प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अक्टोबर पृ. १२-१७
  • येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबाट हामी के सिक्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबाट हामी के सिक्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरूलाई प्रोत्साहन दिनुहोस्‌
  • बाइबलको कुरा बुझ्न मदत गर्नुहोस्‌
  • भाइहरूलाई ‘वरदानको रूपमा दिइएका पुरुष’ हुन मदत गर्नुहोस्‌
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अक्टोबर पृ. १२-१७

अध्ययन लेख ४१

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबाट हामी के सिक्न सक्छौँ?

“उहाँ . . . तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्‍वरको राज्यबारे बताइरहनुभयो।”​—प्रेषि. १:३.

सिक्न सकिने कुरा

येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनमा के-के गर्नुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?

१-२. दुई जना चेला इम्माउसतिर जाँदै गर्दा के हुन्छ?

इस्वी संवत्‌ ३३, नीसान १६ को कुरा हो, येसुका चेलाहरू निराश र दुःखी छन्‌। अनि तिनीहरू असाध्यै डराएका छन्‌। किनभने तिनीहरूका गुरु येसुलाई केही दिनअघि मात्र मृत्युदण्ड दिइएको थियो। मसीहले यहुदीहरूको उद्धार गर्नेछन्‌ भनेर तिनीहरूले आशा गरेका थिए। तर तिनीहरूको त्यो आशा चकनाचुर भएको छ। तिनीहरूमध्ये दुई जना चेला यरुसलेमबाट ११ किलोमिटरजति टाढा पर्ने इम्माउस भनिने गाउँतिर यात्रा गर्दै छन्‌। यात्रा गर्दै गर्दा तिनीहरूले सोच्दै नसोचेको एउटा घटना घट्‌छ।

२ एक जना अपरिचित व्यक्‍ति तिनीहरू सँगै हिँड्‌न थाल्छन्‌। चेलाहरूले ती अपरिचित व्यक्‍तिलाई येसु मारिनुभएकोले आफूहरू एकदमै दुःखी भएको कुरा बताउँछन्‌। त्यसपछि ती व्यक्‍तिले बताउने कुरा तिनीहरूले कहिल्यै बिर्सने थिएनन्‌। “मोसा र सारा भविष्यवक्‍ताको लेखोटदेखि सुरु गरेर” मसीहले दुःख भोग्नु अनि मारिनु किन आवश्‍यक थियो भनेर तिनी बताउँछन्‌। तिनीहरू इम्माउस पुगेपछि ती अपरिचित व्यक्‍तिले आफ्नो परिचय खुलाउँछन्‌। उहाँ फेरि जीवित हुनुभएका येसु हुनुहुन्थ्यो। मसीह जीवित हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा ती चेलाहरू कत्ति खुसी भए होलान्‌!—लुका २४:१३-३५.

३-४. चेलाहरूले येसुलाई भेटेपछि नतिजा कस्तो भयो र यस लेखमा हामी के छलफल गर्नेछौँ? (प्रेषित १:३)

३ येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनको दौडान उहाँ आफ्ना चेलाहरूकहाँ थुप्रै चोटि देखा पर्नुभयो। (प्रेषित १:३ पढ्‌नुहोस्‌।) येसुलाई भेट्‌नुअघि तिनीहरू असाध्यै दुःखी भएका अनि डराएका थिए। तर उहाँले तिनीहरूलाई ढाडस दिनुभएपछि तिनीहरू आनन्दित भए अनि तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको राज्यबारे बताउन र सिकाउन साहस पाए।a

४ येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबारे अध्ययन गर्दा हामी थुप्रै कुरा सिक्न सक्छौँ। यस लेखमा येसुले त्यो समयमा गर्नुभएका तीन वटा कुरा विचार गर्नेछौँ: (१) उहाँले आफ्ना चेलाहरूलाई प्रोत्साहन दिनुभयो, (२) तिनीहरूलाई धर्मशास्त्र अझै राम्ररी बुझ्न मदत गर्नुभयो र (३) उहाँले आफ्ना चेलाहरूलाई अझै गहन जिम्मेवारीहरू सम्हाल्न तालिम दिनुभयो। यी प्रत्येक बुँदाबारे छलफल गर्दा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

अरूलाई प्रोत्साहन दिनुहोस्‌

५. येसुका चेलाहरूलाई किन प्रोत्साहन चाहिएको थियो?

