पाठकहरूका प्रतिक्रिया
जातीय मतभेदले फाटो ल्याउँछ “जातीय मतभेदले हामीबीच फाटो ल्याउँछ नै?” (जुलाई ८, १९९६) (अंग्रेजी) श्रृंखलाको लागि मुरीमुरी धन्यवाद! मेक्सिकोमा हामीले अन्तरराष्ट्रिय स्वयंसेवकहरूको हैसियतमा काम गरिरहेको एक वर्ष जति भयो। तर अहँ, निकै महिना बितिसक्दा समेत घुलमिल हुन हामीलाई गाह्रो परिरह्यो र त्यसको कारण बुझ्नै सकेका थिएनौं। नौलो संस्कृतिसित घुलमिल हुनुपर्ने समस्या पत्ता लगाउन यी लेखहरूले हामीलाई मदत दिए। “अरूको संस्कृतिबारे बुझ्नाले हाम्रो जीवन सुनमा सुगन्ध थपेझैं हुन्छ” भन्ने भनाइलाई हामीले हृदयंगम गऱ्यौं र अहिले आफ्नो कार्यभार आनन्दसाथ सँभालिरहेका छौं।
सी. एच. र जे. एच., मेक्सिको
यस रोमाञ्चक विषयलाई प्रस्तुत र वर्णन गरिएको तरिकाबाट म रोमाञ्चित भएँ। भनौं भने, जातीय मतभेदकै कारण मानिसहरूले एकअर्कालाई घृणा गरेको विवरण इतिहासभरि छ। अब, यस श्रृंखलाले मलाई अरूको संस्कृतिप्रति निकै समझदारी दृष्टि राख्ने मदत दिनेछ। म चाहन्छु, प्रत्येक व्यक्तिले यी लेखहरू पढून् र अरूप्रतिको नकारात्मक दृष्टिकोण पन्छाऊन्!
जी. ओ., नाइजेरिया
यी लेखहरू पढ्दा त आँशु नै आयो। मेरो एउटा हितैषी मित्र छन् र धेरैजसो समय तिनीसितै बिताउने गर्छु। तर सधैं मलाई के लाग्छ भने, हामीबीच एउटा अदृश्य पर्खाल छ। हाम्रो सांस्कृतिक पृष्ठभूमि बेग्लाबेग्लै रहेछ भनेर अहिले बुझेको छु। यस जानकारीले गर्दा अबउप्रान्त तिनीसितको मेरो व्यवहारमा ठूलो भिन्नता आउनेछ।
ए. एफ., संयुक्त राज्य
मैले कलेजमा शोधकार्यको लागि मानवशास्त्रबारे अनुसन्धान गर्दा अफ्रिकी मुलुकहुँदो निकै हप्ता बिताएँ। त्यहाँ यहोवाका साक्षीहरूसित मेरो सम्पर्क भयो र तिनीहरूका सभाहरूमा गएँ। त्यो क्षण अति उत्साहवर्धक लाग्यो! त्यस लेखमा बताएझैं, अर्कै संस्कृतिका मानिसहरूसित परिचित हुनु लाभकारी हुन्छ। मैले नयाँ तर अर्थपूर्ण मित्रता गाँस्न सकें।
एस. बी., इटाली
युएफओ “बाइबलको दृष्टिकोण: युएफओ—परमेश्वरका सन्देशवाहकहरू?” (जुलाई ८, १९९६) (अंग्रेजी) लेखको लागि धन्यवाद। हाम्रो क्षेत्रका कतिपय मानिसहरू अन्तरिक्षबाहिरका प्राणीहरूमाथि विश्वास गर्छन्। बाइबलले यसबारे उल्लेख नगरेकोले तिनीहरू बाइबलमाथि शंका गर्छन्। शैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई कुबाटोतिर डोऱ्याउने प्रयास गरिरहेको छ र अन्तरिक्षबाहिरका आधारहीन विवरणहरू विश्वास गर्नु बुद्धिमानी होइन भनेर यस लेखले हामीलाई बुझ्ने मदत दियो।
