आजका विज्ञान कथालाई नियाल्दा
सम्भवतः गाडी, टेलिफोन, कम्प्युटरहरू आविष्कार हुनुभन्दा १३० वर्षअघि के कसैले यी कुराहरूको झलक पाएका थिए की? पाएका थिए, विज्ञान कथाका लेखक जुल्स भर्नले। यी अद्भुत वैज्ञानिक अन्तरदृष्टिहरू हालै प्राप्त जुल्स भर्नको पेरिस इन द ट्वेन्टिथ सेन्च्युरी (बीसौं शताब्दीमा पेरिस) नामक उपन्यासको पाण्डुलिपिमा उल्लिखित थिए। त्यसअघि अप्रकाशित त्यस उपन्यासमा भर्नले आधुनिक फ्याक्स मशीनसित ठ्याक्क मिल्ने उपकरणको समेत वर्णन गरेका छन्।a
तथापि, चतुरभन्दा चतुर विज्ञान कथा लेखकहरूलाई समेत साँचो अगमवक्ता हुन चाहिं निकै समय लाग्छ। उदाहरणको लागि, जुल्स भर्नको उपन्यास जर्नी टू द सेन्टर अफ दी अर्थ् (पृथ्वीको गर्भतिर यात्रा) पढ्नु रोमाञ्चकारी भए तापनि त्यस प्रकारको यात्रा असम्भव छ भनी वैज्ञानिकहरूलाई अहिले थाह भएको छ। नता केहीले पूर्वानुमान गरेझैं सन् २००१ मा मानिस बृहस्पति वा अन्य ग्रहहरूमा पुग्ने छाँट नै देखिन्छ।
अहिले भइरहेको अद्भुत वैज्ञानिक उन्नतिहरूबारे भविष्यवाणी गर्न पनि विज्ञान कथा लेखकहरू असफल भएका छन्। दी एटलान्टिक मन्थ्ली-मा विज्ञान कथा लेखक थोमस एम. डिश यसरी स्वीकार्छन्: “विज्ञान कथाले कल्पना गर्न नसकेको कम्प्युटर युग, . . . . ग्रीनहाउस एफेक्ट वा ओजोन तहको विनाश वा एड्सबारे विचार गर्नुहोस्। भूराजनीतिको असन्तुलित शक्तिलाई पनि विचार गर्नुहोस्। त्यसपछि यी विकासहरूबारे विज्ञान कथा लेखकहरूले अगावै लेखेका थिए कि थिएनन्, आफैलाई सोध्नुहोस्। प्रायः एक शब्द पनि लेखेका थिएनन्।”
विज्ञान कथा—ठूलो व्यापार
वास्तवमा, विज्ञान कथाका प्रशंसकहरूले विज्ञान कथालाई चिन्तनशील प्रमाणिक विज्ञानको रूपमा होइन तर मनोरञ्जनको रूपमा लिने गर्छन्। तैपनि, त्यसमाथि प्रश्न गर्नेहरू पनि नभएका होइनन्। यो शताब्दी अगावै विज्ञान कथाले रद्दी साहित्यको नाउँ कमाउन थालेको थियो जब यसबारे रोमाञ्चक पत्रपत्रिकाहरू प्रकाशित हुन थाले। यीमध्ये प्रथम पत्रिका अमेजिङ स्टोरिज सन् १९२६ मा बिक्री भयो। “विज्ञान कथा” भन्ने शब्द आविष्कार गरेको श्रेय त्यो पत्रिकाका संस्थापक ह्युगो गर्न्सबेकलाई जान्छ। धेरैले यस्ता उत्तेजनापूर्ण साहसिक कथाहरूमा कुनै साहित्यिक मोल नभएको अनुभव गरे।
दोस्रो विश्वयुद्धपश्चात् विज्ञान कथालाई निकै गम्भीरतापूर्वक लिन थालियो। विज्ञानले त्यस युद्धमा खेलेको नाटकीय भूमिकाको कारण विज्ञानले नयाँ प्रतिष्ठा कायम गऱ्यो। विज्ञान कथा लेखकहरूका अनुमानहरू प्रमाणिक महसुस हुन थाल्यो। तसर्थ, विज्ञान कथाका चित्रकथा, पत्रिका र पुस्तकहरू प्रचुर मात्रामा प्रकाशित हुन थाले। सजिल्द विज्ञान कथाका पुस्तकहरू सबैभन्दा धेरै बिक्री भए। तर विज्ञान कथाले मानिसहरूको माग पूरा गर्न यत्न गर्दा साहित्यिक स्तर र वैज्ञानिक परिशुद्धता अक्सर कायम गर्न सकिंदैन। “पठनीय र मामुली मनोरञ्जन दिने कुराहरू”-लगायत “अन्दाजमा लेखिएका धेरै घटिया उपन्यासहरू” पनि अहिले प्रकाशित भएका छन् भन्दै विज्ञान कथा लेखक रबर्ट ए. हाइनलाइन दुःख व्यक्त गर्छन्। लेखिका अर्सुला के. लगिन् थप्छिन्, “घटिया साहित्यहरू” समेत मुद्रण गरिन्छ।
