प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ पृ. २२-२५
  • स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिन्ता लाग्नु स्वाभाविक
  • स्वास्थ्य उपचारबारे अचाक्ली चिन्तित नहुनुहोस्‌
  • उत्तम कुरा के हो?
  • “सुबुद्धि” अत्यावश्‍यक
  • “तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्‌”
  • कहिल्यै बिरामी नपर्ने कुरालाई सम्झँदै व्यावहारिक हुनुहोस्‌
  • तपाईंको विश्‍वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • सबैको निम्ति सिद्ध स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—१९९५
  • यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • सबैका लागि सुस्वास्थ्य—नजिकै!
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ पृ. २२-२५

स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्नुहोस्‌

“तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई . . . आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर्‌।”—मर्कू. १२:३०.

१. मानिसजातिको लागि परमेश्‍वरको सुरुको उद्देश्‍य के थियो?

परमेश्‍वरको सुरुको उद्देश्‍य मानिसहरू बिरामी परून्‌ वा मरून्‌ भन्‍ने थिएन। परमेश्‍वरले आदम र हव्वालाई ७०/८० वर्षसम्म होइन तर सधैंभरि अदनको बगैंचामा “गोड-गाड र हेरचाह गर्न राख्नुभयो।” (उत्प. २:८, १५; भज. ९०:१०) ती प्रथम मानव दम्पतीले यहोवाप्रति विश्‍वासी भई उहाँको सार्वभौमिकताको अधीनमा बसेर उहाँलाई प्रेम देखाएको भए कहिल्यै बिमारी, कमजोर स्वास्थ्य अनि मृत्यु भोग्नुपर्ने थिएन।

२, ३. (क) उपदेशकको पुस्तकमा बुढेसकालको चित्रण कसरी गरिएको छ? (ख) आदमबाट आएको मृत्युको लागि को जिम्मेवार छ र यसको प्रभावलाई कसरी उल्टाइनेछ?

२ असिद्ध मानिसहरूले वृद्धावस्थासितै सहनुपर्ने “दुःखको समय”-बारे उपदेशक अध्याय १२ ले जीवन्त चित्रण गर्छ। (उपदेशक १२:१-७ पढ्‌नुहोस्‌) फुलेको कपालको तुलना सेतै फुलेको “हाडे-बदामको बोट”-सित गरिएको छ। खुट्टाहरू चाहिं त्यो “बलिया मानिस” जस्तै हो भनिएको छ जो अहिले कुप्रिएर काँप्दै हिंड्‌न थालेको छ। उज्यालोको लागि झ्यालबाट बाहिर हेर्दा अन्धकार मात्र देख्ने स्त्रीहरूसित धमिला भएका आँखाहरूलाई दाँज्नु सुहाउँदो छ। बुढेसकालमा दाँतहरू झरेर थोते हुने हुँदा ‘जाँतो पिंध्ने स्त्रीहरूले आफ्नो काम बन्द गर्छन्‌’ भनिएको छ।

३ हातगोडा कमजोर हुनु, आँखा धमिलो हुनु अनि दाँत झरेर गिजा मात्र बाँकी रहनु परमेश्‍वरको सुरुको उद्देश्‍य पटक्कै थिएन। यसबाहेक, आदमले गर्दा आएको मृत्यु वास्तवमा “शैतानका काम” हुन्‌ जसलाई परमेश्‍वरका पुत्रले आफ्नो मसीही राज्यद्वारा उल्टाउनुहुनेछ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।”—१ यूह. ३:८.

चिन्ता लाग्नु स्वाभाविक

४. यहोवाका सेवकहरू आफ्नो स्वास्थ्यबारे किन चिन्ता गर्छन्‌ तर तिनीहरूलाई कुन कुरा पनि थाह छ?