ए. डब्ल्यु., ताइवान
ट्युलिप “ट्युलिप—विगतमा तहल्का मच्चाउने फूल” शीर्षक (जुलाई ८, १९९६) अद्भुत लेखको लागि धेरै धेरै धन्यवाद। यसको सुरुआत र यो कसरी उमार्ने भन्नेबारे केही जानकारी पाउँदा एकदमै रोचक लाग्यो।
डी.जी., संयुक्त राज्य
रमाइलो गर्ने म १२ वर्षको छु। मलाई “युवा जनहरू सोध्छन् . . . अरू युवाहरू किन रमाइलै रमाइलो गर्छन्?” (जुलाई २२, १९९६) (अंग्रेजी) लेख असाध्यै मन पऱ्यो। म त्यही प्रश्न सोध्ने गर्थें। हाम्रो स्कूलमा पार्टी, नाचगान र अरू क्रियाकलापको लागि नाउँ दर्ता गर्न सकिन्छ। प्रायजसो मलाई ती रमझमहरूमा जान मन लाग्थ्यो। तर आफ्नो छनौटको लागि म यहोवासामु जिम्मेवार छु भनेर त्यस पत्रिकाले मलाई बुझ्न मदत दियो। तसर्थ, अबदेखि म मसीही मित्रहरूसित घनिष्ठ हुनेछु।
ए. एस., संयुक्त राज्य
तपाईंले त्यस लेखमा छलफल गर्नुभएझैं मैले पनि कहिलेकाहीं [बाइबल लेखक] आसापले जस्तै अनुभव गरेको छु। त्यस लेखले मलाई स्कूलमा आइपर्ने समस्याहरू सामना गर्न आवश्यक थप शक्ति प्रदान गऱ्यो।
ए. एस., जापान
हो, केही युवाहरू आफू एक्लो वा वञ्चित भएको महसुस गर्छन् किनभने तिनीहरूलाई संसारका पार्टीहरूमा सहभागी हुन “दिइँदैन।” तर यहोवाका साक्षीहरूका छोराछोरी सबै त्यस्तो महसुस गर्दैनन्! मलाई त सांसारिक पार्टीका थुप्रै कुराहरू देखेर दिक्क लाग्छ। अनि मेरा मसीही मित्रहरूलाई पनि त्यस्तै लाग्छ। निस्सन्देह, हामी र अरू थुप्रैलाई आफू वञ्चित भएजस्तो लाग्दैन!
सी. एच., संयुक्त राज्य
परिवर्तित प्राथमिकताहरू “तिनले किन आफ्ना प्राथमिकताहरू परिवर्तन गरे” (जुलाई २२, १९९६) (अंग्रेजी) लेख पढेर म यत्ति प्रोत्साहित भएँ, त्यो तपाईंहरूलाई नबताइ सक्दिनँ। मैले पूर्ण-समय सुसमाचारकको हैसियतमा सेवा गरेको १३ वर्षभन्दा बढी भयो। अनि तनावग्रस्त यस संसारमा प्राथमिकता राख्नु सधैं सजिलो हुँदैन। पूर्ण-समय सेवकाई गर्नु समयको गतिसितै वर्षैपिच्छे झन् झन् चुनौतीपूर्ण हुँदै जान्छ। त्यस लेखमा उल्लिखित जेरेमीले पूर्ण-समय सेवा गर्न सन्तोषजनक पेशा अर्थात् प्रकृति सुरक्षा निरीक्षकको हैसियतमा गर्दै गरेको जागिर छाडेको कुरा पढें र जीवनमा पूर्ण-समय सेवकाईलाई प्रथम स्थान दिन महत्त्वपूर्ण छ भन्ने आश्वासन पाएँ।
एन. सी., संयुक्त राज्य