५ येसुका चेलाहरूलाई प्रोत्साहन चाहिएको थियो। किन? किनभने केही चेलाहरूले येसुसँगै सेवाको काममा लाग्न आफ्नो घरबार, परिवार र व्यापार-व्यवसाय छोडेका थिए। (मत्ति १९:२७) अरू कतिपय भने यहुदी समाजबाट तिरस्कृत भएका थिए। (युह. ९:२२) तिनीहरूले यस्ता त्यागहरू गरे किनभने तिनीहरू येसु नै मसीह हुनुहुन्छ भनेर विश्‍वास गर्थे। (मत्ति १६:१६) तर येसुलाई मारिँदा तिनीहरूको आशा चकनाचुर भयो र तिनीहरू निराश भए।

६. फेरि जीवित हुनुभएपछि येसुले के गर्नुभयो?

६ येसुका चेलाहरू उहाँको मृत्युले गर्दा दुःखी भएका थिए। येसुले त्यसलाई आध्यात्मिक कमजोरीको रूपमा हेर्नुभएन। बरु स्वाभाविक प्रतिक्रियाको रूपमा हेर्नुभयो। त्यसैले फेरि जीवित हुनुभएकै दिन उहाँले आफ्ना साथीहरूलाई प्रोत्साहन दिन थाल्नुभयो। जस्तै: उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जो उहाँको चिहाननजिकै रोइरहेकी थिइन्‌। (युह. २०:११, १६) अनि यस लेखको सुरुमै उल्लेख गरिएका दुई जना चेलाकहाँ देखा पर्नुभयो। साथै उहाँ प्रेषित पत्रुसकहाँ पनि देखा पर्नुभयो। (लुका २४:३४) हामी येसुबाट के सिक्न सक्छौँ? उहाँ चेलाहरूकहाँ पहिलो चोटि देखा पर्नुहुँदा के भयो, विचार गरौँ।

७. युहन्‍ना २०:११-१६ अनुसार येसुले मरियम मग्दलिनीले के गरिरहेको देख्नुभयो र उहाँ के गर्न उत्प्रेरित हुनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

७ युहन्‍ना २०:११-१६ पढ्‌नुहोस्‌। नीसान १६ को बिहान सबेरै केही वफादार स्त्री येसुलाई राखिएको चिहानमा गए। (लुका २४:१, १०) तीमध्ये एक जना मरियम मग्दलिनीबारे विचार गरौँ। मरियमले चिहानभित्र पसेर हेर्दा येसुको शव देखिनन्‌। त्यसैले त्यो कुरा सुनाउन तिनी दौडेर पत्रुस र युहन्‍नाकहाँ गइन्‌ अनि ती दुईजना चेलाहरू पनि दौडेर चिहानमा पुगे। चिहान खाली भएको देखेपछि पत्रुस र युहन्‍ना घर फर्के तर मरियम भने रुँदै त्यहीँ बसिरहिन्‌। येसुले यो सबै कुरा हेरिरहनुभएको छ भनेर तिनलाई थाह थिएन। ती वफादार स्त्री असाध्यै दुःखी भएकीले उहाँ तिनलाई सान्त्वना दिन चाहनुहुन्थ्यो। त्यसैले उहाँ मरियमकहाँ देखा पर्नुभयो। उहाँले गर्नुभएको साधारण कुराबाट तिनले निकै प्रोत्साहन पाइन्‌। उहाँले के गर्नुभयो? उहाँ तिनीसित बोल्नुभयो र तिनलाई एउटा महत्त्वपूर्ण काम अह्राउनुभयो। तिनले उहाँका चेलाहरूलाई उहाँ फेरि जीवित भइसक्नुभयो भन्‍ने समाचार सुनाउनुपर्ने थियो।—युह. २०:१७, १८.

