विज्ञान कथा—यसको बढ्दो लोकप्रियता
यस्ता कथाहरूमा आधारित चलचित्रहरू अमेरिकी चलचित्र उद्योगमा प्रथम पटक सन् १९८२ मा देखा पऱ्यो। सन् १९८२/८३ को दौडान सबैभन्दा लोकप्रिय भएको चलचित्रका “अभिनेता” कुनै व्यक्ति थिएन। दी इलस्ट्रेटेड हिस्ट्री अफ द सिनेमा (चलचित्रको सचित्र इतिहास) अनुसार, चलचित्र इटी: दी एक्स्ट्राटेरिस्ट्रियल! नामक चलचित्रका त्यो “अभिनेता” इटी, बाहिरी अन्तरिक्षको अनौठो तर मायालाग्दो जीव थियो।
यो उल्लेखनीय घटना हालका वर्षहरूमा विज्ञान कथाले कमाएको लोकप्रियताको केवल एउटा प्रमाण हो। रोमाञ्चक पत्रपत्रिका तथा एकलकाँटे र स्वप्नदर्शीहरूका विषयवस्तु मानिने विज्ञान कथा अहिले सबैका लागि मान्यताप्राप्त मनोरञ्जनको प्रमुख भाग भएको छ। तर यसरी नाटकीय ढंगमा लोकप्रिय हुनुको कारण के हो?
यो प्रश्नको जवाफ पाउन हामीले सर्वप्रथम विज्ञान कथाको इतिहास केलाउनै पर्छ। परापूर्व कालदेखि मानिसहरूले कसैलाई डर देखाउन, प्रभावित पार्न वा केवल मनोरञ्जनको लागि काल्पनिक कथा भन्दै, सुनाउँदै आएका छन्। तथापि, १७ औं र १८ औं शताब्दीको दौडान युरोप वैज्ञानिक तथा भौतिक उन्नतिको युगमा प्रवेश गऱ्यो। तत्पश्चात्, धेरैले परम्परागत विचार र अख्तियारहरूको खण्डन गर्न थाले। यस्तो परिस्थितिको बेला, वैज्ञानिक उन्नतिले भविष्यमा मानवजातिलाई कसरी असर पार्नेछ भन्ने अनुमान केही मानिसहरूले लगाउन सुरु गरे।
वास्तवमा विज्ञान कथा सर्वप्रथम कसले कथेका हुन् भन्ने कुरा तर्कको विषय भएको छ। सत्रौं शताब्दीका लेखकहरू, फ्रान्सस् गडविन र सिरानो डे बेरजरेकले सौरमण्डलबारे कथा लेखे। सन् १८१८ मा मेरी शेलीको पुस्तक फ्रांकेन्सटायन अर द मोर्डन प्रमिथियस-ले जीवन सृष्टि गर्ने क्षमता भएको वैज्ञानिक र भयानक परिणामहरूको चित्रण गऱ्यो।
केही लेखकहरूले समाजका कमजोरीहरूलाई छर्ल्यांग्याउन यसप्रकारको कल्पित कथालाई प्रयोग गरे। तसर्थ, जनथन स्वीफ्टले काल्पनिक समुद्री यात्राहरूको व्यंग्य कथा लेखेर १८ औं शताब्दीको अंग्रेज समाजको उपहास गरे। गुलिवर्स ट्राभल्स (गुलिवरको यात्रा) नामक तिनको प्रभावशाली रूपक कथालाई विज्ञान कथाको “प्रथम उत्कृष्ट साहित्यिक कृति” मानिएको छ।
तर विज्ञान कथालाई आधुनिक रूप दिएको श्रेय प्रायः जुल्स भर्न र एच. जी. वेल्स्लाई दिइन्छ। भर्नले सन् १८६५ मा फ्रम दी अर्थ् टु द मून (पृथ्वीदेखि चन्द्रमासम्म) नामक पुस्तक लेखे। यो पुस्तक सफल उपन्यासहरूमध्ये एउटा हो। सन् १८९५ मा एच. जी. वेल्स्को लोकप्रिय पुस्तक द टाइम मशिन (समय यन्त्र) देखा पऱ्यो।