४ तर अहिले अरू असिद्ध मानिसहरूले जस्तै यहोवाका कतिपय सेवकहरूले पनि रोगबिमार अनि बुढेसकालको पीडा भोगिरहेका छन्‌। यस्तो अवस्थाबीच आफ्नो स्वास्थ्यको चिन्ता अनि ख्याल गर्नु स्वाभाविक मात्र होइन तर लाभकारी पनि हो। हुन पनि हामी “आफ्नो सारा शक्‍तिले” यहोवाको सेवा गर्न चाहन्छौं नि, होइन र? (मर्कू. १२:३०) तर स्वस्थ जीवन बिताउने सन्दर्भमा हामी व्यावहारिक हुनुपर्छ र एउटा कुरा मानिलिनै पर्छ—बुढेसकाल अनि सबै खालका रोगबिमारलाई रोक्नु हाम्रो वशको कुरा होइन।

५. परमेश्‍वरका विश्‍वासी सेवकहरूले रोगबिमार सामना गरेको तरिकाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

५ यहोवाका थुप्रै विश्‍वासी सेवकहरूले विभिन्‍न स्वास्थ्य समस्याहरू सामना गर्नु परेको छ। तीमध्ये इपाफ्रोडाइटस एक हुन्‌। (फिलि. २:२५-२७) प्रेरित पावलको वफादार सहयात्री तिमोथीलाई पेटको समस्याले सताइरहने भएकोले पावलले “अलिअलि दाखमद्य पिउने” सल्लाह दिएका थिए। (१ तिमो. ५:२३) पावल आफैलाई पनि “शरीरमा एक किसिमको छेस्को” थियो। सायद तिनलाई आँखाको वा अन्य कुनै शारीरिक समस्या भएको हुन सक्छ जसको त्यतिबेला उपचार थिएन। (२ कोरि. १२:७; गला. ४:१५; ६:११) आफूलाई सताइरहेको “छेस्को”-बारे तिनले यहोवालाई बिन्ती बिसाएका थिए। (२ कोरिन्थी १२:८-१० पढ्‌नुहोस्‌) परमेश्‍वरले चमत्कार गरेर पावलले सहिरहेको “छेस्को” निको पारिदिनुभएन। बरु, यहोवाले तिनलाई सहने शक्‍ति दिनुभयो। यसरी पावलको कमजोरीमा यहोवाको शक्‍ति प्रकट भयो। यसबाट हामी कुनै पाठ सिक्न सक्छौं कि?

स्वास्थ्य उपचारबारे अचाक्ली चिन्तित नहुनुहोस्‌

६, ७. हामीले आफ्नो स्वास्थ्यबारे किन अचाक्ली चिन्ता गर्नुहुँदैन?

६ तपाईंलाई थाहै छ, यहोवाका साक्षीहरूले स्वास्थ्य सेवा र विभिन्‍न उपचारविधिहरू स्वीकार्छन्‌। हाम्रो अवेक! पत्रिकामा अक्सर स्वास्थ्यसम्बन्धी लेखहरू छापिन्छन्‌। अनि हामीले कुनै खास उपचारविधिको सिफारिस नगरे तापनि स्वास्थ्यकर्मीहरूको मदत र सहयोगको भने मोल गर्छौं। वर्तमान संसारमा सिद्ध स्वास्थ्य हासिल गर्नु असम्भव छ भन्‍ने कुरा हामीलाई थाह छ। तसर्थ, हामीले बुझेका छौं कि चौबीसै घण्टा आफ्नो स्वास्थ्यबारे मात्रै सोच्नु वा सुस्वास्थ्य प्राप्त गर्ने धुनमा एकोहोरो लागिरहनु बुद्धिमानी होइन। हामी ख्रीष्टियानहरूको सोचाइ कुनै “आशा नभएका” संसारका मानिसहरूको जस्तो हुनुहुँदैन। उनीहरूका लागि त अहिलेको जीवन नै सब थोक हो। त्यसैले रोगबाट छुटकारा पाउन उनीहरू जस्तोसुकै उपचार गर्न तयार हुन्छन्‌। (एफि. २:२, १२) अहिले आफ्नो ज्यान जोगाउने धुनमा हामी कुनै पनि हालतमा यहोवाको अनुमोदन नगुमाउन कटिबद्ध छौं किनभने हामी विश्‍वस्त छौं कि यहोवाप्रति वफादार रह्‍यौं भने हामीले “साँच्चै[को] जीवन” अर्थात्‌ नयाँ रीतिरिवाजमा अनन्त जीवन पाउनेछौं।—१ तिमो. ६:१२, १९; २ पत्रु. ३:१३.

