कुन कुराले तपाईंको स्वास्थ्य निर्धारण गर्छ—तपाईं के गर्न सक्नुहुन्छ
राहत कार्यकर्ताले चामल वा पीठो बाँडेजस्तै स्वास्थ्य बाँड्न सकिन्न। यो झोलामा पोका पारेर ल्याउन सकिने सामान पनि होइन। किनभने यो एउटा अवस्था हो। “स्वास्थ्य”-लाई विश्व स्वास्थ्य संगठनले “शारीरिक, मानसिक र सामाजिक तवरमा पूर्णतया निरोगी अवस्था हो” भनेर व्याख्या गर्छ। तर त्यस हदसम्म निरोगी हुने, नहुने त्यो कुन कुराले निर्धारण गर्छ?
एउटा साधारण घर काठ, किल्ला र जस्तापाता प्रयोग गरेर बनाउन सकिन्छ। तर ती विभिन्न भागहरूलाई चारकुनाको खम्बाले अड्याएको हुन्छ। त्यस्तैगरि अनगिन्ती प्रभावहरूले हाम्रो स्वास्थ्य निर्धारण गरेको हुन्छ। तर ती सबै चार “खम्बाहरूमा” अडिएका छन्। ती हुन् (१) आचरण (२) वातावरण (३) औषधोपचार र (४) शारीरिक बनौट। खम्बाहरूका गुणस्तर बढाएर घर बलियो बनाएजस्तै यी महत्त्वपूर्ण तत्त्वहरूको गुणस्तर उकासेर तपाईं आफ्नो स्वास्थ्य सुधार गर्न सक्नुहुन्छ। तर प्रश्न उठ्छ, सीमित साधनले यो कसरी गर्न सकिन्छ?
तपाईंको आचरण र तपाईंको स्वास्थ्य
ती चार तत्त्वहरूमध्ये प्रायजसो तपाईंको वशमा हुने तत्त्व तपाईंको आचरण हो। आचरणमा सुधार ल्याउँदा सघाउ हुन्छ। हुन त गरिबीको कारण तपाईंले आफ्नो आहार र आनीबानीमा सीमित परिवर्तन गर्न सक्नु होला तर आफूसँग भएका उपायहरूको प्रयोग गरेर तपाईंले ठोस परिवर्तन गर्न सक्नुहुन्छ। निम्न उदाहरणलाई विचार गर्नुहोस्।
आफ्नो बच्चालाई स्तनपान गराउने या दूधदानीबाट खुवाउने हो, एउटी आमाले अक्सर त्यस कुरामा छनौट गर्न सक्छिन्। संयुक्त राष्ट्र संघीय बालकोषको भनाइअनुसार स्तनपान गराउनु “शारीरिक र आर्थिक दुवै रूपमा सर्वोत्कृष्ट छनौट हो।” विशेषज्ञहरूको भनाइअनुसार आमाको दूधजस्तो “स्वास्थ्यवर्धक आहार कुनै पनि छैन।” “सही ढंगले बच्चाको विकास गराउन आवश्यक प्रोटिन, चिल्लो पदार्थ, ल्याक्टोज, भिटामिन, खनिज पदार्थ र नगन्य मात्रामा रहेका अन्य रासायनिक तत्त्वहरूको सही मात्रा” आमाको दूधमा मात्रै पाइन्छ। स्तनपान गराउनाले रोग प्रतिरोधक प्रोटिन वा प्रतिजीवी तत्त्वहरू बच्चाले आमाबाट पाउँछ। फलतः जीवनको सुरुआतमै शिशुले रोगसित लड्ने क्षमता प्राप्त गर्छ।
विशेषगरि उष्णकटिबन्धीय क्षेत्रहरूमा सर-सफाइको अभाव हुने हुँदा स्तनपान गराउनु बेस हुन्छ। पैसा बचाउन सिसीको दूधलाई अत्यधिक मात्रामा पातलो गरेजस्तै आमाको दूधलाई पातलो बनाउन सकिन्न र दूध तयार पार्दा कुनै किसिमको गल्ती हुँदैन अनि सधैं स्वच्छ भाँडोबाट ख्वाए बराबर हुन्छ। यसको विपरीत क्यानेडियन सोसाइटी फर इन्टरनेशनल हेल्थ-बाट प्रकाशित समाचारपत्र सिनर्जी-ले यो उल्लेख गर्छ, “गरिबवर्गमा स्तनपान गराइएका बच्चाहरूभन्दा सिसीबाट दूध खुवाइएका बच्चाहरू झाडा-पखाला र निमोनियाले मर्ने सम्भावना क्रमशः लगभग १५ र चार गुना बढी हुन्छ।”
