो हुने भएकोले पानीमा भिज्दा झनै चिसो हुन्छ। (एज्रा १०:९, १३) त्यसैले ओत लाग्ने राम्रो ठाउँ हुनु जरुरी छ।—यसै ४:६; २५:४; ३२:२; अयु २४:८.
w८७-E १०/१ पृ. १९ अनु. १२
अनुशासनले शान्तिको फल फलाउँछ
१२ कहिलेकाहीँ केही व्यक्तिहरूलाई सुधार्न कडा अनुशासन दिनुपर्ने हुन्छ, जसबारे हितोपदेश २६:३ यसो भन्छ: “घोडाको लागि कोर्रा, गधाको लागि लगाम अनि मूर्ख मानिसको पिठिउँको लागि छडी।” कहिलेकाहीँ यहोवाले पनि इस्राएल राष्ट्रलाई तिनीहरूले आफैमाथि निम्त्याएको समस्याको नतिजा भोग्न दिनुभयो। “किनकि तिनीहरूले परमेश्वरको वचनको विद्रोह गरेका थिए; सर्वोच्च परमेश्वरको सल्लाहलाई तिनीहरूले तुच्छ ठानेका थिए। त्यसैले तिनीहरूलाई दुःख भोग्न दिएर उहाँले तिनीहरूको हृदयलाई नम्र तुल्याउनुभयो; तिनीहरू ठेस खाएर लडे तर तिनीहरूलाई मदत गर्ने कोही थिएन। सङ्कटमा पर्दा तिनीहरूले यहोवालाई मदतको लागि पुकारे; तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुभयो।” (भजन १०७:११-१३) तर केही मूर्ख मानिसहरू जिद्दी गर्छन् र कुनै अनुशासन स्विकार्न चाहँदैनन्। तिनीहरूबारे बाइबल यसो भन्छ: “जो बारम्बार हप्काउँदा पनि अटेरी भइरहन्छ, उसको पतन अकस्मात् हुनेछ।”—हितोपदेश २९:१.
it-2-E पृ. १९१ अनु. ४
लङ्गडो
भनाइ। बुद्धिमान् राजा सुलेमानले यसो भने: “आफ्नो काम मूर्खलाई जिम्मा लगाउने मानिस आफ्नै खुट्टा काट्ने [लङ्गडो] मानिसजस्तै हो।” हुन पनि यदि कुनै मानिसले मूर्खलाई कुनै काम सुम्पन्छन् भने तिनले आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका हुन्छन्। तिनले सुम्पेको त्यो काम पक्कै पनि विफल हुनेछ र तिनलाई नै हानि पुग्नेछ।—हित २६:६.
अगस्त १८-२४
बाइबलमा पाइने अनमोल धन हितोपदेश २७
साँचो साथी कस्तो हुन्छ?
it-2-E पृ. ४९१ अनु. ३
छिमेकी
साथीमाथि भरोसा राख्न र खाँचो परेको बेला तिनीहरूसित मदत माग्न हितोपदेशको किताबमा सल्लाह दिइएको छ। त्यहाँ यस्तो लेखिएको छ: “आफ्नो साथीलाई वा आफ्नो बुबाको साथीलाई नत्याग अनि तिमीलाई विपद् आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; टाढा बस्ने दाजुभाइभन्दा नजिकै बस्ने तिम्रो छिमेकी बेस।” (हित २७:१०) यहाँ लेखकले नजिकै बस्ने साथीको कदर गर्नुपर्छ र दाजुभाइसित भन्दा ती साथीसित मदत माग्नु बेस हुन्छ भनेर बताए। किनभने मदत चाहिँदा टाढा बस्ने दाजुभाइ नजिकको साथीले जस्तो तुरुन्तै अनि सजिलै मदत दिन सक्ने अवस्थामा हुँदैनन्।
अगस्त २५-३१
बाइबलमा पाइने अनमोल धन हितोपदेश २८
दुष्ट र धर्मीबीचको भिन्नता
w९३-E ५/१५ पृ. २६ अनु. २
के तपाईँ सारा हृदयले यहोवाको आज्ञा पालन गर्दै हुनुहुन्छ?
“धर्मी मानिस सिंहजस्तै आँटिलो हुन्छ।” (हितोपदेश २८:१) तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र ढुक्क भई उहाँको वचनमा भर पर्छन्। अनि जस्तोसुकै खतरा आइपरे पनि साहसी भई यहोवाको सेवा गर्छन्।
it-1-E पृ. १२११ अनु. ४
सत्यनिष्ठा
यहोवा परमेश्वरमाथि गहिरो विश्वास र भरोसा राख्यौँ भने र उहाँको रक्षा गर्ने शक्तिमा भर पऱ्यौँ मात्र हामी सत्यनिष्ठ रहन सक्नेछौँ। यो हामीले आफैमा भर परेर कायम गर्न सक्ने कुरा होइन। (भज २५:२१) सत्यनिष्ठाको बाटोमा हिँड्नेहरूलाई “ढाल” अनि “शरणस्थान” भएर रक्षा गर्नेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (हित २:६-८; १०:२९; भज ४१:१२) तिनीहरू यहोवाको अनुमोदन पाउने कुरामा ध्यान केन्द्रित गरिरहने भएकोले तिनीहरूको जीवन स्थिर रहन्छ र तिनीहरू आफ्नो लक्ष्यतर्फ पुऱ्याउने सही बाटोमा हिँडिरहन सक्नेछन्। (भज २६:१-३; हित ११:५; २८:१८) अय्युबलाई जस्तै हामीलाई पनि दुष्टहरूले गर्दा किन निर्दोष मानिसहरूले दुःख भोग्नुपरेको र दृष्टहरूसँगै नाश हुनुपरेको जस्तो लाग्न सक्छ। तर यहोवा निर्दोष मानिसहरूको अवस्था बुझ्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। उहाँ तिनीहरूलाई सधैँभरि रहिरहने उत्तराधिकार दिनुहुन्छ, तिनीहरूले भविष्यमा शान्तिसित जीवन बिताउन पाउनेछन् र प्रशस्त इनाम पाउनेछन्। (अयु ९:२०-२२; भज ३७:१८, १९, ३७; ८४:११; हित २८:१०) अय्युबको सन्दर्भमा जस्तै धनसम्पत्तिले नभई सत्यनिष्ठाले मानिसलाई यहोवाको नजरमा असल बनाउँछ र तिनले अरूको आदर कमाउन सक्छन्। (हित १९:१; २८:६) अय्युबजस्तै सत्यनिष्ठ बुबा हुनु छोराछोरीको लागि खुसीको कुरा हो। (हित २०:७) बुबाले बसालेको राम्रो उदाहरण, तिनले कमाएको राम्रो नाम अनि आदरबाट छोराछोरीले पनि लाभ उठाउन सक्छन्।