७ हामीले आफ्नो स्वास्थ्यबारे अचाक्ली चिन्ता गर्न नहुने अर्को कारण छ। त्यो हो, आफ्नो स्वास्थ्यको विषयमा मात्रै सोचिरहँदा हामी स्वार्थी हुन सक्छौं। फिलिप्पीहरूलाई लेखेको पत्रमा पावलले यस खतराबारे चेतावनी दिएका थिए। तिनले यसो भने: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलि. २:४) हामीले आफ्नो स्वास्थ्यको व्यावहारिक तरिकामा ख्याल राख्नु उचित हो। यदि हामी आफ्ना भाइहरूमा र ज-जसलाई ‘राज्य सुसमाचार’ प्रचार गर्छौं, उनीहरूमा गहिरो चासो लिन्छौं भने आफ्नो स्वास्थ्यको ख्याल गर्नमै अचाक्ली व्यस्त हुनेछैनौं।—मत्ती २४:१४.

८. आफ्नो स्वास्थ्यबारे अचाक्ली चिन्ता गर्दा के-कस्तो खतरा हुन सक्छ?

८ ख्रीष्टियानले आफ्नो स्वास्थ्यको मात्र एकोहोरो चिन्ता गर्न थाल्दा, परमेश्‍वरको राज्यले पाउनुपर्ने प्राथमिकता स्वास्थ्यसम्बन्धी कुराहरूले पाउन सक्ने खतरा पैदा हुन्छ। स्वास्थ्य उपचारको धुन लागेको छ भने अरूलाई आफूले जस्तै उपचार गर्न वा आफूले जस्तै खानेकुरा, औषधी खान कर गर्ने नराम्रो बानी पनि हामीमा देखिन सक्छ। यस सन्दर्भमा पावलको यो सल्लाहमा लुकेको सिद्धान्तलाई विचार गर्नुहोस्‌: “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।”—फिलि. १:१०, NRV.

उत्तम कुरा के हो?

९. कुन एउटा उत्तम कुरालाई हामीले हेलचेक्य्राइँ गर्नु हुँदैन र किन?

९ उत्तम कुरा के हो खुट्ट्याएका छौं भने आध्यात्मिक उपचारमा सक्रिय भई भाग लिइरहेका हुनेछौं। यो काम अरूलाई परमेश्‍वरको वचन प्रचार गरेर अनि सिकाएर गर्छौं। यस आनन्ददायी गतिविधिले हाम्रो मात्र होइन हाम्रो कुरा सुन्‍नेहरूको पनि भलाइ गर्छ। (हितो. १७:२२; १ तिमो. ४:१५, १६) प्रहरीधरहरा अनि अवेक! पत्रिकामा कहिलेकाहीं गम्भीर रोगले ग्रस्त भाइबहिनीहरूको अनुभव छापिन्छ। त्यसमा ती भाइबहिनीहरूले कसरी आफ्नो समस्यासित जुझ्दैछन्‌ वा एकछिन आफ्नो दुःख-पीडा बिर्सेर अरूलाई यहोवा अनि उहाँका अद्‌भुत प्रतिज्ञाहरू प्रचार गर्ने कोसिस गर्छन्‌, त्यो बताएका हुन्छन्‌।a

१०. हामीले कस्तो उपचार रोज्छौं त्यो किन महत्त्वपूर्ण छ?