खाली चिहानबाहिर फेरि जीवित हुनुभएका येसु मरियम मग्दलिनीसित कुरा गर्दै हुनुहुन्छ।

येसुजस्तै अवलोकी हुनुहोस्‌ र निराश भएकाहरूप्रति समानुभूति देखाउनुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

८ हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? हाम्रा भाइबहिनीलाई यहोवाको सेवामा लागिरहन प्रोत्साहन दिन सक्छौँ। हामी येसुजस्तै तिनीहरूको दुःख, पीडा याद गर्न सक्छौँ र समानुभूति देखाउँदै बोल्न सक्छौँ। जोस्लिन बहिनीको अनुभव विचार गरौँ। एउटा दुर्घटनामा उनकी बहिनीको मृत्यु भयो। उनी भन्छिन्‌: “महिनौँसम्म म गहिरो शोकमा डुबेँ।” तर एक जना भाइ र तिनकी पत्नीले जोस्लिनलाई आफ्नो घरमा बोलाए, उनको कुरा समानुभूति देखाउँदै सुने र उनी यहोवाको नजरमा बहुमूल्य छिन्‌ भनेर सम्झाए। जोस्लिन यसो भन्छिन्‌: “म निराशाको सागरमा डुब्नै लागेकी थिएँ। तर यहोवाले उहाँहरूलाई चलाएर मलाई बचाउनुभयो। उहाँहरूको मदतले गर्दा मैले यहोवाको सेवामा लागिरहन बल पाएँ।” हामी पनि भाइबहिनीलाई प्रोत्साहन दिन तिनीहरूले आफ्नो मनको बह पोखाउँदा ध्यान दिएर सुन्‍न सक्छौँ र समानुभूति देखाउँदै बोल्न सक्छौँ। साथै तिनीहरूलाई यहोवाको सेवामा लागिरहन बल दिन सक्छौँ।—रोमी १२:१५.

बाइबलको कुरा बुझ्न मदत गर्नुहोस्‌

९. येसुका चेलाहरूलाई कुन कुरा बुझ्न गाह्रो भयो तर उहाँले तिनीहरूलाई कसरी मदत गर्नुभयो?

९ येसुका चेलाहरूले परमेश्‍वरको वचन स्विकारे र त्यसलाई आफ्नो जीवनमा लागू गर्न निकै प्रयास गरे। (युह. १७:६) तर येसुलाई अपराधीको रूपमा मारिएको कुरा तिनीहरूले बुझ्न सकेनन्‌। त्यसले गर्दा तिनीहरूको मनमा अनेक शङ्‌का-उपशङ्‌का उब्जिएका थिए। तर त्यस्ता शङ्‌काहरू उब्जिनुको कारण तिनीहरूको मनसाय खराब भएकोले होइन बरु धर्मशास्त्रको कुरा राम्ररी नबुझेकोले हो भनेर येसुलाई थाह थियो। (लुका ९:४४, ४५; युह. २०:९) त्यसैले उहाँले तिनीहरूलाई धर्मशास्त्रको कुरा बुझाउनुभयो। आउनुहोस्‌, उहाँले इम्माउसतर्फ गइरहेका दुई जना चेलालाई कसरी मदत गर्नुभयो, विचार गरौँ।

१०. येसुले आफू नै मसीह हुँ भनेर चेलाहरूलाई कसरी बुझाउनुभयो? (लुका २४:१८-२७)