यस्तो आलोचनाको बावजूद पनि विज्ञान कथा लोकप्रियताको नयाँ शिखरमा पुगेको छ। यसको महत्त्वलाई वैज्ञानिकहरूले मात्र होइन तर चलचित्र उद्योगले बढाएको छ।
“चलचित्र उद्योगबाट” प्रस्तुत विज्ञान कथाहरू
सन् १९०२ मा जर्ज माल्यस अ ट्रिप टु द मून नामक चलचित्र बनाएदेखि विज्ञान कथानक चलचित्रहरू सुरु भए। पछि, चलचित्र प्रेमी जवानहरूको पुस्तालाई फ्लास गोर्डन-ले मन्त्रमुग्ध पाऱ्यो। चन्द्रमामा मान्छे पुग्नुभन्दा एक वर्षअघि सन् १९६८ मा चलचित्र टू थाउजन वन्: अ स्पेस अडिसी-ले कलात्मक मान्यता पाउनुको साथै यसको व्यापार सफलतापूर्वक चल्यो। अहिले हलिऊडले विज्ञान कथानक चलचित्र निर्माणमा प्रचुर खर्च गर्न थालेको छ।
सन् १९७० दशकको अन्ततिर र १९८० दशकको सुरुतिर एलियन, स्टार वार्स, ब्लेड रनर र इटी: दी एक्स्ट्राटेरिस्ट्रियल-जस्ता चलचित्रहरूले सं.रा. का सम्पूर्ण चलचित्रहरूबाट भएको कमाइको आधा कमाइ गरेको थियो। वास्तवमा, सबैभन्दा सफल विज्ञान कथानक चलचित्र जुरासिक पार्क हो। लगभग १,००० प्रकारका मालतालहरू जुरासिक पार्क-को नाउँमा उत्पादन भए। अत: टीभीले पनि विज्ञान कथानक चलचित्र निर्माण गर्न धमाधम जमर्को गर्न थाल्नु कुनै अचम्मको कुरा होइन। टीभीको लोकप्रिय कार्यक्रम स्टार ट्रेक-ले बाह्य अन्तरिक्षबारे थप कार्यक्रमहरू बनायो।
यद्यपि, बढ्दो मागलाई पूरा गर्ने धुनमा विज्ञान कथा लेखकहरूले गुनस्तरलाई बिर्सेको धेरैले महसुस गर्छन्। जर्मन लेखक कार्ल मिकाल आर्मर के दाबा गर्छन् भने, ‘विज्ञान कथाले अहिले साधारणतया विषयवस्तुको रूपमा होइन तर प्रविधिको लागि प्रसिद्धि कमाएको छ। अरूले चाहिं आजको विज्ञान कथानक चलचित्रहरूका वास्तविक “पात्रहरू” व्यक्तिविशेष होइनन् तर दृश्य र ध्वनिहरू मात्र हुन्छन् भनी दुःख प्रकट गर्छन्। एक आलोचक यसो समेत भन्छन्, विज्ञान कथामा “घृणित र घटिया विषयवस्तुहरू प्रायजसो देखाइन्छ।”
उदाहरणको लागि, धेरैजसो विज्ञान कथा भनौंदा चलचित्रहरू यथार्थमा विज्ञान वा भविष्यसम्बन्धी पटक्कै हुँदैनन्। सजीव हिंसाको चित्रण गर्न मात्र कहिलेकाहीं भविष्यकालीन पृष्ठभूमि प्रयोग गरिन्छ। लेखक नर्मन स्पाइन्ऱ्याड भन्छन्, आजका धेरैजसो विज्ञान कथानक चलचित्रहरूमा कसैलाई “गोली ठोकेको, छुरीले घोचेको, वाफ बनाएको, लेसर हतियारले घाइते बनाएको वा हत्या गरेको, चिथोरेको, विनाश वा विस्फोट गरेका कुराहरू देखाइन्छ।” धेरै चलचित्रहरूमा यस्तो हिंसालाई विस्तृत रूपमा डरलाग्दो प्रकारले देखाइन्छ!