१० रोग लाग्दा कुन चाहिं उपचार गर्ने, प्रत्येक ख्रीष्टियान आफैले “निज भार उठाउनुपर्छ।” (गला. ६:५) तर नबिर्सनुहोस्‌, हामी कस्तो उपचार रोज्छौं, त्यसमा यहोवा चासो लिनुहुन्छ। बाइबल सिद्धान्त पालन गरेर “रगतबाट अलग” रहेजस्तै परमेश्‍वरको वचनको आदर गर्दै, आध्यात्मिक तवरमा हानि पुऱ्‍याउने अथवा यहोवासितको सम्बन्धलाई बिगार्न सक्ने उपचारहरूदेखि हामी टाढै बस्नुपर्छ। (प्रेरि. १५:२०) रोग पत्ता लगाउने कुनै-कुनै तरिका अनि उपचारविधि तन्त्रमन्त्रको वर्गमा राख्न मिल्ने खालका हुन्छन्‌। “अधर्म” अर्थात्‌ तन्त्रमन्त्रको मदत लिने धर्मत्यागी इस्राएलीहरूलाई यहोवाले ग्रहण गर्नुभएन। उहाँले यस्तो घोषणा गर्नुभयो: “अबदेखि व्यर्थका अन्‍नबलि नल्याऊ। धूप ता मेरो निम्ति घिनलाग्दो छ। औंसी र विश्रामको दिन, र सभा बोलाउने काम—पवित्र सभाको साथसाथै अधर्म म सहनसक्‍तिनँ।” (यशै. १:१३) शारीरिक अस्वस्थताको बेला आफ्नो प्रार्थनालाई बाधा पुऱ्‍याउने र उहाँसितको सम्बन्धलाई खतरामा पार्ने कुनै काम गर्नु पक्कै बुद्धिमानी होइन।—विला. ३:४४.

“सुबुद्धि” अत्यावश्‍यक

११, १२. स्वास्थ्य उपचार रोज्दा “सुबुद्धि” किन चाहिन्छ?

११ बिरामी पर्दा यहोवाले चमत्कार गरेर रोग निको पारून्‌ भन्‍ने हामीले आशा गर्नुहुँदैन। बरु उपयुक्‍त उपचार छान्‍न बुद्धि दिनुहोस्‌ भनेर प्रार्थना गर्न सक्छौं। कुनै पनि उपचार रोज्नुअघि बाइबल सिद्धान्तलाई मनमा राखेर राम्ररी विचार गर्नु पनि महत्त्वपूर्ण छ। गम्भीर रोग लाग्दा सम्भव छ भने एकभन्दा बढी विशेषज्ञको राय लिनु बुद्धिमानी हुन सक्छ। हितोपदेश १५:२२ भन्छ: “परामर्श बिनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” त्यसै गरी, प्रेरित पावल सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिन्छन्‌: “परमेश्‍वरले हरेकलाई बाँडिदिनुभएको विश्‍वासको नापबमोजिम सुबुद्धिले सम्झ।”—रोमी १२:३.

१२ आज थुप्रै मानिसहरूको परिस्थिति येशूको समयका बिरामी स्त्रीको जस्तै छ। मर्कूस ५:२५, २६ मा हामी यस्तो लेखिएको पाउँछौं: “बाह्र वर्षदेखि रगत बग्ने बेथा भएकी एउटी स्त्री, जसले धेरै बैद्यहरूका हातबाट कष्ट पाएकी र आफूसँग भएका सारा धन-दौलत खर्च गरेर पनि निको नभएर बरु झन्‌ खराब हालतमा परेकी थिई।” येशूले उनलाई निको पार्नुभयो र उनीसित दयालु व्यवहार गर्नुभयो। (मर्कू. ५:२७-३४) रोगबाट छुटकारा पाउन के गरूँ, कसो गरूँ भएर केही ख्रीष्टियानहरू शुद्ध उपासनाका सिद्धान्तहरूसित बाझिने उपचार रोज्न लालायित भएका छन्‌।

१३, १४. (क) हाम्रो निष्ठा तोड्‌न शैतानले कसरी हामीले रोज्ने उपचारविधिलाई चलाउन सक्छ? (ख) प्रेतवादको वर्गमा राख्न मिल्ने खालका उपचार हामीले किन गर्नु हुँदैन?

१३ हामीलाई साँचो उपासना गर्न नदिन शैतानले जे पनि गर्नेछ। यौन अनैतिकता अनि भौतिकवादको पासोमा केहीलाई फसाएझैं त्यसले तन्त्रमन्त्रको वर्गमा राख्न मिल्ने शंकास्पद उपचारको लोभ देखाएर अरू ख्रीष्टियानहरूको पनि निष्ठा भंग गर्न खोज्छ। “दुष्ट” र “सब अधर्मबाट” छुटकारा पाउन हामी यहोवालाई प्रार्थना गर्छौं। त्यसकारण, तन्त्रमन्त्र वा प्रेतवादको वर्गमा राख्न मिल्ने कुनै पनि कुराको लोभमा परेर हामी शैतानको कठपुतली बन्‍नुहुँदैन।—मत्ती ६:१३; ती. २:१४.