आमाको दूध खुवाउनु आर्थिक तवरमा पनि फाइदाजनक छ। विकासोन्मुख देशहरूमा धूलो दूध ज्यादै महंगो हुन्छ। उदाहरणको लागि, ब्राजिलमा बच्चालाई बट्टाको दूध खुवाउने हो भने गरिब परिवारको मासिक आय स्रोतको पाँच खण्ड लाग्नसक्छ। स्तनपान गराउँदा बचत हुने पैसाले आमालगायत पूरै परिवारको निम्ति स्वास्थ्यवर्धक भोजन उपलब्ध गराउन सकिन्छ।
यी सबै फाइदाहरूलाई विचार गर्दा स्तनपान निकै प्रचलित होला जस्तो तपाईंलाई लाग्ला। यद्यपि, फिलिपिन्सका स्वास्थ्यकर्मीहरूको रिपोर्टअनुसार यस मुलुकमा स्तनपान गराउने प्रचलन “लोप हुने” स्थितिमा छ। त्यसैगरि ब्राजिलमा गरिएको एक अध्ययनअनुसार श्वासप्रश्वास प्रणालीमा संक्रामक रोग लागेर शिशुहरूको मृत्यु हुने प्रमुख कारणहरूमध्ये “स्तनपानको अभाव” एक हो भनी देखिएको छ। शायद तपाईंको बच्चा यस विडम्बनाबाट उम्कला। तर छनौट तपाईंकै हो।
यद्यपि, बच्चालाई स्वस्थ राख्ने आमाको प्रयत्नलाई अक्सर परिवारका अन्य सदस्यहरूको अस्वस्थकर आचरणले फितलो बनाइरहेको हुन्छ। उदाहरणका लागि, नेपालकी एउटी आमालाई विचार गर्नुहोस्। एउटा चिसो कोठामा उनी आफ्नो श्रीमान र तीन वर्षिया छोरीसित बस्छिन्। पानस्कोप पत्रिकाले लेख्छ, त्यो सानो कोठा चुलो र बिंडीको धुवाँले भरिएको हुन्छ। बालिका श्वासप्रश्वासको संक्रमणले पीडित छे। “मेरो लोग्नेलाई बिंडी नपिऊ भनेर रोक्न सक्दिनँ,” आमा दुःख व्यक्त गर्छिन्। “अहिले म मेरो लोग्नेको लागि बिंडी र छोरीको लागि ओखती किन्छु।”
दुःखको कुरा, धेरैभन्दा धेरै मानिसहरूले आफूले बल्लतल्ल कमाएको पैसा चुरोटको धुवाँमा उडाउन थालेकाले विकासोन्मुख मुलुकहरूमा त्यस स्त्रीको जस्तो गुनासो झन् झन् सामान्य हुँदै गइरहेको छ। वास्तवमा, युरोप र संयुक्त राज्यमा एक जना मानिसले धूम्रपान छोड्दा ल्याटिन अमेरिका र अफ्रिकामा दुइ जनाले चुरोट पिउन थाल्छन्। यसका लागि मानिसहरूलाई भ्रममा पार्ने विज्ञापनहरू बढी जिम्मेवार छन्, डच पुस्तक रोकेन वेलबेश्कोड भन्छ। “भर्सिटी: स्वच्छ अनुभूतिका लागि” र “गोल्ड लिफ: महत्त्वपूर्ण व्यक्तिहरूका लागि महत्त्वपूर्ण चुरोट” जस्ता विज्ञापनहरूले गरिबहरूलाई धूम्रपान प्रगति र समृद्धिसँग सम्बन्धित छ भनी विश्वस्त गराउँछ। तर कुरा वास्तवमा उल्टो छ। यसले तपाईंको पैसा र स्वास्थ्यलाई नाश गर्छ।