चिन्ताको अर्को क्षेत्र हो, केही काल्पनिक विज्ञान पुस्तक र चलचित्रहरूमा देखाइने अलौकिक तत्त्वहरू। केही मानिसहरूले यस्ता कथाहरूलाई असल र दुष्टबीच युद्धको रूपक कथा मात्र ठाने तापनि कतिपय यी चलचित्रहरू रूपक कथाभन्दा धेरै फरक तथा यसले पैशाचिक प्रचलनहरूलाई प्रोत्साहित गरेको देखिन्छ।
सन्तुलनको खाँचो
वास्तवमा, बाइबलले काल्पनिक मनोरञ्जनलाई गलत मान्दैन। योतामको रूखको उखानमा चलहल नगर्ने वनस्पतिहरू एकअर्कासित कुरा गरिरहेको तथा योजनासमेत बना- इरहेको वर्णन गरिएको छ। (न्यायकर्त्ता ९:७-१५) त्यस्तै प्रकार, यशैयाले पनि धेरैअघि मरिसकेका शासकहरूले चिहानभित्र वार्तालाप गरेको काल्पनिक विवरण लेखेका थिए। (यशैया १४:९-११) येशूले आफ्ना केही उखानहरूमा समेत यथार्थमा हुनै नसक्ने कुराहरू समावेश गर्नुभएको छ। (लूका १६:२३-३१) यस्ता काल्पनिक कुराहरूलाई मनोरञ्जनको लागि मात्र होइन तर निर्देशन र शिक्षा दिन प्रयोग गरिन्थ्यो।
आजका केही लेखकहरूले निर्देशन वा मनोरञ्जनका लागि भविष्यमा हुने कुराहरूलाई चित्तबुझ्दो ढंगले प्रयोग गर्लान्। यद्यपि, सजग मसीही पाठकहरूले जे कुरा चोखा र असल छन्, त्यसैमा ध्यान केन्द्रित गर्नू भन्ने बाइबलको सल्लाहलाई मनमा राख्छन्। (फिलिप्पी ४:८) यसले हामीलाई यो पनि स्मरण गराउँछ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) केही विज्ञान कथानक चलचित्र र पुस्तकहरू बाइबलसित नमिल्ने विचार र दर्शनहरू प्रसार गर्ने माध्यमहरू भएका छन्। जस्तै, विकासवाद, मानव अमरत्व तथा पुनर्जन्म। बाइबलले हामीलाई “तत्त्वज्ञान, र फोस्रो छल[को]” शिकार नहुनू भनी चेताउनी दिन्छ। (कलस्सी २:८) यी विज्ञान कथासम्बन्धी अन्य मनोरञ्जनहरू पढ्दा, हेर्दा सावधान हुनु जरुरी छ। हामीले पढ्ने र हेर्ने कुराहरूको सही छनौट गर्नुपर्छ।—एफिसी ५:१०.