काल्पनिक कथा यथार्थ हुनआउँछ
उन्नाइसौं शताब्दीको प्रारम्भतिर वैज्ञानिकहरूले यी स्वप्नदर्शीहरूका केही सपनाहरूलाई सत्य साबित गर्न सुरु गर्दैथिए। डी ग्रोशेन (महान् जनहरू) पुस्तकअनुसार, जुल्स भर्नले देखेका मानिस सवार गर्ने अन्तरिक्ष यानको सपना साकार पार्न जर्मन भौतिकशास्त्री हर्मान ओबर्टले वर्षौं बिताए। ओबर्टका तथ्यांकहरूद्वारा अन्तरिक्ष यात्राको लागि वैज्ञानिक आधार तयार गर्न मदत मिल्यो। तथापि, विज्ञान कथाले प्रभाव पारेको वैज्ञानिक तिनी मात्र होइनन्। विज्ञान कथाका लोकप्रिय लेखक रेइ ब्य्राडब्युरी भन्छन्: “भर्नर फन ब्राउन र तिनका जर्मनीका मित्रहरू तथा हाउस्टन र केप केनेडीका सम्पूर्ण मानिसहरूले केटाकेटी छँदै एच. जी. वेल्स् र जुल्स भर्नका पुस्तकहरू पढ्थे। तिनीहरूले आफू ठूलो भएपछि त्यहाँ लेखिएका कुराहरू साँचो साबित गर्ने निर्णय गरेका थिए।”
वास्तवमा, थुप्रै ढंगमा विज्ञान कथा नयाँ कुराहरूको आविष्कारको उत्प्रेरक भएको छ। लेखक रेने अट, के दाबा गर्छन भने “विज्ञान कथाले पूर्वानुमान नगरी केही मात्र आविष्कार वा अनुसन्धान” भए होलान्। पनडुब्बी, यन्त्रमानव र मानिससवार रकेटहरू निर्माण हुनभन्दा धेरैअघि नै तीबारे विज्ञान कथाहरूले लेखिसकेको थियो। यी कुराहरू आज साकार भएका छन्। यसर्थ, “विज्ञान कथा पढ्नु भनेको दिमागलाई विस्तार गराउनु हो” भन्दै विज्ञान कथा लेखक फ्रेडरिक पोल किटेर भन्छन्।
तर, जम्मै विज्ञान कथा वास्तवमा विज्ञानसँग सम्बन्धित हुँदैनन्। केही लोकप्रिय विज्ञान कथाका पुस्तक र चलचित्रहरू यथार्थमा केही मानिसहरूले भन्ने गरेको कल्पित विज्ञान मात्र हुन्। विज्ञान कथा केही हदसम्म व्यवहारिक वा तार्किक देखिन्छ र त्यो नै त्यसको मुख्य विशेषता हो, तर जहाँसम्म काल्पनिक विज्ञानको कुरा छ, त्यो लेखकको कल्पना मात्र हो। त्यसमा जादू र टुनामुनासमेत मुछिएको हुनसक्छ।
यद्यपि, भविष्यबारे विज्ञान कथाका दृष्टिकोणहरू कत्तिका सही छन्? के जम्मै विज्ञान कथा पढ्न र हेर्न योग्य हुन्छन्? यस पछिका लेखहरूले यी प्रश्नहरूको जवाफ दिनेछ।
[पृष्ठ ३-मा भएको चित्र]
जुल्स भर्नको उपन्यास “फ्रम दी अर्थ् टु द मून”-ले अन्तरिक्ष यात्राको रुचिलाई बढायो
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Rocket Ship: General Research Division/The New York Public Library/Astor, Lenox and Tilden Foundations