यसलाई विचार गर्नुहोस्। एक जना व्यक्तिले जति पटक धूम्रपान गर्छ, त्यति पटक उसले आफ्नो आयु दश मिनेट घटाउँछ अनि हृदय गति बन्द हुने र हृदयघातका साथै फोक्सो, घाँटी र मुखको अर्बुद रोगलगायत अन्य रोगहरूको सम्भावनालाई बढाउँछ। युएन क्रोनिकल पत्रिका यसो भन्छ: “विश्वमा अकाल मृत्यु र अपांग हुनुको सबैभन्दा ठूलो कारण सुर्तीको प्रयोग हो जसलाई वास्तवमा रोक्न सकिन्छ।” कृपया ध्यान दिनुहोस्, यहाँ “रोक्न सकिन्छ” भनेर उक्त पत्रिकाले बताउँछ। तपाईं धूम्रपान त्याग्न सक्नुहुन्छ।
निस्सन्देह, तपाईंको स्वास्थ्यलाई असर गर्ने थुप्रै आचरणहरू तपाईंले छनौट गर्न सक्नुहुन्छ। यस लेखभित्र पृष्ठ ११ को पेटीमा केही विषयवस्तुहरूको सूची दिइएको छ। तपाईंले यहोवाका साक्षीहरूको राज्य भवनस्थित पुस्तकालयमा ती कुराहरू पढ्न सक्नुहुन्छ। हो, ती कुराहरूबारे जानकार हुन प्रयत्नको खाँचो हुन्छ। यद्यपि, विश्व स्वास्थ्य संगठनका कार्यकर्ता यसो भन्छन्: “आफ्नो स्वास्थ्यबारे जानकारी र शिक्षा पाएका ज्ञानी मानिसहरूसँग संगत नगरिकन तपाईंले स्वस्थ समाजको निर्माण गर्न सक्नुहुन्न।” अतः स्वास्थ्य प्रवर्धन गर्ने यो निश्शुल्क कदम चाल्नुहोस्, आफूलाई शिक्षित बनाउनुहोस्।
स्वास्थ्य र घरको वातावरण
द पोर डाइ यंग-अनुसार (गरिब चाँडै मर्छन्) तपाईंको घर र छर-छिमेकले तपाईंको स्वास्थ्यलाई सबैभन्दा धेरै असर गर्छ। पानीले गर्दा तपाईंको वातावरण स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। संक्रमण, चर्म रोगहरू, पखाला, हैजा, रगतमासी, विषमज्वरो र अन्य रोगहरू अपर्याप्त अनि असुरक्षित पानीबाट सर्छ।
आफ्नो हात धुन तपाईंले धारा खोले मात्र पुग्छ भने घर-घरमा पानीको व्यवस्था नभएका मानिसहरूले हर दिन पानी ल्याउन कति समय खर्च गर्लान् कल्पना गर्नुहोस्। प्रायः ५०० भन्दा बढी मानिसहरूले एउटै धारा चलाउनुपर्ने हुन्छ। र त्यसको लागि पर्खनुपर्छ। इनभाइरमेन्टल प्रोब्लम्स इन थर्ड वर्ल्ड सिटिज-अनुसार (तेस्रो विश्वका शहरहरूको वातावरणीय समस्याहरू) कम आय हुने मानिसहरूले लामो समयसम्म काम गर्नुपर्ने भएकोले यसरी पर्खंदा “पैसा कमाउन लगाउन सकिने समय त्यतिकै खेर जान्छ।” त्यसैकारण छ जना सदस्य भएको परिवारले आफ्नो समय बचाउन प्रायः कम्तीमा ३० बाल्टिन पानी ओसार्नु कुनै अनौठो कुरा होइन र त्यति सदस्य भएको परिवारलाई एक दिनमा त्यति पानी चाहिन्छ नै। तर खानेकुरा, भाँडा-कुँडा र लुगाहरू धुन अनि नुहाउने आदि गर्ने हो भने त्यति पानी ज्यादै कम छ। फलतः त्यस्तो सर-सफाइ हुन नसक्दा जुम्रा र झिंगाहरू आकर्षित हुन्छन् र यसले त्यस परिवारको स्वास्थ्यमा हानि पुऱ्याउनसक्छ।