१० लुका २४:१८-२७ पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, येसुले ती दुईजना चेलालाई आफू को हुँ भनेर तुरुन्तै बताउनुभएन। बरु उहाँले तिनीहरूलाई प्रश्‍नहरू सोध्नुभयो। किन? हुन सक्छ, उहाँ तिनीहरूलाई कस्तो लागिरहेको छ र तिनीहरूले के सोचिरहेका छन्‌ भनेर तिनीहरूकै मुखबाट सुन्‍न चाहनुहुन्थ्यो। तिनीहरूले उहाँलाई यसो भने: “इस्राएललाई छुटकारा दिने मानिस उहाँ नै हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौँ।” तिनीहरूले आफूलाई लागेको कुरा स्पष्टसित बताएपछि येसुले तिनीहरूलाई धर्मशास्त्रको कुरा उल्लेख गर्दै थुप्रै भविष्यवाणीहरू कसरी पूरा भए भनेर बुझाउनुभयो।b त्यही साँझ उहाँले अरू चेलाहरूलाई पनि ती भविष्यवाणीहरूको अर्थ बुझाउनुभयो। (लुका २४:३३-४८) यस विवरणबाट हामी के सिक्न सक्छौँ?

११-१२. (क) येसुले बाइबलको कुरा सिकाउनुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।) (ख) नोर्टेका बाइबल अध्ययन सञ्चालकले तिनलाई कसरी मदत गरे?

११ हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? एउटा तरिका बाइबल विद्यार्थीलाई सिकाउँदा तिनीहरूको सोचाइ अनि भावना बुझ्न कौशलतापूर्वक प्रश्‍नहरू सोध्न सक्छौँ। (हितो. २०:५) तिनीहरूको भावना बुझेपछि तिनीहरूको अवस्थामा लागू हुने बाइबल पदहरू कसरी खोज्न सकिन्छ भनेर सिकाउनुहोस्‌। तपाईँलाई तिनीहरूले अब के गर्नुपर्छ भनेर बताउन सकसक लाग्न सक्छ; तर त्यसो नगर्नुहोस्‌। बरु तिनीहरूलाई बाइबलको कुरा बुझ्न मदत गर्न प्रश्‍नहरू सोध्नुहोस्‌ र बाइबल सिद्धान्तहरू कसरी लागू गर्न सकिन्छ भनेर बुझ्न मदत गर्नुहोस्‌। घानाका नोर्टे भाइको अनुभव विचार गरौँ।

१२ नोर्टेले १६ वर्षको उमेरमा बाइबल अध्ययन सुरु गरे। त्यसको लगत्तै तिनको परिवारले तिनको असाध्यै खेदो गऱ्‍यो। तिनलाई बाइबल अध्ययन गरिरहन कुन कुराले मदत गऱ्‍यो? तिनका अध्ययन सञ्चालकले मत्ति अध्याय १० प्रयोग गर्दै साँचो ख्रिष्टियनहरूले खेदो भोग्नुपर्नेछ भनेर पहिल्यै बताइसकेका थिए। नोर्टे भन्छन्‌: “खेदो आउन थालेपछि मैले सिकिरहेको कुरा नै सत्य हो भन्‍ने कुरामा म विश्‍वस्त भएँ।” ती सञ्चालकले तिनलाई परिवारसित आफ्नो विश्‍वासबारे कुरा गर्दा विचारशील हुनुपर्छ र आदर देखाउनुपर्छ भनेर बुझाउन मत्ति १०:१६ प्रयोग गरे। बप्तिस्मा गरेपछि नोर्टे अग्रगामी सेवा गर्न चाहन्थे तर तिनका बुबा भने तिनी विश्‍वविद्यालय गएको चाहन्थे। ती अध्ययन सञ्चालकले नोर्टेले अब के गर्नुपर्छ भनेर बताएनन्‌। बरु तिनले बाइबलका सिद्धान्तहरू राम्ररी बुझाउन प्रश्‍नहरू सोधे र सही निर्णय गर्न मदत गरे। नतिजा कस्तो भयो? नोर्टेले पूर्ण-समय सेवा सुरु गर्ने निर्णय गरे। बुबालाई यो कुरा फिटिक्कै मन परेन र तिनलाई घरबाट निकालिदिए। यस्ता गाह्रा अवस्थाहरू भोग्नुपरे तापनि नोर्टे यसो भन्छन्‌: “मैले सही निर्णय गरेँ भन्‍ने कुरामा म विश्‍वस्त छु।” हामीले पनि अरूलाई समय लगाएर बाइबलको कुरा बुझाउँदा तिनीहरूलाई परिपक्व ख्रिष्टियन बन्‍न मदत गरिरहेका हुन्छौँ।—एफि. ३:१६-१९.