१४ यहोवाले इस्राएलीहरूलाई जादुगरी र टुनामुनाबाट अलग रहन आज्ञा दिनुभयो। (व्यव. १८:१०-१२) पावलले “मन्त्र-तन्त्र”-लाई पनि “शरीरका कामहरू”-को सूचीमा राखेका छन्‌। (गला. ५:१९, २०) त्यसबाहेक, “जादूगरहरू” यहोवाको नयाँ रीतिरिवाजको भाग हुनेछैनन्‌। (प्रका. २१:८) कुरा स्पष्ट छ, प्रेतवादको आभास दिने जुनसुकै कुरा यहोवाको नजरमा घृणित छ।

“तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्‌”

१५, १६. स्वास्थ्य उपचार रोज्दा किन बुद्धि चलाउनुपर्छ र प्रथम शताब्दीका परिचालक निकायले कस्तो बुद्धिमानी सल्लाह दियो?

१५ माथि छलफल गरेका कुराहरूलाई विचार गर्दा, रोग पत्ता लगाउने कुनै विधि वा उपचार शंकास्पद लाग्छ भने, त्यसलाई अस्वीकार गर्नु नै बुद्धिमानी हुनेछ। तर, कुनै उपचारविधिबारे हामीले राम्ररी बुझेका छैनौं भने त्यसलाई प्रेतवादको संज्ञा दिइहाल्ने हतार पनि गर्नुहुँदैन। स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्न ईश्‍वरीय बुद्धि र सही निर्णय गर्न सक्ने क्षमता चाहिन्छ। हितोपदेश अध्याय ३ मा यस्तो सल्लाह दिइएको छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझशक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। . . . आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्‌, . . . ती तेरो आत्माको प्राण[झैं] . . . हुनेछन्‌।”—हितो. ३:५, ६, २१, २२.

१६ हामी सक्दोभर स्वस्थ रहेर यहोवाको सेवा गर्न चाहन्छौं। तर विभिन्‍न रोगव्याधि वा बुढेसकालले च्याप्दै लाँदा यहोवाको अनुमोदन गुमाउने कुनै उपचार गर्नदेखि हामी होसियार हुनुपर्छ। अरू कुराहरूमा जस्तै स्वास्थ्य उपचारको क्षेत्रमा पनि बाइबलको सिद्धान्तअनुसार जीवन बिताएर ‘हाम्रो व्यावहारिकता सबै मानिसहरूलाई थाह’ दिनुपर्छ। (फिलि. ४:५, NW) प्रथम शताब्दीको परिचालक निकायले त्यतिबेलाका ख्रीष्टियानहरूलाई पठाएको एकदमै महत्त्वपूर्ण पत्रमा मूर्तिपूजा, रगत अनि व्यभिचारदेखि अलग बस्नू भन्‍ने निर्देशन दियो। त्यस पत्रमा यस्तो आश्‍वासन पनि दिइएको थियो: “[यी] कुराहरूबाट अलग रहनुभयो भने बढिया हुनेछ। तपाईंहरूको भलो होस्‌।” (प्रेरि. १५:२८, २९) तर कसरी?

कहिल्यै बिरामी नपर्ने कुरालाई सम्झँदै व्यावहारिक हुनुहोस्‌

१७. बाइबल सिद्धान्तहरू पालन गर्दा हामीलाई शारीरिक रूपमा कसरी फाइदा पुगेको छ?