एकछिन यो घटनालाई विचार गर्नुहोस्। तपाईंले जागिर खानुभएको ठाउँ टाढा छ र साइकल चढेर जानुपर्छ भने हरेक हप्ता केही समय निकालेर साइकलको जन्जिरमा तेल हाल्नु, ब्रेकहरू मिलाउनु वा पांग्राको तारहरू फेर्नु पर्दा के तपाईं त्यसलाई नोक्सान ठान्नुहुन्छ? ठान्नुहुन्न, किनभने मरम्मत गर्ने कामलाई बेवास्ता गरेर तपाईंले केही घण्टा बचाउनु भए तापनि पछि साइकल बिग्रँदा पूरै दिन नोक्सान हुनसक्छ भनेर तपाईंलाई थाह छ। त्यस्तैगरि आफूलाई स्वस्थ राख्न पर्याप्त पानी संकलन नगर्दा हप्तामा केही घण्टा र दुइ चार पैसा बचाउनुहोला तर पछि तपाईंको हेलचक्य्राइँले गर्दा तपाईं बिरामी पर्न सक्नुहुन्छ र तपाईंले निकै दिन र पैसाको नोक्सानी बेहोर्नुपर्ने हुन्छ।
पर्याप्त पानी जम्मा गर्ने कामलाई पारिवारिक योजना बनाउन सकिन्छ। स्थानीय चलनले गर्दा आमा र केटाकेटीहरू मात्र पानी बोकुवा हुन बाध्य भए तापनि परिवारको ख्याल राख्ने बाबुले पाखुरा सुर्काउँदै पानी तान्न पछि हट्नेछैन।
पानी घरमा ल्याई पुऱ्याएपछि अर्को समस्या सुरु हुन्छ। त्यो हो त्यसलाई कसरी सफा राख्ने। स्वास्थ्य विशेषज्ञहरू यस्तो सुझाव दिन्छन्: पिउने पानी र अन्य काममा चलाइने पानीलाई एउटै ठाउँमा नराख्नुहोस्। पानी राख्ने भाँडाको मुखलाई सधैं टम्म बन्द गर्नुहोस्। पानीमा भएका फोहरहरूलाई केही समय थेग्रिन दिनुहोस्। पानी निकाल्दा औंलाले नछुनुहोस् बरु लामो बिंड भएको सफा कप चलाउनुहोस्। ब्लिच पानीले भाँडालाई राम्ररी सफा गर्नुहोस्, त्यसपछि शुद्ध पानीले पखाल्नुहोस्। वर्षात्को पानीबारे के भन्न सकिन्छ? निस्सन्देह त्यस्तो पानी जम्मा गर्नु फाइदाजनक छ (तर पानी पर्नुपरेको पनि त हुनुपऱ्यो!) र पानी संचय गर्ने ट्यांकीमा कुनै फोहरहरू बगेर गएको छैन अनि कीरा, मुसा वा अन्य जनावरहरूबाट जोगाइएको छ भने त्यस्तो पानी सुरक्षित हुनसक्छ।
पानी सुरक्षित छ वा छैन भनी शंका लागे पानीमा सोडियम हाइपोक्लोराइट अथवा क्यालसियम हाइपोक्लोराइटजस्ता क्लोरिनयुक्त तत्त्व हाल्ने सुझाव विश्व स्वास्थ्य संगठनले दिन्छ। यो विधि प्रभावकारी र सस्तो छ। उदाहरणको लागि, पेरूमा यो उपाय अपनाउन साधारण परिवारलाई वर्षमा दुइ अमेरिकी डलरभन्दा कम खर्च लाग्छ।
स्वास्थ्य अनि औषधोपचार
गरिबहरूले प्रायः दुइ प्रकारका औषधोपचार मात्र देख्छन्: (१) उपलब्ध तर किन्न नसकिने (२) किन्न सकिने तर अनुपलब्ध। साओ पाउलोका फोहर बस्तीहरूमा बस्ने ६,५०,००० मध्ये एक डोना मारिया पहिलो प्रकारको औषधोपचारबारे यसो भन्छिन्: “राम्रो औषधोपचार प्राप्त गर्नु हाम्रोलागि महँगो पसलको झ्यालमा सजाएर राखेको सामानहरूजस्तो छ। हामी हेर्न त सक्छौं तर त्यो प्राप्त गर्नु हाम्रो क्षमता बाहिर छ।” (भान्डार पत्रिका) निस्सन्देह, डोना मारिया बसेको शहरका अस्पतालहरूले हार्ट-बाइपास शल्यक्रिया, प्रतिरोपण, क्याट स्कान र अन्य उच्च प्रविधि उपचारहरू प्रदान गर्छ। तर तिनी यी कुराहरूको खर्च बेहोर्न सक्दिनन्।