अघि उल्लेख गरिएझैं धेरैजसो लोकप्रिय चलचित्रहरू हिंसात्मक हुन्छन्। हामीले यस्तो अर्थहीन रक्तपातपूर्ण मनोरञ्जन गर्दा यहोवा खुशी हुनुहुन्छ होला? किनभने उहाँबारे यसो भनिएको छ: “अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ।” (भजन ११:५) धर्मशास्त्रमा प्रेतवादलाई निन्दा गरेकोले जादू वा टुनामुनाजस्ता तत्त्वहरू प्रस्तुत गरिएका पुस्तक वा चलचित्रहरूबाट मसीहीहरू अलग रहनुपर्छ। (व्यवस्था १८:१०) बुझ्नुपर्ने कुरा के पनि छ भने, वयस्क व्यक्तिले काल्पनिक र यथार्थ कुरो सजिलै छुट्याउन सक्ला तर सबै बच्चाहरूले सक्दैनन्। तसर्थ, पढ्ने र हेर्ने कुराहरूले आफ्ना छोराछोरीलाई कसरी असर गर्दैछ, त्यसमा आमाबाबुहरूले ध्यान दिनुपर्छ।b
केहीले अरू प्रकारका पुस्तक तथा मनोरञ्जनहरू रुचाउलान्। तर यस सन्दर्भमा तिनले अरूको न्याय गर्नु वा व्यक्तिगत छनौटका कुराहरूमा विवाद खडा गर्नु खाँचो छैन।—रोमी १४:४.
अर्कोतर्फ, कहिलेकाहीं बेग्लै प्रकारका कल्पित कुराहरूको आनन्द रोज्ने मसीहीहरूले सुलेमानको यो चेताउनीलाई स्मरण गर्नु बेस हुनेछ: “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) आज संसारका धेरैजसो मानिसहरू विज्ञान कथा पुस्तक र चलचित्रहरूको चाहनामा चुर्लुम्मै डुबेका छन्। विज्ञान कथाका क्लब र अधिवेशनहरूको जताततै वृद्धि भएका छन्। टाइम पत्रिकाअनुसार पाँचैवटा महादेशमा स्टार ट्रेक-का प्रशंसकहरू कल्पित कथाको भाषा, क्लिन्जन सिक्न तल्लीन भएका छन्। त्यो भाषा स्टार ट्रेक टीभी कार्यक्रम तथा चलचित्रहरूमा देखाइएको थियो। यस्तो उग्र प्रतिक्रियासित बाइबलको पुस्तक १ पत्रुस १:१३ मा दिएको सल्लाहले सहमति जनाउँदैन: “आफ्नो मन बाँधेर सचेत होओ।” [मनलाई सन्तुलित राखेर, न्युव; पादटिप्पणी]
सर्वोत्कृष्ट विज्ञान कथाले समेत भविष्यप्रति मान्छेको जिज्ञासालाई सन्तुष्ट पार्न सक्दैन। भविष्यबारे साँच्चै जान्न चाहनेहरूले त निश्चित स्रोतमा निर्भर गर्नुपर्छ। । यो हामी अर्को लेखमा छलफल गर्नेछौं।
[फुटनोटहरू]
a भर्नका शब्दहरूमा “फोटोग्राफिक टेलिग्राफले कुनै लेखोट, हस्ताक्षर वा नमुनाका नकलहरू धेरै टाढा टाढा पठाउन सम्भव बनायो।”—न्युजवीक, अक्टोबर १०, १९९४.
b मार्च २२, १९७८, अवेक!-मा प्रकाशित “तपाईंको बच्चाले के पढ्नुपर्छ?” लेख हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको चित्र]
आमाबाबुहरूले आफ्ना छोराछोरीले गर्ने मनोरञ्जनको राम्ररी देखरेख गर्नुपर्छ
[पृष्ठ ७-मा भएको चित्र]
मसीहीहरूले विज्ञान कथाको सही छनौट गर्नुपर्छ