१७ हामी सबैले आफूलाई यो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘रगत अनि व्यभिचारबारे बाइबलको सिद्धान्त अक्षरशः पालन गरेर कति फाइदा भयो, के मलाई त्यसको हेक्का छ?’ “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध” पारेर के फाइदा भयो, तीबारे पनि सोच्नुहोस्‌। (२ कोरि. ७:१) व्यक्‍तिगत सरसफाइसम्बन्धी बाइबलको स्तरअनुसार चलेकोले हामी थुप्रै रोगबिमारबाट बच्छौं। सुर्तीजन्य पदार्थ अनि अवैध लागूऔषध जस्ता शारीरिक अनि आध्यात्मिक तवरमा दूषित पार्ने कुराबाट अलग बस्दा हाम्रै भलाइ हुन्छ। अनि खाने र पिउने सन्दर्भमा सन्तुलित हुँदा हाम्रो स्वास्थ्यलाई कति लाभ पुग्छ, त्यसबारे पनि विचार गर्नुहोस्‌। (हितोपदेश २३:२०; तीतस २:२, ३ पढ्‌नुहोस्‌) शरीरलाई चाहिने आराम र व्यायाम जस्ता कुराले पनि हामी तन्दुरुस्त त हुन्छौं तर अझ विशेषगरि बाइबलले दिने निर्देशनहरू पालन गर्दा हामीलाई थुप्रै शारीरिक तथा आध्यात्मिक फाइदाहरू भएका छन्‌।

१८. हाम्रो मुख्य चिन्ताको विषय के हुनुपर्छ र स्वास्थ्यसम्बन्धी कुन भविष्यवाणी पूरा हुने हामी प्रतीक्षा गर्न सक्छौं?

१८ सबैभन्दा महत्त्वपूर्ण, हामीले आफ्नो आध्यात्मिक स्वास्थ्यको बढ्‌ता ख्याल गर्नुपर्छ अनि “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा” गर्नुहुने हाम्रा पिता यहोवासित गाँसेको बहुमूल्य सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ। (१ तिमो. ४:८; भज. ३६:९) परमेश्‍वरको नयाँ रीतिरिवाजमा, येशू ख्रीष्टको बलिदानको आधारमा पाप क्षमा भइसकेपछि मानिसहरू आध्यात्मिक अनि शारीरिक तवरमा पूर्णतया स्वस्थ हुनेछन्‌। परमेश्‍वरका थुमा येशू ख्रीष्टले हामीलाई “जीवनका पानीहरूका फोहोरासम्म” डोऱ्‍याउनुहुनेछ। अनि परमेश्‍वरले हाम्रा आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। (प्रका. ७:१४-१७; २२:१, २) तब यो रोमाञ्चकारी भविष्यवाणी पूरा भएको देख्नेछौं: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशै. ३३:२४.

१९. व्यावहारिक भई आफ्नो स्वास्थ्यको ख्याल राख्दा हामी कुन कुराबारे आश्‍वस्त हुन सक्छौं?

१९ हामी ढुक्क छौं कि हाम्रो छुटकारा नजिकै छ। यहोवाले सबै रोगबिमार तथा मृत्युलाई सदाको लागि अन्त गर्नुहुने समयको हामी उत्सुकता साथ प्रतीक्षा गर्छौं। त्यो दिन नआउन्जेल हाम्रा मायालु पिता यहोवाले हामीलाई हर कष्ट अनि हर पीडा सहन मदत गर्नुहुनेछ भनेर हामी आश्‍वस्त छौं किनभने उहाँ हाम्रो “फिक्री गर्नुहुन्छ।” (१ पत्रु. ५:७) तसर्थ, हामी आफ्नो स्वास्थ्यको ख्याल राखौं तर सधैं परमेश्‍वरको प्रेरित वचनले दिने सुस्पष्ट मार्ग निर्देशनअनुसार! (w 08 11/15)

[फुटनोट]

a त्यस्ता लेखहरूको एउटा सूची तपाईंले सेप्टेम्बर १, २००३ अंकको प्रहरीधरहरा-को पृष्ठ १७ मा पाउन सक्नुहुन्छ।

पुनरावलोकन गर्दा

• रोगबिमारको लागि को जिम्मेवार छ र पापका असरहरूबाट हामीलाई कसले छुटाउनेछ?

• स्वास्थ्यबारे चिन्ता लाग्नु स्वाभाविक भए तापनि के गर्नबाट हामी अलग बस्नुपर्छ?

• हामीले रोज्ने उपचारमा यहोवा चासो लिनुहुन्छ, किन?

• स्वास्थ्यसम्बन्धी बाइबलको सिद्धान्त पालन गर्दा हामीलाई कस्तो फाइदा हुन सक्छ?

[पृष्ठ २३-मा भएको चित्र]

स्वास्थ्य समस्याको बाबजुद यहोवाका जनहरू प्रचारकार्यमा आनन्दित रहन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने