जूवा १९९० दशकको दुर्व्यसन
क्यामेराबाट लिइएको रंगीन दृश्य। साप्ताहिक अखबारमा दुइ पृष्ठको रंगीन फोटो छापिएको छ। त्यो चित्र निकै ठूलो छ। हजारौं वर्ग मिटर लामो गोदामलाई जूवाघर बनाइएको छ। त्यहाँ बसिरहेका बेग्लाबेग्लै उमेर र वर्णका जुवाडेहरूले गर्दा त्यो ठाउँमा निकै चहलपहल देखिन्छ। खेलेको खेल्यै गरेकाले तिनीहरूको थकित मुहार तथा राता आँखाहरू देख्नुभयो? अर्को नम्बर कहिले बोलाउला भनेर तिनीहरू उत्सुकतापूर्वक पर्खन्छन्। अन्ततः जितिन्छ कि भन्ने आशा गर्छन्।
अखबार सरसरती हेर्नुहोस्। बाजी हारिएला कि भनी डराउँदै हातमा तास लिएका मानिसहरूको चिन्तित मुद्रा देख्नुभयो? तासको एक पत्ताले प्रायजसो हजारौं हजार डलरको हारजित गराउन सक्छ। अझै नियालेर हेर्नुहोस्। के तपाईं पसिना पसिना भएको हत्केला देख्न सक्नुहुन्छ? मुटुको धड्कन, आफूले जितोस् अनि अरूले चाहिं हारोस् भनेर मनमनै गरिने प्रार्थना सुन्न सक्नुहुन्छ?
ऐयासी होटेल र डुंगाको विलासी जूवाघरभित्र पस्नुहोस्। के तपाईं रंगीचंगी स्लट मेसिनहरूको भूलभुलैयामा हराउनुभयो? त्यसका ह्याण्डल तथा घुम्ने चक्काहरूको आवाजले के तपाईंको कानै खायो? हारजित जे सुकै होस्, यो आवाज तिनीहरूको लागि सुमधुर धुनजस्तै हो। एउटा यस्तै जूवाघरका प्रमुखले यसो भने, “स्लट मेसिनको ह्याण्डल तान्दा के हुनेछ भन्ने उत्तेजना नै तिनीहरूलाई सबैभन्दा रोमाञ्चकारी लाग्छ।”
मानिसहरूको हूललाई छिचोल्दै रुलेट टेबलतिर जानुहोस्। तपाईंको आँखा अगाडि रातो र कालो कोठा कोठा परेको छिरबिरे चक्का घुम्दा तपाईं सम्मोहित हुन सक्नुहुन्छ। पल्ट्याङपुल्टुङ खेल्ने बलको आवाजले झनै मन्त्रमुग्ध पार्छ। त्यो चक्का फनफनी घुम्छ र जहाँ रोक्छ, त्यसको अर्थ एउटाको लागि हार र अर्कोको लागि जित हुन्छ। त्यसरी एक चोटि चक्का घुमाउँदा हजारौं डलर हार्न सक्छन्।
यस्तै प्रकारको हजारौं हजार दृश्य, लाखौं लाख जुवाडेहरू र संसारभरि त्यस्ता हजारौं जूवाघरहरू कल्पना गर्नुहोस्। मानिसहरू जूवा खेल्ने तलतललाई तृप्त पार्न संसारको कुनाकाप्चाबाट हवाईजहाज, रेल, बस, पानीजहाज र गाडीको लामो यात्रा गर्छन्। यसलाई यस्तो नाउँ दिइएको छ: “१९९० दशकको दुर्व्यसन अर्थात् लुकेको बिमारी: जूवा खेल्ने कुलतको विवशतामा परेकाहरू।” जुवाडेहरूको बानी व्यहोराबारे अध्ययन गर्ने सं.रा.-का अनुसन्धानकर्ता ड्युरान्ट जेकब्स्ले यसो भने, “म अहिले भन्छु, १९९० को दशकमा सारा संसारभरि कानुनी मान्यताप्राप्त जूवाको बिगबिगी हुनेछ।”
उदाहरणको लागि, सन् १९९३ मा संयुक्त राज्यका अमेरिकीहरू पेशेवर बेसबल खेल हेर्नभन्दा जूवाघरहरूमा बढी गए। अर्थात् ९.२ करोड पटक। नयाँ जूवाघरहरू जताततै बनिंदैछन्। सं.रा.-को इस्ट कोस्टका होटेल सञ्चालकहरू उल्लसित भएका छन्। “जूवाघरमा प्रतिदिन आउने लगभग ५०,००० आगन्तुकहरूका लागि त्यहाँ अहिले पर्याप्त ठाउँ छैन।”
सन् १९९४ मा सं.रा.-का धेरैजसो दक्षिणी प्रान्तहरूमा केही समयअघि सम्म पनि जूवा खेल्नु पापपूर्ण क्रियाकलाप ठानिन्थ्यो। तर अहिले जूवालाई सहृदय स्वागत गर्नुको साथै मुक्तिदाता ठान्छन्। यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले यस्तो अवलोकन गऱ्यो, “बाइबल बेल्ट भनेर चिनिने ठाउँलाई अब ब्लाकज्याक बेल्ट नामाकरण गरे हुन्छ। मिसिसिपी र लुइजिआनामा जलथल दुवै ठाउँमा जूवाघरहरू छन्। आर्कान्सस, आलाबामा, टेक्सस र फ्लोरिडामा अझ बढी जूवाघरहरू खोल्ने योजना छ।” जूवा खेल्नु भनेको पापपूर्ण क्रियाकलाप ठान्ने धेरै धार्मिक नेताहरूको सोचाइ अब त्यस्तो पटक्कै छैन। उदाहरणको लागि, न्यु ओर्लियन्स्, लुइजिआनाका नगर अधिकृतहरूले सन् १९९४ मा मिसिसिपी नदीको किनारामा बनाएको प्रथम जूवाघरलाई नामाकरण गर्दा एक पादरीले प्रार्थना चढाए र परमेश्वरलाई यसरी धन्यवाद दिए: “जूवा खेल्ने क्षमताको सद्गुणद्वारा तपाईंले यो शहरलाई आशिष् दिनुभएको लागि धन्यवाद।”
सन् २००० सम्ममा ९५ प्रतिशत अमेरिकीहरूको घर नजीकै थुप्रै जूवाघर हुने र त्यहाँ पुग्न गाडीमा केवल तीन चार घण्टा यात्रा गरे पुग्ने आशा गरिएको छ। अमेरिकी आदिवासीहरूले पनि जूवा व्यापारबाट निकै धनराशि कमाएका छन्। यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार अहिलेसम्म सं.रा. सरकारले तिनीहरूलाई २२५ वटा जूवाघर र ठूलो धनराशि बाजी लगाउने जूवाघरहरू सञ्चालन गर्ने स्वीकृति दिएको छ।
तास, खेलकुद, कुकुर तथा घोडदौडमा बाजी लगाउने, चर्चमा खेलिने बिंगोमा उडाएको पैसालाई जोड्ने हो भने अमेरिकीहरूले कति धेरै रकमको जूवा खेले भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूले सन् १९९३ मा १९९२ सालमा भन्दा १७.१ प्रतिशत बढी अर्थात् ३९४ अरब डलर बराबरको रकम कानुनी मान्यताप्राप्त जूवामा सिध्याए। यो देख्दा जूवा खेल्नु हुँदैन भनेर विरोध गर्नेहरू छक्कै परेका छन्। कम्पल्सिभ ग्याम्बलिंगका कार्यकारिणी निर्देशकले यसो भने, “हामीले बढी सहयोग जुटाउनु पर्ने चर्च, मन्दिर तथा सरकारलाई हो। तर अहिले तिनीहरू सबै जूवा व्यापारमा लागेका छन्।” एक अमेरिकी अखबारले संयुक्त राज्यलाई “जूवा खेल्ने राष्ट्र” र जूवा खेल्नु भनेको “अमेरिकीहरूलाई सबैभन्दा मनपर्ने खेल” भनी बताए।
बेलाइतमा चिट्ठाको प्रचलन सर्वप्रथम सन् १८२६ मा थालियो र त्यो व्यापार गजबसित फस्टाइरहेको छ। द न्यु योर्क टाइम्स म्यागजिन-ले रिपोर्ट गरेअनुसार बिंगो व्यापारमा निकै वृद्धि भइरहेको छ। टाइम्स पत्रिकाले यस्तो रिपोर्ट गऱ्यो, “मस्को शहर अहिले व्यस्त जूवाघरहरूले भरिभराउ छ। लेबनानका जुवाडेहरू साँच्चै नै आफ्नो जीवनको खतरा मोलेर पश्चिम बेरुतका जूवाघरहरूमा ओइरिरहेका छन्। ती जूवाघरहरूलाई त्यहाँका सैनिक तथा धार्मिक रूढीवादी मानिसहरूले उत्तिकै आक्रमण गर्छन्।” “ठूलो धनराशि जित्नेहरूलाई जूवाघरका बन्दुकधारी सुरक्षाकर्मीहरूले घरसम्म पुऱ्याइदिन्छन्।”
जूवाघरका एक क्यानेडियाली नियन्त्रकले यसो भने, “क्यानेडियालीहरूलाई आफ्ना अधिकांश देशबासीहरू जुवाडे हुन् भनेर पत्तै छैन।” तिनले अझै यसो भने, “केही पक्षमा हेर्ने हो भने शायद अमेरिकीहरूभन्दा क्यानेडियालीहरू बढी जूवा खेल्छन्।” द ग्लोब एण्ड मेल नामक अखबारले यस्तो रिपोर्ट गऱ्यो, “गत साल क्यानेडियालीहरूले १० अरब क्यानेडियाली डलर कानुनी मान्यताप्राप्त जूवा र बाजीमा खर्च गरे। यो रकम तिनीहरूले सिनेमा हेर्न खर्च गर्ने रकमको झन्डै ३० गुना बढी हो।” त्यही अखबारले यसो भन्यो, “क्यानाडामा बिंगो व्यापार सं.रा.-मा भन्दा निकै विकसित छ। क्यानाडामा चिट्ठा व्यापार त झनै विकसित छ। घोडदौडमा बाजी लगाउनु पनि त्यस्तै हो।”
एउटा दक्षिण अफ्रिकी अखबारले यसप्रकार लेख्यो, “दक्षिण अफ्रिकामा जूवाका दुर्व्यसनीहरू कति छन् भनेर कसैलाई थाह छैन तर कम्तीमा पनि ‘हजारौं’ छन्।” तथापि, स्पेनी सरकारलाई भने यो समस्या र जुवाडेहरूको वृद्धिबारे पूर्ण जानकारी छ। औपचारिक तथ्यांकअनुसार यहाँका ३.८ करोड बासिन्दाहरूमध्ये अधिकांश व्यक्तिहरूले एक वर्षमा २५ अरब अमेरिकी डलर बराबरको रकम जूवा खेले। यसले गर्दा स्पेन संसारमै सबैभन्दा धेरै जूवा खेल्ने राष्ट्र भयो। जुवाडेहरूलाई मदत गर्न खोलिएको संगठनका मानिसले यसो भने, “स्पेनीहरूलाई जूवा खेल्ने बानी परिसकेको छ। तिनीहरू पहिलेदेखि नै जुवाडेहरू थिए। . . . तिनीहरू घोडदौड, फुटबल, चिट्ठा इत्यादि सबै कुरामा बाजी लगाउँछन्। तिनीहरूले रुलेट, पोकर, बिंगो र स्लट मेसिनलगायत जूवा नखेल्ने कुनै कुरा छैन।” जूवा खेल्ने कुलतको विवशतामा परेकाहरू मानसिक रोगी हुन् भनेर हालै मात्र स्पेनले बुझ्न थालेको छ।
प्राप्त जानकारीअनुसार जूवा खेल्ने कुलतले इटालीलाई पनि असर गरेको छ। चिट्ठा तथा खेलकुदमा करोडौं डलर बाजी लगाउँछन्। अखबारको माध्यमद्वारा खेलिने बिंगो र अन्य जूवामा पनि उत्तिकै पैसा खर्च गर्छन्। सरकारको वित्तीय सहयोगद्वारा सञ्चालित अनुसन्धान समूहले यस्तो रिपोर्ट गऱ्यो, “जूवाले दैनिक जीवनको हरेक पक्षलाई असर गरेको छ। द न्यु योर्क टाइम्स-ले यसप्रकार लेखे, आजकल “जूवा पहिले कल्पनै गर्न नसकिने स्तरमा पुगिसकेको छ। सरकारी अधिकृतदेखि पादरी, सबै नै जूवा खेलेर धेरै पैसा कमाउन तल्लीन भएका छन्।”
साँच्चै त्यस्तै भइरहेको छ! जूवाले मानिसको जीवनको हरेक पक्षलाई असर गरिरहेको छ। यसबारे यस पछिको लेखले बताउनेछ।
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
कुनै समय पापपूर्ण ठानिने क्रियाकलापलाई अहिले “मुक्तिदाता” ठानिन्छ
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
जूवाको महामारी विश्वव्यापी भइसकेको छ