महँगो औषधोपचार पसलमा सजाइएको ऐस-आरामका वस्तुहरूजस्ता छन् भने सस्तो औषधोपचार कम मूल्य पर्ने वस्तुहरूजस्ता छन् र कम पुँजी हुने हजारौं क्रेताहरूले एकै समयमा ती वस्तुहरू किन्न खिचातानी गरिरहेका हुन्छन्। दक्षिण अमेरिकी महादेशमा पर्ने एउटा देशको समाचारपत्रले हालै यस्तो रिपोर्ट दियो: ‘चिकित्सकलाई भेट्न बिरामीहरू दुइ दिनदेखि लाइनमा उभिरहेका छन्। तर कुनै शय्या खाली छैन। सार्वजनिक अस्पतालहरूसँग पैसा, औषधी अनि खानेकुरा छैन। औषधोपचार प्रणाली आफै समस्याग्रस्त छ।’
साधारण जनताको त्यस्तो दुरावस्थालाई सुधार्न विश्व स्वास्थ्य संगठनले रोग नियन्त्रण गर्न छाडेर अब बिस्तारै रोकथाम तथा बचाउबारे मानिसहरूलाई जानकारी दिएर स्वास्थ्य प्रवर्धन गर्नतर्फ लागेको छ। उचित पोषण, सुरक्षित पानी र आधारभूत सर-सफाइजस्ता प्राथमिक औषधोपचार प्रवर्धन गर्ने कार्यक्रमहरू संचालन गर्दा “विश्वव्यापी स्वास्थ्यमा ठोस उन्नति” भएको छ भनेर युएन क्रोनिकल-ले बताउँछ। के यी कार्यक्रमहरू तपाईंका लागि लाभकारी छन्? तीमध्ये एउटा लाभकारी भएको हुनसक्छ। त्यो कुन कार्यक्रम हो? इपिआइ (विस्तारित खोप कार्यक्रम)।
विस्तारित खोप कार्यक्रमको रिपोर्टअनुसार “घर-घर अनि साना गाउँहरूमा पुग्ने लोकप्रिय मानिस अब हुलाकेको सट्टा खोप दिने कार्यकर्ता भएको छ।” गत अन्तिम दशकको दौडान अमेजन जंगलदेखि हिमालय पर्वतहरूसम्म खोप लगाइयो र विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार सन् १९९० भित्र विश्वको ८० प्रतिशत शिशुहरूलाई छवटा प्राणघातक रोगहरू विरुद्ध खोप लगाइसकेको थियो।a वर्षेनी विस्तारित खोप कार्यक्रमले ३० लाखभन्दा बढी केटाकेटीहरूको ज्यान बचाउँदैछ। अंगभंग हुनसक्ने अरू ४,५०,००० केटाकेटीहरू अहिले हिंड्न, दौड्न र खेल्न सकिरहेकाछन्। तसर्थ, आफ्नो छोराछोरीहरूलाई रोगहरूदेखि बचाउन थुप्रै आमा-बाबुहरूले खोप लगाउने निर्णय गर्छन्।
कहिलेकाहीं तपाईं रोगदेखि बच्न नसक्नु भए तापनि नियन्त्रण भने गर्न सक्नुहुन्छ। वर्ल्ड हेल्थ-अनुसार (विश्व स्वास्थ्य) “आफैले वा परिवारले गर्ने औषधोपचार नै सबै औषधोपचारको पचास प्रतिशत हो भनेर अनुमान लगाइएको छ।” आफैले गर्न सकिने एउटा त्यस्तो उपचारमा नुन, चिनी र सफा पानी मिसाएर बनाइने सस्तो अनि सरल पुनर्जलीय पेय (ओआरएस) हो।
पखाला लागेर जलवियोजन हुँदा त्यसको सबैभन्दा प्रभावशाली उपचार पुनर्जलीय पेयलगायत अन्य पुनर्जलीय उपचारहरू हुन् भनेर थुप्रै स्वास्थ्य विशेषज्ञहरू स्वीकार्छन्। विकासोन्मुख देशहरूमा वर्षेनी १ अरब ५० करोड पटक पखालाको प्रकोप चल्दा पाँच रुपैया पर्ने पुनर्जलीय पेयको सानो पुरिया विश्वव्यापी तवरमा प्रयोग गरिएको भए वर्षेनी पखाला चल्ने रोगबाट मर्ने ३२ लाख केटाकेटीहरूलाई बचाउन सकिन्थ्यो।
तर विश्व स्वास्थ्य संगठनको समाचारपत्र, एसेन्सियल ड्रग्स मनिटर-अनुसार केही देशहरूमा पखाला विरुद्ध लिइने औषधीहरू “पुनर्जलीय पेयभन्दा धेरै प्रचलित छन्।” उदाहरणको लागि, केही विकासोन्मुख मुलुकहरूमा पखाला लाग्दा पुनर्जलीय पेयभन्दा औषधीहरूको प्रयोग तीन गुना बढी गरिन्छ। र “यो अनावश्यक औषधीको प्रयोग अत्यन्तै महँगो छ,” सोही समाचारपत्रले भन्छ। त्यस्ता औषधीहरू किन्न गरिब परिवारहरूले आफ्नो भोजनसमेत बेच्नु पर्नसक्छ। यसबाहेक पखाला चल्दा प्रयोग गरिने औषधीहरूको कुनै व्यवहारिक मूल्य नभएको र कुनै कुनै हानिकारक हुनसक्ने कुरा पनि सो समाचारपत्रले चेताउनीस्वरूप बताउँछ। “चिकित्सकहरूले त्यस्तो औषधी प्रयोग गर्न सुझाव दिनु हुन्न, . . . र परिवारहरूले पनि किन्नु हुन्न।”
औषधीहरू प्रयोग गर्ने सुझाव दिनु सट्टा विश्व स्वास्थ्य संगठनले पखालाको उपचार गर्ने निम्न सुझावहरू दिन्छ। (१) जलवियोजन रोकथाम गर्न बच्चालाई चौलानी वा चियाजस्तो झोल अझ धेरै खुवाउनुहोस्। (२) बच्चामा अझै जलवियोजन छ भने स्वास्थ्यकर्मीलाई भेटेर बच्चालाई जचाउँनुहोस् र बच्चालाई पुनर्जलीय पेय दिनुहोस्। (३) बच्चालाई पखाला चल्दा अनि चलिसकेपछि पनि सदाझैं खाना खुवाउनुहोस्। (४) साह्रै गम्भीर जलवियोजन छ भने बच्चालाई नशाबाट पुनर्जलीय पदार्थ दिनुपर्छ।b
यदि तयारी पुनर्जलीय पेय पाइँदैन भने यो सरल विधि अपनाउनुहोस्: एक लिटर (२०० मिलिलिटर अटाउने कपको पाँच कप) सफा पानीमा एक ठूलो चम्चा नुन, आठ चियाचम्चा चिनी घोल्नुहोस्। हरेक पल्ट पखाला चल्दा एक कप खुवाउनुहोस् र सानो बच्चाहरूलाई आधा कप खुवाउनुहोस्। यस विषयमा थप जानकारीका लागि पृष्ठ १० को पेटी हेर्नुहोस्।
तर चौथो बुँदा, हाम्रो शारीरिक बनौटबारे के भन्न सकिन्छ? के त्यसमाथि कुनै असर पर्छ? अर्को लेखले यस प्रश्नको छलफल गर्नेछ। (g95 4/8)
[फुटनोटहरू]
a ती छवटा प्राणघातक रोगहरू भ्यागुते रोग, दादुरा, पोलियो, धनुष्टंकार, क्षयरोग र लहरे खोकी हुन्। एड्सले भन्दा निकै धेरै व्यक्तिको ज्यान लिने हेपाटाइटिस बि पनि खोप कार्यक्रमहरूमा समावेश गरिनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले सुझाव दिन्छ।
b बच्चाको पेटको छाला तान्नुहोस्। त्यसरी तानेको छालालाई सामान्य अवस्थामा पुग्न दुइ सेकेन्डभन्दा बढी समय लाग्छ भने बच्चालाई साह्रै गम्भीर जलवियोजन भएको छ।
[पृष्ठ ८, ९-मा भएको पेटी]
प्राथमिक औषधोपचार—त्यसले कसरी काम गर्छ?
यस प्रश्नको जवाफका लागि ब्यूँझनुहोस्!-ले दक्षिण अमेरिकाका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. माइकल ओक्यारलसँग कुराकानी गरेको थियो। त्यसका केही अंश यसप्रकार छन्।
‘औषधोपचार गर्नु भनेको मुख्यतः चिकित्सकलाई भेटेर उपचार गराउनु वा शल्यक्रिया गराउनु हो भन्ने विचारधारामा आधारित औषधोपचार प्रणाली हामीले अपन्याएका छौं। तपाईं बिरामी हुनुभयो भने चिकित्सककहाँ जानुहुन्छ। तपाईंले दुइ सिसी रक्सी पिउनुभएको थियो भनेर तपाईं बिर्सनुहुन्छ। कहिल्यै व्यायाम गर्नुहुन्न त्यो पनि बिर्सनुहुन्छ। तपाईं चिकित्सककहाँ जानुहुन्छ र भन्नुहुन्छ: “डाक्टर, मलाई निको पारिदिनुहोस्।” त्यसपछि चिकित्सकले तपाईंलाई औषधी दिनुहुन्छ वा हातमा सुई घोंच्नुहुन्छ अथवा तपाईंको शरीरबाट केही कुरा काटेर फाल्नुहुन्छ वा कुनै कुरा राख्नुहुन्छ। तपाईंले बुझ्न सकोस् भनेर म यहाँ ठाडो कुरा गर्दैछु, तर आजकल उपचार गर्ने यस्तो तरिका चारैतिर व्याप्त भएको छ। समाजका समस्याहरूबारे गलत दृष्टिकोण राख्दै हामी त्यसलाई डाक्टरी समस्या ठान्दैछौं। आत्महत्या, कुपोषण र लागू पदार्थको दुरुपयोग आज डाक्टरी समस्या भएको छ। तर त्यसो होइन। भनौं भने, ती समस्याहरू स्वास्थ्य समस्याहरू पनि होइनन्। ती सामाजिक समस्याहरू हुन्, जसको नतिजा स्वास्थ्य र चिकित्सा क्षेत्रमा देखा परिरहेका छन्।
‘त्यसपछि गत २० वर्षहरूमा मानिसहरूले यसो भन्न थाले, “ओहो, हामीले त गलत सोचिरहेका रहेछौं। स्वास्थ्यप्रतिको हाम्रो धारणालाई अब सुधार्नुपऱ्यो।” फलस्वरूप प्राथमिक औषधोपचारका केही आधारभूत सिद्धान्तहरूको विकास भयो, जस्तो कि:
‘रोगहरूको उपचार गर्नुभन्दा रोकथाम गर्नु दिर्घकालीन दृष्टिले बढी मानवीय र कम खर्चिलो छ। उदाहरणको लागि, मुटु चिरेर शल्यक्रिया गर्नुपर्ने कारणहरूतर्फ ध्यानै नदिएर त्यस्तो शल्यक्रिया गर्ने क्लिनिक खोल्नु यस नियम विपरीत छ। त्यसो भन्दैमा त्यस्ता रोग लाग्दा केही गर्दै नगर्ने भनेको होइन। केही त गर्नैपर्छ। तर सडक बीचको खाडलमा परेर खुट्टा भाँच्ने मानिसहरूको उपचार गरिरहनुभन्दा त्यो खाडललाई पुरिदिनु अझ मानवीय अनि सस्तो कुरा हो।
‘दोस्रो सिद्धान्त, आफूसँग भएको स्वास्थ्य स्रोतको राम्ररी प्रयोग गर्नु हो। घरमै सम्हाल्नसक्ने समस्या भएको मानिसलाई क्लिनिक पुऱ्याउनु वा क्लिनिकमा हुनसक्ने कुरालाई परिष्कृत अस्पतालहरूमा लैजानु सिद्धान्त विपरीत कुरा हो। अथवा छ महिना प्रशिक्षण लिने व्यक्तिले खोप दिनसक्छ भने दश वर्षसम्म विश्व-विद्यालयमा प्रशिक्षण लिएको चिकित्सकलाई त्यो काममा पठाउनु पनि त्यतिकै सिद्धान्त विपरीत कुरा हो। चिकित्सकको आवश्यकता पर्दा ऊ उपलब्ध हुनुपर्छ। त्यसैकारण प्राथमिक औषधोपचारले हामीलाई यो कुरा बताइरहेको छ: मानिसहरूलाई शिक्षित बनाऊ, रोग रोकथाम गर र आफूसित भएको स्वास्थ्य स्रोतहरूको बुद्धिमानीपूर्वक परिचालन गर।’
[पृष्ठ १०-मा भएको पेटी]
हैजाको लागि अर्को पुनर्जलीय पेय
हैजा रोगीहरूलाई ग्लुकोज भएको पुनर्जलीय पेयभन्दा चौलानीको पुनर्जलीय पेय दिनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले सुझाव दिन्छ। सामान्य पुनर्जलीय पेयभन्दा चौलानीको पुनर्जलीय पेय दिएको हैजा रोगीमा पखाला चल्ने दर ३३ प्रतिशत कम हुन्छ र लामो समयसम्म पखाला पनि चल्दैन भनेर अध्ययनहरूले देखाउँछ। बीस ग्राम चिनीको सट्टा ५० देखि ८० ग्राम भुटेको चामलको धूलो पानीमा मिसाएर एक लिटर चौलानीको पुनर्जलीय पेय बनाइन्छ। —इसेन्सियल ड्रग मनिटर।
[पृष्ठ ११-मा भएको पेटी]
थप जानकारीका लागि . . .
आचरण: “राम्रो स्वास्थ्य—तपाईंले त्यसबारे के गर्न सक्नुहुन्छ?” (अवेक!, डिसेम्बर ८, १९८९) “सुर्ती अनि तपाईंको स्वास्थ्य—के वास्तवमा सम्बन्धित छन्?” (अवेक!, जुलाई ८, १९८९) “बच्चाहरूलाई मर्नदेखि बचाउने!” (अवेक!, सेप्टेम्बर २२, १९८८) “मद्यपानले तपाईंको शरीरमा कस्तो असर पार्छ?”—अवेक!, मार्च ८, १९८०.
वातावरण: “सर-सफाइका चुनौतीको सामना गर्ने” (अवेक!, सेप्टेम्बर २२, १९८८) “सफा बस्नुहोस्, स्वस्थ हुनुहोस्!”—अवेक!, सेप्टेम्बर २२, १९७७.
औषधोपचार: “जीवन बचाउने अन्य कदमहरू” (अवेक!, सेप्टेम्बर २२, १९८८) “जीवन बचाउने नुन पानी”—अवेक!, सेप्टेम्बर २२, १९८५.
[पृष्ठ ७-मा भएको चित्र]
पानी जम्मा गर्न पर्खन अनि मेहनत गर्नुपर्छ
[स्रोत]
Mark Peters/Sipa Press
[पृष्ठ ९-मा भएको चित्र]
पर्याप्त सफा पानी—राम्रो स्वास्थ्यको लागि अपरिहार्य छ
[स्रोत]
Mark Peters/Sipa Press