चित्रहरूको सँगालो: १. एक भाइ आफ्नो विद्यार्थीलाई बाइबलको कुरा बुझाउँदै छन्‌। २. ती विद्यार्थी क्रिसमसमा सजाउने सामानहरू डस्टबिनमा फाल्दै छन्‌।

अरूलाई धर्मशास्त्रको कुरा बुझ्न मदत दिएर येसुको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)e


भाइहरूलाई ‘वरदानको रूपमा दिइएका पुरुष’ हुन मदत गर्नुहोस्‌

१३. आफू स्वर्ग गइसकेपछि पनि साक्षीकार्यलाई निरन्तरता दिइरहन सकियोस्‌ भनेर येसुले के गर्नुभयो? (एफिसी ४:८)

१३ पृथ्वीमा हुनुहुँदा येसुले आफ्नो बुबाले सुम्पनुभएको एक-एक काम राम्ररी पूरा गर्नुभयो। (युह. १७:४) तर येसुले कहिल्यै पनि यस्तो सोचाइ राख्नुभएन: ‘यहोवाले सुम्पनुभएको काम राम्ररी पूरा गर्ने हो भने त्यो काम म आफैले गर्नुपर्छ।’ उहाँले साढे तीन वर्षको सेवाको दौडान अरूलाई पनि तालिम दिनुभयो। स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई यहोवाको बहुमूल्य भेडाको हेरविचार गर्ने अनि साक्षी दिने र सिकाउने कामको नेतृत्व लिने जिम्मेवारी सुम्पनुभयो। तीमध्ये केही चेलाहरू ३० वर्ष पनि पुगेका थिएनन्‌। (एफिसी ४:८ पढ्‌नुहोस्‌।) येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिन ती समर्पित, वफादार र मेहनती पुरुषहरूलाई “वरदानको रूपमा पुरुष” बन्‍न कसरी प्रयोग गर्नुभयो?

१४. येसुले चेलाहरूलाई आध्यात्मिक रूपमा परिपक्व हुँदै जान कसरी मदत गर्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

१४ येसुले चेलाहरूलाई स्पष्ट तर मायालु तरिकामा सल्लाह दिनुभयो। जस्तै: चेलाहरूमध्ये कसै-कसैको शङ्‌का गर्ने झुकाव भएको उहाँले याद गर्नुभयो र तिनीहरूलाई सल्लाह दिनुभयो। (लुका २४:२५-२७; युह. २०:२७) तिनीहरूले आफ्नो व्यापार-व्यवसायमा भन्दा यहोवाका भेडाहरूको हेरविचार गर्ने काममा ध्यान दिनुपर्छ भनेर पनि उहाँले जोड दिनुभयो। (युह. २१:१५) साथै अरूले यहोवाको सेवामा कस्ता सुअवसरहरू पाउँछन्‌ भन्‍ने विषयमा अचाक्ली चिन्ता नगर्न पनि उहाँले तिनीहरूलाई सम्झाउनुभयो। (युह. २१:२०-२२) तिनीहरूले परमेश्‍वरको राज्यप्रति केही गलत धारणाहरू राखेका थिए। उहाँले तिनीहरूको त्यस्तो सोचाइलाई सच्याउनुभयो र सुसमाचार सुनाउने काममा ध्यान दिन मदत गर्नुभयो। (प्रेषि. १:६-८) एल्डरहरूले येसुबाट के सिक्न सक्छन्‌?

येसु समुद्र किनारमा चेलाहरूसित माछा पोल्दै कुरा गर्दै हुनुहुन्छ।

भाइहरूलाई थप जिम्मेवारीहरूको लागि योग्य हुन मदत दिएर येसुको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५-१६. (क) एल्डरहरूले कुन-कुन तरिकामा येसुको अनुकरण गर्न सक्छन्‌? (ख) एक जना एल्डरले दिएको सल्लाहबाट प्याट्रिकले कस्तो लाभ उठाए?

१५ एल्डरहरूले कसरी येसुको अनुकरण गर्न सक्छन्‌? तिनीहरूले भाइहरूलाई मण्डलीमा अझ धेरै जिम्मेवारीहरू सम्हाल्न तालिम दिनुपर्छ। तिनीहरूले जवानहरूलाई पनि तालिम दिनुपर्छ।c एल्डरहरू आफूले तालिम दिइरहेका भाइहरूबाट गल्ती नै हुँदैन भन्‍ने सोचाइ राख्दैनन्‌। जवान भाइहरूले अनुभव हासिल गर्न सकून्‌ अनि नम्र, वफादार र अरूको सेवा गर्न इच्छुक हुनुको महत्त्व बुझ्न सकून्‌ भनेर एल्डरहरूले तिनीहरूलाई मायालु तरिकामा सल्लाह दिनुपर्छ।—१ तिमो. ३:१; २ तिमो. २:२; १ पत्रु. ५:५.

१६ एक जना एल्डरले दिएको सल्लाहबाट प्याट्रिकले कसरी लाभ उठाए, विचार गरौँ। सानो छँदा तिनी अरूसित रुखो तरिकामा बोल्ने गर्थे र कठोर व्यवहार गर्ने गर्थे। यहाँसम्म कि तिनी बहिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्थे। एक जना परिपक्व एल्डरले प्याट्रिकको त्यस्तो कमजोरी याद गरे र तिनलाई दयालु तरिकामा तर स्पष्ट सल्लाह दिए। प्याट्रिक भन्छन्‌: “उहाँले मैले सुधार्नुपर्ने कुरा देखाइदिनुभएकोमा म खुसी छु। मैले पाउँछु होला भनेर सोचिरहेको सुअवसर अरू भाइहरूले पाउँदा म एकदमै निराश हुने गर्थेँ। तर ती एल्डरले दिनुभएको सल्लाहले मलाई मण्डलीमा सुअवसरहरू पाउने कुरामा होइन बरु नम्र भएर भाइबहिनीको सेवा गर्ने कुरामा ध्यान दिनुको महत्त्व बुझ्न मदत गऱ्‍यो।” यस्तो मनोवृत्तिले गर्दा प्याट्रिक २३ वर्षको उमेरमै एल्डर नियुक्‍त भए।—हितो. २७:९.

१७. येसुले चेलाहरूमाथि भरोसा गरेको कुरा कसरी देखाउनुभयो?

१७ येसुले चेलाहरूलाई साक्षी दिने मात्र होइन, सिकाउने जिम्मेवारी पनि दिनुभयो। (मत्ति २८:२०) चेलाहरूलाई त्यो जिम्मेवारी सम्हाल्न आफू योग्य छैनँ जस्तो लागेको हुन सक्छ। तर तिनीहरूले त्यो काम गर्न सक्छन्‌ भन्‍ने कुरामा येसु ढुक्क हुनुहुन्थ्यो। येसुले तिनीहरूमाथि पूरा भरोसा गरेको कुरा यसरी बताउनुभयो: “जसरी बुबाले मलाई पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”—युह. २०:२१.

१८. एल्डरहरूले कसरी येसुको अनुकरण गर्न सक्छन्‌?

१८ एल्डरहरूले कसरी येसुको अनुकरण गर्न सक्छन्‌? अनुभवी एल्डरहरू जिम्मेवारीहरू अरूसित बाँड्‌छन्‌। (फिलि. २:१९-२२) जस्तै: एल्डरहरूले सभाभवनको सरसफाइ तथा स्याहारसम्भार गर्न जवानहरूको मदत लिन सक्छन्‌। तिनीहरूले भाइहरूलाई कुनै काम दिएपछि त्यो कसरी गर्ने भनेर सिकाउन सक्छन्‌। अनि तिनीहरूले त्यो काम राम्ररी पूरा गर्नेछन्‌ भन्‍ने कुरामा भरोसा गरेको देखाउन सक्छन्‌। एक नयाँ एल्डर म्याथ्यु आफूलाई मण्डलीका जिम्मेवारीहरू राम्ररी पूरा गर्न तालिम दिने अनुभवी एल्डरहरूप्रति कृतज्ञ छन्‌। ती एल्डरले म्याथ्युले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नेछन्‌ भन्‍ने कुरामा भरोसा गरेको देखाएका थिए। तिनी भन्छन्‌: “मैले कुनै गल्ती गर्दा त्यो पनि तालिमको एउटा भाग हो भनेर बुझ्न अनि अर्को चोटि त्यसलाई सुधार्न उहाँहरूले मदत गर्नुभयो।”d

१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१९ येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिन अरूलाई प्रोत्साहन दिन, सिकाउन र तालिम दिन प्रयोग गर्नुभयो। हामी पनि उहाँको पाइला राम्ररी पछ्याउन कटिबद्ध होऔँ! (१ पत्रु. २:२१) यस्तो प्रयास गर्दा उहाँले हामीलाई पक्कै मदत गर्नुहुनेछ। किनकि उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।”—मत्ति २८:२०.

येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिन कसरी प्रयोग गर्नुभयो . . .

  • अरूलाई प्रोत्साहन दिन?

  • अरूलाई धर्मशास्त्रको कुरा बुझाउन?

  • भाइहरूलाई तालिम दिन?

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

a फेरि जीवित हुनुभएपछि येसु चेलाहरूकहाँ देखा पर्नुभएका विवरणहरू सुसमाचारका किताबहरूमा र बाइबलका अरू किताबहरूमा रेकर्ड गरिएका छन्‌। तीमध्ये केही हुन्‌: मरियम मग्दलिनीकहाँ (युह. २०:११-१८); अरू स्त्रीहरूकहाँ (मत्ति २८:८-१०; लुका २४:८-११); दुई जना चेलाकहाँ (लुका २४:१३-१५); पत्रुसकहाँ (लुका २४:३४); थोमाबाहेक अरू प्रेषितहरूकहाँ (युह. २०:१९-२४); थोमालगायत सबै प्रेषितकहाँ (युह. २०:२६); सात जना चेलाकहाँ (युह. २१:१, २); पाँच सयभन्दा धेरै चेलाकहाँ (मत्ति २८:१६; १ कोरि. १५:६); आफ्नो भाइ याकुबकहाँ (१ कोरि. १५:७); सबै प्रेषितकहाँ (प्रेषि. १:४) र बेथानीनजिकै सबै प्रेषितकहाँ। (लुका २४:५०-५२) उहाँ आफ्ना चेलाहरूकहाँ अरू बेला पनि देखा पर्नुभएको हुन सक्छ तर बाइबलमा ती विवरणहरू रेकर्ड गरिएका छैनन्‌।—युह. २१:२५.

b मसीहसम्बन्धी गरिएका भविष्यवाणीहरूबारे थाह पाउन jw.org मा भएको “के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

c केही जवान एल्डरहरू २५-३० वर्षको उमेरमा पनि क्षेत्रीय निरीक्षक नियुक्‍त हुन सक्छन्‌। तर तिनीहरूले एल्डरको रूपमा सेवा गरेर केही अनुभव हासिल गरिसकेको हुनुपर्छ।

d जवान भाइहरूलाई जिम्मेवारीहरू पाउन योग्य हुन कसरी मदत गर्न सकिन्छ भन्‍नेबारे अगस्त २०१८ अङ्‌कको प्रहरीधरहरा, पृ. ११-१२, अनु. १५-१७ र अप्रिल १५, २०१५ अङ्‌कको प्रहरीधरहरा, पृ. ३-१३ हेर्नुहोस्‌।

e चित्रको व्याख्या: धर्मशास्त्रको कुरा राम्ररी बुझेपछि एक बाइबल विद्यार्थी क्रिसमसको बेला घर सजाउन प्रयोग गरिने सरसामान फ्याँक्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने